उत्पत्ति ४२:१-३८

  • युसुफका दाइहरू मिश्र जान्छन्‌ (१-४)

  • युसुफ दाइहरूलाई भेट्‌छन्‌ र तिनीहरूलाई जाँच्छन्‌ (५-२५)

  • युसुफका दाइहरू याकुबकहाँ फर्कन्छन्‌ (२६-३८)

४२  मिश्रमा अन्‍न छ भन्‍ने सुनेपछि+ याकुबले छोराहरूलाई भने: “हैन, तिमीहरू किन एकअर्काको अनुहार टुलुटुलु हेरेर बसिरहन्छौ? २  मिश्रमा अन्‍न छ भनेर मैले सुनेको छु। त्यसैले मिश्र जाओ र अन्‍न किनेर ल्याओ नत्र त हामी भोकभोकै मर्नेछौँ।”+ ३  त्यसैकारण युसुफका १० जना दाइ+ अन्‍न किन्‍न मिश्रतिर लागे। ४  तर याकुबले युसुफका साक्खै भाइ बिन्यामिनलाई+ उनका दाइहरूसित पठाएनन्‌। किनकि तिनले भने: “बिन्यामिनलाई बाटोमा केही होला र ऊ मर्ला!”+ ५  त्यसैले इस्राएलका छोराहरू कनानका अरू मानिससँगसँगै मिश्रमा अन्‍न किन्‍न गए। किनकि अनिकाल कनानसम्मै फैलिएको थियो।+ ६  त्यतिबेला युसुफलाई मिश्रको अधिकार दिइएको थियो।+ तिनले नै सारा पृथ्वीबाट आएका मानिसहरूलाई अन्‍न बेचिरहेका थिए।+ त्यसैले युसुफका दाइहरू तिनीकहाँ गए र भुईँसम्म निहुरिएर दण्डवत्‌ गरे।+ ७  युसुफले दाइहरूलाई देख्नेबित्तिकै चिनिहाले तर तिनले आफ्नो परिचय दाइहरूलाई खुलाएनन्‌।+ त्यसैले रुखो हुँदै उनीहरूलाई सोधे: “तिमीहरू कहाँबाट आयौ?” तब उनीहरूले जवाफ दिए: “कनानबाट हजुर। हामी हजुरकहाँ अन्‍न किन्‍न आएका हौँ।”+ ८  यसरी युसुफले आफ्ना दाइहरूलाई चिने तर उनीहरूले भने तिनलाई चिनेनन्‌। ९  तब तिनले आफ्ना दाइहरूबारे देखेको सपना झल्याँस्स सम्झे+ र उनीहरूलाई भने: “तिमीहरू जासुस हौ! तिमीहरू हाम्रो देशको कमजोरी पत्ता लगाउन आएका हौ!” १०  उनीहरूले भने: “होइन मालिक, हामी हजुरका दासहरू अन्‍न किन्‍न आएका हौँ। ११  हामी सबै एउटै बुबाका सन्तान हौँ। हामी सिधासादा मानिस हौँ। हामी हजुरका दासहरू जासुसी गर्न आएका होइनौँ।” १२  तर तिनले उनीहरूलाई भने: “होइन! तिमीहरू हाम्रो देशको कमजोरी पत्ता लगाउन नै आएका हौ!” १३  तब उनीहरूले भने: “हामी, हजुरका दास १२ दाजुभाइ+ छौँ। हामी सबै एउटै बुबाका सन्तान हौँ।+ हाम्रो बुबा कनानमा हुनुहुन्छ। अहिले कान्छो भाइ बुबासितै छ।+ अर्को भाइचाहिँ मरिसक्यो।”+ १४  तर युसुफले उनीहरूलाई भने: “मैले अघि नै भनिहालेँ, ‘तिमीहरू जासुस नै हौ!’ १५  तिमीहरूले साँचो बोलेका हौ कि होइनौ, म पत्ता लगाउँछु। फारोको नाममा म कसम खाएर भन्छु, तिमीहरूको कान्छो भाइ यहाँ नआएसम्म म तिमीहरूलाई कुनै हालतमा यहाँबाट जान दिन्‍नँ।+ १६  जाऊ, तिमीहरूमध्ये एक जनाले आफ्नो भाइलाई लिएर आऊ। बाँकी भने यहाँ हिरासतमा बस्नुपर्नेछ। तिमीहरूले साँचो बोलेका हौ कि झूटो, त्यसपछि पक्का हुनेछ। तिमीहरूले झूट बोलेका रहेछौ भने म फारोको नाममा कसम खाएर भन्छु, तिमीहरू जासुस नै हौ।” १७  त्यसपछि तिनले उनीहरूलाई तीन दिनसम्म हिरासतमा राखे। १८  तेस्रो दिन युसुफले उनीहरूलाई भने: “म परमेश्‍वरको डर मान्‍ने मान्छे हुँ। त्यसैले तिमीहरू आफ्नो ज्यान जोगाउन चाहन्छौ भने मैले भनेको मान। १९  तिमीहरू साँच्चै सिधासादा मानिस हौ भने एक जना यहीँ हिरासतमा बस। बाँकीचाहिँ आफ्नो परिवारको ज्यान जोगाउन अन्‍न लिएर घर फर्क।+ २०  अनि आफ्नो कान्छो भाइ लिएर यहाँ मकहाँ आओ। तिमीहरूले भनेको कुरा साँचो साबित भयो भने तिमीहरूको ज्यान जोगिनेछ।” तब उनीहरूले त्यसै गरे। २१  उनीहरूले आपसमा भने: “हामीले भाइलाई गरेको नराम्रो व्यवहारको नतिजा भोगिरहेका हौँ।+ त्यसले रोइकराइ गरेर हामीसित बिन्तीभाउ गर्दा पनि हामीले त्यसलाई रतीभर दया देखाएनौँ। त्यसैले हामीमाथि यो विपत्ति आइलागेको हो।” २२  तब रुबेनले उनीहरूलाई भने: “‘त्यसलाई केही नगर’ भनेर मैले तिमीहरूलाई भनेकै थिएँ तर तिमीहरूले सुनेनौ!+ अहिले हामीलाई त्यसकै रगतको पाप लागेको हो।”+ २३  युसुफले उनीहरूको कुराकानी बुझे भनेर उनीहरूले थाहै पाएनन्‌ किनभने उनीहरूसित कुरा गर्दा युसुफले दोभासे प्रयोग गरेका थिए। २४  उनीहरूको कुरा सुनेपछि युसुफ अलि पर गएर रुन थाले।+ पछि तिनी फर्केर आए र फेरि उनीहरूसित कुरा गरे। अनि तिनले सिमियोनलाई+ उनीहरूकै आँखाअगाडि बाँधे।+ २५  त्यसपछि युसुफले आफ्ना सेवकहरूलाई बोलाएर उनीहरूको धोक्रोमा अन्‍न भर्न र उनीहरूले तिरेको पैसा त्यही धोक्रोमा राख्न अह्राए। साथै तिनले यात्रा गर्दा चाहिने खानेकुरा पनि दिन लगाए। तब युसुफका सेवकहरूले तिनको हुकुमबमोजिमै गरे। २६  त्यसपछि उनीहरूले आ-आफ्नो गधालाई अन्‍नको धोक्रो बोकाए र आफ्नो बाटो लागे। २७  बास बस्ने ठाउँमा पुगेपछि उनीहरूमध्ये एक जनाले गधालाई दाना दिन आफ्नो धोक्रो फुकाउँदा धोक्रोको मुखैमा पैसा देखे। २८  तब उनले आफ्ना दाजुभाइलाई भने: “हेर त, मेरो पैसा फिर्ता गरेर यहीँ धोक्रोमै हालिदिएको रहेछ!” तब उनीहरू डरले खङ्‌ग्रङ्‌गै भए र थरथर काँप्न थाले। उनीहरूले एकअर्कालाई हेर्दै यसो भन्‍न थाले: “परमेश्‍वरले हामीसित किन यस्तो गर्नुभएको होला?” २९  कनानमा आफ्ना बुबा याकुबकहाँ पुगेपछि उनीहरूले आफूहरूमाथि आइपरेको सबै कुरा बेलिविस्तार लगाए। अनि उनीहरूले भने: ३०  “त्यस देशका मालिकले हामीसित रुखो बोली बोले+ र हामीलाई जासुसी गर्न आएको आरोप लगाए। ३१  हामीले तिनलाई ‘हामी सिधासादा मानिस हौँ, जासुस होइनौँ।+ ३२  हामी एउटै बुबाका १२ भाइ+ छोरा हौँ। एउटा भाइ मरिसक्यो,+ कान्छोचाहिँ अहिले बुबासितै कनानमा छ’ भन्यौँ।+ ३३  तर त्यस देशका मालिकले हामीलाई भने: ‘तिमीहरू साँच्चै सिधासादा मानिस हौ भने तिमीहरूमध्ये एक जनालाई यहीँ मकहाँ छोड।+ अनि बाँकीचाहिँ परिवारको ज्यान जोगाउन अन्‍न लिएर घर फर्क।+ ३४  अनि आफ्नो कान्छो भाइ लिएर यहाँ मकहाँ आओ। तब मात्र तिमीहरू जासुस होइनौ, सिधासादा मानिसहरू नै रहेछौ भनेर म पत्याउनेछु। त्यसपछि म तिमीहरूको भाइलाई छोडिदिनेछु र तिमीहरू यहाँ अन्‍न किन्‍न आउन सक्छौ।’” ३५  अनि धोक्रोको अन्‍न खन्याउँदै गर्दा उनीहरूले आ-आफ्नो धोक्रोमा पैसाको थैलो पनि भेट्टाए। यो देखेर याकुब र तिनका छोराहरू डराए। ३६  उनीहरूका बुबा याकुबले सुस्केरा हाल्दै भने: “हाय! तिमीहरूले गर्दा मैले आफ्ना छोराहरू गुमाउने भएँ!+ युसुफ मरिसक्यो,+ अहिले सिमियोन पनि यहाँ छैन।+ अब तिमीहरू बिन्यामिनलाई पनि लैजान खोज्दै छौ! मैमाथि यस्तो विपत्ति किन आइपरेको होला?” ३७  तब रुबेनले बुबालाई भने: “उसलाई फर्काएर ल्याइनँ भने मेरा दुई छोराको ज्यान लिनुहोस्‌। बिन्यामिनको जिम्मा मै लिन्छु।+ म उसलाई तपाईँकहाँ सकुशल फर्काएर ल्याउनेछु।”+ ३८  तर याकुबले भने: “अहँ! मेरो छोरालाई तिमीहरूले लैजान पाउनेछैनौ! उसको दाइ मरिसक्यो, अब ऊ एउटा मात्र बाँकी छ।+ तिमीहरूसँगै जाँदा बाटोमा उसलाई केही भयो भने तिमीहरूले गर्दा यो बूढो शोक गर्दागर्दै+ चिहानमा* जानेछ।”+

फुटनोटहरू

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।