उत्पत्ति २०:१-१८

  • सारालाई अबिमेलेकबाट बचाइन्छ (१-१८)

२०  तब अब्राहाम आफ्नो पाल उठाएर+ नेगेबतिर गए र कादेस+ र सुरको+ बीचमा बसोबास गर्न थाले।* गेरारमा+ प्रवासी जीवन बिताउँदा २  अब्राहामले आफ्नी पत्नी साराबारे फेरि पनि यसो भने: “तिनी मेरी बहिनी हुन्‌।”+ त्यसैले गेरारका राजा अबिमेलेकले* सारालाई लिन पठाए।+ ३  परमेश्‍वरले अबिमेलेकलाई राती सपनामा भन्‍नुभयो: “अब तिमी मर्नेछौ।+ किनकि तिमीले ल्याएकी ती स्त्री अर्काकी पत्नी हुन्‌।”+ ४  तर अबिमेलेकले सारालाई छोएका समेत थिएनन्‌।* त्यसैले तिनले भने: “हे यहोवा, के तपाईँ निर्दोष* जातिलाई नाश गर्नुहुन्छ? ५  ‘उनी मेरी बहिनी हुन्‌’ भनेर के अब्राहामले भनेका थिएनन्‌ र? अनि ती स्त्रीले पनि ‘तिनी मेरा दाइ हुन्‌’ भनेकी थिइनन्‌ र? मैले जे गरेँ, त्यो सफा मनले गरेँ। मेरो कुनै गलत मनसाय थिएन।” ६  त्यसपछि साँचो परमेश्‍वरले अबिमेलेकलाई भन्‍नुभयो: “तिमीले सफा मनले नै त्यसो गरेका हौ भनेर मलाई थाह छ। त्यसैले मैले तिमीलाई मविरुद्ध पाप गर्नदेखि जोगाएँ र उनलाई छुन समेत दिइनँ। ७  अब जाऊ! ती मानिसकी पत्नी फर्काइदेऊ किनभने तिनी भविष्यवक्‍ता हुन्‌।+ तिनले तिम्रो लागि उत्कट बिन्ती गर्नेछन्‌+ र तिमी बच्नेछौ। तर ती स्त्रीलाई फर्काएनौ भने तिमी र तिम्रो घरानाका सबै जना पक्कै मर्नेछौ।” ८  अबिमेलेक बिहान सबेरै उठे र आफ्ना नोकरचाकर सबैलाई बोलाएर सब कुरा बताए। यो सुनेर तिनीहरू असाध्यै डराए। ९  त्यसपछि अबिमेलेकले अब्राहामलाई बोलाए र सोधे: “तपाईँले यो के गर्नुभयो? मैले तपाईँको के बिगार गरेँ, जसले गर्दा तपाईँले मलाई र मेरो देशलाई यत्ति ठूलो दोष लगाउन खोज्नुभयो? तपाईँले यो ठीक गर्नुभएन।” १०  अबिमेलेकले अब्राहामलाई अझै यसो भने: “आखिर तपाईँले किन यसो गर्नुभयो?”+ ११  तब अब्राहामले यस्तो जवाफ दिए: “यस ठाउँमा परमेश्‍वरको डर मान्‍ने मानिस कोही पनि छैन। त्यसैले यहाँका बासिन्दाले मलाई मारेर मेरी पत्नीलाई लैजालान्‌ भन्‍ने डर लागेकोले मैले त्यसो गरेको हुँ।+ १२  तर वास्तवमा उनी मेरी बहिनी नै हुन्‌। उनी मेरै बुबाकी छोरी हुन्‌ तर हाम्री आमा भने फरक हुन्‌। अनि उनलाई मैले पत्नी बनाएँ।+ १३  त्यसैले जब परमेश्‍वरले मलाई मेरो बुबाको घर छोडेर जाऊ भन्‍नुभयो,+ तब मैले मेरी पत्नीलाई यसो भनेको थिएँ: ‘यदि तिमी मलाई साँच्चै माया* गर्छ्यौ भने हामी जहाँ-जहाँ जान्छौँ, त्यहाँ-त्यहाँ तिमी मेरी बहिनी हौ भन।’”+ १४  त्यसपछि अबिमेलेकले अब्राहामलाई भेडा, गाईवस्तु र नोकरचाकर दिए र तिनकी पत्नी सारा पनि फर्काइदिए। १५  अबिमेलेकले यसो पनि भने: “मेरो देशमा तपाईँलाई स्वागत छ। तपाईँलाई जहाँ मन लाग्छ, त्यहीँ बस्नुहोस्‌।” १६  अनि सारालाई तिनले भने: “हेर्नुहोस्‌, म तपाईँको दाइलाई १,००० टुक्रा चाँदी दिँदै छु।+ तपाईँसँग जो-जो छन्‌, तिनीहरूसामु र अरू सबै मानिससामु यो चाँदी प्रमाण हुनेछ कि तपाईँ निष्कलङ्‌क हुनुहुन्छ र तपाईँको इज्जतमा कुनै दाग लागेको छैन।” १७  त्यसपछि अब्राहामले साँचो परमेश्‍वरलाई उत्कट बिन्ती गर्न थाले र परमेश्‍वरले अबिमेलेक, तिनकी पत्नी र तिनका दासीहरूलाई निको पारिदिनुभयो अनि तिनीहरूले फेरि सन्तान जन्माउन थाले। १८  किनकि अबिमेलेकले अब्राहामकी पत्नी सारालाई ल्याएको हुनाले यहोवा परमेश्‍वरले तिनको परिवारमा सबै स्त्रीको कोख थुनिदिनुभएको थियो।+

फुटनोटहरू

वा “विदेशीको रूपमा बसोबास गर्न थाले।”
यो पलिस्तियाली राजाहरूको उपाधि हुन सक्छ।
अर्थात्‌, अबिमेलेकले सारासित यौनसम्बन्ध राखेका थिएनन्‌।
वा “धर्मी।”
वा “अटल प्रेम।”