मत्तिका अनुसार २५:१-४६

  • ख्रिष्टको उपस्थितिको चिन्ह (१-४६)

    • दस कन्याको उदाहरण (१-१३)

    • टालेन्टको उदाहरण (१४-३०)

    • भेडा र बाख्रा (३१-४६)

२५  “स्वर्गको राज्यलाई दस कन्यासित तुलना गर्न सकिन्छ, जो आ-आफ्नो दियो लिएर+ दुलहालाई भेट्‌न निस्के।+ २  तिनीहरूमध्ये पाँच जना निर्बुद्धि अनि पाँच जना बुद्धिमती* थिए।+ ३  किनकि निर्बुद्धिहरूले आ-आफ्नो दियो लगे तर तेल भने लगेनन्‌। ४  तर बुद्धिमतीहरूले चाहिँ दियोसँगसँगै आ-आफ्नो भाँडोमा तेल पनि लगे। ५  दुलहाले आउन ढिलो गर्दा तिनीहरू सबै निद्राले झुल्न थाले र भुसुक्कै निदाए। ६  अनि मध्यरातमा यस्तो स्वर सुनियो: ‘दुलहा आइपुग्नै लागे! तिनलाई भेट्‌न बाहिर निस्क।’ ७  तब ती सबै कन्या उठे र आ-आफ्नो दियो ठीक पारे।+ ८  निर्बुद्धिहरूले बुद्धिमतीहरूलाई भने: ‘हामीलाई तिमीहरूको तेल अलिकता देओ न! हाम्रो दियो निभ्नै लाग्यो।’ ९  बुद्धिमतीहरूले यस्तो जवाफ दिए: ‘तिमीहरूलाई दियौँ भने हामी आफैलाई नपुग्ला। बरु तिमीहरू आफै पसलेकहाँ गएर आफ्नो लागि तेल किन।’ १०  तिनीहरू पसल जाँदै गर्दा दुलहा आइपुगे र तयार भएर बसेका कन्याहरू विवाह-भोजमा सहभागी हुन तिनीसँगै भित्र पसे+ अनि ढोका बन्द गरियो। ११  पछि बाँकी पाँच कन्या पनि आइपुगे र यसो भन्‍न थाले: ‘दुलहाराजा, दुलहाराजा, हामीलाई ढोका खोलिदिनुहोस्‌ न!’+ १२  तर तिनले यस्तो जवाफ दिए: ‘म तिमीहरूलाई साँच्चै भन्छु, मैले तिमीहरूलाई चिनेकै छैनँ।’ १३  “त्यसकारण जागा रहो+ किनकि त्यो दिन र समय तिमीहरूलाई थाह छैन।+ १४  “स्वर्गको राज्य एक जना मानिसजस्तो हो, जसले परदेश जानुअघि आफ्ना दासहरूलाई बोलायो र आफ्नो सम्पत्ति जिम्मा लगायो।+ १५  उसले आफ्ना दासहरूको क्षमताअनुसार पहिलोलाई पाँच टालेन्ट,* दोस्रोलाई दुई टालेन्ट अनि तेस्रोलाई एक टालेन्ट चाँदीका सिक्काहरू दियो र परदेशतिर लाग्यो। १६  तब पाँच टालेन्ट पाउने दास तुरुन्तै गयो र त्यसबाट व्यापार गरेर थप पाँच टालेन्ट कमायो। १७  त्यसैगरि दुई टालेन्ट पाउनेले थप दुई टालेन्ट कमायो। १८  तर एक टालेन्ट मात्र पाउने चाहिँ आफ्नो बाटो लाग्यो र जमिन खनेर आफ्ना मालिकको धन* लुकाइराख्यो। १९  “धेरै समयपछि ती दासहरूको मालिक फर्क्यो र तिनीहरूसित हिसाबकिताब माग्यो।+ २०  तब पाँच टालेन्ट पाउने दास थप पाँच टालेन्ट लिएर अगाडि आयो र यसो भन्यो: ‘मालिक, हजुरले मलाई पाँच टालेन्ट दिनुभएको थियो। हेर्नुहोस्‌, मैले अरू पाँच टालेन्ट कमाएँ।’+ २१  मालिकले उसलाई भन्यो: ‘स्याबास, असल र विश्‍वासी दास! तिमी थोरै कुरामा विश्‍वासी भयौ। म तिमीलाई धेरै कुरामाथि नियुक्‍त गर्नेछु।+ तिमी आफ्नो मालिकसँगसँगै रमाऊ।’+ २२  त्यसपछि दुई टालेन्ट पाउने दास अगाडि आयो र यसो भन्यो: ‘मालिक, हजुरले मलाई दुई टालेन्ट दिनुभएको थियो। हेर्नुहोस्‌, मैले अरू दुई टालेन्ट कमाएँ।’+ २३  मालिकले उसलाई भन्यो: ‘स्याबास, असल र विश्‍वासी दास! तिमी थोरै कुरामा विश्‍वासी भयौ। म तिमीलाई धेरै कुरामाथि नियुक्‍त गर्नेछु। तिमी आफ्नो मालिकसँगसँगै रमाऊ।’ २४  “अन्तमा एक टालेन्ट पाउने दास अगाडि आयो र यसो भन्यो: ‘मालिक, तपाईँ आफूले नछरेको ठाउँमा कटनी गर्ने र आफूले ननिफनेको अन्‍न बटुल्ने कठोर मानिस हुनुहुन्छ भनेर मलाई थाह थियो।+ २५  त्यसैले मलाई डर लाग्यो र गएर तपाईँको एक टालेन्ट जमिनमुनि लुकाएँ। तपाईँको एक टालेन्ट तपाईँ नै लिनुहोस्‌।’ २६  उसको मालिकले यस्तो जवाफ दियो: ‘ए दुष्ट र अल्छे नोकर, म आफूले नछरेको ठाउँमा कटनी गर्ने र आफूले ननिफनेको अन्‍न बटुल्ने मानिस हुँ भनेर तँलाई थाहै रहेछ, हैन त? २७  त्यसोभए तैँले मेरो धन* साहूकहाँ लगेर राख्नुपर्ने थियो अनि म फर्कँदा मैले ब्याजसहित त्यो फिर्ता पाउने थिएँ। २८  “‘त्यसैले त्यससित भएको एक टालेन्ट खोसेर दस टालेन्ट हुनेलाई देओ।+ २९  किनकि हरेक जोसित छ, उसलाई अझ धेरै दिइनेछ र ऊसित प्रशस्त हुनेछ तर जोसित छैन, ऊसित भएको पनि खोसिनेछ।+ ३०  त्यो निकम्मा दासलाई बाहिर अन्धकारमा फालिदेओ, जहाँ त्यो दाह्रा किटी-किटी रुनेछ।’ ३१  “जब मानिसको छोरा+ आफ्नो गौरवसहित सबै स्वर्गदूत लिएर आउँछ,+ तब ऊ आफ्नो गौरवशाली सिंहासनमा बस्नेछ। ३२  अनि उसको अगाडि सबै जाति भेला गराइनेछन्‌ र गोठालोले बाख्राहरूबाट भेडाहरूलाई छुट्ट्याएजस्तै उसले मानिसहरूलाई छुट्ट्याउनेछ। ३३  अनि उसले भेडाहरूलाई+ आफ्नो दाहिने हाततिर र बाख्राहरूलाई देब्रे हाततिर राख्नेछ।+ ३४  “त्यसपछि राजाले आफ्नो दाहिने हाततिर हुनेहरूलाई भन्‍नेछ: ‘आओ, मेरो बुबाको आशिष्‌ पाएकाहरू हो, संसारको प्रारम्भदेखि तिमीहरूका लागि तयार पारिएको राज्य अधिकार गर। ३५  किनकि म भोकाएको थिएँ, तिमीहरूले मलाई केही खान दियौ; म तिर्खाएको थिएँ, तिमीहरूले मलाई केही पिउन दियौ। म पराई थिएँ, तिमीहरूले मेरो सत्कार गऱ्‍यौ;+ ३६  म नाङ्‌गो थिएँ,* तिमीहरूले मलाई लुगा लगाइदियौ।+ म बिरामी थिएँ, तिमीहरूले मेरो स्याहार गऱ्‍यौ। म झ्यालखानामा थिएँ, तिमीहरू मलाई भेट्‌न आयौ।’+ ३७  तब धर्मीहरूले उसलाई यसो भन्‍नेछन्‌: ‘हे प्रभु, हामीले तपाईँलाई कहिले भोको देख्यौँ र खान दियौँ अनि कहिले तिर्खाएको देख्यौँ र पिउन दियौँ?+ ३८  हामीले तपाईँलाई कहिले पराई भेट्टायौँ र तपाईँको सत्कार गऱ्‍यौँ अनि कहिले नाङ्‌गो देख्यौँ र तपाईँलाई लुगा लगाइदियौँ? ३९  हामीले तपाईँलाई कहिले बिरामी वा झ्यालखानामा देख्यौँ र तपाईँलाई भेट्‌न आयौँ?’ ४०  राजाले तिनीहरूलाई यस्तो जवाफ दिनेछ: ‘म तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानालाई जे-जति गऱ्‍यौ, त्यो तिमीहरूले मलाई नै गऱ्‍यौ।’+ ४१  “त्यसपछि उसले आफ्नो देब्रे हाततिर हुनेहरूलाई भन्‍नेछ: ‘हे श्रापितहरू हो! मबाट पर हटिहाल+ र सधैँ बलिरहने आगोमा जाओ,+ जुन दियाबल र त्यसका दूतहरूका लागि तयार पारिएको छ।+ ४२  किनकि म भोकाएको थिएँ तर तिमीहरूले मलाई केही खान दिएनौ; म तिर्खाएको थिएँ तर तिमीहरूले मलाई केही पिउन दिएनौ। ४३  म पराई थिएँ तर तिमीहरूले मेरो सत्कार गरेनौ; नाङ्‌गो थिएँ तर तिमीहरूले मलाई लुगा लगाइदिएनौ; बिरामी थिएँ र झ्यालखानामा थिएँ तर तिमीहरूले मेरो स्याहार गरेनौ।’ ४४  तब तिनीहरूले पनि यसो भन्‍नेछन्‌: ‘हे प्रभु, हामीले तपाईँलाई कहिले भोको वा तिर्खाएको वा पराई वा नाङ्‌गो वा बिरामी वा झ्यालखानामा देख्यौँ र पनि तपाईँको सेवा गरेनौँ?’ ४५  उसले तिनीहरूलाई यस्तो जवाफ दिनेछ: ‘म तिमीहरूलाई साँच्चै भन्छु, तिमीहरूले यी सबैभन्दा सानाहरूमध्ये एक जनालाई जे-जति गरेनौ, त्यो तिमीहरूले मलाई नै गरेनौ।’+ ४६  अनि यिनीहरू सधैँका लागि नाश हुनेछन्‌*+ तर धर्मीहरूले भने अनन्त जीवन पाउनेछन्‌।”+

फुटनोटहरू

वा “सुझबुझ भएका।”
ग्रीक तौलअनुसार एक टालेन्ट भनेको २०.४ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
शा., “चाँदी।”
शा., “चाँदी।”
वा “मसँग शरीर ढाक्न पुग्दो कपडा थिएन।”
शा., “काटिनेछन्‌; छाँटिनेछन्‌।”