उत्पत्ति २१:१-३४

  • इसहाकको जन्म (१-७)

  • इस्माएल इसहाकको खिसी गर्छन्‌ (८, ९)

  • हागार र इस्माएललाई निकालिन्छ (१०-२१)

  • अब्राहाम अबिमेलेकसित करार गर्छन्‌ (२२-३४)

२१  आफूले भनेअनुसारै यहोवा परमेश्‍वरले सारालाई सम्झनुभयो। यहोवा परमेश्‍वरले साराको विषयमा जुन प्रतिज्ञा गर्नुभएको थियो, त्यो पूरा गर्नुभयो।+ २  सारा गर्भवती भइन्‌+ र अब्राहाम वृद्ध भइसकेको भए तापनि परमेश्‍वरले तोक्नुभएकै समयमा साराले अब्राहामबाट एउटा छोरा जन्माइन्‌।+ ३  साराबाट जन्मिएको छोराको नाम अब्राहामले इसहाक राखे।+ ४  अनि इसहाक आठ दिनको हुँदा अब्राहामले परमेश्‍वरको आज्ञाबमोजिम उसको खतना* गरे।+ ५  इसहाक जन्मँदा अब्राहाम १०० वर्षका थिए। ६  त्यतिखेर साराले यसो भनिन्‌: “परमेश्‍वरले मलाई रमाउने कारण दिनुभएको छ। अब ज-जसले मेरो बारेमा सुन्छन्‌, तिनीहरू पनि मसँगसँगै रमाउनेछन्‌।”* ७  उनले अझै यसो भनिन्‌: “‘अब्राहामकी पत्नी साराले आफ्नै लालाबालालाई दूध चुसाउनेछिन्‌’ भनेर कसले सोचेको थियो होला र? तैपनि उहाँको बुढेसकालमा मैले उहाँको निम्ति छोरा जन्माएँ।” ८  बालक इसहाक हुर्कँदै गयो र उसलाई दूध छुटाइयो। दूध छुटाइएको दिन अब्राहामले ठूलो भोज दिए। ९  मिश्री हागारबाट+ जन्मिएको अब्राहामको छोराले इसहाकको खिसी गरेको साराले याद गरिरहेकी थिइन्‌।+ १०  त्यसैकारण उनले अब्राहामलाई भनिन्‌: “त्यो दासी र त्यसको छोरालाई घरबाट निकालिदिनुहोस्‌। किनकि त्यसको छोरा मेरो छोरा इसहाकसँग बराबरको हकवाला बन्‍न पाउनेछैन!”+ ११  छोरा इस्माएलबारे साराले भनेको कुरा अब्राहामलाई पटक्कै चित्त बुझेन।+ १२  तर परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो: “त्यो ठिटो र तिम्री दासीबारे साराले भनेको कुरामा नमीठो नमान। साराको कुरा सुन किनकि तिमीलाई प्रतिज्ञा गरिएको सन्तान इसहाकबाटै आउनेछ।+ १३  तर तिम्री दासीबाट+ जन्मिएको छोराबाट पनि म एउटा जाति बनाउनेछु+ किनकि ऊ पनि तिम्रै छोरा हो।” १४  त्यसैले अब्राहाम बिहान सबेरै उठे र हागारलाई रोटी र एक मशक* पानी दिए। यी सामानहरू हागारको काँधमा बोकाएर अब्राहामले तिनी र तिनको छोरालाई पठाइदिए।+ अनि हागार त्यहाँबाट हिँडिन्‌ र बेर्सेबाको निर्जनभूमिमा भौँतारिन थालिन्‌।+ १५  मशकको पानी रित्तिएपछि हागारले आफ्नो छोरालाई झाडीमुनि छोडिदिइन्‌। १६  अनि अलि पर* गएर यसरी बिलौना गर्न थालिन्‌: “मेरो छोरा मरेको म हेर्न सक्दिनँ।” त्यसपछि तिनी डाँको छोडेर रुन थालिन्‌। १७  तब परमेश्‍वरले त्यो ठिटो रोइरहेको सुन्‍नुभयो+ अनि स्वर्गबाट परमेश्‍वरको दूतले हागारलाई सोधे: “ए हागार, तिमी किन रोइरहेकी छ्यौ?+ नडराऊ! किनकि त्यो ठिटो बसिरहेको ठाउँबाटै परमेश्‍वरले उसको स्वर सुन्‍नुभएको छ। १८  उठ! गएर ठिटोलाई उठाऊ र उसको राम्ररी हेरविचार गर! म ऊबाट एउटा ठूलो जाति बनाउनेछु।”+ १९  त्यसपछि परमेश्‍वरले हागारको आँखा खोलिदिनुभयो र तिनले एउटा इनार देखिन्‌। तिनी इनारमा गइन्‌ र मशकमा पानी भरेर छोरालाई खुवाइन्‌। २०  अनि त्यो ठिटो+ हुर्कँदै जाँदा परमेश्‍वरको निगाह त्यसमाथि रह्‍यो। ऊ धनुर्धारी बन्यो र निर्जनभूमिमा बस्न थाल्यो। २१  ऊ पारान भनिने निर्जनभूमिमा बस्थ्यो+ र उसकी आमाले उसको लागि मिश्र देशबाट पत्नी खोजेर ल्याइदिइन्‌। २२  त्यतिखेरैको कुरा हो, एकदिन अबिमेलेक* आफ्नो सेनापति फिकोलसित अब्राहामकहाँ गए अनि तिनलाई भने: “परमेश्‍वरको आशिष्‌ले गर्दा तपाईँलाई सबै कुरा फलिफाप भएको छ।+ २३  त्यसैकारण म र मेरो शाखासन्तानसित तपाईँले छल गर्नुहुनेछैन बरु जसरी आजसम्म मैले तपाईँलाई कृपा* देखाएँ, त्यसरी नै तपाईँले पनि मलाई र तपाईँ बसिरहनुभएको यस देशका मानिसहरूलाई कृपा देखाउनुहुनेछ भनेर परमेश्‍वरको नाममा मसित कसम खानुहोस्‌।”+ २४  तब अब्राहामले अबिमेलेकले भनेझैँ कसम खाए। २५  तर अब्राहामले अबिमेलेकका दासहरूले जबरजस्ती खोसेर लिएको इनारको विषयमा अबिमेलेकसित गुनासो गरे।+ २६  अनि अबिमेलेकले भने: “यस्तो काम कसले गऱ्‍यो, मलाई थाहै थिएन। तपाईँले पनि मलाई केही भन्‍नुभएन र मैले पनि आजसम्म कसैको मुखबाट यो कुरा सुनेको थिइनँ।” २७  त्यसपछि अब्राहामले अबिमेलेकलाई भेडा र गाईवस्तु दिए अनि दुवैले आपसमा एउटा करार गरे। २८  तब अब्राहामले आफ्नो बगालबाट सात वटा पाठी अलग्गै छुट्ट्याए। २९  यो देखेर अबिमेलेकले सोधे: “तपाईँले किन यी सात वटा पाठी अलग्गै छुट्ट्याउनुभयो?” ३०  अब्राहामले जवाफ दिए: “किनकि यो इनार मैले खनेको हो भन्‍ने कुराको प्रमाणस्वरूप तपाईँले अब यी सात वटा पाठी मेरो तर्फबाट स्वीकार गर्नुपर्छ।” ३१  त्यसैले तिनले त्यस ठाउँको नाम बेर्सेबा*+ राखे किनभने त्यहीँ नै दुवैले कसम खाएका थिए। ३२  यसरी तिनीहरूले बेर्सेबामा करार गरे।+ त्यसपछि अबिमेलेक र तिनका सेनापति फिकोल पलिस्तियालीहरूको देशमा फर्के।+ ३३  अनि अब्राहामले बेर्सेबामा एउटा झ्याउको बोट रोपे र सदैव रहिरहनुहुने+ परमेश्‍वर यहोवाको नाम पुकारे।+ ३४  यसरी अब्राहाम धेरै वर्षसम्म* पलिस्तियालीहरूको देशमा बसोबास गरे।*+

फुटनोटहरू

^ शब्दावली हेर्नुहोस्‌।
^ वा सम्भवतः “तिनीहरू मलाई हेरेर हाँस्नेछन्‌।”
^ जनावरको छालाबाट बनेको थैलो।
^ वा “एक काँडको दूरी पर।” यसले काँड हान्दा काँडले पार गर्ने दूरीलाई जनाउँछ।
^ यो पलिस्तियाली राजाहरूको उपाधि हुन सक्छ।
^ वा “अटल प्रेम।”
^ यसको अर्थ “शपथको इनार” वा “सातको इनार” हुन सक्छ।
^ शा., “धेरै दिनसम्म।”
^ वा “विदेशीको रूपमा बसोबास गरे।”