मत्तिका अनुसार २१:१-४६

  • येसु राजाको रूपमा प्रवेश गर्नुहुन्छ (१-११)

  • येसु मन्दिरलाई शुद्ध पार्नुहुन्छ (१२-१७)

  • अन्जिरको रूखलाई सराप (१८-२२)

  • येसुको अख्तियारमाथि प्रश्‍न उठाइन्छ (२३-२७)

  • दुई छोराको उदाहरण (२८-३२)

  • हत्यारा मोहीहरूको उदाहरण (३३-४६)

    • कुनाको शिरढुङ्‌गोलाई तिरस्कार गरिन्छ (४२)

२१  जब उहाँहरू यरुसलेमनजिकै जैतुन डाँडाको बेथफागे पुग्नुभयो, तब येसुले आफ्ना दुई जना चेलालाई यसो भन्दै पठाउनुभयो:+ २  “तिमीहरूले देखिरहेको त्यस गाउँमा जाओ र त्यहाँ पस्नेबित्तिकै तिमीहरूले गधा र त्यसको बछेडोलाई बाँधेर राखेको भेट्टाउनेछौ। ती फुकाएर यहाँ मकहाँ ल्याओ। ३  यदि कसैले केही सोध्यो भने तिमीहरूले यसो भन्‍नू, ‘प्रभुलाई यी चाहिएको छ।’ अनि उसले ती तुरुन्तै तिमीहरूलाई दिनेछ।” ४  वास्तवमा यी सबै कुरा भविष्यवक्‍ताद्वारा भनिएको यो वचन पूरा हुनलाई भएको थियो: ५  “सियोनकी छोरीलाई भन, ‘हेर, तिम्रा राजा तिमीकहाँ आउँदै छन्‌।+ तिनी कोमल स्वभावका छन्‌+ र तिनी गधामाथि, हो, भारी बोक्ने गधाको बछेडोमाथि सवार छन्‌।’”+ ६  त्यसपछि चेलाहरू आफ्नो बाटो लागे अनि येसुले आज्ञा गर्नुभएबमोजिम गरे।+ ७  तिनीहरूले गधा र त्यसको बछेडो ल्याए र तीमाथि आफ्ना लुगाहरू बिछ्याए अनि उहाँ त्यसमाथि बस्नुभयो।+ ८  तब भीडमा भएकाहरूमध्ये धेरैले आ-आफ्नो लुगा बाटोमा बिछ्याए+ अनि अरू कतिले चाहिँ रूखका हाँगाहरू काटेर बाटोमा फिँजाउन थाले। ९  अनि उहाँको अघिअघि गइरहेको र पछिपछि आइरहेको मानिसहरूको भीडले यसो भन्दै जयजयकार गर्न थाल्यो: “हे परमेश्‍वर, दाउदका छोराको रक्षा गर्नुहोस्‌!+ यहोवाको* नाममा आउने धन्यका हुन्‌!+ हे स्वर्गमा बस्नुहुने परमेश्‍वर, बिन्ती! उहाँको रक्षा गर्नुहोस्‌!”+ १०  जब उहाँ यरुसलेमभित्र पस्नुभयो, तब पूरै सहरमा हल्लीखल्ली मच्चियो र मानिसहरूले सोध्न थाले: “यिनी को हुन्‌?” ११  अनि भीडले यसो भन्‍न थाल्यो: “यिनी गालिलको नासरतका येसु हुन्‌। प्रतिज्ञा गरिएको भविष्यवक्‍ता यिनी नै हुन्‌।”+ १२  तब येसु मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरू सबैलाई बाहिर लघार्नुभयो। उहाँले पैसा साट्‌नेहरूको टेबुल अनि ढुकुर बेच्नेहरूको बेन्च पनि पल्टाइदिनुभयो।+ १३  त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “‘मेरो घर प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी धर्मशास्त्रमा लेखिएको छ।+ तर तिमीहरू यसलाई डाँकुहरूको ओडार बनाउँदै छौ।”+ १४  साथै अन्धा अनि लुला-लङ्‌गडाहरू मन्दिरमा उहाँकहाँ आए र उहाँले तिनीहरूलाई निको पार्नुभयो। १५  जब मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरू देखे अनि “हे परमेश्‍वर, दाउदका छोराको रक्षा गर्नुहोस्‌!”+ भन्दै मन्दिरमा ठिटाहरूले जयजयकार गरेको सुने, तब तिनीहरू क्रोधित भए+ १६  र उहाँलाई भने: “यिनीहरू के भन्दै छन्‌, के तपाईँ सुन्दै हुनुहुन्छ?” येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “सुन्दै छु। के तिमीहरूले यो कुरा कहिल्यै पढेका छैनौ: ‘तपाईँले केटाकेटी अनि दूधे बालकहरूको बोलीबाट आफ्नो प्रशंसा गर्न लगाउनुभयो’?”+ १७  अनि तिनीहरूलाई त्यहीँ छोडी उहाँ सहरबाट निस्केर बेथानी जानुभयो र त्यहाँ रात काट्‌नुभयो।+ १८  बिहान सबेरै सहर फर्कँदै गर्दा उहाँ भोकाउनुभयो।+ १९  अनि उहाँले बाटोको छेउमा अन्जिरको एउटा रूख देख्नुभयो र त्यसतिर जानुभयो तर उहाँले त्यसमा पातबाहेक केही पाउनुभएन।+ त्यसैले उहाँले त्यसलाई यसो भन्‍नुभयो: “तँमा अबदेखि कहिल्यै फल नलागोस्‌।”+ तब अन्जिरको त्यो रूख उत्तिखेरै सुकिहाल्यो। २०  जब चेलाहरूले यो देखे, तब अचम्म मान्दै सोधे: “यो अन्जिरको रूख कसरी तुरुन्तै सुक्यो?”+ २१  अनि येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यदि तिमीहरूसित विश्‍वास छ र तिमीहरूले शङ्‌का गरेनौ भने मैले अन्जिरको रूखलाई जे गरेँ, त्यति मात्र होइन तर यस पहाडलाई ‘यहाँबाट उप्किएर समुद्रमा खस्‌’ भन्यौ भने त्यो पनि हुनेछ।+ २२  तिमीहरूले विश्‍वास गर्दै प्रार्थनामा जे-जे माग्छौ, ती सबै तिमीहरूले पाउनेछौ।”+ २३  त्यसपछि उहाँ मन्दिरमा पस्नुभयो र त्यहाँ सिकाइरहनुभएको बेला मुख्य पुजारीहरू र धर्मगुरुहरू आएर उहाँलाई सोधे: “तपाईँ कुन अख्तियारले यी सब गर्दै हुनुहुन्छ? तपाईँलाई कसले यस्तो अख्तियार दियो?”+ २४  येसुले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म पनि तिमीहरूलाई एउटा कुरा सोध्छु। तिमीहरूले मलाई त्यसको जवाफ दियौ भने म कुन अख्तियारले यी सब गर्दै छु, म पनि तिमीहरूलाई भन्छु: २५  युहन्‍नाले बप्तिस्मा गराउने अख्तियार कसबाट पाए? परमेश्‍वरबाट* कि मानिसहरूबाट?” तब तिनीहरू आपसमा यसो भन्दै तर्क गर्न थाले: “‘परमेश्‍वरबाट’ भनौँ भने ‘उसोभए तिमीहरूले किन ऊमाथि विश्‍वास गरेनौ त’ भनेर उसले सोध्नेछ।+ २६  ‘मानिसहरूबाट’ भनौँ भने हामीलाई भीडसित डर लाग्छ किनकि तिनीहरू सबैले युहन्‍नालाई भविष्यवक्‍ता मान्छन्‌।” २७  त्यसैले तिनीहरूले येसुलाई यस्तो जवाफ दिए: “हामीलाई थाह छैन।” तब उहाँले पनि तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म कुन अख्तियारले यी सब गर्छु, म पनि तिमीहरूलाई भन्दिनँ। २८  “तिमीहरूलाई कस्तो लाग्छ? एक जना मानिसका दुई छोरा थिए। जेठोकहाँ गएर तिनले यसो भने, ‘बाबु, जाऊ गएर आज अङ्‌गुर बगानमा काम गर।’ २९  उसले ‘नाइँ, म जान्‍नँ’ भन्यो तर पछि ऊ पछुतायो र अङ्‌गुर बगानमा गयो। ३०  अनि कान्छोकहाँ गएर तिनले त्यसै भन्दा उसले ‘हवस्‌ बुबा’ भन्यो तर ऊ गएन। ३१  यी दुईमध्ये कसले आफ्नो बुबाको इच्छा पूरा गऱ्‍यो?” तिनीहरूले जवाफ दिए: “जेठोचाहिँले।” अनि येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, कर उठाउनेहरू र वेश्‍याहरू तिमीहरूभन्दा पहिला परमेश्‍वरको राज्यमा पस्नेछन्‌। ३२  किनकि युहन्‍ना आए र तिमीहरूलाई सत्यको बाटो देखाए तैपनि तिमीहरूले ऊमाथि विश्‍वास गरेनौ। तर कर उठाउनेहरू र वेश्‍याहरूले ऊमाथि विश्‍वास गरे+ र यो देख्दादेख्दै पनि तिमीहरू पछुताएनौ र ऊमाथि विश्‍वास गरेनौ। ३३  “अर्को एउटा उदाहरण सुन: एक जना जग्गाधनी थियो, जसले अङ्‌गुर बगान लगाएर त्यसको वरिपरि बार हाल्यो।+ त्यसपछि उसले अङ्‌गुर पेल्ने कोल खन्यो र एउटा मचान खडा गऱ्‍यो।+ अनि मोहीहरूलाई त्यसको ठेक्का दिएर आफूचाहिँ विदेशतिर लाग्यो।+ ३४  जब फल टिप्ने बेला भयो, तब उसले आफ्ना दासहरूलाई कुत उठाउन* मोहीहरूकहाँ पठायो। ३५  तर मोहीहरूले उसका दासहरूलाई समातेर एक जनालाई कुटे, अर्कोलाई मारे अनि अर्कोलाई चाहिँ ढुङ्‌गाले हानेर मारे।+ ३६  फेरि उसले पहिलेको भन्दा धेरै दास पठायो तर तिनीहरूले उनीहरूलाई पनि त्यसै गरे।+ ३७  ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्नेछन्‌’ भन्‍ने सोच्दै अन्त्यमा उसले आफ्नो छोरालाई तिनीहरूकहाँ पठायो। ३८  तर छोराचाहिँ आएको देखेर ती मोहीहरूले आपसमा यसो भने, ‘यो त हकवाला हो।+ आओ, यसलाई मारौँ र यसको सम्पत्ति हात पारौँ।’ ३९  तब तिनीहरूले उसलाई समाते र अङ्‌गुर बगानबाहिर लगेर मारे।+ ४०  अङ्‌गुर बगानको मालिक आएपछि उसले ती मोहीहरूलाई के गर्ला?” ४१  तिनीहरूले उहाँलाई जवाफ दिए: “तिनीहरू दुष्ट भएकोले उसले रतीभर दया नदेखाई तिनीहरूलाई नाश गर्नेछ र आफ्नो अङ्‌गुर बगान त्यस्ता मोहीहरूलाई दिनेछ, जसले समयमै कुत बुझाउँछन्‌।” ४२  येसुले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरूले धर्मशास्त्रमा कहिल्यै पढेका छैनौ, ‘जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ।+ यहोवाले* त्यसो गर्नुभएको हो र यो हाम्रो नजरमा अति अचम्मको छ’?+ ४३  त्यसैले म तिमीहरूलाई भन्छु, परमेश्‍वरको राज्यमा पस्ने मौका तिमीहरूको हातबाट खोसिनेछ र एउटा यस्तो जातिलाई दिइनेछ, जसले त्यस राज्यको लागि सुहाउँदो फल फलाउँछ। ४४  साथै जो यस ढुङ्‌गोमाथि बजारिन्छ, त्यो चकनाचुर हुनेछ+ र जसमाथि यो ढुङ्‌गो खस्छ, त्यो धुलोपिठो हुनेछ।”+ ४५  जब मुख्य पुजारीहरू र फरिसीहरूले उहाँले बताउनुभएका यी उदाहरणहरू सुने, तब उहाँले तिनीहरूकै विषयमा पो भनिरहनुभएको रहेछ भनी तिनीहरूले बुझे।+ ४६  तिनीहरूले उहाँलाई पक्रन चाहे तर भीडसित डराए किनकि मानिसहरू उहाँलाई भविष्यवक्‍ता मान्थे।+

फुटनोटहरू

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
शा., “स्वर्गबाट।”
वा “केही फल लिन।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।