मत्तिका अनुसार १०:१-४२
१० यसकारण उहाँले आफ्ना १२ जना चेलालाई बोलाउनुभयो र तिनीहरूलाई प्रेतहरू* धपाउने अनि हरप्रकारका रोगबिमार निको पार्ने अख्तियार दिनुभयो।+
२ ती १२ जना प्रेषितका* नाम हुन्:+ पत्रुस भनिने सिमोन+ र तिनका भाइ अन्द्रियास;+ याकुब र तिनको भाइ युहन्ना,+ जो जब्दिका छोराहरू हुन्;
३ फिलिप र बारथोलोमाइ;+ थोमा+ अनि कर उठाउने मत्ति;+ याकुब, जो अल्फयसका छोरा हुन् र थेदियस;
४ जोसिलो* सिमोन र यहुदा इस्करियोत, जसले पछि येसुलाई धोका दिए।+
५ यी १२ जनालाई येसुले यस्तो निर्देशन दिएर पठाउनुभयो:+ “अन्यजातिहरूको इलाकामा नजाओ र सामरियालीहरूको कुनै पनि सहरमा नपस+
६ बरु इस्राएलका ती मानिसहरूकहाँ मात्र जाओ, जो हराएका भेडाहरूजस्ता छन्।+
७ जाओ र यसो भन्दै प्रचार गर: ‘स्वर्गको राज्य नजिकै आएको छ।’+
८ बिरामीहरूलाई निको पार,+ मरेकाहरूलाई जिउँदो बनाओ, कुष्ठरोगीहरूलाई शुद्ध पार, प्रेतहरूलाई धपाओ। तिमीहरूले सित्तैँमा पायौ, सित्तैँमा देओ।
९ तिमीहरूले आफ्नो थैलीमा सुन, चाँदी वा तामा नलैजाओ।+
१० यात्राको लागि खाजाको पोको, दुईसरो लुगा, जुत्ता अनि लौरो पनि नलैजाओ+ किनकि कामदार भोजनको योग्य हुन्छ।+
११ “तिमीहरू जुन सहर वा गाउँमा पसौला, त्यहाँ को योग्य छ भनी खोज र त्यो ठाउँ नछोडुन्जेल त्यहीँ बस।+
१२ जब तिमीहरू कुनै घरभित्र पस्छौ, तब त्यस घरमा भएकाहरूलाई अभिवादन गर्नुका साथै शान्तिको कामना गर।
१३ त्यस घरमा भएकाहरू योग्य रहेछन् भने तिमीहरूले कामना गरेको शान्ति तिनीहरूमाथि रहोस्+ तर यदि योग्य रहेनछन् भने तिमीहरूको शान्ति तिमीहरूकहाँ नै फर्किआओस्।
१४ यदि कसैले तिमीहरूलाई स्वागत गर्दैन वा तिमीहरूको कुरा सुन्दैन भने त्यस घर वा सहरबाट निस्कँदा तिमीहरूले आफ्नो पैतालाको धुलो टकटक्याइदेओ।*+
१५ म तिमीहरूलाई साँच्चै भन्छु, न्यायको दिनमा त्यस सहरले सदोम र गमोराले+ भन्दा चर्को दण्ड पाउनेछ।
१६ “हेर, म तिमीहरूलाई पठाउँदै छु र तिमीहरू ब्वाँसाहरूको बीचमा परेका भेडाहरूजस्तै हुनेछौ। त्यसैले तिमीहरू सर्पजस्तै चनाखो तर ढुकुरजस्तै सुधो होओ।+
१७ मानिसहरूदेखि तिमीहरू होसियार होओ किनभने तिनीहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्+ अनि सभाघरहरूमा कोर्रा लगाउनेछन्।+
१८ मेरो खातिर तिमीहरू राज्यपाल र राजाहरूसामु उभ्याइनेछौ।+ अनि तिमीहरूले तिनीहरूलाई र जातिजातिका मानिसहरूलाई मेरो विषयमा साक्षी दिनेछौ।+
१९ तर तिनीहरूले तिमीहरूलाई पक्रेर लैजाँदा कसरी बोल्ने र के बोल्ने भनी चिन्ता नगर। के बोल्ने हो, त्यो तिमीहरूले त्यतिखेरै थाह पाउनेछौ।+
२० किनकि तिमीहरू आफ्नै भरमा होइन तर तिमीहरूका बुबाको पवित्र शक्तिको मदत पाएर बोल्नेछौ।+
२१ अर्को कुरा, दाइले भाइलाई र बुबाले छोरालाई मार्नको लागि सुम्पिनेछ अनि छोराछोरी आफ्ना आमाबुबाको विरुद्धमा उठ्नेछन् र तिनीहरूलाई मार्न लगाउनेछन्।+
२२ तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्।+ तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।+
२३ जब तिनीहरूले तिमीहरूलाई एउटा सहरमा खेदो गर्छन्, तब भागेर अर्को सहरमा जाओ।+ म तिमीहरूलाई साँच्चै भन्छु, मानिसको छोरा नआइपुगुन्जेल तिमीहरूले कुनै पनि हालतमा इस्राएलका सबै सहर अनि गाउँहरूमा प्रचार गर्न सिद्ध्याइसकेका हुनेछैनौ।
२४ “चेला आफ्नो गुरुभन्दा श्रेष्ठ हुँदैन न त दास आफ्नो मालिकभन्दा श्रेष्ठ हुन्छ।+
२५ चेला आफ्नो गुरुजस्तो र दास आफ्नो मालिकजस्तो हुनु नै यथेष्ट छ।+ यदि मानिसहरूले घरको मालिकलाई त बालजिबुल* भन्छन् भने+ तिनका घरकाहरूलाई झन् किन नभन्लान्?
२६ यसकारण तिनीहरूसित नडराओ; लुकाइएको यस्तो कुनै कुरा छैन, जुन प्रकट हुँदैन अनि यस्तो कुनै गोप्य कुरा छैन, जुन थाह हुँदैन।+
२७ तिमीहरूलाई म जे अन्धकारमा भन्छु, त्यो उज्यालोमा भनिदेओ अनि जे खुसुक्क भन्छु, त्यो घरको धुरीबाट फुकिदेओ।+
२८ तिम्रो शरीर मार्न सक्ने तर तिम्रो जीवन नाश गर्न नसक्नेहरूसित* नडराऊ+ तर तिम्रो शरीर र जीवन दुवैलाई गेहेन्नामा* नाश गर्न सक्नेसित डराऊ।+
२९ के दुई वटा भँगेरा एक पैसामा* बिक्दैन र? तैपनि तीमध्ये एउटा पनि तिमीहरूका बुबाले थाह नपाई भुईँमा झर्दैन।+
३० तर तिमीहरूको शिरको केशसमेत सबै गनिएका छन्।
३१ त्यसैले नडराओ, तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।+
३२ “जसले मलाई मानिसहरूसामु स्वीकार गर्छ,+ म पनि उसलाई स्वर्गमा बस्नुहुने मेरो बुबासामु स्वीकार गर्नेछु।+
३३ तर जसले मलाई मानिसहरूसामु इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा बस्नुहुने मेरो बुबासामु इन्कार गर्नेछु।+
३४ म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नसम्झ; म शान्ति ल्याउन होइन तर फूट गराउन* आएको हुँ।+
३५ किनकि म छोरालाई बुबाविरुद्ध, छोरीलाई आमाविरुद्ध अनि बुहारीलाई सासूविरुद्ध उठाएर फूट गराउन आएको हुँ।+
३६ वास्तवमा मानिसको शत्रु उसको आफ्नै घरभित्रका मानिसहरू हुनेछन्।
३७ जसले आफ्नो बुबा अथवा आमालाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन र जसले आफ्नो छोरा अथवा छोरीलाई मलाई भन्दा धेरै माया गर्छ, ऊ मेरो चेला हुन योग्य हुँदैन।+
३८ जो आफ्नो यातनाको खम्बा* बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन योग्य हुँदैन।+
३९ आफ्नो ज्यान जोगाउन खोज्नेले त्यो गुमाउनेछ र मेरो खातिर आफ्नो ज्यान गुमाउनेले त्यो पाउनेछ।+
४० “जसले तिमीहरूलाई स्वागत गर्छ, उसले मलाई पनि स्वागत गर्छ र जसले मलाई स्वागत गर्छ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्छ।+
४१ यदि कसैले भविष्यवक्तालाई तिनी भविष्यवक्ता भएकै कारणले स्वागत गर्छ भने उसले भविष्यवक्ताले पाउने इनाम पाउनेछ+ र यदि कसैले धर्मी मानिसलाई तिनी धर्मी भएकै कारणले स्वागत गर्छ भने उसले धर्मी मानिसले पाउने इनाम पाउनेछ।
४२ अनि यदि कसैले यीमध्ये सबैभन्दा सानालाई मेरो चेला हो भनी सम्झेर एक कचौरा चिसो पानी पिउन दिन्छ भने म तिमीहरूलाई साँच्चै भन्छु, उसले कुनै पनि हालतमा आफ्नो इनाम गुमाउनेछैन।”+
फुटनोटहरू
^ वा “दुष्ट स्वर्गदूतहरू।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्।
^ शा., “कनानानी।”
^ पैतालाको धुलो टकटक्याउनुले आफू जिम्मेवारीबाट मुक्त भएको कुरालाई सङ्केत गर्छ।
^ यो सैतानलाई दिइएको नाम हो, जो दुष्ट स्वर्गदूतहरूको राजा वा शासक हो।
^ वा “भविष्यमा फेरि जीवित हुने आशा खोस्न नसक्नेहरूसित।”
^ शा., “एक असारियनमा।” अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
^ शा., “तरबार चलाउन।”