उत्पत्ति ७:१-२४

  • जहाजमा प्रवेश (१-१०)

  • पूरै पृथ्वीमा जलप्रलय (११-२४)

 त्यसपछि यहोवा परमेश्‍वरले नुहलाई भन्‍नुभयो: “तिमी आफ्नो जहान-परिवारलाई लिएर जहाजभित्र पस किनकि यस पुस्तामा मैले तिमीलाई मात्र धर्मी देखेको छु।+ २  तिमीले शुद्ध पशुको* हरेक जातबाट सात-सात वटा* लैजानू;+ तिनीहरू भाले र पोथी होऊन्‌। अनि अशुद्ध पशुचाहिँ हरेक जातबाट भालेपोथी गरी दुई वटा मात्र जहाजमा लैजानू। ३  आकाशमा उड्‌ने जातजातका जीव पनि भालेपोथी गरी सात-सात वटा* लैजानू। यसरी पृथ्वीबाट तिनीहरूका जाति लोप हुन नपाऊन्‌।+ ४  अबको सात दिनमा म पृथ्वीमा ४० दिन र ४० रातसम्म+ पानी पार्नेछु।+ अनि मैले बनाएका मानिस र जीवजन्तु सबैलाई यस धर्तीबाट नाश गर्नेछु।”+ ५  तब नुहले यहोवा परमेश्‍वरको आज्ञाबमोजिम सबै गरे। ६  पृथ्वीमा जलप्रलय हुँदा नुह ६०० वर्षका थिए।+ ७  जलप्रलय हुनुभन्दा अघि नै नुह, तिनकी पत्नी, तिनका छोराहरू र बुहारीहरू जहाजभित्र पसे।+ ८  शुद्ध पशु, अशुद्ध पशु, उड्‌ने जीव र जमिनमा हिँडडुल गर्ने सबै जीवजन्तु+ ९  परमेश्‍वरले नुहलाई दिनुभएको आज्ञाबमोजिम नै भालेपोथी गरी जोडी-जोडी तिनीकहाँ जहाजमा आए। १०  अनि सात दिनपछि पानी पर्न थाल्यो र जलप्रलय सुरु भयो। ११  नुहको जीवनकालको ६०० औँ वर्षको दोस्रो महिनाको १७ औँ दिनमा आकाशमा पानीका ठूलठूला मूल फुटे र आकाशका पानीका बाँधहरू खोलिए।+ १२  अनि पृथ्वीमा ४० दिन र ४० रात मुसलधारे पानी पऱ्‍यो। १३  त्यही दिन नुह आफ्नी पत्नी, आफ्ना छोराहरू सेम, हाम र यापेत+ अनि आफ्ना तीन बुहारीसित जहाजभित्र पसे।+ १४  जातजातका जङ्‌गली जनावर, जातजातका घरपालुवा जनावर, जमिनमा घस्रने जातजातका जीवजन्तु, आकाशमा उड्‌ने जातजातका चराचुरुङ्‌गी र जातजातका किराफट्‌याङ्‌ग्रा पनि जहाजभित्र गए। १५  जीवनको सास हुने हरेक किसिमका जीवजन्तु जोडी-जोडी गरी जहाजभित्र नुहकहाँ गए। १६  परमेश्‍वरले नुहलाई दिनुभएको आज्ञाबमोजिम नै हरेक किसिमका जीवजन्तु भालेपोथी गरी जहाजभित्र पसे। त्यसपछि यहोवा परमेश्‍वरले जहाजको ढोका थुनिदिनुभयो। १७  पृथ्वीमा ४० दिनसम्म पानी परिरह्‍यो। पानी बढ्‌दै गएपछि जहाज जमिनबाट निकै माथि पानीमा तैरिन थाल्यो। १८  पानी झन्‌झनै बढेर पृथ्वी भरिन थाल्यो तर जहाज भने पानीमाथि तैरिरह्‍यो। १९  पृथ्वीमा भएका अग्ला-अग्ला पर्वतसमेत चुर्लुम्मै डुब्नेगरि पृथ्वी पानीले भरियो।+ २०  पानी पर्वतहरूभन्दा १५ हात* माथिसम्म पुग्यो। २१  यसरी पृथ्वीमा भएका सबै जीवजन्तु—उड्‌ने जीव, घरपालुवा जनावर, जङ्‌गली जनावर र हुल बाँधेर हिँड्‌ने हरकिसिमका जीव अनि सबै मानिस+ नाश भए।+ २२  जमिनमा भएका जीवनको सास हुनेजति सबै मरे।+ २३  यसरी परमेश्‍वरले पृथ्वीमा भएका सबै जीवजीवात नाश गर्नुभयो। मानिस, जनावर, घस्रने जीवजन्तु, आकाशमा उड्‌ने जीव सबै पृथ्वीबाट मासिए।+ नुह र तिनीसँग जहाजभित्र हुनेहरू मात्र बाँचे।+ २४  पृथ्वी १५० दिनसम्म जलमग्न भयो।+

फुटनोटहरू

यसले बलि चढाउन मिल्ने पशुहरूलाई जनाएको हुन सक्छ।
वा सम्भवतः “हरेक शुद्ध पशुको सात-सात जोडी।”
वा सम्भवतः “उड्‌ने जीवका सात-सात जोडी।”
एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।