मत्तिका अनुसार २६:१-७५

  • पुजारीहरू येसुलाई मार्न मतो गर्छन्‌ (१-५)

  • येसुको शिरमा सुगन्धित तेल खन्याइन्छ (६-१३)

  • अन्तिम निस्तार चाड र धोका (१४-२५)

  • प्रभुको साँझको भोजको स्थापना (२६-३०)

  • पत्रुसले तिरस्कार गर्नेछन्‌ भन्‍ने भविष्यवाणी (३१-३५)

  • येसु गेत्समनीमा प्रार्थना गर्नुहुन्छ (३६-४६)

  • येसुलाई पक्रिइन्छ (४७-५६)

  • न्यायपरिषद्‌मा पुर्पक्ष (५७-६८)

  • पत्रुस येसुलाई तिरस्कार गर्छन्‌ (६९-७५)

२६  यी सबै कुरा बताइसकेपछि येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: २  “तिमीहरूलाई थाहै छ, अबको दुई दिनपछि निस्तार चाड* मनाइनेछ+ अनि तिनीहरूले मानिसको छोरालाई खम्बामा टाँग्नको लागि शत्रुहरूको हातमा सुम्पिनेछन्‌।”+ ३  तब मुख्य पुजारीहरू र धर्मगुरुहरू कैयाफा नाम गरेका प्रधानपुजारीको घरको चोकमा भेला भए+ ४  र येसुलाई कसरी छल गरेर पक्रने* अनि मार्ने भनी आपसमा मतो गरे।+ ५  तर तिनीहरूले यसो भनिरहेका थिए: “चाडको बेलामा त होइन नत्र मानिसहरूले हूलदङ्‌गा गर्नेछन्‌।” ६  येसु बेथानिमा कुष्ठरोगी सिमोनको घरमा हुनुहुँदा+ ७  एउटी स्त्री अलाबास्टर* भाँडोमा महँगो सुगन्धित तेल लिएर उहाँकहाँ आई र उहाँ खान बसिरहनुभएको बेला उहाँको शिरमा त्यो खन्याउन थाली। ८  यो देखेर चेलाहरूलाई चित्त बुझेन र तिनीहरूले यसो भने: “किन यत्रो नोक्सानी? ९  यो निकै महँगो दाममा बेचेर त्यसबाट आएको पैसा गरिबहरूलाई दिन सकिन्थ्यो।” १०  तिनीहरू के कुरा गर्दै छन्‌ भनी थाह पाएर येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन यस स्त्रीलाई दुःख दिन खोज्छौ? उसले मेरो लागि असलै काम गरेकी छे। ११  गरिबहरू त तिमीहरूसित सधैँभरि हुन्छन्‌+ तर म भने तिमीहरूसित सधैँभरि हुँदिनँ।+ १२  यस स्त्रीले मेरो शरीरमा यो सुगन्धित तेल लगाइदिएर मेरो मृत्युपछि मलाई गाड्‌न तयारी गरेकी हो।+ १३  म तिमीहरूलाई साँचो-साँचो भन्छु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ-त्यहाँ यस स्त्रीले गरेको कुरा पनि उसको सम्झनामा सुनाइनेछ।”+ १४  तब ती १२ जनामध्ये एक, जसको नाम यहुदा इस्करियोत हो,+ तिनी मुख्य पुजारीहरूकहाँ गए+ १५  र भने: “मैले उहाँलाई धोका दिएर तपाईँहरूको हातमा सुम्पेँ भने तपाईँहरू मलाई के दिनुहुन्छ?”+ तिनीहरूले तिनलाई ३० टुक्रा चाँदी दिने कबुल गरे।+ १६  त्यसैले त्यस बेलादेखि तिनले उहाँलाई धोका दिने मौका खोज्न थाले। १७  अखमिरा रोटीको चाडको* पहिलो दिनमा+ चेलाहरू येसुकहाँ आएर भने: “हामीले निस्तार चाडको भोज कहाँ तयार पारेको तपाईँ चाहनुहुन्छ?”+ १८  उहाँले भन्‍नुभयो: “तिमीहरू सहरमा जाओ र त्यहाँ फलानो-फलानो मानिसलाई यसो भन, ‘गुरुज्यू भन्‍नुहुन्छ: “मेरो मृत्यु हुने बेला नजिकै छ; म तिम्रो घरमा आफ्ना चेलाहरूसित निस्तार चाड मनाउनेछु।”’” १९  येसुले निर्देशन दिनुभएबमोजिमै चेलाहरूले गरे अनि निस्तार चाडको लागि तयारी गरे। २०  साँझ परेपछि+ उहाँ १२ जना चेलासित टेबुलमा खाइरहनुभएको थियो।+ २१  खाँदै गर्दा उहाँले भन्‍नुभयो: “म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+ २२  यो सुनेर असाध्यै दुःखी हुँदै तिनीहरूले पालैसित उहाँलाई सोध्न थाले: “प्रभु, के त्यो म हुँ?” २३  उहाँले यस्तो जवाफ दिनुभयो: “जसले मसँग एउटै कचौरामा हात चोप्छ, उसैले मलाई धोका दिनेछ।+ २४  यो कुरा साँचो हो कि मानिसको छोरा त आफ्नो विषयमा लेखिएअनुसारै जाँदै छ तर मानिसको छोरालाई धोका दिनेलाई भने धिक्कार छ!+ त्यो मानिस त जन्मँदै नजन्मेको भए त्यसको लागि बेस हुनेथियो।”+ २५  तब उहाँलाई धोका दिनै आँटेका यहुदाले सोधे: “रब्बी, के त्यो म हुँ?” उहाँले तिनलाई भन्‍नुभयो: “तिमी आफैले भन्यौ।” २६  खाँदै गर्दा येसुले एउटा रोटी लिनुभयो अनि प्रार्थना गरेपछि भाँच्नुभयो+ र चेलाहरूलाई दिँदै भन्‍नुभयो: “लेओ, खाओ। यो मेरो शरीरको प्रतीक हो।”+ २७  साथै उहाँले कचौरा लिनुभयो अनि प्रार्थना चढाएपछि तिनीहरूलाई दिँदै भन्‍नुभयो: “तिमीहरू सबैले यसबाट पिओ;+ २८  किनकि यो मेरो रगतको प्रतीक हो,+ जुन पापहरूको क्षमा होस्‌ भनेर+ थुप्रैका लागि बगाइनेछ+ र जसले परमेश्‍वरको करारलाई पक्का गर्छ।+ २९  तर म तिमीहरूलाई भन्छु: मेरो बुबाको राज्यमा तिमीहरूसित नयाँ दाखमद्य* नपिएसम्म म कुनै पनि हालतमा यो दाखमद्य फेरि पिउनेछैनँ।”+ ३०  अन्तमा, स्तुतिगान गाइसकेपछि उहाँहरू जैतुन डाँडामा जानुभयो।+ ३१  अनि येसुले तिनीहरूलाई भन्‍नुभयो: “आज राती ममाथि आइपर्ने कुराहरूले गर्दा तिमीहरू सबैले ठेस खानेछौ किनकि यस्तो लेखिएको छ: ‘म गोठालोलाई प्रहार गर्नेछु र भेडाहरू तितरबितर हुनेछन्‌।’+ ३२  तर मलाई मृत्युबाट ब्युँताइएपछि म तिमीहरूभन्दा अघि गालिल जानेछु।”+ ३३  तर पत्रुसले उहाँलाई भने: “तपाईँमाथि आइपर्ने कुराहरूले गर्दा अरू सबैले ठेस खाए पनि म भने कहिल्यै ठेस खानेछैनँ!”+ ३४  येसुले तिनलाई भन्‍नुभयो: “म तिमीलाई साँचो-साँचो भन्छु, भाले बास्नुअघि आज राती तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ ३५  पत्रुसले उहाँलाई भने: “तपाईँसँगै मर्नु पऱ्‍यो भने पनि म कुनै हालतमा तपाईँलाई तिरस्कार गर्नेछैनँ।”+ अरू सबै चेलाले पनि त्यसै भने। ३६  तब येसु तिनीहरूसित गेत्समनी भनिने ठाउँमा पुग्नुभयो+ र उहाँले चेलाहरूलाई भन्‍नुभयो: “म त्यहाँ गएर प्रार्थना गर्छु, त्यतिन्जेल तिमीहरू यहीँ बसिरहनू।”+ ३७  अनि पत्रुसलाई र जब्दिका दुई छोरालाई लिएर उहाँ जानुभयो। तब उहाँ असाध्यै दुःखित र खिन्‍न हुनुभयो।+ ३८  उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मलाई मेरो ज्यानै जाला जस्तोगरि अत्यन्तै दुःख लागेको छ। तिमीहरू यहीँ बस र मसँगै जागा रहो।”+ ३९  अनि अलि पर गएर उहाँ घोप्टो पर्नुभयो र यसो भन्दै प्रार्थना गर्नुभयो:+ “हे मेरो बुबा, यदि सम्भव छ भने यो कचौरा मेरो सामनेबाट हटाइदिनुहोस्‌।+ तर मेरो इच्छाअनुसार त होइन, तपाईँकै इच्छाअनुसार होस्‌।”+ ४०  उहाँ फर्केर चेलाहरूकहाँ आउनुहुँदा तिनीहरूलाई निदाइरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्‍नुभयो: “के तिमीहरू मसँग एकछिन जागा बस्न सकेनौ?+ ४१  प्रलोभनमा नपर्न+ तिमीहरू जागा रहो+ र प्रार्थना गरिरहो।+ मन त साँच्चै तयार* छ तर शरीर भने कमजोर छ।”+ ४२  फेरि दोस्रो चोटि उहाँ जानुभयो र यसो भन्दै प्रार्थना गर्नुभयो: “हे मेरो बुबा, यदि मैले नपिएसम्म यो कचौरा मेरो सामनेबाट हटाउन सम्भव छैन भने तपाईँको इच्छाअनुसारै होस्‌।”+ ४३  अनि उहाँ फेरि फर्कनुभयो र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो किनकि तिनीहरूका आँखा लोलाएका थिए। ४४  त्यसैले तिनीहरूलाई छोडेर उहाँ फेरि जानुभयो अनि तेस्रो पटक पनि प्रार्थनामा त्यही कुरा भन्‍नुभयो। ४५  तब चेलाहरूकहाँ फर्केर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यस्तो बेला पनि तिमीहरू कसरी निदाउन र आराम गर्न सकेका! हेर, मानिसको छोरालाई धोका दिएर पापीहरूको हातमा सुम्पिने बेला नजिकै आइपुगेको छ। ४६  उठ, हामी जाऔँ। हेर! मलाई धोका दिने मानिस नजिकै आइपुगिसकेको छ।” ४७  उहाँ बोल्दै गर्नुहुँदा हेर! ती १२ जनामध्ये एक, यहुदा आए र मुख्य पुजारीहरू र धर्मगुरुहरूले पठाएको एउटा ठूलो जमात पनि तिनीसँगै तरबार र लाठाहरू लिएर आयो।+ ४८  उहाँलाई धोका दिनेले तिनीहरूलाई यसो भनेर एउटा सङ्‌केत दिएका थिए: “म जसलाई चुम्बन गर्छु, उहाँ नै तिमीहरूले खोजेको मानिस हुनुहुन्छ; तिमीहरूले उहाँलाई पक्रनू।” ४९  अनि सोझै येसुकहाँ गएर तिनले “प्रणाम, रब्बी!” भने र उहाँलाई चुम्बन गरे। ५०  तर येसुले तिनलाई भन्‍नुभयो: “मित्र, तिमी कुन उद्देश्‍य लिएर यहाँ आयौ?”+ तब तिनीहरू अघि बढे र येसुलाई पक्रेर हिरासतमा लिए। ५१  अनि हेर! येसुको साथमा भएकाहरूमध्ये एक जनाले आफ्नो तरबार थुत्यो र प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।+ ५२  तब येसुले उसलाई भन्‍नुभयो: “तिम्रो तरबार म्यानमै राख+ किनकि तरबार उठाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्‌।+ ५३  अथवा तिमीलाई के लाग्छ, के म मेरा बुबालाई अहिले यतिखेरै १२ पल्टनभन्दा धेरै स्वर्गदूत पठाइदिन बिन्ती गर्न सक्दिनँ र?+ ५४  तर यदि मैले त्यसो गरेँ भने धर्मशास्त्रमा यस्तै हुनेछ भनेर बताइएको कुरा कसरी पूरा हुन्छ र?” ५५  त्यही बेला येसुले भीडलाई भन्‍नुभयो: “के तिमीहरू डाँकुलाई जस्तैगरि तरबार र लाठोहरू लिएर मलाई पक्रन आयौ? म दिनदिनै मन्दिरमा बसेर सिकाउँथेँ+ तैपनि तिमीहरूले मलाई हिरासतमा लिएनौ।+ ५६  तर भविष्यवक्‍ताहरूले लेखेका कुरा पूरा होऊन्‌ भनेर यी सब भएका हुन्‌।”+ तब सबै चेला उहाँलाई छोडेर भागे।+ ५७  येसुलाई हिरासतमा लिनेहरूले उहाँलाई प्रधानपुजारी कैयाफाकहाँ लगे।+ त्यहाँ शास्त्री र धर्मगुरुहरू पनि भेला भएका थिए।+ ५८  तर पत्रुस भने टाढैबाट प्रधानपुजारीको चोकसम्म उहाँको पछिपछि लागे र भित्र पसे अनि के हुँदो रहेछ भनी हेर्न घरका चाकरहरूसँगै बसे।+ ५९  मुख्य पुजारीहरू र पूरै यहुदी न्यायपरिषद्‌ येसुलाई मार्न उहाँको विरुद्धमा झूटो गवाही दिने मानिस खोजिरहेका थिए।+ ६०  हुनत थुप्रै झूटा साक्षी अघि सरे तर उहाँलाई दोषी ठहऱ्‍याउन सकिने गवाही कसैले दिन सकेन।+ पछि दुई जना अघि सरे ६१  र यसो भने: “यस मानिसले ‘म परमेश्‍वरको मन्दिर भत्काएर तीन दिनमा बनाउन सक्छु’ भन्यो।”+ ६२  यो सुनेर प्रधानपुजारी जुरुक्क उठे र उहाँलाई भने: “के तँ केही जवाफ दिँदैनस्‌? यी मानिसहरूले तँलाई जे आरोप लगाउँदै छन्‌, त्यसबारे तँ के भन्छस्‌?”+ ६३  तर येसु चुप लागेर बस्नुभयो।+ त्यसैले प्रधानपुजारीले उहाँलाई भने: “म तँलाई जीवित परमेश्‍वरको कसम खान लगाउँछु, हामीलाई भन्‌, के तँ परमेश्‍वरको छोरा ख्रिष्ट होस्‌?”+ ६४  येसुले तिनलाई भन्‍नुभयो: “तपाईँ आफैले भन्‍नुभयो। तर म तपाईँहरू सबैलाई भन्छु: अबदेखि तपाईँहरूले मानिसको छोरालाई+ सर्वशक्‍तिमान्‌को दाहिनेपट्टि बसिरहेको+ र आकाशका बादलहरूमा आउँदै गरेको देख्नुहुनेछ।”+ ६५  तब प्रधानपुजारीले आफ्नो लुगा च्याते र यसो भने: “यसले परमेश्‍वरको निन्दा गरेको छ! अब हामीलाई अरू साक्षी किन चाहियो र? हेर, तिमीहरू आफैले ईश्‍वरनिन्दा सुनिहाल्यौ। ६६  तिमीहरूको राय के छ?” तिनीहरूले जवाफ दिए: “यो मानिस मारिन लायकको छ।”+ ६७  तब तिनीहरूले उहाँको अनुहारमा थुके+ अनि उहाँलाई मुड्‌कीले हिर्काए।+ अरूले चाहिँ उहाँको गालामा चड्‌कन हाने+ ६८  र भने: “ए ख्रिष्ट, लौ भविष्यवाणी गर्‌, तँलाई हिर्काउने को हो?” ६९  पत्रुस बाहिर चोकमा बसिरहेको बेला एउटी नोकर्नी तिनीकहाँ आएर भनी: “तपाईँ पनि त गालिली येसुसँगै हुनुहुन्थ्यो नि!”+ ७०  तर तिनले सबैको अगाडि नकार्दै भने: “तिमी के भन्दै छ्यौ, मलाई थाह छैन।” ७१  तिनी निस्केर मूलढोकातिर गइरहेको बेला अर्की केटीले तिनलाई देखी र त्यहाँ भएका मानिसहरूलाई भनी: “यो मानिस नासरी येसुसँगै थियो।”+ ७२  अनि कसम खाँदै तिनले फेरि नकारे: “मैले त्यो मानिसलाई चिनेकै छैनँ!” ७३  अलिक समयपछि वरपर उभिरहेका मानिसहरू पत्रुसकहाँ आएर भने: “तिमी पक्कै पनि तिनीहरूमध्येकै हौ किनकि तिम्रो बोलीबाटै* थाह हुन्छ।” ७४  आफूले झूट बोलेको हो भने आफूलाई सराप लागोस्‌ भनेर कसम खाँदै तिनले भने: “मैले त्यो मानिसलाई चिनेकै छैनँ!” अनि त्यतिखेरै भाले बास्यो। ७५  तब येसुले भन्‍नुभएको यो कुरा पत्रुसले सम्झे: “भाले बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ अनि तिनी बाहिर निस्केर धुरुधुरु रोए।

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “गिरफ्तार गर्ने।”
शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।
अङ्‌गुरबाट बनेको रक्सी।
वा “इच्छुक।”
वा “लबजबाटै।”