उत्पत्ति ६:१-२२

  • परमेश्‍वरका छोराहरू मानिसका छोरीहरूलाई पत्नी बनाउँछन्‌ (१-३)

  • नपिलहरूको जन्म ()

  • मानिसहरूको दुष्ट्‌याइँले यहोवालाई दुःखी बनाउँछ (५-८)

  • नुहलाई जहाज बनाउने आज्ञा दिइन्छ (९-१६)

  • परमेश्‍वर जलप्रलय ल्याउने घोषणा गर्नुहुन्छ (१७-२२)

६  पृथ्वीमा मानिसहरू बढ्‌दै गए र तिनीहरूका छोरीहरू पनि जन्मिए। २  परमेश्‍वरका छोराहरूले*+ मानिसका छोरीहरूतर्फ नजर लगाउन थाले र तिनीहरूलाई उनीहरू बिछट्टै राम्री लाग्यो। त्यसैले तिनीहरूले आफूलाई जो-जो राम्री लाग्यो, उनीहरूलाई आफ्नी पत्नी बनाए। ३  त्यसपछि यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: “म मानिसलाई सधैँभरि सहेर बस्नेछैनँ+ किनकि तिनीहरू पापी हुन्‌।* त्यसैले मानिस १२० वर्ष बाँच्नेछ।”+ ४  त्यसबेला र त्यसपछि पनि पृथ्वीमा नपिलहरू* थिए। किनकि परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूसित सम्बन्ध राख्न थाले, जसले गर्दा तिनीहरूका छोराहरू जन्मिए। ती छोराहरू नै नपिल कहलाइए; उनीहरू नै उहिलेका बलिया-बलिया र नाम चलेका मानिसहरू थिए। ५  यहोवा परमेश्‍वरले पृथ्वीमा मानिसहरू असाध्यै दुष्ट भएको र तिनीहरूले हरबखत खराब कुरा मात्र सोचिरहेको देख्नुभयो।+ ६  पृथ्वीमा मानिसहरू बनाएकोमा यहोवा परमेश्‍वरले अफसोस गर्नुभयो* र उहाँ असाध्यै दुःखी हुनुभयो।*+ ७  त्यसैले यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: “मैले सृष्टि गरेको मानिसलाई म नामेट पार्नेछु। मानिससँगसँगै म घरपालुवा जनावर, घस्रने जीवजन्तु र आकाशमा उड्‌ने जीवहरू सबैलाई पृथ्वीबाट नामेट पार्नेछु। ती बनाएकोमा मलाई अफसोस लागेको छ।” ८  तर यहोवा परमेश्‍वरले नुहलाई चाहिँ अनुग्रह देखाउनुभयो। ९  नुहको जीवनको विवरण यही हो: नुह एक धर्मी पुरुष थिए।+ तिनी आफ्नो जमानाका मानिसहरूभन्दा बिलकुलै फरक थिए; तिनमा खोट लगाउने कुनै ठाउँ थिएन। तिनी साँचो परमेश्‍वरले देखाउनुभएको बाटोमा हिँड्‌थे।*+ १०  नुहका तीन जना छोरा थिए। तिनीहरूको नाम सेम, हाम र यापेत थियो।+ ११  पृथ्वी साँचो परमेश्‍वरको नजरमा भ्रष्ट भएको थियो र हिंसाले भरिएको थियो। १२  हो, परमेश्‍वरले संसारको अवस्था असाध्यै नराम्रो देख्नुभयो+ किनकि सबै मानिस भ्रष्ट भइसकेका थिए।+ १३  त्यसपछि परमेश्‍वरले नुहलाई यसो भन्‍नुभयो: “मैले सबैलाई नाश गर्ने निर्णय गरेको छु किनकि तिनीहरूको कारण पृथ्वी हिंसाले भरिएको छ। त्यसैले म मानिस र पृथ्वीलाई नाश गर्नेछु।+ १४  तिमीले असल काठको* जहाज बनाउनू+ अनि त्यसमा कोठा-कोठा बनाउनू। जहाजको भित्रबाहिर अलकत्राले+ लिप्नू। १५  तिमीले जहाज यसरी बनाउनू: त्यसको लम्बाइ ३०० हात,* चौडाइ ५० हात र उचाइ ३० हातको होस्‌। १६  जहाजमा उज्यालो छिरोस्‌ भनेर छतभन्दा एक हात तल एउटा झ्याल* बनाउनू। जहाजको एकापट्टि ढोका राख्नू।+ पहिलो, दोस्रो र तेस्रो गरी जहाज तीन तलाको बनाउनू। १७  “जीवनको सास* हुने मानिस र जीवजन्तु सबैलाई नाश गर्न म पृथ्वीमा जलप्रलय+ ल्याउनेछु। पृथ्वीमा भएको सबै थोक नाश हुनेछ।+ १८  तर तिमीसित भने म एउटा करार गर्छु। तिमी, तिम्री पत्नी, तिम्रा छोराहरू र बुहारीहरू जहाजभित्र जानू।+ १९  सबै जीवजन्तुलाई जोगाउन तिमीले तिनीहरूको भाले र पोथी गरी एक-एक जोडी+ जहाजमा लैजानू।+ २०  जीवित रहनका लागि जातजातका उड्‌ने जीवहरूका, जातजातका घरपालुवा जनावरका र जातजातका घस्रने जीवजन्तुका भाले र पोथी गरी एक-एक जोडी तिमीसँग जहाजमा जानेछन्‌।+ २१  तिमीले आफ्नो लागि र जीवजन्तुको लागि विभिन्‍न किसिमका खानेकुरा+ पनि जम्मा गरेर जहाजमा लैजानू।” २२  तब नुहले त्यसै गरे। तिनले परमेश्‍वरको आज्ञाबमोजिम सबै गरे।+

फुटनोटहरू

वा “स्वर्गदूतहरूले।”
वा “तिनीहरू आफ्नो शरीरको इच्छाअनुसार चल्छन्‌।”
यसको अर्थ “ढाल्नेहरू” हुन सक्छ, अर्थात्‌ अरूलाई ढाल्नेहरू। शब्दावलीमा “नपिल” हेर्नुहोस्‌।
वा “यहोवा परमेश्‍वर दुःखी हुनुभयो।”
वा “उहाँको चित्त दुख्यो।”
शा., “साँचो परमेश्‍वरसित हिँड्‌थे।”
शा., “गोपेर रूखको काठको।” चोप आउने किसिमको काठ। गोपेर एक प्रकारको सल्लाको रूख हुन सक्छ।
एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
हिब्रू भाषामा सोहार। कसै-कसैको भनाइअनुसार यसले उज्यालो छिरोस्‌ भनेर बनाइने झ्याललाई नभई एक हात बाहिर निस्केको भिरालो छानालाई जनाउँछ।
वा “जीवनशक्‍ति।” शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।