उत्पत्ति ३४:१-३१
३४ लेआबाट जन्मिएकी याकुबकी छोरी दिना+ कनान देशका केटीहरूलाई भेट्न गइरहन्थिन्।+
२ दिना आउने-जाने गरेको त्यहाँका मुखिया हिव्वी+ हामोरका छोरा सकेमले याद गरिरहेका थिए। एकदिन तिनले दिनासित जबरजस्ती गरे र उनको इज्जत लुटे।
३ त्यसपछि सकेमले याकुबकी छोरी दिनालाई साह्रै मन पराउन थाले। सकेम दिनालाई प्रेम गर्थे। तिनले मीठामीठा कुरा गरेर दिनालाई फकाउन थाले।
४ अन्तमा सकेमले आफ्नो बुबा हामोरलाई+ भने: “जसरी भए पनि त्यो केटीसित मेरो बिहे गराइदिनुहोस्।”
५ याकुबले आफ्नी छोरी दिनालाई सकेमले बिटुलो पारेको कुरा थाह पाए। त्यतिखेर याकुबका छोराहरू आफ्नो बुबाको बगाल चराउन गएका थिए। त्यसैले उनीहरू नफर्कुन्जेल याकुब चुपचाप बसे।
६ पछि सकेमका बुबा हामोर याकुबकहाँ छोरी माग्न गए।
७ यो कुरा सुन्नेबित्तिकै याकुबका छोराहरू हस्याङफस्याङ गर्दै घर फर्के। सकेमले दिनासित जबरजस्ती गरेर इस्राएलको घोर अपमान गरेका थिए। यसरी तिनले गर्नै नहुने काम गरेर+ उनीहरूको बेइज्जत गरेको हुनाले उनीहरू रिसले आगो भएका थिए।+
८ हामोरले उनीहरूलाई यसो भन्न थाले: “मेरो छोरा सकेम तपाईँकी छोरी देखेर भुतुक्कै भएको छ। बिन्ती, तपाईँकी छोरीलाई मेरी बुहारी बनाउन दिनुहोस्।
९ हामीबीच बिहेबारी चलोस्। तपाईँका छोरीहरू हामी लैजान्छौँ र हाम्रा छोरीहरू तपाईँहरूलाई दिन्छौँ।+
१० हामीसित आएर बस्नुहोस्। हेर्नुहोस्, सम्पूर्ण इलाका तपाईँकै सामने छ। तपाईँहरूलाई जहाँ मन पर्छ, त्यहीँ बस्नुहोस्, व्यापार गर्नुहोस् र जग्गाजमिन जोड्नुहोस्।”
११ तब सकेमले दिनाका बुबा र दाजुभाइलाई यसो भने: “बिन्ती छ, मलाई तपाईँहरूकी चेली दिनुहोस्। तपाईँहरू जे माग्नुहुन्छ, म त्यही दिनेछु।
१२ तपाईँहरूले मागेजति दाम तिर्न र कोसेली दिन म तयार छु।+ बस्, मलाई दिना भए पुग्छ।”
१३ आफ्नी बहिनीको बेइज्जतीको बदला लिन याकुबका छोराहरूले सकेम र उनको बुबा हामोरसित छल गर्ने विचार गरे।
१४ उनीहरूले भने: “अहँ! हामीले त्यसो गर्न मिल्दैन। खतनै*+ नगरेको पुरुषलाई कसरी हाम्री बहिनी दिनु? यो त हाम्रो लागि लाजमर्दो कुरा हो।
१५ एउटा सर्तमा तपाईँहरूलाई हाम्री बहिनी दिन तयार छौँ। तपाईँहरूकहाँ जति पुरुष छन्, तिनीहरू सबैले हामीले जस्तै खतना गर्नुपर्छ।+
१६ अनि मात्र हाम्रा छोरीहरू तपाईँहरूलाई दिन्छौँ र तपाईँहरूका छोरीहरू हामी ल्याउँछौँ। हामी तपाईँहरूसँगै बसोबास गर्नेछौँ र एकै जाति हुनेछौँ।
१७ तर हाम्रो सर्त मान्नुभएन र खतना गर्नुभएन भने बहिनीलाई लिएर हामी यहाँबाट जानेछौँ।”
१८ उनीहरूको कुरा हामोर+ र तिनको छोरा+ सकेमलाई चित्त बुझ्यो।
१९ सकेमले उनीहरूको सर्त पूरा गर्न रतीभर ढिलो गरेनन्+ किनकि तिनलाई याकुबकी छोरी साह्रै मन परेको थियो। सकेम आफ्ना बुबाको पूरै घरानामा सबैभन्दा इज्जतदार मानिस थिए।
२० त्यसकारण हामोर र तिनका छोरा सकेम सहरको मूलढोकामा गए र सहरका पुरुषहरूलाई भने:+
२१ “यी मानिसहरू हामीसित मिलेर बस्न चाहन्छन्। हामीकहाँ जग्गाजमिनको कुनै कमी छैन। त्यसैले यिनीहरूलाई हाम्रो इलाकामा बस्न र व्यापार गर्न देऔँ। हामी यिनीहरूका छोरीहरूसित बिहे गर्न सक्छौँ र हाम्रा छोरीहरू यिनीहरूलाई दिन सक्छौँ।+
२२ तर हामीसित एक जाति भएर बस्न यिनीहरूले हामीसामु एउटै मात्र सर्त राखेका छन्: पुरुषजति सबैले यिनीहरूले जस्तै खतना गर्नुपर्छ।+
२३ त्यसपछि त यिनीहरूको धनसम्पत्ति, गाईवस्तु सब हाम्रा! त्यसैले यिनीहरूको सर्त मानौँ र यिनीहरू हामीसँग बसून्।”
२४ सहरको मूलढोका भएर आउजाउ गर्ने सबैले हामोर र तिनका छोरा सकेमको कुरा माने र सहरका सबै पुरुषले खतना गरे।
२५ खतना गरेको तेस्रो दिन सहरका सबै पुरुष पीडाले छटपटाइरहेको बेला याकुबका दुई छोरा सिमियोन र लेवि तरबार भिरेर सहरमा पसे। तर सहरवासीले उनीहरूमाथि रतीभर शङ्का गरेनन्।+ दिनाका यी दाइहरूले सहरका एक जना पुरुषलाई पनि बाँकी राखेनन्, तिनीहरू सबैलाई मारे।+
२६ उनीहरूले हामोर र तिनका छोरा सकेमलाई पनि मारे र आफ्नी बहिनी दिनालाई सकेमको घरबाट लगे।
२७ तब याकुबका अरू छोराहरू पनि आफ्नी बहिनीको बेइज्जतीको बदला लिन सहरभित्र पसे। त्यहाँ उनीहरूले पुरुषजति सबै मारिएको भेट्टाए र त्यो सहर लुटे।+
२८ उनीहरूले गाईवस्तु, भेडाबाख्रा, गधा सबै लुटे। अनि सहरमा र खेतमा जे-जे भेटे, त्यो पनि लिए।
२९ उनीहरूले घरघर पसेर सबै सरसम्पत्ति लुटे, केही पनि छोडेनन् अनि आइमाई र केटाकेटीलाई समेत समातेर लगे।
३० तब याकुबले सिमियोन र लेविलाई भने:+ “यो तिमीहरूले के गऱ्यौ? ममाथि कत्रो विपत्ति ल्यायौ!* तिमीहरूको कर्तुतले गर्दा यहाँका कनानीहरू र परिज्जीहरूले अब मलाई छोड्नेछैनन्। मसित कति नै मानिस छन् र? अब तिनीहरू जम्मा भएर ममाथि आइलाग्नेछन्। अब हाम्रो परिवारको सर्वनाश हुने भयो!”
३१ तर उनीहरूले यस्तो जवाफ दिए: “कसैले हाम्री बहिनीलाई वेश्यालाई जस्तो व्यवहार गरेको हामी कसरी सहन सक्छौँ?”

