उत्पत्ति २७:१-४६

  • याकुब इसहाकबाट आशिष्‌ पाउँछन्‌ (१-२९)

  • एसाव आशिष्‌ माग्छन्‌ तर पश्‍चात्ताप गर्दैनन्‌ (३०-४०)

  • याकुबसित एसावको दुस्मनी (४१-४६)

२७  इसहाक धेरै बूढा भइसकेका थिए र तिनले आँखा देख्न पनि छोडिसकेका थिए। एकदिन तिनले आफ्नो जेठो छोरा एसावलाई बोलाएर भने:+ “बाबु!” उनले जवाफ दिए: “हजुर!” २  त्यसपछि इसहाकले भने: “हेर, म बूढो भइसकेँ। अब म धेरै दिन बाँच्दिनँ होला। ३  त्यसैले अब तिम्रो हतियार र धनु बोक अनि जङ्‌गलमा सिकार गरेर मेरो लागि केही ल्याऊ।+ ४  अनि मलाई मन पर्ने मीठो परिकार बनाएर मकहाँ ल्याऊ। म त्यो खान्छु र मर्नुअघि तिमीलाई आशिष्‌ दिन्छु।” ५  रिबेकाले इसहाक र एसावको कुरा सुनिरहेकी थिइन्‌। एसाव आफ्नो बुबाको लागि सिकार खोज्न जङ्‌गलतिर लागे।+ ६  त्यसपछि रिबेकाले याकुबलाई भनिन्‌:+ “मैले तिम्रो बुबाले तिम्रो दाइलाई यसो भन्दै गर्नुभएको सुनेँ, ७  ‘मेरो लागि सिकार गरेर अनि मीठो परिकार बनाएर ल्याऊ। म त्यो खान्छु र मर्नुअघि यहोवा परमेश्‍वरलाई साक्षी राखेर तिमीलाई आशिष्‌ दिन्छु।’+ ८  त्यसैले छोरा, मेरो कुरा ध्यान दिएर सुन। म जे भन्छु, त्यही गर।+ ९  अब बगालमा गएर दुई वटा सबैभन्दा असल पाठा छानेर यहाँ ल्याऊ। म तिम्रो बुबालाई मन पर्ने मीठो परिकार बनाइदिन्छु। १०  त्यो लगेर बुबालाई खुवाऊ र उहाँको आशिष्‌ थाप।” ११  याकुबले आफ्नी आमा रिबेकालाई भने: “एसाव दाइको जीउभरि रौँ नै रौँ छ+ तर मेरो जीउ त्यस्तो छैन। १२  त्यसैले बुबाले मलाई छाम्नुभयो भने के गर्ने?+ मैले उहाँलाई झुक्क्याएको थाह पाउनुभयो भने उहाँले मलाई आशिष्‌को साटो सराप दिनुहुनेछ।” १३  तर रिबेकाले भनिन्‌: “बाबु, तिम्रो सराप मैमाथि परोस्‌। बरु जाऊ, मैले भनेजस्तो गर।”+ १४  त्यसैले याकुब गए र दुई वटा पाठा ल्याएर आमालाई दिए अनि रिबेकाले इसहाकलाई मन पर्ने परिकार बनाइन्‌। १५  त्यसपछि रिबेकाले आफ्नो जेठो छोरा एसावको सबैभन्दा राम्रो लुगा झिकेर ल्याइन्‌ र कान्छो छोरा याकुबलाई लगाइदिइन्‌।+ १६  तिनले याकुबको हातमा र गर्दनमा पाठाको छाला लगाइदिइन्‌।+ १७  अनि आफूले पकाएको मासुको मीठो परिकार र रोटी याकुबलाई दिइन्‌।+ १८  त्यसपछि याकुब आफ्नो बुबाकहाँ गए अनि “बुबा!” भनेर बोलाए। तब इसहाकले भने: “भन बाबु, म यहाँ छु। तर तिमी को हौ?” १९  याकुबले बुबालाई भने: “म तपाईँको पहिलो सन्तान एसाव हुँ।+ मैले तपाईँले भनेजस्तै गरेँ। उठ्‌नुहोस्‌ बुबा! मैले सिकार गरेर ल्याएको मासु खानुहोस्‌ र मलाई आशिष्‌ दिनुहोस्‌।”+ २०  इसहाकले आफ्नो छोरालाई सोधे: “छोरा, तिमीले कसरी यति छिट्टै सिकार भेट्टायौ त?” याकुबले जवाफ दिए: “यहोवा तपाईँका परमेश्‍वरले नै जुटाइदिनुभएकोले।” २१  त्यसपछि इसहाकले भने: “खै बाबु, यता आऊ त। तिमी साँच्चै मेरो छोरा एसाव हौ कि होइनौ, छामेर हेरूँ।”+ २२  याकुब आफ्नो बुबा इसहाकको नजिकै गए। अनि याकुबलाई छामेपछि तिनले भने: “स्वर त याकुबको हो तर हातहरूचाहिँ एसावकै हुन्‌।”+ २३  इसहाकले याकुबलाई चिन्‍न सकेनन्‌ किनभने तिनको हातभरि एसावको जस्तै रौँ नै रौँ थियो। त्यसैले इसहाकले तिनलाई आशिष्‌ दिए।+ २४  इसहाकले फेरि सोधे: “तिमी साँच्चै मेरो छोरा एसाव नै हौ त?” तिनले जवाफ दिए: “हजुर।” २५  त्यसपछि इसहाकले भने: “छोरा, तिमीले सिकार गरेर ल्याएको मासुको परिकार यहाँ ल्याऊ त। त्यो खाएर म तिमीलाई आशिष्‌ दिन्छु।” अनि याकुबले आफूले ल्याएको परिकार इसहाकलाई दिए र तिनले खाए। याकुबले तिनलाई मद्य पनि ल्याइदिए र तिनले पिए। २६  इसहाकले फेरि भने: “बाबु! यता मेरो नजिकै आऊ र मलाई म्वाइँ खाऊ त।”+ २७  तब नजिकै गएर याकुबले आफ्नो बुबालाई म्वाइँ खाए। तिनको लुगाको गन्ध पाएपछि+ इसहाकले यस्तो आशिष्‌ दिए: “मेरो छोराको लुगाको गन्ध यहोवा परमेश्‍वरले आशिष्‌ दिनुभएको खेतको गन्धजस्तै छ। २८  साँचो परमेश्‍वरले तिमीलाई आकाशबाट शीत देऊन्‌।+ तिमीलाई उर्वर भूमि+ अनि प्रशस्तै अन्‍न र अङ्‌गुरको नयाँ मद्य पनि देऊन्‌।+ २९  मानिसहरूले तिम्रो सेवा गरून्‌ र जातिजातिका मानिसहरू तिमीसामु झुकून्‌। तिम्रा सबै दाजुभाइ तिम्रो अधीनमा होऊन्‌, तिम्रा साक्खै दाजुभाइले समेत तिमीलाई दण्डवत्‌ गरून्‌।+ जसले तिमीलाई सराप्छ, उसलाई सराप लागोस्‌ र जसले तिमीलाई आशिष्‌ दिन्छ, उसले आशिष्‌ पाओस्‌।”+ ३०  इसहाकले याकुबलाई आशिष्‌ दिएपछि याकुब त्यहाँबाट निस्केका मात्र के थिए, तिनका दाइ एसाव सिकार गरेर आइपुगे।+ ३१  एसावले पनि मीठो परिकार बनाए र बुबाकहाँ लगे। त्यसपछि एसावले भने: “बुबा, उठ्‌नुहोस्‌। मैले सिकार गरेर ल्याएको मासु खानुहोस्‌ र मलाई आशिष्‌ दिनुहोस्‌।” ३२  तब इसहाकले भने: “तिमी को हौ?” एसावले भने: “म तपाईँको पहिलो सन्तान एसाव हुँ।”+ ३३  तिनको कुरा सुनेर इसहाक थरथर काँपे र सोधे: “त्यसोभए अघि मलाई सिकार ल्याएर खुवाउने को हो त? तिमी आउनुअघि नै मैले खाएँ र उसैलाई आशिष्‌ पनि दिएँ! अब मेरो आशिष्‌ उसैलाई लाग्नेछ!” ३४  आफ्नो बुबाको कुरा सुनेर एसाव डाँको छोडेर रुन थाले र बुबालाई यसो भन्दै जिद्दी गरे: “मलाई पनि आशिष्‌ दिनुहोस्‌ बुबा, मलाई पनि दिनुहोस्‌!”+ ३५  तर तिनले भने: “तिम्रो भाइले मलाई झुक्क्यायो र तिमीले पाउनुपर्ने आशिष्‌ उसैले लग्यो।” ३६  तब एसावले भने: “त्यसको नाम याकुब* त्यसै भएको हो र? त्यसले दुई-दुई पटक मलाई छल गरिसक्यो।+ त्यसले पहिला मेरो ज्येष्ठ-अधिकार खोसिसक्यो।+ अहिले फेरि मैले पाउनुपर्ने आशिष्‌ पनि खोस्यो।”+ एसावले अझै भने: “बुबा, तपाईँसित अब मेरो लागि एउटै आशिष्‌ बाँकी छैन?” ३७  तब इसहाकले एसावलाई जवाफ दिए: “हेर, मैले उसलाई तिम्रो मालिक बनाइदिएको छु+ र उसका सबै नातागोता उसकै चाकर हुनेछन्‌। मैले अन्‍न र नयाँ मद्यले उसलाई भरिपूर्ण पारिदिएको छु।+ बाबु, अब तिमीलाई दिन मसँग अरू के नै बाँकी छ र?” ३८  एसावले बुबालाई भने: “बुबा, तपाईँसँग एउटा मात्र भए पनि आशिष्‌ त बाँकी होला नि! मलाई पनि आशिष्‌ दिनुहोस्‌ बुबा, मलाई पनि दिनुहोस्‌!” त्यसपछि एसाव डाँको छोडेर रोए।+ ३९  अनि इसहाकले यसो भने: “तिमी उर्वर भूमिमा बस्न पाउनेछैनौ। तिम्रो लागि आकाशबाट शीत पनि बर्सनेछैन।+ ४०  तरबारको भरमा तिमी बाँच्नेछौ+ र तिमीले आफ्नै भाइको सेवा गर्नेछौ।+ तर जब तिमी बोझले छटपटाउनेछौ, तब तिमीले आफ्नो गर्दनबाट उसको जुवा भाँचेर मिल्काउनेछौ।”+ ४१  आफ्नो बुबाले याकुबलाई आशिष्‌ दिएको हुनाले एसावले याकुबसित दुस्मनी राखे र मनमा बदलाको भावना पाल्दै+ यसो भन्‍न थाले: “बुबाको दिन अब कति बाँकी छ र?+ त्यसपछि म याकुबलाई मार्छु।” ४२  आफ्नो जेठो छोरा एसावको कुरा रिबेकाको कानमा परेपछि उनले तुरुन्तै आफ्नो कान्छो छोरा याकुबलाई बोलाउन लगाइन्‌ र यसो भनिन्‌: “हेर, तिम्रो दाइले तिमीलाई मारेर बदला लिन खोज्दै छ।* ४३  त्यसैले छोरा, मैले भनेको मान। यहाँबाट भाग र हारानमा तिम्रो मामा लाबानको घरमा जाऊ।+ ४४  केही दिन त्यहीँ बस अनि जब तिम्रो दाइको रिस सेलाउँछ, ४५  तब तिमीले गरेको कुरा उसले बिर्सिनेछ अनि म तिमीलाई लिन पठाउँला। नत्र तिमीहरू दुवैको वियोग मैले एकै दिनमा कसरी सहनु?” ४६  त्यसपछि रिबेकाले इसहाकलाई दिनहुँ यसो भन्‍न थालिन्‌: “एसावका हित्ती स्वास्नीहरूले गर्दा मलाई आफ्नो जीवनदेखि वाक्कै लागिसक्यो।+ याकुबले पनि यहीँको हित्ती केटी ल्यायो भने म त मरे पनि भयो!”+

फुटनोटहरू

यसको अर्थ हो, “कुर्कुच्चो समात्ने; अरूको ठाउँ लिने।”
वा “तिमीलाई मार्ने विचार गरेर आफूलाई सान्त्वना दिइरहेको छ।”