मत्तिका अनुसार १५:१-३९

  • मानिसको परम्पराको पर्दाफास (१-९)

  • अशुद्ध बनाउने कुरा मनबाटै निस्कन्छ (१०-२०)

  • फोनिसियाली स्त्रीको बलियो विश्‍वास (२१-२८)

  • येसु धेरै जना अशक्‍तलाई निको पार्नुहुन्छ (२९-३१)

  • येसु ४ हजारलाई खुवाउनुहुन्छ (३२-३९)

१५  तब यरुसलेमबाट फरिसी र शास्त्रीहरू येसुकहाँ आए+ अनि यसो भने: २  “तपाईँका चेलाहरू किन पुर्खाहरूले बसालेको परम्परा तोड्‌छन्‌? जस्तै: तिनीहरू खाना खानुअघि हात धुँदैनन्‌।”*+ ३  उहाँले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “तिमीहरूचाहिँ किन आफ्नो परम्पराको पछि लागेर परमेश्‍वरको आज्ञा तोड्‌छौ?+ ४  उदाहरणका लागि, परमेश्‍वरले यसो भन्‍नुभएको छ: ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू’+ र ‘जसले आफ्नो बुबा वा आमालाई गाली गर्छ, त्यो मारियोस्‌।’+ ५  तर तिमीहरू भन्छौ: ‘जसले आफ्नो बुबा वा आमालाई यसो भन्छ, “मसँग तपाईँहरूलाई फाइदा हुने जे-जति कुराहरू छन्‌, ती सबै परमेश्‍वरलाई अर्पण गरेको भेटी हो,”+ ६  उसले आफ्नो बुबाको आदर गर्नु आवश्‍यकै छैन।’ यसरी तिमीहरूले आफ्नो परम्पराले गर्दा परमेश्‍वरको वचनलाई बेकामको तुल्याएका छौ।+ ७  ए कपटीहरू हो, यसैयाले तिमीहरूबारे यसो भनेर ठीकै भविष्यवाणी गरेका थिए:+ ८  ‘यी मानिसहरू आफ्नो ओठले त मलाई आदर गर्छन्‌ तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ। ९  तिनीहरू व्यर्थैमा मेरो उपासना गरिरहन्छन्‌ किनकि तिनीहरू मानिसहरूले बनाएका नियमहरूलाई परमेश्‍वरको शिक्षाजस्तै गरी सिकाउँछन्‌।’”+ १०  यति भनिसकेपछि उहाँले भीडलाई नजिक बोलाउनुभयो र भन्‍नुभयो: “सुन र यसको अर्थ के हो, बुझ:+ ११  मानिसको मुखबाट जे भित्र पस्छ, त्यसले उसलाई अशुद्ध बनाउँदैन बरु मुखबाट जे बाहिर निस्कन्छ, त्यसले उसलाई अशुद्ध बनाउँछ।”+ १२  तब चेलाहरू आएर उहाँलाई भने: “तपाईँको कुरा सुनेर फरिसीहरू रिसले मुरमुरिएको के तपाईँले याद गर्नुभयो?”+ १३  अनि उहाँले जवाफ दिनुभयो: “स्वर्गमा बस्नुहुने मेरा बुबाले नरोप्नुभएको हरेक बोट जरैसमेत उखेलिनेछ। १४  तिनीहरूलाई त्यस्तै रहन देओ। किनकि तिनीहरू अन्धा अगुवाहरू हुन्‌। यदि अन्धाले अन्धालाई डोऱ्‍याउँछ भने दुवै जना खाल्टोमा खस्नेछन्‌।”+ १५  तब पत्रुसले भने: “अघि तपाईँले भन्‍नुभएको उदाहरणको अर्थ हामीलाई बुझाइदिनुहोस्‌।” १६  तिनको कुरा सुनेर उहाँले भन्‍नुभयो: “के तिमीहरूले पनि अझै बुझेनौ?+ १७  के तिमीहरूलाई थाह छैन, मुखबाट जे भित्र पस्छ, त्यो पेटमा पुगेपछि बाहिर निस्कन्छ? १८  तर हृदयमा जे छ, त्यो मुखबाट बाहिर निस्कन्छ र त्यसले मानिसलाई अशुद्ध बनाउँछ।+ १९  जस्तै, दुष्ट विचार हृदयबाटै निस्कन्छ: हत्या, व्यभिचार,* अवैध यौनसम्बन्ध,* चोरी, झूटा साक्षी अनि ईश्‍वरनिन्दा।+ २०  हो, यस्तै कुराहरूले मानिसलाई अशुद्ध बनाउँछ। तर हात नधोई* खाँदैमा मानिस अशुद्ध हुने होइन।” २१  त्यसपछि येसु त्यहाँबाट टायर र सिदोनको इलाकातिर लाग्नुभयो।+ २२  अनि हेर! ती इलाकाहरूबाट आएकी एक फोनिसियाली स्त्रीले ठूलो स्वरले रुँदै भनिन्‌: “हे प्रभु, दाउदका छोरा, ममाथि कृपा गर्नुहोस्‌। मेरी छोरीलाई प्रेतले* साह्रै सताइरहेको छ।”+ २३  तर उहाँले तिनलाई केही जवाफ दिनुभएन। त्यसैले चेलाहरू उहाँकहाँ आएर यसो भन्दै बिन्ती गर्न थाले: “यस स्त्रीलाई पठाइदिनुहोस्‌ किनकि यो रुँदै हाम्रो पछिपछि लागिरहेकी छे।” २४  उहाँले जवाफ दिनुभयो: “म इस्राएलको घरानाका ती मानिसहरूका निम्ति मात्र पठाइएको हुँ, जो हराएका भेडाहरूजस्ता छन्‌।”+ २५  तर ती स्त्री उहाँको नजिक आइन्‌ र उहाँलाई दण्डवत्‌ गर्दै यसो भनिन्‌: “प्रभु, मलाई मदत गर्नुहोस्‌!” २६  अनि उहाँले जवाफ दिनुभयो: “केटाकेटीको रोटी खोसेर कुकुरका छाउराहरूलाई दिनु उचित हुँदैन।” २७  तिनले भनिन्‌: “हो प्रभु, तर छाउराहरूले पनि त आफ्ना मालिकको टेबुलबाट झरेका टुक्राटाक्री खान पाउँछन्‌ नि।”+ २८  तब येसुले तिनलाई भन्‍नुभयो: “हे नारी, तिम्रो विश्‍वास ठूलो रहेछ। तिमीले इच्छा गरेको कुरा तिमीलाई पुगोस्‌।” तब उत्तिखेरै तिनकी छोरी निको भइन्‌। २९  त्यो इलाका पार गरेर येसु गालिल समुद्रको नजिकै पुग्नुभयो+ र उहाँ डाँडामा उक्लेर त्यहाँ बस्नुभयो। ३०  तब लुला-लङ्‌गडा, अन्धा, गुँगा र त्यस्तै अरू धेरै मानिस लिएर भीड उहाँकहाँ आयो र तिनीहरूलाई उहाँको चरणमा राखिदियो अनि उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो।+ ३१  गुँगोले बोल्न थालेको, लङ्‌गडो हिँड्‌न थालेको अनि अन्धोले देख्न थालेको देखेर भीड छक्क पऱ्‍यो र तिनीहरूले इस्राएलका परमेश्‍वरको महिमा गरे।+ ३२  तब येसुले आफ्ना चेलाहरूलाई बोलाएर भन्‍नुभयो: “यो भीड देखेर मलाई साह्रै दया लाग्यो+ किनभने तिनीहरू यहाँ मसँगै बसेको तीन दिन भइसक्यो अनि तिनीहरूसित केही खानेकुरा छैन। म तिनीहरूलाई भोकै पठाउन चाहन्‍नँ नत्र त तिनीहरू बाटैमा मुर्छा पर्लान्‌।”+ ३३  तर चेलाहरूले उहाँलाई भने: “यत्ति धेरै मानिसलाई खुवाउन यस्तो अनकन्टार ठाउँमा हामीले कहाँबाट रोटी खोजेर ल्याउने?”+ ३४  तिनीहरूको कुरा सुनेर येसुले भन्‍नुभयो: “तिमीहरूसित कति वटा रोटी छ?” तिनीहरूले जवाफ दिए: “सात वटा अनि हामीसित केही साना माछा पनि छन्‌।” ३५  अनि भीडलाई चौरमा बस्न अह्राएपछि ३६  उहाँले सात वटा रोटी र माछा लिनुभयो अनि धन्यवाद चढाएपछि रोटी भाँचेर चेलाहरूलाई दिन थाल्नुभयो र चेलाहरूले भीडलाई बाँडे।+ ३७  तिनीहरू सबैले पेटभरि खाए अनि तिनीहरूले उब्रेको टुक्राटाक्री जम्मा गर्दा सात वटा ठूला डाला भरिए।+ ३८  खाने मानिसहरू स्त्री र साना केटाकेटीबाहेक ४ हजार थिए। ३९  अन्तमा भीडलाई बिदा गरिसकेपछि उहाँ डुङ्‌गा चढ्‌नुभयो र मगादानको इलाकामा आउनुभयो।+

फुटनोटहरू

अर्थात्‌, परम्पराअनुसार शुद्ध हुँदैनन्‌।
ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
अर्थात्‌, परम्पराअनुसार शुद्ध नभई।
वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।