सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

  क२

यस संस्करणका विशेषताहरू

पवित्र बाइबल—नयाँ संसार अनुवाद (मत्तीदेखि प्रकाशसम्म) सन्‌ १९५० मा अङ्‌ग्रेजी भाषामा प्रकाशित भएको थियो र पूरै पवित्र बाइबल—नयाँ संसार अनुवाद-चाहिँ सन्‌ १९६१ मा प्रकाशित भएको थियो। सुरुमा बाइबल हिब्रू, अरामी र ग्रीक भाषामा लेखिएको थियो। यी भाषाहरूबाट अनुवाद गरिएको पवित्र बाइबल—नयाँ संसार अनुवाद सही हुनुका साथै बुझ्न पनि सजिलो छ। त्यसबेलादेखि यता १५० भन्दा धेरै भाषामा यो बाइबल अनुवाद भइसकेको छ र लाखौँ मानिसले यसबाट लाभ उठाएका छन्‌।

अनुवादमा चलाइएको भाषाले पाठकको मन छुनुपर्छ भनेर नयाँ संसार बाइबल अनुवाद समितिले बुझेको छ। यही कुरालाई मनमा राख्दै लेख्ने शैली र शब्द छनौटमा केही खास सिद्धान्तलाई ध्यानमा राखिएको छ। केही उदाहरण यसप्रकार छन्‌:

  • आधुनिक र बुझ्न सजिलो भाषाको प्रयोग। यस अनुवादमा पुरानो जमानाका शब्द तथा अभिव्यक्‍तिहरूको सट्टा बुझ्न सजिलो र बोलीचालीका शब्दहरू प्रयोग गरिएको छ। उदाहरणको लागि, कुनै-कुनै अनुवादमा “उजाडस्थान” भनेर अनुवाद गरिएको शब्द धेरैले प्रयोग नगर्ने र बुझ्न गाह्रो शब्द भएकोले यसलाई अहिले “निर्जनभूमि” भनेर अनुवाद गरिएको छ। (प्रस्थान ३:१; मत्ति ४:१) त्यसैगरि “अगौटे फल” भन्‍ने पुरानो अभिव्यक्‍तिलाई बुझाउन “पहिलो उब्जनी” भन्‍ने आधुनिक र बुझ्न सजिलो अभिव्यक्‍ति प्रयोग गरिएको छ। (गन्ती १५:२०) वासस्थान र मन्दिरको विभिन्‍न भाग बुझाउन प्रयोग गरिएको “पवित्रस्थान” र “महा-पवित्रस्थान”-को सट्टा “पवित्र कोठा” र “महापवित्र कोठा” प्रयोग गरिएको छ। यसले गर्दा वासस्थान र मन्दिरको कुन भागको कुरा गरिएको हो भनेर बुझ्न सजिलो भएको छ। (प्रस्थान २६:३३) बुझ्न सजिलो होस्‌ भनेर “अर्घबलि”-को सट्टा “मद्यभेटी” प्रयोग गरिएको छ। (गन्ती १५:५; फिलिप्पी २:१७) कसैको गुणलाई बुझाउन “विनम्र” र “विनम्रता” शब्दहरू त्यति प्रयोग नगरिने भएकोले यी शब्दहरूको सट्टा “नम्र” र “नम्रता” शब्दहरू प्रयोग गरिएको छ। (२ इतिहास १२:६; एफिसी ४:२) साथै “कोर रोग,” “रजस्वला” र “दृष्टान्त”-जस्ता त्यति प्रयोग नगरिने अभिव्यक्‍तिहरूको सट्टा “कुष्ठरोग,” “महिनावारी” र “उदाहरण”-जस्ता बुझ्न  सजिलो र बोलीचालीका शब्दहरू प्रयोग गरिएको छ।—प्रस्थान ४:६; लेवी १२:२; मत्ति १३:३.

    त्यति प्रयोग नगरिने र स्वाभाविक पनि नसुनिने संयोजक “औ” यस बाइबलमा प्रयोग गरिएको छैन। प्रसङ्‌गअनुसार उपयुक्‍त संयोजकहरू राखिएको छ। साथै अरू नेपाली बाइबलमा चलाइएका बाइबल पात्र, ठाउँ र जातिको नामलाई नेपाली व्याकरणको नियमअनुसार सच्याइएको छ। उदाहरणको लागि, येशूको सट्टा येसु, दाऊदको सट्टा दाउद, दानियलको सट्टा दानिएल; अश्‍शूरको सट्टा अस्सेरिया, सीनैको सट्टा सिनै, गालीलको सट्टा गालिल; कल्दीको सट्टा कल्दियाली, सामरीको सट्टा सामरियाली र अश्‍शूरीको सट्टा अस्सेरियाली। यसबाहेक पाठकहरूलाई विचार गरेर कुनै-कुनै देश, ठाउँ वा व्यक्‍तिको उपाधि पनि आधुनिक बनाइएको छ। जस्तै:– फिरऊनको सट्टा फारो र युनानको सट्टा ग्रीस। पाठकहरूलाई बुझ्न सजिलो होस्‌ भनेर मिश्रको कुनै-कुनै फुटनोटमा इजिप्ट राखिएको छ।

  • बाइबलका अभिव्यक्‍तिहरूलाई बुझ्न सजिलो बनाइएको छ। अन्य नेपाली बाइबल अनुवादहरूमा यस्ता शब्दहरू पनि प्रयोग गरिएका थिए, जसले गलत शिक्षा सिकाउँथ्यो। उदाहरणको लागि, हिब्रू शब्द शिओल र ग्रीक शब्द हेडिज-लाई अरू नेपाली बाइबल अनुवादमा “पाताल” भनेर अनुवाद गरिएको थियो। यो शब्द सुन्दा मानिसहरूको मनमा पृथ्वीको सबैभन्दा तल्लो लोक, जहाँ मानिसहरू मृत्युपछि पनि जीवितै रहन्छन्‌ भन्‍ने चित्र आउन सक्छ। तर मूल भाषामा शिओल हेडिज भन्‍ने शब्दले मानिसको लास गाडिने चिहानलाई बुझाउँछ। त्यसकारण यस संस्करणमा “पाताल” शब्दको सट्टा “चिहान” शब्द प्रयोग गरिएको छ।—भजन १६:१०; प्रेषित २:२७.

    त्यसैगरि कुनै-कुनै नेपाली बाइबल अनुवादमा हिब्रू शब्द रुवाक र ग्रीक शब्द न्युमा-लाई “आत्मा” भनेर अनुवाद गरिएको छ। यसले आत्मा मर्दैन भन्‍ने गलत शिक्षालाई बढवा दिन्छ। रुवाक न्युमा शब्दको खास अर्थ सास हो। यी शब्दहरूले प्रसङ्‌गअनुसार यस्ता कुराहरूलाई पनि बुझाउँछ: मनोभाव, असल र दुष्ट स्वर्गदूत, जीवन, मन, शक्‍ति, पवित्र शक्‍ति, जोस।—उत्पत्ति ६:१७; गन्ती १४:२४; १ राजा २२:२१; भजन ३१:५; हितोपदेश १८:१२; दानिएल ४:८; मत्ति २८:१९, २०; लुका १:१७.

    अरू नेपाली बाइबलमा एउटा यस्तो शब्द प्रयोग गरिएको छ, जसले गलत अर्थ दिन्छ। त्यो शब्द हो, “क्रूस।” मूल भाषामा यसलाई बुझाउन प्रयोग गरिएको शब्दले ‘ठाडो खम्बा’ भन्‍ने अर्थ दिन्छ। मृत्युदण्ड दिन प्रयोग गरिने  यस्तो खम्बाले दुई वटा काठलाई आपसमा समकोण पारेर बनाइएको क्रसलाई बुझाउँदैन। त्यसैले यस बाइबलमा “क्रूस” शब्दको सट्टा “खम्बा” शब्द प्रयोग गरिएको छ।—मत्ति २७:३१; प्रेषित ५:३०.

    यस्ता अरू पनि केही शब्द छन्‌, जुन धेरैजसोले बुझ्दैनन्‌ वा गलत तरिकाले बुझ्न सक्छन्‌। त्यसैले त्यस्ता शब्दहरूको सट्टा अर्कै शब्द प्रयोग गरिएको छ। जस्तै: “पुनरुत्थान”-को सट्टा “फेरि जीवित पारिनु;” निरीक्षकहरूलाई बुझाउने शब्द “धर्मगुरु”-को सट्टा “एल्डर” र “प्रेरित”-को सट्टा “प्रेषित।” साथै प्रतीकात्मक र शाब्दिक दुवै अर्थ भएका धेरैजसो शब्दलाई जस्ताको तस्तै अनुवाद गरिएको छ। तर त्यसरी लेख्दा झट्टै नबुझिने ठाउँमा भने त्यसको अर्थ अनुवाद गरिएको छ र त्यस शब्दलाई चाहिँ फुटनोटमा राखिएको छ, जस्तै: “ओठ,” “हात” र “सिङ।”—हितोपदेश १८:७; भजन ७८:४२; ७५:१०.

यस संस्करणका अन्य विशेषताहरू:

यो बाइबल संस्करणमा भएका फुटनोटहरू यसप्रकार छन्‌:

  • “वा” हिब्रू, अरामी र ग्रीक भाषाका शब्दहरूलाई अनुवाद गर्ने अर्को तरिका, जसले अर्थमा कुनै फरक पार्दैन।—उत्पत्ति १:२, “पानी”-मा राखिएको फुटनोट; यहोसु १:८, “मनन गर्नू”-मा राखिएको फुटनोट।

  • “वा सम्भवत:” कुनै शब्द वा अभिव्यक्‍तिलाई अनुवाद गर्ने अर्को तरिका, जसले सही तर अलि फरक अर्थ दिन्छ।—उत्पत्ति २१:६, “तिनीहरू पनि मसँगसँगै रमाउनेछन्‌”; जकरिया १४:२१, “कनानी।”

  • “शा.” हिब्रू, अरामी र ग्रीक भाषाका शब्दहरूको शब्द-शब्द अनुवाद वा मूल भाषासँग मिल्दोजुल्दो अर्थ दिने अनुवाद।—उत्पत्ति ४०:१५, “झ्यालखानामा”; व्यवस्था ३२:१४, “अङ्‌गुरको रसबाट।”

  • शब्दको अर्थ र त्यससित सम्बन्धित जानकारी नामको अर्थ (उत्पत्ति ३:१७, “आदम”; प्रस्थान १५:२३, “मारा”); नाप-तौलसम्बन्धी जानकारी (उत्पत्ति ६:१५, “हात”); सर्वनामले कसलाई बुझाउँछ भन्‍ने जानकारी (उत्पत्ति ३८:५, “तिनी”) अनि अतिरिक्‍त लेख र शब्दावलीमा उपयोगी जानकारी।—उत्पत्ति ३७:३५, “चिहानमा”; मत्ति ५:२२, “गेहेन्‍नाको।”

 यस बाइबलको सुरुमा “परमेश्‍वरको वचनको परिचय” भन्‍ने भाग छ, जसमा बाइबलका आधारभूत शिक्षाहरूबारे जानकारी दिइएको छ। बाइबलको अन्तिम किताबको लगत्तै “बाइबलका किताबहरूको सूची,” “बाइबलका शब्दहरूको सूची” र “बाइबलको शब्दावली” छ। शब्दावलीले कुनै शब्द वा अभिव्यक्‍ति बाइबलमा कसरी प्रयोग गरिएको छ भनी बुझ्न मदत गर्छ। “अतिरिक्‍त लेख क”-मा निम्न भागहरू छन्‌: “बाइबल अनुवादका सिद्धान्तहरू,” “ यस संस्करणका विशेषताहरू,” “बाइबल हामीसम्म कसरी आइपुग्यो?,” “हिब्रू धर्मशास्त्रमा परमेश्‍वरको नाम,” “ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा परमेश्‍वरको नाम,” “चार्ट: यहुदा अनि इस्राएलका भविष्यवक्‍ताहरू र राजाहरू” र “पृथ्वीमा येसुको जीवनका मुख्य घटनाहरू।” “अतिरिक्‍त लेख ख”-मा बाइबलको गहिरो अध्ययन गर्नेहरूका लागि उपयोगी नक्सा, चार्ट र अन्य जानकारीहरू पाइन्छ।

बाइबलको हरेक किताबको सुरुमा त्यस किताबका अध्यायहरूको विषयवस्तु र त्यससित सम्बन्धित पदहरू दिइएको छ। यसले गर्दा पाठकहरूले किताबका विषयवस्तुबारे सरसर्ती थाह पाउन सक्छन्‌। हरेक पृष्ठको बीचमा त्यस पृष्ठमा भएका बाइबल पदहरूसित सम्बन्धित अन्य पदहरूको सूची पाउँछौँ।