उत्पत्ति १३:१-१८

  • अब्राम कनान फर्कन्छन्‌ (१-४)

  • अब्राम र लुत छुट्टिन्छन्‌ (५-१३)

  • अब्रामलाई परमेश्‍वरको प्रतिज्ञा फेरि दोहोऱ्‍याइन्छ (१४-१८)

१३  अब्राम आफ्नी पत्नी, आफूसँग भएका सबै थोक र लुतलाई लिएर मिश्रबाट नेगेबतिर+ लागे। २  अब्रामसँग प्रशस्त गाईवस्तु र सुनचाँदी थियो।+ ३  तिनी नेगेबबाट ठाउँठाउँमा आफ्नो पाल सार्दै बेथेलतिर लागे। अन्तमा तिनी बेथेल र ऐको+ बीचमा आइपुगे, जहाँ तिनी पहिले बसेका थिए। ४  त्यहाँ तिनले एउटा वेदी पनि बनाएका थिए। त्यहाँ अब्रामले यहोवा परमेश्‍वरको नाम पुकारे। ५  अब्रामसँगै यात्रा गरिरहेका लुतका पनि भेडाबाख्रा, गाईवस्तु र पालहरू थिए। ६  त्यसैले अब्राम र लुतलाई ठाउँ पुगेन। तिनीहरूको सरसम्पत्ति बढ्‌दै गएकोले तिनीहरूलाई एकै ठाउँमा बस्न गाह्रो भयो। ७  त्यसैले अब्रामका गोठालाहरू र लुतका गोठालाहरू बाझ्न थाले। (त्यतिबेला त्यहाँ कनानीहरू र परिज्जीहरू बसोबास गर्थे।)+ ८  तब अब्रामले लुतलाई+ भने: “हेर बाबु, हामी त नातेदार हौँ! तिमी र मबीच अनि तिम्रा गोठालाहरू र मेरा गोठालाहरूबीच झगडा हुनु राम्रो होइन। ९  बरु हामी अलग होऔँ। तिमी यो ठाउँको जुनसुकै भाग छान्‍न सक्छौ। तिमी देब्रेतिर गयौ भने म दाहिनेतिर जानेछु; तिमी दाहिनेतिर गयौ भने म देब्रेतिर जानेछु।” १०  त्यसपछि लुतले चारैतिर हेरे। तिनले जोअरसम्मै+ फैलिएको यर्दनको सम्पूर्ण इलाका देखे।+ प्रशस्त पानी भएकोले त्यो इलाका यहोवा परमेश्‍वरले बनाउनुभएको बगैँचाजस्तै* थियो,+ मिश्रको सुन्दर भूमिजस्तै। (सदोम र गमोरालाई यहोवा परमेश्‍वरले नाश गर्नुअघि त्यहाँको अवस्था यस्तै थियो।) ११  त्यसपछि लुतले यर्दनको सबै इलाका रोजे र आफ्नो पाल उठाएर तिनी पूर्वतिर लागे। यसरी तिनीहरू अलग भए। १२  अब्राम कनानमै बसिरहे तर लुत भने यर्दन इलाकाका सहरहरूनजिकै बस्न थाले।+ लुतले अन्तमा सदोमनजिकै आफ्नो पाल सारे। १३  सदोमका मानिसहरू दुष्ट थिए र तिनीहरू यहोवा परमेश्‍वरको नजरमा घोर पाप गर्थे।+ १४  अब्राम र लुत छुट्टिएपछि यहोवा परमेश्‍वरले अब्रामलाई यस्तो आग्रह गर्नुभयो: “अब्राम, तिम्रो चारैतिर हेर। तिमी जहाँ उभिरहेका छौ, त्यहाँबाट पूर्व, पश्‍चिम, उत्तर, दक्षिण सबैतिर हेर। १५  तिमीले यहाँबाट देखेको सबै इलाका म तिमी र तिम्रा सन्तानलाई सधैँभरिका लागि दिनेछु।+ १६  अनि तिम्रा सन्तानलाई बालुवाजत्तिकै अनगिन्ती बनाउनेछु। यदि कसैले बालुवा गन्‍न सक्छ भने तिम्रा सन्तानलाई पनि गन्‍न सक्छ।+ १७  यो इलाका म तिमीलाई दिँदै छु। त्यसैले जाऊ, त्यसको कुनाकुनासम्म चारैतिर घुम।” १८  तब अब्रामले ठाउँठाउँमा पाल सार्दै आफ्नो यात्रा अघि बढाए। पछि तिनी हेब्रोनको+ मम्रेमा+ बस्न थाले, जहाँ ठूलठूला रूखहरू थिए। तिनले त्यहाँ यहोवा परमेश्‍वरको लागि वेदी बनाए।+

फुटनोटहरू

अर्थात्‌, अदनको बगैँचाजस्तै।