उत्पत्ति ३१:१-५५

  • याकुब सुटुक्क कनानतिर जान्छन्‌ (१-१८)

  • लाबानले याकुबलाई भेट्टाउँछन्‌ (१९-३५)

  • याकुब लाबानसित करार गर्छन्‌ (३६-५५)

३१  एकदिन लाबानका छोराहरूले यसो भनिरहेको याकुबले सुने: “याकुबले हाम्रो बुबाको सबै थोक कुम्ल्याइसक्यो। हाम्रै बुबाको सम्पत्तिमाथि रजाइँ गरेर त्यसले यत्तिका धनसम्पत्ति जोडिसक्यो।”+ २  अनि याकुबले लाबानको अनुहारको भावबाटै तिनी बदलिएका छन्‌ भनेर थाह पाए। तिनी याकुबसित पहिलेजस्तो व्यवहार गर्दैनथे।+ ३  त्यसैले यहोवा परमेश्‍वरले याकुबलाई भन्‍नुभयो: “तिम्रा पुर्खा र तिम्रा नातेदारको ठाउँमा फर्क,+ त्यहाँ पनि म तिमीसँगै हुनेछु।” ४  त्यसपछि याकुबले राहेल र लेआलाई आफूले बगाल चराइरहेको ठाउँमा आउनू भनी खबर पठाए। ५  अनि याकुबले तिनीहरूलाई भने: “तिमीहरूको बुबाको व्यवहार पहिलाभन्दा फरक भएको मैले याद गरिरहेको छु।+ तर मेरो बुबाको परमेश्‍वरले मलाई त्याग्नुभएको छैन।+ ६  मैले दिनरात नभनी तिमीहरूको बुबाको सेवा गरेको छु भनेर तिमीहरूलाई थाहै छ।+ ७  तिमीहरूका बुबाले मलाई ठग्न खोज्नुभयो र मेरो ज्याला १०-१० चोटि बदल्नुभयो। तैपनि परमेश्‍वरको कृपाले गर्दा तिमीहरूका बुबाले मेरो हानि गर्न पाउनुभएन। ८  तिमीहरूका बुबाले ‘टाटेपाटेजति तिम्रो ज्याला होस्‌’ भन्दा सारा बगालले टाटेपाटे नै ब्याए अनि ‘धर्केजति तिम्रो ज्याला होस्‌’ भन्दा सारा बगालले धर्के नै ब्याए।+ ९  यसरी परमेश्‍वरले तिमीहरूका बुबाको बगालबाट भेडाबाख्रा खोसेर मलाई दिइरहनुभयो। १०  एकचोटि पशुहरू बाली लाग्ने* बेला मैले सपना देखेको थिएँ। सपनामा मैले धर्के, टाटेपाटे र थोप्ले बोकाहरू बाख्रीहरूसित बाली लागिरहेका देखेँ।+ ११  अनि साँचो परमेश्‍वरका दूतले मलाई ‘याकुब!’ भनेर बोलाए। अनि मैले ‘हजुर’ भनेँ। १२  त्यसपछि तिनले मलाई भने: ‘बगाललाई हेर त, बाख्रीहरूसित बाली लागिरहेका बोकाहरूजति सबै धर्के, टाटेपाटे र थोप्ले रङ्‌गका छन्‌। तिमीसित लाबानले गरिरहेको व्यवहार मैले देखेको छु।+ १३  म बेथेलको साँचो परमेश्‍वर हुँ,+ जहाँ तिमीले ढुङ्‌गा ठड्‌याएर त्यसमाथि तेल खन्याएका* थियौ र भाकल गरेका थियौ।+ अब उठ, यहाँबाट जाऊ। आफू जन्मेको ठाउँमा फर्क।’”+ १४  अनि राहेल र लेआले याकुबलाई भने: “हाम्रो बुबाले ‘ल लेओ तिमीहरूको भाग’ भनेर के नै दिनुहोला र? १५  उहाँले हामीलाई बेचेर अनि त्यसबाट पाएको पैसा आफैले चलाएर हामीलाई पराई बनाउनुभएको छैन र?+ १६  परमेश्‍वरले हाम्रा बुबाको हातबाट खोसेर लिनुभएका सबै थोक हाम्रो र हाम्रा छोराछोरीका हुन्‌।+ त्यसैले परमेश्‍वरले तपाईँलाई जसो भन्‍नुभएको छ, त्यसै गर्नुहोस्‌।”+ १७  तब याकुब उठे र आफ्ना बालबच्चा अनि पत्नीहरूलाई उँटमा चढाए।+ १८  अनि आफूले पद्दान-अराममा छँदा कमाएका सबै बगाल अनि सबै धनसम्पत्ति लिएर+ आफ्ना बुबा इसहाकको घर कनानतिर फर्के।+ १९  यतिखेर लाबान भेडाको ऊन कत्रन गएका थिए र त्यही मौका छोपेर राहेलले आफ्नो बुबाको+ कुलदेवताका मूर्तिहरू*+ चोरिन्‌। २०  याकुब आफ्नो अरामी ससुरा लाबानलाई सुइँको नदिई त्यहाँबाट सुटुक्क हिँडे। २१  तिनी आफूसँग भएका सबै थोक लिएर भागे र युफ्रेटिस नदीपारि पुगे।+ त्यसपछि तिनी गिलादको पहाडी इलाकातिर लागे।+ २२  याकुब कसैलाई खबर नगरी गएछन्‌ भनेर लाबानले तेस्रो दिनमा मात्र थाह पाए। २३  त्यसैले लाबानले आफ्ना दाजुभाइ* लिएर याकुबलाई भेट्टाउन पछिपछि गए। सात दिनपछि तिनले याकुबलाई गिलादको पहाडी इलाकामा भेट्टाए। २४  तब परमेश्‍वर अरामी+ लाबानकहाँ राती सपनामा+ प्रकट हुनुभयो र भन्‍नुभयो: “तिमीले याकुबलाई कुनै रोकटोक नगर्नू। नत्र तिम्रो भलो हुनेछैन।”+ २५  याकुब गिलादको पहाडी इलाकामा पाल टाँगेर बास बसेका थिए। त्यसैले लाबान र तिनका दाजुभाइ पनि त्यतैतिर पाल टाँगेर बास बसे। त्यसपछि लाबान याकुबलाई भेट्‌न गए २६  अनि तिनलाई भने: “मलाई झुक्क्याएर अनि मेरा छोरीहरूलाई युद्धबन्दीजस्तै बनाएर तिमीले यो के गरेको? २७  मलाई नभनी यसरी सुटुक्क भाग्नुपर्ने त्यस्तो के पऱ्‍यो? कम से कम मलाई खबर गरेको भए खैँजडी र वीणा बजाएर गीत गाउँदै म तिमीलाई बिदा गर्ने थिएँ। २८  तर तिमीले मेरा छोरीहरू र नातिनातिनालाई म्वाइँ खाएर बिदाबारी गर्ने मौकासमेत दिएनौ। तिमीले यो ठीक गरेनौ! २९  मैले चाहेँ भने तिमीलाई जे पनि गर्न सक्छु तर तिम्रो पुर्खाका परमेश्‍वरले राती मलाई सपनामा यसो भन्‍नुभएको थियो: ‘तिमीले याकुबलाई कुनै रोकटोक नगर्नू। नत्र तिम्रो भलो हुनेछैन।’+ ३०  आफ्नो बुबाको ठाउँमा फर्कने इच्छा गरेर तिमी हिँड्‌यौ, ठीकै छ। तर तिमीले मेरा मूर्तिहरूचाहिँ किन चोऱ्‍यौ?”+ ३१  याकुबले लाबानलाई जवाफ दिए: “तपाईँले आफ्ना छोरीहरू बलजफती खोस्नुहोला भनेर डर लागेकोले म भागेको हुँ। ३२  तर तपाईँका मूर्तिहरू हामीले लिएका छैनौँ। हामीमध्ये जोसित त्यो भेट्टाउनुहुन्छ, त्यसले आफ्नो ज्यान गुमाउनेछ। अब हाम्रा यी दाजुभाइसामु हाम्रो खानतलासी गर्नुहोस्‌ र तपाईँको कुनै सामान फेला पऱ्‍यो भने लैजानुहोस्‌।” राहेलले लाबानका मूर्तिहरू चोरेकी छिन्‌ भनेर याकुबलाई थाहै थिएन। ३३  तब लाबान याकुबको पालमा गए। त्यसपछि तिनी लेआ र दुई जना दासीको+ पालमा पनि गए। तर तिनले त्यहाँ आफ्ना मूर्तिहरू फेला पारेनन्‌। अनि तिनी लेआको पालबाट निस्केर राहेलको पालमा पसे। ३४  राहेलले लाबानको कुलदेवताका मूर्तिहरूलाई उँटको काठीमा राखेकी थिइन्‌ र तिनी त्यसैमाथि थपक्क बसेकी थिइन्‌। लाबानले राहेलको पालमा मूर्तिहरू धुइँधुइँती खोजे तैपनि फेला पार्न सकेनन्‌। ३५  अनि राहेलले आफ्नो बुबालाई भनिन्‌: “बुबा, रिसानी माफ होस्‌। म अहिले उठ्‌न सक्दिनँ किनभने म नछुने भएकी छु।”+ लाबानले आफ्ना कुलदेवताका मूर्तिहरू धुइँधुइँती खोजे तर कतै फेला पार्न सकेनन्‌।+ ३६  तब याकुब लाबानसँग रिसाए र झोकिँदै भने: “मैले के बिराएको थिएँ र? तपाईँ किन यसरी मलाई खेद्‌दै हुनुहुन्छ? ३७  तपाईँले मेरो खानतलासी गर्नुभयो। तर खै, के फेला पार्नुभयो? फेला पार्नुभएको छ भने हाम्रा दाजुभाइसामु त्यो राख्नुहोस्‌ र उहाँहरूले नै हाम्रो निसाफ गरून्‌। ३८  मैले २० वर्ष तपाईँको सेवा गरेँ। तपाईँको एउटै भेडाबाख्रा तुहिएन+ अनि तपाईँको बगालबाट मैले एउटा भेडा पनि खाइनँ। ३९  जङ्‌गली जनावरले तपाईँको भेडाबाख्रालाई लुछेर मार्दा+ पनि मैले तपाईँकहाँ तिनीहरूको सिनु ल्याइनँ बरु उल्टो आफैले क्षतिपूर्ति गरिदिएँ। कुनै भेडाबाख्रा, चाहे दिनमा चोरिएको होस्‌ वा रातमा, तपाईँ मलाई नै त्यसको क्षतिपूर्ति तिराउनुहुन्थ्यो। ४०  मैले दिउँसोको टन्टलापुर घाम भनिनँ, रातको कठाङ्‌ग्रिने जाडो भनिनँ, निद्रा भनिनँ।+ ४१  तपाईँका दुई छोरीको लागि मैले १४ वर्ष काम गरेँ अनि अर्को ६ वर्ष तपाईँका भेडाबाख्रा चराएँ। यसरी मैले तपाईँकहाँ २० वर्ष बिताएँ। ती वर्षहरूमा तपाईँले मेरो ज्याला १०-१० चोटि बदल्नुभयो।+ ४२  मेरा हजुरबुबा अब्राहामका परमेश्‍वर अनि मेरा बुबा+ इसहाकले भय मान्‍ने परमेश्‍वर+ मसित नहुनुभएको भए तपाईँले मलाई रित्तो हात पठाउनुहुने थियो। परमेश्‍वरले मेरो दुःख अनि मेरो परिश्रम देख्नुभएको छ। त्यसैले उहाँले तपाईँलाई हिजो राती हप्काउनुभयो।”+ ४३  त्यसपछि लाबानले जवाफ दिए: “यी छोरीहरू आखिरमा मेरै छोरी हुन्‌। तिनीहरूबाट जन्मेका छोराछोरी मेरै नातिनातिना हुन्‌ अनि तिम्रा यी बगालहरू पनि आखिरमा मेरै बगाल हुन्‌। तिमीसित जे छ, ती सबै मेरा र मेरा छोरीहरूकै हुन्‌। त्यसैले मेरा छोरीहरू र तिनीहरूले जन्माएका मेरा नातिनातिनालाई म के नै हानि गर्न सक्छु र? ४४  अब आऊ, हामी एउटा करार गरौँ र त्यो हामीबीच साक्षी होस्‌।” ४५  त्यसैले याकुबले एउटा ढुङ्‌गा ल्याए र त्यसलाई ठड्‌याए।+ ४६  त्यसपछि तिनले आफ्ना दाजुभाइलाई भने: “तपाईँहरू पनि ढुङ्‌गा ल्याउनुहोस्‌!” अनि तिनीहरूले ढुङ्‌गा ल्याए र थुप्रो लगाए। त्यसपछि तिनीहरूले त्यही ढुङ्‌गाको थुप्रोमाथि खानपिन गरे। ४७  लाबानले त्यस ठाउँको नाम यगर-सहदुथा* राखे तर याकुबले चाहिँ गालेद* राखे। ४८  अनि लाबानले भने: “यो ढुङ्‌गाको थुप्रो आज हामीले गरेको करारको साक्षी हो।” त्यसैले त्यस ठाउँको नाम गालेद+ ४९  अनि मिस्पा* राखियो किनकि लाबानले याकुबलाई यसो भनेका थिए: “हामी छुट्टिएर आ-आफ्नो बाटो लागेपछि हामी यस करारअनुसार चल्छौँ कि चल्दैनौँ भनेर यहोवा परमेश्‍वरले हामी दुवैमाथि नजर राखून्‌। ५०  यदि तिमीले मेरा छोरीहरूलाई दुर्व्यवहार गऱ्‍यौ र अरू पत्नीहरू ल्यायौ अनि त्यतिखेर कसैले तिमीलाई देखेन भने पनि यो कुरा नबिर्स, परमेश्‍वरले त्यो देख्नुहुन्छ र उहाँ हामीबीच साक्षी हुनुहुन्छ।” ५१  लाबानले याकुबलाई अझै यसो भने: “हेर, यो ढुङ्‌गाको थुप्रो अनि तिमी र मैले गरेको करारको चिन्हस्वरूप मैले ठड्‌याएको यो ढुङ्‌गा तिम्रै सामु छ। ५२  मैले ठड्‌याएको यो ढुङ्‌गा र यस ढुङ्‌गाको थुप्रो अबदेखि हाम्रो साक्षी हुनेछ।+ तिमीलाई हानि गर्न म यसलाई नाघेर आउनेछैनँ र तिमी पनि मलाई हानि गर्न यसलाई नाघेर आउनेछैनौ भनेर यस ढुङ्‌गाको थुप्रो र मैले ठड्‌याएको ढुङ्‌गा साक्षी भयो। ५३  अब्राहामका परमेश्‍वर,+ नाहोरका परमेश्‍वर अनि तिनीहरूका बुबाका परमेश्‍वरले नै हाम्रो न्याय गरून्‌।” अनि आफ्नो बुबा इसहाकले भय मान्‍ने+ परमेश्‍वरको नाममा याकुबले शपथ खाए। ५४  त्यसपछि याकुबले त्यस पहाडमा बलि चढाए र आफ्ना दाजुभाइलाई बोलाएर खानपिन गरे। तिनीहरूले त्यहीँ रात बिताए। ५५  लाबान भोलिपल्ट बिहान सबेरै उठे। तिनले आफ्ना छोरीहरू अनि नातिनातिनालाई म्वाइँ खाएर+ आशिष्‌ दिए।+ त्यसपछि तिनी आफ्नो घर फर्के।+

फुटनोटहरू

वा “उत्तेजित हुने बेला।”
शा., “त्यसलाई अभिषेक गरेका।”
हिब्रू भाषामा टेराफिम। शब्दावलीमा “टेराफिम” हेर्नुहोस्‌।
वा “नातेदार।”
यो अरामी शब्दको अर्थ हो, “साक्षीको थुप्रो।”
यो हिब्रू शब्दको अर्थ हो, “साक्षीको थुप्रो।”
यसको अर्थ हो, “पहरा दिने किल्ला।”