उत्पत्ति ४५:१-२८

  • युसुफ आफूलाई चिनाउँछन्‌ (१-१५)

  • युसुफका दाजुभाइ याकुबलाई लिन जान्छन्‌ (१६-२८)

४५  तब युसुफले मन थाम्नै सकेनन्‌+ र आफ्ना सेवकहरूलाई “तिमीहरू सबै बाहिर जाओ!” भनेर आदेश दिए। युसुफले आफ्ना दाजुभाइसामु आफू को हुँ भनेर बताउँदा त्यहाँ अरू कोही थिएन।+ २  त्यसपछि तिनी डाँको छोडेर रोए। वरपरका मिश्रीहरूले अनि फारोको महलमा हुनेहरूले समेत तिनी रोएको सुने। ३  अनि युसुफले आफ्ना दाजुभाइलाई भने: “म युसुफ हुँ। के मेरो बुबा जीवितै हुनुहुन्छ?” तर तिनका दाजुभाइ अक्क न बक्क भए, उनीहरूले केही जवाफै दिन सकेनन्‌। ४  अनि युसुफले आफ्ना दाजुभाइलाई भने: “कृपया मेरो नजिकै आउनुहोस्‌।” तब उनीहरू सबै नजिक गए। अनि तिनले भने: “म युसुफ हुँ, तपाईँहरूले मिश्रमा बेच्नुभएको तपाईँहरूको भाइ।+ ५  तर तपाईँहरू त्यो कुरा सम्झेर दुःख नमान्‍नुहोस्‌ अनि एकअर्कालाई दोष पनि नलगाउनुहोस्‌। हामी सबैको ज्यान जोगाउन भनेर नै परमेश्‍वरले मलाई तपाईँहरूभन्दा अघि यहाँ पठाउनुभएको हो।+ ६  अनिकाल सुरु भएको भर्खर दुई वर्ष भयो।+ अझै पाँच वर्ष अनिकाल हुनेछ। त्यतिन्जेल न खेत जोतिनेछ न बाली नै भित्र्याइनेछ। ७  तपाईँहरूलाई असाधारण तरिकामा बचाउन र पृथ्वीबाट तपाईँहरूको वंश विनाश हुनदेखि जोगाउन+ परमेश्‍वरले मलाई यहाँ तपाईँहरूभन्दा अघि पठाउनुभएको हो। ८  त्यसैले मलाई यहाँ पठाउने तपाईँहरू होइन, साँचो परमेश्‍वर नै हुनुहुन्छ। उहाँले नै मलाई फारोको प्रमुख सल्लाहकार* नियुक्‍त गर्नुभयो, तिनको घरको हर्ताकर्ता बनाउनुभयो र पूरै मिश्र मेरो हातमा सुम्पनुभयो।+ ९  “अब झट्टै बुबाकहाँ फर्कनुहोस्‌ र उहाँलाई भन्‍नुहोस्‌: ‘तपाईँको छोरा युसुफले यसो भनेको छ: “परमेश्‍वरले मलाई पूरै मिश्र सुम्पनुभएको छ।+ त्यसैले रतीभर ढिला नगरी मकहाँ आउनुहोस्‌।+ १०  तपाईँ, तपाईँका छोराछोरी, नातिनातिना, गाईवस्तु र तपाईँसित भएको सबथोक लिएर आउनुहोस्‌। तपाईँहरू मेरो नजिकै गोसेनमा+ बस्नुहुनेछ। ११  तपाईँ अनि तपाईँको परिवारलाई चाहिने अन्‍न म दिनेछु नत्र त तपाईँसित भएका सबै थोक सिद्धिनेछन्‌ र तपाईँहरू सबै भोकभोकै पर्नुहुनेछ। किनभने अनिकाल अझै पाँच वर्षसम्म चल्नेछ।”’+ १२  तपाईँहरूसित बोल्ने म युसुफ नै हुँ भनेर मेरो भाइ बिन्यामिन र तपाईँहरूले आफ्नै आँखाले देखिसक्नुभएको छ।+ १३  त्यसैले झट्टै गएर बुबालाई मिश्रमा मैले पाएको गौरव र तपाईँहरूले देखेको सबै कुरा बताउनुहोस्‌। अनि उहाँलाई लिएर यहाँ आउनुहोस्‌।” १४  त्यसपछि तिनले आफ्नो भाइ बिन्यामिनलाई अङ्‌गालो हाले र धुरुधुरु रोए। बिन्यामिन पनि तिनलाई अङ्‌गालो हालेर रोए।+ १५  अनि युसुफले आफ्ना सबै दाइलाई म्वाइँ खाए र उनीहरूसित पनि रोए। त्यसपछि बल्ल तिनका दाजुभाइले तिनीसित कुरा गरे। १६  “युसुफका दाजुभाइ आएका छन्‌” भन्‍ने खबर फारोको महलमा पुग्यो। यो सुनेर फारो र तिनका सेवकहरू खुसी भए। १७  तब फारोले युसुफलाई बोलाएर भने: “तिम्रा दाजुभाइलाई भन, ‘आ-आफ्नो जनावरमा मालसामान लादेर कनान फर्कनुहोस्‌। १८  त्यसपछि आफ्नो बुबा अनि पूरै परिवारलाई लिएर यहाँ आउनुहोस्‌। म तपाईँहरूलाई मिश्रका राम्राराम्रा थोक दिनेछु र तपाईँहरूले मिश्रको सबैभन्दा असल उब्जनी खानुहुनेछ।’+ १९  अनि उनीहरूलाई यस्तो आदेश पनि देऊ:+ ‘मिश्रबाट बयलगाडाहरू+ लगेर त्यसमा आफ्ना छोराछोरी अनि पत्नीलाई चढाएर ल्याउनुहोस्‌ अनि बुबालाई पनि बयलगाडामा राखेर यहाँ ल्याउनुहोस्‌।+ २०  आफ्नो मालसामानको चिन्ता नगर्नुहोस्‌+ किनकि मिश्रका सबैभन्दा राम्राराम्रा थोक तपाईँहरूकै हुनेछ।’” २१  अनि इस्राएलका छोराहरूले त्यसै गरे। युसुफले फारोको हुकुमबमोजिम बयलगाडाहरू दिए र यात्राको लागि खानेकुरा पनि दिए। २२  तिनले उनीहरू प्रत्येकलाई एक-एक जोर नयाँ लुगा पनि दिए तर बिन्यामिनलाई भने चाँदीका ३०० टुक्रा र पाँच जोर लुगा दिए।+ २३  तिनले बुबाको निम्ति १० वटा गधामा मिश्रका राम्राराम्रा थोक पठाए अनि बुबाको यात्राको लागि १० वटा गधैनीमा अन्‍न, रोटी र अरू आवश्‍यक सामान पनि पठाए। २४  त्यसपछि तिनले आफ्ना दाजुभाइलाई बिदा गरे। उनीहरू हिँड्‌नै लाग्दा तिनले भने: “बाटोमा आपसमा झगडा नगर्नुहोस्‌ है!”+ २५  त्यसपछि उनीहरू मिश्रबाट निस्के र कनानमा आफ्नो बुबा याकुबकहाँ आइपुगे। २६  अनि उनीहरूले बुबालाई भने: “युसुफ जिउँदै छ! पूरै मिश्र उसको हातमा सुम्पिइएको छ!”+ तर उनीहरूको कुरा सुनेर याकुब स्तब्ध भए। तिनले उनीहरूको कुरा पत्याउँदै पत्याएनन्‌।+ २७  युसुफले भनेको सबै कुरा उनीहरूले बताएपछि अनि युसुफले तिनको लागि पठाएको बयलगाडा देखेपछि याकुब बल्ल ढुक्क भए। २८  अनि खुसी हुँदै तिनले भने: “मेरो छोरा युसुफ जिउँदै रहेछ भनेर अब म पक्का भएँ! मलाई उसकहाँ लैजाओ! मर्नुअघि म उसको मुख हेर्न चाहन्छु।”+

फुटनोटहरू

शा., “बुबा।”