सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

 क३

बाइबल हामीसम्म कसरी आइपुग्यो?

बाइबलको ग्रन्थकार परमेश्‍वर हुनुहुन्छ र उहाँले नै यो लेख्न लगाउनुभएको हो। उहाँले यसलाई आजसम्मै सुरक्षित पनि राख्नुभएको छ। उहाँले बाइबलमा यस्तो कुरा लेख्न लगाउनुभयो:

“हाम्रा परमेश्‍वरको वचन सदासर्वदै रहिरहन्छ।”यसैया ४०:८.

यस पदमा बताइएको कुरा सत्य हो। हुनत आज हामीसित हिब्रू र अरामी धर्मशास्त्रको * अनि ख्रिष्टियन ग्रीक धर्मशास्त्रको सुरुका पाण्डुलिपिहरू छैन तर हामीसित भएको बाइबल परमेश्‍वरको प्रेरणा पाएर लेखिएको मूल भाषाको बाइबलसित मेल खान्छ भनेर पक्का हुन सक्छौँ। कसरी?

प्रतिलिपिकहरूले परमेश्‍वरको वचनलाई सुरक्षित राखे

पहिला हिब्रू धर्मशास्त्रबारे विचार गरौँ। यसमा पाइने सन्देश आज पनि सुरुका पाण्डुलिपिहरूमा भएको सन्देशसित मेल खान्छ। यसको एउटा कारण हो, पुरातन समयमा परमेश्‍वरले धर्मशास्त्रको प्रतिलिपि बनाउनुपर्ने चलन स्थापना गर्नुभएको थियो। * उदाहरणको लागि, यहोवाले इस्राएलका राजाहरूलाई आफ्नो लागि व्यवस्थाको पुस्तकको प्रतिलिपि बनाउने निर्देशन दिनुभएको थियो। (व्यवस्था १७:१८) उहाँले लेवीहरूलाई पनि व्यवस्थाको पुस्तक सुरक्षित राख्ने र त्यसमा भएका कुराहरू मानिसहरूलाई सिकाउने जिम्मेवारी दिनुभएको थियो। (व्यवस्था ३१:२६; नहेम्याह ८:७) यहुदीहरूलाई बेबिलोनको निर्वासनमा लगिएपछि प्रतिलिपिकहरू वा शास्त्रीहरूको एउटा समूह (उनीहरूलाई सोफरिम पनि भनिन्थ्यो) गठन भयो। (एज्रा ७:६, फुटनोटहरू) समय बित्दै जाँदा ती शास्त्रीहरूले हिब्रू धर्मशास्त्रका ३९ वटा किताबको थुप्रै प्रतिलिपि तयार पारे।

सयौँ वर्षसम्म शास्त्रीहरूले होसियार भई यी किताबहरूको प्रतिलिपि तयार पारिरहे। मध्य युगमा (लगभग इस्वी संवत्‌ ५०० देखि १५००) मेसोरेटहरू भनेर चिनिने यहुदी शास्त्रीहरूको एउटा समूहले प्रतिलिपि बनाउने चलनलाई कायम राख्यो। हिब्रू धर्मशास्त्रका जुन पाण्डुलिपिहरू आज उपलब्ध छन्‌, तीमध्ये सबैभन्दा पुरानो पाण्डुलिपि लेनिनग्राड  कोडेक्स हो। सिङ्‌गो हिब्रू धर्मशास्त्रका ती पाण्डुलिपिहरू मेसोरेटहरूले तयार पारेका थिए र ती इस्वी संवत्‌ १००८/१००९ तिरको हो। तर २० औँ शताब्दीको बीचतिर मृत सागरनजिकै बाइबलका केही मुठाहरू फेला परे, जसमा बाइबलका २२० वटाजति पाण्डुलिपि र त्यसका केही टुक्राहरू पनि थिए। लेनिनग्राड कोडेक्सको तुलनामा ती पाण्डुलिपिहरू १,००० वर्षभन्दा पुराना थिए। मृत सागरमा फेला परेका पाण्डुलिपिहरू अनि लेनिनग्राड कोडेक्सलाई तुलना गरेर हेर्दा यो महत्त्वपूर्ण कुरा पत्ता लाग्यो: मृत सागरमा फेला परेका पाण्डुलिपिहरू र लेनिनग्राड कोडेक्सबीच केही शब्दहरू फरक भए तापनि दुवैले दिएको सन्देश एउटै छ।

ख्रिष्टियन ग्रीक धर्मशास्त्रका २७ वटा किताबको सन्दर्भमा चाहिँ के भन्‍न सकिन्छ? ती किताबहरू येसु ख्रिष्टका प्रेषितहरू र सुरुका केही चेलाहरूले लेखेका थिए। यहुदी शास्त्रीहरूले जस्तै सुरु-सुरुका ख्रिष्टियनहरूले पनि ती किताबहरूको प्रतिलिपि बनाउने गर्थे। (कलस्सी ४:१६) रोमी सम्राट्‌ डायोक्लिसियन र अरूले सुरुका ख्रिष्टियनहरूले तयार पारेका सबै पाण्डुलिपि नष्ट गर्ने कोसिस गरे तापनि पुरातन समयका हजारौँ पाण्डुलिपि र त्यसका टुक्राहरू आज हाम्रो समयसम्म सुरक्षित छन्‌।

ख्रिष्टियन ग्रीक धर्मशास्त्र अरू भाषामा पनि अनुवाद गरिएको थियो। सुरु-सुरुमा बाइबल आर्मेनियन, कप्टिक, इथियोपिक, जर्जियन, ल्याटिन र सिरियाकजस्ता पुरातन भाषाहरूमा अनुवाद गरिएको थियो।

अनुवादको लागि हिब्रू र ग्रीकको कुनचाहिँ लेखोट प्रयोग गर्ने?

बाइबलका पुराना पाण्डुलिपिहरूको जति पनि प्रतिलिपि तयार पारिएका छन्‌, ती सबैमा प्रयोग भएका शब्दहरू उस्तै छैनन्‌। त्यसोभए मौलिक लेखोटमा कस्तो जानकारी थियो भन्‍ने कुरा कसरी पत्ता लगाउन सकिन्छ?

यस प्रश्‍नको जवाफ थाह पाउन एउटा उदाहरण विचार गरौँ। एक जना शिक्षकले १०० जना विद्यार्थीलाई किताबको एउटा पाठ सार्न लगाउँछन्‌। पछि त्यो किताब हरायो भने पनि ती १०० जना विद्यार्थीले सारेका पाठहरू तुलना गरेर हेर्दा वास्तवमा मूल पाठमा के लेखिएको थियो, त्यो थाह पाउन सकिन्छ। पाठ सार्दा सबै विद्यार्थीले केही न केही गलत लेख्लान्‌ तर सबै जनाले एउटै गल्ती भने पक्कै गर्दैनन्‌। त्यसरी नै बाइबलविद्‌हरूले आज उपलब्ध बाइबलका हजारौँ पाण्डुलिपि र त्यसका टुक्राहरूलाई तुलना गरेर हेरे भने प्रतिलिपि तयार पार्दा प्रतिलिपिकहरूले के-कस्ता गलत कुरा लेखेका थिए अनि मूल भाषामा वास्तवमा के लेखिएको थियो, त्यो पत्ता लगाउन सक्छन्‌।

“केही पनि फेरबदल नभई अहिले हामीसम्म आइपुगेको योजस्तो अरू कुनै पनि पुरातन किताब छैन भनेर हामी ठोकुवा गर्न सक्छौँ”

मूल भाषाको बाइबलमा जे जानकारी थियो, आज हामीले ठीक त्यही जानकारी पाएका छौँ भनेर कत्तिको विश्‍वस्त हुन सक्छौँ? विलियम एच. ग्रिन नाम गरेका एक बाइबलविद्‌ले  हिब्रू धर्मशास्त्रको विषयमा यस्तो टिप्पणी गरे: “केही पनि फेरबदल नभई अहिले हामीसम्म आइपुगेको योजस्तो अरू कुनै पनि पुरातन किताब छैन भनेर हामी ठोकुवा गर्न सक्छौँ।” ख्रिष्टियन ग्रीक धर्मशास्त्र जसलाई अक्सर नयाँ नियम पनि भनिन्छ, त्यसबारे एफ. एफ. ब्रुस नाम गरेका बाइबलविद्‌ले यस्तो लेखे: “पुरातन समयका नाम चलेका लेखकहरूले लेखेका थुप्रै रचना अहिले पनि अस्तित्वमा छन्‌ र त्यसमा पाइने जानकारीमाथि प्रश्‍न उठाउने कुरा कसैले सोच्न पनि सक्दैन। तर ती रचनाहरूको तुलनामा हाम्रो नयाँ नियम कैयौँ गुणा सत्य छ भन्‍ने कुराको प्रशस्तै प्रमाण छ।” तिनले अझै यसो भने: “यदि नयाँ नियममा भएका किताबहरू धार्मिक किताब नभएको भए ती किताबहरूमाथि सायद कसैले पनि प्रश्‍न उठाउँदैन थियो।”

मृत सागरमा फेला परेका पाण्डुलिपिहरूमा यसैयाको किताबको अध्याय ४० (ईसापूर्व १२५-१००)

यी पाण्डुलिपिहरूभन्दा लगभग १,००० वर्ष पछिको हिब्रू पाण्डुलिपिहरूसित यसलाई दाँजेर हेर्दा थोरै मात्र भिन्‍नता पाइयो, जसमध्ये प्रायजसो भिन्‍नता हिज्जेमा मात्र थियो

अलेपो कोडेक्समा यसैयाको किताबको अध्याय ४०; यो लगभग इस्वी संवत्‌ ९३० मा मेसोरेटहरूले तयार पारेको प्रख्यात हिब्रू पाण्डुलिपि हो

हिब्रू लेखोट: हिब्रू धर्मशास्त्रको नयाँ संसार अनुवाद (१९५३-१९६०) तयार पार्न रुडोल्फ किट्टलको बिब्लिया हिब्राइका-लाई आधार मानिएको थियो। त्यसपछिका वर्षहरूमा हिब्रू भाषाका नयाँ लेखोटहरू प्रकाशित भए। जस्तै, बिब्लिया हिब्राइका स्टटगर्टेनसिया बिब्लिया हिब्राइका किन्टा, जसमा मृत सागरमा फेला परेका पाण्डुलिपिहरू अनि अन्य पुरातन पाण्डुलिपिको अध्ययनबाट हालै पत्ता लागेका जानकारी पाइन्छ। यी हिब्रू लेखोटहरूमा मुख्य पाठ लेनिनग्राड कोडेक्सबाटै लिइएको छ र अन्य पाण्डुलिपिमा पाइएको जानकारी चाहिँ फुटनोटमा राखिएको छ। ती पाण्डुलिपिहरूमध्ये केही यी हुन्‌: सामरी पेन्टाटुक, मृत सागरमा फेला परेका पाण्डुलिपिहरू, ग्रीक सेप्टुआजिन्ट, अरामी टारगम्स, ल्याटिन भल्गेट सिरियाक पेशिट्टा। अङ्‌ग्रेजी भाषाको संशोधित नयाँ संसार अनुवाद तयार पार्न बिब्लिया हिब्राइका स्टटगर्टेनसिया बिब्लिया हिब्राइका किन्टा दुवैबाट मदत लिइएको थियो।

ग्रीक लेखोट: उन्‍नाइसौँ शताब्दीको अन्ततिर दुई जना बाइबलविद्‌ बि. एफ. वेस्टकोट अनि एफ. जे. ए. होर्टले सुरुका पाण्डुलिपिहरूसित धेरै मेल खाने मानक लेखोट तयार पारे। ग्रीक धर्मशास्त्रको यो मानक लेखोट तयार पार्न उनीहरूले बाइबलका पुराना पाण्डुलिपिहरू र त्यसका टुक्राहरूलाई दाँजेका थिए। यही मानक लेखोटलाई आधार मानेर बीसौँ शताब्दीको बीचतिर नयाँ संसार बाइबल अनुवाद समितिले ग्रीक धर्मशास्त्रको अनुवाद गऱ्‍यो। अनुवादको क्रममा समितिले इस्वी संवत्‌ २ र ३ तिरको हुन सक्ने पपाइरस पाण्डुलिपिहरू पनि प्रयोग गऱ्‍यो। समयको दौडान अरू थुप्रै पपाइरस पाण्डुलिपि पनि उपलब्ध भयो। साथै नेस्ले र अलान्डले अनि युनाइटेड बाइबल सोसाइटीज्‌ले पनि बाइबलविद्‌हरूको अनुसन्धानबाट प्राप्त भएको ताजा जानकारीको आधारमा आफ्नै मानक लेखोट तयार पारे। ती अनुसन्धानबाट प्राप्त भएको केही जानकारी अङ्‌ग्रेजी भाषाको संशोधित नयाँ संसार अनुवाद-मा समावेश गरिएको छ।

ती सबै मानक लेखोटलाई दाँजेर हेर्दा के थाह भयो भने किङ जेम्स भर्सन लगायत अन्य पुराना बाइबल अनुवादहरूको ख्रिष्टियन ग्रीक धर्मशास्त्रमा भएका कुनै-कुनै पदहरू पछि प्रतिलिपिकहरू आफैले थपेका रहेछन्‌; ती पदहरू सुरुको लेखोटमा थिएनन्‌। बाइबलमा पदहरू छुट्ट्याउने चलन १६ औँ शताब्दीमै सुरु भइसकेकोले अहिले धेरैजसो बाइबलमा ती पदमा भएका कुरा हटाइएको भए तापनि पद सङ्‌ख्या भने हटाइएको छैन। ती पदहरू यसप्रकार छन्‌: मत्ति १७:२१; १८:११; २३:१४; मर्कुस ७:१६; ९:४४, ४६;  ११:२६; १५:२८; लुका १७:३६; २३:१७; युहन्‍ना ५:४; प्रेषित ८:३७; १५:३४; २४:७; २८:२९ र रोमी १६:२४। यस बाइबलमा यी पदहरूमा भएको खाली ठाउँमा फुटनोट राखिएको छ।

मर्कुस १६ अध्यायमा दिइएको लामो समापन (पद ९-२०) अनि छोटो समापन र युहन्‍ना ७:५३–८:११ मा बताइएको कुरा सुरुका पाण्डुलिपिहरूमा थिएन भन्‍ने कुरा स्पष्ट छ। त्यसैले यस बाइबलमा त्यस्ता शङ्‌कास्पद पदहरू राखिएको छैन।

बाइबलविद्‌हरूले हाल मूल भाषाको लेखोटको सबैभन्दा सही अनुवाद भनेर स्विकारेका कुराहरूलाई समावेश गर्न पनि यस बाइबलका कुनै-कुनै पदका शब्दहरूमा केही छाँटकाँट गरिएको छ। उदाहरणको लागि, केही पाण्डुलिपिहरूमा मत्ति ७:१३ मा यस्तो लेखिएको छ: “साँघुरो ढोकाबाट भित्र पस किनकि विनाशतर्फ लैजाने ढोका फराकिलो र बाटो चौडा हुन्छ।” अङ्‌ग्रेजी भाषाको नयाँ संसार अनुवाद-को सुरुका संस्करणहरूमा यस पदमा “ढोका” भन्‍ने शब्द थिएन। तर पाण्डुलिपिहरूको थप अनुसन्धान गर्दा मौलिक लेखोटमा “ढोका” भन्‍ने शब्द थियो भन्‍ने कुरा पत्ता लाग्यो। त्यसैले यस बाइबलमा त्यसलाई समावेश गरिएको छ र यस्तै किसिमका अरू पनि थुप्रै सुधार गरिएको छ। तर यी सबै ससाना छाँटकाँट मात्र भएकोले परमेश्‍वरको वचनले दिने मुख्य सन्देशमा त्यसले कुनै असर गरेको छैन।

दोस्रो कोरिन्थी ४:१३–५:४ को विवरण भएको इस्वी संवत्‌ २०० तिरको पपाइरस पाण्डुलिपि

^ अनु. 5 यसपछिका अनुच्छेदहरूमा यसलाई हिब्रू धर्मशास्त्र मात्र भनिएको छ।

^ अनु. 7 पाण्डुलिपिहरूको प्रतिलिपि बनाउनुपर्ने एउटा कारण भनेको सुरु-सुरुका पाण्डुलिपिहरू तयार पार्न प्रयोग भएका सामग्रीहरू लामो समयसम्म टिक्दैनथे।