उत्पत्ति २८:१-२२
२८ त्यसकारण इसहाकले याकुबलाई बोलाए अनि तिनलाई आशिष् दिनुका साथै यो आज्ञा पनि दिए: “तिमीले कनानी केटीहरूसित कुनै पनि हालतमा बिहे नगर्नू।+
२ बरु पद्दान-अराममा तिम्रा हजुरबुबा बतुएलकहाँ जाऊ र तिम्रो मामा लाबानकी छोरीहरूमध्ये एउटीसित बिहे गर।+
३ यसो गऱ्यौ भने सर्वशक्तिमान् परमेश्वरले तिमीलाई आशिष् दिनुहुनेछ र तिम्रा धेरै सन्तान हुनेछन्। अनि तिम्रा सन्तानबाट विभिन्न कुल मिलेर बनेको एउटा ठूलो समुदाय निस्कनेछ।+
४ उहाँले तिम्रो हजुरबुबा अब्राहामलाई दिनुभएको आशिष् तिमी र तिम्रा सन्तानलाई पनि दिनुहुनेछ।+ परमेश्वरले अब्राहामलाई दिनुभएको यो भूमि जहाँ अहिले तिमी प्रवासी भएर बसिरहेका छौ, ती सबै तिम्रो हुनेछ।”+
५ त्यसपछि इसहाकले याकुबलाई बिदा गरे र याकुब पद्दान-अराममा लाबानकहाँ गए। लाबान अरामी+ बतुएलका छोरा अनि याकुब र एसावकी आमा रिबेकाका दाइ थिए।+
६ आफ्नो बुबा इसहाकले याकुबलाई आशिष् दिएको, पद्दान-अराममा केटी खोज्न पठाएको र तिनलाई आशिष् दिँदा “कनानी केटीसित कुनै हालतमा बिहे नगर्नू” भनेर आज्ञा दिएको कुरा एसावले थाह पाएका थिए।+
७ अनि आफ्ना आमाबुबाको आज्ञा पालन गरेर याकुब पद्दान-अरामतिर लागेको कुरा पनि एसावलाई थाह थियो।+
८ बुबालाई कनानी केटीहरू मन पर्दैन रहेछ भनेर तब एसावले बुझे।+
९ त्यसैले तिनी अब्राहामका छोरा इस्माएलकहाँ गए र इस्माएलकी छोरी, नबायोथकी बहिनी महलाथसित तिनले बिहे गरे। एसावका अरू पत्नीहरू पनि थिए।+
१० याकुब बेर्सेबाबाट हारानतिर लागे।+
११ हिँड्दा-हिँड्दै घाम पनि अस्तायो। त्यसैले तिनले बीच बाटोमै रात काट्ने विचार गरे। तिनले एउटा ढुङ्गा लिए र त्यसलाई सिरानी बनाएर त्यहीँ सुते।+
१२ तिनले एउटा सपना देखे। तिनले सपनामा पृथ्वीबाट स्वर्गसम्मै पुग्ने एउटा भऱ्याङ देखे। त्यहाँबाट स्वर्गदूतहरू ओर्लने र उक्लने गर्दा रहेछन्।+
१३ अनि सबैभन्दा माथि यहोवा परमेश्वर हुनुहुँदो रहेछ र उहाँले यसो भन्नुभयो:
“म यहोवा, तिम्रा पुर्खा अब्राहाम र इसहाकका परमेश्वर हुँ।+ तिमी अहिले पल्टिरहेको भूमि म तिमी र तिम्रा सन्तानलाई दिनेछु।+
१४ तिम्रा सन्तान बालुवाजस्तै गन्नै नसक्नेगरि धेरै हुनेछन्।+ तिम्रा सन्तानले पूर्व-पश्चिम, उत्तर-दक्षिण चारैतिरको इलाका ढाक्नेछन्। अनि तिमी र तिम्रा सन्तानद्वारा पृथ्वीका सबै घरानाले आशिष् पाउनेछन्।*+
१५ म तिमीसित छु र तिमी जहाँ गए पनि म तिम्रो रक्षा गर्नेछु र एकदिन तिमीलाई फर्काएर यहीँ ल्याउनेछु।+ मेरो प्रतिज्ञा पूरा नभएसम्म म तिमीसँगै हुनेछु।”+
१६ तब याकुब निद्राबाट झल्याँस्स ब्युँझे र तिनले भने: “ओहो! यस ठाउँमा यहोवा परमेश्वर हुनुहुँदो रहेछ र मलाई यो कुरा थाहै थिएन।”
१७ तिनी डराए र यसो भने: “यो साधारण ठाउँ होइन, पवित्र ठाउँ हो! यो परमेश्वरकै घर हुनुपर्छ+ अनि स्वर्ग जाने ढोका पनि यहीँ रहेछ!”+
१८ तब याकुब बिहान सबेरै उठे र आफूले सिरानी बनाएको ढुङ्गा ठड्याएर त्यसमाथि तेल खन्याए।+
१९ तिनले त्यस ठाउँको नाम बेथेल* राखे। पहिला त्यस सहरको नाम लुज थियो।+
२० त्यसपछि याकुबले यसो भनेर भाकल गरे: “हे परमेश्वर, यदि तपाईँ मसँग रहनुभयो, बाटोमा मेरो रक्षा गर्नुभयो अनि मलाई रोटी र लुगाफाटा जुटाइदिनुभयो
२१ र अन्तमा म सकुशल बुबाको घर फर्कन पाएँ भने तपाईँ साँच्चै मेरा परमेश्वर यहोवा हुनुहुँदो रहेछ भनेर म थाह पाउनेछु।
२२ तब मैले ठड्याएको यो ढुङ्गा तपाईँको घर हुनेछ+ र तपाईँले मलाई दिनुभएको सबै थोकको दस भागको एक भाग म सधैँ तपाईँलाई चढाउनेछु।”