उत्पत्ति ४:१-२६

 आदमले आफ्नी पत्नीसित सम्बन्ध राखे र उनी गर्भवती भइन्‌।+ कयिनलाई+ जन्माएपछि उनले भनिन्‌: “यहोवा परमेश्‍वरको आशिष्‌ले मैले एउटा छोरा पाएँ।” २  पछि उनले कयिनका भाइ हाबिललाई+ जन्माइन्‌। हाबिल गोठालो भए र कयिनचाहिँ किसान। ३  केही समयपछि कयिनले यहोवा परमेश्‍वरलाई भेटी चढाउन आफ्नो उब्जनीबाट केही लगे। ४  तर हाबिलले भने आफ्नो बगालबाट पहिले जन्मेका+ केही पाठा लगे र ती पाठाहरू बोसोसमेत यहोवा परमेश्‍वरलाई चढाए। परमेश्‍वरले हाबिल र तिनको भेटी स्विकार्नुभयो।+ ५  तर कयिन र तिनको भेटी भने स्विकार्नुभएन। त्यसैले कयिन रिसले चूर भए र तिनले अँध्यारो मुख लगाए। ६  तब यहोवा परमेश्‍वरले कयिनलाई भन्‍नुभयो: “तिमी किन रिसाउँछौ? तिम्रो मुख किन अँध्यारो छ? ७  तिमीले असल काम गऱ्‍यौ भने के म तिमीलाई स्विकार्दिनँ र? तर तिमीले असल काम गरेनौ भने हेर, तिमीलाई झम्टन पाप ढोकैमा ढुकिबसेको छ। तिमीले त्यसलाई जित्नै पर्छ नत्र त त्यसले तिमीलाई आफ्नो वशमा पार्नेछ।” ८  त्यसपछि कयिनले हाबिललाई भने: “भाइ, आऊ हामी खेततिर जाऔँ!” खेतमा पुगेपछि कयिनले हाबिललाई आक्रमण गरेर मारे।+ ९  पछि यहोवा परमेश्‍वरले कयिनलाई सोध्नुभयो: “तिम्रो भाइ खोइ?” कयिनले जवाफ दिए: “मलाई के थाह? म त्यसको गोठालो हुँ र?” १०  तब परमेश्‍वरले भन्‍नुभयो: “तिमीले यो के गऱ्‍यौ? हेर, तिम्रो भाइको रगतले भूमिबाट चिच्याई-चिच्याई मसित इन्साफ मागिरहेको छ।+ ११  अब तिमी श्रापित हुनेछौ र यस भूमिबाट खेदिनेछौ, जुन भूमिमा तिमीले आफ्नै हातले आफ्नो भाइको रगत बगायौ।*+ १२  तिमीले भूमिमा खनजोत गर्दा त्यसले आफ्नो उब्जनी दिनेछैन। तिमीले डुलुवा र भगुवा भएर जीवन बिताउनुपर्नेछ।” १३  त्यसपछि कयिनले यहोवा परमेश्‍वरलाई भने: “तपाईँले मलाई सहनै नसक्ने सजाय दिनुभयो। १४  आज तपाईँले मलाई यस इलाकाबाट निकालिदिनुभयो। तपाईँको नजरबाट म टाढा भएँ। मैले भगुवा र डुलुवा भएर जीवन बिताउनुपर्ने भयो। अनि जसले मलाई भेट्टाउँछ, उसले मलाई अवश्‍य मार्नेछ।” १५  तब यहोवा परमेश्‍वरले भन्‍नुभयो: “त्यसो होइन, जसले कयिनलाई मार्छ, उसले त्यसको सात गुणा सजाय पाउनेछ।” त्यसैले कयिनलाई फेला पार्ने कसैले पनि उसलाई मार्न नपाओस्‌ भनेर यहोवा परमेश्‍वरले तिनको लागि एउटा चिन्ह* दिनुभयो। १६  त्यसपछि कयिन यहोवा परमेश्‍वरको सामनेबाट गए र अदनको बगैँचाको+ पूर्वपट्टि पर्ने भगुवाहरूको देशमा* गएर जीवन बिताउन थाले। १७  पछि कयिनले आफ्नी पत्नीसित सम्बन्ध राखे+ र उनी गर्भवती भइन्‌ र उनले हनोकलाई जन्माइन्‌। त्यसपछि कयिनले एउटा सहर बसाले र आफ्नो छोराको नामबाटै त्यस सहरको नाम हनोक राखे। १८  पछि हनोकबाट इराद जन्मिए। अनि इरादबाट महुयाएल, महुयाएलबाट मतुसाएल र मतुसाएलबाट लेमेक जन्मिए। १९  लेमेकले दुइटी पत्नी ल्याए। जेठीको नाम अदा र कान्छीको नाम जिल्लाह थियो। २०  अदाले याबाललाई जन्माइन्‌। तिनले नै पालमा बस्ने र वस्तुभाउ पाल्ने चलन सुरु गरेका थिए। २१  तिनको भाइको नाम युबाल थियो। तिनले नै वीणा र बाँसुरी बजाउने चलन सुरु गरेका थिए। २२  जिल्लाहले तुबल-कयिनलाई जन्माइन्‌। तिनी तामा र फलामबाट हरेक किसिमको औजार बनाउँथे। तुबल-कयिनकी बहिनीको नाम नामाह थियो। २३  लेमेकले आफ्ना पत्नीहरू अदा र जिल्लाहको लागि यस्तो कविता रचे: “हे मेरा पत्नीहरू हो, सुन, मेरो कुरामा कान थाप, मलाई घाइते बनाउने मान्छेलाई मैले मारेँ, ममाथि आइलाग्ने जवान मान्छेलाई मैले पछारेँ। २४  कयिनलाई मार्नेसित ७ गुणा बदला लिइनेछ+ भने लेमेकलाई मार्नेसित ७७ गुणा।” २५  आदमले फेरि आफ्नी पत्नीसित सम्बन्ध राखे र उनले एउटा छोरो जन्माइन्‌। उनले उसको नाम सेत*+ राखिन्‌ र यसो भनिन्‌: “कयिनले हाबिललाई माऱ्‍यो,+ त्यसैले परमेश्‍वरले मलाई हाबिलको सट्टा अर्को सन्तान दिनुभयो।” २६  सेतको पनि छोरा जन्मियो। तिनले उसको नाम एनोस+ राखे। त्यही समयदेखि मानिसहरूले यहोवा परमेश्‍वरको नाम पुकार्न थाले।*

फुटनोटहरू

वा “जुन भूमिले तिम्रो हातबाट तिम्रो भाइको रगत पिउन आफ्नो मुख उघाऱ्‍यो।”
यसले चेतावनीस्वरूप दिइएको आदेशलाई जनाएको हुन सक्छ।
वा “नोदमा।”
यसको अर्थ हो, “नियुक्‍त गरिएको, राखिएको।”
वा “यहोवा परमेश्‍वरको नाम गलत ढङ्‌गमा पुकार्न थाले।”