मत्तिका अनुसार १७:१-२७

  • येसुको रूप परिवर्तन (१-१३)

  • रायोको गेडा जत्रो विश्‍वास (१४-२१)

  • येसु फेरि आफ्नो मृत्युको भविष्यवाणी गर्नुहुन्छ (२२, २३)

  • माछाको मुखमा भेटिएको सिक्काले कर तिरिन्छ (२४-२७)

१७  छ दिनपछि येसुले पत्रुस, याकुब र तिनको भाइ युहन्‍नालाई एउटा अग्लो डाँडामा लैजानुभयो र त्यहाँ तिनीहरूबाहेक अरू कोही थिएन।+ २  तब तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो। उहाँको मुहार सूर्यजस्तै उज्यालो र लुगाचाहिँ ज्योतिजस्तै चहकिलो* भयो।+ ३  अनि हेर! तिनीहरूसामु मोसा र एलिया देखिए, जो उहाँसित कुराकानी गर्दै थिए। ४  तब पत्रुसले येसुलाई भने: “प्रभु, हामी यहाँ हुनु हाम्रो लागि खुसीको कुरा हो। यदि तपाईँ चाहनुहुन्छ भने म यहाँ तीन वटा पाल टाँग्नेछु, एउटा तपाईँको लागि, एउटा मोसाको लागि अनि एउटा एलियाको लागि।” ५  तिनी बोल्दै गर्दा हेर! चहकिलो बादलले तिनीहरूलाई ढाक्यो अनि बादलबाट यस्तो आवाज आयो: “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले स्विकारेको छु।+ तिमीहरूले उनको कुरा सुन।”+ ६  यो सुनेर चेलाहरू घोप्टो परे अनि असाध्यै डराए। ७  तब नजिकै गएर येसुले तिनीहरूलाई छुँदै भन्‍नुभयो: “नडराओ, उठ।” ८  तिनीहरूले आफ्नो शिर उठाएर हेर्दा त्यहाँ येसुबाहेक अरू कसैलाई देखेनन्‌। ९  अनि डाँडाबाट ओर्लँदै गर्दा येसुले तिनीहरूलाई यस्तो आज्ञा दिनुभयो: “मानिसको छोरालाई मृत्युबाट नब्युँताइएसम्म यस दर्शनबारे* कसैलाई नभन्‍नू।”+ १०  तर चेलाहरूले उहाँलाई प्रश्‍न गरे: “त्यसोभए पहिला एलिया आउनु आवश्‍यक छ भनेर शास्त्रीहरू किन भन्छन्‌ त?”+ ११  उहाँले जवाफ दिनुभयो: “एलिया पक्कै पहिला आउनेछन्‌ र सबै कुरा पुनर्स्थापना गर्नेछन्‌।+ १२  तर म तिमीहरूलाई भन्छु, एलिया आइसकेका छन्‌। तैपनि तिनीहरूले उनलाई चिन्‍न सकेनन्‌ र उनीसित मनपरी व्यवहार गरे।+ मानिसको छोराले पनि यसरी नै तिनीहरूको हातबाट दुःख भोग्नेछ।”+ १३  तब चेलाहरूले उहाँले बप्तिस्मा गराउने युहन्‍नाको विषयमा कुरा गरिरहनुभएको रहेछ भनेर बुझे। १४  जब उहाँहरू भीडको नजिकै पुग्नुभयो,+ तब एक जना मानिस उहाँकहाँ आयो र घुँडा टेकेर यसो भन्‍न थाल्यो: १५  “प्रभु, मेरो छोरामाथि कृपा देखाउनुहोस्‌ किनभने छारे रोग लागेर उसले साह्रै दुःख पाएको छ। ऊ कहिले आगोमा त कहिले पानीमा लड्‌छ।+ १६  मैले उसलाई तपाईँका चेलाहरूकहाँ लगेँ तर उनीहरूले निको पार्न सकेनन्‌।” १७  तब येसुले भन्‍नुभयो: “ए अविश्‍वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? उसलाई मकहाँ ल्याओ।” १८  अनि येसुले त्यस केटोमा बास गरेको प्रेतलाई* हप्काउनुभयो र त्यो प्रेत त्यस केटोबाट निस्क्यो अनि उत्तिखेरै ऊ निको भइहाल्यो।+ १९  त्यसपछि चेलाहरू सुटुक्क येसुकहाँ आएर सोधे: “हामीले किन त्यसलाई धपाउन सकेनौँ?” २०  उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूसित विश्‍वास थोरै* भएकोले। किनकि म तिमीहरूलाई साँचो-साँचो भन्छु, यदि तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्‍वास छ भने पनि तिमीहरूले यस डाँडालाई ‘यहाँबाट त्यहाँ सरिजा’ भन्यौ भने त्यो सरिजानेछ र तिमीहरूको लागि कुनै कुरा असम्भव हुनेछैन।”+ २१  * २२  गालिलमा भेला भएको बेला येसुले तिनीहरूलाई भन्‍नुभयो: “मानिसको छोरालाई धोका दिइनेछ अनि मानिसहरूको हातमा सुम्पिइनेछ+ २३  र तिनीहरूले उसलाई मार्नेछन्‌ अनि तेस्रो दिनमा उसलाई ब्युँताइनेछ।”+ यो सुनेर तिनीहरू अत्यन्तै दुःखी भए। २४  उहाँहरू कफर्नहुममा पुगेपछि मन्दिरको कर* उठाउने मानिसहरू पत्रुसकहाँ आएर सोधे: “के तिमीहरूका गुरुले मन्दिरको कर तिर्नुहुन्‍न?”+ २५  तिनले भने: “तिर्नुहुन्छ।” तर जब तिनी घरभित्र पसे, तब तिनले केही भन्‍नुअघि येसुले तिनलाई सोध्नुभयो: “तिमीलाई कस्तो लाग्छ सिमोन? पृथ्वीका राजाहरूले राजस्व वा कर कसबाट उठाउँछन्‌? आफ्ना छोराहरूबाट कि पराईबाट?” २६  तिनले भने, “पराईबाट।” तब येसुले तिनलाई भन्‍नुभयो: “उसोभए छोराहरूले त कर तिर्नु नपर्ने रहेछ। २७  तर हामीले गर्दा तिनीहरूलाई ठेस नलागोस्‌।+ त्यसैले तिमी समुद्रमा जाऊ र बल्छी हान अनि बल्छीमा परेको पहिलो माछा लेऊ। तिमीले त्यसको मुख खोल्दा चाँदीको एउटा सिक्का* भेट्टाउनेछौ। त्यो लिएर मेरो र तिम्रो तर्फबाट तिनीहरूलाई तिरिदेऊ।”

फुटनोटहरू

वा “सेतो।”
शब्दावली हेर्नुहोस्‌।
वा “दुष्ट स्वर्गदूतलाई।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।
वा “कमजोर।”
अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।
शा., “दुई ड्राक्माको सिक्का।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
शा., “स्टेटर सिक्का,” जुन टेट्राड्राक्माबराबर हुन्छ भन्‍ने मान्यता थियो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।