सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 क१

बाइबल अनुवादका सिद्धान्तहरू

बाइबल सुरुमा हिब्रू, अरामी र ग्रीक भाषामा लेखिएको थियो। अहिले पूरै बाइबल वा यसका केही भागहरू लगभग २,६०० भाषामा उपलब्ध छन्‌। आज बाइबल पढ्‌ने धेरैजसोले बाइबल सुरुमा जुन भाषाहरूमा लेखिएका थिए, ती भाषाहरू बुझ्दैनन्‌। त्यसैले तिनीहरूलाई बाइबलको अनुवाद चाहिन्छ। त्यसोभए प्रश्‍न उठ्‌छ, बाइबलको अनुवाद के-कस्ता सिद्धान्तहरूको आधारमा गरिनुपर्छ अनि पवित्र बाइबल—नयाँ संसार अनुवाद तयार पार्दा कसरी ती सिद्धान्तहरूलाई ध्यानमा राखियो?

कसै-कसैलाई यस्तो लाग्न सक्छ: यदि बाइबल अनुवाद गर्दा हरेक पदको शब्द-शब्द अनुवाद गरियो भने मूल भाषामा जस्तो जानकारी दिइएको थियो, त्यही जानकारी पाउन सकिन्छ। तर त्यसरी अनुवाद गर्दा सधैँ सही जानकारी पाइन्छ भन्‍ने छैन। यसका केही कारणहरू अब विचार गरौँ:

  • प्रत्येक भाषाको आ-आफ्नै व्याकरण र शब्द भण्डार हुन्छ अनि वाक्य संरचना पनि फरक-फरक हुन्छ। हिब्रू भाषाका प्राध्यापक एस. आर. ड्राइभरले लेखेअनुसार एउटा भाषाको “व्याकरण र त्यस भाषाको मूल स्रोत अर्को भाषाको भन्दा फरक हुने मात्र नभई . . . विचारलाई वाक्यमा ढाल्ने तरिका पनि फरक हुन्छ।” प्रत्येक भाषामा सोच्ने तरिका फरक-फरक हुन्छ। प्राध्यापक ड्राइभर अझै यसो भन्छन्‌: “त्यसैले हरेक भाषाको वाक्य संरचना एउटै किसिमको हुँदैन।”

  • बाइबल लेख्न चलाइएका हिब्रू, अरामी र ग्रीक भाषासित अहिले मानिसहरूले बोल्ने कुनै पनि भाषाका शब्दहरू र व्याकरण हुबहु मिल्दैन। त्यसैले बाइबलको हरेक पदको शब्द-शब्द अनुवाद गर्दा त्यो अनुवाद अस्पष्ट हुन्छ; कहिलेकाहीँ त गलत अर्थसमेत लाग्न सक्छ।

  • फरक-फरक प्रसङ्‌गमा चलाइएको कुनै शब्द वा वाक्यांश एउटै भए पनि प्रसङ्‌गअनुसार त्यसको अर्थ फरक हुन्छ।

बाइबलको कुनै-कुनै अंश अनुवाद गर्दा मूल भाषाको शाब्दिक अनुवाद गर्न सकिन्छ तर यसो गर्दा अनुवादकहरू होसियार हुनै पर्छ।

शब्द-शब्द अनुवाद गर्दा कस्तो गलत अर्थ लाग्न सक्छ, त्यो बुझ्न केही उदाहरण विचार गरौँ:

  •   बाइबलको कुनै-कुनै पदमा चलाइएको ‘निदाउनु’ र ‘निद्रामा पर्नु’ भन्‍ने अभिव्यक्‍तिले साँच्चैको निदाउने वा मृत्युमा निदाउने दुवै कुरालाई बुझाउन सक्छ। (मत्ति २८:१३; प्रेषित ७:६०) त्यसैले यदि ती पदहरूमा चलाइएको ‘निद्रा’ शब्दको अर्थ प्रसङ्‌गअनुसार मृत्यु हो भने बाइबल अनुवादकहरूले सीधै ‘मर्नु’ वा ‘मृत्युको चिर निद्रामा पर्नु’ भन्‍ने अभिव्यक्‍तिहरू चलाउन सक्छन्‌। (१ कोरिन्थी ७:३९; १ थिस्सलोनिकी ४:१३; २ पत्रुस ३:४) यसो गर्दा आजका पाठकहरूले यस्ता पदहरूबाट सही जानकारी पाउन सक्छन्‌।

  • एफिसी ४:१४ मा प्रेषित पावलले एउटा ग्रीक अभिव्यक्‍ति चलाएका छन्‌, जसको शाब्दिक अनुवाद “मानिसहरूको पासा खेल्नु” भन्‍ने हुन्छ। यो पुरातन उखानले पासा फ्याँक्दा अरूलाई छल्नु भन्‍ने अर्थ दिन्छ। धेरैजसो भाषामा यस उखानलाई जस्ताको त्यस्तै अनुवाद गर्दा खासै कुनै अर्थ दिँदैन। तर यस अभिव्यक्‍तिलाई “मानिसहरूको छल” भनेर अनुवाद गर्दा भन्‍न खोजेको कुरा स्पष्ट हुन्छ।

  • रोमी १२:११ मा एउटा ग्रीक अभिव्यक्‍ति चलाइएको छ, जसको शाब्दिक अनुवाद “पवित्र शक्‍ति उम्लनु” भन्‍ने हुन्छ। तर नेपाली भाषामा यसरी अनुवाद गर्दा सही अर्थ आउँदैन। त्यसैले नयाँ संसार अनुवाद-मा यस अभिव्यक्‍तिलाई ‘पवित्र शक्‍तिले भरिनु’ भनेर अनुवाद गरिएको छ।

  • मत्ति ५:३

    शाब्दिक अनुवाद: “आत्मामा दरिद्र हुनेहरू”

    सही अनुवाद: “आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुनेहरू”

    प्रख्यात डाँडाको उपदेशमा येसुले एउटा अभिव्यक्‍ति चलाउनुभएको थियो, जसलाई प्रायजसो “धन्य आत्मामा दरिद्र हुनेहरू” भनेर अनुवाद गरिएको छ। (मत्ति ५:३, RV) तर धेरैजसो भाषामा यसरी शाब्दिक अनुवाद गर्दा मूल भाषाको सही अर्थ आउँदैन। अझ कुनै-कुनै भाषामा त “आत्मामा दरिद्र हुनेहरू”-ले मानसिक सन्तुलन गुमाएको अथवा कमजोर र कुनै कुरामा दृढ अडान लिन नसक्ने मानिसलाई बुझाउन सक्छ। तर वास्तवमा यहाँ येसुले मानिसहरूलाई कुन कुरा सिकाउन खोज्दै हुनुहुन्थ्यो? आफ्नो सबै शारीरिक आवश्‍यकता पूरा गर्दैमा मानिस आनन्दित हुने होइन, बरु साँच्चै आनन्दित हुने हो भने उसले आफूलाई परमेश्‍वरको मार्गनिर्देशन चाहिन्छ भनी बुझ्नु जरुरी छ भनेर सिकाउन खोज्दै हुनुहुन्थ्यो। (लुका ६:२०) त्यसैले केही बाइबलमा यसलाई “आफ्नो आध्यात्मिक आवश्‍यकताबारे सचेत हुनेहरू” वा “आफूलाई परमेश्‍वरको खाँचो छ भनेर बुझ्नेहरू” भनेर अनुवाद गरिएको छ अनि यसरी अनुवाद गर्दा यसले मूल भाषाको सही अर्थ दिन्छ।—मत्ति ५:३; द न्यु टेस्टामेन्ट इन मोडर्न इंग्लिश।

  • “डाह” भनेर अनुवाद गरिएको हिब्रू शब्दको अर्थ प्रायजसो प्रसङ्‌गमा ‘घनिष्ठ साथीले धोका दिँदा रिसाउनु’ वा ‘अरूको ईर्ष्या गर्नु’ भन्‍ने हुन्छ। (हितोपदेश ६:३४; यसैया ११:१३) तर त्यही हिब्रू शब्दको राम्रो अर्थ पनि हुन्छ। जस्तै: यहोवाको “जोस,” आफ्ना  सेवकहरूलाई जोगाउने उहाँको तीव्र इच्छा अथवा ‘आफ्नो बाहेक अरू कसैको भक्‍ति नगरियोस्‌’ भन्‍ने उहाँको माग। (प्रस्थान ३४:१४; २ राजा १९:३१; इजकिएल ५:१३; जकरिया ८:२) परमेश्‍वरका वफादार सेवकहरूले उहाँको लागि वा उहाँको उपासनाको लागि देखाउने “जोस”-लाई बुझाउन पनि यही हिब्रू शब्द चलाउन सकिन्छ। साथै उनीहरूले परमेश्‍वरविरुद्ध खडा हुने कसैलाई पनि ‘पटक्कै नसहने’ कुरा बुझाउन पनि यही हिब्रू शब्द प्रयोग गर्न सकिन्छ।—भजन ६९:९; ११९:१३९; गन्ती २५:११.

  • हिब्रू शब्द याध-लाई प्रायजसो “हात” भनेर अनुवाद गरिन्छ। तर यसलाई अनुवाद गर्दा प्रसङ्‌गअनुसार “अधिकार,” “उदारचित्त,” “शक्‍ति” र अरू कुनै शब्द राख्न सकिन्छ

    मानिसको हातलाई बुझाउन हिब्रू भाषामा जुन शब्द चलाइन्छ, त्यसको थुप्रै अर्थ छ। त्यसैले प्रसङ्‌गअनुसार यस शब्दलाई “अधिकार,” “उदारचित्त” वा “शक्‍ति” भनेर अनुवाद गर्न सकिन्छ। (२ समुएल ८:३; १ राजा १०:१३; हितोपदेश १८:२१) वास्तवमा अङ्‌ग्रेजी भाषाको पवित्र बाइबल—नयाँ संसार अनुवाद-मा यस शब्दलाई ४० भन्दा धेरै तरिकामा अनुवाद गरिएको छ।

यी सबै कुरालाई राम्ररी विचार गर्दा हामी यो निष्कर्षमा पुग्न सक्छौँ: बाइबल अनुवाद गर्दा मूल भाषामा चलाइएको कुनै शब्दको लागि हरेक पदमा एउटै शब्द राख्नु ठीक हुँदैन। त्यसैले मूल भाषामा जे लेखिएको छ, त्यसको सही अनुवाद गर्न आफ्नो भाषामा कुन शब्द राख्दा उचित हुन्छ भनेर अनुवादकहरूले राम्ररी सोचविचार गर्नु आवश्‍यक छ। साथै वाक्य बनाउँदा आफ्नो भाषाको व्याकरणको नियमलाई ध्यानमा राख्नु पनि उत्तिकै महत्त्वपूर्ण छ ताकि पाठकलाई पढ्‌न सजिलो होस्‌।

मूल भाषाको भावलाई आफ्नै तरिकामा व्याख्या गर्नदेखि पनि होसियार हुनुपर्छ। मूल भाषामा भएको कुरालाई अनुवादकले आफ्नै बुझाइअनुसार अनुवाद गर्दा त्यसले गलत अर्थ दिन सक्छ। कसरी? अनुवादकले मौलिक लेखोटमा जे भन्‍न खोजिएको हो, त्यसमा आफ्नै विचारहरू मिसाउन सक्छ वा मौलिक लेखोटमा भएको महत्त्वपूर्ण जानकारी छुटाउन सक्छ। यसरी आफ्नै बुझाइअनुसार अनुवाद गर्दा पढ्‌न सजिलो त होला तर मूल भाषामा भएको कुरालाई त्यसरी आफ्नै तरिकामा लेख्दा पाठकले सही सन्देश पाउन सक्दैन।

अनुवादकको धार्मिक पृष्ठभूमिले गर्दा पनि अनुवादमा असर गर्छ। जस्तै, मत्ति ७:१३ मा यस्तो लेखिएको छ, ‘विनाशतर्फ लैजाने बाटो चौडा हुन्छ।’ केही अनुवादकले आफूले पाएको धार्मिक शिक्षाको कारण यस पदमा “विनाश”-को सट्टा “नरक” भन्‍ने शब्द चलाएका छन्‌। तर वास्तवमा यस पदमा चलाइएको ग्रीक शब्दको अर्थ “विनाश” हो।

बाइबल अनुवादकले यो कुरा पनि ध्यानमा राख्नुपर्छ कि बाइबल किसान, गोठालो र जलारी जस्ता साधारण मानिसहरूले प्रयोग गर्ने भाषामा लेखिएको थियो। (नहेम्याह ८:८, १२; प्रेषित ४:१३) त्यसैले बाइबलको राम्रो अनुवाद त्यसलाई भनिन्छ, जुन पढेर नम्र हृदय भएका मानिसहरूले बाइबलको सन्देश सजिलै बुझ्न सक्छन्‌, चाहे उनीहरू जुनसुकै  पृष्ठभूमिका किन नहोऊन्‌। साधारण मानिसहरूले त्यति नचलाउने शब्दहरू प्रयोग गर्नुको साटो स्पष्ट, सरल अनि सजिलै बुझ्न सकिने शब्दहरू प्रयोग गर्नु राम्रो हुन्छ।

बाइबलका थुप्रै अनुवादकले आफ्नो अनुवादबाट आफूखुसी परमेश्‍वरको नाम ‘यहोवा’ हटाएका छन्‌ तर तिनीहरूसित यसो गर्नुको कुनै तार्किक कारण भने छैन। त्यसैले अहिलेको बाइबल अनुवादहरूमा ‘यहोवा’ नाम पाइँदैन तर बाइबलका पुरातन पाण्डुलिपिहरूमा भने यो नाम पाइन्छ। (अतिरिक्‍त लेख क४ हेर्नुहोस्‌) थुप्रै अनुवादमा यस नामको ठाउँमा “परमप्रभु” जस्ता पदवीहरू राखिएका छन्‌ अनि कुनै-कुनै अनुवादमा त परमेश्‍वरको नाम छ भन्‍ने तथ्यलाई नै मेटाइएको छ। उदाहरणको लागि, केही अनुवादमा युहन्‍ना १७:२६ मा दिइएको येसुको प्रार्थनालाई यसरी अनुवाद गरिएको छ, “मैले तिनीहरूलाई तपाईँ कस्तो हुनुहुन्छ देखाएँ।” अनि युहन्‍ना १७:६ लाई यसरी अनुवाद गरिएको छ, “तपाईँले मलाई केही मानिसहरू संसारबाट दिनुभयो। मैले तिनीहरूलाई तपाईँ को हुनुहुन्छ देखाई सकेको छु।” तर येसुको प्रार्थनाको सही अनुवाद भने यो हो, “मैले तिनीहरूलाई तपाईँको नाम प्रकट गरेको छु” अनि “तपाईँले संसारबाट मलाई दिनुभएका मानिसहरूसामु मैले तपाईँको नाम प्रकट गरेको छु।”

नयाँ संसार अनुवाद-को पहिलो अङ्‌ग्रेजी संस्करणको प्राक्कथनमा यस्तो लेखिएको थियो: “हामीले धर्मशास्त्रलाई आफ्नै बुझाइअनुसार अनुवाद गरेका छैनौँ। मूल भाषामा प्रयोग गरिएका उखानसित ठ्‌याक्कै मिल्ने उखान अङ्‌ग्रेजीमा छ र भन्‍न खोजेको कुरा अस्पष्ट हुँदैन भने हामीले सकेसम्म शाब्दिक अनुवाद गर्ने प्रयास गरेका छौँ।” नयाँ संसार बाइबल अनुवाद समितिले यस बाइबलमा सकेसम्म मूल भाषासित मेल खाने शब्द र अभिव्यक्‍तिहरू प्रयोग गर्ने कोसिस गरेको छ र अनुवाद गर्दा पढ्‌नै गाह्रो हुने वा दिन खोजेको सन्देश ओझेलमा पर्ने शब्द र अभिव्यक्‍तिहरू प्रयोग नगर्न पनि होसियारी अपनाएको छ। त्यसैले यो बाइबल पढ्‌न सजिलो छ र पाठकहरू पनि परमेश्‍वरको प्रेरणाद्वारा लेखिएको सन्देशलाई यसमा सही तरिकामा अनुवाद गरिएको छ भन्‍ने कुरामा विश्‍वस्त हुन सक्छन्‌।—१ थिस्सलोनिकी २:१३.