उत्पत्ति १८:१-३३
१८ अब्राहाम मम्रेमा ठूलठूला रूखबीच पाल टाँगेर बसिरहेका थिए।+ एकदिन मध्यदिनको चर्को घाममा तिनी पालको ढोकामा बसिरहेको बेला यहोवा परमेश्वर+ तिनीकहाँ प्रकट हुनुभयो।
२ तिनले अलि परतिर तीन जना लोग्नेमान्छे उभिरहेका देखे।+ तिनी ढोकाबाट दगुरेर उनीहरूलाई भेट्न गए अनि भुईँमा घोप्टो परेर उनीहरूलाई ढोगे।
३ त्यसपछि तिनले भने: “हे यहोवा परमेश्वर, तपाईँको निगाह पाएको छु भने कृपा गरी आफ्नो दासकहाँ पाल्नुहोस्।
४ म पानी ल्याएर तपाईँहरूका गोडा धोइदिन्छु;+ त्यसपछि तपाईँहरू रूखमुनि आराम गर्नुहोस्।
५ तपाईँहरू यहाँ आफ्नो दासकहाँ पाल्नुभएको छ। त्यसैले म रोटी पोलेर ल्याउँछु। खानुहोस् र थकाइ मार्नुहोस्; त्यसपछि तपाईँहरू जता जान खोज्नुभएको हो, त्यतै जानुहोला।” तब उनीहरूले भने: “हुन्छ, जाऊ तिमीले भनेझैँ गर।”
६ अब्राहाम पालतिर कुदेर साराकहाँ गए र भने: “लौ! झट्टै तीन भाँडो* मसिनो पीठो मुछ र रोटी पोल।”
७ त्यसपछि अब्राहाम आफ्नो बथान भएतिर दगुरे र सबैभन्दा राम्रो बहर छाने। तिनले त्यो बाछो आफ्नो चाकरलाई दिए र चाकरले तुरुन्तै काटकुट गरेर पकाए।
८ त्यसपछि तिनले घ्यू, दूध, मासु र रोटी पाहुनालाई टक्य्राए। अनि पाहुनाले खाना खाउन्जेल आफूचाहिँ उनीहरूनजिकै रूखमुनि उभिरहे।+
९ उनीहरूले तिनलाई सोधे: “तिम्री पत्नी सारा+ कहाँ छिन्?” तिनले जवाफ दिए: “यहीँ पालमा छिन्।”
१० अनि उनीहरूमध्ये एक जनाले भने: “हेर, अर्को वर्ष यसै बेला तिमीकहाँ आउँदा तिम्री पत्नी साराले एउटा छोरा जन्माइसकेकी हुनेछिन्।”+ सारा त्यस मानिसको पछिल्तिर पालको ढोकामा उभिएर यो कुरा सुनिरहेकी थिइन्।
११ अब्राहाम र सारा बूढाबूढी भइसकेका थिए+ र साराको त बच्चा जन्माउने उमेरसमेत कटिसकेको थियो।+
१२ त्यसैले साराले मनमनै हाँस्दै सोचिन्: “म बूढी भइसकेँ अनि मेरा प्रभुको उमेर पनि ढल्किसक्यो। के मैले साँच्चै सन्तानको सुख पाउन सकूँला र?”+
१३ तब यहोवा परमेश्वरले अब्राहामलाई भन्नुभयो: “सारा किन हाँसिन्? ‘म बूढीले पनि साँच्चै बच्चा जन्माउन सकूँला र’ भनेर किन भनिन्?
१४ यहोवाको लागि कुनै कुरा असम्भव छ र?+ म अर्को वर्ष यसै बेला तिमीकहाँ आउँदा साराले एउटा छोरा जन्माइसकेकी हुनेछिन्।”
१५ तब साराले यसो भनिन्: “अहँ, म हाँसेकै छैनँ!” किनभने तिनी डराएकी थिइन्। अनि परमेश्वरले भन्नुभयो: “होइन, तिमी हाँसेकै हौ।”
१६ जब ती लोग्नेमान्छेहरू जान तयार भए, उनीहरूले सदोमतिर हेरे।+ अनि उनीहरूलाई अलि परसम्म पुऱ्याउन अब्राहाम पनि सँगै गए।
१७ त्यसपछि यहोवा परमेश्वरले भन्नुभयो: “मैले गर्न लागेको कुरा अब्राहामसित किन लुकाउनु?+
१८ आखिर अब्राहामबाटै ठूलो र शक्तिशाली जाति निस्कनेछ र तिनीबाटै पृथ्वीका सबै जातिले आशिष् पाउनेछन्।*+
१९ म अब्राहामलाई राम्ररी चिन्छु। म यस कुरामा ढुक्क छु, तिनले जे सही र न्यायोचित छ, त्यही गर्न आफ्ना सन्तान र घरानालाई आज्ञा दिनेछन् अनि तिनले तिनीहरूलाई यहोवाले देखाउनुभएको बाटोमा हिँड्न लगाउनेछन्।+ तब यहोवाले आफ्नो वाचा पूरा गर्नुहुनेछ।”
२० अनि यहोवा परमेश्वरले भन्नुभयो: “सदोम र गमोराविरुद्ध गरिएको ठूलो गुनासो मेरो कानसम्मै पुगेको छ।+ तिनीहरूले घोर कुकर्म गरेका छन्।+
२१ अब म तल ओर्लन्छु अनि मैले सुनेको तिनीहरूको गुनासो सही हो कि होइन, म आफै पक्का गर्छु।”+
२२ त्यसपछि दुई जना लोग्नेमान्छे सदोमतिर ओर्ले तर यहोवा परमेश्वर+ भने अब्राहामसित रहनुभयो।
२३ अनि अब्राहामले अघि सरेर उहाँलाई सोधे: “के तपाईँ धर्मी मानिसलाई पनि दुष्टसँगसँगै नाश गर्नुहुन्छ?+
२४ यदि त्यस सहरमा ५० जना धर्मी मानिस रहेछन् भने तपाईँ के गर्नुहुन्छ? के तिनीहरूलाई पनि अरू मानिससँगै नाश गर्नुहुन्छ? ती ५० जना धर्मी मानिसलाई बचाउन के तपाईँ त्यस सहरलाई छोडिदिनुहुन्न?
२५ तपाईँले पक्कै पनि धर्मी र दुष्ट दुवैसित एउटै व्यवहार गर्नुहुन्न+ अनि धर्मी मानिसलाई दुष्टसँगसँगै नाश गर्नुहुन्न। अहँ! तपाईँबाट यस्तो कहिल्यै हुन सक्दैन!+ सारा पृथ्वीका न्यायकर्ताले के न्याय गर्नुहुन्न होला र?”+
२६ तब यहोवा परमेश्वरले भन्नुभयो: “यदि सदोममा ५० जना मात्र धर्मी मानिस फेला पारेँ भने पनि तिनीहरूलाई बचाउन म त्यस सहरलाई नाश गर्दिनँ।”
२७ तर अब्राहामले फेरि भने: “बिन्ती छ यहोवा परमेश्वर, म माटो र खरानी मात्र हुँ। तैपनि अझै एउटा कुरा सोध्ने आँट गर्दै छु।
२८ यदि त्यहाँ ४५ जना मात्र धर्मी मानिस रहेछन् भने नि?” तब उहाँले भन्नुभयो: “त्यहाँ ४५ जना मात्र भेट्टाएँ भने पनि म त्यस सहरलाई नाश गर्दिनँ।”+
२९ तर तिनले अझै उहाँलाई सोधे: “त्यहाँ ४० जना रहेछन् भने नि?” उहाँले जवाफ दिनुभयो: “त्यहाँ ४० जना मात्र रहेछन् भने पनि म त्यस सहरलाई नाश गर्दिनँ।”
३० तर तिनले अझै भने: “यहोवा परमेश्वर रिसानी माफ होस्।+ म अझै केही भन्न चाहन्छु: त्यहाँ ३० जना मात्र भेट्टिए भने नि?” उहाँले जवाफ दिनुभयो: “त्यहाँ ३० जना मात्र रहेछन् भने पनि म त्यस सहरलाई नाश गर्दिनँ।”
३१ तर तिनले फेरि भने: “म यहोवा परमेश्वरसित अझै प्रश्न गर्ने आँट गर्दै छु: २० जना मात्र रहेछन् भने नि?” उहाँले जवाफ दिनुभयो: “त्यहाँ २० जना मात्र रहेछन् भने पनि म त्यस सहरलाई नाश गर्दिनँ।”
३२ अनि तिनले भने: “यहोवा परमेश्वर रिसानी माफ होस्। यही अन्तिम पटक सोध्छु: १० जना मात्र रहेछन् भने नि?” उहाँले जवाफ दिनुभयो: “त्यहाँ १० जना मात्र रहेछन् भने पनि म त्यस सहरलाई नाश गर्दिनँ।”
३३ अब्राहामसित कुरा गरिसकेपछि यहोवा परमेश्वर जानुभयो+ र अब्राहाम पनि आफ्नो पालमा फर्के।
फुटनोटहरू
^ शा., “सेआ।” एक सेआ भनेको ७.३३ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ वा “आफूमाथि आशिष् ल्याउनेछन्।”

