उत्पत्ति ३३:१-२०
३३ याकुबले आँखा उठाएर हेर्दा एसाव ४०० जना मानिसको दलबलसहित आइरहेको देखे।+ त्यसैले तिनले आफ्ना बच्चाहरूलाई लेआ, राहेल र दुई दासीको जिम्मा लगाए।+
२ तिनले सबैभन्दा अगाडि दुई दासी र तिनीहरूका बच्चाहरूलाई,+ त्यसपछि लेआ र उनका बच्चाहरूलाई+ अनि अन्तमा राहेल+ र युसुफलाई राखे।
३ त्यसपछि तिनी सबैभन्दा अगाडि गए र दाइको नजिकै पुग्न लाग्दा भुईँमा घुँडा टेकेर सात चोटि दण्डवत् गर्दै अघि बढे।
४ एसाव दौडेर आफ्ना भाइ याकुबलाई भेट्न गए। तिनले याकुबलाई अङ्गालो हाले र म्वाइँ खाए अनि दुवै जना धुरुधुरु रोए।
५ स्त्रीहरू र बालबच्चाहरू देखेपछि एसावले याकुबलाई सोधे: “यिनीहरू को हुन्?” याकुबले जवाफ दिए: “परमेश्वरको कृपाले जन्मिएका हजुरको दासका छोराछोरीहरू।”+
६ त्यसपछि दासीहरू आफ्ना बालबच्चा लिएर अगाडि आए र एसावलाई दण्डवत् गरे।
७ अनि लेआ पनि आफ्ना बालबच्चा लिएर अगाडि आइन् र तिनीहरूले पनि दण्डवत् गरे। त्यसपछि युसुफ राहेलसँगै अगाडि आए र तिनीहरूले पनि दण्डवत् गरे।+
८ एसावले सोधे: “तिमीले मकहाँ यति धेरै मानिस र बथानका बथान पशुहरू किन पठायौ?”+ याकुबले जवाफ दिए: “हे प्रभु! हजुरको निगाह पाउन सकूँ भनेर।”+
९ तर एसावले भने: “मेरो भाइ, मसित प्रशस्तै छ।+ ती तिमीसितै राख।”
१० तर याकुबले भने: “होइन हजुर! मैले हजुरको निगाह पाएको छु भने कृपया मेरो कोसेली स्विकार्नुहोस्। मैले हजुरको दर्शन पाउन सकूँ भनेर हजुरकहाँ ती कोसेली पठाएको हुँ। हजुरले मलाई खुसी-खुसी स्विकार्नुभयो; बस्, मलाई परमेश्वरकै दर्शन पाएसरह भयो।+
११ परमेश्वरको आशिष्ले गर्दा मलाई केही अपुग छैन।+ हजुरको पनि सधैँ भलो होस् भन्ने कामना गर्दै मैले ती कोसेली पठाएको हुँ।+ त्यसैले कृपया ती स्विकार्नुहोस्।” तिनले एसावलाई कर गरिरहे र अन्तमा एसावले ती स्विकारे।
१२ त्यसपछि एसावले भने: “आऊ, अब हामी सँगै जाऔँ। म तिमीलाई बाटो देखाउँदै लैजान्छु।”
१३ तर याकुबले यस्तो जवाफ दिए: “मेरा प्रभुले देखिहाल्नुभयो, मेरा छोराछोरी सानै छन्।+ अनि मेरो बगालमा भर्खरै ब्याएका भेडाबाख्रा र गाईवस्तु पनि छन्; तिनीहरूलाई एक दिन मात्र छिटो हिँडायो भने सबै वस्तुभाउ मरिहाल्छन्।
१४ त्यसैले बिन्ती छ प्रभु, हजुर नै अघि जानुहोस्। मचाहिँ सेइरमा+ हजुरकहाँ नपुगुन्जेल मेरा वस्तुभाउ र बालबच्चासित तिनीहरूकै चालमा बिस्तारै आउँछु।”
१५ अनि एसावले यस्तो आग्रह गरे: “हुन्छ, त्यसोभए मेरा केही मानिस यहाँ छोड्छु, तिनीहरूसँगै आऊ।” तर याकुबले भने: “दुःख नगर्नुहोस् प्रभु! मैले हजुरको निगाह पाएँ। मलाई त्यति भए पुग्छ।”
१६ त्यसैले एसाव त्यही दिन सेइर फर्के।
१७ याकुब भने सुक्कोथतिर+ लागे। तिनले त्यहाँ आफ्नो लागि घर अनि बगालको लागि छाप्राहरू बनाए। त्यसैले त्यस ठाउँको नाम तिनले सुक्कोथ* राखे।
१८ पद्दान-अरामबाट+ हिँडेपछि याकुब कनानको+ सकेम+ सहरमा सकुशल पुगे। अनि तिनले सहरनजिकै आफ्नो पाल टाँगे।
१९ तिनले आफ्नो पाल टाँग्न हामोरका छोराहरूसँग चाँदीको १०० टुक्रामा एउटा जमिन किने।+ हामोरका एक जना छोराको नाम सकेम थियो।
२० त्यहाँ याकुबले एउटा वेदी बनाए र त्यसको नाम ‘परमेश्वर, इस्राएलका परमेश्वर’ राखे।+
फुटनोटहरू
^ यसको अर्थ हो, “झूप्रो; छाप्रो।”