उत्पत्ति ५०:१-२६

  • युसुफ याकुबलाई कनानमा गाड्‌छन्‌ (१-१४)

  • आफूले क्षमा दिएको कुरामा युसुफ ढुक्क बनाउँछन्‌ (१५-२१)

  • युसुफका अन्तिम दिनहरू र मृत्यु (२२-२६)

    • आफ्ना हड्डीहरूबारे युसुफको आज्ञा (२५)

५०  त्यसपछि युसुफले आफ्नो बुबालाई अङ्‌गालो हाले+ र धुरुधुरु रुँदै म्वाइँ खाए। २  तिनले आफ्ना सेवक र वैद्यहरूलाई बोलाएर बुबाको लासमा लेप लगाउन*+ आदेश दिए। वैद्यहरूले त्यसै गरे। ३  तिनीहरूले ४० दिनसम्म इस्राएलको लासलाई लेप लगाए किनभने लेप लगाउन त्यति नै दिन लाग्थ्यो। अनि मिश्रीहरूले ७० दिनसम्म इस्राएलको लागि शोक मनाए। ४  शोक मनाउने दिन बितिसकेपछि युसुफले फारोका भारदारहरूलाई* भने: “मैले तपाईँहरूको निगाह पाएको छु भने कृपा गरी फारोकहाँ यो सन्देश पुऱ्‍याइदिनुहोस्‌: ५  ‘बुबाले मलाई यस्तो शपथ खान लगाउनुभएको थियो:+ “अब म मर्न लागेको छु।+ कनानमा मैले तयार पारेको चिहानमै+ मलाई गाड्‌नू।”+ त्यसैले कृपा गरी मलाई मेरो बुबाको लास गाड्‌न जान दिनुहोस्‌। त्यसपछि म फर्कनेछु।’” ६  फारोले यस्तो जवाफ दिए: “जाऊ, बुबाको लास गाडेर आफ्नो वचन पूरा गर।”+ ७  अनि युसुफ आफ्नो बुबाको लास गाड्‌न कनान गए। तिनीसँग फारोका सबै सेवक, फारोको महलका ठूलठूला अफिसरहरू*+ र मिश्रका सबै नाइके गए। ८  युसुफको परिवारका सबै जना, तिनका दाजुभाइ अनि तिनका बुबाको परिवारका सबै जना पनि तिनीसित गए।+ तिनीहरूले आफ्ना साना केटाकेटी र वस्तुभाउचाहिँ गोसेनमा छोडिराखे। ९  युसुफसित थुप्रै रथ+ अनि घोडचढीहरू पनि गए। यसरी जानेहरूको समूह असाध्यै ठूलो थियो। १०  अनि यर्दनको इलाकामा पर्ने अतादको खलामा आइपुगेपछि तिनीहरूले धेरै रुवाबासी गरे। युसुफले सात दिनसम्म आफ्नो बुबाको लागि शोक गरे। ११  अतादको खलामा तिनीहरूले रुवाबासी गरेको देखेर वरपर बस्ने कनानीहरूले यसो भने: “मिश्रीहरूलाई कत्ति ठूलो शोक परेछ!” त्यसैले त्यस ठाउँको नाम हाबिल-मिज्रइम* राखियो। त्यो ठाउँ यर्दनको इलाकामा पर्छ। १२  इस्राएलले आफ्ना छोराहरूलाई जसो भनेका थिए, उनीहरूले त्यसै गरे।+ १३  इस्राएलका छोराहरूले तिनको लासलाई कनानमा लगे अनि मम्रेनजिकैको मक्पेलाको खेतमा भएको ओडारमा गाडे। यो खेत अब्राहामले चिहान बनाउन हित्ती एप्रोनसँग किनेका थिए।+ १४  बुबाको लास गाडेपछि युसुफ आफ्ना दाजुभाइसित र तिनीसँगै गएका अरू मानिसहरूसित मिश्र फर्के। १५  बुबाको मृत्यु भएपछि युसुफका दाइहरूले आपसमा भने: “युसुफले मनमा ईख पालेर राखेको होला, अब उसले हामीसित साटो फेर्ने भयो।”+ १६  त्यसैले उनीहरूले युसुफकहाँ यस्तो सन्देश पठाए: “तपाईँको बुबाले आफू बित्नुअघि हामीलाई यस्तो आदेश दिनुभएको थियो: १७  ‘तिमीहरूले युसुफलाई यसो भन्‍नू: “बिन्ती छ, तिम्रा दाइहरूले तिमीमाथि गरेको अन्यायको लागि उनीहरूलाई क्षमा गरिदेऊ! उनीहरूको अपराध माफ गरिदेऊ!”’ त्यसैले तपाईँको बुबाका परमेश्‍वरका यी दासहरूको अपराध कृपा गरी क्षमा गरिदिनुहोस्‌।” दाइहरूको यो सन्देश सुनेर युसुफ धुरुधुरु रोए। १८  त्यसपछि युसुफका दाइहरू पनि त्यहीँ आइपुगे र तिनलाई दण्डवत्‌ गरेर यस्तो बिन्ती गरे: “हामी हजुरका दास हौँ। हजुरलाई जे ठीक लाग्छ, त्यही गर्नुहोस्‌।”+ १९  तब युसुफले उनीहरूलाई भने: “नडराउनुहोस्‌, तपाईँहरूको निसाफ गर्न म परमेश्‍वर हुँ र? २०  तपाईँहरूले मेरो हानि गर्न खोजेको भए तापनि+ परमेश्‍वरले धेरै मानिसको ज्यान जोगियोस्‌ भनेर त्यसलाई भलाइमा परिणत गरिदिनुभयो, जुन कुरा तपाईँहरूले अहिले देखिरहनुभएको छ।+ २१  त्यसैले नडराउनुहोस्‌। म तपाईँहरूलाई अनि तपाईँहरूका साना केटाकेटीलाई चाहिने खानेकुराको व्यवस्था गरिरहनेछु।”+ यसरी युसुफले आफ्ना दाइहरूलाई सान्त्वना दिएर ढुक्क बनाए। २२  युसुफ आफ्ना बुबाको परिवारसँग मिश्रमै बसोबास गरे। तिनी ११० वर्षसम्म बाँचे। २३  युसुफले एप्रैमका नातिहरूलाई+ देख्न पाए। तिनले मनस्सेको छोरा माकिरका+ छोराहरूलाई पनि देखे। यी बालकहरू युसुफको लागि आफ्नै बालबच्चासरह थिए।* २४  आफ्नो मर्ने बेला नजिकै आएको देखेपछि युसुफले आफ्ना दाजुभाइलाई बोलाएर भने: “अब मेरो मर्ने बेला भइसक्यो। हेर, परमेश्‍वरले तिमीहरूतर्फ ध्यान दिनुहुनेछ+ र तिमीहरूलाई यस देशबाट अब्राहाम, इसहाक र याकुबसित प्रतिज्ञा गर्नुभएको देशमा लैजानुहुनेछ।”+ २५  अनि युसुफले इस्राएलका छोराहरूलाई भने: “परमेश्‍वरले पक्कै तिमीहरूतर्फ ध्यान दिनुहुनेछ र तिमीहरूलाई यहाँबाट लैजानुहुनेछ। त्यसैले तिमीहरू यहाँबाट निस्कँदा मेरा हड्डीहरू पनि सँगै लिएर जानेछौ भनेर मसित शपथ खाओ।”+ २६  युसुफ ११० वर्षको उमेरमा मरे। उनीहरूले युसुफको लासमा लेप लगाए+ र बाकसमा हालेर मिश्रमै राखे।

फुटनोटहरू

लासलाई कुहिन नदिन सुगन्धित तेलजस्ता वस्तुहरूको लेप लगाइन्थ्यो।
वा “घरानालाई।”
वा “फारोको घरानाका मुखियाहरू।”
यसको अर्थ हो, “मिश्रीहरूको शोक।”
शा., “यिनीहरू युसुफकै घुँडामा जन्मिए।” अर्थात्‌, युसुफले तिनीहरूलाई आफ्नै बालबच्चा ठाने र तिनीहरूलाई विशेष निगाह देखाए।