उत्पत्ति ४८:१-२२

  • याकुब युसुफका दुई छोरालाई आशिष्‌ दिन्छन्‌ (१-१२)

  • एप्रैमले धेरै आशिष्‌ पाउँछन्‌ (१३-२२)

४८  केही समयपछि युसुफले यस्तो खबर पाए: “आजकल तपाईँको बुबा झन्‌झन्‌ कमजोर हुँदै जानुभएको छ।” तब युसुफ आफ्ना दुई छोरा मनस्से र एप्रैमलाई लिएर बुबालाई भेट्‌न गए।+ २  ‘युसुफ आएका छन्‌’ भन्‍ने खबर पाउनेबित्तिकै याकुब बल्लतल्ल उठेर ओछ्यानमा बसे। ३  तब याकुबले युसुफलाई भने: “कनानको लुजमा सर्वशक्‍तिमान्‌ परमेश्‍वर मकहाँ देखा पर्नुभएको थियो र मलाई आशिष्‌ दिनुभएको थियो।+ ४  उहाँले मलाई यसो भन्‍नुभयो: ‘तिम्रा सन्तान फल्दै-फुल्दै, वृद्धि हुँदै जानेछन्‌। तिमीबाट धेरै सन्तान हुनेछन्‌ र तिमीबाटै थुप्रै कुल भएको एउटा ठूलो समुदाय बन्‍नेछ।+ अनि म यो कनान देश सधैँको लागि तिम्रा सन्तानलाई दिनेछु।’+ ५  म यहाँ मिश्र आउनुअघि जन्मिएका तिम्रा दुई छोरा अब मेरै भए।+ रुबेन र सिमियोनजस्तै एप्रैम र मनस्से पनि मेरै छोराहरू हुनेछन्‌।+ ६  त्यसपछि जन्मने सन्तान भने तिम्रा हुनेछन्‌। तिनीहरूले एप्रैम र मनस्सेको भागबाट आफ्नो अंश पाउनेछन्‌।+ ७  अब मेरो विषयमा खै के भनूँ? हामी पद्दानबाट आइरहेको बेला कनान देशमा, एप्राता+ अर्थात्‌ बेतलेहेम पुग्नुअघि नै मेरै सामने तिम्री आमा राहेलको मृत्यु भयो।+ त्यसैले मैले उनको लास बेतलेहेम जाने बाटोमै गाडेँ।”+ ८  तब इस्राएलले युसुफका छोराहरूलाई देखे र सोधे: “यिनीहरू को हुन्‌?” ९  युसुफले आफ्ना बुबालाई जवाफ दिए: “यिनीहरू परमेश्‍वरले मलाई यस ठाउँमा दिनुभएका मेरा छोराहरू हुन्‌।”+ तब याकुबले भने: “मेरो नजिक ल्याऊ। म यिनीहरूलाई आशीर्वाद दिन्छु।”+ १०  बुढेसकालले गर्दा इस्राएलका आँखा कमजोर भएका थिए। तिनी राम्ररी देख्दैन थिए। त्यसैकारण युसुफले छोराहरूलाई तिनको नजिक लगे। त्यसपछि इस्राएलले आफ्ना नातिहरूलाई अङ्‌गालो हाले अनि म्वाइँ खाए। ११  इस्राएलले युसुफलाई भने: “तिमीलाई देख्न पाऊँला भनेर मैले आशै मारिसकेको थिएँ।+ तर परमेश्‍वरको कृपाले गर्दा तिम्रा छोराहरूलाई समेत मैले देख्न पाएँ।” १२  त्यसपछि युसुफले आफ्ना बुबाको घुँडानजिकै बसिरहेका छोराहरूलाई त्यहाँबाट हटाए र भुईँसम्मै घोप्टो परेर बुबालाई ढोगे। १३  त्यसपछि युसुफले छोराहरू एप्रैम+ र मनस्सेलाई+ आफ्ना बुबा इस्राएलको नजिक लगे। तिनले एप्रैमलाई आफ्नो दायाँ हातले समातेर इस्राएलको बायाँतिर पर्नेगरि लगे। अनि मनस्सेलाई चाहिँ आफ्नो बायाँ हातले समातेर इस्राएलको दायाँतिर पर्नेगरि लगे। १४  तर इस्राएलले आफ्नो दायाँ हात एप्रैमको शिरमा राखे। अनि आफ्नो बायाँ हात मनस्सेको शिरमा राखे। एप्रैम कान्छो र मनस्से जेठो भए पनि तिनले जानीबुझी त्यसो गरे।+ १५  अनि तिनले युसुफलाई आशिष्‌ दिँदै भने:+ “मेरा हजुरबुबा अब्राहाम अनि मेरा बुबा इसहाकले सेवा गरेका साँचो परमेश्‍वरले,+म जन्मेदेखि अहिलेसम्म मलाई गोठालोले झैँ हेरविचार गर्नुहुने साँचो परमेश्‍वरले+ १६  अनि आफ्नो स्वर्गदूतमार्फत मलाई सबै विपत्तिबाट जोगाउनुहुने+ साँचो परमेश्‍वरले यी केटाहरूलाई आशिष्‌ देऊन्‌।+ यिनीहरू मेरो, मेरा हजुरबुबा अब्राहामको र मेरा बुबा इसहाकको नामले चिनिऊन्‌।यिनीहरूका सन्तानले पृथ्वी ढाकून्‌।”+ १७  बुबाले दायाँ हात एप्रैमको शिरमा राखेको देखेर युसुफलाई चित्त बुझेन र तिनले बुबाको हात एप्रैमको शिरबाट हटाएर मनस्सेको शिरमा राख्न खोजे। १८  तिनले इस्राएललाई भने: “बुबा, योचाहिँ मेरो पहिलो सन्तान हो।+ आफ्नो दायाँ हात यसको शिरमा राख्नुहोस्‌।” १९  तर तिनका बुबाले मान्दै मानेनन्‌ र यसो भने: “मलाई थाह छ छोरा, मलाई थाह छ। तिम्रो जेठो छोराका सन्तान पनि धेरै हुनेछन्‌ र ऊबाट एउटा ठूलो जाति बन्‍नेछ। तर उसको भाइ ऊभन्दा ठूलो हुनेछ।+ उसका सन्तान यति धेरै बढ्‌नेछन्‌ कि तिनीहरू थुप्रै जातिबराबर हुनेछन्‌।”+ २०  अनि इस्राएलले आफ्ना दुवै नातिलाई यस्तो आशिष्‌ पनि दिए:+ “इस्राएलीहरूले आशिष्‌ दिँदा यसो भन्दै तिमीहरूकै नाम लेऊन्‌,‘परमेश्‍वरले तिमीलाई एप्रैम र मनस्सेजस्तै बनाऊन्‌।’” यसरी तिनले उनीहरूलाई आशिष्‌ दिँदा मनस्सेलाई भन्दा एप्रैमलाई नै पहिलो स्थान दिए। २१  त्यसपछि इस्राएलले युसुफलाई भने: “हेर, अब मेरो मर्ने बेला नजिकै आइपुगिसक्यो।+ तर परमेश्‍वर निश्‍चय तिमीसित हुनुहुनेछ र तिमीलाई हाम्रा पुर्खाको देशमा फर्काउनुहुनेछ।+ २२  म तिमीलाई तिम्रा दाजुभाइको तुलनामा एक भाग धेरै जग्गा दिनेछु। त्यो जग्गा मैले आफ्नो तरबार र धनुको बलमा एमोरीहरूबाट लिएको थिएँ।”

फुटनोटहरू