मत्तिका अनुसार १३:१-५८

  • राज्यसम्बन्धी उदाहरणहरू  (१-५२)

    • बिउ छर्ने मानिस (१-९)

    • येसु किन उदाहरणहरू चलाउनुहुन्थ्यो (१०-१७)

    • बिउ छर्ने मानिसको उदाहरणको अर्थ (१८-२३)

    • गहुँ र सामा (२४-३०)

    • रायोको दाना र खमिर (३१-३३)

    • येसुले उदाहरणहरू चलाउनु—भविष्यवाणीको पूर्ति (३४, ३५)

    • गहुँ र सामाको उदाहरणको अर्थ (३६-४३)

    • लुकाइराखेको धन र असल मोती (४४-४६)

    • ठूलो जाल (४७-५०)

    • भण्डारबाट नयाँ र पुराना थोकहरू (५१, ५२)

  • येसुलाई उहाँकै गृहनगरमा तिरस्कार गरिन्छ (५३-५८)

१३  त्यस दिन येसु घरबाट निस्केर समुद्रको किनारामा बसिरहनुभएको थियो। २  तब मानिसहरूको एउटा विशाल भीड उहाँको वरिपरि जम्मा भयो। त्यसैले उहाँ डुङ्‌गामा चढेर बस्नुभयो अनि सारा भीड भने किनारामा उभिरहेको थियो।+ ३  त्यसपछि उहाँले उदाहरणहरू चलाएर तिनीहरूलाई धेरै कुरा सिकाउनुभयो:+ “हेर, एक जना बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो।+ ४  बिउ छर्दै जाँदा केही बिउ बाटोको छेउछाउमा परे अनि चराहरू आएर ती खाइदिए।+ ५  अरू केहीचाहिँ चट्टानमा परे, जहाँ त्यति माटो थिएन अनि माटो गहिरो नभएकोले ती तुरुन्तै टुसाइहाले।+ ६  तर घाम लागेपछि ती ओइलाए अनि जरा लाग्न नपाएकोले सुकिहाले। ७  अझ अरूचाहिँ काँडाहरूको बीचमा परे अनि काँडाहरू बढ्‌दै जाँदा ती निसासिए।+ ८  बाँकी अरू भने असल माटोमा परे अनि कुनैले १०० गुणा, कुनैले ६० गुणा र कुनैले ३० गुणा फल फलाउन थाले।+ ९  जसको कान छ, उसले सुनोस्‌।”+ १०  अनि चेलाहरू आएर उहाँलाई भने: “तिनीहरूसित कुरा गर्दा तपाईँ किन उदाहरणहरू चलाउनुहुन्छ?”+ ११  उहाँले यस्तो जवाफ दिनुभयो: “तिमीहरूलाई स्वर्गको राज्यको पवित्र रहस्य बुझ्ने मौका दिइएको छ+ तर ती मानिसहरूलाई त दिइएको छैन। १२  किनकि जोसित छ, उसलाई अझ धेरै दिइनेछ र ऊसित प्रशस्त हुनेछ तर जोसित छैन, ऊसित भएको पनि खोसिनेछ।+ १३  त्यसैले म तिनीहरूसित कुरा गर्दा उदाहरणहरू चलाउँछु किनभने तिनीहरू हेर्न त हेर्छन्‌ तर देख्दैनन्‌, सुन्‍न त सुन्छन्‌ तर ठम्याउँदैनन्‌ न त तिनीहरू त्यसको अर्थ नै बुझ्छन्‌।+ १४  यसैयाको भविष्यवाणी तिनीहरूमाथि पूरा हुन्छ, जहाँ यसो भनिएको छ: ‘सुनेर पनि तिमीहरूले कुनै हालतमा बुझ्नेछैनौ अनि हेरेर पनि तिमीहरूले कुनै हालतमा देख्नेछैनौ।+ १५  किनकि यी मानिसहरूको हृदय बोधो भएको छ र तिनीहरूका कान बाक्लो भएका छन्‌ अनि तिनीहरूले आफ्ना आँखा चिम्लिएका छन्‌ नत्र त तिनीहरूले आफ्ना आँखाले देख्ने थिए, कानले सुन्‍ने थिए, बुझेर हृदयमा लिने थिए र मकहाँ फर्केर आउने थिए अनि म तिनीहरूलाई निको पार्ने थिएँ।’+ १६  “तर तिमीहरू आनन्दित हौ किनभने तिमीहरूका आँखाले देख्छन्‌ र तिमीहरूका कानले सुन्छन्‌।+ १७  म तिमीहरूलाई साँचो-साँचो भन्छु, धेरै भविष्यवक्‍ता र धर्मी मानिसहरूले तिमीहरूले देखिरहेका कुराहरू हेर्ने इच्छा गरेका थिए तर हेर्न पाएनन्‌+ अनि तिमीहरूले सुनिरहेका कुराहरू सुन्‍ने इच्छा गरेका थिए तर सुन्‍न पाएनन्‌। १८  “अब तिमीहरू बिउ छर्ने मानिसको उदाहरणको अर्थ सुन।+ १९  यदि कसैले राज्यको वचन सुन्छ तर त्यसको अर्थ बुझ्दैन भने त्यो दुष्ट*+ आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ; बाटोको छेउछाउमा छरिएको यही हो।+ २०  चट्टानमा छरिएकोचाहिँ त्यो हो, जसले वचन सुनेर खुसीसाथ तुरुन्तै स्विकार्छ।+ २१  उसको आफ्नै जरा नभए तापनि केही समयसम्म रहिरहन्छ तर वचनको खातिर सङ्‌कष्ट वा खेदो आउनेबित्तिकै ठेस खान्छ। २२  काँडाहरूको बीचमा छरिएको यही हो, जसले वचन सुन्छ तर यस संसारमा* आइपर्ने फिक्री+ र धनसम्पत्तिको भ्रामक शक्‍तिले गर्दा वचन निसासिन्छ र त्यसले फल फलाउँदैन।+ २३  असल माटोमा छरिएको यही हो, जसले वचन सुन्छ र त्यसको अर्थ बुझ्छ अनि फल पनि फलाउँछ; कुनैले १०० गुणा, कुनैले ६० गुणा र कुनैले ३० गुणा।”+ २४  उहाँले तिनीहरूलाई यसो भन्दै अर्को उदाहरण सुनाउनुभयो: “स्वर्गको राज्यलाई एक जना यस्तो मानिससित तुलना गर्न सकिन्छ, जसले आफ्नो खेतमा असल बिउ छऱ्‍यो। २५  मानिसहरू सुतिरहेको बेला उसको शत्रु आयो र गहुँको बीचबीचमा सामा छरेर गयो। २६  जब बाला निस्केर गेडा लाग्यो, तब सामा पनि देखा पऱ्‍यो। २७  त्यसैले घरमालिकका दासहरू आएर उसलाई यसो भने: ‘मालिक, हजुरले आफ्नो खेतमा असल बिउ छर्नुभएको होइन र? त्यसोभए सामा कहाँबाट आयो?’ २८  उसले तिनीहरूलाई भन्यो: ‘शत्रुले त्यसो गरेको हो।’+ तिनीहरूले उसलाई भने: ‘त्यसोभए के हामी गएर ती उखेलौँ?’ २९  उसले भन्यो: ‘भो, पर्दैन। नत्र त तिमीहरूले सामासँगसँगै गहुँ पनि उखेल्नेछौ। ३०  बाली काट्‌ने बेलासम्म दुवैलाई सँगै बढ्‌न देओ। अनि बाली काट्‌ने बेला म खेतालाहरूलाई भन्‍नेछु, पहिला सामा बटुलेर जलाउनलाई बिटा बाँध र त्यसपछि गहुँ जम्मा गरेर मेरो भण्डारमा राख।’”+ ३१  उहाँले तिनीहरूलाई यसो भन्दै अर्को उदाहरण सुनाउनुभयो: “स्वर्गको राज्य रायोको दानाजस्तो हो, जसलाई एक जना मानिसले आफ्नो खेतमा रोप्यो।+ ३२  यो वास्तवमा बिउहरूमध्ये सबैभन्दा सानो हो तर बढेपछि सागपातहरूमध्ये सबैभन्दा ठूलो हुन्छ र रूख बन्छ। अनि आकाशका चराचुरुङ्‌गी आएर यसका हाँगाहरूमा बास बस्छन्‌।” ३३  उहाँले तिनीहरूलाई अर्को उदाहरण पनि सुनाउनुभयो: “स्वर्गको राज्य खमिरजस्तो* हो, जसलाई एउटी स्त्रीले तीन भाँडो* पीठोमा मिसाई र पूरै पीठो खमिरा नहोउन्जेल राखिछोडी।”+ ३४  येसुले यी सबै कुरा उदाहरण चलाएर भीडलाई बताउनुभयो। वास्तवमा उदाहरण नचलाई उहाँ तिनीहरूसित कुरा गर्नुहुन्‍नथ्यो।+ ३५  यसरी भविष्यवक्‍ताद्वारा भनिएको यो वचन पूरा भयो: “उदाहरणहरू चलाएर म आफ्नो मुख खोल्नेछु, प्रारम्भदेखि* गुप्तमा रहेको कुरा म घोषणा गर्नेछु।”+ ३६  भीडलाई बिदा गरिसकेपछि उहाँ घरभित्र पस्नुभयो। अनि चेलाहरू उहाँकहाँ आएर भने: “खेतको सामाको उदाहरणको अर्थ हामीलाई बताइदिनुहोस्‌।” ३७  उहाँले भन्‍नुभयो: “असल बिउ छर्ने व्यक्‍ति मानिसको छोरा हो; ३८  खेत संसार हो;+ असल बिउ राज्यका सन्तान हुन्‌; सामाचाहिँ त्यस दुष्टका* सन्तान हुन्‌;+ ३९  ती छर्ने शत्रु दियाबल हो। बाली काट्‌ने समयचाहिँ युगको आखिरी समय* हो अनि खेतालाहरूचाहिँ स्वर्गदूतहरू हुन्‌। ४०  त्यसकारण जसरी सामा बटुलेर आगोमा जलाइन्छ, यस युगको आखिरी समयमा* पनि त्यस्तै हुनेछ।+ ४१  मानिसको छोराले आफ्ना स्वर्गदूतहरू पठाउनेछ र तिनीहरूले ठेस लाग्ने सबै कुरा* र कुकर्मीहरूलाई उहाँको राज्यबाट बटुल्नेछन्‌ ४२  अनि आगोको भट्टीमा फ्याँकिदिनेछन्‌,+ जहाँ उनीहरू दाह्रा किटी-किटी रुनेछन्‌। ४३  धर्मीहरू भने त्यसबेला आफ्ना बुबाको राज्यमा सूर्यझैँ चम्किनेछन्‌।+ जसको कान छ, उसले सुनोस्‌। ४४  “स्वर्गको राज्य खेतमा लुकाइराखेको धनजस्तो हो, जुन एक जना मानिसले फेला पारेर लुकाउँछ अनि ऊ खुसी हुँदै जान्छ र आफूसित भएको सबै थोक बेचेर त्यो खेत किन्छ।+ ४५  “साथै स्वर्गको राज्य असल मोती खोज्दै हिँड्‌ने व्यापारीजस्तो हो। ४६  उसले उच्च कोटिको एउटा मोती फेला पारेपछि गएर आफूसित भएको सबै थोक तुरुन्तै बेच्छ र त्यो किन्छ।+ ४७  “अनि स्वर्गको राज्य समुद्रमा हालिएको ठूलो जालजस्तो हो, जहाँ विभिन्‍न किसिमका माछाहरू पर्छन्‌। ४८  जाल भरिएपछि मानिसहरूले त्यसलाई तानेर किनारामा निकाल्छन्‌ अनि बसेर असल माछाहरूजति+ भाँडामा जम्मा गर्छन्‌ तर काम नलाग्ने माछाहरूजति+ फ्याँकिदिन्छन्‌। ४९  यस युगको आखिरी समयमा* पनि यस्तै हुनेछ। स्वर्गदूतहरू गएर धर्मीहरूको माझबाट दुष्टहरूलाई अलग पार्नेछन्‌ ५०  अनि आगोको भट्टीमा फ्याँकिदिनेछन्‌, जहाँ तिनीहरू दाह्रा किटी-किटी रुनेछन्‌। ५१  “के तिमीहरूले यी सबै कुराको अर्थ बुझ्यौ?” तिनीहरूले उहाँलाई भने: “हजुर, बुझ्यौँ।” ५२  त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “त्यसो हो भने मानिसहरूलाई सिकाउने हरेक शिक्षक, जसले स्वर्गको राज्यको विषयमा शिक्षा पाएको छ, ऊ त्यो घरमालिकजस्तो हो, जसले आफ्नो भण्डारबाट नयाँ र पुराना थोकहरू निकाल्छ।” ५३  यी उदाहरणहरू सुनाइसकेपछि येसु त्यहाँबाट जानुभयो। ५४  अनि आफ्नो गृहनगर पुगेपछि+ उहाँले तिनीहरूको सभाघरमा सिकाउन थाल्नुभयो। उहाँको कुरा सुनेर तिनीहरू छक्क परे र यसो भने: “यस मानिसले यस्तो बुद्धि र शक्‍तिशाली कामहरू गर्ने क्षमता कहाँबाट पायो?+ ५५  के यो त्यही सिकर्मीको छोरा होइन?+ अनि के यसकी आमाको नाम मरियम अनि भाइहरूको नाम याकुब, युसुफ, सिमोन र यहुदा होइन?+ ५६  के यसका बहिनीहरू सबै यहाँ हामीमाझ नै छैनन्‌? त्यसोभए यस मानिसले यी सबै कुरा कहाँबाट पायो?”+ ५७  त्यसैले तिनीहरूले उहाँमाथि विश्‍वास गर्न चाहेनन्‌।+ तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “भविष्यवक्‍ताले सबै ठाउँमा आदर पाउँछ तर आफ्नै इलाका र आफ्नै घरमा भने पाउँदैन।”+ ५८  तिनीहरूले विश्‍वास नगरेको हुनाले उहाँले त्यहाँ शक्‍तिशाली काम धेरै गर्नुभएन।

फुटनोटहरू

अर्थात्‌, सैतान।
वा “यस युगमा।” शब्दावलीमा “युग” हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
लगभग दस किलो।
वा सम्भवत: “संसारको प्रारम्भदेखि।”
अर्थात्‌, सैतानका।
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
वा “अरूलाई पाप गर्न लगाउनेहरू।”
शब्दावली हेर्नुहोस्‌।