मत्तिका अनुसार ९:१-३८

  • येसु पक्षाघात भएको मानिसलाई निको पार्नुहुन्छ (१-८)

  • येसु मत्तिलाई बोलाउनुहुन्छ (९-१३)

  • उपवाससम्बन्धी प्रश्‍न (१४-१७)

  • याइरसकी छोरी; एउटी स्त्री येसुको लुगा छुन्छिन्‌ (१८-२६)

  • येसु अन्धाहरूलाई र गुँगोलाई निको पार्नुहुन्छ (२७-३४)

  • फसल प्रशस्त तर खेतालाहरू थोरै (३५-३८)

 त्यसपछि उहाँ डुङ्‌गा चढेर पारि आफ्नो सहर* जानुभयो।+ २  अनि हेर! मानिसहरूले पक्षाघात भएको एक जना मानिसलाई खाटमा राखेर उहाँकहाँ ल्याउँदै थिए। तिनीहरूको विश्‍वास देखेर येसुले पक्षाघात भएको त्यस मानिसलाई भन्‍नुभयो: “हरेस नखाऊ बाबु! तिम्रो पाप क्षमा भयो।”+ ३  अनि कोही-कोही शास्त्रीहरूले मनमनै यसो भने: “यसले त परमेश्‍वरको निन्दा गर्दै छ।” ४  तिनीहरू के सोच्दै छन्‌ भन्‍ने थाह पाएर येसुले यसो भन्‍नुभयो: “तिमीहरू किन आफ्नो हृदयमा यस्तो दुष्ट कुरा सोच्दै छौ?+ ५  वास्तवमा के भन्‍न सजिलो छ, ‘तिम्रो पाप क्षमा भयो’ भन्‍न कि ‘उठेर जाऊ’ भन्‍न?+ ६  तैपनि मानिसको छोरासित पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्‍ने तिमीहरूले बुझ . . .।” त्यसपछि उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्‍नुभयो: “उठ, तिम्रो खाट बोक अनि घर जाऊ।”+ ७  अनि ऊ उठ्‌यो र आफ्नो घरतिर लाग्यो। ८  यो देखेर भीडमा डर छायो र मानिसलाई यस्तो अख्तियार दिनुहुने परमेश्‍वरको तिनीहरूले महिमा गरे। ९  त्यसपछि त्यहाँबाट जाँदै गर्दा येसुले मत्ति नाम गरेको एक जना मानिसलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्‍नुभयो: “मेरो पछि लाग।” तब तिनी जुरुक्क उठेर उहाँको पछि लागे।+ १०  केही समयपछि उहाँ मत्तिको घरमा खान बस्नुहुँदा हेर! कर उठाउने थुप्रै मानिस र थुप्रै पापी आए अनि येसु र उहाँका चेलाहरूसँगै बसेर खान थाले।+ ११  यो देखेर फरिसीहरूले उहाँका चेलाहरूलाई यसो भन्‍न थाले: “तिमीहरूका गुरु किन कर उठाउने र पापी मानिसहरूसित बसेर खान्छन्‌?”+ १२  तिनीहरूको कुरा सुनेर उहाँले भन्‍नुभयो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको* खाँचो पर्छ।+ १३  त्यसैले जाओ र यसको अर्थ के हो, सिक: ‘म बलिदान होइन, कृपा चाहन्छु।’+ किनकि म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।” १४  त्यसपछि युहन्‍नाका चेलाहरू उहाँकहाँ आएर सोधे: “हामी र फरिसीहरू उपवास बस्ने गर्छौँ तर तपाईँका चेलाहरूचाहिँ किन उपवास बस्दैनन्‌?”+ १५  तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “दुलहा+ आफूसँग होउन्जेल के तिनका साथीहरूले शोक मनाउँछन्‌ र? तर यस्तो बेला आउनेछ, जब दुलहालाई तिनीहरूबाट अलग पारिनेछ+ र त्यसपछि तिनीहरू उपवास बस्नेछन्‌। १६  कसैले पनि पुरानो लुगा फाट्‌दा त्यसमा नयाँ कपडाको टालो हाल्दैन नत्र त नयाँ टालो सुकेर जाँदा त्यसले पुरानो लुगालाई तानेर झनै फटाउँछ।+ १७  त्यसैगरि मानिसहरूले नयाँ दाखमद्य* पुरानो मशकमा* राख्दैनन्‌। यदि तिनीहरूले त्यसो गरे भने मशक च्यातिएर दाखमद्य पोखिन्छ अनि मशक पनि कामै नलाग्ने हुन्छ। तर मानिसहरूले नयाँ दाखमद्य नयाँ मशकमै राख्छन्‌ र ती दुवै जोगिन्छ।” १८  उहाँले तिनीहरूलाई यी कुरा भनिरहनुभएको बेला हेर! एक जना शासक* उहाँलाई भेट्‌न आए र उहाँलाई दण्डवत्‌ गर्दै यसो भने: “यतिन्जेलसम्म त मेरी छोरी मरिसकी होली तर तपाईँ आएर ऊमाथि आफ्नो हात राखिदिनुहोस्‌ र ऊ जिउँदो हुनेछे।”+ १९  त्यसपछि येसु उठेर तिनको पछि लाग्नुभयो र उहाँका चेलाहरू पनि सँगसँगै गए। २०  अनि हेर! १२ वर्षदेखि रगत बग्ने बेथाले पीडित एउटी स्त्री+ आएर पछाडिबाट उहाँको लुगाको किनारको फुर्का छोई।+ २१  किनकि उसले मनमनै यस्तो सोचेकी थिई: “यदि मैले उहाँको लुगा छुन मात्र पाएँ भने पनि म निको हुनेछु।” २२  येसु फनक्क फर्किनुभयो र उसलाई देखेपछि यसो भन्‍नुभयो: “नडराऊ नानी! तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”+ अनि उत्तिखेरै त्यो स्त्री निको भई।+ २३  जब उहाँ ती शासकको घरमा पुग्नुभयो, तब उहाँले शोकधुन बजाइरहेका बाँसुरीवादकहरू र खैलाबैला मच्चाइरहेको भीडलाई देख्नुभयो।+ २४  येसुले तिनीहरूलाई भन्‍नुभयो: “यहाँबाट जाओ किनकि सानी ठिटी मरेकी छैन तर निदाइरहेकी छे।”+ यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले। २५  भीडलाई बाहिर पठाइसकेपछि उहाँ तुरुन्तै भित्र पस्नुभयो र सानी ठिटीको हात समात्नुभयो+ अनि ऊ जुरुक्क उठी।+ २६  तब त्यस इलाकाको चारैतिर यो कुरा फैलियो। २७  येसु त्यहाँबाट जाँदै गर्नुहुँदा दुई जना अन्धा+ यसो भनेर पुकार्दै उहाँको पछिपछि लागे: “हे दाउदका छोरा, हामीमाथि कृपा गर्नुहोस्‌।” २८  उहाँ घरभित्र पस्नुभएपछि ती अन्धाहरू उहाँकहाँ आए अनि येसुले तिनीहरूलाई सोध्नुभयो: “मैले तिमीहरूको आँखा खोलिदिन सक्छु भनेर के तिमीहरू विश्‍वास गर्छौ?”+ तिनीहरूले उहाँलाई जवाफ दिए: “गर्छौँ प्रभु।” २९  त्यसपछि उहाँले तिनीहरूको आँखा छुँदै+ भन्‍नुभयो: “तिमीहरूले विश्‍वास गरेअनुसारै तिमीहरूलाई होस्‌।” ३०  तब तिनीहरूको आँखा खुल्यो। साथै येसुले तिनीहरूलाई यस्तो कडा चेतावनी दिनुभयो: “यो कुरा कसैले थाह नपाओस्‌।”+ ३१  तर त्यहाँबाट बाहिर निस्केपछि तिनीहरूले त्यस इलाकाभरि उहाँको विषयमा बताए। ३२  ती मानिसहरू जाँदै गर्दा हेर! प्रेत* बास गरेको एक जना गुँगोलाई मानिसहरूले उहाँकहाँ ल्याए।+ ३३  अनि उहाँले प्रेतलाई धपाउनुभएपछि त्यो गुँगो बोल्न थाल्यो।+ यो देखेर तीनछक पर्दै भीडले भन्यो: “इस्राएलमा कहिल्यै यस्तो देखिएको थिएन।”+ ३४  तर फरिसीहरू यसो भन्दै थिए: “प्रेतहरूको शासकबाट शक्‍ति पाएको भएर नै त्यसले प्रेतहरूलाई धपाउँछ।”+ ३५  अनि सारा सहर र गाउँहरू घुम्दै येसुले तिनीहरूको सभाघरमा सिकाउनुभयो र राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँले हरप्रकारका रोगबिमार पनि निको पार्नुभयो।+ ३६  भीडलाई देखेर उहाँ टिठाउनुभयो+ किनभने तिनीहरू छाला काढिएका अनि गोठालो नभएर तितरबितर भएका भेडाहरूजस्ता थिए।+ ३७  त्यसपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “साँच्चै, फसल त प्रशस्त छ तर खेतालाहरू भने थोरै छन्‌।+ ३८  त्यसकारण फसलका मालिकलाई उहाँको बाली काट्‌न खेतालाहरू पठाइदिनुहोस्‌ भनेर बिन्ती गर।”+

फुटनोटहरू

अर्थात्‌, कफर्नहुम।
वा “चिकित्सकको।”
अङ्‌गुरबाट बनेको रक्सी।
जनावरको छालाबाट बनेको थैलो।
अर्थात्‌, यहुदी सभाघरका अध्यक्ष।
वा “दुष्ट स्वर्गदूत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।