उत्पत्ति ३७:१-३६

  • युसुफका सपनाहरू (१-११)

  • युसुफ र तिनका डाही दाइहरू (१२-२४)

  • युसुफलाई दासको रूपमा बेचिन्छ (२५-३६)

३७  याकुबचाहिँ कनानमै बसे, जहाँ तिनका बुबा परदेशीको रूपमा बसोबास गरेका थिए।+ २  याकुबको परिवारमा भएका केही घटना यी हुन्‌: युसुफ+ १७ वर्षको हुँदा उनी एक चोटि आफ्ना सौतेनी दाइहरूसित वस्तुभाउ चराउन गएका थिए।+ यी दाइहरू याकुबका पत्नीहरू बिल्हा+ र जिल्पाहपट्टिका+ छोराहरू थिए। दाइहरूले गरेको बदमासी युसुफले आफ्नो बुबालाई सुनाए। ३  इस्राएल आफ्ना अरू सबै छोरालाई+ भन्दा युसुफलाई धेरै माया गर्थे। किनकि युसुफ तिनको बुढेसकालमा जन्मेका छोरा थिए। तिनले युसुफको लागि एउटा विशेष लुगा* बनाइदिएका थिए। ४  बुबाले युसुफलाई सबैभन्दा धेरै माया गरेको देखेर उनका दाइहरूले उनलाई घृणा गर्न थाले। तिनीहरू उनीसित राम्ररी* बोल्न समेत चाहँदैनथे। ५  एकपटक युसुफले आफूले देखेको सपनाबारे दाइहरूलाई सुनाए।+ त्यसपछि त दाइहरूले उनलाई झनै घृणा गर्न थाले। ६  उनले दाइहरूलाई भने, “मैले सपनामा के देखेँ, कृपया सुन्‍नुहोस्‌। ७  हामी खेतको बीचमा अन्‍नको बिटा बाँधिरहेका थियौँ। त्यतिकैमा मेरो बिटा उठेर खडा भयो र तपाईँहरूका बिटा मेरो बिटा वरिपरि जम्मा भए अनि त्यसलाई ढोगे।”+ ८  यो सुनेर उनका दाइहरूले भने: “उसोभए, तँ हाम्रो राजा भएर हामीमाथि हैकम जमाउने भइस्‌ हैन त?”+ युसुफको सपना र तिनले भनेको कुरा सुनेपछि तिनीहरूले युसुफलाई पहिलाभन्दा झन्‌ धेरै घृणा गर्न थाले। ९  त्यसपछि युसुफले फेरि अर्को सपना देखे र दाइहरूलाई भने: “मैले अर्को सपना देखेँ। सपनामा सूर्य, चन्द्र र ११ वटा ताराले मलाई ढोगिरहेका थिए।”+ १०  युसुफले आफ्नो बुबा अनि दाइहरूलाई आफ्नो सपनाबारे बताउँदा याकुबले युसुफलाई यसरी हप्काए: “हैन, तिमीले यो कस्तो सपना देख्यौ हँ? त्यसोभए मैले, तिम्री आमा र तिम्रा दाइहरू सबैले साँच्चै तिमीलाई ढोग्नुपऱ्‍यो?” ११  त्यसपछि त दाइहरूले युसुफको झनै डाह गर्न थाले+ तर तिनीहरूका बुबा याकुबले भने युसुफले भनेको सबै कुरा मनमा राखिरहे। १२  एकपटकको कुरा हो, युसुफका दाइहरू आफ्ना बुबाका भेडाबाख्रा चराउन सकेमनजिकै+ गएका थिए। १३  केही समय बितेपछि इस्राएलले युसुफलाई भने: “तिम्रा दाइहरू सकेमतिर भेडाबाख्रा चराउन गएका छन्‌ भनेर तिमीलाई थाहै छ। जाऊ, दाइहरू के गरिरहेका छन्‌, हेरेर आऊ।” युसुफले जवाफ दिए: “हस्‌ बुबा।” १४  तिनले युसुफलाई भने: “बाबु, गएर दाइहरूको हालखबर बुझ। वस्तुभाउ कस्ता छन्‌, हेर र आएर मलाई बताऊ।” त्यसपछि तिनले युसुफलाई हेब्रोन+ बेँसीबाट बिदा गरे र युसुफ सकेमतिर लागे। १५  सकेम पुगेपछि युसुफले दाइहरूलाई खोज्न थाले। यो देखेर एक जना मानिसले उनलाई सोधे: “तिमी यहाँ कसलाई खोज्दै छौ?” १६  युसुफले जवाफ दिए: “म मेरा दाइहरूलाई खोज्दै छु। उहाँहरू भेडाबाख्रा चराउन यतैतिर आउनुभएको थियो, तपाईँले कतै देख्नुभयो कि?” १७  ती मानिसले भने: “तिनीहरू त यहाँबाट हिँडिसके। तिनीहरू ‘दोथानतिर जाऔँ’ भन्दै थिए।” त्यसैले युसुफ आफ्ना दाइहरूलाई खोज्न गए र तिनीहरूलाई दोथानमा भेट्टाए। १८  युसुफ आउँदै गरेको दाइहरूले टाढैबाट देखे र उनी तिनीहरूकहाँ पुग्नुअघि नै तिनीहरूले उनलाई मार्ने योजना बनाए। १९  तिनीहरूले आपसमा भने: “ऊ, हेर त स्वप्नदर्शीको यतैतिर सवारी हुँदै छ!+ २०  लौ त्यसलाई सिध्याऔँ र त्यसको लास यही खाडलमा* फ्याँकिदेऔँ। अनि ‘त्यसलाई जङ्‌गली जनावरले मारेछ क्यारे’ भनिदेऔँ। त्यसपछि हेरौँला, त्यसको सपना कसरी पूरा हुँदो रहेछ!” २१  भाइहरूको कुरा सुनेर रुबेनले+ यसो भन्दै युसुफलाई बचाउन खोजे: “त्यसको ज्यानचाहिँ नलेऔँ।”+ २२  रुबेनले तिनीहरूलाई भने: “बेकारमा त्यसको रगत किन बगाउने?+ बरु त्यसलाई यही खाडलमा फालौँ, त्यसलाई मार्नचाहिँ नमारौँ।”+ युसुफलाई तिनीहरूको हातबाट बचाएर बुबाकहाँ फर्काउने विचारले रुबेनले त्यसो भनेका थिए। २३  युसुफ त्यहाँ पुग्नेबित्तिकै दाइहरूले उनलाई समाते अनि उनले लगाइराखेको विशेष लुगा खोसे।+ २४  त्यसपछि उनलाई लगेर खाडलमा खसालिदिए। त्यतिखेर त्यस खाडलमा पानी थिएन, त्यो सुक्खा थियो। २५  त्यसपछि तिनीहरू खाना खान बसे। त्यतिबेला तिनीहरूले पर गिलादतिरबाट इस्माएलीहरूको+ लस्कर आइरहेको देखे। तिनीहरू लब्दानम,* बाल्सम* र रूखको बोक्रा*+ उँटलाई बोकाएर मिश्रतिर जाँदै थिए। २६  तब यहुदाले भने: “भाइलाई मारेर अनि मारेको कुरा ढाकछोप गरेर हामीलाई के फाइदा?+ २७  आखिर त्यो पनि त हाम्रै भाइ, हाम्रै रगत हो। त्यसलाई मार्नुको साटो इस्माएलीहरूको हातमा बेचौँ।”+ तब तिनीहरूले यहुदाको कुरा माने। २८  मिद्यानी+ व्यापारीहरू नजिकै आइपुगेपछि दाइहरूले युसुफलाई खाडलबाट निकाले र २० टुक्रा चाँदीमा इस्माएलीहरूको हातमा बेचिदिए।+ अनि ती इस्माएलीहरूले युसुफलाई मिश्र लगे। २९  पछि रुबेन युसुफलाई खाडलबाट निकाल्न आउँदा तिनले युसुफलाई त्यहाँ देखेनन्‌। तब तिनले दुःखी हुँदै आफ्नो लुगा च्याते। ३०  अनि आत्तिँदै भाइहरूकहाँ गएर तिनले भने: “लौ! भाइ त छैन! अब म के गरूँ?” ३१  तब तिनीहरूले एउटा बोका काटे अनि युसुफको लुगा त्यसको रगतमा चोपे। ३२  त्यसपछि तिनीहरूले युसुफको त्यो विशेष लुगासँगै यस्तो खबर बुबाकहाँ पठाए: “हामीले यो लुगा फेला पाऱ्‍यौँ। कतै तपाईँको छोराको पो हो कि, हेर्नुहोस्‌ त!”+ ३३  याकुबले त्यो लुगा ओल्टाइपल्टाइ हेरेपछि यसरी बिलौना गरे: “यो त मेरै छोराको लुगा हो! मेरो छोरा युसुफलाई जङ्‌गली जनावरले माऱ्‍यो होला! उसलाई लुछेर खायो होला!” ३४  त्यसपछि याकुबले आफ्नो लुगा च्याते र कम्मरमा भाङ्‌ग्रा बेरे। अनि धेरै दिनसम्म शोक गरिरहे। ३५  याकुबलाई तिनका छोराछोरी सबैले सान्त्वना दिए तर पनि तिनको दुःख कम भएन। तिनले भने: “म चिहानमा* नगएसम्म+ मेरो छोराको लागि शोक मनाइरहनेछु।” यसरी युसुफलाई सम्झेर तिनी धेरै दिनसम्म रोइरहे। ३६  उतातिर मिद्यानीहरू युसुफलाई लिएर मिश्र पुगे र तिनलाई पोतिफरकहाँ बेचिदिए। पोतिफर फारोको दरबारका अफिसर+ र पहरेदारहरूका कप्तान थिए।+

फुटनोटहरू

वा “लामो सुन्दर पोशाक।”
शा., “शान्तपूर्वक।”
यसले पानी जम्मा गर्न बनाइएको खाडललाई जनाएको हुनुपर्छ।
एक प्रकारको सुगन्धित चोप।
कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।
यस बोक्राबाट निस्कने चोप अत्तर बनाउन प्रयोग गरिन्थ्यो।
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।