उत्पत्ति ११:१-३२

  • बाबेलको धरहरा (१-४)

  • यहोवाले भाषा खलबल पारिदिनुहुन्छ (५-९)

  • सेमदेखि अब्रामसम्म (१०-३२)

    • तेरहको परिवार (२७)

    • अब्राम उर छोड्‌छन्‌ (३१)

११  त्यतिबेला पृथ्वीका सबै मानिसको भाषा एउटै थियो र तिनीहरूको बोली* पनि एकै खालको थियो। २  मानिसहरू पूर्वतिर यात्रा गर्दै जाँदा सिनार+ भन्‍ने ठाउँमा तिनीहरूले एउटा मैदान फेला पारे। अनि तिनीहरू त्यहीँ बसोबास गर्न थाले। ३  त्यसपछि तिनीहरूले आपसमा यसो भने: “आओ, हामी इँटा बनाऔँ र पोलौँ।” अनि तिनीहरूले ढुङ्‌गाको सट्टा इँटा र मसलाको रूपमा बिटुमिन* प्रयोग गरे। ४  तिनीहरूले भने: “आओ, हामी एउटा सहर बनाऔँ। स्वर्गसम्मै पुग्ने एउटा धरहरा बनाऔँ। त्यसो गऱ्‍यौँ भने हामीले ठूलो नाम कमाउनेछौँ र हामी पृथ्वीमा यताउता छरिएर बस्नुपर्ने पनि छैन।”+ ५  तब मानिसहरूले सहर अनि धरहरा बनाउन थालेको यहोवा परमेश्‍वरले नियालेर हेर्नुभयो।* ६  त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “हेर, यी मानिसहरूको भाषा एउटै भएकोले+ तिनीहरू एकजुट भएका छन्‌। तिनीहरू आफूले चाहेजस्तो जे पनि गर्न सक्छन्‌। ७  आओ, हामी+ तल गएर मानिसहरूको भाषा खलबल पारिदिऔँ अनि तिनीहरूले एकअर्काको भाषा नबुझून्‌।” ८  त्यसपछि यहोवा परमेश्‍वरले तिनीहरूलाई त्यहाँबाट पृथ्वीभरि तितरबितर पारिदिनुभयो+ र तिनीहरूले सहर बनाउने काम अधुरै छोडे। ९  त्यसैले त्यस सहरको नाम बाबेल*+ राखियो किनभने यहोवा परमेश्‍वरले त्यहीँ नै मानिसहरूको भाषा गोलमाल पारिदिनुभएको थियो र त्यहाँबाटै यहोवा परमेश्‍वरले तिनीहरूलाई पृथ्वीभरि तितरबितर पारिदिनुभएको थियो। १०  सेमको+ वंशावली यही हो: जलप्रलय भएको दुई वर्षपछि सेम १०० वर्षको हुँदा तिनका छोरा अर्पक्षद+ जन्मिए। ११  अर्पक्षद जन्मेपछि सेम अझै ५०० वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए।+ १२  अर्पक्षद ३५ वर्षको हुँदा तिनका छोरा सेलह+ जन्मिए। १३  सेलह जन्मेपछि अर्पक्षद अझै ४०३ वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए। १४  सेलह ३० वर्षको हुँदा तिनका छोरा एबेर+ जन्मिए। १५  एबेर जन्मेपछि सेलह अझै ४०३ वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए। १६  एबेर ३४ वर्षको हुँदा तिनका छोरा पेलेग+ जन्मिए। १७  पेलेग जन्मेपछि एबेर अझै ४३० वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए। १८  पेलेग ३० वर्षको हुँदा तिनका छोरा रउ+ जन्मिए। १९  रउ जन्मेपछि पेलेग अझै २०९ वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए। २०  रउ ३२ वर्षको हुँदा तिनका छोरा सरुग जन्मिए। २१  सरुग जन्मेपछि रउ अझै २०७ वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए। २२  सरुग ३० वर्षको हुँदा तिनका छोरा नाहोर जन्मिए। २३  नाहोर जन्मेपछि सरुग अझै २०० वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए। २४  नाहोर २९ वर्षको हुँदा तिनका छोरा तेरह+ जन्मिए। २५  तेरह जन्मेपछि नाहोर अझै ११९ वर्ष बाँचे र तिनका अरू छोराछोरी पनि भए। २६  तेरह ७० वर्षको भएपछि तिनका छोराहरू अब्राम,+ नाहोर+ र हारान जन्मिए। २७  तेरहको वंशावली यही हो: तेरहका छोराहरू अब्राम, नाहोर र हारान थिए। अनि लुत+ हारानका छोरा थिए। २८  आफ्नो बुबा तेरह जीवितै छँदा हारान मरे। तिनी आफ्नो जन्मभूमि कल्दियालीहरूको+ सहर उरमा+ मरे। २९  अब्रामले विवाह गरे अनि नाहोरले पनि विवाह गरे। अब्रामकी पत्नीको नाम साराई+ थियो अनि नाहोरकी पत्नीको नाम मिल्काह+ थियो। मिल्काह हारानकी छोरी थिइन्‌। हारानकी अर्की छोरी पनि थिइन्‌। तिनको नाम यिस्काह थियो। ३०  साराई बाँझी थिइन्‌।+ तिनको कुनै सन्तान थिएन। ३१  तेरह आफ्नो छोरा अब्राम, बुहारी साराई र हारानपट्टिका आफ्ना नाति लुतलाई+ लिएर कल्दियालीहरूको सहर उरबाट निस्के र कनानतर्फ+ लागे। तिनीहरू हारान+ पुगेपछि त्यहीँ बसोबास गर्न थाले। ३२  तेरह जम्मा २०५ वर्ष बाँचे र तिनी हारानमा मरे।

फुटनोटहरू

वा “शब्दभण्डार।”
कालो रङको बाक्लो कच्चा पेट्रोलियम पदार्थ।
शा., “हेर्नलाई यहोवा तल ओर्लनुभयो।”
यसको अर्थ हो, “गोलमाल।”