मत्तिका अनुसार १४:१-३६

  • बप्तिस्मा गराउने युहन्‍नाको टाउको काटिन्छ (१-१२)

  • येसु ५ हजारलाई खुवाउनुहुन्छ (१३-२१)

  • येसु पानीमा हिँड्‌नुहुन्छ (२२-३३)

  • गनेसरेतमा बिरामीहरूलाई निको पारिन्छ (३४-३६)

१४  त्यसबेला प्रान्तीय शासक हेरोदले येसुको विषयमा सुने+ २  र आफ्ना सेवकहरूलाई भने: “यिनी मृत्युबाट ब्युँताइएका बप्तिस्मा गराउने युहन्‍ना हुन्‌। त्यसैले त तिनले शक्‍तिशाली कामहरू गरिरहेका छन्‌।”+ ३  हेरोदले* आफ्नो दाइ फिलिपकी पत्नी हेरोदियासको कारण युहन्‍नालाई पक्रेका थिए र तिनलाई बाँधेर झ्यालखानामा हालेका थिए।+ ४  किनकि युहन्‍ना हेरोदलाई यसो भन्‍ने गर्थे: “तपाईँले उसलाई पत्नी बनाउनु ठीक होइन।”+ ५  हेरोद तिनलाई मार्न चाहन्थे तर उनी मानिसहरूसित डराउँथे किनभने तिनीहरूले युहन्‍नालाई भविष्यवक्‍ता ठान्थे।+ ६  तर हेरोदको जन्मदिनको बेला+ हेरोदियासकी छोरीले पाहुनाहरूको अगाडि नाचेर हेरोदलाई यत्ति प्रसन्‍न बनाइन्‌ कि+ ७  तिनले जे मागे पनि दिने प्रतिज्ञा गर्दै हेरोदले कसम खाए। ८  तब आफ्नी आमाले सिकाएअनुसार तिनले भनिन्‌: “बप्तिस्मा गराउने युहन्‍नाको टाउको किस्तीमा राखेर मलाई दिनुहोस्‌।”+ ९  तिनको कुरा सुनेर हेरोद दुःखी भए। तर पाहुनाहरूको अगाडि कसम खाइसकेको हुनाले उनले युहन्‍नाको टाउको त्यस केटीलाई दिन हुकुम गरे। १०  उनले मानिसहरू पठाएर झ्यालखानामा युहन्‍नाको टाउको काट्‌न लगाए। ११  युहन्‍नाको टाउको किस्तीमा राखेर ल्याइयो अनि त्यस ठिटीलाई दिइयो र तिनले त्यो आफ्नी आमालाई दिइन्‌। १२  पछि युहन्‍नाका चेलाहरू आए अनि लास लगेर गाडे। त्यसपछि तिनीहरूले गएर येसुलाई खबर गरे। १३  यो सुनेपछि येसु एकान्तमा बस्न डुङ्‌गा चढेर एउटा सुनसान ठाउँमा जानुभयो तर यो थाह पाएर भीड पनि सहर-सहरबाट पैदलै उहाँको पछि लाग्यो।+ १४  किनारामा पुगेपछि उहाँले एउटा ठूलो जमात देख्नुभयो र तिनीहरूलाई देखेर उहाँ टिठाउनुभयो+ अनि उहाँले बिरामीहरूलाई निको पार्नुभयो।+ १५  तर साँझ परेपछि चेलाहरूले उहाँकहाँ आएर यसो भने: “यो ठाउँ अनकन्टार छ र दिन पनि निकै ढलिसक्यो। त्यसैले यो भीडलाई पठाइदिनुहोस्‌ र तिनीहरूले गाउँमा गएर आफ्नो निम्ति खानेकुरा किनून्‌।”+ १६  तर येसुले भन्‍नुभयो: “उनीहरू जानु आवश्‍यक छैन, तिमीहरूले नै उनीहरूलाई केही खान देओ।” १७  चेलाहरूले उहाँलाई भने: “हामीसित यहाँ पाँच वटा रोटी र दुई वटा माछाबाहेक अरू केही पनि छैन।” १८  उहाँले भन्‍नुभयो: “ती मकहाँ ल्याओ।” १९  त्यसपछि उहाँले भीडलाई घाँस भएको ठाउँमा बस्न भन्‍नुभयो अनि पाँच वटा रोटी र दुई वटा माछा लिई स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो+ अनि रोटी भाँचिसकेपछि चेलाहरूलाई दिनुभयो र चेलाहरूले भीडलाई बाँडे। २०  तिनीहरू सबैले पेटभरि खाए अनि उब्रेको टुक्राटाक्री जम्मा गर्दा १२ डाला भरिए।+ २१  खाने मानिसहरू स्त्री र साना केटाकेटीबाहेक लगभग ५ हजार थिए।+ २२  तब उहाँले तुरुन्तै आफ्ना चेलाहरूलाई डुङ्‌गा चढेर उहाँभन्दा अघि पारि जान लगाउनुभयो अनि उहाँले चाहिँ भीडलाई बिदा गर्नुभयो।+ २३  भीडलाई पठाइसकेपछि उहाँ प्रार्थना गर्न एक्लै डाँडामा उक्लनुभयो।+ साँझ परिसकेको थियो र उहाँ त्यहाँ एक्लै हुनुहुन्थ्यो। २४  यतिखेरसम्ममा डुङ्‌गा सयौँ मिटर* पर पुगिसकेको थियो र विपरीत दिशाबाट बतास चलिरहेको हुँदा छालले डुङ्‌गालाई बेसरी हानिरहेको थियो। २५  तर रातको चौथो प्रहरमा* उहाँ समुद्रमा हिँड्‌दै चेलाहरूकहाँ आउनुभयो। २६  उहाँ समुद्रमा हिँडिरहनुभएको देखेपछि चेलाहरू आत्तिएर यसो भन्‍न थाले: “लौ! हामी यो के देख्दै छौँ?” अनि तिनीहरू तर्सेर कराए। २७  तर येसुले तुरुन्तै तिनीहरूलाई यसो भन्‍नुभयो: “साहस गर, मै हुँ, नडराओ।”+ २८  पत्रुसले उहाँलाई यस्तो जवाफ दिए: “प्रभु, यदि तपाईँ नै हुनुहुन्छ भने मलाई पानीमाथि हिँडेर तपाईँकहाँ आउने आज्ञा दिनुहोस्‌।” २९  उहाँले भन्‍नुभयो: “हुन्छ, आऊ!” अनि पत्रुस डुङ्‌गाबाट ओर्लेर पानीमाथि हिँड्‌दै येसु भएतिर गए। ३०  तर आँधी चलिरहेको देखेर तिनी डराए अनि डुब्न थालेपछि यसो भन्दै कराए: “प्रभु, मलाई बचाउनुहोस्‌!” ३१  येसुले तुरुन्तै आफ्नो हात पसारेर तिनलाई समाउनुभयो र भन्‍नुभयो: “ए विश्‍वास कमजोर भएको मानिस, तिमीले किन शङ्‌का गऱ्‍यौ?”+ ३२  अनि दुवै जना डुङ्‌गामा चढेपछि आँधी थामियो। ३३  त्यसपछि डुङ्‌गामा बसिरहेका चेलाहरूले उहाँलाई दण्डवत्‌ गर्दै भने: “तपाईँ साँच्चै परमेश्‍वरको छोरा हुनुहुँदो रहेछ।” ३४  अनि उहाँहरू पारि तरेर गनेसरेतमा आइपुग्नुभयो।+ ३५  उहाँलाई चिनेपछि त्यहाँका मानिसहरूले वरपरका ठाउँहरूमा खबर पठाए र मानिसहरूले उहाँकहाँ बिरामीजति सबैलाई ल्याए। ३६  अनि उहाँको लुगाको किनारा मात्र भए पनि छुन पाऊँ भनी तिनीहरूले उहाँलाई बिन्ती गरे+ र ज-जसले छोए, तिनीहरू पूरै निको भए।

फुटनोटहरू

अर्थात्‌, हेरोद एन्टिपासले। शब्दावलीमा “हेरोद” हेर्नुहोस्‌।
शा., “सयौँ स्टेडियम।” एक स्टेडियम भनेको १८५ मिटर (६०६.९५ फिट) हो।
बिहान ३ बजेतिरदेखि ६ बजेतिरसम्ममा।