उत्पत्ति २२:१-२४

  • अब्राहामलाई इसहाकको बलि चढाउन भनिन्छ (१-१९)

    • अब्राहामको सन्तानमार्फत आशिष्‌ (१५-१८)

  • रिबेकाको परिवार (२०-२४)

२२  त्यसपछि साँचो परमेश्‍वरले अब्राहामको परीक्षा लिनुभयो।+ उहाँले तिनलाई “अब्राहाम!” भनेर बोलाउनुभयो। अनि तिनले जवाफ दिए: “हजुर, म यहाँ छु।” २  उहाँले तिनलाई यसो भन्दै आग्रह गर्नुभयो: “तिमीले असाध्यै माया गर्ने तिम्रो एक मात्र छोरा+ इसहाकलाई+ लिएर मोरियाहमा+ जाऊ। अनि म तिमीलाई जुन डाँडा देखाउँछु, त्यहाँ उक्लेर तिनलाई अग्निभेटीको रूपमा चढाऊ।” ३  तब अब्राहाम बिहान सबेरै उठे र आफ्नो गधामा काठी कसे। तिनले अग्निभेटीको लागि दाउरा चिरे अनि आफ्नो छोरा इसहाक र दुई जना दासलाई सँगै लिएर साँचो परमेश्‍वरले देखाउनुभएको ठाउँतिर हिँडे। ४  तेस्रो दिन अब्राहामले टाढैबाट त्यो ठाउँ देखे। ५  अब्राहामले आफ्ना दासहरूलाई भने: “तिमीहरू गधासँगै यहीँ पर्खेर बस। म र छोरा जान्छौँ अनि त्यहाँ परमेश्‍वरको उपासना गरेर फर्कन्छौँ।” ६  अनि अब्राहामले अग्निभेटीको लागि लगेका दाउरा इसहाकलाई बोकाए। तिनले चाहिँ आगो र छुरी बोके अनि दुवै जना हिँडे। ७  त्यसपछि इसहाकले आफ्नो बुबा अब्राहामलाई भने: “बुबा!” तिनले जवाफ दिए: “भन बाबु!” इसहाकले सोधे: “आगो र दाउरा त हामीसँग छ तर अग्निभेटीको लागि भेडा खोइ त?” ८  अब्राहामले भने: “हेर बाबु, अग्निभेटीको+ लागि परमेश्‍वरले नै भेडा जुटाइदिनुहुन्छ।” त्यसपछि तिनीहरू सँगसँगै हिँड्‌दै गए। ९  अन्तमा तिनीहरू परमेश्‍वरले भन्‍नुभएको ठाउँमा पुगे। त्यहाँ अब्राहामले वेदी बनाए र त्यसमाथि दाउरा मिलाएर राखे। अनि तिनले आफ्नो छोरा इसहाकको हातगोडा बाँधे र वेदीको दाउरामाथि उनलाई राखे।+ १०  त्यसपछि अब्राहामले छुरी लिए र छोरालाई बलि चढाउन तयार भए।+ ११  तब यहोवा परमेश्‍वरको दूतले तिनलाई स्वर्गबाट बोलाए: “अब्राहाम! ए अब्राहाम!” अनि तिनले भने: “हजुर, म यहाँ छु।” १२  त्यसपछि स्वर्गदूतले भने: “त्यो केटोलाई केही हानि नगर। तिमी परमेश्‍वरको डर राख्ने मानिस हौ भनेर अब मैले जानेँ। किनभने आफ्नो एउटै छोरालाई समेत बलि चढाउनदेखि तिमी पछि हटेनौ।”+ १३  तब अब्राहामले नजिकैको झाडीमा सिङ अल्झेर बसेको एउटा भेडा देखे। अब्राहामले त्यो भेडा ल्याए र आफ्नो छोराको सट्टा त्यसलाई अग्निभेटीको रूपमा चढाए। १४  अनि अब्राहामले त्यस ठाउँको नाम यहोवा-यिरे* राखे। त्यसकारण आजसम्मै एउटा आहान चलेको छ: “यहोवा परमेश्‍वरको डाँडामा जुटाइनेछ।”+ १५  तब यहोवा परमेश्‍वरको दूतले स्वर्गबाट अब्राहामलाई फेरि बोलाए १६  र यसो भने: “यहोवाले यस्तो सन्देश पठाउनुभएको छ, ‘मेरो निम्ति यति ठूलो त्याग गर्न तिमी राजी भयौ र आफ्नो एउटै छोरा बलि चढाउन समेत पछि हटेनौ।+ त्यसैले म आफ्नै कसम खाएर भन्छु,+ १७  म तिमीलाई निश्‍चय आशिष्‌ दिनेछु र म निश्‍चय नै तिम्रा सन्तानलाई आकाशका तारा र समुद्र किनारका बालुवासरी बढाउनेछु।+ तिम्रा सन्तानले शत्रुहरूका सहर कब्जा गर्नेछन्‌।+ १८  तिम्रै सन्तानमार्फत+ पृथ्वीका सबै जातिले आशिष्‌ पाउनेछन्‌ किनभने तिमीले मेरो कुरा सुन्यौ।’”+ १९  त्यसपछि अब्राहाम आफ्ना दासहरू पर्खेर बसेको ठाउँमा गए अनि तिनीहरूसँगै बेर्सेबा+ फर्के र त्यहीँ बस्न थाले। २०  केही समयपछि अब्राहामकहाँ यस्तो खबर आयो: “तपाईँका भाइ नाहोरकी पत्नी मिल्काहले छोराहरू जन्माइछिन्‌।+ २१  जेठो छोराको नाम उज, माहिलोको नाम बुज, साहिँलोको नाम केमुएल हो। अनि केमुएलचाहिँ अरामका बुबा हुन्‌। २२  अरू छोराको नाम केसेद, हाजो, पिल्दास, यिदलाप र बतुएल+ हो।” २३  बतुएलकी छोरीको नाम रिबेका थियो।+ मिल्काहले अब्राहामका भाइ नाहोरका यी आठ भाइ छोरा जन्माएकी थिइन्‌। २४  नाहोरकी उपपत्नीको नाम रुमाह थियो। तिनले पनि छोराहरू जन्माइन्‌। तिनीहरूको नाम तेबह, गाहम, तहस र माकाह थियो।

फुटनोटहरू

यसको अर्थ हो, “यहोवा परमेश्‍वरले जुटाइदिनुहुन्छ; यहोवा परमेश्‍वरले हेर्नुहुन्छ।”