मत्तिका अनुसार १८:१-३५

  • राज्यमा सबैभन्दा ठूलो (१-६)

  • बाधा पुऱ्‍याउने कुराहरू (७-११)

  • हराएको भेडाको उदाहरण (१२-१४)

  • भाइलाई कसरी ठीक बाटोमा फर्काउने (१५-२०)

  • माफ नगर्ने दासको उदाहरण (२१-३५)

१८  त्यसबेला चेलाहरू येसुको नजिक आए र उहाँलाई सोधे: “स्वर्गको राज्यमा सबैभन्दा ठूलो को हुनेछ?”+ २  तब येसुले एउटा सानो बालकलाई बोलाएर तिनीहरूको बीचमा उभ्याउनुभयो ३  र भन्‍नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, यदि तिमीहरू बदलिएर साना केटाकेटीजस्ता भएनौ भने+ स्वर्गको राज्यमा कुनै पनि हालतमा पस्न पाउनेछैनौ।+ ४  त्यसकारण जसले आफूलाई यो सानो बालकजस्तै नम्र तुल्याउँछ, ऊ नै स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ+ ५  अनि जसले मेरो नाममा यस्तै एउटा सानो बालकलाई स्विकार्छ, उसले मलाई पनि स्विकार्छ। ६  तर यदि कसैले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एक जनालाई ठेस पुऱ्‍याउँछ भने त्यस्तालाई त ठूलो जाँतो* घाँटीमा झुन्ड्‌याएर गहिरो समुद्रमा डुबाइदिनु नै बेस हो।+ ७  “धिक्कार यस संसारलाई! किनकि यस संसारले गर्दा मानिसहरूले ठेस खानेछन्‌। हो, ठेस पुऱ्‍याउने कुराहरू त अवश्‍य देखा पर्ने नै छन्‌ तर धिक्कार त्यस मानिसलाई, जसले गर्दा अरूले ठेस खानेछन्‌! ८  यदि तिम्रो हात वा खुट्टाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई काटेर फालिदेऊ।+ किनकि दुवै हात वा दुवै खुट्टासहित सधैँ बलिरहने आगोमा फ्याँकिनुभन्दा डुँडो वा लङ्‌गडो भएर जीवन पाउनु नै तिम्रो लागि बेस हो।+ ९  साथै यदि तिम्रो आँखाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई निकालेर फालिदेऊ। किनकि दुवै आँखासहित गेहेन्‍नाको* आगोमा फ्याँकिनुभन्दा कानो भएर जीवन पाउनु नै तिम्रो लागि बेस हो।+ १०  होसियार बस, तिमीहरूले यी सानाहरूमध्ये कसैलाई हेला नगर किनकि म तिमीहरूलाई भन्छु, तिनीहरूको रक्षा गर्ने स्वर्गदूतहरूले स्वर्गमा बस्नुहुने मेरा बुबाको मुहार सधैँ हेरिरहेका हुन्छन्‌।+ ११  * १२  “तिमीहरूलाई कस्तो लाग्छ? यदि कुनै मानिसको १०० वटा भेडा छन्‌ र तीमध्ये एउटाले बाटो बिरायो भने+ ९९ वटालाई डाँडामै छोडेर के ऊ बाटो बिराउने त्यो एउटा भेडा खोज्न जाँदैन र?+ १३  अनि उसले त्यसलाई केही गरी भेट्टाइहाल्यो भने म तिमीहरूलाई साँच्चै भन्छु, बाटो नबिराएका ९९ वटाका लागि भन्दा त्यो एउटाको लागि ऊ धेरै रमाउनेछ। १४  त्यसैगरि स्वर्गमा बस्नुहुने मेरा* बुबा यी सानाहरूमध्ये एउटाले पनि बाटो बिराएको चाहनुहुन्‍न।+ १५  “यदि तिम्रो भाइले पाप गऱ्‍यो भने जाऊ अनि तिमी र ऊ मात्रै हुँदा उसको दोष देखाइदेऊ।*+ उसले तिम्रो कुरा सुन्यो भने तिमीले आफ्नो भाइलाई ठीक बाटोमा फर्काउन सक्यौ।+ १६  तर उसले सुनेन भने आफूसित अरू एक वा दुई जनालाई लिएर जाऊ ताकि दुई वा तीन जना साक्षीको बयानको आधारमा* मात्र हरेक मामिलाको फैसला सुनाइयोस्‌।+ १७  यदि उसले तिनीहरूको कुरा सुनेन भने मण्डलीलाई भन। अनि यदि उसले मण्डलीको कुरासमेत सुनेन भने ऊ तिम्रो लागि अन्यजाति+ वा कर उठाउने मानिससरह होस्‌।+ १८  “म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूले जे-जे पृथ्वीमा बाँध्नेछौ, ती स्वर्गमा बाँधिसकिएका हुनेछन्‌ अनि तिमीहरूले जे-जे पृथ्वीमा फुकाउनेछौ, ती स्वर्गमा फुकाइसकिएका हुनेछन्‌। १९  यो पनि म तिमीहरूलाई साँचो-साँचो भन्छु, यदि पृथ्वीमा तिमीहरूमध्ये दुई जना एकै मनका भएर कुनै महत्त्वपूर्ण कुरा माग्यौ भने स्वर्गमा बस्नुहुने मेरो बुबाले त्यो पूरा गरिदिनुहुनेछ।+ २०  किनकि जहाँ मेरो नाममा दुई वा तीन जना भेला हुन्छन्‌,+ त्यहाँ म तिनीहरूको माझमा हुन्छु।” २१  तब उहाँकहाँ आएर पत्रुसले सोधे: “हे प्रभु, मेरो भाइले मेरो विरुद्धमा पाप गरिरह्‍यो भने मैले कति पटकसम्म क्षमा दिनुपर्छ? सात पटकसम्म?” २२  येसुले तिनलाई जवाफ दिनुभयो: “म भन्छु, ७ पटक होइन, ७७ पटकसम्म।+ २३  “त्यसैले स्वर्गको राज्यलाई एक जना राजासित तुलना गर्न सकिन्छ, जसले आफ्ना दासहरूलाई आफूसित लिएको ऋण चुक्‍ता गर्न बोलायो। २४  अनि ऋण उठाउँदै जाँदा ६ करोड दिनार* ऋण लिने दासलाई तिनीसामु हाजिर गराइयो। २५  तर ऋण चुक्‍ता गर्नलाई ऊसित केही नभएकोले राजाले त्यो दास, त्यसकी पत्नी, छोराछोरी अनि सम्पूर्ण जायजेथा बेचेर ऋण असुल्न हुकुम गरे।+ २६  तब त्यस दासले घोप्टो परेर यसरी बिन्तीभाउ गर्न लाग्यो, ‘हजुर, मलाई समय दिनुहोस्‌, म हजुरको जम्मै ऋण चुक्‍ता गरिदिनेछु।’ २७  यो सुनेर राजाको मनमा दया जाग्यो र तिनले त्यसलाई जान दिए अनि त्यसको जम्मै ऋण पनि माफ गरिदिए।+ २८  तर त्यो दास आफूसित १०० दिनार* सापटी लिने सङ्‌गी दासलाई खोज्न निस्क्यो र त्यसलाई समातेर घाँटी अँठ्‌याउँदै भन्यो: ‘मेरो पैसा फिर्ता गरिहाल्‌।’ २९  तब त्यो सङ्‌गी दास घोप्टो परेर बिन्ती गर्न लाग्यो: ‘मलाई समय देऊ, म तिम्रो पैसा फिर्ता गरिदिनेछु।’ ३०  तर उसले आफ्नो साथीको कुरा सुन्‍न मानेन र पैसा फिर्ता नगरुन्जेल त्यसलाई झ्यालखानामा थुन्‍न लगायो। ३१  जब अरू सङ्‌गी दासहरूले यी सब देखे, तब तिनीहरू असाध्यै दुःखी भए र जे-जे भएको थियो, गएर राजालाई ती सबै सुनाए। ३२  अनि राजाले त्यस दासलाई हाजिर गराएर यसो भने: ‘ए दुष्ट दास, तैँले मसित बिन्ती गर्दा मैले तेरो सबै ऋण माफ गरिदिएको थिएँ। ३३  तब मैले तँलाई कृपा देखाएझैँ के तैँले पनि आफ्नो सङ्‌गी दासलाई कृपा देखाउनु पर्दैनथ्यो?’+ ३४  अनि राजा क्रोधित भए र आफ्नो सबै ऋण नतिरेसम्म त्यस दासलाई थुनिराख्न जेलरहरूको हातमा सुम्पिदिए। ३५  त्यसैगरि तिमीहरू हरेकले आफ्नो भाइलाई मनैदेखि क्षमा गरेनौ भने स्वर्गमा बस्नुहुने मेरो बुबाले पनि तिमीहरूलाई त्यसै गर्नुहुनेछ।”+

फुटनोटहरू

वा “गधाले घुमाउने जाँतो।”
शब्दावली हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।
वा सम्भवत: “तिमीहरूका।”
शा., “उसलाई सुधार।”
शा., “मुखबाट।”
वा “१० हजार टालेन्ट।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।