उत्पत्ति ३५:१-२९
३५ यो घटना भएपछि परमेश्वरले याकुबलाई भन्नुभयो: “अब यहाँबाट बेथेल+ जाऊ, त्यहीँ बस र तिमी आफ्नो दाइ एसावदेखि भागेको बेला तिमीकहाँ प्रकट हुनुभएको साँचो परमेश्वरको निम्ति त्यहाँ एउटा वेदी बनाऊ।”+
२ तब याकुबले आफ्नो घराना र आफूसित भएका सबै मानिसलाई भने: “तिमीहरूसँग भएका देवीदेवताका मूर्तिहरू हटाओ,+ आफूलाई चोखो पार अनि लुगा फेर।
३ त्यसपछि यो ठाउँ छोडेर हामी बेथेलतिर लागौँ। दुःखको बेला मेरो पुकारा सुन्नुहुने र म जहाँ* गए पनि सधैँ मसँगै हुनुहुने साँचो परमेश्वरको लागि म त्यहाँ वेदी बनाउँछु।”+
४ तिनीहरूले आफूसित भएका विदेशी देवीदेवताका मूर्ति र कानमा लगाएको कुण्डल याकुबलाई दिए। अनि याकुबले ती लगेर सकेमनजिकैको ठूलो रूखमुनि गाडे।*
५ तिनीहरूको यात्रामा वरपरका सहरहरूका मानिसहरूले तिनीहरूलाई खेदेनन्। परमेश्वर याकुबका सन्तानसित हुनुभएकोले ती मानिसहरू डराएका थिए।
६ अन्तमा याकुब र तिनका सबै मानिस कनानको लुज+ अर्थात् बेथेल पुगे।
७ तिनले त्यहाँ वेदी बनाए र त्यस ठाउँको नाम एल-बेथेल* राखे। किनभने आफ्नो दाइ एसावदेखि डराएर भागेको बेला साँचो परमेश्वर त्यही ठाउँमा याकुबकहाँ प्रकट हुनुभएको थियो।+
८ पछि रिबेकाकी धाईआमा दबोराको+ मृत्यु भयो र तिनीहरूले उनलाई बेथेलको फेदीमा फलाँटको रूखमुनि गाडे। याकुबले त्यस ठाउँको नाम अल्लोन-बकुथ* राखे।
९ याकुब पद्दान-अरामबाट फर्किरहेको बेला परमेश्वर फेरि तिनीसामु प्रकट हुनुभयो र तिनलाई आशिष् दिनुभयो।
१० परमेश्वरले तिनलाई भन्नुभयो: “तिम्रो नाम याकुब हो।+ तर अबदेखि तिमी याकुब नामले होइन, इस्राएल नामले चिनिनेछौ।” अनि परमेश्वरले तिनलाई इस्राएल भनेर बोलाउन थाल्नुभयो।+
११ परमेश्वरले तिनलाई अझै भन्नुभयो: “म सर्वशक्तिमान् परमेश्वर हुँ।+ तिम्रा सन्तान फलून्-फुलून् र बढ्दै जाऊन्। तिम्रै सन्तानबाट विभिन्न जाति बन्नेछन्+ र राजाहरू निस्कनेछन्।+
१२ मैले अब्राहाम र इसहाकलाई दिने प्रतिज्ञा गरेको भूमि म तिमीलाई अनि तिम्रो शेषपछि तिम्रा सन्तानलाई दिनेछु।”+
१३ त्यसपछि परमेश्वर त्यस ठाउँबाट अलप हुनुभयो।
१४ परमेश्वर बोल्नुभएको त्यस ठाउँमा याकुबले एउटा ढुङ्गा ठड्याए, त्यसमाथि मद्यभेटी* चढाए र तेल पनि खन्याए।+
१५ परमेश्वरले तिनीसित कुरा गर्नुभएको त्यस ठाउँको नाम याकुबले पहिलेजस्तै बेथेल नै राखे।+
१६ त्यसपछि तिनीहरू बेथेलबाट हिँडे। तर तिनीहरू एप्राता नपुग्दै राहेललाई सुत्केरी बेथा लाग्यो र तिनलाई झन्झन् च्याप्दै लग्यो।
१७ राहेल बच्चा जन्माउन नसकेर छटपटाइरहेको बेला सुँडेनीले तिनलाई भनिन्: “हिम्मत नहार्नुहोस्, तपाईँले यसपालि पनि छोरा पाउनुहुनेछ।”+
१८ राहेलले आफ्नो जीवनको अन्तिम घडीमा (किनकि तिनी मर्नै लागेकी थिइन्) आफ्नो छोराको नाम बेन-ओनि* राखिन्। तर याकुबले भने छोराको नाम बिन्यामिन*+ राखे।
१९ यसरी एप्राता अर्थात् बेतलेहेम+ जाने बाटोमै राहेलको मृत्यु भयो र याकुबले तिनको लास त्यहीँ गाडे।
२० त्यसपछि तिनले राहेलको चिहानमाथि एउटा ठूलो ढुङ्गा ठड्याए। त्यो ढुङ्गा आजसम्म पनि त्यहीँ छ।
२१ त्यसपछि इस्राएल त्यहाँबाट हिँडे र एदेरको धरहरा कटेपछि अलि पर तिनले पाल टाँगे।
२२ इस्राएल त्यही ठाउँमा बास बसिरहेको बेला एकदिन रुबेन आफ्नो बुबाकी उपपत्नी बिल्हासित सुते र यो कुरा इस्राएलको कानमा पऱ्यो।+
याकुबका १२ भाइ छोरा थिए।
२३ लेआले जन्माएको रुबेन+ याकुबको पहिलो सन्तान हुन्। लेआबाट जन्मिएका अरू छोराहरूको नाम सिमियोन, लेवि, यहुदा, इस्साकार र जबुलुन हो।
२४ युसुफ र बिन्यामिन राहेलबाट जन्मिएका छोराहरू हुन्।
२५ राहेलकी दासी बिल्हाबाट जन्मिएका छोराहरूचाहिँ दान र नप्तालि हुन्।
२६ अनि गाद र असेर लेआकी दासी जिल्पाहले जन्माएका छोराहरू हुन्। याकुबका छोराहरू यिनीहरू नै हुन् र यिनीहरू सबै पद्दान-अराममा जन्मिएका थिए।
२७ अन्तमा याकुब किर्यथ-अर्बा अर्थात् हेब्रोनको मम्रेमा बसोबास गरिरहेका आफ्ना बुबा इसहाकको घर पुगे।+ अब्राहाम र इसहाक दुवै यही ठाउँमा प्रवासी भएर बसेका थिए।+
२८ इसहाक १८० वर्ष बाँचे।+
२९ इसहाक आफ्नो पूरा उमेर खाएर मरे। यसरी तिनी आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्न गए। तिनी आफ्नो जीवनसित सन्तुष्ट थिए। तिनका छोराहरू एसाव र याकुबले तिनको लास गाडे।+
फुटनोटहरू
^ वा “जुन बाटो।”
^ वा “लुकाए।”
^ यसको अर्थ हो, “बेथेलका परमेश्वर।”
^ यसको अर्थ हो, “रुवाबासीको सालको रूख।”
^ यसको अर्थ हो, “मैले निकै पीडामा जन्माएको छोरा।”
^ यसको अर्थ हो, “मेरो दायाँ हातको छोरा।” अर्थात्, मेरो प्यारो छोरा।