उत्पत्ति २३:१-२०
-
साराको मृत्यु र उनको चिहान (१-२०)
२३ सारा जम्मा १२७ वर्ष बाँचिन्।+
२ कनानको+ किर्यथ-अर्बा+ अर्थात् हेब्रोनमा+ साराको मृत्यु भयो। आफ्नी पत्नी साराको मृत्यु हुँदा अब्राहाम असाध्यै रोए अनि तिनले शोक मनाए।
३ आफ्नी पत्नीको लासनेर बसिरहेका अब्राहाम उठे र हित्तीहरूलाई+ भने:
४ “म तपाईँहरूबीच विदेशी र प्रवासी भएर बसेको छु।+ त्यसैले मेरी पत्नीको लास राख्न तपाईँहरूको एक टुक्रा जमिन मलाई बेच्नुहोस्।”
५ यो सुनेर हित्तीहरूले अब्राहामलाई यस्तो जवाफ दिए:
६ “हे प्रभु, हाम्रो कुरा सुन्नुहोस्। तपाईँ परमेश्वरले छान्नुभएको हाम्रा कुलनायक* हुनुहुन्छ।+ त्यसैले हाम्रा चिहानहरूमध्ये सबैभन्दा राम्रोचाहिँ छानेर त्यहीँ आफ्नी पत्नीको लास राख्नुहोस्। हामी आफ्ना चिहान दिनेछौँ, हामी कसैले तपाईँलाई रोक्नेछैनौँ।”
७ त्यसपछि अब्राहाम उठे र त्यहाँ बसोबास गर्ने हित्तीहरूसामु+ निहुरिए।
८ अनि तिनले भने: “तपाईँहरूले मलाई मेरी पत्नीको लास राख्न ठाउँ दिने निधो नै गर्नुभएको हो भने मेरो कुरा सुन्नुहोस्। जोहरको छोरा एप्रोनलाई मेरो तर्फबाट बिन्ती गरिदिनुहोस्।
९ म तिनको खेतको छेवैमा भएको मक्पेलाको ओडार किन्न चाहन्छु। तिनले जमिनको पूरा मोलबराबरको चाँदी+ मसित लिऊन् र तपाईँहरूकै सामने आफ्नो जमिन मलाई बेचून्। अनि त्यहाँ म आफ्नी पत्नीको चिहान बनाउन सकूँ।”+
१० त्यतिबेला एप्रोन पनि हित्तीहरूसँग त्यहीँ बसिरहेका थिए। त्यसैकारण एप्रोनले हित्तीहरू र सहरको मूलढोकामा आएका मानिसहरूले सुन्नेगरि अब्राहामलाई यस्तो जवाफ दिए:+
११ “होइन, मेरा प्रभु! मेरो कुरा सुन्नुहोस्। म तपाईँलाई ओडार मात्र होइन, खेत पनि दिन्छु। मेरा मानिसहरूकै सामु म तपाईँलाई ती दिन्छु। त्यसपछि त्यहीँ आफ्नी पत्नीको चिहान बनाउनुहोस्।”
१२ त्यसपछि अब्राहामले त्यहाँका मानिसहरूलाई दण्डवत् गरे।
१३ अनि तिनीहरू सबैले सुन्नेगरि एप्रोनलाई भने: “कृपया मेरो कुरा सुन्नुहोस्! म तपाईँको जमिन पूरा मोल तिरेर किन्न चाहन्छु। त्यसैले मसित जमिनको मोलबराबरको चाँदी लिनुहोस् र त्यहाँ म मेरी पत्नीको चिहान बनाउन सकूँ।”
१४ त्यसपछि एप्रोनले अब्राहामलाई जवाफ दिए:
१५ “हे मेरा प्रभु, मेरो कुरा सुन्नुहोस्! त्यो जमिनको मोल चाँदीको ४०० शेकेल* हो। तर तपाईँ र मबीच पैसाको के कुरा? अप्ठेरो नमानी आफ्नी पत्नीको चिहान बनाउनुहोस्।”
१६ तब अब्राहामले एप्रोनको कुरा सुने। सबै हित्तीले सुन्नेगरि एप्रोनले भनेको मोलअनुसारै अब्राहामले चाँदीको ४०० शेकेल जोखेर दिए। तिनले त्यतिबेला व्यापारीहरूबीच चलेको चलनअनुसारै चाँदी जोखेर दिए।+
१७ यसरी मम्रेनजिक मक्पेलामा भएको एप्रोनको जमिन, त्यहाँको ओडार, त्यहाँका रूखहरू सबै
१८ अब्राहामको हुने पक्का भयो। किनकि अब्राहामले हित्तीहरू र सहरका मूलढोकामा आएका सबै मानिससामु ती सब किनेका थिए।
१९ त्यसपछि अब्राहामले मम्रेनजिकैको मक्पेलाको ओडारलाई आफ्नी पत्नी साराको चिहान बनाए। यो ठाउँ कनानको हेब्रोनमा पर्छ।
२० यसरी हित्तीहरूको खेत र त्यहाँ भएको ओडार अब्राहामको सम्पत्ति भयो र त्यस ठाउँलाई अब्राहामले चिहान बनाए।+
फुटनोटहरू
^ वा सम्भवतः “महान् कुलनायक।”
^ एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।

