मत्तिका अनुसार ७:१-२९

  • डाँडाको उपदेश (१-२७)

    • अरूको न्याय गर्न छोडिहाल (१-६)

    • मागिरहो, खोजिरहो, ढकढक्याइरहो (७-११)

    • सुनौलो नियम (१२)

    • साँघुरो ढोका (१३, १४)

    • तिनीहरूका फलबाटै चिन्‍नेछौ (१५-२३)

    • चट्टानमाथि बनाइएको घर, बालुवामाथि बनाइएको घर (२४-२७)

  • येसुको शिक्षा सुनेर भीड छक्क पर्छ (२८, २९)

७  “अरूको न्याय गर्न छोडिहाल+ ताकि तिमीहरूको पनि न्याय नगरियोस्‌। २  किनकि तिमीहरू जसरी अरूको न्याय गर्छौ, त्यसरी नै तिमीहरूको पनि न्याय गरिनेछ+ अनि तिमीहरू जुन नापले नाप्छौ, अरूले पनि तिमीहरूका लागि त्यही नापले नाप्नेछन्‌।+ ३  तिमी किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ तर आफ्नै आँखामा भएको मुढाचाहिँ यादै गर्दैनौ?+ ४  हेर! जब तिम्रो आफ्नै आँखामा मुढा छ भने तिमी कसरी आफ्नो भाइलाई ‘मलाई तिम्रो आँखाको छेस्को निकाल्न देऊ’ भन्‍न सक्छौ? ५  ए कपटी! पहिले आफ्नै आँखाको मुढा निकाल अनि तिमीले आफ्नो भाइको आँखाबाट छेस्को कसरी निकाल्ने भनेर छर्लङ्‌गै देख्नेछौ। ६  “पवित्र थोक कुकुरहरूलाई नदेओ अनि आफ्ना मोती सुँगुरहरूको अगाडि नफाल+ नत्र त त्यसलाई आफ्ना खुट्टाले कुल्चीमिल्ची गरेर ती तिमीहरूतिर फर्कनेछन्‌ र आक्रमण गर्नेछन्‌। ७  “मागिरहो अनि तिमीहरूलाई दिइनेछ;+ खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको निम्ति उघारिनेछ।+ ८  किनकि जसले मागिरहन्छ, उसले पाउँछ;+ जसले खोजिरहन्छ, उसले भेट्टाउँछ अनि जसले ढकढक्याइरहन्छ, उसको निम्ति उघारिनेछ। ९  तिमीहरूमध्ये कोचाहिँ यस्तो होला, जसले आफ्नो छोराले रोटी माग्दा उसलाई ढुङ्‌गा देला? १०  अनि माछा माग्दा सर्प देला? ११  त्यसकारण यदि तिमीहरू दुष्ट भईकन पनि आफ्ना छोराछोरीलाई राम्रा कुरा दिन जान्दछौ भने स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले उहाँसित माग्नेहरूलाई+ झन्‌ कत्ति धेरै असल थोक दिनुहुनेछ!+ १२  “त्यसकारण मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।+ वास्तवमा यही नै व्यवस्था र भविष्यवक्‍ताहरूको शिक्षाको* सार हो।+ १३  “साँघुरो ढोकाबाट भित्र पस+ किनकि विनाशतर्फ लैजाने ढोका फराकिलो र बाटो चौडा हुन्छ अनि यसमा हिँड्‌नेहरू धेरै हुन्छन्‌। १४  तर जीवनतर्फ लैजाने ढोका साँघुरो र बाटो अप्ठेरो हुन्छ अनि यो भेट्टाउने थोरै हुन्छन्‌।+ १५  “भेडाको भेषमा तिमीहरूकहाँ आउने+ झूटा भविष्यवक्‍ताहरूदेखि होसियार रहो+ किनकि वास्तवमा तिनीहरू भोका ब्वाँसाहरू हुन्‌।+ १६  तिनीहरूका फलबाटै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ। के मानिसहरूले कहिल्यै काँडाको झाङबाट अङ्‌गुर वा जङ्‌गली झारबाट अन्जिर बटुल्छन्‌ र?+ १७  त्यसैगरि हरेक असल रूखले असल फल फलाउँछ तर हरेक खराब रूखले बिग्रेको फल फलाउँछ।+ १८  असल रूखले बिग्रेको फल फलाउन सक्दैन न त खराब रूखले असल फल फलाउन सक्छ।+ १९  असल फल नफलाउने हरेक रूख काटेर ढालिन्छ र आगोमा फालिन्छ।+ २०  यसकारण तिमीहरूले झूटा भविष्यवक्‍ताहरूलाई तिनीहरूका फलबाटै चिन्‍नेछौ।+ २१  “मलाई ‘प्रभु, प्रभु’ भन्‍नेहरूमध्ये सबै जना स्वर्गको राज्यमा पस्नेछैनन्‌ तर स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छाअनुसार चल्नेहरू मात्र त्यहाँ पस्नेछन्‌।+ २२  त्यस दिन धेरैले मलाई यसो भन्‍नेछन्‌: ‘हे प्रभु, हे प्रभु,+ के हामीले तपाईँको नाममा भविष्यवाणी गरेनौँ र? तपाईँको नाममा प्रेतहरूलाई* धपाएनौँ र? अनि के हामीले तपाईँको नाममा थुप्रै शक्‍तिशाली काम गरेनौँ र?’+ २३  त्यतिबेला म तिनीहरूलाई प्रस्टै यसो भन्‍नेछु: ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ! ए कुकर्मी हो, मबाट पर हटिहाल!’+ २४  “त्यसकारण मेरा यी कुरा सुन्‍ने र पालन गर्ने सबै जना चट्टानमाथि आफ्नो घर बनाउने बुद्धिमान्‌ मानिसजस्तै हुन्‌।+ २५  घनघोर पानी पऱ्‍यो, बाढी आयो, बतास चल्यो र घरलाई बेसरी हान्यो तैपनि त्यो ढलेन किनकि त्यो घर चट्टानमाथि बसालिएको थियो। २६  अर्कोतिर मेरा यी कुरा सुन्‍ने तर पालन नगर्ने सबै जना बालुवामाथि आफ्नो घर बनाउने मूर्ख मानिसजस्तै हुन्‌।+ २७  घनघोर पानी पऱ्‍यो, बाढी आयो, बतास चल्यो र घरलाई बेसरी हान्यो+ अनि त्यो ढल्यो र पूरै ध्वस्त भयो।” २८  जब येसुले यी कुरा भनिसक्नुभयो, तब उहाँको सिकाउने तरिका देखेर भीड छक्क पऱ्‍यो+ २९  किनकि उहाँले तिनीहरूका शास्त्रीहरूले जस्तो होइन तर परमेश्‍वरबाट अख्तियार पाएको व्यक्‍तिले जस्तोगरि सिकाइरहनुभएको थियो।+

फुटनोटहरू

“व्यवस्था र भविष्यवक्‍ताहरूको शिक्षा”-ले सम्पूर्ण हिब्रू धर्मशास्त्रलाई जनाउँछ।
वा “दुष्ट स्वर्गदूतहरूलाई।” शब्दावली “प्रेत” हेर्नुहोस्‌।