उत्पत्ति १२:१-२०
१२ यहोवा परमेश्वरले अब्रामलाई भन्नुभयो: “तिम्रो ठाउँ, तिम्रा नातेदार अनि तिम्रो बुबाको घर छोडेर जाऊ। तिमी जानुपर्ने ठाउँ म तिमीलाई देखाउनेछु।+
२ म तिमीबाट एउटा ठूलो जाति बनाउनेछु। म तिमीलाई आशिष् दिनेछु र तिमीले ठूलो नाम कमाउनेछौ। तिमी नै मानिसहरूका लागि आशिष् साबित हुनेछौ।+
३ तिमीलाई आशिष् दिनेहरूलाई म आशिष् दिनेछु र सराप दिनेहरूलाई सराप दिनेछु।+ तिमीद्वारै पृथ्वीका सबै घरानाले आशिष् पाउनेछन्।”*+
४ यहोवा परमेश्वरले भन्नुभएझैँ अब्राम त्यहाँबाट गए। लुत पनि तिनीसँगै गए। हारान छोड्दा अब्राम ७५ वर्षका थिए।+
५ अब्राम आफ्नी पत्नी साराई,+ भतिजा लुत,+ आफ्नो सबै धनसम्पत्ति+ र हारानमा भएका सबै नोकरचाकर लिएर कनानतर्फ हिँडे।+ तिनीहरू कनान हुँदै
६ सकेमनजिकै+ मोरेका ठूलठूला रूखहरू+ भएको ठाउँनेर पुगे। त्यतिबेला सकेममा कनानीहरू बस्थे।
७ तब यहोवा परमेश्वर अब्रामकहाँ देखा पर्नुभयो र भन्नुभयो: “म तिम्रो सन्तानलाई*+ यो ठाउँ दिनेछु।”+ त्यहाँ अब्रामले आफूकहाँ देखा पर्नुभएको यहोवा परमेश्वरको लागि एउटा वेदी बनाए।
८ पछि तिनी बेथेलको+ पूर्वतिर पर्ने पहाडी इलाकामा सरे र त्यहाँ पाल टाँगे। त्यहाँबाट पश्चिममा बेथेल र पूर्वमा ऐ+ पर्थ्यो। त्यहाँ तिनले यहोवा परमेश्वरको लागि एउटा वेदी बनाए+ र यहोवाको नाम पुकार्न थाले।+
९ त्यसपछि अब्राम ठाउँठाउँमा पाल टाँगेर आफ्नो यात्रा अघि बढाउँदै नेगेबतिर+ लागे।
१० तब कनानमा अनिकाल पऱ्यो।+ भोकमरी असाध्यै फैलिएपछि अब्राम केही समयका लागि मिश्रमा* बसोबास गर्न गए।+
११ मिश्र पुग्नै लाग्दा अब्रामले आफ्नी पत्नी साराईलाई भने: “तिमीलाई एउटा कुरा भन्नु छ, कृपया मेरो कुरा सुन। मिश्र पुगेपछि त्यहाँका मानिसहरूले पक्कै तिमीलाई हेर्नेछन् किनभने तिमी असाध्यै राम्री छ्यौ।+
१२ मिश्रीहरूले तिमीलाई मसँगै देखेपछि ‘उनी त यिनकी पत्नी रहेछिन्’ भन्नेछन्। अनि तिनीहरूले मलाई मार्नेछन् र तिमीलाई चाहिँ लैजानेछन्।
१३ त्यसैले बिन्ती छ, त्यहाँका मानिसहरूलाई ‘म उहाँकी बहिनी हुँ’ भनिदेऊ। यसो भन्यौ भने ममाथि कुनै खतरा आइपर्नेछैन र मेरो ज्यान बच्नेछ।”+
१४ अब्राम र साराई मिश्र पुग्नेबित्तिकै मिश्रीहरूको नजर साराईमाथि पऱ्यो। मिश्रीहरूलाई साराई असाध्यै राम्री लाग्यो।
१५ फारोका* भारदारहरूले पनि उनलाई देखे र फारोको अगाडि उनको रूपको बखान गरे। त्यसैले साराईलाई फारोको महलमा हाजिर गराइयो।
१६ साराईको कारण फारोले अब्रामसित राम्रो व्यवहार गरे। अनि अब्रामलाई थुप्रै भेडा, गाईगोरु, गधा, नोकरचाकर अनि उँट दिए।+
१७ फारोले अब्रामकी पत्नी साराईलाई+ आफ्नो महलमा ल्याएको हुनाले यहोवा परमेश्वरले फारो र तिनको घरानामाथि भयानक महामारीहरू ल्याउनुभयो।
१८ त्यसैले फारोले अब्रामलाई बोलाएर भने: “तिमीले यो के गऱ्यौ? उनी तिम्री पत्नी हुन् भन्ने कुरा किन लुकायौ?
१९ ‘उनी मेरी बहिनी हुन्’+ भनेर मलाई किन ढाँट्यौ? मैले झन्डै उनलाई आफ्नी पत्नी बनाएको थिएँ। तिम्री पत्नी यहीँ छिन्। उनलाई लिएर गइहाल।”
२० तब ‘अब्रामलाई यहाँबाट पठाइदेओ’ भनेर फारोले आफ्ना मानिसहरूलाई आदेश दिए। तिनीहरूले अब्रामलाई तिनकी पत्नी र तिनीसँग भएका सबै कुरा सँगै लैजान दिए।+

