मत्तिका अनुसार ४:१-२५

  • दियाबल येसुको परीक्षा गर्छ (१-११)

  • येसु गालिलमा प्रचार गर्न थाल्नुहुन्छ (१२-१७)

  • सुरुका चेलाहरूलाई बोलाइन्छ (१८-२२)

  • येसु प्रचार गर्नुहुन्छ, सिकाउनुहुन्छ र निको पार्नुहुन्छ (२३-२५)

 तब परमेश्‍वरको शक्‍तिले येसुलाई निर्जनभूमितिर डोऱ्‍यायो, जहाँ दियाबलले लोभ देखाएर उहाँलाई प्रलोभनमा पार्ने+ कोसिस गऱ्‍यो।+ २  अनि ४० दिन र ४० रात उपवास बसेपछि उहाँ भोकाउनुभयो। ३  तब त्यो प्रलोभक+ आयो र यसो भन्यो: “यदि तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने यी ढुङ्‌गाहरू रोटी भइजाऊन्‌ भन्‍नुहोस्‌।” ४  तर उहाँले यसो भन्दै जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन तर यहोवा* परमेश्‍वरको मुखबाट निस्कने प्रत्येक वचनको भरमा बाँच्नुपर्छ।’”+ ५  त्यसपछि दियाबलले उहाँलाई पवित्र सहरमा लग्यो+ र मन्दिरको पर्खालको बुर्जामा* राख्यो+ ६  र उहाँलाई भन्यो: “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्‌ किनभने यस्तो लेखिएको छ: ‘तिमीलाई जोगाउन उहाँले आफ्ना स्वर्गदूतहरूलाई हुकुम गर्नुहुनेछ’ र ‘उनीहरूले तिमीलाई हातहातै बोक्नेछन्‌ ताकि तिम्रो खुट्टा ढुङ्‌गामा नबजारियोस्‌।’”+ ७  येसुले त्यसलाई भन्‍नुभयो: “यस्तो पनि लेखिएको छ: ‘तिमीहरूले यहोवा* आफ्ना परमेश्‍वरको परीक्षा कहिल्यै नलिनू।’”+ ८  फेरि दियाबलले उहाँलाई असाध्यै अग्लो डाँडामा लग्यो अनि संसारका सबै राज्य र त्यसको महिमा देखायो+ ९  र त्यसले उहाँलाई भन्यो: “यदि तपाईँले घोप्टो परेर मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक म तपाईँलाई दिनेछु।” १०  तब येसुले त्यसलाई भन्‍नुभयो: “ए सैतान, पर गइहाल्‌! किनभने यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ+ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’”+ ११  त्यसपछि दियाबलले उहाँलाई छोडेर गयो+ र हेर! स्वर्गदूतहरू आएर उहाँको सेवा-सुसार गर्न थाले।+ १२  अनि जब उहाँले युहन्‍ना पक्राउ परे भनी सुन्‍नुभयो,+ तब उहाँ गालिलतिर लाग्नुभयो।+ १३  अनि नासरत छोडेपछि उहाँ समुद्रछेउमा पर्ने कफर्नहुममा आएर बस्न थाल्नुभयो,+ जुन जबुलुन र नप्तालिको इलाकामा पर्थ्यो। १४  यसरी भविष्यवक्‍ता यसैयाले भनेको यो वचन पूरा भयो: १५  “हे जबुलुनको भूमि र नप्तालिको भूमि, समुद्रको बाटो छेउ अनि यर्दन नदीको पारि पर्ने इलाका, जातिजातिहरूको गालिल! १६  अँध्यारोमा बसिरहेका मानिसहरूले एउटा चहकिलो ज्योति देखे+ अनि मृत्युको छाया परेको ठाउँमा बसिरहेकाहरूमाथि ज्योति उदायो।”+ १७  त्यस बेलादेखि येसुले यसो भन्दै प्रचार गर्न थाल्नुभयो: “पश्‍चात्ताप गर किनभने स्वर्गको राज्य नजिकै आएको छ।”+ १८  गालिल समुद्रको* छेउमा हिँड्‌दै गर्दा उहाँले पत्रुस भनिने सिमोन+ र तिनका भाइ अन्द्रियासलाई देख्नुभयो। ती दुई दाजुभाइ समुद्रमा जाल हान्दै थिए। तिनीहरू जलारी थिए।+ १९  उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु।”+ २०  उत्तिखेरै आफ्ना जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।+ २१  त्यहाँबाट हिँडेपछि उहाँले याकुब र तिनका भाइ युहन्‍नालाई देख्नुभयो, जो जब्दिका छोराहरू थिए।+ तिनीहरू डुङ्‌गामा बसेर आफ्ना बुबासित जाल तुन्दै थिए र उहाँले तिनीहरूलाई बोलाउनुभयो।+ २२  उत्तिखेरै तिनीहरू डुङ्‌गालाई अनि आफ्ना बुबालाई छोडेर उहाँको पछि लागे। २३  त्यसपछि सारा गालिल घुम्दै+ उहाँले तिनीहरूका सभाघरहरूमा* सिकाउनुभयो+ र राज्यको सुसमाचार प्रचार गर्नुभयो। उहाँले मानिसहरूका हरप्रकारका रोगबिमार पनि निको पार्नुभयो।+ २४  उहाँको कीर्ति सारा सिरियाभरि फैलियो अनि तिनीहरूले विभिन्‍न रोग र पीडाले गर्दा दु:ख पाएका,+ प्रेतले* सताएका,+ छारे रोग लागेका+ र पक्षाघात भएका अनि हरप्रकारका दुःख भोगिरहेका मानिसहरूलाई उहाँकहाँ ल्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो। २५  त्यसैले गालिल, डेकापोलिस,* यरुसलेम, यहुदिया र यर्दन नदीपारिबाट हुलका हुल मानिसहरू आए र उहाँको पछि लागे।

फुटनोटहरू

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा “टुप्पोमा।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
यो वास्तवमा ताल हो। बाइबलमा यसलाई गनेसरेत ताल र टाइबेरियस समुद्र पनि भनिएको छ।
शब्दावली हेर्नुहोस्‌।
वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।
वा “दस वटा सहरको इलाका।”