सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

बाइबलको शब्दावली

  • अखमिरा रोटीको चाड:

    इस्राएलीहरूले हरेक वर्ष मनाउने तीन वटा प्रमुख चाडमध्ये पहिलो चाड। यो चाड निस्तार चाडको भोलिपल्टदेखि अर्थात्‌ नीसान महिनाको १५ औँ दिनदेखि सुरु भएर सात दिनसम्म चल्थ्यो। मिश्रबाट निस्केको दिनको सम्झनामा मनाइने यस चाडको बेला इस्राएलीहरूले खमिर नहालेको रोटी मात्र खान सक्थे।—प्रस्थ २३:१५; मर्कु १४:१.

  • अखैया:

    ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा दक्षिणी ग्रीसको रोमी प्रान्तको नाम, जसको राजधानी कोरिन्थ थियो। अखैया प्रान्तमा पेलोपोनिसको पूरै इलाका र ग्रीस महादेशको मध्य भाग पर्थ्यो। (प्रे १८:१२)—अतिरिक्‍त लेख ख१३ हेर्नुहोस्‌।

  • अगाध खाडल:

    यो ग्रीक शब्द अबिसोस-बाट आएको हो, जसको अर्थ हो, “असाध्यै गहिरो” वा “जसको भेउ पाउन सकिँदैन, जसको कुनै सीमा छैन।” ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा यो शब्द कैद गरेर राखिने ठाउँ वा कैदमा परेको अवस्थालाई बुझाउन प्रयोग गरिएको छ। यो शब्दको एउटा अर्थ चिहान पनि हो।—लुका ८:३१; रोमी १०:७; प्रका २०:३.

  • अग्निकुण्ड:

    “आगो र गन्धक दन्कने” प्रतीकात्मक ठाउँ, जसलाई बाइबलमा “दोस्रो मृत्यु” पनि भनिएको छ। अपश्‍चात्तापी मानिसहरूलाई, दियाबललाई अनि मृत्यु र चिहानलाई (वा हेडिज) समेत त्यो कुण्डमा फ्याँकिनेछ। दुष्ट स्वर्गदूतहरू, मृत्यु र हेडिजलाई आगोले केही असर गर्न सक्दैन। त्यसैले अग्निकुण्ड अनन्त सास्ती दिने साँच्चैको ठाउँ होइन बरु यसले अनन्त विनाशलाई सङ्‌केत गर्छ।—प्रका १९:२०; २०:१४, १५; २१:८.

  • अग्निभेटी:

    परमेश्‍वरको निम्ति चढाइने जनावरको बलिदान; यो भेटी चढाइँदा सिङ्‌गै जनावर वेदीमा राखेर जलाइन्थ्यो। भेटी चढाउने व्यक्‍तिले अग्निभेटीको रूपमा चढाइएको जनावरको (बहर, थुमा, बोका, ढुकुर वा परेवाको बचेरा) कुनै पनि भाग राख्दैनथे।—प्रस्थ २९:१८; लेवी ६:९.

  • अग्ला थान:

    अक्सर डाँडामा वा पहाडको टुप्पोमा बनाइएको पूजाथान वा मानिसले जमिनबाट माथि उठाएर बनाएको पूजाथान। यस्ता पूजाथानहरू कहिलेकाहीँ यहोवा परमेश्‍वरको उपासना गर्न चलाइए तापनि अक्सर यस्ता थानहरू झूटा देवताहरूको पूजा गर्न प्रयोग गरिन्थ्यो।—गन ३३:५२; १रा ३:२; यर्मि १९:५.

  • अजाजेल:

    हिब्रू नाम, जसको अर्थ “हराउने पाठो” हुन सक्छ। प्रायश्‍चितको दिनमा अजाजेलको निम्ति छुट्ट्याइएको पाठोलाई निर्जनभूमिमा छोडिन्थ्यो। अजाजेलको पाठोले अघिल्लो वर्ष मानिसहरूले गरेको पाप प्रतीकात्मक रूपमा बोकेर लैजान्थ्यो।—लेवी १६:८, १०.

  • अटल प्रेम:

    हिब्रू शब्द चेसेद-लाई प्रायजसो अटल प्रेम भनेर अनुवाद गरिएको छ। यसले वचनबद्धता, निष्ठा, वफादारी र गहिरो स्नेहले उत्प्रेरित भएर गरिने प्रेमलाई बुझाउँछ। बाइबलमा अक्सर मानिसजातिप्रति परमेश्‍वरको प्रेमलाई बुझाउन यो शब्द प्रयोग गरिएको छ तर यसले मानिसहरूबीच हुने प्रेमलाई पनि बुझाउँछ।—प्रस्थ ३४:६; रुथ ३:१०, फु.

  •  अदार:

    बेबिलोनको निर्वासनबाट फर्केपछि यहुदीहरूको धार्मिक क्यालेन्डरको बाह्रौँ महिना र कृषि क्यालेन्डरको छैटौँ महिनालाई दिइएको नाम। यो महिना फेब्रुअरीको बीचदेखि सुरु भएर मार्चको बीचसम्म चल्थ्यो। (एस्त ३:७)—अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

  • अन्तको दिन:

    बाइबलका भविष्यवाणीहरूमा यो अभिव्यक्‍ति र यससित मिल्दोजुल्दो अभिव्यक्‍ति, जस्तै, “आखिरी समय” परमेश्‍वरको न्यायको दिन आउनुभन्दा ठीक अगाडिको समयावधि र त्यस दौडान घट्‌ने घटनाहरूलाई बुझाउन चलाइएको छ। (इज ३८:१६; दा १०:१४; प्रे २:१७) भविष्यवाणीको सन्दर्भअनुसार यो समयावधि केही वर्ष वा धेरै वर्षको हुन सक्छ। बाइबलमा विशेषगरि येसुको अदृश्‍य उपस्थितिको दौडान चलिरहेको वर्तमान युगको “आखिरी समय”-लाई बुझाउन यो अभिव्यक्‍ति चलाइएको छ।—२ति ३:१; या ५:३; २प ३:३.

  • अपराध गर्नु:

    ठहराइएको नियम-कानुन तोड्‌नु। बाइबलमा यसको पर्यायवाची शब्द “पाप” पनि प्रयोग गरिएको छ।—भज ५१:३; रोमी ५:१४.

  • अबिब:

    यहुदीहरूको धार्मिक क्यालेन्डरको पहिलो महिना र कृषि क्यालेन्डरको सातौँ महिनाको पुरानो नाम। यसको अर्थ हो, “(अन्‍नको) हरियो बाला।” यो महिना मार्चको बीचदेखि सुरु भएर अप्रिलको बीचसम्म चल्थ्यो। यहुदीहरू बेबिलोनबाट फर्केपछि यस महिनाको नाम नीसान राखियो। (व्य १६:१)—अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

  • अब्‌:

    बेबिलोनको निर्वासनबाट फर्केपछि यहुदीहरूको धार्मिक क्यालेन्डरको पाँचौँ महिना र कृषि क्यालेन्डरको एघारौँ महिनालाई दिइएको नाम। यो महिना जुलाईको बीचदेखि सुरु भएर अगस्तको बीचसम्म चल्थ्यो। बाइबलमा यो महिनाको नाम उल्लेख गरिएको छैन बरु यसलाई “पाँचौँ महिना” मात्र भनिएको छ। (गन ३३:३८; एज्रा ७:९)—अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

  • अभिषेक:

    अभिषेक भनेर अनुवाद गरिएको हिब्रू शब्दको अर्थ हो, “कुनै तरल पदार्थ दलिदिनु।” कुनै व्यक्‍ति वा वस्तुलाई विशेष सेवाको लागि अलग्गै छुट्ट्याइएको सङ्‌केत गर्न उक्‍त व्यक्‍ति वा वस्तुमाथि तेल दलिन्थ्यो। ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा यो शब्द स्वर्गीय जीवनको लागि छानिएकाहरूमाथि पवित्र शक्‍ति खन्याउने सन्दर्भमा पनि प्रयोग गरिएको छ।—प्रस्थ २८:४१; १स १६:१३; २को १:२१.

  • अराम; अरामी:

    सेमका छोरा अरामका सन्तान। तिनीहरू लेबनान पहाडदेखि मेसोपोटामियासम्मको र उत्तरमा टाउरस पहाडदेखि तल दमिसकसम्मको भूभागमा अनि दक्षिणमा टाढा-टाढाको इलाकामा बसोबास गर्थे। त्यस इलाकालाई हिब्रूमा अराम भनिन्थ्यो। तर पछि त्यसलाई सिरिया र त्यहाँका बासिन्दालाई सिरियाली भन्‍न थालियो।—उत्प २५:२०; व्य २६:५; होसे १२:१२.

  • अरामी भाषा:

    अरामी र हिब्रू भाषाको वर्णमाला एउटै भएकोले यो हिब्रू भाषासित मिल्दोजुल्दो छ। सुरु-सुरुमा अरामीहरूले मात्र यो भाषा बोल्थे तर पछि अस्सेरियाली र बेबिलोनी साम्राज्यमा यो भाषा व्यापारजगत्‌ र बोलीचालीमा चलाइन थालेकोले यो अन्तरराष्ट्रिय भाषा बन्यो। फारसी साम्राज्यको आधिकारिक भाषा पनि यही थियो। (एज्रा ४:७) एज्रा, यर्मिया र दानिएलको किताबको कुनै-कुनै भाग अरामी भाषामा लेखिएको थियो।—एज्रा ४:८–६:१८; ७:१२-२६; यर्मि १०:११; दा २:४ख–७:२८.

  • अरियोपागस:

    एथेन्सको अग्लो डाँडा, जुन एक्रोपोलिसको उत्तर-पश्‍चिममा पर्थ्यो। त्यस  डाँडामा सभा बस्ने परिषद्‌लाई (अदालत) पनि यही नाम दिइएको थियो। पावलको आस्थाबारे बुझ्न स्तोइकवादी अनि इपिक्युरसवादी दार्शनिकहरूले तिनलाई अरियोपागसमा लगेका थिए।—प्रे १७:१९.

  • अलाबास्टर:

    अत्तर राखिने सानो बोतल। सुरु-सुरुतिर इजिप्टको अलाबास्ट्रन भन्‍ने ठाउँनजिकै पाइने एक किसिमको पत्थरबाट यो बोतल बनाइन्थ्यो। यसको घाटी साँघुरो हुन्थ्यो। बहुमूल्य अत्तरको बास्ना नउडोस्‌ भनेर बोतललाई राम्ररी बन्द गरेर राखिन्थ्यो। पछि गएर त्यस पत्थरलाई पनि अलाबास्टर नै भन्‍न थालियो।—मर्कु १४:३.

  • अलामोथ:

    सङ्‌गीतसित सम्बन्धित शब्द, जसको अर्थ हो, “कुमारीहरू; युवतीहरू।” सम्भवत: यसले युवतीहरूको उच्च सुरलाई सङ्‌केत गर्छ। सबैभन्दा उच्च सुरमा बाजा बजाउने वा गीत गाउने कुरा सङ्‌केत गर्न पनि यो शब्द प्रयोग गरिएको हुन सक्छ।—१इ १५:२०; भज ४६:परि.

  • अल्फा र ओमेगा:

    ग्रीक वर्णमालाको पहिलो र अन्तिम अक्षर। यी शब्दहरू प्रकाशको किताबमा तीन पटक परमेश्‍वरको पदवीको रूपमा प्रयोग गरिएको छ। ती पदहरूमा यी शब्दहरूको अर्थ हो, “पहिलो र अन्तिम” अनि “सुरुवात र अन्त।”—प्रका १:८; २१:६; २२:१३.

  • अवैध यौनसम्बन्ध:

    यसको लागि चलाइएको ग्रीक शब्द पोर्निया-ले सबै किसिमको अवैध यौनसम्पर्कलाई बुझाउँछ। यसमा व्यभिचार, वेश्‍यावृत्ति, आपसमा विवाह नगरी यौनसम्बन्ध राख्नु, समलिङ्‌गी यौनसम्बन्ध र पशु-सम्भोग पर्छ। प्रकाशको किताबमा यसलाई प्रतीकात्मक अर्थमा चलाइएको छ; त्यसमा बताइएअनुसार “महान्‌ बेबिलोन”-ले शक्‍ति र धनसम्पत्ति हासिल गर्न संसारका शासकहरूसित वेश्‍यावृत्ति गर्छे। (प्रका १४:८; १७:२; १८:३; मत्ति ५:३२; प्रे १५:२९; गला ५:१९)—वेश्‍या हेर्नुहोस्‌।

  • अशुद्ध:

    यसले फोहोरी हुनु वा नैतिक नियमहरूको उल्लङ्‌घन गर्नुलाई बुझाएको हुन सक्छ। तर बाइबलमा भने अक्सर यस शब्दले मोसाको व्यवस्थाअनुसार अस्विकार्य वा अशुद्ध कुराहरूलाई बुझाउँछ। (लेवी ५:२; १३:४५; मत्ति १०:१; प्रे १०:१४; एफि ५:५)—शुद्ध हेर्नुहोस्‌।

  • असल र खराबको ज्ञानको रूख:

    अदनको बगैँचामा भएको एउटा रूख। यो रूख मानिसजातिको लागि “असल” र “खराब”-को स्तर तोक्ने परमेश्‍वरको अधिकारको प्रतीक थियो।—उत्प २:९, १७.

  • असीम अनुग्रह:

    यसको लागि चलाइने ग्रीक शब्दले त्यस्तो कुनै कुरा वा चीजलाई बुझाउँछ, जुन राम्रो हुन्छ र जसले मन जित्छ। यो शब्द अक्सर उदारचित्तले वा माया गरेर दिइएको दानलाई बुझाउन प्रयोग गरिएको छ। परमेश्‍वरको असीम अनुग्रहबारे चर्चा गरिएका पदहरूमा चाहिँ यस शब्दले परमेश्‍वरले उदार भई र बदलामा केही पाउने आस नगरी सित्तैँमा दिनुभएको उपहारलाई बुझाउँछ। त्यसैले यस अभिव्यक्‍तिबाट परमेश्‍वर मानिसहरूलाई केही दिनुहुँदा प्रशस्तगरि दिनुहुन्छ, उनीहरूलाई धेरै माया गर्नुहुन्छ र कृपा देखाउनुहुन्छ भन्‍ने कुरा स्पष्ट हुन्छ। असीम अनुग्रह अर्थ लाग्ने ग्रीक शब्दलाई “निगाह” र “उदारचित्तले दिइएको दान” भनेर पनि अनुवाद गरिएको छ। यसले यस्तो अनुग्रह आफैले कमाउन सकिँदैन अथवा कसैले आफू त्यस्तो अनुग्रह पाउन लायकको छु भनेर दाबी गर्न सक्दैन; बरु यहोवा उदार हुनुभएकोले नै हामीले यस्तो अनुग्रह पाउन सकेका हौँ भनी बुझाउँछ।—२को ६:१; एफि १:७.

  •  असेल्गिया:

    निर्लज्ज आचरण हेर्नुहोस्‌।

  • अस्तोरेथ:

    कनानीहरूको एउटा देवी, जसलाई प्रजनन र युद्धकी देवी अनि बाआल देवताकी पत्नी मानिन्थ्यो।—१स ७:३.

  • आमिन:

    “यस्तै होस्‌” वा “पक्कै पनि।” यो शब्द हिब्रू भाषाको मूल शब्द एमेन-बाट आएको हो, जसको अर्थ हो, “भरोसायोग्य हुनु, विश्‍वासयोग्य हुनु।” कुनै शपथ खाएपछि, प्रार्थना गरेपछि वा केही कुरा भनेपछि सहमति जनाउन अन्तमा “आमिन” भनिन्थ्यो। प्रकाशको किताबमा आमिन शब्द येसुको पदवीको रूपमा प्रयोग गरिएको छ।—व्य २७:२६; १इ १६:३६; प्रका ३:१४.

  • आरमागेडोन:

    यो हिब्रू शब्द हार मघिद्दोन-बाट लिइएको हो, जसको अर्थ हो, “मगिद्दोको डाँडा।” यो शब्द “सर्वशक्‍तिमान्‌ परमेश्‍वरको महान्‌ दिनको लडाइँ”-सित सम्बन्धित छ। त्यतिबेला “पृथ्वीभरिका राजाहरू” यहोवासित लडाइँ गर्न एकसाथ जम्मा हुनेछन्‌। (प्रका १६:१४, १६; १९:११-२१)—महासङ्‌कष्ट हेर्नुहोस्‌।

  • इथियोपिया:

    मिश्रको दक्षिणमा पर्ने पुरातन राष्ट्र। यसले आधुनिक मिश्रको (इजिप्ट) सुदूर दक्षिणमा पर्ने भूभाग र आधुनिक सुडानको आधा भाग (उत्तरी भाग) ओगट्‌थ्यो। कहिलेकाहीँ हिब्रू शब्द “कुस”-को लागि पनि यही शब्द प्रयोग गरिन्छ।—एस्त १:१.

  • इपिक्युरसवादी दार्शनिक:

    ग्रीक दार्शनिक इपिक्युरसका (ई.पू. ३४१-२७०) अनुयायीहरू। जीवनको मूलभूत उद्देश्‍य नै सुखसयल प्राप्त गर्नु हो भन्‍ने धारणामा उनीहरूको सिद्धान्त आधारित थियो।—प्रे १७:१८.

  • इल्लिरिकुम:

    ग्रीसको उत्तर-पश्‍चिममा पर्ने रोमी प्रान्त। पावलले आफ्नो सेवाको दौडान त्यस ठाउँसम्म यात्रा गरे तर तिनले त्यहाँ पनि प्रचार गरे कि त्यहाँ पुग्नुभन्दा केही अगाडिका ठाउँसम्म मात्र गरे, त्यसबारे चाहिँ उल्लेख गरिएको छैन। (रोमी १५:१९)—अतिरिक्‍त लेख ख१३ हेर्नुहोस्‌।

  • इस्राएल:

    परमेश्‍वरले याकुबलाई दिनुभएको नाम। पछि गएर तिनको पूरै सन्तानलाई एउटै समूहको रूपमा इस्राएल भन्‍न थालियो। याकुबका १२ जना छोराबाट जन्मेका सन्तानलाई अक्सर इस्राएलका सन्तान, इस्राएलको घराना, इस्राएलका मानिसहरू (पुरुषहरू) वा इस्राएलीहरू भनिन्थ्यो। दक्षिणी राज्यबाट छुट्टिएर बनेको दस-गोत्रे उत्तरी राज्यलाई पनि इस्राएल भनिन्थ्यो। पछि अभिषिक्‍त ख्रिष्टियनहरूलाई पनि “परमेश्‍वरको इस्राएल” भनियो।—गला ६:१६; उत्प ३२:२८; २स ७:२३; रोमी ९:६.

  • उकालीको गीत:

    भजनसङ्‌ग्रहको किताबको १२०-१३४ अध्यायको परिचय। यस अभिव्यक्‍तिको अर्थबारे फरक-फरक विचार छ। तर थुप्रैको विश्‍वासअनुसार इस्राएलीहरू तीन वटा मुख्य चाड मनाउन यहुदाको ‘उकालो चढेर’ यरुसलेम जाँदा रमाउँदै यी १५ वटा भजन गाउँथे।

  • उपवास:

    कुनै निश्‍चित समयको लागि केही पनि नखाई बस्नु। इस्राएलीहरू प्रायश्‍चितको दिनमा, सङ्‌कष्टको घडीमा र परमेश्‍वरको मार्गनिर्देशन चाहिएको बेला उपवास बस्ने गर्थे। विगतमा आफूमाथि आइपरेको विपत्तिको सम्झना गर्न यहुदीहरूले वर्षको चार पटक उपवास बस्ने नियम बनाएका थिए। तर ख्रिष्टियनहरू भने उपवास बस्नु आवश्‍यक छैन।—एज्रा ८:२१; यसै ५८:६; लुका १८:१२.

  • उपस्थिति:

    ख्रिष्टियन ग्रीक धर्मशास्त्रको कुनै-कुनै प्रसङ्‌गमा यस शब्दले राजाको रूपमा येसु ख्रिष्ट उपस्थित हुने कुरालाई बुझाउँछ। ख्रिष्टको उपस्थिति उहाँ स्वर्गमा राजा  हुनुभएपछि सुरु भयो र अहिलेसम्म अर्थात्‌ यस युगको आखिरी समयसम्म चलिरहेको छ। ख्रिष्टको उपस्थितिको अर्थ उहाँ आउनुभएर तुरुन्तै फर्कने होइन बरु यसले एउटा खास समयावधिलाई ढाक्छ।—मत्ति २४:३.

  • ऊरीम र तुम्मीम:

    इस्राएल राष्ट्रमा कुनै गम्भीर मामिला खडा हुँदा यहोवाको इच्छा बुझ्न प्रधानपुजारीले प्रयोग गर्ने वस्तुहरू। यसलाई चिट्ठा जसरी नै प्रयोग गरिन्थ्यो। प्रधानपुजारी वासस्थानभित्र पस्दा छातीपातामा ऊरीम र तुम्मीम राख्थे। बेबिलोनीहरूले यरुसलेम विनाश गरेपछि ऊरीम र तुम्मीम प्रयोग गर्न बन्द भयो जस्तो देखिन्छ।—प्रस्थ २८:३०; नहे ७:६५.

  • एथानीम:

    यहुदीहरूको धार्मिक क्यालेन्डरको सातौँ महिना र कृषि क्यालेन्डरको पहिलो महिना। यो महिना सेप्टेम्बरको बीचदेखि सुरु भएर अक्टोबरको बीचसम्म चल्थ्यो। यहुदीहरू बेबिलोनको निर्वासनबाट फर्केपछि यसलाई तिस्री भन्‍न थालियो। (१रा ८:२)—अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

  • एदोम:

    इसहाकको छोरा एसावको अर्को नाम। एसावका (एदोम) सन्तानले मृतसागर र अकाबा खाडीको बीचमा पर्ने सेइरको पहाडी इलाका कब्जा गरेपछि त्यस इलाकालाई पनि एदोम भन्‍न थालियो। (उत्प २५:३०; ३६:८)—अतिरिक्‍त लेख ख३ख४ हेर्नुहोस्‌।

  • एपा:

    ठोस पदार्थको नाप वा अन्‍न तौलने भाँडो। यो नाप र तरल पदार्थको नाप बाथबराबर भएकोले यसको परिमाण २२ लिटरको भाँडोमा अटाउने जतिको हुन्थ्यो। (प्रस्थ १६:३६; इज ४५:१०)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • एपोद:

    पुजारीहरूले अलखामाथि लगाउने एप्रोनजस्तो एक किसिमको कपडा। प्रधानपुजारीले लगाउने एपोदचाहिँ विशेष किसिमको हुन्थ्यो। तिनले त्यसमाथि १२ वटा रत्न जडिएको छातीपाता बाँध्थे। (प्रस्थ २८:४, ६)—अतिरिक्‍त लेख ख५ हेर्नुहोस्‌।

  • एप्रैम:

    युसुफको अर्को छोराको नाम। पछि इस्राएलको एउटा कुलको नाम पनि एप्रैम नै राखियो। इस्राएल राज्य विभाजित भएपछि एप्रैम सबैभन्दा शक्‍तिशाली कुल भएकोले दस-गोत्रे राज्यलाई पनि एप्रैम नै भन्‍न थालियो।—उत्प ४१:५२; यर्मि ७:१५.

  • एबाड्डोन:

    हिब्रूमा यस शब्दको अर्थ हो, “विनाश।” यसले “विनाश गर्ने ठाउँ”-लाई पनि बुझाएको हुन सक्छ तर यो वास्तविक ठाउँ भने होइन। सम्भवत: यसले मानिसको मृत्यु भएपछि उसको लास कुहिएर माटोमा मिल्छ र ऊ अस्तित्वविहीन हुन्छ भन्‍ने तथ्यलाई सङ्‌केत गर्छ। (भज ८८:११; अयु २६:६; २८:२२; हित १५:११) तर प्रकाश ९:११ मा “एबाड्डोन” भन्‍ने शब्द नामको रूपमा प्रयोग भएको छ। यो नाम “अगाध खाडलका स्वर्गदूत”-लाई दिइएको छ।

  • एलूल:

    बेबिलोनको निर्वासनबाट फर्केपछि यहुदीहरूको धार्मिक क्यालेन्डरको छैटौँ महिना र कृषि क्यालेन्डरको बाह्रौँ महिनालाई दिइएको नाम। यो महिना अगस्तको बीचदेखि सुरु भएर सेप्टेम्बरको बीचसम्म चल्थ्यो। (नहे ६:१५)—अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

  • एल्डर:

    प्रकाशको किताबमा स्वर्गमा शासन गर्ने मानिसहरूलाई बुझाउन यो शब्द प्रयोग गरिएको छ। मण्डलीमा अगुवाइ लिने दाजुभाइहरूलाई बुझाउन ग्रीक धर्मशास्त्रमा जहाँ-जहाँ प्रेसबाइटेरोस चलाइएको छ, त्यहाँ-त्यहाँ यस बाइबलमा “एल्डर” भनेर अनुवाद गरिएको छ।—१ति ५:१७; प्रका ४:४.

  •  एसिया:

    ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा एउटा रोमी प्रान्तको नाम। आधुनिक समयको टर्कीको पश्‍चिमी भूभाग अनि समुद्री किनारनजिकै भएका टापुहरू, जस्तै: सामोस र पत्मोस यस प्रान्तमा पर्थ्यो। यसको राजधानी एफिसस थियो। (प्रे २०:१६; प्रका १:४)—अतिरिक्‍त लेख ख१३ हेर्नुहोस्‌।

  • ओनिक्स:

    एक किसिमको अनमोल रत्न, जुन विभिन्‍न रङ्‌गमा (कालो, खैरो, रातो, खरानी वा हरियो) पाइन्छ; यसमा बीच-बीचमा सेता धर्साहरू हुन्छन्‌। प्रधानपुजारीको विशेष पोसाकमा यो रत्न पनि जडिएको हुन्थ्यो।—प्रस्थ २८:९, १२; १इ २९:२; अयु २८:१६.

  • ओमेर:

    ठोस पदार्थको नाप, जसको परिमाण २.२ लिटरको भाँडोमा अटाउने जतिको हुन्थ्यो; यो एपाको दसौँ भागबराबर थियो। (प्रस्थ १६:१६, १८)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • औँसी:

    यहुदी क्यालेन्डरको हरेक महिनाको पहिलो दिन। यो दिन सबै जना एक ठाउँमा भेला हुन्थे, भोज गर्थे र विशेष भेटीहरू चढाउँथे। पछि गएर यो यहुदीहरूको सबैभन्दा महत्त्वपूर्ण चाड भयो। यो दिन मानिसहरू कुनै काम गर्दैनथे।—गन १०:१०; २इ ८:१३; कल २:१६.

  • कटनीको चाड; हप्ताहरूको चाड:

    पेन्तिकोस हेर्नुहोस्‌।

  • कनान:

    नुहको नाति र हामको काहिँला छोरा। कनानबाट निस्केका ११ कुल भूमध्यसागरको पूर्वतिरको इलाकामा बसोबास गर्थे। त्यो इलाका मिश्र र सिरियाको बीचमा पर्थ्यो र त्यसलाई “कनान देश” भनिन्थ्यो। (लेवी १८:३; उत्प ९:१८; प्रे १३:१९)—अतिरिक्‍त लेख ख४ हेर्नुहोस्‌।

  • कब:

    ठोस पदार्थको नाप, जसको परिमाण १.२२ लिटरको भाँडोमा अटाउने जतिको हुन्थ्यो। यसलाई बाथमा नापेर दिइन्थ्यो। (२रा ६:२५)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • करार:

    परमेश्‍वर र मानिसहरूबीच वा कुनै दुई जना मानिसबीच गरिने औपचारिक सम्झौता, जसमा कुनै कुरा गर्ने वा नगर्ने भनेर दुई पक्ष सहमत हुन्छन्‌। कुनै-कुनै करारमा एउटा पक्षले मात्र सर्त पूरा गर्नुपर्ने हुन्थ्यो, जसलाई एकतर्फी करार भनिन्छ र जुन वास्तवमा व्यक्‍तिविशेषले गरेको प्रतिज्ञा हो। कुनै-कुनै करारमा भने दुवै पक्षले सर्त पूरा गर्नुपर्ने हुन्थ्यो, जसलाई दुईतर्फी करार भनिन्छ। बाइबलमा परमेश्‍वरले मानिससित गर्नुभएको करारबारे मात्र होइन मानिस-मानिस, कुल-कुल, राष्ट्र-राष्ट्र र मानिसहरूको समूह-समूहबीच गरिएको करारबारे पनि बताइएको छ। बाइबलमा उल्लेख भएका करारहरूमध्ये चिरस्थायी करारहरूचाहिँ परमेश्‍वरले अब्राहाम, दाउद, इस्राएल राष्ट्र (व्यवस्थाको करार) अनि परमेश्‍वरको इस्राएलसित (नयाँ करार) गर्नुभएका करारहरू हुन्‌, जसको असर लामो समयसम्म रह्‍यो र पछिसम्म पनि रहनेछ।—उत्प ९:११; १५:१८; २१:२७; प्रस्थ २४:७; २इ २१:७.

  • करारको सन्दुक:

    बबुल काठको बाकस, जुन सुनले मोहोरिएको थियो। त्यो बाकस वासस्थानको महापवित्र कोठामा राखिएको थियो र पछि त्यसलाई सुलेमानले बनाएको मन्दिरको महापवित्र कोठामा राखियो। त्यसको ढकनी निखुर सुनको थियो र ढकनीमाथि करूबको दुइटा प्रतिमा बनाइएका थिए। ती करूबहरू एकअर्काको आमनेसामने थिए। त्यस बाकसमा खासगरि दस आज्ञा लेखिएका दुइटा पाटी राखिएका थिए। (व्य ३१:२६; १रा ६:१९; हिब्रू ९:४)—अतिरिक्‍त लेख ख५ख८ हेर्नुहोस्‌।

  •  करूब:

    विशेष जिम्मेवारी पाएका उच्च दर्जाका स्वर्गदूतहरू। तिनीहरू सराफहरूभन्दा फरक छन्‌।—उत्प ३:२४; प्रस्थ २५:२०; यसै ३७:१६; हिब्रू ९:५.

  • कल्दिया; कल्दियाली:

    पहिला-पहिला टाइग्रिस र युफ्रेटिस नदीहरूको मुहान छेउछाउका इलाकालाई कल्दिया र त्यहाँका बासिन्दाहरूलाई कल्दियाली भनिन्थ्यो। समय बित्दै जाँदा ती शब्दहरू बेबिलोनिया र त्यहाँका बासिन्दाहरूलाई बुझाउन प्रयोग गरिन थालियो। विज्ञान, इतिहास, भाषा र खगोलविज्ञानको ज्ञान भएका शिक्षित मानिसहरूको समूहलाई बुझाउन पनि “कल्दियाली” शब्द प्रयोग गरिन्थ्यो तर खगोलविज्ञानको ज्ञान भएका कल्दियालीहरूले तन्त्रमन्त्र पनि गर्थे।—एज्रा ५:१२; दा ४:७; प्रे ७:४.

  • किसलेव:

    बेबिलोनको निर्वासनबाट फर्केपछि यहुदीहरूको धार्मिक क्यालेन्डरको नवौँ महिना र कृषि क्यालेन्डरको तेस्रो महिनालाई दिइएको नाम। यो महिना नोभेम्बरको बीचदेखि सुरु भएर डिसेम्बरको बीचसम्म चल्थ्यो। (नहे १:१; जक ७:१)—अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

  • कुनाको ढुङ्‌गो:

    भवनको दुई वटा भित्ता जहाँ जोडिन्छ, त्यस कुनामा हालिने ढुङ्‌गो। दुई वटा भित्तालाई जोड्‌न र बलियो बनाउन त्यो ढुङ्‌गो महत्त्वपूर्ण हुन्छ। जगमा हालिने कुनाको शिरढुङ्‌गो सबैभन्दा महत्त्वपूर्ण हुन्थ्यो। त्यसैले सार्वजनिक भवनहरू र सहरका पर्खालहरू बनाउँदा प्रयोग गरिने यो ढुङ्‌गो एकदमै बलियो किसिमको हुन्थ्यो। बाइबलमा पृथ्वी सृष्टि गरिँदा त्यसको जगमा शिरढुङ्‌गो बसालिएको थियो भनेर प्रतीकात्मक अर्थमा वर्णन गरिएको छ। त्यसैगरि ख्रिष्टियन मण्डलीलाई पनि प्रतीकात्मक अर्थमा परमेश्‍वरको भवन भनिएको छ अनि येसुलाई चाहिँ त्यस भवनको “जगको कुनाको ढुङ्‌गो” भनिएको छ।—एफि २:२०; अयु ३८:६.

  • कुमाले:

    यसको हिब्रू शब्दको शाब्दिक अर्थ “रचनाकार” हो। व्यक्‍तिविशेष वा कुनै राष्ट्रमाथि यहोवाको मात्र शासन गर्ने अधिकार छ भनेर बुझाउन अक्सर कुमाले र माटोको उदाहरण चलाइएको छ।—यसै ६४:८; रोमी ९:२१.

  • कुष्ठरोग; कुष्ठरोगी:

    छालासम्बन्धी घातक रोग। बाइबलमा उल्लेख गरिएको कुष्ठरोगले मानिसलाई मात्र नभई लुगाफाटा र घरलाई समेत असर गर्थ्यो। त्यसैले अहिले मानिसहरूलाई लाग्ने कुष्ठरोगभन्दा त्यो धेरै फरक थियो। कुष्ठरोग लागेको मानिसलाई कुष्ठरोगी भनिन्छ।—लेवी १४:५४; लुका ५:१२.

  • केमोस:

    मोआबीहरूको प्रमुख देवता।—१रा ११:३३.

  • कोर:

    ठोस तथा तरल पदार्थको नाप, जसको परिमाण २२० लिटरको भाँडोमा अटाउने जतिको हुन्थ्यो। यसलाई बाथमा नापेर दिइन्थ्यो। (१रा ५:११)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • कोर्रा:

    प्रथम शताब्दीमा मानिसहरूलाई यातना दिन कोर्रा लगाइन्थ्यो। त्यस्ता कोर्राहरूमध्ये कुनै-कुनैमा फलामका साना गेडाहरू हुन्थे; अरूमा भने कोर्राको डोरीको बीच-बीचमा हड्डीका तीखा टुक्राहरू अनि फलामका टुक्राहरू बाँधिएका हुन्थे।—युह १९:१.

  • कोल:

    कोल बनाउन अक्सर ठूलो चूनढुङ्‌गा खोपेर त्यसमा दुई वटा खाल्डो बनाइन्थ्यो; एउटा खाल्डोको तुलनामा अर्को खाल्डो होचो ठाउँमा बनाइएको हुन्थ्यो र दुई वटा खाल्डोलाई जोड्‌न कुलो बनाइएको हुन्थ्यो। अग्लो खाल्डोमा अङ्‌गुर पेल्दा त्यसको रस होचो खाल्डोमा बगेर जम्मा हुन्थ्यो। परमेश्‍वरको न्यायलाई बुझाउन पनि यही शब्द चलाइएको छ।—यसै ५:२; प्रका १९:१५.

 

  • खतना:

    पुरुष जननेन्द्रियको टुप्पाको छाला काट्‌नु। अब्राहाम र तिनको सन्तानले खतना गर्नै पर्थ्यो तर ख्रिष्टियनहरूलाई भने यो नियम लागू हुँदैन। थुप्रै प्रसङ्‌गमा यसलाई प्रतीकात्मक अर्थमा पनि प्रयोग गरिएको छ।—उत्प १७:१०; १को ७:१९; फिलि ३:३.

  • खमिर:

    पीठो वा कुनै तरल पदार्थलाई खमिरा बनाउन त्यसमा हालिने वस्तु। प्रायजसो पहिल्यै खमिरा भइसकेको पीठोको डल्लोलाई खमिरको रूपमा प्रयोग गरिन्थ्यो। बाइबलमा अक्सर पाप र भ्रष्टता बुझाउन यो शब्द चलाइएको छ। यो शब्दले अरूको नजरबाट लुकेको वृद्धिलाई पनि बुझाउँछ।—प्रस्थ १२:२०; मत्ति १३:३३; गला ५:९.

  • खम्बा:

    अपराधीलाई टाँगिने एउटा सीधा काठ। कुनै-कुनै देशमा मृत्युदण्ड दिन अपराधीलाई खम्बामा टाँगिन्थ्यो र लासलाई खम्बामै छोडिन्थ्यो। अथवा कसैलाई मारेपछि उसको लासलाई खम्बामा टाँगिन्थ्यो। मारिने व्यक्‍तिको बदनाम गर्न अनि अरूलाई चेतावनी दिन त्यसो गरिन्थ्यो। अस्सेरियालीहरू युद्धमा क्रूर व्यवहार गर्थे; तिनीहरूले बन्दी बनाएका कैदीहरूको पेटमा चुच्चो काठ छिराएर सिधै छातीबाट निकाल्थे अनि लासलाई त्यसैमा टाँगेर छोडिदिन्थे। तर यहुदी कानुनअनुसार जसले परमेश्‍वरको निन्दा गर्छ वा मूर्तिपूजाजस्तो गम्भीर पाप गर्छ, त्यसलाई पहिले ढुङ्‌गाले हिर्काएर वा अन्य तरिकाले मारिन्थ्यो; त्यसपछि अरू मानिसहरूलाई चेतावनी दिन लासलाई खम्बा वा रूखमा झुन्ड्‌याइन्थ्यो। (व्य २१:२२, २३; २स २१:६, ९) रोमका मानिसहरू अपराधीहरूलाई खम्बामा बाँधेर राख्थे र केही दिनसम्म तिनीहरू पीडाले छट्‌पटाउँथे अनि अन्तमा भोक-प्यास र गर्मीले गर्दा मर्थे। तर कहिलेकाहीँ भने उनीहरू अपराधीहरूलाई येसुलाई जस्तै हातखुट्टामा किला ठोकेर खम्बामा टाँग्थे। (लुका २४:२०; युह १९:१४-१६; २०:२५; प्रे २:२३, ३६; यातनाको खम्बा हेर्नुहोस्‌।) कुनै-कुनै खम्बाहरू भने ऐतिहासिक घटनाहरूलाई सम्झन ठड्‌याइन्थ्यो। सुलेमानले बनाएको मन्दिर र शाही भवनहरूमा पनि त्यस्तै खम्बाहरू प्रयोग गरिएको थियो। मूर्तिपूजकहरूले झूटो उपासनाको लागि त्यस्तै पवित्र थामहरू ठड्‌याएका थिए अनि इस्राएलीहरू पनि बेला-बेलामा त्यस्तै चलनअनुसार चलेका थिए।—न्या १६:२९; १रा ७:२१; १४:२३.

  • ख्रिष्ट:

    येसुलाई दिइएको उपाधि। ख्रिष्ट शब्द ख्रिस्टोस भन्‍ने ग्रीक शब्दबाट आएको हो। यो शब्द अनि “मसीह” वा “अभिषिक्‍त जन” भनी अनुवाद गरिएको हिब्रू शब्दको अर्थ एउटै हो।—मत्ति १:१६; युह १:४१.

  • ख्रिष्ट-विरोधी:

    ख्रिष्ट-विरोधी भनेर अनुवाद गरिएको ग्रीक शब्दको दुइटा अर्थ लाग्छ। पहिलो, जो ख्रिष्टको विरुद्धमा उठ्‌छ वा जसले ख्रिष्टको विरोध गर्छ। अनि दोस्रो, जो झूटो ख्रिष्ट हो अर्थात्‌ जसले आफू ख्रिष्ट हुँ भनी दाबी गर्छ। त्यसैले आफू ख्रिष्टको प्रतिनिधि हुँ वा आफू नै मसीह हुँ भनेर झूटो दाबी गर्ने अथवा ख्रिष्ट र ख्रिष्टका चेलाहरूको विरोध गर्ने सबै मानिस, सङ्‌गठन वा समूहलाई ख्रिष्ट-विरोधी भन्‍न सकिन्छ।—१यु २:२२.

  • ख्रिष्टियन:

    येसु ख्रिष्टका अनुयायीहरूलाई परमेश्‍वरले दिनुभएको नाम।—प्रे ११:२६; २६:२८.

  • गित्तिथ:

    सङ्‌गीतसित सम्बन्धित शब्द, जसको अर्थ के हो, पक्का छैन। तर यो हिब्रू शब्द गाथ-बाट आएको हो जस्तो देखिन्छ, जसले अङ्‌गुर पेल्ने कोललाई बुझाउँछ। त्यसैले कसै-कसैको विचारमा यो दाखमद्य बनाउँदा गाइने गीतको धुन हुन सक्छ।—भज ८१:परि.

  •  गिलाद:

    यर्दन नदीको पूर्वमा पर्ने उर्वर भूमि, जुन याब्बोक बेँसीको उत्तर र दक्षिणतर्फ फैलिएको थियो। बाइबलको कुनै-कुनै विवरणमा यर्दनको पूर्वमा पर्ने इस्राएलीहरूको पूरै इलाकालाई पनि यही नाम दिइएको छ, जहाँ रुबेन, गाद र मनस्सेको आधा कुल बसोबास गर्थे। (गन ३२:१; यहो १२:२; २रा १०:३३) —अतिरिक्‍त लेख ख४ हेर्नुहोस्‌।

  • गुट:

    कुनै खास शिक्षालाई वा कुनै गुरुलाई पछ्याउने मानिसहरूको समूह; ती मानिसहरूको आफ्नै धार्मिक आस्था हुन्थ्यो। यहुदी धर्ममा दुई वटा मुख्य गुट थियो—फरिसीहरू र सदुकीहरू। मानिसहरू ख्रिष्टियनहरूलाई पनि “गुट” वा “नासरी गुट” भन्‍ने गर्थे किनकि तिनीहरू ख्रिष्टियनहरूलाई यहुदी धर्मबाट छुट्टिएको गुट भन्ठान्थे। केही समयपछि ख्रिष्टियन मण्डलीहरूभित्र पनि गुटहरू बन्‍न थाल्यो। प्रकाशको किताबमा “निकोलाउस गुट”-को चर्चा गरिएको छ।—प्रे ५:१७; १५:५; २४:५; २८:२२; प्रका २:६; २प २:१.

  • गेरा:

    यो ०.५७ ग्रामबराबरको तौल हो। बीस गेराबराबर एक शेकेल हुन्थ्यो। (लेवी २७:२५)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • गेहेन्‍ना:

    पुरातन यरुसलेमको दक्षिण-पश्‍चिममा पर्ने हिन्‍नोम बेँसीको ग्रीक नाम। (यर्मि ७:३१) भविष्यवाणीहरूमा यस ठाउँलाई लास फ्याँकिने ठाउँको रूपमा चित्रण गरिएको छ। (यर्मि ७:३२; १९:६) मानिस वा जनावरलाई जिउँदै जलाउन वा यातना दिन गेहेन्‍नामा फाल्ने गरिन्थ्यो भन्‍ने कुराको कुनै प्रमाण छैन। त्यसैले गेहेन्‍नाले मानिस मरेपछि उसलाई सधैँभरि आगोमा तड्‌पाउने ठाउँलाई सङ्‌केत गरेको हुन सक्दैन। बरु येसु र उहाँका चेलाहरूले “दोस्रो मृत्यु” अर्थात्‌ अनन्त विनाशलाई बुझाउन गेहेन्‍ना शब्द प्रयोग गर्नुभएको थियो।—प्रका २०:१४; मत्ति ५:२२; १०:२८.

  • गोला हाल्ने:

    पुरातन समयमा ससाना गट्टा अथवा काठ वा ढुङ्‌गाका टुक्राहरू प्रयोग गरेर निर्णय गर्ने चलन। लुगाको पोल्टा वा कुनै भाँडोमा राखेर हल्लाएपछि जसको नामको ढुङ्‌गा बाहिर खस्थ्यो वा निकालिन्थ्यो, उसलाई नै रोजिन्थ्यो। मानिसहरू अक्सर प्रार्थनापूर्वक गोला हाल्ने गर्थे। मूल भाषामा “गोला”-को लागि जुन शब्द प्रयोग भएको छ, त्यसको अर्थ “भाग” वा “अंश” पनि हुन्छ।—यहो १४:२; भज १६:५; हित १६:३३; मत्ति २७:३५.

  • ग्रीक:

    ग्रीसका मानिसहरूले बोल्ने भाषा। जो ग्रीसमा जन्मेका हुन्‌ वा जसको परिवार ग्रीसको रैथाने हो, त्यस्ता व्यक्‍तिलाई पनि ग्रीक भनिन्छ। ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा यो शब्दले अझै ठूलो क्षेत्र ढाक्दै सबै गैर-यहुदीलाई अथवा ग्रीक भाषा र संस्कृतिको प्रभावमा परेका मानिसहरूलाई बुझाउँछ।—योए ३:६; युह १२:२०.

  • घुयेँत्रो:

    छालाको पट्टी अथवा जनावरको नसा, लामो घाँस वा भुत्ला बाटेर बनाइएको पट्टी। यसको बीच भाग चौडा हुन्थ्यो, जसमा हिर्काउने चीज राखिन्थ्यो। घुयेँत्रो चलाउँदा अक्सर ढुङ्‌गा प्रयोग गरिन्थ्यो। यसको एक छेउलाई हात वा नाडीमा बाँधिन्थ्यो भने अर्को छेउलाई चाहिँ कसेर समाइन्थ्यो। त्यसपछि घुयेँत्रोलाई बेसरी घुमाइन्थ्यो अनि छोडिन्थ्यो। पुरातन समयका सेनामा घुयेँत्रो चलाउन सिपालु योद्धाहरू पनि हुन्थे।—न्या २०:१६; १स १७:५०.

  • चमत्कार; शक्‍तिशाली कामहरू:

    मानव क्षमता बाहिरको कुनै काम वा घटना, जसको श्रेय ईश्‍वर वा अरू कुनै अलौकिक शक्‍तिलाई दिइन्छ। बाइबलमा कहिलेकाहीँ यसका पर्यायवाची अभिव्यक्‍तिहरू जस्तै: “चिन्ह,” “जनाउ” र “आश्‍चर्यजनक कार्य”  चलाइएको छ।—प्रस्थ ४:२१; प्रे ४:२२; हिब्रू २:४.

  • चर्मपत्र:

    लेख्ने सामग्री, जुन भेडा, बाख्रा वा बाछाको छालाबाट बनेको हुन्थ्यो। मालिङ्‌गोको तुलनामा यो लामो समयसम्म टिक्थ्यो र यो बाइबलका मुठाहरू बनाउन प्रयोग गरिएको थियो। पावलले तिमोथिलाई जुन चर्मपत्रहरू ल्याउन आग्रह गरेका थिए, ती हिब्रू धर्मशास्त्रका केही अंश हुन सक्छन्‌। मृतसागरमा फेला परेका केही पाण्डुलिपिहरू चर्मपत्र थिए।—२ति ४:१३.

  • चिन्ह:

    कुनै वस्तु, काम, अवस्था अथवा अनौठो दृश्‍य, जसले अहिले वा भविष्यमा हुने कुनै खास कुरालाई सङ्‌केत गर्छ।—उत्प ९:१२, १३; २रा २०:९; मत्ति २४:३; प्रका १:१.

  • चिहान:

    लास गाड्‌ने वा राख्ने ठाउँ। यसले मृत्युपछि सबै जना जानै पर्ने चेतनाहीन र निष्क्रिय अवस्थालाई पनि बुझाउँछ, जसलाई हिब्रूमा “शिओल” र ग्रीकमा “हेडिज” भनिन्छ।—उत्प ४७:३०; उप ९:१०; प्रे २:३१.

  • चोक:

    वासस्थानबाहिर चारैतिर पालले बारिएको खुला ठाउँ र पछि मन्दिरको मुख्य भागको वरपर पर्खाल लगाएर छुट्ट्याइएको खुला ठाउँ। अग्निभेटीको वेदी वासस्थानको चोकमा राखिन्थ्यो अनि पछि मन्दिरमा चाहिँ भित्री चोकमा राखियो। (अतिरिक्‍त लेख ख५, ख८ख११ हेर्नुहोस्‌।) बाइबलमा घर र महलका चोकहरूबारे पनि चर्चा गरिएको छ।—प्रस्थ २७:९; १रा ७:१२; एस्त ४:११; मत्ति २६:३.

  • छातीपाता:

    पवित्र कोठामा छिर्दा प्रधानपुजारीले आफ्नो छातीमा लगाउने रत्नहरू जडिएको थैलो। त्यसलाई “न्यायको छातीपाता” भनिन्थ्यो किनकि त्यसमा ऊरीम र तुम्मीम राखिएको हुन्थ्यो, जुन यहोवा परमेश्‍वरको फैसला पत्ता लगाउन प्रयोग गरिन्थ्यो। (प्रस्थ २८:१५-३०)—अतिरिक्‍त लेख ख५ हेर्नुहोस्‌।

  • छाप:

    छाप लगाउने साधन। (छाप अक्सर गिलो माटो वा मैनमा लगाइन्थ्यो।) कुनै वस्तु वा कागजातमा छाप लगाएपछि त्यसको मालिक को हो, त्यो सक्कली हो कि होइन अथवा दुई पक्षबीच करार गरिएको हो कि होइन भनेर पक्का हुन्थ्यो। पुरातन समयको छाप कडा वस्तुबाट (ढुङ्‌गा, हस्तिहाड वा काठ) बनाइएको हुन्थ्यो, जसमा उल्टो अक्षरहरू वा डिजाइनहरू कुँदिएको हुन्थ्यो। छाप प्रतीकात्मक अर्थमा पनि लगाइन्थ्यो र त्यसले कुनै कुरा सत्य वा गोप्य हो भन्‍ने कुरा देखाउँथ्यो। साथै छाप लगाउँदा कुनै कुरामा कसको अधिकार छ भनेर स्पष्ट हुन्थ्यो।—प्रस्थ २८:११; नहे ९:३८; प्रका ५:१; ९:४.

  • छापऔँठी:

    छाप भएको एक किसिमको औँठी, जुन औँलामा लगाइन्थ्यो वा डोरीमा हालेर सायद घाँटीमा झुन्ड्‌याइन्थ्यो। यो कुनै राजा वा अफिसरको अधिकारको प्रतीक थियो। (उत्प ४१:४२)—छाप हेर्नुहोस्‌।

  • जटामसी:

    जटामसीको (नार्डोस्टेकिस जटामसी) बोटबाट निकालिएको एक प्रकारको फिक्का रातो रङ्‌गको सुगन्धित तेल। यो तेल असाध्यै महँगो हुने भएकोले यसमा कमसल किसिमको तेल मिसाइन्थ्यो अनि नक्कली जटामसीको तेललाई सक्कली भनेर बेचिन्थ्यो। त्यसैले येसुको शरीरमा खन्याइएको तेल “असल जटामसी” थियो भनेर मर्कुस र युहन्‍ना दुवैले बताउनु उल्लेखनीय छ।—मर्कु १४:३; युह १२:३.

  • जाँतोको चक्का:

    पुरातन समयमा प्रायजसो घरहरूमा स्त्रीहरूले हाते-जाँतो प्रयोग गर्थे। त्यतिबेलाका परिवारहरूको जीवन धान्‍ने मुख्य साधन नै जाँतो भएकोले मोसाको व्यवस्थाअनुसार कसैले पनि अरूको जाँतो जफत गर्न अथवा जाँतोको माथिल्लो चक्का बन्धकी लिन पाउँदैनथ्यो।  त्यतिबेला जनावरले घुमाउने ठूलठूला जाँतो पनि हुन्थे।—व्य २४:६; मर्कु ९:४२.

  • जीभ:

    यहुदीहरूको धार्मिक क्यालेन्डरको दोस्रो महिना र कृषि क्यालेन्डरको आठौँ महिनाको पुरानो नाम। यो महिना अप्रिलको बीचदेखि सुरु भएर मेको बीचसम्म चल्थ्यो। यहुदी ताल्मुदमा र बेबिलोनको निर्वासनपछिका लेखोटहरूमा यसलाई आय्यर भनिएको छ। (१रा ६:३७)—अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

  • जीवनको रूख:

    अदनको बगैँचामा भएको एउटा रूख। बाइबलले उक्‍त रूखको फलमा जीवन दिने शक्‍ति थियो भन्‍ने कुनै सङ्‌केत दिँदैन। बरु त्यस रूखले परमेश्‍वरले जसलाई त्यसको फल खाने अनुमति दिनुहुन्छ, उसले अवश्‍य अनन्त जीवन पाउँछ भन्‍ने कुरालाई सङ्‌केत गर्छ।—उत्प २:९; ३:२२.

  • जुवा:

    कुनै मानिसको काँधमा राखिने डन्डा, जसको दुवै छेउमा गह्रौँ वस्तु झुन्ड्‌याइन्थ्यो। अथवा भारी बोक्ने दुई वटा जनावरको (अक्सर गाईगोरु) गर्दनमा राखिने काठ वा पाता; त्यसको मदतले ती जनावरहरूले हलो वा गाडा तान्थे। दासहरूले गह्रौँ भारी बोक्न अक्सर जुवा प्रयोग गर्ने भएकोले दासत्व वा अर्को मानिसको अधीनमा बस्ने कुरा सङ्‌केत गर्न अथवा दमन र पीडा बुझाउन बाइबलमा यो शब्द प्रयोग गरिएको छ। जुवा हटाउनु वा भाँच्नुले दासत्व, दमन र अत्याचारबाट मुक्‍त हुनुलाई सङ्‌केत गर्छ।—लेवी २६:१३; मत्ति ११:२९, ३०.

  • ज्युस:

    ग्रीकहरूको प्रमुख देवता। लिस्त्राका मानिसहरूले बर्णाबासलाई ज्युस देवता भन्ठानेका थिए। लिस्त्रानजिकै भेटिएका पुरातन शिलालेखहरूमा “ज्युसका पुजारीहरू” र “सूर्यदेव ज्युस” भनेर लेखिएको पाइयो। पावल माल्टा टापुबाट चढेको जहाजको अघिल्लो भागमा पनि “ज्युसका छोराहरू”-को प्रतिमा थियो; ज्युसका ती छोराहरूको नाम क्यास्टर र पोलुक्स थियो; तिनीहरू जुम्ल्याहा थिए।—प्रे १४:१२; २८:११.

  • ज्योतिषी:

    सूर्य, जुन र ताराजस्ता ग्रह-नक्षत्रको चाल अध्ययन गरेर भावी बताउने व्यक्‍ति।—दा २:२७; मत्ति २:१.

  • झुप्रोबासको चाड:

    यसलाई बाली भित्र्याउने चाड पनि भनिन्थ्यो। यो चाड एथानीम महिनाको १५-२१ सम्म मनाइन्थ्यो। इस्राएलीहरूले कृषि-वर्षको अन्तमा, बाली काट्‌ने बेला यो चाड मनाउँथे। चाडको समयमा तिनीहरू खुसीयाली मनाउँथे र आफ्नो बालीनालीमाथि परमेश्‍वरले आशिष्‌ दिनुभएकोमा उहाँलाई धन्यवाद चढाउँथे। मिश्रबाट निस्केको समयको सम्झना गर्न इस्राएलीहरू यस चाडको दौडान झुप्रो वा छाप्रोमा बस्थे। इस्राएली पुरुषहरू यरुसलेम गएर मनाउनै पर्ने तीन वटा चाडमध्ये एउटा यो पनि थियो।—लेवी २३:३४; एज्रा ३:४.

  • टार्टरस:

    ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा यसले नुहको समयका अनाज्ञाकारी स्वर्गदूतहरूलाई फ्याँकिएको कैद वा झ्यालखानासमान अवस्थालाई बुझाउँछ। दोस्रो पत्रुस २:४ मा ग्रीक क्रिया टार्टारू (अर्थात्‌ “टार्टरसमा फालिदिनु”) प्रयोग गरिएको छ। तर यसको अर्थ “पाप गर्ने स्वर्गदूतहरूलाई” झूटा दन्त्य-कथाहरूमा उल्लेख गरिएको टार्टरसमा (अर्थात्‌, जमिनमुनि भएको झ्यालखाना वा अँध्यारो कोठा, जहाँ सानातिना देवताहरूलाई कैद गरेर राखिन्थ्यो) फालियो भन्‍ने चाहिँ होइन। वास्तवमा यसको अर्थ हो, परमेश्‍वरले तिनीहरूलाई स्वर्गमा तिनीहरूको स्थानबाट हटाइदिनुभयो, तिनीहरूको  जिम्मेवारी खोस्नुभयो र तिनीहरूको मानसिक अवस्थालाई घोर अन्धकारमा पार्नुभयो, जसले गर्दा तिनीहरूले परमेश्‍वरको सुन्दर उद्देश्‍यलाई कहिल्यै बुझ्न सक्ने छैनन्‌। अन्धकारमा फालिनुले तिनीहरूको अन्तिम नतिजा कस्तो हुन्छ भन्‍ने कुरा पनि सङ्‌केत गर्छ; बाइबलले बताएअनुसार तिनीहरूलाई तिनीहरूको शासक—सैतान अर्थात्‌ दियाबलसँगै सदाको लागि नाश गरिनेछ। त्यसैले टार्टरस शब्दले ती विद्रोही स्वर्गदूतहरूको असाध्यै खस्किएको अवस्थालाई सङ्‌केत गर्छ। यो प्रकाश २०:१-३ मा उल्लेख गरिएको “अगाध खाडल” होइन।

  • टालेन्ट:

    यो हिब्रूहरूको तौल र मुद्राको सबैभन्दा ठूलो एकाइ थियो। यसको तौल ३४.२ केजी हुन्थ्यो। ग्रीक टालेन्टचाहिँ त्योभन्दा सानो हुन्थ्यो; त्यसको तौल २०.४ केजी हुन्थ्यो। (१इ २२:१४; मत्ति १८:२४)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • टेराफिम:

    कुलदेवताका मूर्तिहरू, जुन कहिलेकाहीँ शकुन-अपशकुन पत्ता लगाउन प्रयोग गरिन्थ्यो। (इज २१:२१) कुनै-कुनै कुलदेवताका मूर्तिहरूको लम्बाइ-चौडाइ र आकार मान्छेको जस्तै हुन्थ्यो अनि कुनै-कुनै भने सानो हुन्थ्यो। (उत्प ३१:३४; १स १९:१३, १६) मेसोपोटामियाको पुरातात्त्विक उत्खननबाट पत्ता लागेअनुसार परिवारको जोसँग कुलदेवताको मूर्ति हुन्थ्यो, ऊ नै परिवारको उत्तराधिकारी हुन्थ्यो। (यही कारणले नै राहेलले आफ्नो बुबाको कुलदेवताको मूर्ति लिएको हुनुपर्छ।) तर इस्राएलमा चाहिँ यस्तो चलन थिएन। न्यायकर्ता र राजाहरूको समयमा कुलदेवताका मूर्तिहरू झूटो उपासनामा मात्र प्रयोग हुन्थे। वफादार राजा योसियाहले आफ्नो शासनकालमा घिनलाग्दा चिजहरू हटाउँदा कुलदेवताका मूर्तिहरू पनि नष्ट गरेका थिए।—न्या १७:५; २रा २३:२४; होसे ३:४.

  • ठिँगुरो:

    झ्यालखानामा सजाय दिन प्रयोग गरिने साधन। त्यस्ता कुनै-कुनै साधनले खुट्टालाई मात्र बन्धनमा राख्थ्यो; कुनै-कुनैले चाहिँ हात, खुट्टा र घाँटीलाई समेत बन्धनमा राख्थ्यो, जसले गर्दा शरीर चलहल गर्न गाह्रो हुन्थ्यो।—यर्मि २०:२; प्रे १६:२४.

  • डेकापोलिस:

    ग्रीक सहरहरूको समूह, जुन सुरुमा दस वटा सहर मिलेर बनेको थियो। ग्रीकमा डेका-को अर्थ “दस” अनि पोलिस-को अर्थ “सहर” हो। तीमध्ये धेरैजसो सहर गालील समुद्र र यर्दन नदीको पूर्वमा भएकोले त्यस इलाकालाई पनि डेकापोलिस भनिन्थ्यो। ती सहरहरू ग्रीक संस्कृति र व्यापारको केन्द्र थियो। येसुले त्यो इलाका भएर यात्रा गर्नुभए तापनि त्यस ठाउँका सहरहरूमा बास बस्नुभएको रेकर्ड भने छैन। (मत्ति ४:२५; मर्कु ५:२०)—अतिरिक्‍त लेख क७ख१० हेर्नुहोस्‌।

  • डोलाउने भेटी:

    एक किसिमको भेटी, जुन परमेश्‍वरका उपासकले आफ्नो हातमा लिन्थे र पुजारीले तिनको हातलाई आफ्नो हातले थामेर डोलाउँथे अथवा पुजारी आफैले भेटी घुमाउँथे। यसो गर्दा उक्‍त बलिदान यहोवासामु प्रस्तुत गरिएको हुन्थ्यो।—लेवी ७:३०.

  • ड्राक्मा:

    ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा चाँदीको ग्रीक सिक्कालाई बुझाउन चलाइएको शब्द, जसको तौल त्यतिबेला ३.४ ग्राम थियो। हिब्रू धर्मशास्त्रमा सुनको ड्राक्माको उल्लेख गरिएको छ, जुन फारसी शासनको बेला चलनचल्तीमा थियो अनि त्यो दारिकबराबर थियो। (नहे ७:७०; मत्ति १७:२४)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • तन्त्रमन्त्र:

    मानिस मरेपछि उसको शरीरबाट आत्मा निस्कन्छ भन्‍ने विश्‍वासको  आधारमा मानिसहरू तन्त्रमन्त्र गर्छन्‌। उनीहरू आत्माले जिउँदो मानिसहरूसित कुरा गर्न सक्छ र कुरा गर्छ पनि भन्‍ने विश्‍वास गर्छन्‌, विशेषगरि त्यस्ता मानिसहरूमार्फत जो मरेका मानिसहरूसित कुरा गर्न सक्ने दाबी गर्छन्‌। “तन्त्रमन्त्र” ग्रीक शब्द फारमाकिया-को अनुवाद हो, जसको शाब्दिक अर्थ “नशालु औषधी खानु” हो। पुरातन समयमा मानिसहरू टुनामुना गर्न नशालु औषधी खाने गर्थे। त्यसैले तन्त्रमन्त्रको लागि पनि यही ग्रीक शब्द प्रयोग गर्न थालियो।—गला ५:२०; प्रका २१:८.

  • तम्मुज:

    (१) एउटा देवताको नाम, जसको लागि यरुसलेमका धर्मत्यागी हिब्रू स्त्रीहरू रोएका थिए। कसै-कसैको भनाइअनुसार तम्मुज एक राजा थिए र तिनको मृत्यु भएपछि मानिसहरूले तिनलाई ईश्‍वर मानेर पुज्न थाले। पुरातन सुमेरी लेखोटमा तम्मुजलाई दुमुजी भनिएको छ र प्रजनन देवी इनानाका (बेबिलोनी देवी इश्‍तार) पति वा प्रेमीको रूपमा चिनाइएको छ। (इज ८:१४) (२) बेबिलोनको निर्वासनबाट फर्केपछि यहुदीहरूको धार्मिक क्यालेन्डरको चौथो महिना र कृषि क्यालेन्डरको दसौँ महिना। यो महिना जूनको बीचदेखि सुरु भएर जुलाईको बीचसम्म चल्थ्यो।—अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

  • तयारीको दिन:

    विश्रामदिनको अघिल्लो दिन; त्यो दिन यहुदीहरूले विश्रामदिनको लागि आवश्‍यक तयारीहरू गर्थे। आजको समयको हिसाबअनुसार यो दिन शुक्रबार सूर्यास्तपछि सिद्धिन्थ्यो र विश्रामदिन सुरु हुन्थ्यो। यहुदीहरूले एउटा साँझदेखि अर्को साँझसम्मलाई एक दिन भन्थे।—मर्कु १५:४२; लुका २३:५४.

  • तर्सिसका जहाजहरू:

    सुरुमा यो नाम पुरातन तर्सिससम्म (आधुनिक स्पेन) यात्रा गर्ने जहाजहरूलाई दिइएको थियो। तर पछि टाढा-टाढासम्म यात्रा गर्ने ठूलठूला जहाजहरूको लागि पनि यही नाम प्रयोग गर्न थालियो जस्तो देखिन्छ। सुलेमान र यहोसापातले पनि व्यापार-व्यवसायको लागि त्यस्ता जहाजहरू प्रयोग गरे।—१रा ९:२६; १०:२२; २२:४८.

  • तिरो:

    कुनै राष्ट्र वा शासकले अर्को राष्ट्र वा शासकको आधिपत्य स्विकारेपछि तिर्ने वा शान्ति कायम गर्न वा सुरक्षा पाउन तिर्ने मोल। (२रा ३:४; १८:१४-१६; २इ १७:११) व्यक्‍तिविशेषले तिर्नुपर्ने करलाई बुझाउन पनि यही शब्द प्रयोग गरिएको छ।—नहे ५:४; रोमी १३:७.

  • तिस्री:

    एथानीमअतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

  • तीतेपाती:

    डाँठ कडा हुने विभिन्‍न किसिमको बोट। यो असाध्यै तीतो हुन्छ र यसबाट कडा गन्ध आउँछ। अनैतिकता, दासत्व, अन्याय र धर्मत्यागको तीतो असरलाई बुझाउन बाइबलमा तीतेपाती प्रतीकात्मक रूपमा चलाइएको छ। प्रकाश ८:११ मा “तीतेपाती”-ले तीतो र विषालु पदार्थलाई बुझाउँछ, जसलाई एबसिन्थ पनि भनिन्छ।—व्य २९:१८; हित ५:४; यर्मि ९:१५; आमो ५:७.

  • तेबेत:

    बेबिलोनको निर्वासनबाट फर्केपछि यहुदीहरूको धार्मिक क्यालेन्डरको दसौँ महिना र कृषि क्यालेन्डरको चौथो महिना। यो महिना डिसेम्बरको बीचदेखि सुरु भएर जनवरीको बीचसम्म चल्थ्यो। बाइबलमा प्रायजसो यसलाई “दसौँ महिना” मात्र भनिएको छ। (एस्त २:१६)—अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

  • दर्शन:

    परमेश्‍वरले कुनै मानिसलाई चमत्कारपूर्ण ढङ्‌गमा देखाउनुभएको कुनै झलक वा दृश्‍य। परमेश्‍वरले दिउँसो वा राती कुनै मानिस अर्ध-निद्रामा भएको बेला वा सपनामा उसलाई त्यस्तो झलक वा दृश्‍य प्रकट गर्नुहुन्थ्यो। उत्प ४६:२; दा ८:२; प्रे १०:३; ११:५; १६:९.

  • दर्शी:

    परमेश्‍वरको मदतद्वारा उहाँको इच्छा थाह पाउन सक्ने मानिस, जसले साधारण मानिसहरूको समझबाहिरको कुराहरू देख्न वा बुझ्न सक्ने असाधारण शक्‍ति पाएका हुन्थे। यसको लागि चलाइएको हिब्रू शब्दको मौलिक अर्थ “देख्नु” हो; यसले प्रतीकात्मक रूपमा देख्नु र साँच्चै देख्नु दुवैलाई बुझाउँछ। मानिसहरू आफ्नो समस्या सुल्झाउन दर्शीकहाँ बुद्धिमानी सल्लाह लिन जान्थे।—१स ९:९.

  • दशांश:

    दसौँ भाग वा दस प्रतिशत, जुन खासगरि धार्मिक उद्देश्‍यको लागि दान वा तिरोको रूपमा दिइन्थ्यो। (मला ३:१०; व्य २६:१२; मत्ति २३:२३) मोसाको व्यवस्थाअनुसार हरेक वर्ष उब्जनीको दसौँ भाग अनि भेडाबाख्रा र वस्तुभाउको वृद्धिको दसौँ भाग लेवीहरूलाई दिइन्थ्यो र उनीहरू त्यसबाटै आफ्नो गर्जो टार्थे। लेवीहरूले पनि आफूले पाएको दशांशको दसौँ भाग हारुनको घरानाका पुजारीहरूलाई दिन्थे र ती पुजारीहरूले त्यसबाटै गुजारा चलाउँथे। यसबाहेक इस्राएलीहरूले अरू थुप्रै किसिमको दशांश दिनुपर्थ्यो तर आज ख्रिष्टियनहरूले भने दशांश दिनुपर्दैन।

  • दाउदका छोरा:

    यस अभिव्यक्‍तिले अक्सर येसुलाई बुझाउँछ। यस अभिव्यक्‍तिले येसु दाउदको घरानाको हुनुहुन्छ अनि उहाँ परमेश्‍वरले दाउदसित गर्नुभएको राज्य करारको उत्तराधिकारी हुनुहुन्छ भन्‍ने कुरालाई जोड दिन्छ।—मत्ति १२:२३; २१:९.

  • दाउदनगर:

    दाउदले यबुस सहरमाथि विजय हासिल गरेर त्यहाँ आफ्नो महल बनाएपछि त्यस सहरलाई यो नाम दिइयो। त्यसलाई सियोन पनि भनिन्छ। त्यो सहर यरुसलेमको दक्षिण-पूर्वी भागमा पर्छ अनि त्यो यरुसलेमको सबैभन्दा पुरानो ठाउँ पनि हो।—२स ५:७; १इ ११:४, ५.

  • दागोन:

    पलिस्तियालीहरूको एक देवता। यो नामको सुरुवात कहाँबाट भयो, पक्का छैन तर केही विद्वान्‌हरूको भनाइअनुसार यो हिब्रू शब्द दाघ-सित (माछा) सम्बन्धित छ।—न्या १६:२३; १स ५:४.

  • दानपुण्य:

    खाँचोमा परेकाहरूलाई दिइने दान। हिब्रू धर्मशास्त्रमा त्यस्तो किसिमको दानबारे सिधै उल्लेख गरिएको त छैन तर मोसाको व्यवस्थामा इस्राएलीहरूले गरिबहरूलाई कुन-कुन तरिकामा मदत गर्नुपर्छ भनेर चाहिँ बताइएको थियो।—मत्ति ६:२.

  • दारिक:

    पुरातन फारसी सुनको सिक्का, जसको तौल ८.४ ग्राम थियो। (१इ २९:७)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • दिनार:

    चाँदीको रोमी सिक्का, जसको तौल ३.८५ ग्राम थियो। सिक्काको एकापट्टी सिजरको आकृति थियो। एक जना मजदुरको एक दिनको ज्याला एक दिनार थियो अनि रोमीहरूले यहुदीहरूबाट उठाउने “कर” पनि एक दिनार नै थियो। (मत्ति २२:१७; लुका २०:२४)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • दियाबल:

    ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा सैतानलाई दिइएको नाम, जसको अर्थ “निन्दक” हो। यहोवा, उहाँको सत्य वचन र उहाँको पवित्र नामलाई निन्दा गर्ने अनि झूटो आरोप लगाउने सबैभन्दा प्रमुख र पहिलो व्यक्‍ति नै सैतान भएकोले यस नामले त्यसको असली चरित्र प्रकट गर्छ।—मत्ति ४:१; युह ८:४४; प्रका १२:९.

  • दोषभेटी:

    आफूले गरेको पापको लागि चढाइने भेटी। इस्राएलीहरूले पाप गरेर करार भङ्‌ग गरेपछि गुमाउने अधिकार पुन: फिर्ता पाउन अनि पापको सजायबाट बच्न यो भेटी चढाइने भएकोले यो भेटी अन्य पापभेटीभन्दा केही हदसम्म फरक थियो।—लेवी ७:३७; १९:२२; यसै ५३:१०.

 

  • धन्यवादको भेटी:

    एक किसिमको मेलबलि। इस्राएलीहरूले परमेश्‍वरको प्रशंसा गर्न यो भेटी चढाउँथे किनकि परमेश्‍वरले नै उनीहरूलाई विभिन्‍न कुराको प्रबन्ध गरिदिनुभएको थियो र अटल प्रेम देखाउनुभएको थियो। भेटी चढाइएको जनावरको मासु खमिरा र अखमिरा रोटीसँग खाइन्थ्यो। भेटी चढाइएको दिनमै मासु खाएर सिध्याउनुपर्थ्यो।—२इ २९:३१.

  • धर्म परिवर्तन गरेर यहुदी बनेका:

    धर्मशास्त्रमा यस अभिव्यक्‍तिले यहुदी धर्म अङ्‌गालेका व्यक्‍तिलाई बुझाउँछ र ती व्यक्‍ति पुरुष हुन्‌ भने तिनले खतना गर्नुपर्थ्यो।—मत्ति २३:१५; प्रे १३:४३.

  • धर्मत्याग:

    धर्मत्याग भनेर अनुवाद गरिएको ग्रीक शब्द (अपोस्टेसिया) एउटा क्रियाबाट आएको हो, जसको शाब्दिक अर्थ “कुनै कुराबाट टाढै उभिनु” भन्‍ने हुन्छ। यो ग्रीक संज्ञाले “त्याग्नु वा विद्रोह गर्नु” भन्‍ने अर्थ दिन्छ। ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा “धर्मत्याग” भन्‍ने शब्द विशेषगरि साँचो उपासनालाई त्याग्ने मानिसहरूको लागि चलाइएको छ।—हित ११:९; प्रे २१:२१; २थि २:३.

  • धर्मशास्त्र:

    परमेश्‍वरको वचनका पवित्र लेखोटहरू। यो अभिव्यक्‍ति ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा मात्र पाइन्छ।—लुका २४:२७; २ति ३:१६.

  • धार्मिकता:

    धर्मशास्त्रमा यस शब्दले सही र गलतसम्बन्धी परमेश्‍वरको स्तरअनुसार जुन कुरा सही हो, त्यसलाई बुझाउँछ। यस शब्दलाई न्याय, असल र सही भनेर पनि अनुवाद गरिएको छ।—उत्प १५:६; व्य ६:२५; हित ११:४; सप २:३; मत्ति ६:३३.

  • धूप:

    बास्नादार चोप र बाल्समको मिश्रणबाट बनेको पदार्थ, जुन बिस्तारै बल्थ्यो र त्यसबाट मीठो बास्ना निस्कन्थ्यो। वासस्थान र पछि मन्दिरमा चढाइने धूप चार किसिमको विशेष मसलाबाट बनाइन्थ्यो। त्यो धूप हरेक साँझ र बिहान पवित्र कोठाको वेदीमा बालिन्थ्यो। प्रायश्‍चितको दिनमा भने महापवित्र कोठामा बालिन्थ्यो। त्यस धूपले परमेश्‍वरका वफादार सेवकहरूले गरेको त्यस्तो प्रार्थनालाई सङ्‌केत गर्थ्यो, जुन प्रार्थना परमेश्‍वरको नजरमा स्वीकारयोग्य हुन्थ्यो। ख्रिष्टियनहरूले भने धूप चढाउनु पर्दैनथ्यो।—प्रस्थ ३०:३४, ३५; लेवी १६:१३; प्रका ५:८.

  • नपिल:

    जलप्रलयअघि केही स्वर्गदूतहरूले मानव शरीर धारण गरेर पृथ्वीका केटीहरूसित शारीरिक सम्बन्ध राखे; तिनीहरूबाट जन्मेका हिंस्रक ठिमाहा सन्तानलाई नपिल भनिन्थ्यो।—उत्प ६:४.

  • नपुंसक:

    यसको शाब्दिक अर्थ हो, अण्डकोष काटिएको पुरुष। तिनीहरूलाई अक्सर राजमहलमा रानी र राजाका उपपत्नीहरूको सेवा गर्न वा रेखदेख गर्न खटाइन्थ्यो। अण्डकोष नकाटिएका तर राजमहलको कामकाज सम्हालिरहेका पुरुषहरूको लागि पनि यो शब्द प्रयोग गरिन्थ्यो। यो शब्द प्रतीकात्मक अर्थमा पनि चलाइएको छ; परमेश्‍वरको सेवामा तनमनले लागिरहन आफ्ना अङ्‌गहरूलाई वशमा राख्ने व्यक्‍तिहरूलाई ‘राज्यको खातिर नपुंसक भएकाहरू’ भनिएको छ।—मत्ति १९:१२; एस्त २:१५; प्रे ८:२७.

  • नर्कट:

    पानी जमेको ठाउँमा उम्रने विभिन्‍न बोटको लागि चलाइएको शब्द। थुप्रै पदमा चलाइएको बोट अरून्डो डोनेक्स हो। (अयु ८:११; यसै ४२:३; मत्ति २७:२९; प्रका ११:१) नर्कटलाई नाप्ने टाँगोको रूपमा पनि प्रयोग गरिन्थ्यो।—नाप्ने टाँगो हेर्नुहोस्‌।

  • नाइके; बूढापाका:

    यसको अर्थ हो, उमेर पाकिसकेको व्यक्‍ति तर धर्मशास्त्रमा यसले विशेषगरि देश वा समाजमा अख्तियार  वा जिम्मेवारी पाएको व्यक्‍तिलाई बुझाउँछ।—प्रस्थ ४:२९; हित ३१:२३.

  • नाजिरी:

    हिब्रूबाट लिइएको एउटा शब्द, जसको अर्थ “अलग पारिएको व्यक्‍ति,” “समर्पित व्यक्‍ति” वा “छुट्ट्याइएको व्यक्‍ति” हो। नाजिरी दुई किसिमका हुन्थे: एउटा, स्वेच्छाले बनेको; अर्को, परमेश्‍वरद्वारा नियुक्‍त भएको। कुनै पुरुष वा स्त्रीले केही समयको लागि नाजिरीको रूपमा सेवा गर्न यहोवासित विशेष भाकल गर्न सक्थे। स्वेच्छाले नाजिरी बनेकाहरूले यी तीन कुरा गर्न पाउँदैनथे: तिनीहरूले मद्य र अङ्‌गुरबाट बनेको कुनै पनि चिज खान पाउँदैनथे, आफ्नो कपाल काट्‌न पाउँदैनथे अनि लासलाई छुन पाउँदैनथे। परमेश्‍वरद्वारा नियुक्‍त भएका नाजिरीहरूचाहिँ जीवनभर नाजिरी नै हुन्थे अनि उनीहरूको लागि यहोवाले खास नियमहरू तोकिदिनुहुन्थ्यो।—गन ६:२-७; न्या १३:५.

  • नाप्ने टाँगो:

    यो अक्सर नर्कटबाट बनाइन्थ्यो र यो छ हात लामो हुन्थ्यो। प्रचलित हातको नापअनुसार यो २.६७ मिटर लामो हुन्थ्यो अनि लामो हातको नापअनुसार चाहिँ यो ३.११ मिटर लामो हुन्थ्यो। (इज ४०:३, ५; प्रका ११:१)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • नासरी:

    येसु नासरतको हुनुभएकोले उहाँलाई दिइएको एउटा नाम। यो शब्द यसैया ११:१ मा “टुसा”-को लागि प्रयोग गरिएको हिब्रू शब्दसित सम्बन्धित हुन सक्छ। पछि येसुका अनुयायीहरूलाई पनि यही नामले बोलाउन थालियो।—मत्ति २:२३; प्रे २४:५.

  • निरीक्षक:

    त्यस्तो पुरुष, जसको मुख्य जिम्मेवारी मण्डलीको हेरविचार गर्नु र मण्डलीलाई गोठालोले झैँ डोऱ्‍याउनु हो। यसको ग्रीक शब्द एपिस्कोपोस-को अर्थ हो, कसैको सुरक्षाको लागि गरिने निरीक्षण। “निरीक्षक” र “एल्डर” (प्रेसबाइटेरोस) शब्दले ख्रिष्टियन मण्डलीमा एउटै पदलाई बुझाउँछ; “एल्डर” शब्दले उक्‍त पदमा नियुक्‍त भएका पुरुषसित असल गुणहरू छन्‌ अर्थात्‌ तिनी परिपक्व छन्‌ भनेर बुझाउँछ भने “निरीक्षक” शब्दले तिनले पूरा गर्नुपर्ने जिम्मेवारीहरूलाई बुझाउँछ।—प्रे २०:२८; १ति ३:२-७; १प ५:२.

  • निर्देशक:

    भजनसङ्‌ग्रहको किताबमा चलाइएको यो हिब्रू शब्दले गीत तयार पार्ने, ती गीतहरू गाउन निर्देशन दिने, लेवी गायकहरूलाई तालिम दिने र अभ्यास गराउने अनि साङ्‌गीतिक कार्यक्रमहरूमा अगुवाइसमेत लिने व्यक्‍तिलाई बुझाएको हुन सक्छ। अरू अनुवादहरूमा यसलाई “मुख्य सङ्‌गीतकार” वा “सङ्‌गीत निर्देशक” भनिएको छ।—भज ४:परि; ५:परि.

  • निर्लज्ज आचरण:

    यो ग्रीक शब्द असेल्गिया-बाट आएको हो। यसको अर्थ परमेश्‍वरको नियम ठाडै उल्लङ्‌घन हुने काम गर्नु हो, जसमा निर्लज्ज स्वभाव वा हेपाहा प्रवृत्ति देखिन्छ। निर्लज्ज आचरण देखाउने मानिसले अख्तियार, नियमकानुन अनि स्तरको पटक्कै आदर गर्दैन बरु ती कुराहरूलाई तुच्छ सम्झन्छ। यो शब्दले सानोतिनो गल्तीलाई बुझाउँदैन।—गला ५:१९; २प २:७.

  • निर्वासन:

    कसैलाई उसको देश वा घरबाट निकाल्ने काम। अक्सर युद्ध जितेपछि आफूले जितेको ठाउँका बासिन्दालाई राजाले नै यसरी देश छोडेर जाने आदेश दिन्थे। निर्वासन भनेर अनुवाद गरिएको हिब्रू शब्दको अर्थ हो, “निस्कनु।” इस्राएलीहरू दुई पटक लामो निर्वासनमा परे—पहिला उत्तरी दस-गोत्रे राज्य अस्सेरियालीहरूको हातबाट निर्वासित हुँदा र पछि दक्षिणी दुई-गोत्रे राज्य बेबिलोनीहरूको हातबाट निर्वासित हुँदा। फारसका राजा कोरेसको शासनकालमा यी दुवै राज्यका बाँकी इस्राएलीहरूलाई स्वदेश फर्काइयो।—२रा १७:६; २४:१६; एज्रा ६:२१.

  •  निस्तार चाड:

    वर्षेनी मनाइने एउटा चाड, जुन अबिब महिनाको (पछि नीसान भन्‍न थालियो) १४ औँ दिनमा पर्थ्यो। यो दिन इस्राएलीहरू मिश्रबाट छुटकारा पाएको कुराको सम्झना गर्थे। यस चाडमा पाठो (वा बाख्रा) काटिन्थ्यो अनि त्यसको मासु पोलेर तीते साग र खमिर नहालेको रोटीसित खाइन्थ्यो।—प्रस्थ १२:२७; युह ६:४; १को ५:७.

  • नीसान:

    बेबिलोनको निर्वासनबाट फर्केपछि अबिब महिनालाई दिइएको नयाँ नाम। यो यहुदीहरूको धार्मिक क्यालेन्डरको पहिलो महिना र कृषि क्यालेन्डरको सातौँ महिना हो। यो महिना मार्चको बीचदेखि सुरु भएर अप्रिलको बीचसम्म चल्थ्यो। (नहे २:१)—अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

  • नेथिनिम:

    मन्दिरका सेवकहरू, जो इस्राएली थिएनन्‌। यो हिब्रू शब्दको शाब्दिक अर्थ हो, “दिइएका मानिसहरू;” यसबाट तिनीहरू मन्दिरमा सेवा गर्न दिइएका मानिसहरू थिए भनेर बुझ्न सक्छौँ। धेरैजसो नेथिनिमहरू गिबोनीहरूका सन्तान थिए जस्तो देखिन्छ, जसलाई यहोसुले ‘समुदायको लागि र यहोवाको वेदीको लागि दाउरा खोज्ने र पानी भर्ने’ काम दिएका थिए।—यहो ९:२३, २७; १इ ९:२; एज्रा ८:१७.

  • नेफेश; साइखी:

    थुप्रै बाइबलमा हिब्रू शब्द नेफेश र ग्रीक शब्द साइखी-को अनुवाद “प्राण” वा “प्राणी” गरिएको छ। बाइबलमा हिब्रू शब्द नेफेश र ग्रीक शब्द साइखी जुन तरिकामा प्रयोग गरिएको छ, सो विचार गऱ्‍यौँ भने यी शब्दहरूले निम्न कुरालाई बुझाउँछ भनेर थाह पाउँछौँ: (१) मानिस, (२) जीवजन्तु वा (३) मानिस वा जीवजन्तुको जीवन। (उत्प १:२०; २:७; १प ३:२०; फुटनोटहरू पनि हेर्नुहोस्‌।) यस बाइबलमा यी शब्दहरूलाई प्रसङ्‌गअनुसार अनुवाद गरिएको छ। जस्तै, “जीवन,” “ज्यान,” “जीवजन्तु,” “मेरो मन” वा सर्वनाम मात्रै (जस्तै, “म”)। कुनै-कुनै पदमा नेफेश साइखी-लाई “आफ्नो सारा ज्यान” भनेर अनुवाद गरिएको छ, जसको अर्थ पूरा तनमनले कुनै काम गर्नु हो। (व्य ६:५; मत्ति २२:३७) अन्य कुनै पदहरूमा भने यो शब्द मानिसको इच्छा र भोक बुझाउन प्रयोग गरिएको छ। अनि कतै भने यसले लास वा सिनुलाई पनि बुझाउँछ।—गन ६:६; हित २३:२; यसै ५६:११; हाग्गै २:१३.

  • नेहिलोथ:

    भजनसङ्‌ग्रह ५ अध्यायको परिचयमा उल्लेख गरिएको शब्द, जसको अर्थ के हो, पक्का छैन। कसै-कसैको भनाइअनुसार यो शब्द हिब्रू भाषाको मूल शब्द कालिल-सित (बाँसुरी) सम्बन्धित छ, त्यसैले तिनीहरू यसले बाँसुरीजस्तै कुनै बाजालाई बुझाउँछ भन्छन्‌। तर यो एउटा धुन पनि हुन सक्छ।

  • न्यायआसन:

    यसले अक्सर खुला ठाउँमा बनाइएको मञ्चलाई बुझाउँछ। मञ्चसम्म पुग्न सिँढी बनाइएको हुन्थ्यो। अख्तियार पाएको व्यक्‍तिले त्यहाँ बसेर मानिसहरूको भीडलाई सम्बोधन गर्थे र आफ्नो निर्णय सुनाउँथे। बाइबलमा चलाइएको “परमेश्‍वरको न्यायआसन” र “ख्रिष्टको न्यायआसन”-ले मानिसजातिको न्याय गर्न यहोवाले गर्नुभएको प्रबन्धलाई बुझाउँछ।—रोमी १४:१०; २को ५:१०; युह १९:१३.

  • न्यायकर्ता:

    इस्राएलमा राजाहरूले शासन गर्न थाल्नुअघि यहोवाले आफ्नो मानिसहरूलाई बचाउन नियुक्‍त गर्नुभएका मानिसहरू।—न्या २:१६.

  • न्यायको दिन:

    एउटा निश्‍चित दिन वा समयावधि, जुन बेला यहोवाले कुनै खास समूह, राष्ट्र वा मानिसहरूलाई उनीहरूले गरेको गल्तीको लागि जबाफदेही ठहराउनुहुनेछ र आफ्नो फैसला सुनाउनुहुनेछ। यो मृत्युदण्ड पाउन लायक व्यक्‍तिलाई सजाय दिने समय हुन सक्छ भने कसै-कसैको लागि चाहिँ  उद्धार र अनन्त जीवन पाउने समय हुन सक्छ। येसु ख्रिष्ट र उहाँका प्रेषितहरूले भावी “न्यायको दिन”-बारे बताए, जुन बेला जीवित मानिसहरूको मात्र होइन, मरिसकेका मानिसहरूको पनि न्याय गरिनेछ।—मत्ति १२:३६.

  • परमेश्‍वरको भक्‍ति:

    यसको अर्थ हो, यहोवा परमेश्‍वरको सार्वभौम अधिकारलाई वफादार भई समर्थन गर्दै उहाँको उपासना र सेवा गर्नु अनि उहाँकै भय मान्‍नु।—१ति ४:८; २ति ३:१२.

  • परमेश्‍वरको राज्य:

    विशेषगरि ख्रिष्ट येसुको सरकारलाई बुझाउन प्रयोग गरिएको अभिव्यक्‍ति, जुन सरकारले उहाँको बुबा यहोवाको सार्वभौमिकताको प्रतिनिधित्व गर्छ।—मत्ति १२:२८; लुका ४:४३; १को १५:५०.

  • परमेश्‍वरलाई चढाइएका रोटीहरू:भेटीको रोटी हेर्नुहोस्‌।

  • परिचय:

    भजनको सबैभन्दा सुरुमा आउने शीर्षक। यसले उक्‍त भजनको लेखक र त्यसको पृष्ठभूमिबारे जानकारी दिन्छ। साथै यसले सङ्‌गीतसम्बन्धी निर्देशन वा उक्‍त भजन लेखिनुको उद्देश्‍यबारे पनि बताउँछ।—भजनसङ्‌ग्रह अध्याय ३, , , , , ३०, ३८६०९२१०२ को परिचय हेर्नुहोस्‌।

  • पर्दा:

    वासस्थान र पछि मन्दिरमा पवित्र कोठा र महापवित्र कोठालाई छुट्ट्याउन टाँगिएको कपडा। यो कपडा बुनेर बनाइएको र सुन्दर थियो अनि त्यसमा करूबका आकृतिहरू भरिएका थिए। (प्रस्थ २६:३१; २इ ३:१४; मत्ति २७:५१; हिब्रू ९:३)—अतिरिक्‍त लेख ख५ हेर्नुहोस्‌।

  • पलिस्तिया; पलिस्तियाली:

    इस्राएलको दक्षिणी तटमा अवस्थित ठाउँ, जसलाई पछि पलिस्तिया भन्‍न थालियो। क्रेटबाट त्यहाँ बसोबास गर्न आएका मानिसहरूलाई पलिस्तियाली भनिन्थ्यो। दाउदले त्यस ठाउँलाई आफ्नो कब्जामा लिएका थिए तर तिनीहरू अझै पनि स्वतन्त्र थिए र इस्राएलको विरोध गरिरहन्थे। (प्रस्थ १३:१७; १स १७:४; आमो ९:७)—अतिरिक्‍त लेख ख४ हेर्नुहोस्‌।

  • पवित्र खामो:

    यसको लागि चलाइने हिब्रू शब्दले (असेरा) (१) कनानीहरूले पुज्ने प्रजनन देवी असेरालाई सङ्‌केत गर्ने पवित्र खामोलाई वा (२) असेरा देवीकै मूर्तिलाई बुझाउँछ। सम्भवत: यो खामो सीधा ठड्‌याइन्थ्यो र यसको केही भाग काठले बनेको हुन्थ्यो। यो रूख हुन सक्थ्यो वा केही नखोपिएको खामो हुन सक्थ्यो।—व्य १६:२१; न्या ६:२६; १रा १५:१३.

  • पवित्र थाम:

    अक्सर ढुङ्‌गाले बनेको ठाडो थाम। यस थामलाई बाआल वा अन्य झूटा देवताहरूको लिङ्‌गको प्रतीक मानिन्थ्यो।—प्रस्थ २३:२४.

  • पवित्र रहस्य:

    परमेश्‍वरको उद्देश्‍यको एउटा पक्ष, जसलाई उहाँले निश्‍चित समयको लागि आफूमा मात्र सीमित राख्नुहुन्छ र समय आएपछि आफूले रोजेका व्यक्‍तिहरूलाई त्यो प्रकट गर्नुहुन्छ।—मर्कु ४:११; कल १:२६.

  • पवित्र शक्‍ति:

    आफ्नो उद्देश्‍य पूरा गर्न परमेश्‍वरले प्रयोग गर्नुहुने उहाँको बेजोड शक्‍ति। यो शक्‍ति पवित्र छ किनकि यसको स्रोत यहोवा सबैभन्दा शुद्ध र न्यायी परमेश्‍वर हुनुहुन्छ अनि यो शक्‍तिद्वारा उहाँ आफ्नो पवित्र इच्छा पूरा गर्नुहुन्छ।—लुका १:३५; प्रे १:८.

  • पवित्र सेवा:

    त्यस्तो किसिमको सेवा वा काम, जुन पवित्र हुन्छ र सीधै परमेश्‍वरको उपासनासित सम्बन्धित हुन्छ।—रोमी १२:१; प्रका ७:१५.

  • पवित्र स्थान:

    सामान्यतया यसले उपासनाको लागि अलग पारिएको ठाउँलाई बुझाउँछ। तर अक्सर वासस्थान वा यरुसलेमको  मन्दिरलाई बुझाउन यो शब्द प्रयोग गरिन्छ। स्वर्गमा परमेश्‍वरको निवासस्थानलाई बुझाउन पनि यही अभिव्यक्‍ति चलाइएको छ।—प्रस्थ २५:८, ९; २रा १०:२५; १इ २८:१०; प्रका ११:१९.

  • पवित्र:

    यहोवाको नैसर्गिक गुण; पूर्ण नैतिक स्वच्छता र शुद्धता। (प्रस्थ २८:३६; १स २:२; हित ९:१०; यसै ६:३) बाइबलमा जहाँ-जहाँ मानिसलाई (प्रस्थ १९:६; २रा ४:९), जनावरलाई (गन १८:१७), वस्तुलाई (प्रस्थ २८:३८; ३०:२५; लेवी २७:१४), ठाउँलाई (प्रस्थ ३:५; यसै २७:१३), समयावधिलाई (प्रस्थ १६:२३; लेवी २५:१२) र कामलाई (प्रस्थ ३६:४) पवित्र भनिएको छ, त्यहाँ चलाइएको मौलिक हिब्रू शब्दले अलग्गै छुट्ट्याइएको, कुनै विशेष उद्देश्‍यको लागि रोजिएको वा पवित्र परमेश्‍वरको लागि अलग पारिएको भन्‍ने अर्थ दिन्छ; अथवा यहोवा परमेश्‍वरको सेवाको लागि अर्पण गरिएको भनेर बुझाउँछ। ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा चलाइएको “पवित्र” भन्‍ने शब्दले पनि परमेश्‍वरको लागि अलग्गै छुट्ट्याइएको भन्‍ने अर्थ दिन्छ। कुनै व्यक्‍तिको शुद्ध चालचलन बुझाउन पनि यही शब्द चलाइएको छ।—मर्कु ६:२०; २को ७:१; १प १:१५, १६.

  • पवित्र कोठा:

    वासस्थानको र पछि मन्दिरको बाहिरी र ठूलो कोठा, जुन भित्री कोठा अर्थात्‌ महापवित्र कोठाभन्दा छुट्टै थियो। वासस्थानको पवित्र कोठामा सुनको पानस, धूप चढाउने सुनको वेदी, भेटीको रोटी राख्ने टेबुल अनि सुनका अरू सरसामान थियो; मन्दिरको पवित्र कोठामा चाहिँ सुनको वेदी, सुनको दस वटा पानस अनि भेटीको रोटी राख्ने दस वटा टेबुल थियो। (प्रस्थ २६:३३; हिब्रू ९:२)—अतिरिक्‍त लेख ख५ख८ हेर्नुहोस्‌।

  • पश्‍चात्ताप:

    बाइबलमा यस शब्दले मन परिवर्तन गर्नु अनि आफ्नो विगतको जीवनशैली र गलत कामको लागि वा आफूले गर्नुपर्ने काम गर्न नसकेकोले मनैदेखि पछुताउनु भन्‍ने अर्थ दिन्छ। साँचो पश्‍चात्ताप कामबाट देखिन्छ; यसले मानिसलाई सही बाटोमा हिँड्‌न लगाउँछ।—मत्ति ३:८; प्रे ३:१९; २प ३:९.

  • पहरेदार:

    सहरवासी वा उनीहरूको धनसम्पत्तिलाई कुनै हानि नपुगोस्‌ भनेर पहरेदारहरूले अक्सर रातको समयमा सुरक्षा दिन्थे अनि कुनै खतरा आएको देखेपछि मानिसहरूलाई सतर्क गराउँथे। सहरतर्फ आउँदै गरेका मानिसहरूलाई टाढैबाट देख्न सकियोस्‌ भनेर तिनीहरू अक्सर सहरका पर्खालहरू र धरहराहरूमा तैनाथ हुन्थे। सेनामा पनि पहरेदारहरू हुन्थे। इस्राएल राष्ट्रका भविष्यवक्‍ताहरू एक अर्थमा पहरेदार थिए; उनीहरू मानिसहरूलाई आउनै लागेको विपत्तिबारे चेतावनी दिन्थे।—२रा ९:२०; इज ३:१७.

  • पहिलो फल:

    कटनीको मौसमको सुरुको उब्जनी; मानिस र जनावरको पहिलो सन्तान। इस्राएलीहरूले आफ्नो पहिलो फल यहोवालाई चढाएको उहाँ चाहनुहुन्थ्यो, चाहे त्यो मानिसको वा जनावरको पहिलो सन्तान होस्‌ वा भूमिको पहिलो उब्जनी। इस्राएल राष्ट्रले अखमिरा रोटीको चाडमा र पेन्तिकोसको दिनमा परमेश्‍वरलाई आफ्नो पहिलो फल चढाउँथ्यो। बाइबलमा “पहिलो फल”-ले प्रतीकात्मक रूपमा येसु र अभिषिक्‍त ख्रिष्टियनहरूलाई पनि बुझाउँछ।—१को १५:२३; हित ३:९; प्रका १४:४.

  • पहिलो सन्तान:

    यसले मुख्यतः (आमापट्टिको नभई) बुबापट्टिको जेठो छोरालाई बुझाउँछ। पुरातन इस्राएलीहरूको समयमा पहिलो सन्तानले परिवारमा आदरणीय स्थान पाएको हुन्थ्यो र बुबाको मृत्युपछि तिनलाई नै परिवारको नेतृत्व लिने जिम्मेवारी सुम्पिइन्थ्यो। बाइबलमा पहिले जन्मेको भाले जनावरलाई  पनि पहिलो सन्तान भनिएको छ।—प्रस्थ ११:५; १३:१२; उत्प २५:३३; कल १:१५.

  • पापभेटी:

    त्रुटिपूर्ण भएकोले अन्जानमा गरेको पापको प्रायश्‍चित गर्न चढाइने बलिदान। पापको प्रायश्‍चित गर्ने व्यक्‍तिले आफ्नो औकातअनुसार वा परिस्थितिअनुसार परेवादेखि बहरसम्म कुनै पनि जनावर वा चराचुरुङ्‌गीको बलि चढाउन सक्थे।—लेवी ४:२७, २९; हिब्रू १०:८.

  • पिम:

    एउटा तौल। पलिस्तियालीहरूले धातुका औजारहरूमा धार लगाउन लिने रकमलाई पनि पिम भनिन्थ्यो। इस्राएलमा पुरातात्त्विक उत्खनन गर्दा तौल नाप्ने थुप्रै ढुङ्‌गा भेटियो, जसमध्ये कुनै-कुनैमा पुरातन हिब्रू भाषामा “पिम” लेखिएको थियो। त्यसको औसत तौल ७.८ ग्राम थियो, जुन एक शेकेलको झन्डैझन्डै दुई-तिहाइ हुन्थ्यो।—१स १३:२०, २१.

  • पुजारी:

    एक जना यस्तो व्यक्‍ति, जसलाई स्वयम्‌ परमेश्‍वरले मानिसहरूको सेवा गर्न र उनीहरूलाई आफू र आफ्नो व्यवस्थाबारे सिकाउन नियुक्‍त गर्नुभएको थियो। यसबाहेक पुजारीहरूले परमेश्‍वरसामु मानिसहरूको तर्फबाट बलि चढाउँथे र उनीहरूको पापको क्षमाको लागि बिन्ती गरिदिन्थे। मोसाको व्यवस्था दिइनुअघि परिवारको शिरले नै परिवारमा पुजारीको रूपमा काम गर्थे। मोसाको व्यवस्था दिइएपछि लेविको कुलका हारुनको परिवारका पुरुष सदस्यहरूले पुजारीको काम गर्न थाले। लेविको कुलका अरू पुरुषहरूचाहिँ उनीहरूका सहयोगी थिए। नयाँ करार लागू भएपछि आध्यात्मिक इस्राएल पुजारीहरूको राष्ट्र बन्यो, जसको प्रधानपुजारी येसु ख्रिष्ट हुनुहुन्छ।—प्रस्थ २८:४१; हिब्रू ९:२४; प्रका ५:१०.

  • पूरीम:

    वर्षेनी मनाइने एउटा चाड, जुन अदार महिनाको १४ औँ र १५ औँ दिनमा पर्थ्यो। रानी एस्तरको समयमा यहुदीहरूलाई विनाशबाट बचाइएको घटनाको यस दिनमा सम्झना गरिन्थ्यो। यो हिब्रू शब्द होइन। “पूरीम”-को अर्थ “गोलाहरू” हो। हामानले यहुदीहरूको नामोनिसान मेटाउनको लागि एउटा दिन छान्‍न पूर (गोला) हालेका थिए; त्यसैले यसलाई पूरीम चाड वा गोला हाल्ने चाड भन्‍न थालियो।—एस्त ३:७; ९:२६.

  • पेन्तिकोस:

    इस्राएली पुरुषहरू यरुसलेम गएर मनाउनै पर्ने तीन वटा प्रमुख चाडमध्ये दोस्रो चाड। पेन्तिकोसको अर्थ हो, “पचासौँ (दिन)।” हिब्रू धर्मशास्त्रमा उल्लेख गरिएको कटनीको चाड वा हप्ताहरूको चाडलाई बुझाउन ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा पेन्तिकोस शब्द प्रयोग गरिएको छ। यो चाड नीसान महिनाको १६ औँ दिनदेखि गनेर ५० औँ दिनमा मनाइन्थ्यो।—प्रस्थ २३:१६; ३४:२२; प्रे २:१.

  • पोर्निया:

    अवैध यौनसम्बन्ध हेर्नुहोस्‌।

  • प्रधान-स्वर्गदूत:

    यसको अर्थ हो, “स्वर्गदूतहरूको प्रमुख” अनि बाइबलमा यो शब्दको एकवचन रूप मात्र पाइन्छ। त्यसैले प्रधान-स्वर्गदूत एक जना मात्र हुनुहुन्छ भन्‍न सकिन्छ। बाइबलमा यो प्रधान-स्वर्गदूतलाई माइकल भन्‍ने नाम दिइएको छ।—दा १२:१; यहु ९; प्रका १२:७.

  • प्रधानपुजारी:

    मोसाको व्यवस्थाअनुसार परमेश्‍वरसामु इस्राएलीहरूको प्रतिनिधित्व गर्ने अनि अरू पुजारीहरूलाई खटनपटन गर्ने मूल पुजारी। तिनलाई “मुख्य पुजारी” पनि भनिन्थ्यो। (२इ २६:२०; एज्रा ७:५) तिनीसित मात्र वासस्थानको र पछि मन्दिरको भित्री कोठा अर्थात्‌ महापवित्र कोठाभित्र प्रवेश गर्ने अनुमति थियो। तर तिनी प्रायश्‍चितको दिनमा मात्र प्रवेश गर्न सक्थे। बाइबलमा येसु ख्रिष्टलाई पनि “प्रधानपुजारी’ भनिएको छ।—लेवी १६:२, १७; २१:१०; मत्ति २६:३; हिब्रू ४:१४.

  •  प्रभुको साँझको भोज:

    येसुको शरीर र रगतलाई चित्रण गर्ने अखमिरा रोटी र दाखमद्य खाएर यो भोज मनाइन्थ्यो। यो येसुको मृत्युको स्मरणार्थ हो। बाइबलमा ख्रिष्टियनहरूलाई यो उत्सव मनाउने आज्ञा दिइएको हुनाले यसलाई “स्मरणार्थ उत्सव” पनि भनिन्छ।—१को ११:२०, २३-२६.

  • प्रमुख अधिकृत:

    बेबिलोनी सरकारमा बडाहाकिमभन्दा तल्लो दर्जाका अफिसरहरू। बाइबलमा बताइएअनुसार बेबिलोनी दरबारका बुद्धिमान्‌ मानिसहरूमाथि प्रमुख अधिकृतहरू खटाइएका थिए। मादी राजा दाराको शासनकालको विवरणमा पनि प्रमुख अधिकृतहरूबारे चर्चा गरिएको छ।—दा २:४८; ६:७.

  • प्रमोदवन:

    सुन्दर पार्क वा बगैँचा। सबैभन्दा सुरुको सुन्दर बगैँचा, जुन यहोवाले पहिलो मानव जोडीको लागि बनाउनुभएको थियो। आफ्नो छेउमा यातनाको खम्बामा टाँगिएको एक जना अपराधीलाई येसुले पृथ्वी सुन्दर प्रमोदवनमा परिणत हुनेछ भनेर बताउनुभएको थियो। दोस्रो कोरिन्थी १२:४ मा भविष्यको प्रमोदवनबारे बताइएको छ भने प्रकाश २:७ मा चाहिँ स्वर्गीय प्रमोदवनबारे बताइएको छ।—लुका २३:४३.

  • प्रान्तीय राज्यपाल:

    रोमी संसद्‌को अधीनमा भएको प्रान्तको प्रमुख राज्यपाल। तिनी रोमी संसद्‌को अधीनमा भए तापनि तिनीसित न्यायिक र सैन्य अधिकार हुन्थ्यो र पूरै प्रान्तमा तिनीसित सबैभन्दा धेरै अख्तियार हुन्थ्यो।—प्रे १३:७; १८:१२.

  • प्रायश्‍चित:

    हिब्रू धर्मशास्त्रअनुसार परमेश्‍वरसामु जान र उहाँको उपासना गर्न मानिसहरूले बलि चढाएर पूरा गर्नुपर्ने एउटा विधि। मोसाको व्यवस्थाअनुसार विशेषगरि वार्षिक प्रायश्‍चितको दिनमा व्यक्‍तिविशेष अनि पूरै राष्ट्रको पापको क्षमा पाउन र परमेश्‍वरसित फेरि मिलाप कायम गर्न बलिदान चढाइन्थ्यो। ती बलिदानहरूले येसुको बलिदानलाई सङ्‌केत गर्थ्यो, जुन बलिदानले गर्दा एकै पटकमा सबै मानिसजातिको पापको पूर्ण रूपमा प्रायश्‍चित भयो र मानिसहरूले यहोवासित मिलाप गर्ने मौका पाए।—लेवी ५:१०; २३:२८; कल १:२०; हिब्रू ९:१२.

  • प्रायश्‍चितको ढकनी:

    करारको सन्दूकको ढकनी, जसको सामने प्रधानपुजारीले प्रायश्‍चितको दिनमा पापभेटीको रगत छर्कन्थे। यसको मूल हिब्रू क्रियाको अर्थ “(पाप) ढाक्नु” वा सम्भवत: “(पाप) मेटाउनु” हुन सक्छ। यो ढकनी सुनको थियो र यसको दुई छेउमा एउटा-एउटा करूब बनाइएको थियो। यसलाई कहिलेकाहीँ “ढकनी” मात्र पनि भनिएको छ। (प्रस्थ २५:१७-२२; १इ २८:११; हिब्रू ९:५)—अतिरिक्‍त लेख ख५ हेर्नुहोस्‌।

  • प्रायश्‍चितको दिन:

    इस्राएलीहरूको लागि सबैभन्दा महत्त्वपूर्ण र पवित्र दिन। यसलाई योम किप्पुर (हिब्रूमा योहम हाक्किपुरिम, जसको अर्थ हो, “ढाक्ने दिन”) पनि भनिन्थ्यो, जुन एथानीम महिनाको १० औँ दिनमा मनाइन्थ्यो। वर्षको यही दिनमा मात्र प्रधानपुजारी वासस्थानको महापवित्र कोठाभित्र जान्थे। त्यहाँ तिनले आफ्नो, अरू लेवीको अनि मानिसहरूको पापको निम्ति चढाइएको बलिदानको रगत अर्पण गर्थे। त्यही दिन पवित्र सभा राखिन्थ्यो र उपवास बसिन्थ्यो। अनि विश्रामदिन पनि मनाइन्थ्यो; त्यो दिन कसैले पनि आफ्नो दैनिक कामकाज गर्न पाउँदैनथे।—लेवी २३:२७, २८.

  • प्रेत:

    अदृश्‍य दुष्ट स्वर्गदूतहरू, जो मानिसहरूभन्दा धेरै शक्‍तिशाली छन्‌। तिनीहरूलाई उत्पत्ति ६:२ मा “परमेश्‍वरका छोराहरू” अनि यहुदा ६ मा “स्वर्गदूतहरू” भनिएको छ। तिनीहरू सुरुमा दुष्ट थिएनन्‌। तिनीहरूले नुहको समयमा परमेश्‍वरको आज्ञा उल्लङ्‌घन गरे अनि उहाँको विद्रोह गर्ने सैतानलाई  साथ दिए। यसरी तिनीहरूले आफैलाई परमेश्‍वरको शत्रु बनाए।—व्य ३२:१७; लुका ८:३०; प्रे १६:१६; या २:१९.

  • प्रेषित:

    यस शब्दको मुख्य अर्थ “पठाइएको जन” हो अनि यो शब्द येसु र अन्य केही मानिसहरूको लागि प्रयोग गरिएको छ, जसलाई अरूको सेवा गर्न पठाइएको थियो। प्रायजसो यो शब्द येसु आफैले आफ्नो प्रतिनिधिको रूपमा छान्‍नुभएको १२ जना चेलाका लागि प्रयोग गरिएको छ।—मर्कु ३:१४; प्रे १४:१४.

  • फरिसीहरू:

    प्रथम शताब्दीमा यहुदी धर्मको एउटा प्रमुख गुट। उनीहरू पुजारी वंशका थिएनन्‌ तर उनीहरू मोसाको व्यवस्थाका सानोभन्दा सानो नियम पनि पालन गर्थे र मौखिक नियमहरूलाई पनि उत्तिकै महत्त्व दिन्थे। (मत्ति २३:२३) उनीहरू ग्रीक संस्कृतिको कट्टर विरोधी थिए। व्यवस्था र रीतिथितिबारे राम्रो ज्ञान भएकोले मानिसहरूमाथि उनीहरूको ठूलो प्रभाव थियो। (मत्ति २३:२-६) उनीहरूमध्ये केही यहुदी न्यायपरिषद्‌का सदस्य थिए। विश्रामदिन, नीतिनियम अनि पापी र कर उठाउनेहरूसितको उठबसको विषयमा उनीहरू येसुको विरोध गर्ने गर्थे। टार्ससका सावललगायत अरू केही फरिसी पछि ख्रिष्टियन बने।—मत्ति ९:११; १२:१४; मर्कु ७:५; लुका ६:२; प्रे २६:५.

  • फादम:

    पानीको गहिराइ नाप्ने एकाइ, जुन १.८ मिटरबराबर हुन्थ्यो। (प्रे २७:२८, फु.)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • फारस; फारसी:

    फारस एउटा देशको नाम थियो र त्यहाँका मानिसहरूलाई फारसी भनिन्थ्यो। बाइबलमा यो नाम प्रायजसो मादीहरूसँगै उल्लेख गरिएको छ। त्यसैले यी दुई देशबीच नाता थियो भनेर अनुमान लगाउन सकिन्छ। फारसको सुरु-सुरुको इतिहासअनुसार फारसीहरू इरानको पठारको दक्षिण-पश्‍चिम भागमा मात्र बसोबास गर्थे। महान्‌ कोरेसको (पुरातन इतिहासकारहरूको भनाइअनुसार कोरेसका बुबा फारसी थिए भने आमाचाहिँ मादी थिइन्‌) शासनकालमा मादी र फारस मिलेर एउटा साम्राज्य बनेको थियो तैपनि मादीहरूको तुलनामा फारसीहरू शक्‍तिशाली थिए। कोरेसले ईसापूर्व ५३९ मा बेबिलोनी साम्राज्यमाथि विजय हासिल गरे र निर्वासनमा परेका यहुदीहरूलाई आफ्नो देश फर्कन दिए। फारसी साम्राज्यको इलाका पूर्वमा सिन्धु नदीदेखि पश्‍चिममा एजियन समुद्रसम्म फैलिएको थियो। ईसापूर्व ३३१ मा महान्‌ सिकन्दरले फारसीहरूलाई नहराएसम्म यहुदीहरू फारसी राज्यको अधीनमा थिए। दानिएलले पहिल्यै एउटा दर्शनमा फारसी साम्राज्य शक्‍तिमा आएको देखेका थिए। एज्रा, नहेम्याह र एस्तरको किताबमा पनि यस साम्राज्यबारे उल्लेख गरिएको छ। (एज्रा १:१; दा ५:२८)—अतिरिक्‍त लेख ख९ हेर्नुहोस्‌।

  • फारो:

    मिश्रका राजाहरूको एउटा उपाधि। बाइबलमा पाँच जना फारोको नाम उल्लेख गरिएको छ (सिसक, सोओ, तिर्हाकाह, नेको र होप्रा) तर अरूको भने उल्लेख गरिएको छैन। अब्राहाम, मोसा र युसुफको जीवनकालमा उनीहरूसित धेरै चोटि सम्पर्कमा आएका फारोहरूको नाम पनि उल्लेख गरिएको छैन।—प्रस्थ १५:४; रोमी ९:१७.

  • फिरौती:

    दासत्व, सजाय, कठिनाइ र पापबाट वा कुनै दायित्वबाट समेत मुक्‍त गर्न तिरिने मोल। यो मोल पैसा नै हुनुपर्छ भन्‍ने थिएन। (यसै ४३:३) विभिन्‍न अवस्थामा फिरौती तिर्नुपर्ने हुन्थ्यो। जस्तै, इस्राएलीहरूको जेठो छोरा र जनावरहरूको पहिले जन्मेको भाले जनावर यहोवा परमेश्‍वरको हुन्थ्यो अनि तिनीहरूलाई यहोवाको सेवाको लागि अलग्गै छुट्ट्याइएको हुन्थ्यो।  त्यसैले तिनीहरूलाई छुटाउन फिरौती तिर्नुपर्थ्यो। (गन ३:४५, ४६; १८:१५, १६) यदि खुला छोडिएको खतरनाक गोरुले कसैलाई माऱ्‍यो भने गोरुको मालिकले आफूलाई मृत्युदण्डबाट बचाउन फिरौती तिर्नुपर्थ्यो। (प्रस्थ २१:२९, ३०) तर जानाजानी कसैको हत्या गर्ने व्यक्‍तिको लागि फिरौती तिर्न पाउने प्रबन्ध थिएन। (गन ३५:३१) आज्ञाकारी मानिसजातिलाई पाप र मृत्युबाट मुक्‍त गर्न आफ्नो ज्यान दिएर ख्रिष्टले तिर्नुभएको फिरौती सबैभन्दा महत्त्वपूर्ण छ भनेर बाइबलले जोड दिन्छ।—भज ४९:७, ८; मत्ति २०:२८; एफि १:७.

  • फेटा; पगरी:

    प्रधानपुजारीले उच्च कोटीको मलमलबाट बनेको फेटा लगाउँथे, जसको अगाडिपट्टि निलो डोरीले निखुर सुनको एउटा चम्किलो पाता बाँधिएको हुन्थ्यो। राजाहरूले पनि आफ्नो मुकुटमुनि फेटा अर्थात्‌ पगरी लगाउँथे। अय्युबले आफ्नो न्यायलाई फेटासित तुलना गरे।—प्रस्थ २८:३६, ३७; अयु २९:१४; इज २१:२६.

  • बन्धकी:

    आफूले लिएको ऋण तिर्ने ग्यारेन्टी दिन ऋण दिने व्यक्‍तिकहाँ ऋणीले राखेको धनमाल। यसलाई धरौटी राख्नु पनि भनिएको छ। देशका गरिब र असहाय व्यक्‍तिहरूमाथि अन्याय नहोस्‌ भनेर मोसाको व्यवस्थामा बन्धकी राख्ने विषयमा खास नियमहरू दिइएका थिए।—प्रस्थ २२:२६; इज १८:७.

  • बप्तिस्मा; बप्तिस्मा गराउनु:

    यस क्रियाको अर्थ हो, “निमज्जन गर्नु” वा पानीमा पूरै डुबाउनु। येसुले उहाँको चेला हुन चाहनेहरूले बप्तिस्मा गर्नु आवश्‍यक छ भनेर बताउनुभयो। बाइबलमा युहन्‍नाले गराउने बप्तिस्मा, पवित्र शक्‍तिद्वारा गराइने बप्तिस्मा, आगोद्वारा गराइने बप्तिस्मा अनि अरू विभिन्‍न किसिमको बप्तिस्माबारे उल्लेख गरिएको छ।—मत्ति ३:११, १६; २८:१९; युह ३:२३; १प ३:२१.

  • बलिदान:

    परमेश्‍वरलाई धन्यवाद दिन, आफ्नो गल्ती स्विकार्न वा उहाँसितको सम्बन्ध सुधार्न उहाँलाई अर्पण गरिने भेटी। हाबिलको समयदेखि नै मानिसहरूले स्वेच्छाले परमेश्‍वरलाई विभिन्‍न किसिमको बलि चढाए, जस्तै: जनावरको बलिदान। तर मोसाको व्यवस्था दिइएपछि बलिदान अनिवार्य भयो। येसुले आफ्नो त्रुटिरहित जीवन बलिदान दिनुभएपछि जनावरको बलि चढाउनु आवश्‍यक परेन। तर ख्रिष्टियनहरूले परमेश्‍वरलाई खुसी तुल्याउने कामहरू गरेर एक अर्थमा अझै पनि आध्यात्मिक बलिदानहरू चढाउँदै आएका छन्‌।—उत्प ४:४; हिब्रू १३:१५, १६; १यु ४:१०.

  • बाआल:

    कनानी देवता, जसलाई आकाशका मालिक मानिन्थ्यो। तिनलाई वर्षा र प्रजनन शक्‍तिको देवता पनि ठानिन्थ्यो। त्यतिबेलाका फरक-फरक इलाकाका अरू सानातिना देवतालाई पनि “बाआल” भनिन्थ्यो। हिब्रूमा यसको अर्थ हो, “मालिक; स्वामी।”—१रा १८:२१; रोमी ११:४.

  • बाथ:

    तरल पदार्थको नाप। पुरातत्त्वविद्‌हरूले अनुसन्धानको क्रममा भेटेका “बाथ” लेखिएका माटोको भाँडाका टुक्राहरूअनुसार एक बाथबराबर लगभग २२ लिटर हुन्थ्यो। बाइबलमा उल्लेख गरिएको धेरैजसो ठोस र तरल पदार्थको नाप लिनुपर्दा त्यसलाई बाथमा नापिन्थ्यो। (१रा ७:३८; इज ४५:१४)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • बालजिबुल:

    सैतानलाई दिइएको नाम, जो प्रेतहरूको शासक हो। यो नाम एक्रोनका पलिस्तियालीहरूले पुज्ने बाआल देवता अर्थात्‌ बाआल-जिबुबकै अर्को नाम हुन सक्छ।—२रा १:३; मत्ति १२:२४.

  • बिगुल:

    धातुबाट बनाइएको बाजा, जुन फुकेर बजाइन्थ्यो। यो बाजा सङ्‌केत दिन र वाद्यवादनमा  पनि प्रयोग गरिन्थ्यो। गन्ती १०:२ अनुसार यहोवाले चाँदीको दुई वटा बिगुल बनाउने निर्देशन दिनुभयो। मानिसहरूलाई भेला गराउने वा छाउनी सार्ने सङ्‌केत दिन अनि लडाइँको घोषणा गर्न ती बिगुलहरू फुक्नुपर्थ्यो। ती बिगुलहरू जनावरको सिङबाट बनाइने घुमाउरो बाजाजस्तो हुँदैनथे; ती सीधा हुन्थे। मन्दिरमा बजाइने विभिन्‍न बाजामध्ये बिगुल पनि थियो तर त्यसको बनावट कस्तो थियो भन्‍ने कुराचाहिँ बाइबलमा पाइँदैन। बिगुलको आवाजलाई प्रतीकात्मक रूपमा पनि प्रयोग गरिएको छ। यहोवाले आफ्नो फैसला सुनाउनुहुँदा वा कुनै अलौकिक घटना घट्‌दा बिगुलको प्रतीकात्मक आवाज पनि सँगै सुनिएको विवरण बाइबलमा पाइन्छ।—२इ २९:२६; एज्रा ३:१०; १को १५:५२; प्रका ८:७–११:१५.

  • बित्ता:

    लम्बाइ वा दूरीको नाप। यो हत्केला फैलाउँदा बूढी औँलाको टुप्पादेखि कान्छी औँलाको टुप्पासम्मको लम्बाइ हो। एक हातबराबर ४४.५ सेन्टिमिटर हुने भएकोले एक बित्ता लगभग २२.२ सेन्टिमिटर हुन्छ। (प्रस्थ २८:१६; १स १७:४)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • बिहानको तारा:

    पूर्वमा सूर्य उदाउनुअघि देखिने अन्तिम तारा, जसले नयाँ दिनको सुरुवातको सङ्‌केत दिन्थ्यो।—प्रका २२:१६; २प १:१९.

  • बूल:

    यहुदीहरूको धार्मिक क्यालेन्डरको आठौँ महिना र कृषि क्यालेन्डरको दोस्रो महिना। यो शब्दको मूल अर्थ हो, “उब्जाउनु; उत्पादन गर्नु।” यो महिना अक्टोबरको बीचदेखि सुरु भएर नोभेम्बरको बीचसम्म चल्थ्यो। (१रा ६:३८)—अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

  • भजन:

    परमेश्‍वरको प्रशंसामा गाइने गीत। भजनहरूको धुन तयार पारिन्थ्यो र यहोवाका उपासकहरूले ती गाउँथे; यरुसलेमको मन्दिरमा यहोवाको उपासनाको लागि भेला हुँदा पनि ती भजन गाइन्थ्यो।—लुका २०:४२; प्रे १३:३३; या ५:१३.

  • भट्टी:

    खानीबाट निकालिएको कच्चा पदार्थ खार्न वा धातु पगाल्न बनाइएको संरचना। माटाका भाँडाकुँडालाई पोलेर कडा बनाउन र चुन बनाउन पनि त्यस्ता संरचना चलाइन्थ्यो। पुरातन समयमा भट्टीहरू इँटा वा ढुङ्‌गाबाट बनाइएका हुन्थे।—उत्प १५:१७; दा ३:१७; प्रका ९:२.

  • भविष्यवक्‍ता:

    एक जना यस्तो व्यक्‍ति, जसमार्फत परमेश्‍वरले आफ्नो उद्देश्‍य प्रकट गर्नुहुन्थ्यो। भविष्यवक्‍ताले परमेश्‍वरको प्रवक्‍ताको रूपमा काम गर्थे। तिनले पछि हुने कुराहरू बताउने मात्र होइन तर यहोवाको शिक्षा, आज्ञा र फैसलाहरू पनि सुनाउँथे।—आमो ३:७; २प १:२१.

  • भविष्यवाणी:

    परमेश्‍वरबाट आएको सन्देश, जसमार्फत परमेश्‍वर आफ्नो इच्छा प्रकट गर्नुहुन्थ्यो वा त्यसबारे घोषणा गर्नुहुन्थ्यो। भविष्यवाणी परमेश्‍वरको तर्फबाट आएको महत्त्वपूर्ण पाठ, कुनै आज्ञा वा न्यायको घोषणा र पछि हुने कुनै घटनाबारे घोषणा पनि हुन सक्थ्यो।—इज ३७:९, १०; दा ९:२४; मत्ति १३:१४; २प १:२०, २१.

  • भाकल:

    कुनै काम गर्छु, परमेश्‍वरलाई कुनै भेटी वा उपहार चढाउँछु, कुनै खास सेवामा लाग्छु वा कुनै काम व्यवस्थाविपरीत नभए तापनि उक्‍त काम गर्दिनँ भनी परमेश्‍वरसित गरिने प्रतिज्ञा। भाकल गर्नु पनि शपथ खानु जत्तिकै गम्भीर कुरा थियो।—गन ६:२; उप ५:४; मत्ति ५:३३.

  • भाकलभेटी:

    स्वेच्छाले चढाइने भेटी; यो भेटी चढाउँदा भाकल पनि गरिन्थ्यो।—लेवी २३:३८; १स १:२१.

  •  भाङ्‌ग्रा:

    अन्‍न वा अरू केही राख्ने बोरा वा झोला बनाउन प्रयोग गरिने खस्रो कपडा। यो अक्सर गाढा रङ्‌गको बाख्राको रौँ बुनेर बनाइन्थ्यो। परम्पराअनुसार शोक मनाउने बेला भाङ्‌ग्रा ओढिन्थ्यो।—उत्प ३७:३४; लुका १०:१३.

  • भावी बताउने व्यक्‍ति:

    भविष्यमा हुने घटनाबारे पहिल्यै बताउन सक्ने क्षमता भएको दाबी गर्ने व्यक्‍ति। बाइबलमा भावी बताउने व्यक्‍तिमा जादुगरहरू, ज्योतिषीहरू र त्यस्तै तन्त्रमन्त्र गर्ने अन्य मानिसहरू पर्छन्‌।—लेवी १९:३१; व्य १८:११; प्रे १६:१६.

  • भेट हुने पाल:

    यसले मोसाको पाललाई र सुरुमा निर्जनभूमिमा बनाइएको पवित्र वासस्थान दुवैलाई बुझाउँछ।—प्रस्थ ३३:७; ३९:३२.

  • भेटीको रोटी:

    बाह्र वटा रोटी, जुन छ-छ वटा गरी दुई चाङ लगाएर राखिन्थ्यो। यो रोटी वासस्थानको र पछि मन्दिरको पवित्र कोठाको टेबुलमा राखिन्थ्यो। यसलाई “चाङ लगाएर राखिने रोटी” अनि “परमेश्‍वरलाई चढाइएका रोटीहरू” पनि भनिन्थ्यो। हरेक विश्रामदिनमा यी रोटीहरू निकालेर ताजा रोटीहरू राखिन्थ्यो अनि निकालिएका रोटीहरूचाहिँ अक्सर पुजारीहरूले मात्र खान्थे। (२इ २:४; मत्ति १२:४; प्रस्थ २५:३०; लेवी २४:५-९; हिब्रू ९:२)—अतिरिक्‍त लेख ख५ हेर्नुहोस्‌।

  • मण्डली:

    कुनै उद्देश्‍य वा क्रियाकलापको लागि एक ठाउँमा भेला हुने मानिसहरूको समूह। यो शब्द ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा प्रयोग गरिएको छ। यो ख्रिष्टियनहरूको छुट्टाछुट्टै समूहको लागि प्रयोग गरिएको छ तर धेरैजसो पदमा यो शब्द पूरै ख्रिष्टियन मण्डलीको लागि चलाइएको छ।—प्रे ९:३१; रोमी १६:५.

  • मद्यभेटी:

    यो भेटी वेदीमा खन्याएर चढाइन्थ्यो। यो भेटी अलग्गै नभई अन्य भेटीसितै चढाइन्थ्यो। अरू ख्रिष्टियनहरूको खातिर आफूलाई पूर्ण रूपमा अर्पण गर्ने आफ्नो इच्छालाई बुझाउन पावलले यस शब्दलाई प्रतीकात्मक अर्थमा प्रयोग गरे।—गन १५:५, ७; फिलि २:१७.

  • मध्यस्थकर्ता:

    दुई पक्षबीच मिलाप गराउने व्यक्‍ति। बाइबलअनुसार मोसा व्यवस्थाको करारका मध्यस्थकर्ता हुन्‌ र येसुचाहिँ नयाँ करारका मध्यस्थकर्ता हुनुहुन्छ।—गला ३:१९; १ति २:५.

  • मन्दिर:

    यरुसलेममा इस्राएलीहरूले परमेश्‍वरको उपासनाको लागि प्रयोग गर्ने स्थायी भवन। त्यसअघि तिनीहरू वासस्थानमा परमेश्‍वरको उपासना गर्थे र त्यसलाई एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिन्थ्यो। पहिलो मन्दिर सुलेमानले बनाएका थिए र त्यसलाई बेबिलोनीहरूले ध्वस्त पारे। दोस्रो मन्दिरचाहिँ बेबिलोनको निर्वासनबाट फर्केपछि यरुबाबेलले बनाए र पछि महान्‌ हेरोदले पुनर्निर्माण गरे। बाइबलमा मन्दिरलाई अक्सर “यहोवाको भवन” भनिएको छ। (एज्रा १:३; ६:१४, १५; १इ २९:१; २इ २:४; मत्ति २४:१)—अतिरिक्‍त लेख ख८ख११ हेर्नुहोस्‌।

  • मन्‍न:

    इस्राएलीहरूले ४० वर्षसम्म निर्जनभूमिमा छँदा खाने गरेको मुख्य खानेकुरा। यो उनीहरूलाई यहोवाले दिनुभएको थियो। विश्रामदिनबाहेक अरू सबै दिन बिहान शीतको तहमुनि यो चमत्कारपूर्ण तरिकामा देखा पर्थ्यो। इस्राएलीहरूले पहिलो पटक यो देख्दा यसो भनेका थिए: “यो के हो?” अर्थात्‌ हिब्रूमा “मन हु?” (प्रस्थ १६:१३-१५, ३५) अन्य विवरणमा यसलाई “स्वर्गको अन्‍न” (भज ७८:२४), ‘स्वर्गबाट झरेको खानेकुरा’ (भज १०५:४०) र “पराक्रमीहरूको रोटी” भनिएको छ। (भज ७८:२५) येसुले मन्‍नलाई प्रतीकात्मक रूपमा पनि प्रयोग गर्नुभएको थियो।—युह ६:४९, ५०.

  •  मरोदक:

    बेबिलोन सहरको प्रमुख देव। बेबिलोनका राजा र विधायक हमुराबीले बेबिलोनलाई बेबिलोनिया साम्राज्यको राजधानी बनाएपछि मरोदक (मार्डुक) प्रसिद्ध हुन थाल्यो। अन्तमा मरोदकले पहिलेका अरू थुप्रै देवीदेवतालाई उछिन्यो र बेबिलोनका सबै देवीदेवतामध्ये मुख्य देवता बन्‍न पुग्यो। पछि मरोदकको ठाउँमा “बेलु” (“मालिक”) भन्‍ने उपाधि चलनचल्तीमा आएपछि मरोदकलाई प्रायजसो बेल भन्‍ने नामले पुकार्न थालियो।—यर्मि ५०:२.

  • मर्र:

    एक किसिमको बास्नादार चोप, जुन विभिन्‍न काँडेदार बोटबाट वा कोमिफोरा प्रजातिका साना रूखहरूबाट निकालिन्थ्यो। अभिषेक गर्ने पवित्र तेल बनाउँदा मर्र पनि मिसाउनुपर्थ्यो। पोसाक वा ओछ्यानमा छर्कन अथवा मालिस गर्ने तेल वा लेपमा मिसाउन पनि यो प्रयोग गरिन्थ्यो। लासलाई चिहानमा राख्नुअघि लासमा अरू लेपका साथै मर्र दल्ने चलन पनि थियो।—प्रस्थ ३०:२३; हित ७:१७; युह १९:३९.

  • मल्काम:

    सम्भवत: अम्मोनीहरूको प्रमुख देवता मोलेकको अर्को नाम। (सप १:५)—मोलेक हेर्नुहोस्‌।

  • मशक:

    भेडा-बाख्रा वा अन्य जनावरको सिङ्‌गो छालाबाट बनाइएको थैली; त्यस्ता थैलीहरू रक्सी राख्न प्रयोग गरिन्थ्यो। रक्सी छिप्पिँदै जाँदा कार्बन-डाइअक्साइड ग्याँस निस्कन्थ्यो र उक्‍त ग्याँसले छालाको थैलीमा दबाब पैदा गर्थ्यो। त्यसैले रक्सी नयाँ मशकमा राखिन्थ्यो किनकि नयाँ मशक लचकदार हुन्थ्यो र तन्कँदै जान्थ्यो तर पुरानो मशक भने कडा हुने भएकोले दबाब पैदा हुँदा च्यातिन्थ्यो।—यहो ९:४; मत्ति ९:१७.

  • मसीह:

    “अभिषिक्‍त” वा “अभिषिक्‍त जन” भन्‍ने अर्थ दिने हिब्रू शब्दबाट आएको शब्द। “ख्रिष्ट”-चाहिँ उस्तै अर्थ दिने ग्रीक शब्दबाट आएको हो।—दा ९:२५; युह १:४१.

  • महापवित्र कोठा:

    वासस्थानको र पछि मन्दिरको भित्री कोठा, जहाँ करारको सन्दुक राखिएको थियो। यसलाई महापवित्र स्थान पनि भनिन्थ्यो। मोसाको व्यवस्थाअनुसार प्रधानपुजारीसित मात्र महापवित्र कोठाभित्र पस्ने अनुमति थियो र तिनी प्रायश्‍चितको दिनमा मात्र त्यहाँ प्रवेश गर्न सक्थे।—प्रस्थ २६:३३; लेवी १६:२, १७; १रा ६:१६; हिब्रू ९:३.

  • महामारी:

    कुनै पनि किसिमको सङ्‌क्रमक रोग, जुन एकदमै छिटो फैलिन्छ र थुप्रै मानिसको ज्यान लिन्छ। मानिसहरूलाई सजाय दिन अक्सर परमेश्‍वरले महामारी ल्याउनुहुन्थ्यो।—गन १४:१२; इज ३८:२२, २३; आमो ४:१०.

  • महालथ:

    भजनसङ्‌ग्रह ५३ र ८८ अध्यायको परिचयमा उल्लिखित सम्भवत: सङ्‌गीतसित सम्बन्धित शब्द। यो “कमजोर हुनु; बिरामी हुनु” भन्‍ने अर्थ दिने मूल हिब्रू क्रियासित सम्बन्धित हुन सक्ने भएकोले यसले विरहले भरिएको धुनलाई सङ्‌केत गरेको हुनुपर्छ र यी दुई वटा भजनको दुःखले भरिएको बोलसित यो धुन मेल पनि खान्छ।

  • महासङ्‌कष्ट:

    “सङ्‌कष्ट” अर्थ लाग्ने ग्रीक शब्दले अप्रिय परिस्थितिले उत्पन्‍न गर्ने तनाव वा कष्टलाई बुझाउँछ। यरुसलेममाथि “महासङ्‌कष्ट” आइपर्नेछ भनेर येसुले बताउनुभएको थियो। भविष्यमा आफू ‘ठूलो गौरवसहित आउँदा’ पूरै मानिसजातिमाथि त्यस्तै महासङ्‌कष्ट आउनेछ भनेर पनि उहाँले बताउनुभएको थियो। (मत्ति २४:२१, २९-३१) पावलले त्यो महासङ्‌कष्ट “ज-जसले परमेश्‍वरलाई चिन्दैनन्‌” र “जो-जो . . . येसुसित सम्बन्धित सुसमाचारबमोजिम चल्दैनन्‌,” तिनीहरूविरुद्ध परमेश्‍वरले चाल्नुहुने न्यायोचित कदम हो भनेर बताए। प्रकाश अध्याय १९ मा येसुलाई “जङ्‌गली जनावर, पृथ्वीका राजाहरू अनि तिनीहरूका सेनाहरू”-सित युद्ध गर्न स्वर्गको सेना लिएर  आइरहनुभएको व्यक्‍तिको रूपमा चित्रण गरिएको छ। (२थि १:६-८; प्रका १९:११-२१) साथै प्रकाशको किताबमा त्यो महासङ्‌कष्ट पार गरेर आएको “एउटा ठूलो भीड”-बारे पनि चर्चा गरिएको छ। (प्रका ७:९, १४)—आरमागेडोन हेर्नुहोस्‌।

  • माइल:

    यो शब्द ख्रिष्टियन ग्रीक धर्मशास्त्रको मौलिक लेखोटमा मत्ति ५:४१ मा मात्र प्रयोग गरिएको छ। यहाँ रोमी माइलको कुरा गरिएको हुन सक्छ, जुन १,४७९.५ मिटरबराबर हुन्थ्यो।—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • मादी:

    यापेतका छोरा मादैका शाखासन्तानबाट बनेको जाति। तिनीहरू इरानको पठारमा बसोबास गर्न थाले, जुन पहाडी इलाका थियो र जसलाई पछि मादी भन्‍न थालियो। अस्सेरियालीहरूलाई हराउन मादीहरूले बेबिलोनलाई साथ दिएका थिए। त्यसबेला फारस, मादी देशको प्रान्त थियो तर कोरेसको विद्रोहपछि मादी पनि फारससितै गाभियो। त्यसपछि मादी-फारस नामको साम्राज्य खडा भयो, जसले ईसापूर्व ५३९ मा बेबिलोन साम्राज्यलाई हरायो। इस्वी संवत्‌ ३३ पेन्तिकोसमा यरुसलेममा भेला भएका मानिसहरूमध्ये मादीहरू पनि थिए। (दा ५:२८, ३१; प्रे २:९)—अतिरिक्‍त लेख ख९ हेर्नुहोस्‌।

  • मानिसको छोरा:

    यो अभिव्यक्‍ति सुसमाचारको किताबमा लगभग ८० पटक प्रयोग गरिएको पाइन्छ। यो अभिव्यक्‍ति येसुको लागि चलाइएको छ अनि यसले पृथ्वीमा आउनुहुँदा येसुले मानव शरीर धारण गर्नुभएको थिएन बरु उहाँ मानवकै रूपमा जन्मनुभएको थियो भन्‍ने कुरा स्पष्ट पार्छ। साथै येसुले दानिएल ७:१३, १४ मा गरिएको भविष्यवाणी पूरा गर्नुहुन्छ भनेर पनि सङ्‌केत गर्छ। हिब्रू धर्मशास्त्रमा इजकिएल र दानिएलको लागि पनि यो अभिव्यक्‍ति प्रयोग गरिएको छ अनि त्यसले सन्देश सुनाउने मरणशील मानिस र सन्देश दिनुहुने परमेश्‍वरबीच भिन्‍नता छ भनेर देखाउँछ।—इज ३:१७; दा ८:१७; मत्ति १९:२८; २०:२८.

  • मार्ग:

    बाइबलमा चलाइएको यस शब्दले यहोवाको नजरमा या त स्वीकार्य या अस्वीकार्य काम वा चालचलनलाई बुझाउँछ। येसु ख्रिष्टका अनुयायी बनेका मानिसहरूलाई “त्यस मार्ग”-मा हिँड्‌नेहरू भनिन्थ्यो किनकि उनीहरू आफ्नो जीवनशैलीद्वारा येसु ख्रिष्टमा विश्‍वास गरेको देखाउँथे र उहाँको अनुकरण गर्थे।—प्रे १९:९.

  • मालिङ्‌गो:

    नदी-नालामा उम्रने नर्कटजस्तै एक किसिमको बोट। यसबाट टोकरी, ढक्की र डुङ्‌गा बनाइन्थ्यो। यसबाट लेख्नको लागि चलाइने कागजजस्तै सामग्री पनि बनाइन्थ्यो अनि थुप्रै मुठा पनि यसैबाट बनाइएका हुन्थे।—प्रस्थ २:३.

  • मास्किल:

    भजनसङ्‌ग्रहको किताबको तेह्र वटा अध्यायको परिचयमा उल्लेख गरिएको एउटा हिब्रू शब्द, जसको अर्थ के हो, पक्का छैन। यसको अर्थ “सोच्न बाध्य पार्ने कविता” हुन सक्छ। ‘सुझबुझ चलाउँदै सेवा गर्नु’ भनेर अनुवाद गरिएको अर्को शब्द र यस शब्दको बनौट मिल्दोजुल्दो भएकोले कसै-कसैको विचारमा यी दुई वटा शब्दको अर्थ उस्तै हुन सक्छ।—२इ ३०:२२; भज ३२:परि.

  • मिक्‍ताम:

    भजनसङ्‌ग्रहको छ वटा अध्यायको परिचयमा प्रयोग गरिएको हिब्रू शब्द। (भज १६५६-६०) यो एउटा प्राविधिक शब्द हो, जसको अर्थ के हो, पक्का छैन। तर यो शब्द “शिलालेख” भन्‍ने शब्दसित सम्बन्धित हुन सक्छ।

  • मिल्कोम:

    अम्मोनीहरूले पुज्ने देवता। यो मोलेककै अर्को नाम हुन सक्छ। (१रा ११:५, ७) सुलेमानले आफ्नो शासनकालको अन्ततिर यो झूटो देवताको निम्ति अग्ला  थानहरू बनाएका थिए।—मोलेक हेर्नुहोस्‌।

  • मीना:

    इजकिएलको किताबमा यसलाई मानेह पनि भनिएको छ। यो तौल र मुद्राको एकाइ हो। पुरातात्त्विक प्रमाणअनुसार एक मीनाबराबर ५० शेकेल हुन्छ र एक शेकेल भनेको ११.४ ग्रामबराबर हो। त्यसैले हिब्रू धर्मशास्त्रमा उल्लेख गरिएको एक मीना ५७० ग्रामबराबर हुन्थ्यो। साथै पुरातन समयमा हातको दुई वटा फरक नाप भएजस्तै सम्भवत: त्यतिबेला अर्को मीना—शाही मीना पनि प्रचलनमा थियो। ख्रिष्टियन ग्रीक धर्मशास्त्रअनुसार एक मीनाबराबर १०० ड्राक्मा हुन्थ्यो, जसको तौल ३४० ग्रामबराबर हुन्थ्यो। साठी मीनाबराबर चाहिँ एक टालेन्ट हुन्थ्यो। (एज्रा २:६९; लुका १९:१३)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • मुख्य पुजारी:

    हिब्रू धर्मशास्त्रमा यसलाई “प्रधानपुजारी” भनिएको छ। ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा पुजारीहरूमध्ये जो-जो प्रमुख हुन्‌, उनीहरूलाई “मुख्य पुजारी” भनिएको छ। सायद यसमा प्रधानपुजारीको पदबाट निकालिएका पुजारीहरू अनि पुजारीहरूको २४ दलका नाइकेहरू पनि पर्थे।—२इ २६:२०; एज्रा ७:५; मत्ति २:४; मर्कु ८:३१.

  • मुख्य माध्यम:

    ग्रीक भाषामा यो शब्दको अर्थ हो, “मुख्य अगुवा।” यसले येसुको महत्त्वपूर्ण भूमिकालाई बुझाउँछ। त्यो हो, उहाँले वफादार मानिसहरूलाई पापको डरलाग्दा असरहरूबाट मुक्‍त गर्नुहुनेछ अनि अनन्त जीवनतर्फ डोऱ्‍याउनुहुनेछ।—प्रे ३:१५; ५:३१; हिब्रू २:१०; १२:२.

  • मुगा:

    ससाना समुद्री जीवहरूको अस्थिपञ्जरबाट बनेको ढुङ्‌गाजस्तै कडा वस्तु। महासागरमा यो विभिन्‍न रङ्‌गमा पाइन्छ, जस्तै रातो, सेतो र कालो। मुगा विशेषगरि लाल समुद्रमा प्रशस्त पाइन्थ्यो। पुरातन समयमा रातो मुगा एकदमै महँगो हुन्थ्यो र त्यसबाट माला र अन्य गरगहना बनाइन्थ्यो।—हित ८:११.

  • मुठा:

    जनावरको छाला वा मालिङ्‌गोबाट बनाइएको लामो पत्र। यसको एकापट्टि अक्षरहरू हुन्थ्यो र यसलाई प्रायजसो लट्ठीमा बेरेर राखिन्थ्यो। धर्मशास्त्र लेख्न र यसको नक्कल बनाउन मुठाको प्रयोग गरिन्थ्यो। पुरातन समयका किताबहरू यस्तै किसिमका हुन्थे।—यर्मि ३६:४, १८, २३; लुका ४:१७-२०; २ति ४:१३.

  • मुथ-लाब्बेन:

    भजनसङ्‌ग्रह नौ अध्यायको परिचयमा उल्लेख गरिएको अभिव्यक्‍ति। यस अभिव्यक्‍तिको अर्थ “छोराको मृत्यु हुँदा” हो भन्‍ने मान्यता थियो। कसै-कसैको भनाइअनुसार यो एउटा नाम अथवा कुनै चिरपरिचित धुनको सुरुका शब्दहरू हुन सक्छन्‌, जुन यो भजन गाउँदा बजाउनुपर्थ्यो।

  • मूर्ति; मूर्तिपूजा:

    मानिसहरूले पूजा गर्न बनाएको कुनै वास्तविक वा काल्पनिक कुराको प्रतिमा। मूर्तिपूजा भनेको मूर्तिको श्रद्धा गर्नु, त्यसप्रति गहिरो आदर र प्रेम देखाउनु अनि त्यसको उपासना गर्नु हो।—भज ११५:४; प्रे १७:१६; १को १०:१४.

  • मृत्युबाट फेरि जीवित पार्नु:

    यसको लागि चलाइएको ग्रीक शब्द आनास्तासिस-को शाब्दिक अर्थ हो, “उठ्‌नु; उभिनु।” बाइबलमा मृत्युबाट फेरि जीवित पारिएको नौ वटा घटनाका साथै यहोवा परमेश्‍वरले येसुलाई फेरि जीवित पार्नुभएको घटनाबारे बताइएको छ। हुनत एलिया, एलिसा, येसु, पत्रुस र पावलले पनि कसै-कसैलाई फेरि जीवित पारे तर उनीहरूले परमेश्‍वरबाट शक्‍ति पाएर मात्र त्यस्तो काम गर्न सकेका थिए भनेर स्पष्ट छ। परमेश्‍वरको उद्देश्‍य पूरा हुन पृथ्वीमा ‘धर्मी र अधर्मी दुवैलाई’ फेरि जीवित पार्नु आवश्‍यक छ।  (प्रे २४:१५) बाइबलमा कसै-कसैलाई स्वर्गमा जीवित पारिने कुरा पनि बताइएको छ। येसुका अभिषिक्‍त भाइहरूलाई “मृत्युबाट सुरुमा जीवित पारिन्छ” भनिएको छ।—फिलि ३:११; प्रका २०:५, ६; युह ५:२८, २९; ११:२५.

  • मेलबलि:

    यहोवासित शान्ति कायम गर्न चढाइने बलि। बलिदान ल्याउने व्यक्‍ति र उसको परिवार, बलि चढाउने पुजारी अनि मन्दिरमा सेवा गरिरहेका पुजारीहरू सबै मिलेर त्यो बलिको मासु खान्थे। जनावरको बोसोचाहिँ जलाइन्थ्यो र त्यसको मीठो बास्ना यहोवालाई चढाइन्थ्यो अनि जीवनलाई सङ्‌केत गर्ने रगत पनि यहोवालाई अर्पण गरिन्थ्यो। मेलबलि चढाउँदा बलिदान ल्याउने व्यक्‍ति, उसको परिवार अनि पुजारीहरू प्रतीकात्मक रूपमा यहोवासँगै बसेर खान्थे अनि यसरी सँगै खानुले यहोवासित शान्तिमय सम्बन्ध कायम भएको कुरालाई सङ्‌केत गर्थ्यो।—लेवी ७:२९, ३२; व्य २७:७.

  • मोलेक:

    अम्मोनीहरूको देवता; मल्काम, मिल्कोम र मोलोक नाम गरेको देवता र मोलेक सम्भवत: एउटै हो। यो कुनै खास देवताको नाम नभई उपाधि मात्र हुन सक्छ। आफ्ना छोराछोरी मोलेकलाई बलि चढाउने व्यक्‍तिलाई मोसाको व्यवस्थाअनुसार मृत्युदण्ड दिनुपर्थ्यो।—लेवी २०:२; यर्मि ३२:३५; प्रे ७:४३.

  • मोलोक:

    मोलेक हेर्नुहोस्‌।

  • म्यासिडोनिया:

    ग्रीसको उत्तरमा पर्ने एउटा प्रान्त, जुन प्रान्तले महान्‌ सिकन्दरको शासनकालमा निकै ख्याति कमाएको थियो। रोमीहरूले कब्जा नगरुन्जेल यो स्वतन्त्र प्रान्त थियो। प्रेषित पावल पहिलो चोटि युरोप जाँदा म्यासिडोनिया रोमी प्रान्त भइसकेको थियो। पावलले तीन पटक त्यहाँ भ्रमण गरेका थिए। (प्रे १६:९)—अतिरिक्‍त लेख ख१३ हेर्नुहोस्‌।

  • यदुथुन:

    भजनसङ्‌ग्रह ३९, ६२ र ७७ अध्यायको परिचयमा उल्लेख गरिएको शब्द, जसको अर्थ के हो, पक्का छैन। परिचयमा भएको उक्‍त शब्दले भजन कुन शैलीमा गाउने वा कुन बाजा बजाउने भनेर निर्देशन दिएको हुन सक्छ। एक जना लेवी सङ्‌गीतकारको नाम यदुथुन थियो। त्यसैले ती भजनहरू गाउने शैली वा बाजा यदुथुन वा तिनका छोराहरूसित कुनै न कुनै तरिकामा सम्बन्धित हुन सक्छ।

  • यहुदा:

    याकुबका काहिँला छोरा, जो लेआबाट जन्मेका थिए। आफ्नो मृत्यु हुनुअघि याकुबले यहुदाको घरानाबाट एक जना महान्‌ शासक आउनेछन्‌ र तिनले सदासर्वदा शासन गर्नेछन्‌ भनेर भविष्यवाणी गरे। येसु यस पृथ्वीमा यहुदाको घरानामा जन्मनुभएको थियो। यहुदा एउटा कुलको नाम पनि थियो। पछि यहुदा र बिन्यामिनको कुलका मानिसहरू मिलेर बनेको राष्ट्रलाई पनि यहुदा भन्‍न थालियो। त्यस राष्ट्रलाई दक्षिणी राज्य भनिन्थ्यो अनि पुजारी र लेवीहरूलाई त्यही राष्ट्रको सदस्यको रूपमा गनिन्थ्यो। यसको इलाका देशको दक्षिणी भागमा पर्थ्यो, जहाँ यरुसलेम र त्यसको मन्दिर पनि थियो।—उत्प २९:३५; ४९:१०; १रा ४:२०; हिब्रू ७:१४.

  • यहुदी न्यायपरिषद्‌:

    यरुसलेममा भएको यहुदीहरूको सर्वोच्च अदालत। येसुको समयमा यो परिषद्‌ ७१ जना सदस्य मिलेर बनेको थियो। उक्‍त समूहमा प्रधानपुजारी, भूतपूर्व प्रधानपुजारीहरू, प्रधानपुजारीहरूको घरानाका सदस्यहरू, धर्मगुरुहरू, कुल र घरानाका मुखियाहरू अनि शास्त्रीहरू समावेश थिए।—मर्कु १५:१; प्रे ५:३४; २३:१, ६.

  • यहुदी:

    इस्राएलको दस-गोत्रे राज्यको पतन भएपछि यहुदाको कुलका मानिसहरूलाई दिइएको नाम। (२रा १६:६) बेबिलोनको  निर्वासनपछि इस्राएल फर्केका अन्य कुलका इस्राएलीहरूलाई पनि यहुदीहरू भन्‍न थालियो। (एज्रा ४:१२) पछि गैर-इस्राएल राष्ट्रबाट अलग्गै छुट्ट्याउन संसारभरका इस्राएलीहरूलाई यही नाम दिइयो। (एस्त ३:६) ख्रिष्टियनहरू जुनसुकै जाति वा राष्ट्रको भए पनि त्यसले ख्रिष्टियन मण्डलीलाई कुनै असर गर्दैन भनेर तर्क गर्दा प्रेषित पावलले यस शब्दलाई प्रतीकात्मक अर्थमा प्रयोग गरे।—रोमी २:२८, २९; गला ३:२८.

  • यहोवा:

    टेट्राग्रामटनको (परमेश्‍वरको नामलाई सङ्‌केत गर्ने चार वटा हिब्रू अक्षर) प्रचलित अनुवाद। यस अनुवादमा यो नाम ७,००० भन्दा धेरै पटक उल्लेख गरिएको छ।—अतिरिक्‍त लेख क४क५ हेर्नुहोस्‌।

  • याकुब:

    इसहाक र रिबेकाको छोरा। पछि परमेश्‍वरले तिनलाई इस्राएल भन्‍ने नाम दिनुभयो र तिनी इस्राएलका मानिसहरूको (जसलाई इस्राएलीहरू भनिन्थ्यो अनि पछि यहुदीहरू भन्‍न थालियो) कुलपिता भए। तिनका १२ जना छोरा र तिनीहरूको सन्तानबाट इस्राएल राष्ट्रको १२ वटा कुल बन्यो। इस्राएल राष्ट्र वा इस्राएलका मानिसहरूलाई पछिसम्म पनि याकुब भन्‍ने नामले सम्बोधन गरिन्थ्यो।—उत्प ३२:२८; मत्ति २२:३२.

  • यातनाको खम्बा:

    ग्रीक शब्द स्टाउरोस्‌-को अनुवाद, जसको अर्थ हो, ठाडो खम्बा वा काठ। येसुलाई पनि त्यस्तै किसिमको खम्बा वा काठमा झुन्ड्‌याएर मारिएको थियो। यो ग्रीक शब्दको अर्थ क्रूस हो भन्‍ने कुनै प्रमाण छैन। वास्तवमा येसु पृथ्वीमा आउनुभन्दा सयौँ वर्षअघिदेखि झूटा उपासकहरूले क्रूसलाई धार्मिक प्रतीकको रूपमा प्रयोग गर्थे। “यातनाको खम्बा” भन्‍ने अभिव्यक्‍तिले मूल शब्दको पूरै अर्थ दिन्छ किनकि येसुका अनुयायीहरूले यातना, पीडा र बेइज्जती सहनुपर्नेछ भन्‍ने कुरा सङ्‌केत गर्न पनि स्टाउरोस्‌ शब्द प्रयोग गरिएको छ। (मत्ति १६:२४; हिब्रू १२:२)—खम्बा हेर्नुहोस्‌।

  • युग(हरू):

    यो ग्रीक शब्द आयान-को अनुवाद हो, जसको अर्थ हो, कुनै निश्‍चित समयावधिको अवस्था वा विशेषता, जसले उक्‍त समयावधिलाई अर्को समयावधिबाट अलग्गै छुट्ट्याउँछ। बाइबलमा “वर्तमान युग”-बारे बताइएको छ, जसले संसारको अवस्था वा मानिसहरूको जिउने तौरतरिकालाई सङ्‌केत गर्छ। (२ति ४:१०) व्यवस्थाको करारमार्फत परमेश्‍वरले एउटा युगको सुरुवात गर्नुभयो, जसलाई इस्राएलीहरूको वा यहुदीहरूको युग पनि भन्‍न सकिन्छ। तर पछि परमेश्‍वरले येसु ख्रिष्टको फिरौतीको बलिदानमार्फत अर्को युगको सुरुवात गर्नुभयो, जुन विशेषगरि अभिषिक्‍त ख्रिष्टियनहरूसित सम्बन्धित थियो। यो एउटा नयाँ समयावधि थियो, जुन अवधिमा व्यवस्थाको करारले चित्रण गरेका कुराहरू पूरा हुन थाल्यो। बाइबलमा जहाँ “युगहरू” लेखिएको छ, त्यसले फरक-फरक युग अथवा विगतको वा भविष्यको अवस्थालाई सङ्‌केत गर्छ।—मत्ति २४:३; मर्कु ४:१९; रोमी १२:२; १को १०:११.

  • युगको आखिरी समय:

    एउटा समयावधि, जुन सैतानको अधीनमा भएको यस युगको अन्त भएपछि सिद्धिनेछ। यो समयावधि सँगसँगै ख्रिष्टको उपस्थिति पनि चलिरहेको छ। येसुको निर्देशनमा स्वर्गदूतहरूले “धर्मीहरूको माझबाट दुष्टहरूलाई अलग पार्नेछन्‌” र तिनीहरूलाई नाश गर्नेछन्‌। (मत्ति १३:४०-४२, ४९) येसुका चेलाहरू “आखिरी समय” कहिले आउँछ भनेर जान्‍न इच्छुक थिए। (मत्ति २४:३) स्वर्ग फर्कनुअघि येसुले आफ्ना चेलाहरूलाई आफू त्यो समयसम्मै तिनीहरूको साथमा रहने प्रतिज्ञा गर्नुभयो।—मत्ति २८:२०.

  • युफ्रेटिस:

    एसियाको दक्षिण-पश्‍चिम भागको सबैभन्दा लामो र महत्त्वपूर्ण नदी। यो नदी  मेसोपोटामियाको दुई ठूला नदीमध्ये एक हो। यस नदीबारे पहिलो चोटि उत्पत्ति २:१४ मा उल्लेख गरिएको छ, जहाँ यसलाई अदनको चार नदीमध्ये एउटा नदीको रूपमा चिनाइएको छ। यो इस्राएलीहरूलाई दिइएको इलाकाको उत्तरी सिमाना थियो। (उत्प १५:१८; प्रका १६:१२)—अतिरिक्‍त लेख ख२ हेर्नुहोस्‌।

  • राहाब:

    अय्युब, भजनसङ्‌ग्रह र यसैयाको किताबमा प्रतीकात्मक अर्थमा प्रयोग भएको नाम। (यसले यहोसुको किताबमा उल्लेख गरिएको स्त्री राहाबलाई बुझाउँदैन।) अय्युबको किताबमा राहाबले एउटा जलजन्तुलाई बुझाउँछ भनेर प्रसङ्‌गबाट थाह पाउन सक्छौँ अनि अन्य प्रसङ्‌गमा त्यस जलजन्तुले मिश्रलाई सङ्‌केत गर्छ।—अयु ९:१३; भज ८७:४; यसै ३०:७; ५१:९, १०.

  • रुवाक; न्युमा:

    थुप्रै बाइबलमा हिब्रू शब्द रुवाक र ग्रीक शब्द न्युमा-को अनुवाद “आत्मा” गरिएको छ। तर यो अनुवाद सही छैन किनकि यसले अमर आत्माको गलत शिक्षालाई समर्थन गर्छ। (भज १४६:४) रुवाक न्युमा-ले खासगरि “सास” भन्‍ने अर्थ दिन्छ। साथै यसले निम्न अर्थहरू पनि दिन्छ: (१) हावा, (२) मानिस र जनावरको जीवनशक्‍ति, (३) मानिसको हृदयबाट आउने प्रेरणा, (४) परमेश्‍वर वा प्रेतहरूबाट आउने सन्देश, (५) स्वर्गमा बस्ने व्यक्‍ति र (६) परमेश्‍वरको सक्रिय शक्‍ति अर्थात्‌ पवित्र शक्‍ति। (प्रस्थ ३५:२१; भज १०४:२९; मत्ति १२:४३; लुका ११:१३) त्यसैले यस बाइबलमा यी अर्थहरूलाई ध्यानमा राखेर अनुवाद गरिएको छ।

  • लग:

    बाइबलमा उल्लिखित तरल नापहरूमध्ये सबैभन्दा सानो नाप। यहुदी ताल्मुदमा यसलाई हिनको १/१२ भाग भनिएको छ। यसको आधारमा हिसाब गर्ने हो भने एक लगबराबर ०.३१ लिटर हुन्थ्यो। (लेवी १४:१०)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • लेप्टन:

    प्रथम शताब्दीतिरको तामा वा काँसाको सबैभन्दा सानो यहुदी सिक्का। कुनै-कुनै बाइबल अनुवादमा यसलाई “माइट” भनेर पनि अनुवाद गरिएको छ। (मर्कु १२:४२, फु.; लुका २१:२, फु.)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • लेबनान पर्वतमाला:

    लेबनान देशको दुई वटा पर्वतमालामध्ये एउटा। यी पर्वतमालामध्ये एउटा पश्‍चिमतिर छ र अर्कोचाहिँ पूर्वतिर छ। यी दुई पर्वतमालाको बीचमा लामो उर्वर बेँसी छ। लेबनान पर्वतमाला भूमध्यसागरको किनारादेखि सुरु हुन्छ र यसका शिखरहरूको औसत उँचाइ १,८०० देखि २,१०० मिटरसम्म हुन्छ। पुरातन समयमा लेबनानलाई देवदारका अग्ला-अग्ला रूखहरूले ढाकेको थियो र त्यसका काठहरू वरपरको राष्ट्रका मानिसहरूले असाध्यै किम्मती मान्थे। (व्य १:७; भज २९:६; ९२:१२)—अतिरिक्‍त लेख ख७ हेर्नुहोस्‌।

  • लेवि/लेवी:

    लेआबाट जन्मेका याकुबको साहिँला छोरा; लेविबाट निस्केको कुलको नाम पनि यही थियो। तिनका तीन जना छोराबाट लेवीहरूको तीन वटा मुख्य दल बनेको थियो। लेवी भन्‍ने शब्द कहिलेकाहीँ सिङ्‌गै कुलको लागि चलाइएको भए तापनि त्यसमा पुजारी हारुनको परिवारचाहिँ समावेश छैन। प्रतिज्ञा गरिएको देशमा लेविको कुलले पैतृक सम्पत्तिको रूपमा कुनै जग्गाजमिन पाएन तर तिनीहरूलाई बसोबास गर्न अरू कुलको इलाकाबाट ४८ वटा सहर दिइयो।—व्य १०:८; १इ ६:१; हिब्रू ७:११.

  • लेवियातान:

    यो पानीमा बस्ने जीव हुन सक्छ किनकि यसको चर्चा पानीसित सम्बन्धित विवरणहरूमा पाइन्छ। अय्युब ३:८ र ४१:१ पदमा यसले गोही वा अरू कुनै  विशाल र शक्‍तिशाली जीवलाई बुझाएको हुन सक्छ। भजनसङ्‌ग्रह १०४:२६ मा चाहिँ यो एक किसिमको ह्वेल माछा हुन सक्छ। अन्य पदमा चाहिँ यो नाम प्रतीकात्मक रूपमा प्रयोग गरिएको हुनाले यो कुन जीव हो भनेर थाह पाउन सकिँदैन।—भज ७४:१४; यसै २७:१.

  • वादी:

    बेँसी वा खोलाको बगर, जुन वर्षायाममा बाहेक अन्य समयमा सुख्खा हुन्छ; यस शब्दले खोलालाई पनि बुझाउन सक्छ। कुनै-कुनै खोला पानीको मूल फुटेर बनेको हुन्थ्यो; त्यसैले ती खोलाहरू कहिल्यै सुक्दैनथे। केही प्रसङ्‌गमा वादीलाई “बेँसी” पनि भनिएको छ।—उत्प २६:१९; गन ३४:५; व्य ८:७; १रा १८:५; अयु ६:१५.

  • वासस्थान:

    एक ठाउँबाट अर्को ठाउँमा लैजान मिल्ने पाल। मिश्रबाट निस्केपछि इस्राएलीहरू यही पालको सामने परमेश्‍वरको उपासना गर्थे र बलिदान चढाउँथे। परमेश्‍वरको उपस्थितिलाई सङ्‌केत गर्ने करारको सन्दुक पनि यही पालभित्र राखिन्थ्यो। यसलाई कहिलेकाहीँ “भेट हुने पाल” पनि भनिएको छ। यो काठका फल्याकहरूले बनेको थियो अनि मलमलका कपडाहरूले ढाकिएको थियो, जसमा करूबका आकृतिहरू बनाइएका थिए। वासस्थानमा दुई वटा कोठा थिए; पहिलोलाई पवित्र कोठा र दोस्रोलाई चाहिँ महापवित्र कोठा भनिन्थ्यो। (यहो १८:१; प्रस्थ २५:९)—अतिरिक्‍त लेख ख५ हेर्नुहोस्‌।

  • विपत्ति:

    हिब्रू धर्मशास्त्रमा यसले अक्सर यहोवाले मानिसहरूलाई सजाय दिन ल्याउनुहुने महामारी वा रोगलाई सङ्‌केत गर्छ।—गन १६:४९.

  • विश्रामदिन:

    यसको लागि चलाइएको हिब्रू शब्द सबाथ-को अर्थ हो, “आराम गर्नु; रोकिनु।” यहुदी हप्ताको सातौँ दिनलाई विश्रामदिनको रूपमा लिइन्छ (शुक्रबार सूर्यास्तदेखि शनिबार सूर्यास्तसम्म)। वार्षिक रूपमा मनाइने अन्य चाडका दिनहरूलाई पनि विश्रामदिन भनिन्थ्यो अनि प्रत्येक सातौँ र पचासौँ वर्षलाई चाहिँ विश्राम-वर्ष भनिन्थ्यो। यो दिन कसैले पनि काम गर्नु हुँदैनथ्यो तर पुजारीहरूलाई चाहिँ पवित्र स्थानमा सेवा गर्ने अनुमति थियो। विश्राम-वर्षमा इस्राएलीहरूले आफ्नो जमिन बाँझै छोड्‌नुपर्थ्यो अनि आफ्ना हिब्रू दाजुभाइलाई ऋण तिर्न जबरजस्ती पनि गर्नुहुँदैनथ्यो। मोसाको व्यवस्थामा दिइएको विश्रामदिनसम्बन्धी नियमहरू पालन गर्न गाह्रो थिएन। तर धर्मगुरुहरूले नानाथरीको नीतिनियम थपिदिएकोले येसुको दिनसम्ममा मानिसहरूलाई यी नियमहरू पालन गर्न निकै गाह्रो भइसकेको थियो।—प्रस्थ २०:८; लेवी २५:४; लुका १३:१४-१६; कल २:१६.

  • वेदी:

    बलि चढाउन वा धूप बाल्न बनाइएको अग्लो संरचना। यो माटो, चट्टान वा ढुङ्‌गाले अथवा काठलाई धातुले मोहोरेर बनाइन्थ्यो। वासस्थानको र मन्दिरको बाहिरी कोठामा धूप चढाउने सानो “सुनको वेदी” राखिएको थियो। त्यो काठबाट बनेको थियो र त्यसलाई सुनले मोहोरिएको थियो। अग्निभेटी चढाउने ठूलो “तामाको वेदी”-चाहिँ चोकमा राखिएको थियो। (प्रस्थ २७:१; ३९:३८, ३९; उत्प ८:२०; १रा ६:२०; २इ ४:१; लुका १:११)—अतिरिक्‍त लेख ख५ख८ हेर्नुहोस्‌।

  • वेदीको सिङ:

    खास किसिमका कुनै-कुनै वेदीको चारै कुनामा सिङ आकारमा उठाएर बनाइएको भाग। (लेवी ८:१५; १रा २:२८)—अतिरिक्‍त लेख ख५ख८ हेर्नुहोस्‌।

  • वेश्‍या:

    यसको ग्रीक शब्दको मूल अर्थ “बेच्नु” हो। यस अभिव्यक्‍तिले अक्सर स्त्रीहरूलाई बुझाउने भए तापनि बाइबलमा पुरुष वेश्‍याहरूबारे पनि उल्लेख गरिएको छ। मोसाको व्यवस्थामा वेश्‍यावृत्तिको निन्दा गरिएको थियो र यहोवाको पवित्र स्थानमा  वेश्‍याले कमाएको पैसा दानको रूपमा स्वीकार गरिँदैन थियो। तर झूटा उपासकहरूले भने आफ्नो मन्दिरमा कमाइको लागि वेश्‍याहरू राख्ने गर्थे। (व्य २३:१७, १८; १रा १४:२४) यो अभिव्यक्‍ति बाइबलमा लाक्षणिक रूपमा पनि प्रयोग गरिएको छ; यसले परमेश्‍वरको उपासक भनी दाबी गर्ने तर कुनै न कुनै तरिकामा मूर्तिपूजामा संलग्न हुने व्यक्‍ति, राष्ट्र वा सङ्‌गठनलाई बुझाउँछ। उदाहरणको लागि, प्रकाशको किताबमा संसारभरिका धर्महरूलाई चित्रण गर्ने “महान्‌ बेबिलोन”-लाई वेश्‍याको रूपमा वर्णन गरिएको छ किनकि त्यो शक्‍ति र धनसम्पत्ति हासिल गर्न संसारका शासकहरूको पछि लाग्छे।—प्रका १७:१-५; १८:३; १इ ५:२५.

  • व्यभिचार:

    आफ्नो पति वा पत्नीबाहेक अरूसित स्वेच्छाले यौनसम्पर्क राख्नु।—प्रस्थ २०:१४; मत्ति ५:२७; १९:९.

  • व्यवस्था:

    यसले ईसापूर्व १५१३ मा यहोवाले निर्जनभूमिमा इस्राएलीहरूलाई दिनुभएको मोसाको व्यवस्थालाई बुझाएको हुन सक्छ। बाइबलको सुरुका पाँच वटा किताबलाई पनि अक्सर व्यवस्था भनिन्छ। (यहो २३:६; लुका २४:४४; मत्ति ७:१२; गला ३:२४) यसले मोसाको व्यवस्थामा पाइने नियम वा सिद्धान्तलाई पनि बुझाउन सक्छ।—गन १५:१६; व्य ४:८.

  • शपथ:

    कुनै कुरा सत्य हो भनेर ठोकुवा गर्न वा कुनै काम गर्ने या नगर्ने भनेर बताउन गरिने वाचा। यो अक्सर आफूभन्दा ठूलो व्यक्‍तिसित, विशेषगरि परमेश्‍वरसित गरिन्छ। आफूले अब्राहामसित गरेको करार पक्का गर्न यहोवाले शपथ खानुभयो।—उत्प १४:२२; हिब्रू ६:१६, १७.

  • शरणनगर:

    लेवीहरूलाई दिइएका सहरहरू, जहाँ अनजानमा कसैको हत्या गर्ने व्यक्‍तिले भागेर शरण लिन सक्थ्यो अनि रगतको साटो फेर्ने व्यक्‍तिबाट बच्न सक्थ्यो। प्रतिज्ञा गरिएको देशको विभिन्‍न ठाउँमा त्यस्ता सहरहरू जम्मा छ वटा थिए। ती सहरहरू यहोवाको निर्देशनअनुसार पहिला मोसाले र पछि यहोसुले छानेका थिए। शरणनगरमा पुगेपछि हत्याराले मूलढोकामा उभिएर त्यहाँका नाइकेहरूसामु आफ्नो मामिला पेस गर्नुपर्थ्यो अनि उसलाई सहरमा बस्न दिइन्थ्यो। जानाजानी हत्या गरेको व्यक्‍तिले यस प्रबन्धको दुरुपयोग नगरोस्‌ भनेर हत्याराले आफूलाई निर्दोष साबित गर्न जुन सहरमा हत्या भएको थियो, त्यही सहरमा मुद्दा लड्‌नुपर्थ्यो। हत्याराले आफूलाई निर्दोष साबित गऱ्‍यो भने उसलाई शरणनगरमा फर्काइन्थ्यो। अनि ऊ जीवनभर वा प्रधानपुजारीको मृत्यु नहोउन्जेल त्यही सहरमा बस्नुपर्थ्यो।—गन ३५:६, ११-१५, २२-२९; यहो २०:२-८.

  • शास्त्री:

    हिब्रू धर्मशास्त्रको प्रतिलिपि बनाउने व्यक्‍ति। येसुको समयसम्म आइपुग्दा मोसाको व्यवस्थाको राम्रो ज्ञान भएका पुरुषहरूको समूहलाई बुझाउन यो उपाधि चलाउन थालिसकिएको थियो। तिनीहरू येसुको विरोध गर्थे।—एज्रा ७:६, फु.; मर्कु १२:३८, ३९; १४:१.

  • शिओल:

    यो हिब्रू शब्द र ग्रीक शब्द “हेडिज” दुवैलाई “चिहान” भनेर अनुवाद गरिएको छ। यसले मृत्युपछि सबै जना जानै पर्ने चेतनाहीन र निष्क्रिय अवस्थालाई बुझाउँछ।—उत्प ३७:३५, फु.; भज १६:१०, फु.; प्रे २:३१, फु.

  • शुद्ध:

    बाइबलमा यस शब्दलाई शारीरिक रूपमा सफा रहने कुरा बुझाउन मात्र प्रयोग गरिएको छैन बरु नैतिक र आध्यात्मिक तवरमा बेदाग रहिरहने वा त्यसो गर्नदेखि चुकेमा फेरि पहिलेकै अवस्थामा आउने कुरालाई बुझाउन पनि यो शब्द चलाइएको छ। साथै यसले नैतिक र आध्यात्मिक तवरमा बिटुलो, दूषित वा भ्रष्ट पार्न सक्ने जुनसुकै कुरादेखि अलग बस्नुलाई पनि बुझाउँछ। मोसाको  व्यवस्थाअनुसार शुद्ध हुनु भनेको विधिपूर्वक आफूलाई सफा पार्नु थियो।—लेवी १०:१०; भज ५१:७; मत्ति ८:२; १को ६:११.

  • शेकेल:

    यो तौल र मुद्राको एकाइ हो, जुन हिब्रूहरूले अक्सर प्रयोग गर्थे। एक शेकेल भनेको ११.४ ग्राम हो। “पवित्र ठाउँको शेकेल” भन्‍ने अभिव्यक्‍ति सायद तौल सही हुनुपर्छ वा वासस्थानको मानक नापबमोजिम हुनुपर्छ भन्‍ने कुरालाई बुझाउन प्रयोग गरिन्थ्यो। पुरातन समयमा सायद शाही शेकेल पनि हुने गर्थ्यो (जुन साधारण शेकेलभन्दा फरक हुन्थ्यो) वा राजमहलमा एउटा मानक नाप प्रयोग गरिन्थ्यो।—प्रस्थ ३०:१३.

  • शेबात:

    बेबिलोनको निर्वासनबाट फर्केपछि यहुदीहरूको धार्मिक क्यालेन्डरको एघारौँ महिना र कृषि क्यालेन्डरको पाँचौँ महिना। यो महिना जनवरीको बीचदेखि सुरु भएर फेब्रुअरीको बीचसम्म चल्थ्यो। (जक १:७)—अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

  • शोक मनाउनु:

    कसैको मृत्यु हुँदा वा कुनै विपत्ति आइपर्दा दुःख प्रकट गर्नु। पुरातन समयमा लामो समयसम्म शोक मनाउने चलन थियो। शोक मनाउने मानिसहरू ठूलो आवाज निकालेर रुनुका साथै बेग्लै किसिमको लुगा लगाउँथे, टाउकोमा खरानी हाल्थे, आफ्नो लुगा च्यात्थे र छाती पिट्‌थे। लास गाड्‌ने बेला कहिलेकाहीँ शोक मनाउने पेसेवरहरू भाडामा ल्याउने चलन थियो।—उत्प २३:२; एस्त ४:३; प्रका २१:४.

  • शोकगीत:

    दुःखले भरिएको कविता वा गीत। आफ्नो साथीको वा कुनै प्रिय व्यक्‍तिको मृत्यु हुँदा शोक प्रकट गर्न यस्तो गीत रचिन्थ्यो। यसलाई विलापगीत पनि भनिन्छ।—२स १:१७; भज ७:परि.

  • सदुकीहरू:

    यहुदी धर्मको एउटा प्रमुख गुट, जुन कुलीन घरानाका धनाढ्‌यहरू अनि पुजारीहरू मिलेर बनेको थियो। मन्दिरमा गरिने सम्पूर्ण काममा उनीहरूको अधिकार हुन्थ्यो। उनीहरू फरिसीहरूले पालन गर्ने मौखिक नियमहरू मान्दैनथे र फरिसीहरूको अन्य शिक्षाहरू पनि स्विकार्दैनथे। उनीहरू मरेकाहरू फेरि जीवित हुने कुरामा वा स्वर्गदूतहरूको अस्तित्वमा विश्‍वास गर्दैनथे र येसुको विरोध गर्थे।—मत्ति १६:१; प्रे २३:८.

  • सभाघर:

    सभाघर भनेर अनुवाद गरिएको ग्रीक शब्दको अर्थ हो, “भेला गराउनु; सभा।” तर थुप्रै बाइबल पदमा यसले त्यस्तो भवन वा ठाउँलाई बुझाउँछ, जहाँ यहुदीहरू धर्मशास्त्र पढ्‌न, सरसल्लाह लिन, प्रचार गर्न अनि प्रार्थना गर्न भेला हुन्थे। येसुको समयमा प्रत्येक सहरमा एउटा सभाघर हुन्थ्यो तर ठूलठूला सहरहरूमा भने धेरै सभाघर हुन्थे।—लुका ४:१६; प्रे १३:१४, १५.

  • समर्पणको चाड:

    एन्टियोकस इपिफेन्सले मन्दिरलाई अपवित्र पारेपछि त्यसलाई फेरि शुद्ध पारिएको थियो। त्यसको सम्झनामा हरेक वर्ष यो चाड मनाइन्थ्यो। यो चाड किसलेव महिनाको २५ औँ दिनदेखि सुरु भएर आठ दिनसम्म चल्थ्यो।—युह १०:२२.

  • समर्पणको पवित्र चिन्ह:

    निखुर सुनको चम्किलो पाता, जसमा “यहोवा पवित्र हुनुहुन्छ” भन्‍ने अर्थ लाग्ने हिब्रू वाक्य कुँदिएको थियो। प्रधानपुजारीले यो पाता आफ्नो फेटामा अगाडि पर्नेगरि बाँध्नुपर्थ्यो। (प्रस्थ ३९:३०)—अतिरिक्‍त लेख ख५ हेर्नुहोस्‌।

  • सम्झनाको चिहान:

    लास राख्ने ठाउँ। यो ग्रीक शब्द नेमियोन-को अनुवाद हो, जुन “सम्झाउने” भन्‍ने अर्थ लाग्ने क्रियाबाट आएको हो। यसबाट मरिसकेका मानिसहरू परमेश्‍वरको सम्झनामा रहिरहन्छन्‌ भन्‍ने कुरा बुझिन्छ।—युह ५:२८, २९, फु.

  • सराप:

    कसैलाई धम्की दिनु अथवा कुनै व्यक्‍ति वा वस्तुमाथि अनिष्ट आइपरोस्‌ भनेर घोषणा गर्नु। तर यसको मतलब गाली गर्नु वा  रिसको झोँकमा मनपरी बोल्नु होइन। सराप अक्सर सबैले सुन्‍नेगरि दिइन्थ्यो। परमेश्‍वरले वा उहाँबाट अख्तियार पाएको व्यक्‍तिले सराप दिएको खण्डमा त्यो एउटा भविष्यवाणी हुन्थ्यो, जुन अवश्‍य पूरा हुन्थ्यो।—उत्प १२:३; गन २२:१२; गला ३:१०.

  • सराफ:

    स्वर्गमा यहोवाको सिंहासन वरिपरि बस्ने स्वर्गदूतहरू। यसको लागि चलाइएको हिब्रू शब्द सेराफिम-को शाब्दिक अर्थ हो, “चम्कनेहरू।”—यसै ६:२, ६.

  • सलह:

    हुल बाँधेर एक ठाउँबाट अर्को ठाउँमा जाने फट्ट्याङ्‌ग्राका विभिन्‍न प्रजाति। मोसाको व्यवस्थाअनुसार त्यस्ता सलहहरू शुद्ध हुने भएकाले इस्राएलीहरूले ती खान सक्थे। सलहको विशाल दलले सबै वनस्पति स्वाहा पारेर ठूलो विनाश गर्ने भएकोले सलहको आक्रमणलाई विपत्ति मानिन्थ्यो।—प्रस्थ १०:१४; मत्ति ३:४.

  • सलेदो निभाउने साधन:

    वासस्थान र मन्दिरमा प्रयोग गरिने सुन वा तामाको साधन। यो कैंचीजस्तै हुन्थ्यो र बलिरहेको सलेदो काट्‌न प्रयोग गरिन्थ्यो।—२रा २५:१४.

  • सहायक सेवक:

    यो शब्द अक्सर “सेवक” भनेर अनुवाद गरिएको ग्रीक शब्द डिआकोनोस-बाट लिइएको हो। मण्डलीमा एल्डरहरूको निकायलाई सघाउने दाजुभाइहरूलाई “सहायक सेवक” भनिन्छ। यस्तो सुअवसरको लागि योग्य हुन तिनले बाइबलमा तोकिएका योग्यताहरू पूरा गर्नुपर्छ।—१ति ३:८-१०, १२.

  • साँचो परमेश्‍वर:

    दुई वटा हिब्रू अभिव्यक्‍ति हा-इलोहिम हा-एल-लाई “साँचो परमेश्‍वर” भनेर अनुवाद गरिएको छ। यहोवा अन्य झूटा देवताभन्दा फरक हुनुहुन्छ र उहाँ मात्र साँचो परमेश्‍वर हुनुहुन्छ भनेर बुझाउन थुप्रै पदमा यी अभिव्यक्‍तिहरू चलाइएको छ। “साँचो परमेश्‍वर” भन्‍ने अभिव्यक्‍तिले हिब्रू शब्दहरूको पूरा अर्थ दिन्छ।—उत्प ५:२२; ४६:३; व्य ४:३९.

  • साक्षीपाटी:

    “साक्षीपाटी”-ले अक्सर मोसालाई दिइएको दस आज्ञा लेखिएको ढुङ्‌गाका दुई वटा पाटीलाई बुझाउँछ।—प्रस्थ ३१:१८.

  • सामरिया:

    लगभग २०० वर्षसम्म यो सहर इस्राएलको उत्तरी दस-गोत्रे राज्यको राजधानी थियो। दस-गोत्रे राज्यको सम्पूर्ण इलाकालाई पनि सामरिया नै भनिन्थ्यो। उक्‍त सहर सामरिया नामकै एउटा डाँडामा बसालिएको थियो। येसुको समयमा एउटा रोमी प्रान्तको नाम पनि सामरिया नै थियो, जसको उत्तरमा गालिल पर्थ्यो र दक्षिणमा यहुदिया पर्थ्यो। येसुले यस प्रान्तमा प्रचार गर्नुभएन तर यो प्रान्त भएर यात्रा गर्नुहुँदा उहाँले त्यहाँका बासिन्दाहरूलाई साक्षी दिनुभएको थियो। पत्रुसले राज्यको दोस्रो प्रतीकात्मक साँचो प्रयोग गर्दा सामरियाका मानिसहरूले पवित्र शक्‍ति पाएका थिए। (१रा १६:२४; युह ४:७; प्रे ८:१४)—अतिरिक्‍त लेख ख१० हेर्नुहोस्‌।

  • सामरियाली:

    सुरुमा उत्तरी दस-गोत्रे राज्यका इस्राएलीहरूलाई सामरियाली भनिन्थ्यो। तर ईसापूर्व ७४० मा अस्सेरियालीहरूले सामरियामाथि कब्जा जमाएपछि तिनीहरूले थुप्रै विदेशीलाई त्यहाँ ल्याए र उनीहरूलाई पनि सामरियाली भन्‍न थालियो। येसुको समयमा कुनै जाति वा राष्ट्रका मानिसहरूलाई नभई पुरातन सकेम र सामरिया वरपरका इलाकाहरूमा बसोबास गर्ने एउटा धार्मिक गुटलाई सामरियाली भनिन्थ्यो। यस गुटको केही शिक्षा यहुदी धर्मको शिक्षाभन्दा बिलकुलै फरक थियो।—युह ८:४८.

  • सिङ:

    जनावरको सिङ, जुन पानी, तेल, मसी अनि श्रृङ्‌गारका चिजबिज राख्न प्रयोग गरिन्थ्यो; साथै यो बाजाको रूपमा वा सङ्‌केत ध्वनि फुक्न पनि प्रयोग गरिन्थ्यो। (१स १६:१, १३; १रा १:३९; इज ९:२) बाइबलमा  “सिङ” भन्‍ने शब्द अक्सर बल, जित वा विजय बुझाउन प्रयोग भएको छ।—व्य ३३:१७; मिका ४:१३; जक १:१९.

  • सिजर:

    एउटा रोमी परिवारको नाम, जुन पछि गएर रोमी सम्राट्‌हरूको उपाधि बन्यो। बाइबलमा रोमी सिजरहरू अगस्तस, टाइबेरियस अनि क्लौडियसको नाम उल्लेख गरिएको छ। बाइबलमा नेरोको नाम भने उल्लेख गरिएको छैन तर तिनलाई पनि सिजर भनिएको छ। ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा सरकार वा राष्ट्रलाई बुझाउन पनि “सिजर” प्रयोग गरिएको छ।—मर्कु १२:१७; प्रे २५:१२.

  • सिजरको अङ्‌गरक्षक दल:

    रोमी सम्राट्‌को सुरक्षाको लागि खटाइएका रोमी सिपाहीहरूको एउटा दल। पछि गएर यो दल यत्ति शक्‍तिशाली भयो कि सम्राट्‌लाई समर्थन गर्ने वा सम्राट्‌लाई पदबाट हटाउने भन्‍ने कुरा उनीहरूकै हातमा हुन्थ्यो।—फिलि १:१३.

  • सियोन; सियोन डाँडा:

    यबुसीहरूको पर्खालले घेरिएको सहर यबुसको अर्को नाम, जुन यरुसलेमको दक्षिण-पूर्वी डाँडामा बसालिएको थियो। दाउदले त्यस सहरमाथि विजय हासिल गरेपछि त्यहाँ आफ्नो महल बनाए र त्यस सहरलाई दाउदनगर भन्‍ने नाम दिइयो। (२स ५:७, ९) दाउदले करारको सन्दुक सियोनमा सारेपछि यहोवाको नजरमा त्यो डाँडा पवित्र ठहरियो। पछि गएर मोरियाह डाँडामा बनाइएको मन्दिरको इलाकालाई पनि सियोन भन्‍न थालियो अनि कहिलेकाहीँ त पूरै यरुसलेम सहरलाई पनि सियोन भनिन्थ्यो। ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा यसको चर्चा प्रतीकात्मक अर्थमा गरिएको छ।—भज २:६; १प २:६; प्रका १४:१.

  • सिरटिस:

    उत्तर अफ्रिकाको लिबियाको तटमा पर्ने गहिराइ कम भएको दुई वटा ठूलठूला खाडी। पुरातन समयमा नाविकहरू त्यहाँ जान डराउँथे किनकि पानीमुनि बालुवाको दलदल थियो र छाल उर्लेर आउँदा त्यो भासिंदै जान्थ्यो। (प्रे २७:१७)—अतिरिक्‍त लेख ख१३ हेर्नुहोस्‌।

  • सिरिया; सिरियाली:

    अराम; अरामी हेर्नुहोस्‌।

  • सिलाबाला बटुल्नु:

    जानाजानी वा अनजानमा खेतालाहरूले छोडेका अन्‍न बटुल्नु। मोसाको व्यवस्थामा खेतको कुनाकुनासम्म बाली नकाट्‌न अथवा जैतुन वा अङ्‌गुर टिप्दा बोट निख्रनेगरि नटिप्न निर्देशन दिइएको थियो। कटनी सकिएपछि गरिबहरू, दुःखमा परेकाहरू, विदेशीहरू, अनाथहरू र विधवाहरूले खेतमा सिलाबाला बटुल्न पाउँथे किनकि यो यहोवाले तिनीहरूलाई दिनुभएको अधिकार थियो।—रुथ २:७.

  • सीवान:

    बेबिलोनको निर्वासनबाट फर्केपछि यहुदीहरूको धार्मिक क्यालेन्डरको तेस्रो महिना र कृषि क्यालेन्डरको नवौँ महिना। यो महिना मेको बीचदेखि सुरु भएर जूनको बीचसम्म चल्थ्यो। (एस्त ८:९)—अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

  • सुइरो:

    एकापट्टि धातुको तीखो टुप्पो भएको लामो लौरो। यो किसानहरूले जनावरलाई घोच्न प्रयोग गर्थे। बुद्धिमानी कदम चाल्न उत्प्रेरित गर्ने बुद्धिमान्‌ मानिसको बोलीलाई सुइरोसित तुलना गरिएको छ। किसानले अटेरी गोरुलाई सुइरोले बारम्बार घोच्दा त्यस गोरुले सुइरोलाई नै लात हान्छ र आफैलाई चोट पुऱ्‍याउँछ; अटेरी गोरुले देखाउने त्यस्तो हठी स्वभावबाटै बाइबलमा प्रयोग गरिएको ‘सुइरोमा लात हिर्काउनु’ भन्‍ने उखान बनेको हो।—प्रे २६:१४; न्या ३:३१.

  • सुलेमान दलान:

    येसुको समयमा मन्दिरको बाहिरी चोकको पूर्वमा छाना भएको दलान। यो सुलेमानको मन्दिरको बाँकी भाग हो भनेर विश्‍वास गरिन्थ्यो। येसु “हिउँदको बेला” त्यहाँ टहल्नुहुन्थ्यो अनि सुरु-सुरुका ख्रिष्टियनहरू उपासनाको लागि त्यहाँ भेला हुन्थे। (युह १०:२२, २३; प्रे ५:१२)—अतिरिक्‍त लेख ख११ हेर्नुहोस्‌।

  •  सुसमाचार:

    ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा यसले परमेश्‍वरको राज्यको सुसमाचार अनि येसु ख्रिष्टमाथि विश्‍वास गरेको खण्डमा पाइने उद्धारको सुसमाचारलाई बुझाउँछ।—लुका ४:१८, ४३; प्रे ५:४२; प्रका १४:६.

  • सेआ:

    ठोस पदार्थको नाप। एक सेआ ७.३३ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। (२रा ७:१)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • सेतो धूप:

    बोसवेलिया प्रजातिको कुनै-कुनै रूख वा बोटबिरुवाबाट निस्कने चोप। यस चोपलाई सुकाएर बाल्दा यसबाट मीठो बास्ना निस्कन्थ्यो। वासस्थान र पछि मन्दिरमा बालिने पवित्र धूप बनाउन यो पनि प्रयोग गरिन्थ्यो। यो धूप अन्‍नभेटीसँगै चढाइन्थ्यो र पवित्र कोठामा भएको भेटीको रोटीको दुवै चाङमाथि राखिन्थ्यो।—प्रस्थ ३०:३४-३६; लेवी २:१; २४:७; मत्ति २:११.

  • सेमिनिथ:

    सङ्‌गीतसित सम्बन्धित शब्द, जसको शाब्दिक अर्थ हो, “आठौँ।” यसले सङ्‌गीतको तल्लो सुरलाई सङ्‌केत गर्छ। बाजागाजाको सन्दर्भमा यस शब्दले तल्लो सुरमा धुन निकाल्ने वाद्य-यन्त्रलाई बुझाएको हुन सक्छ। गीतको सन्दर्भमा भने यसले तल्लो सुरमा वाद्य-यन्त्रहरू बजाएर गीत गाउनुलाई सङ्‌केत गर्छ।—१इ १५:२१; भज ६:परि; १२:परि.

  • सेला:

    सङ्‌गीतसित वा कविता सुनाउनुसित सम्बन्धित एक प्राविधिक शब्द, जुन भजनसङ्‌ग्रह र हबकुकको किताबमा पाइन्छ। यसले मनन गर्न वा सङ्‌गीतमा व्यक्‍त गरिएको भावमा ध्यान दिन सकियोस्‌ भनेर धुन वा गीत अथवा दुवै एकछिन रोक्नुलाई बुझाउँछ। ग्रीक सेप्टुआजिन्ट-मा यसलाई डाएसामा भनिएको छ, जसको अर्थ गीत रोकेर धुन मात्र बजाउनु हो।—भज ३:४; हब ३:३.

  • सैतान:

    यो नाम “विरोधी” भन्‍ने अर्थ दिने हिब्रू शब्दबाट आएको हो। सैतान परमेश्‍वरको प्रमुख शत्रु हो। त्यसलाई दियाबल पनि भनिएको छ।—अयु १:६; मत्ति ४:१०; प्रका १२:९.

  • स्तोइकवादी दार्शनिकहरू:

    ग्रीक दार्शनिकहरूको एउटा दल; तिनीहरू समझ चलाएर काम गर्ने र प्रकृतिको नियमअनुसार चल्ने मानिस सुखी रहन्छ भनेर विश्‍वास गर्थे। साथै तिनीहरू जसलाई सुख वा दुःखले केही फरक पार्दैन, ऊ नै बुद्धिमान्‌ हो भन्ठान्थे।—प्रे १७:१८.

  • स्वतन्त्र मानिस; स्वतन्त्र पारिएको मानिस:

    रोमी शासनको बेला, जन्मैदेखि स्वतन्त्र भएको र रोमी नागरिकले पाउने सबै अधिकार पाएको मानिसलाई “स्वतन्त्र मानिस” भनिन्थ्यो। अर्कोतर्फ दासत्वबाट मुक्‍त भएको मानिसलाई चाहिँ “स्वतन्त्र पारिएको मानिस” भनिन्थ्यो। यदि त्यस मानिसलाई नियमअनुसारै मुक्‍त गरिएको हो भने उसले रोमी नागरिकता पाउँथ्यो तर कुनै पनि राजनैतिक गतिविधिमा भाग लिन भने पाउँदैनथ्यो। तर त्यस मानिसलाई नियमअनुसार मुक्‍त गरिएको होइन भने ऊ स्वतन्त्र भए तापनि रोमी नागरिकले पाउने सबै अधिकार पाउँदैनथ्यो।—१को ७:२२.

  • स्वर्गकी रानी:

    यर्मियाको समयमा धर्मत्यागी इस्राएलीहरूले पुज्ने गरेको एक देवीको उपाधि। कसै-कसैको भनाइअनुसार यस देवीले बेबिलोनीहरूले पुज्ने देवी इश्‍तारलाई (अस्तारते) बुझाउँछ। पुरातन सुमेरी सभ्यतामा यही देवीजस्तै अर्की देवी इनानालाई पुज्ने गरिन्थ्यो, जसको नामको अर्थ हो, “स्वर्गकी रानी।” साथै यस देवीलाई प्रजनन देवी पनि भनिन्थ्यो। मिश्रको एउटा शिलालेखमा अस्तारतेलाई “स्वर्गकी मालिक्नी” पनि भनिएको छ।—यर्मि ४४:१९.

  • स्वर्गदूतहरू:

    यो हिब्रू शब्द मा-लाख्‌ र ग्रीक शब्द एज-जेलोस-बाट आएको हो। यी दुवै शब्दको शाब्दिक अर्थ “सन्देशवाहक” हो तर बाइबलमा स्वर्गबाट आएका सन्देशवाहकहरूलाई  बुझाउन चाहिँ “स्वर्गदूत” शब्द चलाइएको छ। (उत्प १६:७; ३२:३; या २:२५; प्रका २२:८) स्वर्गदूतहरू शक्‍तिशाली अदृश्‍य प्राणीहरू हुन्‌ र परमेश्‍वरले तिनीहरूलाई मानिस सृष्टि गर्नुभन्दा धेरै अघि नै सृष्टि गर्नुभएको थियो। बाइबलमा तिनीहरूलाई “लाखौँ-लाख पवित्र स्वर्गदूत,” “परमेश्‍वरका छोराहरू” र “बिहानका ताराहरू” पनि भनिएको छ। (व्य ३३:२; अयु १:६; ३८:७) तिनीहरूलाई सन्तान जन्माउने क्षमतासहित सृष्टि गरिएको थिएन; तिनीहरू प्रत्येकलाई परमेश्‍वरले नै बनाउनुभएको थियो। तिनीहरू करोडौँको सङ्‌ख्यामा छन्‌। (दा ७:१०) बाइबलमा बताइएअनुसार तिनीहरू प्रत्येकको आ-आफ्नै नाम छ र व्यक्‍तित्व पनि फरक-फरक छ। तर तिनीहरू नम्र छन्‌; मानिसहरूले तिनीहरूको उपासना गर्न खोज्दा तिनीहरूले इन्कार गरे अनि कतिपयले त आफ्नो नामसमेत खुलाएनन्‌। (उत्प ३२:२९; लुका १:२६; प्रका २२:८, ९) तिनीहरूको ओहदा फरक-फरक छ र तिनीहरूलाई विभिन्‍न जिम्मेवारी दिइएको छ। जस्तै: यहोवाको सिंहासनअगाडि सेवा गर्ने, उहाँको सन्देश सुनाउने, पृथ्वीमा रहेका परमेश्‍वरका जनहरूको पक्षमा कदम चाल्ने, परमेश्‍वरको न्याय कार्यान्वयन गर्ने र सुसमाचार प्रचारकार्यमा साथ दिने। (२रा १९:३५; भज ३४:७; लुका १:३०, ३१; प्रका ५:११; १४:६) साथै आउनै लागेको आरमागेडोनको युद्धमा तिनीहरूले येसुसँगै मिलेर युद्ध गर्नेछन्‌।—प्रका १९:१४, १५.

  • स्वर्ण वर्ष:

    इस्राएलीहरू प्रतिज्ञा गरिएको देशमा पुगेको दिनदेखिको प्रत्येक ५० औँ वर्षलाई स्वर्ण वर्ष भनिन्थ्यो। त्यस वर्षभरि जमिन बाँझै छोड्‌नुपर्थ्यो अनि हिब्रू दासहरूलाई पनि स्वतन्त्र गर्नुपर्थ्यो। साथै इस्राएलीहरूले पहिला बेचिसकेको पुर्ख्यौली जमिन त्यो वर्ष फिर्ता पाउँथ्यो। स्वर्ण वर्ष एक अर्थमा वर्षभरि मनाइने चाड थियो; त्यो छुटकाराको चाड थियो। परमेश्‍वरले इस्राएल राष्ट्रको स्थापना गर्नुहुँदा त्यो राष्ट्र जस्तो अवस्थामा थियो, स्वर्ण वर्षमा पूरै राष्ट्र फेरि त्यस्तै अवस्थामा पुनर्स्थापित हुन्थ्यो।—लेवी २५:१०.

  • हर्मेस:

    ग्रीकहरूको एउटा देव, जो ज्युस देवका छोरा थिए। हर्मेसलाई देवताहरूको दूत र बोल्नमा सिपालु देवता मानिने भएकोले लिस्त्राका मानिसहरूले पावललाई हर्मेस देवता भन्ठाने।—प्रे १४:१२.

  • हात राख्नु:

    कुनै मानिसलाई विशेष कामको लागि नियुक्‍त गर्दा, आशिष्‌ दिँदा, निको पार्दा वा पवित्र शक्‍तिको कुनै वरदान दिँदा तिनीमाथि हात राख्ने गरिन्थ्यो। कहिलेकाहीँ कुनै जनावर बलि चढाउनुअघि पनि त्यसमाथि हात राखिन्थ्यो।—प्रस्थ २९:१५; गन २७:१८; प्रे १९:६; १ति ५:२२.

  • हात:

    लम्बाइ वा दूरीको नाप। एक हात भनेको कुइनादेखि माझी औँलाको टुप्पोसम्मको लम्बाइ हो। इस्राएलीहरू साधारणतया ४४.५ सेन्टिमिटरलाई एक हात मान्थे। तर तिनीहरू लामो हातको नाप पनि प्रयोग गर्थे, जुन चार अङ्‌गुल बढी लामो हुन्थ्यो। लामो हात लगभग ५१.८ सेन्टिमिटर हुन्थ्यो। (उत्प ६:१५; लुका १२:२५)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • हारुनका छोराहरू:

    लेविका नाति हारुनका सन्तान। मोसाको व्यवस्थाअनुसार हारुनलाई पहिलो प्रधानपुजारीको रूपमा नियुक्‍त गरिएको थियो। हारुनका छोराहरू पुजारीको रूपमा वासस्थान र पछि मन्दिरमा सेवा गर्थे।—१इ २३:२८.

  • हिग्गायोन:

    सङ्‌गीत निर्देशनसित सम्बन्धित प्राविधिक शब्द। भजनसङ्‌ग्रह ९:१६ मा यो शब्दलाई जुन तरिकामा प्रयोग गरिएको छ, त्यसलाई विचार गर्दा यसले भजन बीचमै  रोकेर वीणामा तल्लो सुरमा धुन बजाउने कुरालाई अथवा मननको लागि भजन बीचमै रोक्ने कुरालाई सङ्‌केत गरेको हुन सक्छ।

  • हिन:

    तरल पदार्थको नाप वा त्यस नापको भाँडो। यो ३.६७ लिटरबराबर हुन्थ्यो। (प्रस्थ २९:४०)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • हिब्रू:

    सबैभन्दा पहिला अब्रामलाई (अब्राहाम) दिइएको नाम; वरपर बस्ने एमोरीहरूबाट अलग्गै छुट्ट्याउन तिनलाई यो नाम दिइएको थियो। पछि अब्राहामको नाति याकुबबाट सुरु भएको वंशलाई अनि तिनीहरूको भाषालाई पनि हिब्रू भन्‍न थालियो। येसुको समयसम्ममा हिब्रू भाषामा अरामी भाषाका थुप्रै शब्द चलाउन थालिसकिएको थियो अनि येसु ख्रिष्ट र उहाँका चेलाहरूले पनि यही भाषा बोल्थे।—उत्प १४:१३; प्रस्थ ५:३; प्रे २६:१४.

  • हिसप:

    हाँगा र पात मसिनो हुने एक किसिमको बोट, जुन शुद्ध पार्ने विधिको बेला रगत वा पानी छर्कन प्रयोग गरिन्थ्यो। बाइबलमा हिसप भनेर अनुवाद गरिएको हिब्रू र ग्रीक शब्दले विभिन्‍न किसिमको बोटलाई बुझाउन सक्छ। युहन्‍ना १९:२९ मा उल्लेख गरिएको “हिसप” भने अग्लो किसिमको बोट हुन सक्छ, जसको डाँठ लामो हुन्थ्यो। त्यसैले दाखमद्य चोपेको स्पन्जलाई डाँठमा अड्‌काएर येसुको मुखसम्म पुऱ्‍याउन सम्भव भएको हुन सक्छ।—प्रस्थ १२:२२; भज ५१:७.

  • हेडिज:

    यो ग्रीक शब्द र हिब्रू शब्द “शिओल” दुवैलाई “चिहान” भनेर अनुवाद गरिएको छ। यसले मृत्युपछि सबै जना जानै पर्ने चेतनाहीन र निष्क्रिय अवस्थालाई बुझाउँछ।—चिहान हेर्नुहोस्‌।

  • हेरोद:

    रोमी सरकारले यहुदीहरूमाथि नियुक्‍त गरेको शाही घरानाको नाम। त्यस घरानाको एक जना शासक महान्‌ हेरोदले यरुसलेमको मन्दिर पुनर्निर्माण गरेर ख्याति कमाएका थिए अनि येसुको अस्तित्व मेटाउन बालकहरूको हत्या गर्न आदेश दिएका थिए। (मत्ति २:१६; लुका १:५) तिनका छोराहरू हेरोद अर्खिलाउस र हेरोद एन्टिपासलाई आफ्नो बुबाले पाएको राज्यको केही भागमा मात्र शासन गर्न दिइयो। (मत्ति २:२२) एन्टिपास प्रान्तीय शासक थिए तर तिनी “राजा” भनेर चिनिन्थे। तिनले येसुको साढे तीन वर्ष लामो सेवाको दौडान अनि प्रेषित १२ अध्यायमा उल्लेख गरिएका घटनाहरू भएको समयसम्म शासन गरे। (मर्कु ६:१४-१७; लुका ३:१, १९, २०; १३:३१, ३२; २३:६-१५; प्रे ४:२७; १३:१) त्यसपछि महान्‌ हेरोदका पनाति हेरोद अग्रिपा प्रथमले शासन गर्न थाले। तर केही समय बित्न नपाउँदै परमेश्‍वरका स्वर्गदूतले उनलाई प्रहार गरे र उनको मृत्यु भयो। (प्रे १२:१-६, १८-२३) त्यसपछि उनका छोरा हेरोद अग्रिपा द्वितीयले शासन गर्न थाले तर यहुदीहरूले रोमको विद्रोह गरेपछि तिनको शासनको अन्त भयो।—प्रे २३:३५; २५:१३, २२-२७; २६:१, २, १९-३२.

  • हेरोदवादीहरू:

    तिनीहरूलाई हेरोदीहरू पनि भनिन्छ। तिनीहरू राष्ट्रवादी थिए, जसले रोमी सरकारको अधीनमा बसेर शासन गरिरहेका हेरोदहरूको राजनैतिक लक्ष्यलाई समर्थन गर्थे। यस गुटमा केही सदुकी पनि थिए। येसुको विरोध गर्न हेरोदीहरूले फरिसीहरूलाई साथ दिएका थिए।—मर्कु ३:६.

  • होमेर:

    ठोस पदार्थको नाप, जुन कोरबराबर थियो। यसको परिमाण २२० लिटरको भाँडोमा अटाउने जतिको हुन्थ्यो। यसलाई बाथमा नापेर दिइन्थ्यो। (लेवी २७:१६)—अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

  • होरेब; होरेब डाँडा:

    सिनै डाँडा वरपरको पहाडी इलाका। यो सिनै डाँडाको अर्को नाम थियो। (प्रस्थ ३:१; व्य ५:२)—अतिरिक्‍त लेख ख३ हेर्नुहोस्‌।