उत्पत्ति २६:१-३५

  • इसहाक र रिबेका गेरारमा (१-११)

    • परमेश्‍वर इसहाकसित आफ्नो प्रतिज्ञा पक्का गर्नुहुन्छ (३-५)

  • इनारको विषयमा झगडा (१२-२५)

  • इसहाक अबिमेलेकसित करार गर्छन्‌ (२६-३३)

  • एसावका दुई जना हित्ती पत्नी (३४, ३५)

२६  कनानमा फेरि अनिकाल पऱ्‍यो। यसअघि अब्राहामको समयमा पहिलो पटक अनिकाल परेको थियो।+ त्यसैले इसहाक गेरारमा पलिस्तियालीहरूका राजा अबिमेलेककहाँ गए। २  यहोवा परमेश्‍वर इसहाककहाँ प्रकट हुनुभयो र भन्‍नुभयो: “मिश्रतिर नझर। मैले भनेकै ठाउँमा बस। ३  यस देशमा प्रवासी भएर बस।+ म तिमीसँगै हुन्छु र तिमीलाई आशिष्‌ दिन्छु किनभने यो सम्पूर्ण इलाका म तिमी र तिम्रो सन्तानलाई नै दिनेछु।+ अनि तिम्रो बुबा अब्राहामसित खाएको यो शपथ म पूरा गर्नेछु:+ ४  ‘म तिम्रा सन्तानलाई आकाशका ताराजत्तिकै बढाउनेछु+ र तिनीहरूलाई म यो सबै इलाका दिनेछु।+ तिम्रा सन्तानद्वारा पृथ्वीका सबै जातिले आशिष्‌ पाउनेछन्‌।’+ ५  किनभने अब्राहामले मेरो कुरा सुने, मैले चाहेको कुरा गरे र मेरा आज्ञा, नियम अनि व्यवस्था पालन गरे।”+ ६  यसैकारण इसहाक गेरारमै बसे।+ ७  त्यस ठाउँका मानिसहरूले आफ्नी पत्नीबारे सोधपुछ गर्दा तिनी यसो भन्थे: “उनी मेरी बहिनी हुन्‌।”+ रिबेका राम्री थिइन्‌; त्यसैले “उनी मेरी पत्नी हुन्‌” भन्‍न तिनी डराउँथे। “यहाँका मानिसहरूले रिबेका मेरी पत्नी हुन्‌ भन्‍ने थाह पाए भने मलाई मार्छन्‌” भन्‍ने तिनलाई लाग्थ्यो।+ ८  तर केही समयपछिको कुरा हो, पलिस्तियालीहरूका राजा अबिमेलेकले झ्यालबाट हेर्दा इसहाकले आफ्नी पत्नी रिबेकालाई माया* गरिरहेको देखे।+ ९  अबिमेलेकले तुरुन्तै इसहाकलाई बोलाए र भने: “उनी त तिम्री पत्नी पो रहेछिन्‌! तिमीले किन ‘मेरी बहिनी हुन्‌’ भन्यौ?” इसहाकले यस्तो जवाफ दिए: “उनले गर्दा मेरो ज्यान जाला भनेर मलाई डर लागेको थियो।”+ १०  तर अबिमेलेकले भने: “तिमीले यो के गऱ्‍यौ?+ तिम्री पत्नीसित हाम्रा मानिसहरूमध्ये कोही सुतेको भए हामीलाई ठूलो दोष लाग्ने थियो।”+ ११  त्यसपछि अबिमेलेकले आफ्नो प्रजालाई यस्तो आज्ञा दिए: “जसले यी पुरुष र यिनकी पत्नीलाई छुन्छ, त्यो निश्‍चय मारिनेछ।” १२  अनि इसहाकले त्यस ठाउँको जमिनमा बिउ छरे र त्यो वर्ष तिनले आफूले छरेको भन्दा १०० गुणा धेरै कटनी गरे। किनभने यहोवा परमेश्‍वरले तिनलाई आशिष्‌ दिनुभएको थियो।+ १३  इसहाक धनी भए र तिनको झन्‌झन्‌ फलिफाप हुँदै गयो। १४  तिनका भेडा, गाईवस्तु र नोकरचाकर प्रशस्त भए।+ यो देखेर पलिस्तियालीहरूले तिनको डाह गर्न थाले। १५  त्यसैले अब्राहामले आफ्ना नोकरहरूलाई खन्‍न लगाएका सबै इनार पलिस्तियालीहरूले माटोले पुरिदिए।+ १६  अनि अबिमेलेकले इसहाकलाई भने: “तिमी हाम्रो इलाकाबाट निस्केर जाऊ किनभने तिमी हामीभन्दा धेरै शक्‍तिशाली भएका छौ।” १७  त्यसैले त्यहाँबाट निस्केर इसहाकले गेरार बेँसीमा*+ पाल गाडे र त्यहीँ बस्न थाले। १८  अनि आफ्नो बुबा अब्राहामले बनाउन लगाएका इनारहरू इसहाकले फेरि खन्‍न थाले । किनभने पलिस्तियालीहरूले अब्राहामको मृत्युपछि ती पुरिदिएका थिए।+ अनि अब्राहामले ती इनारको जे-जे नाम राखेका थिए, इसहाकले पनि त्यही-त्यही राखे।+ १९  इसहाकका नोकरहरूले बेँसीमा* इनार खन्दै जाँदा सफा पानीको मूल भेट्टाए। २०  अनि गेरारका गोठालाहरू इसहाकका गोठालाहरूसित यसो भन्दै झगडा गर्न थाले: “यो पानी हाम्रो हो!” तिनीहरूले इसहाकसित झगडा गरेको हुनाले तिनले त्यस इनारको नाम एसेक* राखे। २१  त्यसपछि तिनीहरूले अर्को इनार खन्‍न थाले तर गेरारका गोठालाहरू तिनीहरूसित फेरि झगडा गर्न आए। यसकारण तिनले त्यस इनारको नाम सित्नाह* राखे। २२  पछि इसहाक त्यहाँबाट सरे र तिनले अर्को इनार खन्‍न लगाए। यसपालि भने गेरारका गोठालाहरू झगडा गर्न आएनन्‌। त्यसैले तिनले त्यस इनारको नाम रेहोबोथ* राखे र यसो भने: “यहोवा परमेश्‍वरले हामीलाई प्रशस्त ठाउँ दिनुभएको छ र यस ठाउँमा हाम्रो फलिफाप गराउनुभएको छ।”+ २३  त्यसपछि त्यहाँबाट तिनी बेर्सेबातिर+ उक्ले। २४  त्यो रात यहोवा परमेश्‍वर तिनीकहाँ प्रकट हुनुभयो र भन्‍नुभयो: “म तिम्रा बुबा अब्राहामका परमेश्‍वर हुँ।+ नडराऊ!+ किनभने म तिमीसँग छु। मेरो दास अब्राहामको खातिर म तिमीलाई आशिष्‌ दिन्छु र तिम्रा सन्तान धेरै हुनेछन्‌।”+ २५  त्यसैले तिनले त्यहाँ एउटा वेदी बनाए र यहोवा परमेश्‍वरको नाम पुकारे।*+ इसहाकले त्यहाँ आफ्नो पाल टाँगे+ र तिनका नोकरहरूले त्यहीँ इनार खने। २६  एकदिन अबिमेलेक गेरारबाट आफ्ना सल्लाहकार अहुज्जाथ र सेनापति फिकोललाई लिएर इसहाकलाई भेट्‌न आए।+ २७  इसहाकले तिनीहरूलाई भने: “तपाईँहरूले मलाई घृणा गरेर धपाउनुभएको होइन? अब फेरि किन मलाई भेट्‌न आउनुभएको?” २८  तिनीहरूले भने: “यहोवा परमेश्‍वर तपाईँसँग हुनुहुँदो रहेछ भनेर अब हामीले राम्ररी थाह पायौँ।+ त्यसैले हामीले तपाईँलाई यसो भन्‍ने सल्लाह गऱ्‍यौँ: ‘हामीसित शान्ति-सम्झौता गर्नुहोस्‌ अनि हामीसित एउटा करार गर्नुहोस्‌।+ २९  जसरी हामीले तपाईँलाई हानि गरेनौँ, त्यसरी नै तपाईँले पनि हामीलाई हानि गर्नुहुनेछैन। किनकि हामीले तपाईँलाई शान्तिसित जान दिएर तपाईँको भलो चितायौँ। अनि तपाईँले यहोवा परमेश्‍वरको आशिष्‌ पाउनुभएको छ भनेर हामी स्वीकार गर्छौँ।’” ३०  त्यसपछि इसहाकले तिनीहरूको लागि भोज तयार पारे अनि तिनीहरूले खानपिन गरे। ३१  तिनीहरू बिहान सबेरै उठे र इसहाकसित शपथ खाए।+ त्यसपछि इसहाकले तिनीहरूलाई बिदा गरे र तिनीहरू शान्तपूर्वक आफ्नो बाटो लागे। ३२  त्यही दिन इसहाकका नोकरहरू आएर तिनलाई आफूहरूले खनेको इनारबारे खबर गरे+ र भने: “हामीले पानी भेट्टायौँ!” ३३  इसहाकले त्यस इनारको नाम सिबाह* राखे। यसकारण त्यस सहरलाई अहिले पनि बेर्सेबा*+ भनिन्छ। ३४  एसाव ४० वर्षको हुँदा तिनले हित्ती बिरिकी छोरी युदिथ र हित्ती एलोनकी छोरी बास्मथसित विवाह गरे।+ ३५  आफ्ना बुहारीहरूले गर्दा इसहाक र रिबेकाको जीवन अमिलो भयो।+

फुटनोटहरू

वा “अङ्‌कमाल।”
वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।
वा “वादीमा।”
यसको अर्थ हो, “विवाद।”
यसको अर्थ हो, “दोष लगाउनु।”
यसको अर्थ हो, “फराकिलो ठाउँ।”
वा “यहोवा परमेश्‍वरको महिमा गरे।”
यसको अर्थ हो, “शपथ; सात।”
यसको अर्थ हो, “शपथको इनार; सातको इनार।”