मत्तिका अनुसार ११:१-३०

  • बप्तिस्मा गराउने युहन्‍नाको प्रशंसा (१-१५)

  • अपश्‍चात्तापी पुस्तालाई धिक्कारिन्छ (१६-२४)

  • आफ्नो बुबाले नम्रहरूलाई अनुग्रह देखाउनुभएकोमा येसु उहाँको प्रशंसा गर्नुहुन्छ (२५-२७)

  • येसुको जुवा स्फूर्तिदायी (२८-३०)

११  आफ्ना १२ जना चेलालाई निर्देशन दिइसकेपछि येसु अरू सहरहरूमा सिकाउन र प्रचार गर्न त्यहाँबाट जानुभयो।+ २  तब ख्रिष्टले गर्नुभएका कामहरूको विषयमा युहन्‍नाले झ्यालखानामा सुने+ अनि आफ्ना चेलाहरूलाई उहाँकहाँ यो कुरा सोध्न पठाए:+ ३  “आउनेवाला तपाईँ नै हुनुहुन्छ कि हामी अरू कसैको बाटो हेरौँ?”+ ४  येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “जाओ र तिमीहरूले जे सुनिरहेका छौ अनि देखिरहेका छौ, युहन्‍नालाई त्यो बताइदेओ:+ ५  अन्धाहरूले देख्न थालेका छन्‌,+ लङ्‌गडाहरू हिँड्‌न थालेका छन्‌, कुष्ठरोगीहरू+ शुद्ध पारिएका छन्‌, बहिराहरूले सुन्‍न थालेका छन्‌, मरेकाहरू जीवित भएका छन्‌ अनि गरिबहरूलाई सुसमाचार सुनाइँदै छ।+ ६  त्यो मानिस आनन्दित हो, जसले मेरो विषयमा कुनै शङ्‌का गर्दैन।”*+ ७  तिनीहरू आफ्नो बाटो लागेपछि येसुले भीडलाई युहन्‍नाको विषयमा यसो भन्‍न थाल्नुभयो: “तिमीहरू के हेर्न निर्जनभूमिमा गयौ?+ हावाले यताउता हल्लाइरहेको नर्कट हेर्न?+ ८  त्यसोभए के हेर्न गयौ त? मिहिन कपडाको लुगा लगाएको मानिसलाई हेर्न? त्यस्तो लुगा लगाएका मानिसहरू त महलमा हुन्छन्‌। ९  तिमीहरू किन गयौ, लौ साँच्चै भन त। भविष्यवक्‍तालाई हेर्न? हो, म तिमीहरूलाई भन्छु, भविष्यवक्‍ताभन्दा पनि महान्‌ व्यक्‍तिलाई हेर्न।+ १०  तिनी उनै हुन्‌, जसको विषयमा यस्तो लेखिएको छ: ‘हेर, म मेरो दूतलाई तिम्रो अघिअघि पठाउँदै छु र तिनले तिम्रो बाटो तयार पार्नेछन्‌!’+ ११  म तिमीहरूलाई साँचो-साँचो भन्छु, बप्तिस्मा गराउने युहन्‍नाभन्दा ठूलो अहिलेसम्म कोही जन्मेको छैन तैपनि स्वर्गको राज्यमा जो सबैभन्दा सानो छ, त्यो तिनीभन्दा ठूलो हो।+ १२  बप्तिस्मा गराउने युहन्‍नाको समयदेखि अहिलेसम्म मानिसहरू स्वर्गको राज्य प्राप्त गर्ने लक्ष्यसम्म पुग्न अघि बढिरहेका छन्‌ र यसरी अघि बढ्‌नेहरूले त्यो राज्य हासिल गरिरहेका छन्‌।+ १३  किनकि सबै भविष्यवक्‍ता र व्यवस्थाका भविष्यवाणीहरू युहन्‍नाको समयसम्मको लागि थियो।+ १४  चाहे तिमीहरूले स्वीकार गर या नगर, ‘आउनेवाला एलिया’ तिनी नै हुन्‌।+ १५  जसको कान छ, उसले सुनोस्‌। १६  “यस पुस्तालाई म कोसित तुलना गरूँ?+ यो त बजारमा बस्ने ती साना केटाकेटीजस्तै छ, जसले आफ्ना साथीहरूलाई कराउँदै १७  यसो भन्छन्‌: ‘हामीले तिमीहरूको लागि बाँसुरी बजायौँ तर तिमीहरू नाचेनौ; हामीले शोकगीत गायौँ तर तिमीहरूले छाती पिटेर बिलौना गरेनौ।’ १८  त्यसैगरि युहन्‍नाले अरूले जस्तो न खाए न पिए तैपनि मानिसहरू यसो भन्छन्‌: ‘उसमा प्रेत* बास गरेको छ।’ १९  मानिसको छोराचाहिँ अरूले जस्तै खान्छ र पिउँछ+ तैपनि मानिसहरू यसो भन्छन्‌: ‘हेर, घिचुवा र पियक्कड मानिस! कर उठाउने र पापीहरूको साथी।’+ तर मानिसले गर्ने असल कामैले ऊ बुद्धिमान्‌ हो भनेर प्रमाणित गर्छ।”+ २०  अनि जुन-जुन सहरमा उहाँले धेरैजसो शक्‍तिशाली काम गर्नुभएको थियो, ती सहरहरूले पश्‍चात्ताप नगरेको हुनाले उहाँले तिनीहरूलाई यसो भन्दै धिक्कार्न थाल्नुभयो: २१  “ए कोराजिन, तँलाई धिक्कार! ए बेथसेदा, तँलाई धिक्कार! किनकि तिमीहरूकहाँ गरिएका शक्‍तिशाली कामहरू टायर र सिदोनमा गरिएका भए तिनीहरूले भाङ्‌ग्रा लगाएर अनि खरानीमाथि बसेर धेरै अघि नै पश्‍चात्ताप गरिसकेका हुने थिए।+ २२  त्यसैले म तिमीहरूलाई भन्छु, न्यायको दिनमा टायर र सिदोनले भन्दा तिमीहरूले चर्को दण्ड पाउनेछौ।+ २३  अनि ए कफर्नहुम,+ के तँचाहिँ उचालिएर आकाशसम्मै पुग्नेछस्‌? तँ तल चिहानमा* खसालिनेछस्‌+ किनकि तँकहाँ गरिएका शक्‍तिशाली कामहरू सदोममा गरिएका भए त्यो सहर अहिलेसम्म रहिरहने थियो। २४  त्यसैले म तँलाई भन्छु, न्यायको दिनमा सदोमले भन्दा तैँले चर्को दण्ड पाउनेछस्‌।”+ २५  त्यसबेला येसुले यसो भन्‍नुभयो: “हे बुबा, स्वर्ग र पृथ्वीका मालिक, म सबैको अगाडि तपाईँको प्रशंसा गर्छु किनकि तपाईँले यी कुरा बुद्धिमान्‌ र बुद्धिजीवीहरूबाट लुकाउनुभएको छ तर साना केटाकेटीलाई प्रकट गर्नुभएको छ।+ २६  हो बुबा, यसै गर्न तपाईँलाई उचित लाग्यो। २७  मेरो बुबाले सबै कुरा मलाई सुम्पनुभएको छ+ अनि छोरालाई बुबाले भन्दा राम्ररी अरू कसैले चिन्दैन।+ त्यसैगरि बुबालाई छोराले अनि ती मानिसहरूले मात्र राम्ररी चिन्छन्‌, जसलाई छोराले प्रकट गर्न चाहन्छ।+ २८  हे कठोर श्रमले थाकेका र भारले दबिएका सबै मानिस हो, मकहाँ आओ र म तिमीहरूलाई स्फूर्ति दिनेछु। २९  मेरो जुवा बोक र मबाट सिक किनकि म कोमल स्वभावको र नम्र हृदयको छु+ अनि तिमीहरूले स्फूर्ति पाउनेछौ। ३०  किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ।”

फुटनोटहरू

वा “जसले ममा ठेस खाने कुनै कारण भेट्‌दैन।”
वा “दुष्ट स्वर्गदूत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।
ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।