उत्पत्ति ४३:१-३४

  • युसुफका दाइहरू बिन्यामिनलाई लिएर फेरि मिश्र जान्छन्‌ (१-१४)

  • युसुफ फेरि आफ्ना दाजुभाइलाई भेट्‌छन्‌ (१५-२३)

  • युसुफ आफ्ना दाजुभाइको लागि भोज लगाउँछन्‌ (२४-३४)

४३  त्यतिन्जेल कनानलाई भयङ्‌कर अनिकालले गाँजिसकेको थियो।+ २  मिश्रबाट ल्याएको अन्‍न सिद्धिसकेपछि याकुबले आफ्ना छोराहरूलाई यसो भने:+ “जाओ, फेरि अन्‍न किनेर ल्याओ।” ३  तब यहुदाले भने: “मिश्रका मालिकले ‘तिम्रो भाइलाई नल्याएसम्म तिमीहरू यहाँ मुख देखाउन नआउनू’ भनेर हामीलाई धम्की दिएका छन्‌।+ ४  त्यसैले कान्छो भाइलाई हामीसँगै पठाउनुभयो भने हामी अन्‍न किन्‍न मिश्र जान्छौँ। ५  तर उसलाई हामीसँगै पठाउनुभएन भने हामी जाँदैनौँ किनभने ती मानिसले हामीलाई यसो भनेका छन्‌: ‘तिमीहरूको भाइलाई नल्याएसम्म तिमीहरू यहाँ मुख देखाउन नआउनू।’”+ ६  यो कुरा सुनेर इस्राएलले+ भने: “तिमीहरूले हाम्रो अर्को भाइ पनि छ भनेर किन भन्यौ? तिमीहरूले किन ममाथि यत्रो सङ्‌कट ल्यायौ?” ७  तब उनीहरूले भने: “ती मानिसले हामीलाई घरमा अरू को-को छन्‌ भनेर सीधै सोधेपछि हामीले के गर्ने? तिनले हामीलाई ‘तिमीहरूका बुबा जीवितै छन्‌? तिमीहरूको अर्को भाइ पनि छ?’ भनेर सोधे। त्यसैले हामीले पनि सही-सही जवाफ दियौँ।+ तिनले ‘तिमीहरूको भाइलाई यहाँ ल्याओ’ भन्लान्‌ भनेर हामीलाई के थाह?”+ ८  त्यसपछि यहुदाले आफ्ना बुबा इस्राएललाई बिन्ती गरे: “बुबा, कान्छो भाइलाई मसँगै पठाउनुहोस्‌।+ हामी अन्‍न किन्‍न गइहाल्छौँ नत्र तपाईँ, हामी र हाम्रा केटाकेटी+ भोकभोकै मर्नेछौँ।+ ९  बुबा, उसको जमानी म भएँ। म उसलाई सकुशल यहाँ फर्काएर ल्याउनेछु।+ यदि मैले उसलाई तपाईँकहाँ फर्काएर ल्याउन सकिनँ भने म जीवनभर तपाईँसामु दोषी ठहरिनेछु। १०  हुन पनि ढिला नगरेको भए अहिलेसम्म हामी दुई चोटि मिश्र पुगेर फर्किसकेका हुन्थ्यौँ।” ११  त्यसैले उनीहरूका बुबा इस्राएलले भने: “त्यसो हो भने यसो गर: यस देशका असल-असल थोक लिएर जाओ र ती मानिसलाई उपहार+ देओ—अलिकति बाल्सम,*+ अलिकति मह, लब्दानम,* रूखको बोक्रा,*+ पेस्ता र कागजी बदाम। १२  अन्‍न किन्‍न यसपालि दुई गुणा पैसा लैजाओ र तिमीहरूको धोक्रोमा फेला परेको पैसा पनि फिर्ता लगिदेओ।+ गल्तीले पैसा त्यहाँ परेको होला। १३  भाइलाई पनि सँगै लिएर ती मानिसकहाँ जाओ। १४  सर्वशक्‍तिमान्‌ परमेश्‍वरको कृपाले ती मानिसले तिमीहरूमाथि दया देखाऊन्‌ र तिनले सिमियोनलाई छोडिदेऊन्‌ र बिन्यामिनलाई तिमीहरूसँगै फर्काइदेऊन्‌। तर यदि त्यसो भएन र मैले छोराहरूको बिछोड सहनै पर्ने रहेछ भने पनि सहुँला।”+ १५  त्यसैले उनीहरूले उपहार र दुई गुणा पैसा लिए अनि बिन्यामिनलाई पनि सँगै लिएर मिश्र गए। त्यसपछि उनीहरू फेरि युसुफसामु हाजिर भए।+ १६  जब युसुफले उनीहरूसँगै बिन्यामिनलाई पनि देखे, तब तिनले तुरुन्तै आफ्नो घरको रेखदेख गर्ने मानिसलाई भने: “यी मानिसहरूलाई मेरो घरमा लैजाऊ र पशुहरू ढालेर भोज तयार पार। आज दिउँसो म यिनीहरूसँगै खाना खानेछु।” १७  त्यस मानिसले तुरुन्तै युसुफले भनेझैँ गऱ्‍यो।+ उसले उनीहरूलाई युसुफको घरमा लग्यो। १८  युसुफको घरमा लगिँदा उनीहरू डराए र आपसमा यसो भन्‍न थाले: “यसअघि हामी अन्‍न लिएर फर्कँदा हाम्रो धोक्रोमा जुन पैसा राखिएको थियो, त्यही पैसाको कारण हामीलाई यहाँ ल्याइएको होला। लौ! अब तिनीहरूले हामीलाई पक्रेर दास बनाउने भए! हाम्रा गधाहरू लिने भए!”+ १९  त्यसैले उनीहरूले युसुफको घरको ढोकैमा घरको रेखदेख गर्ने मानिससामु आफ्नो कुरा राखे। २०  उनीहरूले भने: “रिसानी माफ होस्‌ हजुर, हामी पहिला पनि अन्‍न किन्‍न आएका थियौँ।+ २१  घर फर्कने बेला हामीले बास बसेको ठाउँमा आ-आफ्नो धोक्रो खोल्यौँ। धोक्रो खोल्दा हामी तीनछक पऱ्‍यौँ। हामी सबैको धोक्रोमा हामीले तिरेको पूरै पैसा रहेछ!+ हामी त्यो पैसा फिर्ता दिन चाहन्छौँ। २२  हाम्रो धोक्रोमा कसले पैसा राखिदियो, हामीलाई थाह छैन। अहिले फेरि अन्‍न किन्‍न हामीले अझ धेरै पैसा ल्याएका छौँ।”+ २३  तब त्यस मानिसले भन्यो: “ठीक छ, डराउनुपर्दैन। तिमीहरूले तिरेको पैसा मैले पाइसकेको थिएँ। तिमीहरूले आ-आफ्नो धोक्रोमा फेला पारेको पैसा त तिमीहरू र तिमीहरूका बुबाका ईश्‍वरले नै राखिदिएको हुनुपर्छ।” त्यसपछि त्यस मानिसले सिमियोनलाई उनीहरूसामु ल्यायो।+ २४  अनि त्यस मानिसले उनीहरूलाई युसुफको घरभित्र लग्यो र उनीहरूको गोडा धुन पानी दियो। उसले उनीहरूको गधाहरूको लागि पनि दानापानी दियो। २५  युसुफ दिउँसो आफ्नो घर फर्केर उनीहरूसँगै खाना खानेछन्‌+ भनेर उनीहरूलाई खबर गरिएको थियो। त्यसैले उनीहरूले युसुफको लागि ल्याएको उपहार तयार पारे।+ २६  दिउँसो युसुफ फर्केपछि उनीहरूले उपहार टक्य्राए र लम्पसार परेर युसुफलाई ढोगे।+ २७  त्यसपछि युसुफले उनीहरूको सन्चो बिसन्चो सोधे र भने: “तिमीहरूले ‘हाम्रा बुबा वृद्ध हुनुहुन्छ’ भनेका थियौ, उहाँ जीवितै हुनुहुन्छ? उहाँलाई सन्चै छ?”+ २८  उनीहरूले जवाफ दिए: “हजुरको दास हाम्रा बुबा जीवितै हुनुहुन्छ। उहाँ सन्चै हुनुहुन्छ।” त्यसपछि उनीहरूले फेरि लम्पसार परेर युसुफलाई ढोगे।+ २९  आफ्नो साक्खै भाइ+ बिन्यामिनलाई देखेपछि तिनले भने: “तिमीहरूले ‘कान्छो भाइ पनि छ’ भनेका थियौ, ऊ नै हो?”+ अनि तिनले बिन्यामिनलाई भने: “बाबु, परमेश्‍वरले सदा तिम्रो कल्याण गरून्‌।” ३०  आफ्नो भाइलाई देखेर युसुफले मन थाम्नै सकेनन्‌। त्यसैले तिनी हत्त न पत्त त्यहाँबाट निस्केर एउटा कोठामा पसे र धुरुधुरु रोए+ ३१  अनि तिनी मुख धोईवरी बाहिर निस्के। तिनले आफूलाई सम्हालेर भने: “खाना पस्क।” ३२  तिनीहरूले युसुफको लागि, ती दाजुभाइको लागि र त्यहाँ भएका अरू मिश्रीहरूको लागि छुट्टाछुट्टै टेबुलमा खाना राखे। किनभने मिश्रीहरू हिब्रूहरूसँग खाना खान घिन मान्थे।+ ३३  युसुफका दाजुभाइलाई तिनको सामने बसाइयो। सबैभन्दा जेठोदेखि+ सबैभन्दा कान्छोसम्म सबैलाई उनीहरूको उमेरअनुसार बसाइयो। तब उनीहरूले एकअर्कालाई अचम्म मान्दै हेराहेर गर्न थाले। ३४  युसुफले उनीहरूको निम्ति आफ्नै टेबुलको खाना पस्कन लगाए। तर बिन्यामिनलाई भने अरू सबैलाई भन्दा पाँच गुणा धेरै पस्कन लगाए।+ यसरी उनीहरूले युसुफसँगै अघाउन्जेल खानपिन गरे।

फुटनोटहरू

कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।
एक प्रकारको सुगन्धित चोप।
यस बोक्राबाट निस्कने चोप अत्तर बनाउन प्रयोग गरिन्थ्यो।