उत्पत्ति ४७:१-३१

  • याकुब फारोलाई भेट्‌छन्‌ (१-१२)

  • युसुफको बुद्धिमानी प्रबन्ध (१३-२६)

  • इस्राएलका सन्तान गोसेनमा बसोबास गर्छन्‌ (२७-३१)

४७  अनि युसुफले फारोकहाँ गएर भने:+ “मेरा बुबा र दाजुभाइ आफ्नो वस्तुभाउ अनि सबै थोक लिएर कनानबाट आइपुग्नुभएको छ। उहाँहरू अहिले गोसेनमा हुनुहुन्छ।”+ २  तिनले आफ्ना दाजुभाइमध्ये पाँच जनालाई फारोकहाँ लगे।+ ३  फारोले तिनका दाजुभाइलाई सोधे: “तिमीहरूको काम के हो?” उनीहरूले फारोलाई यस्तो जवाफ दिए: “हामी हजुरका दासहरू भेडा गोठाला हौँ। पितापुर्खाको पालादेखि हामी यही काम गर्दै आएका छौँ।”+ ४  उनीहरूले फारोलाई यसो पनि भने: “कनानमा भयङ्‌कर अनिकाल परेको छ।+ हामी हजुरका दासहरूलाई वस्तुभाउ चराउने ठाउँसमेत छैन। त्यसैले हामीलाई यस देशमा परदेशीको+ रूपमा बसोबास गर्न दिनुहोस्‌। बिन्ती छ, हजुरका दासहरूलाई गोसेनमा+ बस्न दिनुहोस्‌।” ५  तब फारोले युसुफलाई भने: “तिम्रा बुबा र दाजुभाइ तिमीकहाँ आएका छन्‌। ६  मैले पूरै मिश्र तिम्रै हातमा सुम्पेको छु। त्यसैले उनीहरूलाई मिश्रको सबैभन्दा असल ठाउँ देऊ; उनीहरूलाई गोसेनमै बस्न देऊ।+ अनि उनीहरूमध्ये जस-जसले राम्ररी गोठालो काम गर्न सक्छन्‌, मेरा वस्तुभाउ पनि उनीहरूलाई नै चराउन देऊ।” ७  त्यसपछि युसुफले आफ्ना बुबा याकुबलाई फारोकहाँ लगे। याकुबले फारोलाई आशिष्‌ दिए। ८  अनि फारोले तिनलाई सोधे: “तपाईँ कति वर्षको हुनुभयो?” ९  याकुबले जवाफ दिए: “म १३० वर्षको भएँ। तर मेरा पुर्खाहरूको तुलनामा मेरो जीवन छोटो र दुःखैदुःखले भरिएको छ।+ मेरा पितापुर्खाले जस्तै मैले पनि आफ्नो सारा जीवन ठाउँठाउँमा परदेशीको रूपमा बिताएको छु।”+ १०  त्यसपछि याकुबले फारोलाई आशिष्‌ दिए र त्यहाँबाट निस्के। ११  तब फारोको आदेशबमोजिम युसुफले आफ्ना बुबा र दाजुभाइलाई मिश्रको रामसेस भन्‍ने ठाउँमा सबैभन्दा असल जमिन दिए।+ १२  युसुफले आफ्ना बुबा, दाजुभाइ र बुबाको सबै परिवारलाई तिनीहरूका बालबच्चाको सङ्‌ख्याअनुसार खानेकुरा* दिइरहे। १३  अनिकाल चर्कँदै गएकोले खानेकुरा पाइनै छोड्‌यो। मिश्र र कनानलाई पनि अनिकालले गाँज्यो र सबैतिर हाहाकार मच्चियो।+ १४  मिश्र र कनानका मानिसहरू युसुफसँग पैसा तिरेर अन्‍न किन्थे।+ अनि युसुफले त्यो पैसा फारोको ढुकुटीमा जम्मा गरिदिन्थे। १५  पछि गएर मिश्र र कनानका मानिसहरूसित भएको सबै पैसा सिद्धियो। तब मिश्रका सबै मानिस युसुफकहाँ आएर यसो भन्‍न थाले: “अब हामीसित पैसा पनि छैन। हामीलाई खानेकुरा दिनुहोस्‌! नत्र त हामी हजुरकै आँखाअगाडि भोकभोकै मर्ने भयौँ!” १६  त्यसपछि युसुफले भने: “तिमीहरूसित पैसा छैन भने वस्तुभाउ ल्याओ। म तिमीहरूलाई वस्तुभाउको सट्टा अन्‍न दिन्छु।” १७  तब तिनीहरूले युसुफकहाँ आफ्ना वस्तुभाउ ल्याउन थाले। युसुफले तिनीहरूका घोडा, गधा, गाईगोरु अनि भेडाबाख्रा लिएर खानेकुरा दिए। त्यस वर्षभरि तिनले त्यसै गरे। १८  अर्को वर्ष लागेपछि तिनीहरूले युसुफलाई यसो भन्‍न थाले: “मालिक, हाम्रो अवस्था हजुरबाट लुकेको छैन। अब हामीसित न त पैसा छ न वस्तुभाउ। अब हामीसित आफ्नो जीवन अनि जमिनबाहेक अरू केही छैन। १९  हजुर हुँदाहुँदै हामी मर्ने भयौँ। हाम्रो जमिन बाँझो रहने भयो। बरु हामी र हाम्रो जग्गाजमिन किन्‍नुहोस्‌ र हामीलाई खानेकुरा दिनुहोस्‌। हामी फारोको दास हुनेछौँ अनि हाम्रो जग्गाजमिन पनि फारोकै हुनेछ। हामीलाई बिउ दिनुहोस्‌। हाम्रो जमिन बाँझो नरहोस्‌ र हामी मर्न नपरोस्‌।” २०  अनिकाल झन्‌झन्‌ बढ्‌दै गयो अनि मिश्रका सबै मानिसले आफ्नो जग्गाजमिन युसुफलाई बेचे। यसरी मिश्रको सबै जमिन फारोको भयो। २१  अनि युसुफले मिश्रको चारैतिर फैलिएका मिश्रीहरूलाई सहरहरूमा सर्न आदेश दिए।+ २२  तिनले पुजारीहरूको मात्र जग्गाजमिन किनेनन्‌+ किनभने फारोले नै पुजारीहरूको रासनपानीको प्रबन्ध गरिदिन्थे। त्यसैबाट गुजारा चल्ने भएकोले पुजारीहरूले आफ्नो जग्गाजमिन बेच्नुपरेन। २३  तब युसुफले मानिसहरूलाई भने: “हेर, मैले आज तिमीहरू र तिमीहरूको जग्गाजमिन फारोको निम्ति किनेको छु। अब बिउ लैजाओ र खेती गर। २४  उब्जनी भएपछि फसलको पाँच भागको एक भाग फारोलाई बुझाओ+ र चार भागचाहिँ बिउको लागि अनि आफ्नो, आफ्नो घरमा भएकाहरूको र बालबच्चाको निम्ति राख।” २५  तब तिनीहरूले भने: “हजुरले हामीलाई भोकभोकै मर्नदेखि जोगाउनुभएको छ।+ निगाह पाऔँ हजुर, हामी फारोका दास हुनेछौँ।”+ २६  त्यसपछि युसुफले फसलको पाँच भागको एक भाग फारोलाई दिनुपर्छ भनेर उर्दी जारी गरे र यो नियम आजको दिनसम्मै मिश्रमा कायमै छ। फारोले पुजारीहरूको जग्गाजमिन मात्र लिएनन्‌।+ २७  इस्राएलका सन्तान मिश्रको गोसेनमै बस्न थाले।+ त्यहाँ उनीहरू फल्दै-फुल्दै गए र उनीहरूको निकै वृद्धि भयो।+ उनीहरू सबै त्यहीँ बसोबास गर्न थाले। २८  याकुब मिश्रमा १७ वर्ष बसे। त्यसपछि तिनको मृत्यु भयो। तिनको जम्मा उमेर १४७ वर्ष थियो।+ २९  इस्राएललाई आफू अब धेरै दिन बाँच्दिनँ जस्तो लागेकोले युसुफलाई बोलाएर तिनले भने:+ “छोरा, यदि तिमी मलाई साँच्चै माया गर्छौ भने मेरो तिघ्रामुनि हात राखेर तिमीले मेरो लास मिश्रमा गाड्‌नेछैनौ भनी कसम खाऊ। बिन्ती छ, ममाथि दया* गर र मेरो भरोसा नतोड।+ ३०  म मरेपछि मेरो लास मिश्रबाट लगेर मेरा पुर्खाहरूको चिहानमा गाडिदेऊ।”+ अनि युसुफले भने: “हुन्छ बुबा, म तपाईँले भनेझैँ गर्छु।” ३१  त्यसपछि इस्राएलले भने: “उसोभए कसम खाऊ।”+ अनि युसुफले कसम खाए। तब इस्राएलले सिरानीमा घोप्टो परेर प्रार्थना गरे।+

फुटनोटहरू

शा., “रोटी।”
वा “अटल प्रेम।”