सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मसीहीजगतमाथि यहोवाले विपत्तिहरू पठाउनु हुन्छ

मसीहीजगतमाथि यहोवाले विपत्तिहरू पठाउनु हुन्छ

अध्याय २१

मसीहीजगतमाथि यहोवाले विपत्तिहरू पठाउनु हुन्छ

दर्शन ५—प्रकाश ८:१–९:२१

विषय: सातवटा तुरहीमध्येबाट छ वटाको आवाज

पूर्ति समयावधि: सन्‌ १९१४-मा येशूको राज्यारोहणदेखि महासङ्‌कष्टसम्म

१. थुमाले सातौं छाप खोल्दा के हुन्छ?

 आत्मिक इस्राएलका १,४४,००० जनहरूमाथि छाप नलगाउञ्जेल र ठूलो भीड बचाउका लागि स्वीकृत घोषित नहोउञ्जेल “चार बतास”-लाई थामेर राखिएको छ। (प्रकाश ७:१-४, ९) तर त्यो जोडदार आँधी पृथ्वीको सतहमाथि मच्चिनुअघि चाहिं शैतानी संसारको विरुद्धमा यहोवाका न्यायिक फैसलाहरू घोषणा हुनु अनिवार्य छ! थुमाले सातौं र अन्तिम छाप खोल्नु हुँदा, अब के प्रकट हुने हो, सो थाहा लाउन यूहन्‍नाले जरुर पनि बडो उत्सुकतासाथ हेरिरहेको हुनुपर्छ। अब उनले आफ्नो अनुभव हामीलाई पनि बताउँछन्‌: “अनि जब उहाँले सातौं छाप खोल्नुभयो, तब प्रायः आधा घण्टासम्म स्वर्गमा सन्‍नाटा भयो। औ परमेश्‍वरको सामने उभिने सात स्वर्गदूतलाई मैले देखें, तिनीहरूलाई सात तुरही दिइएका थिए।”—प्रकाश ८:१, २.

मर्मस्पर्शी प्रार्थना गर्ने बेला

२. स्वर्गमा प्रतीकात्मक आधा घण्टाका लागि सन्‍नाटा छाउँदा के हुन्छ?

कति महत्त्वपूर्ण सन्‍नाटा हो यो! कुनै कुराका लागि पर्खिनु पर्दा आधा घण्टा पनि लामो समय जस्तो लाग्न सक्छ। निरन्तर प्रशंसा गाउने त्यो स्वर्गीय गायन टोलीको आवाज पनि अब सुनिंदैन। (प्रकाश ४:८) किन? कारण यूहन्‍नाले दर्शनमै देख्छन्‌: “अनि अर्को एउटा दूत आएर वेदीमाथि सुनको धूपौरो लिएर खडा भए। तिनले सिंहासनको सामने रहेको सुनको वेदीमाथि सबै पवित्र जनहरूका प्रार्थनाहरूमा धूप थप्न भनी तिनलाई धेरै धूपहरू दिइएका थिए। औ धूपको धुवाँ पवित्र जनहरूको प्रार्थनाको साथसाथ दूतको हातबाट परमेश्‍वरको सामने उडेर गयो।”—प्रकाश ८:३, ४.

३. (क) धूप बालेको देख्दा हामीलाई के को सम्झना हुन्छ? (ख) स्वर्गमा आधा घण्टाको सन्‍नाटाको उद्देश्‍य के हो?

यो दर्शनले हामीलाई यहूदी रीतिथितिअन्तर्गत पहिले बासस्थानमा र पछि यरूशलेमको मन्दिरमा सधैं धूप बाल्ने चलनको सम्झना गराउँछ। (प्रस्थान ३०:१-८) यसरी धूप बाल्ने बेलामा गैरपूजारी इस्राएलीहरू चाहिं पवित्र स्थान बाहिर पर्खेर बस्थे। निस्सन्देह, जसको सम्मानमा धूप चढाइन्थ्यो, उहाँलाई नै तिनीहरू सबैले मनमनै प्रार्थना गरिरहेका हुन्थे। (लूका १:१०) यस्तै कुरा स्वर्गमा पनि भैरहेको यूहन्‍नाले अब देख्छन्‌। स्वर्गदूतले चढाएको धूप “पवित्र जनहरूको प्रार्थनासित” सम्बन्धित छ। यथार्थमा योभन्दा अघिको दर्शनमा धूपलाई प्रार्थनाहरूको प्रतीक नै मानिएको थियो। (प्रकाश ५:८; भजन १४१:१, २) स्पष्टतः पृथ्वीका पवित्र जनहरूका प्रार्थना सुनियोस्‌ भनेर स्वर्गमा त्यो प्रतीकात्मक सन्‍नाटा छाउँछ।

४, ५. कुनकुन ऐतिहासिक गतिविधिहरूले हामीलाई त्यो आधा घण्टा सन्‍नाटाको समय ठम्याउने मदत दिन्छ?

यो कहिले भयो, के हामी कुनै अन्दाज लगाउन सक्छौं? सक्छौं। प्रभुको दिनको आरम्भमा घटेका ऐतिहासिक गतिविधिहरू र तिनीहरूको सन्दर्भ हामीले जाँच गर्नुपर्छ। (प्रकाश १:१०) सन्‌ १९१८ र १९१९-को दौडान पृथ्वीमा घटेका घटनाहरू प्रकाश ८:१-४-मा उल्लिखित दृश्‍यसित ठ्याक-ठ्याकी मिल्यो। सन्‌ १९१४ मै अन्यजातिहरूको समय समाप्त हुनेछ भनेर सन्‌ १९१४-भन्दा ४० वर्षअघि देखि नै यहोवाका साक्षीहरूले [जसलाई त्यतिखेर बाइबल विद्यार्थीहरू भनिन्थ्यो] निडरतासाथ घोषणा गर्दै आएका थिए। र तिनीहरूले घोषणा गरेका कुरालाई १९१४-का विपत्तिजनक घटनाहरूले सत्य साबित गऱ्‍यो। (लूका २१:२४, किङ्‌ग जेम्स वर्सन; मत्ती २४:३, ७, ८) तर १९१४ मै तिनीहरू यस पृथ्वीबाट स्वर्गमा लगिनेछन्‌ भनेर तीमध्ये धेरैले विश्‍वास पनि गरेका थिए। तर त्यो चाहिं भएन। त्यसको सट्टा, प्रथम विश्‍व-युद्धको दौडान तिनीहरूले कडा सतावट सहनु पऱ्‍यो। अक्टोबर ३१, १९१६-मा वाच टावर सोसाइटीका प्रथम सभापति, चार्ल्स टी. रसलको मृत्यु भयो। यसपछि जुलाई ४, १९१८-मा नयाँ सभापति जोसेफ एफ. रदरफर्ड र सोसाइटीका अन्य सात जना प्रतिनिधिहरू एटलान्टा, जर्जियाको कारागारमा लगिए। तिनीहरूमाथि गलत अभियोग लगाइयो र लामो समयसम्म तिनीहरूलाई झ्यालखानमा थुनेर राख्ने फैसला सुनाइयो।

यूहन्‍नावर्गका इमान्दार मसीहीहरू असमञ्जसमा परे। तिनीहरूले अब के गरेको परमेश्‍वर चाहनु हुन्थ्यो? तिनीहरू स्वर्गमा कहिले लगिनेछन्‌? मे १, १९१९-को द वाच टावर-पत्रिकामा “कटनी त सिद्धियो—यसपछि के हुने हो?” भन्‍ने लेख छापियो। यस लेखमा तत्कालीन अनिश्‍चितताको झलक थियो। विश्‍वासी जनहरूलाई धैर्य धारण गरी नै रहने प्रोत्साहन दिंदै यस लेखमा यसो भनिएको थियो: “राजकीय वर्गकाहरूलाई बटुल्ने काम सम्पूर्णतः समाप्त भइसक्यो भनी हामी अब विश्‍वास गर्छौं। जति जनालाई छाप लाउनु थियो, लगाइसकियो र ढोका पनि अब बन्द भएको छ।” यो कठिन समयको दौडान एक रास धूपको धुवाँ जस्तैगरी यूहन्‍नावर्गका मर्मस्पर्शी प्रार्थनाहरू मास्तिर उक्लिरहेका थिए। र तिनीहरूका प्रार्थनाहरूको सुनाइ पनि भइरहेको थियो!

पृथ्वीमा आगो फाल्नु

६. स्वर्गमा सन्‍नाटापछि के हुन्छ र त्यो पनि कुन कुराको जवाफको रूपमा?

यूहन्‍नाले हामीलाई यसो भन्छन्‌: “औ दूतले धूपौरो लिएर त्यसमा वेदीको आगोले भरिदिए, र पृथ्वीमाथि फ्याँकिदिए। अनि त्यहाँ गर्जनहरू, आवाजहरू, बिजुलीहरू र भूकम्पहरू भए।” (प्रकाश ८:५) यो सन्‍नाटापछि अचानक ठूलो चहलपहल मच्चिन्छ! यो पक्कै पनि पवित्र जनहरूका प्रार्थनाहरूको जवाफ हो। किनभने यो चहलपहल धूपवेदीबाट आगो लिएपछि मात्र सुरु हुन्छ। सा.यु.पू. १५१३-मा यहोवाले आफ्ना जनप्रति विशेष ध्यान दिनु हुँदा सीनै पर्वतमा बादलको गर्जन र चर्को आवाज सुनियो, बिजुली चम्कियो, आगो देखा पऱ्‍यो र सारा पर्वत जोडसित हल्लिन थाल्यो। (प्रस्थान १९:१६-२०) यस्तैप्रकारका प्रदर्शनहरूको वर्णन यूहन्‍नाले पनि गरेका छन्‌ र यिनीहरूको अर्थ पनि यहोवाले पृथ्वीमा आफ्ना दासहरूतर्फ विशेष ध्यान दिनु हो। (प्रकाश १:१) तर यूहन्‍नाले देखेका कुराहरू चाहिं प्रतीकात्मक ढङ्‌गमा प्रस्तुत छन्‌। अतः प्रतीकात्मक आगो, गर्जन, आवाज, बिजुली र भूकम्पहरूको आज के अर्थ लाउन सकिन्छ?

७. (क) येशूले पृथ्वीमा आफ्नो सेवकाईको दौडान कुन चाहिं प्रतीकात्मक आगो सल्काउनु भयो? (ख) येशूका आत्मिक भाइहरूले मसीहीजगतमा आगो कसरी सल्काए?

एक पटक येशूले आफ्ना अनुयायीहरूलाई यसो भन्‍नु भएको थियो: “म पृथ्वीमा आगो लाउन आएको हुँ।” (लूका १२:४९) साँच्चै नै उहाँले आगो सल्काउनु भयो। येशूले आफ्नो जोशिलो प्रचारद्वारा यहूदीहरूको सामु परमेश्‍वरको राज्यलाई सर्वोपरि प्रश्‍नको रूपमा प्रस्तुत गर्नु भयो। त्यस राष्ट्रभरि गरमागरम विवाद चल्यो। (मत्ती ४:१७, २५; १०:५-७, १७, १८) सन्‌ १९१९-मा प्रथम विश्‍वयुद्धका सङ्‌कष्टमय दिनहरू काटेपछि येशूका अभिषिक्‍त भाइहरूको सानो टोलीले पनि मसीहीजगतमा त्यस्तैप्रकारको आगो सल्कायो। त्यो सालको सेप्टेम्बर महिनामा यहोवाको आत्माले काम गरेको प्रत्यक्षतः देख्न सकिन्थ्यो। उहाँका वफादार साक्षीहरू चारैतिरबाट संयुक्‍त राज्य अमेरिकाको सिडर प्वाइन्ट, ओहायोमा भेला भए। भर्खरै कैदबाट रिहा भएका र चाँडै नै तिनी विरुद्धको रीट सबै खारेज हुन लागेका जोसेफ एफ. रदरफर्डले सम्मेलनमा उपस्थित सबैलाई सम्बोधन गर्दै जोरसित यसो भने: “हाम्रा मालिकले दिनु भएको आदेशप्रति हामी आज्ञाकारी हुनुपर्छ। यतिका लामो समयदेखि मानिसहरूलाई दासत्वमा राख्ने झूटका गढहरूको विरुद्धमा युद्ध गर्ने हाम्रो विशेषाधिकारलाई हामीले स्वीकार्नु पर्छ। मसीहको आउने महिमायुक्‍त राज्यको घोषणा गर्ने कर्त्तव्य हाम्रो थियो र अझ पनि छ।” हो, सर्वोपरि प्रश्‍न नै परमेश्‍वरको राज्य हो!

८, ९. (क) युद्धग्रस्त कठिन समयसालहरूमा परमेश्‍वरका जनहरूको मनोवृत्ति र अभिलाषाहरूको वर्णन जे. एफ. रदरफोर्डले कसरी गरे? (ख) तल पृथ्वीमा आगो कसरी फालियो? (ग) मेघको गर्जन, बिजुली चम्काई, आवाजहरू र भैंचाला जम्मै कसरी पूरा भएका छन्‌?

परमेश्‍वरका जनहरूले हालसालैमा अनुभव गरेका दुःखद अनुभवहरूलाई सङ्‌केत गर्दै वक्‍ताले भने: “शत्रुको आक्रमण अति क्रूर थियो। प्रभुको प्रिय बगालका धेरै जना त स्तब्ध भए। प्रभुले आफ्नो इच्छा प्रकट गरी दिऊन्‌ भन्दै तिनीहरू प्रार्थना गर्दै पर्खिरहे। . . . तर यो निरुत्साहको भाव क्षणभरका लागि मात्र थियो। राज्यको सन्देश घोषणा गर्ने प्रचण्ड इच्छा पुनः जागृत भयो।”—सेप्टेम्बर १५, १९१९-को द वाच टावर, पृष्ठ २८० हेर्नुहोस्‌।

त्यो इच्छा १९१९-मा पूरा भयो। मसीहीहरूको त्यो सानो तर सक्रिय टोली विश्‍वव्यापी प्रचार अभियान आरम्भ गर्न आध्यात्मिक रूपमा आगो सरह प्रज्वलित भयो। (१ थिस्सलोनिकी ५:१९-तुलना गर्नुहोस्‌।) पृथ्वीमा आगो फालियो भन्‍नुको अर्थ परमेश्‍वरको राज्यलाई जल्दोबल्दो विवाद बनाइयो र त्यो आज पनि विवाद नै रहेको छ! सन्‍नाटाको ठाउँमा परमेश्‍वरको राज्यलाई स्पष्टसित प्रचार गर्ने चर्को आवाजहरू सुनिए। बाइबलबाट मेघको गर्जन र आँधीबेह्री जस्तै चेताउनीहरू घोषित हुन थाले। यहोवाको अगमवाणीपूर्ण वचनबाट सच्चाइका ज्योतिर्मय किरणहरू बिजुली चम्केको जस्तैगरी चम्कन थाले। अनि मानौं कुनै जोडदार भूकम्प आएजस्तै धार्मिक क्षेत्र जगैदेखि हल्लियो। काम गर्न अझ बाँकी नै रहेछ भनी यूहन्‍नावर्गले देखे। र सो काम आज सारा पृथ्वीभरि धुमधामसित बढ्‌दै गइरहेछ!—रोमी १०:१८.

तुरहीहरू फुक्ने तयारी

१०. सात वटा स्वर्गदूतहरूले के गर्ने तयारी गर्छन्‌ र किन?

१० यूहन्‍ना अब अगाडि भन्छन्‌: “औ ती सातवटा तुरही हुने सातै दूत तुरही फुक्नालाई तयार भए।” (प्रकाश ८:६) ती तुरहीहरू फुक्नुको अर्थ के हो? इस्राएलीहरूको समयमा विशेष दिनहरू वा उल्लेखनीय घटनाहरूलाई सङ्‌केत गर्न तुरही फुक्ने चलन थियो। (लेवी २३:२४; २ राजा ११:१४) यस्तैप्रकार, यूहन्‍नाले सुन्‍नै लागेको तुरहीको आवाजले पनि जीवन र मरण जतिकै महत्त्वपूर्ण कुराहरूतर्फ ध्यान आकृष्ट गर्नेछ।

११. यूहन्‍नावर्ग पृथ्वीमा १९१९-देखि १९२२-सम्म कुन कामको तयारीमा थिए?

११ स्वर्गदूतहरू तुरही फुक्न तयार हुँदा निस्सन्देह तल पृथ्वीमा गरिनु पर्ने अग्रिमतयारीको कामलाई पनि तिनीहरूले निर्देशन दिएको हुनुपर्छ। आम सेवकाईलाई पुनःव्यवस्थित पार्न र प्रकाशनहरू छाप्ने छापाखानाहरू स्थापित गर्नमा पुनःजागृत यूहन्‍नावर्ग १९१९ देखि १९२२ सम्म व्यस्त थिए। सन्‌ १९१९-मा द गोल्डेन एज नामक पत्रिका जसलाई आज अवेक! भनिन्छ, प्रकाशित हुन थाल्यो। यो पत्रिकालाई “तथ्य, आशा र विश्‍वासको पत्रिकाको रूपमा” प्रस्तुत गरियो। यो एउटा तुरहीजस्तै माध्यम थियो जसले झूटो धर्मको राजनैतिक संलग्नताको पर्दाफास गर्नमा विशेष भूमिका निभाउने थियो।

१२. प्रत्येक तुरहीको आवाजद्वारा के घोषित हुन्छ र यसले हामीलाई मोशाको दिनमा भएको कुन कुराको सम्झना गराउँछ?

१२ अब हामीले प्रत्येक तुरहीको आवाजसाथ एउटा अनौंठो दृश्‍य आरम्भ भएको देख्नेछौं र यी दृश्‍यहरूमा पृथ्वीका केही भागहरू डरलाग्दा विपत्तिहरूद्वारा पिरोलिन्छन्‌। यीमध्येका कुनै कुनैले त हामीलाई ती विपत्तिहरूको सम्झना गराउँछ जो यहोवाले मोशाको पालोमा मिश्रीहरूलाई सजाय दिंदा पठाउनु भएको थियो। (प्रस्थान ७:१९–१२:३२) ती विपत्तिहरू त्यो राष्ट्रमाथि यहोवाको इन्साफका अभिव्यक्‍तिहरू थिए। तिनीहरूले परमेश्‍वरका जनहरूका लागि दासत्वबाट उम्कने बाटो पनि खोलिदियो। यूहन्‍नाले देखेका विपत्तिहरूले पनि प्रायः यस्तै काम गर्छन्‌। तथापि तिनीहरू शाब्दिक विपत्तिहरू चाहिं होइनन्‌। ती यहोवाका धार्मिक र न्यायसङ्‌गत फैसलाहरूका प्रतीक हुन्‌।—प्रकाश १:१.

“तेस्रो”-को अर्थ बुझ्नु

१३. प्रथम चार वटा तुरहीहरू फुक्दा के हुन्छ र यसले के प्रश्‍न उठाउँछ?

१३ प्रथम चारवटा तुरहीहरू फुक्दा, पृथ्वी, समुद्र, नदी, पानीका फोहोराहरू र पार्थिव ज्योतिका स्रोतहरूको “तेस्रो” भागमाथि विपत्तिहरू आइपरेको अब हामी देख्नेछौं। (प्रकाश ८:७-१२) तेस्रो भन्‍नुको अर्थ कुनै चीजको सम्पूर्ण भाग नभए तापनि त्यसको एउटा निकै नै ठूलो हिस्सा चाहिं हो। (यशैया १९:२४-सित तुलना गर्नुहोस्‌; इजकिएल ५:२; जकरिया १३:८, ९) अतः यी विपत्तिहरू खासगरी कुन चाहिं “तेस्रो” भागमाथि आइपर्नु उचित छ? बहुसङ्‌खयक मानवजातिलाई शैतान र त्यसको सन्तानले अन्धो र भ्रष्ट तुल्याएको छ। (उत्पत्ति ३:१५; २ कोरिन्थी ४:४) स्थिति दाऊदले वर्णन गरेको जस्तै छ: “तिनीहरू सबै एकातिर लागेका छन्‌। तिनीहरू जम्मै एकैचोटि फोहोरी भएका छन्‌। असल गर्ने कोही पनि छैन। अहँ, एउटै पनि छैन।” (भजन १४:३) हो, सारा मानिसजाति नै प्रतिकूल न्यायको पात्र हुने खतरामा छ। तापनि यसको एउटा भाग चाहिं विशेष रीतिले दोषी छ। यसको एउटा भाग अर्थात्‌ “तेस्रो” भागले म अज्ञान थिएँ भन्‍न पाउँदैन! त्यो “तेस्रो” भाग के हो?

१४. यहोवाबाट विपत्तिजनक सन्देशहरू पाउने तेस्रो भाग के हो?

१४ त्यो मसीहीजगत हो! सन्‌ १९२०-को दशकमा उसले करीब एक तिहाइ मानिसजातिलाई आफ्नो वशमा पारेको थियो। मसीहीधर्ममा उठेको ठूलो धर्मत्यागको फल मसीहीजगत हो। यसै धर्मत्यागबारे येशू र उहाँका अनुयायीहरूले भविष्यवाणी गरेका थिए। (मत्ती १३:२४-३०; प्रेरित २०:२९, ३०; २ थिस्सलोनिकी २:३; २ पत्रुस २:१-३) मसीहीजगतका पादरीहरूले आफू परमेश्‍वरको मन्दिरमा हुने दाबी गर्छन्‌। तिनीहरू मसीहीधर्मका शिक्षकहरू भइटोपल्छन्‌। तर तिनीहरूका धर्मशिक्षाहरू बाइबलका सत्य कुराहरूसित मिल्दै मिल्दैनन्‌। तिनीहरूले निरन्तर परमेश्‍वरको नाउँ बदनाम गर्छन्‌। हो, यो लाक्षणिक तेस्रो भागले मसीहीजगतलाई नै सङ्‌केत गर्छ। तिनीहरूमाथि यहोवाबाट प्रभावकारी र विपत्तिजनक सन्देशहरू आइपर्छन्‌। मानिसजातिको यो तेस्रो भाग अलिकता पनि दया पाउने योग्यको छैन!

१५. (क) प्रत्येक तुरहीको आवाज कुनै खास सालका लागि मात्र हो कि? व्याख्या गर्नुहोस्‌। (ख) यूहन्‍नावर्गसित स्वरमा स्वर मिलाएर आज कसले पनि यहोवाका न्यायिक फैसलाहरू घोषणा गरिरहेका छन्‌?

१५ तुरहीको क्रमबद्ध आवाजहरू जस्तै १९२२-देखि १९२८-को दौडान सातवटा सम्मेलनहरूमा विशेष प्रस्तावनाहरू पारित गरिए। तर तुरहीको आवाज ती सालहरूमा मात्र सीमित थिएन। प्रभुको दिन अघि बढ्‌दै जाँदा मसीहीजगतका दुष्ट कर्तुतहरूलाई प्रभावकारी ढङ्‌गमा पर्दाफास गर्ने काम पनि निरन्तर चलि नै रहेको छ। अन्तर्राष्ट्रिय घृणा र सतावटको बावजूद यहोवाका न्यायिक फैसलाहरूलाई विश्‍वभरि सबै राष्ट्रहरूमा घोषणा गर्नै पर्छ। त्यसपछि मात्र शैतानको रीतिरिवाजको अन्त आउँछ। (मर्कूस १३:१०, १३) खुशीको कुरा के हो भने, आज ठूलो भीडले पनि यूहन्‍नावर्गसित स्वरमा स्वर मिलाएर ती विश्‍वव्यापी महत्त्वका गर्जनरूपी उद्‌घोषणाहरूलाई सुनाउने काममा भाग लिइरहेका छन्‌।

पृथ्वीको तेस्रो भाग भस्म हुन्छ

१६. प्रथम स्वर्गदूतले आफ्नो तुरही फुकेपछि के हुन्छ?

१६ स्वर्गदूतहरूबारे यूहन्‍ना यसो भन्छन्‌: “औ पहिलो दूतले फूके, र त्यहाँ रगतसँग मिसिएको असिना र आगो आइलाग्यो, र ती पृथ्वीमा फालिए, औ पृथ्वीको तेस्रो भाग, रूखहरूको तेस्रो भाग र सबै हरिया घाँसहरू डढाइहाल्यो।” (प्रकाश ८:७) यो विपत्ति मिश्रमाथि आइ परेको सातौं विपत्ति जस्तै छ। तर अहिले यसले के अर्थ राख्तछ?—प्रस्थान ९:२४.

१७. (क) प्रकाश ८:७-मा “पृथ्वी” भन्‍ने शब्दबाट के बोध हुन्छ? (ख) मसीहीजगतको पृथ्वीको तेस्रो भाग पनि कसरी भस्म हुन्छ?

१७ बाइबलमा “पृथ्वीले” अक्सर मानिसजातिलाई बोध गराउँछ। (उत्पत्ति ११:१; भजन ९६:१) दोस्रो विपत्ति समुद्रमाथि आइपर्छ र यो पनि मानिसजातिसितै सम्बन्धित छ। यसकारण यहाँ “पृथ्वी”ले शैतानद्वारा निर्मित मानवसमाजको त्यस भागलाई सङ्‌केत गर्छ जो हेर्नमा मजबुत भए तापनि त्यो नष्ट हुनेछ। (२ पत्रुस ३:७; प्रकाश २१:१) यो विपत्तिसम्बन्धी दृश्‍यअनुसार पृथ्वीको तेस्रो भाग अर्थात्‌ मसीहीजगतलाई यहोवाको अप्रसन्‍नताको अग्निमय तापले भस्म पार्नेछ। उसका बीचमा रूखहरूझैं उभिएका गन्यमान्य व्यक्‍तिहरू यहोवाको प्रतिकूल न्यायिक फैसलाहरूको घोषणाद्वारा भस्म हुनेछन्‌। उसका चर्चका करोडौं सदस्यहरूले मसीहीजगतका धर्महरूलाई समर्थन गरी नै रहेमा, तिनीहरू पनि अन्ततः परमेश्‍वरको नजरमा आध्यात्मिक रीतिले ओइलाएका र डढेका घाँसहरू जस्तै हुनेछन्‌।—भजन ३७:१, २-सित तुलना गर्नुहोस्‌। a

१८. यहोवाको न्यायिक फैसला १९२२-को सिडर प्वाइन्ट ओहायोको सम्मेलनमा कसरी घोषित गरिएको थियो?

१८ यो न्यायवचन कसरी घोषित गरिन्छ? साधारणतः सांसारिक प्रसार माध्यमहरूद्वारा यसको घोषणा गरिंदैन। ती प्रसार माध्यमहरू संसारकै भाग हुन्‌ र तिनीहरूले अक्सर परमेश्‍वरको “दास”को निन्दा गर्छन्‌। (मत्ती २४:४५) बरु सेप्टेम्बर १०, १९२२-को दिन, सिडर प्वाइन्ट ओहायोमा आयोजित परमेश्‍वरका जनहरूको दोस्रो ऐतिहासिक सम्मेलनमा यो घोषणा प्रभावकारी ढङ्‌गमा गरियो। तिनीहरूले सर्वसम्मती र जोशका साथ “विश्‍वका नेताहरूलाई चुनौती” भन्‍ने प्रस्तावना पारित गरे। तिनीहरूले आधुनिक समयको लाक्षणिक पृथ्वीलाई खुलस्तसित यो अग्रिम चेताउनी दिए: “पृथ्वीका राष्ट्रहरू, तिनीहरूका शासक र नेताहरू, पृथ्वीका जम्मै साम्प्रदायिक चर्चहरूका पादरीहरू, तिनीहरूका अनुयायीहरू, समर्थकहरू, ठूलठूला व्यापारी र राजनीतिज्ञहरू, सबैले पृथ्वीमा शान्ति र सुख ल्याउने र मानिसहरूलाई आनन्द प्रदान गर्ने आफ्नो दाबीलाई पुष्टि दिने प्रमाण प्रस्तुत गरून्‌ भनी हामी अनुरोध गर्दछौं; तर प्रमाण प्रस्तुत गर्न नसकेमा चाहिं हामीले प्रभुका साक्षीहरूको हैसियतमा प्रस्तुत गर्ने गवाही तिनीहरूले सुनून्‌ भनी हामी आग्रह गर्छौं। र सुनेपछि यो गवाही सत्य हो, होइन, तिनीहरूले भनून्‌।”

१९. परमेश्‍वरका जनहरूले मसीहीजगतलाई परमेश्‍वरको राज्यबारे के गवाही दिए?

१९ यी मसीहीहरूले के गवाही प्रस्तुत गरे? यो: “मानवजातिका जम्मै दुःखहरूको एउटै मात्र पक्का समाधान मसीही राज्य हो जसद्वारा सबै राष्ट्रहरूको चाहना पूरा हुनेछ। सोही राज्यले पृथ्वीमा शान्ति र मानिसहरूमाथि परमेश्‍वरको अनुग्रह ल्याउनेछ। उहाँको राज्यलाई ज-जसले राजीखुशीसाथ स्वीकार गर्छन्‌, तिनीहरूले आशिषको रूपमा चिर स्थायी शान्ति, जीवन, स्वतन्त्रता र अनन्तकालीन आनन्द पाउनेछन्‌।” त्यो तुरहीको आवाजजस्तो आह्वान १९२२-मा भन्दा आज अझ चर्को भएको छ। किनभने आजका भ्रष्ट समयसालहरूमा विशेषगरी मसीहीजगतका मानवनिर्मित सत्ताहरू संसारका समस्याहरू समाधान गर्न सम्पूर्णतः असमर्थ भइरहेका छन्‌। साँच्चै नै, परमेश्‍वरका विजयी ख्रीष्टको हातमा सुम्पिएको ईश्‍वरीय राज्य नै मानिसजातिको एकमात्र आशा हो!

२०. (क) सन्‌ १९२२ र त्यसपछि अभिषिक्‍त मसीहीहरूको मण्डलीले कुन माध्यमद्वारा न्यायिक सन्देशहरूलाई तुरही फुकेको जस्तै गरी घोषणा गरेका छन्‌? (ख) प्रथम तुरहीको परिणामस्वरुप मसीहीजगतमा के भयो?

२० प्रस्तावनाहरू, पर्चाहरू, पुस्तिकाहरू, पुस्तकहरू, पत्रिकाहरू र भाषणहरूद्वारा यो र यसपछिका अन्य उद्‌घोषणाहरूलाई अभिषिक्‍त मसीहीहरूको मण्डलीमार्फत्‌ जोडसित घोषित गरियो। तुरहीको प्रथम आवाजको परिणामस्वरुप मसीहीजगत मानो ठूलठूला असिनाले चुटिए। बीसौं शताब्दीका युद्धहरूमा मुछिएर त्यसमाथि आएको रक्‍तदोष उदाङ्‌ग भएको छ। ऊ यहोवाको अग्निमय प्रकोपको योग्य साबित भएको छ। यो प्रथम तुरहीको आवाजलाई यूहन्‍नावर्ग र केही समयपछि ठूलो भीडले पनि मिलेर गुञ्जायमान गर्न छाडेका छैनन्‌। यहोवाको नजरमा मसीहीजगत नाश हुने योग्यको छ भन्‍ने कुरामाथि तिनीहरूले सबैको ध्यान आकर्षित गर्दै आएका छन्‌।—प्रकाश ७:९, १५.

अग्निमय पहाडजस्तै

२१. दोस्रो स्वर्गदूतले तुरही फुक्दा के हुन्छ?

२१ “अनि दोस्रो दूतले फूके, र आगो बलिरहेको एउटा ठूलो पहाडजस्तो समुद्रमा फालियो, र समुद्रको तेस्रो भाग रगत भयो, औ समुद्रमा भएका जीवित जीवात, अर्थात्‌ जीवन भएका प्राणीको तेस्रो भाग मरे, र जहाजहरूका तेस्रो भाग पनि नष्ट भए।” (प्रकाश ८:८, ९) यो डरलाग्दो दृश्‍यले कुन कुराको चित्रण गर्दछ?

२२, २३. (क) निस्सन्देह, दोस्रो तुरही फुकाइको परिणामस्वरुप कुन चाहिं प्रस्तावना पारित गरियो? (ख) “समुद्रको तेस्रो भाग”-को अर्थ के हो?

२२ यसलाई राम्ररी बुझ्नका लागि हामीले लस एन्जल्स, क्यालिफोर्निया, अगस्त १८-२६, १९२३-मा आयोजित यहोवाका जनहरूको सम्मेलनको प्रसङ्‌गलाई ध्यानमा राख्नु पर्छ। शनिवार अपराह्न जे. एफ. रदरफोर्डले दिने निकै नै प्रसारित भाषणको शीर्षक थियो: “भेडा र बाख्राहरू।” “भेडाहरू” चाहिं परमेश्‍वरको राज्यको पार्थिव क्षेत्रका अधिकारी हुने धार्मिक मनोवृत्ति भएका मानिसहरू हुन्‌, सो स्पष्टसित बुझाइयो। यसपछि एउटा प्रस्तावना पारित गरेर “धर्मत्यागी पादरीवर्ग र ‘तिनीहरूका बगालहरूका प्रमुख जनहरू’ अर्थात्‌ राजनैतिक प्रभाव र आर्थिक साधन हुने सांसारिक मानिसहरूको” ढोङ्‌गमाथि सबैको ध्यान केन्द्रित गराइयो। साम्प्रदायिक चर्चहरूमा बसेका तर शान्ति र सुव्यवस्था रुचाउने भीडका भीडका मानिसहरूलाई “प्रभुले ‘बेबिलोन’ भनेर सम्बोधन गर्नु भएको भ्रष्ट धार्मिक रीतिथितिबाट अलग हुन” र “परमेश्‍वरको राज्यका आशिषहरू पाउने” तयारी गर्न आग्रह गरियो।

२३ यो प्रस्ताव निस्सन्देह दोस्रो तुरही फुकाइको परिणाम थियो। यो सन्देश स्वीकार्नेहरूले समयमा आफूलाई यशैयाले वर्णन गरेको व्यक्‍तिहरूबाट अलग पार्नेथिए: “तर दुष्टहरू चाहिं छाल उठेको समुद्रझैं हुन्‌, जो शान्त हुनसक्‍तैन, र त्यसको पानीले हिलो र मैला बाहिर फेंक्छ।” (यशैया ५७:२०; १७:१२, १३) अतः “समुद्र”-भन्‍नाले त्यो चञ्चल, अशान्त र विरोधी मानवजाति बोध हुन्छ। यिनीहरूले नै अशान्ति र क्रान्तिलाई पनि बढावा दिन्छन्‌। (प्रकाश १३:१ तुलना गर्नुहोस्‌।) समय आउनेछ जब त्यो “समुद्र” पटक्कै रहने छैन। (प्रकाश २१:१) तर अहिले चाहिं दोस्रो तुरहीको फुकाइ सङ्‌गसङ्‌गै यहोवाले यसैको तेस्रो भाग अर्थात्‌ मसीहीजगत भित्रैको अनाज्ञाकारी भाग विरुद्ध आफ्नो न्यायिक फैसला घोषणा गर्नु हुन्छ।

२४. समुद्रमा फालिने अग्निमय पहाडजस्तै ढिस्कोले कुन कुरालाई चित्रित गर्छ?

२४ ठूलो अग्निमय पहाडजस्तै ढिस्को “समुद्र”-मा फालिन्छ। बाइबलमा अक्सर पहाडहरूले सरकारहरूलाई चित्रित गर्छन्‌। उदाहरणका लागि, परमेश्‍वरको राज्यलाई एउटा पहाडसित तुलना गरिएको छ। (दानिएल २:३५, ४४) विध्वंसकारी बेबिलोन “डढेको पहाड” हुन गयो। (यर्मिया ५१:२५) तर यूहन्‍नाले देखेको पहाडजस्तै ढिस्को चाहिं अहिले पनि बली नै रहेको छ। त्यसलाई समुद्रमा फालिनुको अर्थ, प्रथम विश्‍व-युद्धको दौडान र त्यसपछि पनि मानिसजातिबीच, खासगरी मसीहीजगतका देशहरूमा सरकार भन्‍ने विषय एउटा अत्यावश्‍यक विवाद हुनु हो। इटालीमा मुसोलिनीले फासिज्म शासन-व्यवस्था सुरु गऱ्‍यो र जर्मनीले हिटलरको नाजीवादलाई अपनायो। अन्य देशहरूमा चाहिं विभिन्‍न प्रकारको समाजवादलाई प्रयोगमा ल्याउन थालियो। रूसमा बोल्शेविक क्रान्तिद्वारा प्रथम साम्यवादी राष्ट्रले जन्म लियो। परिणामस्वरुप त्यहाँ मसीहीजगतका धार्मिक नेताहरूले आफ्नै पुरानो र बलियो गढमा शक्‍ति र प्रतिष्ठा दुवै गुमाए।

२५. दोस्रो विश्‍वयुद्ध पश्‍चात्‌ पनि सरकार कसरी एउटा जल्दोबल्दो विवाद भइ नै रहयो?

२५ तर दोस्रो विश्‍वयुद्धले यी फासिज्म र नाजी प्रयोगहरूलाई झ्यापझुप्पै निभाइ दियो। तापनि सरकार एउटा जल्दोबल्दो विषय रह्‍यो। हो, मानवरूपी समुद्रको मन्थन चलिनै रह्‍यो र त्यसबाट नयाँ क्रान्तिकारी सरकारहरू उत्पन्‍न हुन थाले। सन्‌ १९४५-देखि उप्रान्तका दशकहरूमा यस्ता सरकारहरू चीन, भियतनाम, क्युबा र निकारागुवाजस्ता थुप्रै ठाउँहरूमा स्थापित भए। ग्रीसमा सैनिक तानाशाहको प्रयास असफल भयो। कम्पुचियाले (कम्बोडिया) कट्टरवादी साम्यवादको मार्ग अपनाउनाले बीस लाखभन्दा बढी मानिसहरू मारिए।

२६. “बलिरहेको पहाडजस्तै ढिस्को”-ले मानिसजातिको समुद्रमा अहिलेसम्मै छालहरू कसरी उछालिरहेछ?

२६ त्यो “बलिरहेको पहाड”ले मानवजातिको समुद्रमा छालहरू उछाली नै रह्‍यो। अफ्रिका, अमेरिकी महादेश, एसिया र प्रशान्त महासागरका टापुहरूमा सत्तासम्बन्धी सङ्‌घर्षहरूबारे रिपोर्टहरू सुन्‍नमा आएका छन्‌। यस्ता कतिपय सङ्‌घर्षहरू मसीहीजगतकै देशहरू अथवा मसीहीजगतका मिसनरीहरू क्रान्तिकारी भएका मुलुकहरूमा चलेका छन्‌। रोमन क्याथोलिक पादरीहरूले कम्युनिस्ट गुरिल्ला गिरोहहरूलाई साथ दिए। तिनीहरूको पक्ष लिएर लडेका समेत छन्‌। अर्कोतिर, मध्य अमेरिकामा चाहिं प्रोटेस्टेन्ट इभान्जेलेकिल समूहहरू, [तिनीहरूकै शब्दमा भन्‍ने हो भने] साम्यवादीहरूको “शक्‍तिको क्रूर र अन्तहीन तृष्णा”-लाई रोक्नमा लागे। तर मानिसजातिको समुद्रका यी कुनै पनि उच्छलनहरूले शान्ति र सुरक्षा ल्याउन सकेको छैन।—यशैया २५:१०-१२; १ थिस्सलोनिकी ५:३-सित तुलना गर्नुहोस्‌।

२७. (क) “समुद्रको तेस्रो भाग” कसरी रगत सरह भएको छ? (ख) ‘समुद्रका एक तिहाइ प्राणीहरू’ कसरी मरेका छन्‌ र “एक तिहाइ डुङ्‌गाहरू”-लाई के हुनेछ?

२७ परमेश्‍वरको राज्यको अधीनमा बस्नुको सट्टा सरकारसम्बन्धी क्रान्तिकारी विवादहरूमा विथोलित भएका मानिसहरू रगतका दोषी छन्‌। यो तथ्य तुरहीको आवाजबाट प्रकट हुन्छ। विशेषगरी मसीहीजगतको “समुद्रको तेस्रो भाग” रगत सरह भएको छ। त्यहाँ विद्यमान सबै जीवित प्राणीहरू परमेश्‍वरको नजरमा मरेतुल्य छन्‌। समुद्रको त्यो तेस्रो भागमा डुङ्‌गाहरूझैं तैरीरहेका उग्रवादी सङ्‌गठनहरू दुर्घटनाग्रस्त नभइ छाडदैनन्‌। हामी कति खुशी छौं कि त्यो समुद्रको रक्‍तदोष र सङ्‌कीर्ण राष्ट्रियतामा लडीबुडी गरिरहेका मानिसहरूबाट अलग हुने तुरहीको आवाजजस्तै आह्वानलाई आज लाखौं भेडाखालका मानिसहरूले सुनेका छन्‌!

स्वर्गबाट एउटा तारा खस्छ

२८. तेस्रो र्स्वगदूतले आफ्नो तुरही फुक्दा के हुन्छ?

२८ “अनि तेस्रो दूतले फूके, र स्वर्गबाट बल्दो राँकोझैं एउटा ठूलो तारा खस्यो, र खोलाहरूको तेस्रो भाग र पानीहरूका मुहानहरूमा त्यो खस्यो, औ त्यो ताराको नाउँ ऐरेलु भनियो, र पानीहरूको तेस्रो भाग ऐरेलु भइगयो, र धेरै मानिसहरू पानी तीतो भएको हुनाले मरे।” (प्रकाश ८:१०, ११) यो शास्त्रपद प्रभुको दिनमा कसरी लागू हुन्छ, सो बुझ्न हामीलाई फेरि एक पटक बाइबलका अन्य भागहरूले मदत दिन्छ।

२९. “बल्दो राँको झैं एउटा ठूलो तारा” के को प्रतीक हुनुपर्छ र किन?

२९ येशूले सात मण्डलीलाई पठाउनु भएको सन्देशहरूमा ताराको प्रतीकात्मक प्रयोग गरेको देखिसकेका छौं। ती सन्देशहरूमा सात ताराहरूले मण्डलीका प्राचीनहरूलाई चित्रित गर्छन्‌। b (प्रकाश १:२०) अभिषिक्‍त “ताराहरू” र बाँकी जम्मै अभिषिक्‍त जनहरूलाई आफ्नो स्वर्गीय अधिकार जनाउने बैनाको रूपमा पवित्र आत्माको छाप लाएपछि, तिनीहरू मानो आत्मिक तवरमा स्वर्गीय स्थानहरूमा बस्न थाल्छन्‌। (एफिसी २:६, ७) तथापि, यी तारारूपी जनहरूबीच बाट नै बगाललाई अन्योलमा पार्ने धर्मत्यागी र पाखण्डीहरू उठ्‌ने छन्‌ भनेर प्रेरित पावलले चेताउनी दिएका थिए। (प्रेरित २०:२९, ३०) यसप्रकारको अविश्‍वासिलोपनाले गर्दा ठूलो धर्मत्याग सुरु हुने थियो। यी पतित प्राचीनहरू नै सामूहिक तवरमा त्यो अधर्मको मानिस बन्‍ने थिए जसले आफूलाई मानिसजातिबीच ईश्‍वरसरह तुल्याउने थिए। (२ थिस्सलोनिकी २:३, ४) विश्‍व-रङ्‌गमञ्चमा मसीहीजगतको पादरीवर्ग देखा परेपछि पावलका उपरोक्‍त चेताउनीहरू पूरा भए। यही वर्गलाई नै यूहन्‍नाले दर्शनमा देखेको “बल्दो राँकोझैं ठूलो तारा”ले चित्रित गर्दछ।

३०. (क) बेबिलोनको राजालाई स्वर्गबाट खसेको व्यक्‍ति भन्‍नुको अर्थ के थियो? (ख) स्वर्गबाट भएको पतनलाई के सित तुलना गर्न सकिन्छ?

३० यो तारालाई यूहन्‍नाले स्वर्गबाट खसिरहेको देख्छन्‌। तर यसरी खस्नुको अर्थ के हो? एउटा प्राचीन राजाका अनुभवहरूले हामीलाई यो कुरा बुझ्ने मदत दिन्छ। बेबिलोनको राजालाई सम्बोधन गर्दै यशैयाले यसो भने: “ए चमकिलो तारा, प्रभातको पुत्र, तँ कसरी स्वर्गबाट खसिस्‌। जाति जातिहरूलाई होंच्याउने, तँ कसरी काटिएर भूइँमा ढलिस्‌।” (यशैया १४:१२) यो भविष्यवाणी त्यतिखेर पूरा भयो जब कोरेसका सेनाहरूले बेबिलोनलाई पराजित गरे। बेबिलोनको राजा चाहिं विश्‍व-शासकको उच्च स्थानबाट अचानक अपमानजनक रीतिले तल झर्नु पऱ्‍यो। अतः स्वर्गबाट खस्नुको अर्थ उच्च स्थान गुमाएर बेइज्जतीसाथ तल पतन हुनु हो।

३१. (क) मसीहीजगतको पादरीवर्ग उसको “स्वर्गीय” स्थानबाट कहिले खस्यो? (ख) पादरीवर्गले दिने पानीहरू “ऐरेलु”-मा कसरी परिणत भएका छन्‌ र धेरैलाई यसको परिणामस्वरुप के भएको छ?

३१ साँचो मसीही धर्मलाई छाडेर मसीहीजगतको पादरीवर्ग धर्मत्यागी हुँदा तिनीहरू एफिसी २:६, ७-मा पावलद्वारा वर्णित “स्वर्गीय” स्थानबाट तल खसे। अरूहरूलाई सच्चाइको ताजा पानी दिनुको सट्टा तिनीहरूले “ऐरेलु” अर्थात्‌ नरकको अग्नि, पापमोचक स्थान, त्रिएक र पूर्वनिश्‍चित भाग्य जस्ता तीता झूटहरू सिकाउन थाले; यसबाहेक, मानिसहरूलाई परमेश्‍वरका नैतिक सेवक बनाउनुको सट्टा तिनीहरूले राष्ट्रहरूलाई युद्ध गर्ने प्रोत्साहन दिए। परिणाम? झूट विश्‍वास गर्नेहरूलाई आध्यात्मिक तवरमा विष खाए जस्तै भयो। तिनीहरू यर्मियाकालीन अविश्‍वासी इस्राएलीहरूजस्तै भए, जसबारे यहोवाले यसो भन्‍नुभयो: “म तिनीहरूलाई ऐरेलु खुवाउनेछु, र विष हालेको पानी तिनीहरूलाई पिउनलाई दिनेछु, किनभने यरूशलेमका अगमवक्‍ताहरूदेखि देशभरि भक्‍तिहीनता फैलिएको छ।”—यर्मिया ९:१५; २३:१५.

३२. आत्मिक स्वर्गबाट मसीहीजगतको पतन कहिले स्पष्ट भयो र त्यसलाई कसरी स्पष्टसित जाहेर गराइयो?

३२ आत्मिक स्वर्गबाट खसेको कुरा १९१९मा स्पष्ट भयो। त्यतिखेर परमेश्‍वरका राजकीय जिम्मेवारीहरू मसीहीजगतको पादरीवर्गको हातमा सुम्पनुको सट्टा अभिषिक्‍त मसीहीहरूको सानो समूहलाई दिइयो। (मत्ती २४:४५-४७) अनि १९२२देखि मसीहीहरूको यो सानो समूहले फेरि जोडतोडका साथ मसीहीजगतका पादरीहरूका गल्तीहरूलाई सबैको सामु खुल्लमखुल्ला पर्दाफास गर्न थाले। पछिगएर त्यो पतनले एउटा अझ नाटकीय रूप धारण गऱ्‍यो।

३३. सन्‌ १९२४-मा संयुक्‍त राज्य अमेरिकाको कलम्बस, ओहायोमा आयोजित सम्मेलनद्वारा मसीहीजगतको पादरीवर्गबारे कुनकुन कुराको पर्दाफास गरियो?

३३ यस सम्बन्धमा सर्वोत्कृष्ट कुरा त त्यो घोषणा थियो जो द गोल्डन एज पत्रिकाअनुसार “बाइबल विद्यार्थीहरूको सबैभन्दा ठूलो सम्मेलनमा” गरियो। यो सम्मेलन कलम्बस, ओहायोमा जुलाई २०-२७, १९२४-मा आयोजित गरिएको थियो। निस्सन्देह, तेस्रो तुरही फुक्ने स्वर्गदूतको निर्देशनमै त्यहाँ एउटा जोडदार प्रस्तावना पारित गरियो। पछि सोही प्रस्तावनाका ५ करोड प्रतिहरू बनाएर पर्चाको रूपमा वितरण गरियो। त्यसको शीर्षक थियो एक्लिज्यास्टिक्स इन्डिक्‌टेड। “प्रतिज्ञाको सन्तान वि. सर्पको सन्तान” उपशीर्षक अन्तर्गत विथोलित विवाद प्रस्तुत गरियो। मसीहीजगतको पादरीवर्गले उच्च धार्मिक पदहरू ओगटेको, ठूला-ठूला व्यापारीहरू र पेशेवर राजनीतिज्ञहरूलाई आफ्नो बगालका प्रमुख जनहरू बनाएको, मानिसहरूको सामु प्रतिष्ठा खोजेको र मसीही राज्यको सुसमाचार प्रचार गर्न इन्कार गरेको जम्मै कुराहरूलाई उक्‍त अभियोग पत्रद्वारा उदाङ्‌ग पारियो। प्रत्येक समर्पित मसीहीलाई “परमेश्‍वरको बदला दिने दिनको घोषणा गर्न [र] सबै विलाप गर्नेहरूलाई सान्त्वना दिन” परमेश्‍वरले नै नियुक्‍त गर्नु भएको हुन्छ भन्‍ने कुरामाथि सो पर्चाले जोड दियो।—यशैया ६१:२.

३४, ३५. (क) तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुक्‌न थालेपछि पादरीवर्गको शक्‍ति र प्रभावलाई के हुँदै गएको छ? (ख) मसीहीजगतको पादरीवर्गलाई भविष्यमा के हुनेछ?

३४ तेस्रो स्वर्गदूतले आफ्नो तुरही फुक्न थालेदेखि पादरीवर्गले मानिसजातिमाथि जमाएको प्रभुत्व कम हुँदै गएको छ। यहाँसम्म कि आज तिनीहरूमध्ये अति नै कम व्यक्‍तिहरूलाई पहिले पहिलेका शताब्दीहरूमाझैं ईश्‍वरीय मान दिइन्छ। यहोवाका साक्षीहरूले गरेको प्रचारकार्यद्वारा थुप्रै मानिसहरूले बुझेका छन्‌ कि पादरीवर्गले सिकाएका धेरै नै धर्मसिद्धान्तहरू खासमा आत्मिक “ऐरेलु” अथवा विष हो। उत्तरी युरोपमा पादरीवर्गको शक्‍ति खतम नै भइसकेको छ भने पनि हुन्छ। अन्य कुनै-कुनै मुलुकमा पनि तिनीहरूको प्रभावलाई सरकारले कडाइसाथ दबाएर राखेका छन्‌। आम क्याथोलिकहरू बस्ने पूर्वीय युरोपका इलाकाहरू र अमेरिकामा चाहिं पादरीवर्गको आर्थिक, राजनैतिक र लैङ्‌गिक अनैतिकताले गर्दा तिनीहरू स्वयं बदनाम भएका छन्‌। तिनीहरूको स्थिति अझ खराब हुँदै जानेछ। चाँडै तिनीहरूको गति अरू झुट्टा धर्मावलम्बीहरूको जस्तै हुनेछ।—प्रकाश १८:२१; १९:२.

३५ यहोवाले मसीहीजगतमाथि विपत्तिहरू पठाउने काम अझै समाप्त भएको छैन। चौथो तुरहीको आवाजपछि के हुन्छ, अब विचार गर्नुहोस्‌।

अन्धकार!

३६. चौथो स्वर्गदूतले तुरही फुकेपछि के हुन्छ?

३६ “अनि चौथो दूतले फूके र तेस्रो-तेस्रो भागहरू अँध्यारो भएर दिनको र त्यही किसिमले रातको पनि तेस्रो-तेस्रो भाग उज्यालो नहोस्‌ भनेर सूर्यको तेस्रो भाग र चन्द्रको तेस्रो भाग र ताराहरूको तेस्रो भागमा प्रहार पऱ्‍यो।” (प्रकाश ८:१२) मिश्रको नवौं विपत्ति अक्षरशः अन्धकारको विपत्ति थियो। (प्रस्थान १०:२१-२९) तर मानिसहरूलाई पिरोल्ने लाक्षणिक अन्धकार के हो?

३७. मसीही मण्डली बाहिर हुनेहरूको आध्यात्मिक स्थितिलाई प्रेरित पत्रुस र पावलले कसरी वर्णन गरे?

३७ मसीही हुनुभन्दा अघि तिनीहरू आत्मिक अन्धकारमा थिए भनेर प्रेरित पत्रुसले आफ्ना विश्‍वासी सङ्‌गीहरूलाई भने। (१ पत्रुस २:९) मसीही मण्डली बाहिरकाहरूको आध्यात्मिक स्थितिलाई वर्णन गर्दा पनि पावलले “अन्धकार” शब्द नै प्रयोग गरे। (एफिसी ५:८; ६:१२; कलस्सी १:१३; १ थिस्सलोनिकी ५:४, ५) तर मसीहीजगतमा हुनेहरूबारे के भन्‍न सकिन्छन्‌ जसले परमेश्‍वरमा विश्‍वास गर्ने र येशूलाई पनि आफ्नो मुक्‍तिदाता स्वीकार्ने दाबी गर्छन्‌?

३८. मसीहीजगतको “ज्योति”बारे चौथो स्वर्गदूतले कुन तथ्य प्रकट गर्छ?

३८ येशूको भनाइअनुसार साँचो मसीहीहरू तिनीहरूको फलबाट चिनिनेछन्‌ र उहाँको सेवा गर्ने दाबी गर्ने धेरै जना त “अधम काम गर्नेहरू” साबित हुनेछन्‌। (मत्ती ७:१५-२३) अतः मसीहीजगतले ओगटेको विश्‍वको तेस्रो भागका फलहरू हेर्ने कसैले पनि मसीहीजगत घोर आध्यात्मिक अन्धकारमा छामछामछुमछुम गरिरहेको कुरा इन्कार गर्न सक्‍तैन। (२ कोरिन्थी ४:४) ऊ सबैभन्दा दोषी छे किनकि उसले मसीही हुने दाबी गर्दछे। यसकारण, मसीहीजगतको “ज्योति” वास्तवमा अन्धकार हो र उसका “ज्योतिका” स्रोतहरू गैर मसीही अर्थात्‌ बेबिलोनी हुन्‌ भनेर चौथो स्वर्गदूतले तुरही फुकेर बताउनु जरुर पनि उचित हो।—मर्कूस १३:२२, २३; २ तिमोथी ४:३, ४.

३९. (क) सन्‌ १९२५-को सम्मेलनमा अपनाइएको प्रस्तावले मसीहीजगतको झूटो ज्योतिको वर्णन कसरी गऱ्‍यो? (ख) सन्‌ १९५५-मा अझ कुन कुन कुराको पर्दाफास भयो?

३९ त्यो स्वर्गीय उद्‌घोषणाअनुरूप परमेश्‍वरका जनहरू अगस्त २९, १९२५-मा आयोजित सम्मेलनका लागि संयुक्‍त राज्य अमेरिकाको इन्डियानापोलिस, इन्डियानामा टनाटन भेला भएका थिए। मुद्रण गरेर वितरण गर्नका लागि यिनीहरूले एउटा निर्भीक प्रस्तावना स्वीकार गरे जसको शीर्षक थियो “आशाको सन्देश।” फेरि यसको पनि करीब ५ करोड प्रतिहरू छापेर थुप्रै भाषाहरूमा प्रकाशित गरियो। यसले ठगाहा व्यापारीहरू, राजनैतिक नेताहरू र पादरीवर्ग मिलेर चम्काएको झूटो ज्योतिको वर्णन गऱ्‍यो जसको परिणास्वरुप “मानिसहरू अन्धकारमा डुबेका छन्‌।” साथै “शान्ति, सुख, सुस्वास्थ्य, जीवन, स्वतन्त्रता र अनन्तकालीन आनन्दका आशिषहरू ल्याउने” एक मात्र आशा परमेश्‍वरको राज्य हो भनेर सो प्रस्तावनाद्वारा सङ्‌केत गरियो। अभिषिक्‍त मसीहीहरूको त्यो सानो समूहले मसीहीजगतको विशाल सङ्‌गठनको विरुद्धमा यस्ता सन्देशहरू उद्‌घोषित गर्दा निश्‍चय नै साहसको खाँचो पऱ्‍यो होला। तर तिनीहरूले यो काम १९२०-को दशकको सुरु देखि अहिलेसम्म लगातार गरिरहेका छन्‌। त्योभन्दा पनि अझ हालैमा अथवा १९५५-मा मसीहीजगत कि मसीही धर्म—कुन चाहिंसंसारको ज्योति” हो? भन्‍ने पुस्तिकाको विश्‍वव्यापी वितरणद्वारा पादरीवर्गको अझ पर्दाफास गरियो। आज, मसीहीजगतको कपट यति प्रत्यक्ष भइसकेको छ कि संसारका धेरै मानिसहरूले त्यसलाई स्वंय देख्न सक्छन्‌। तापनि ऊ अन्धकारको एउटा राज्य हो भनेर उसको पर्दाफास गर्न यहोवाका जनहरूले छाडेका छैनन्‌।

उड्‌दै गरेको गरुड

४०. चार वटा तुरहीको आवाजले मसीहीजगत के हो भनेर देखायो?

४० यी चारवटा तुरहीका आवाजहरूले साँच्चै नै मसीहीजगतको मृत्युदायी र उजाड स्थितिको पर्दाफास गर्नमा मदत पुऱ्‍यायो। उसको भागमा पर्ने “पृथ्वी” यहोवाको न्यायदण्डको योग्य छ भनी स्पष्ट भयो। उसका देशहरू र अन्य ठाउँहरूमा हलक्क पलाएका क्रान्तिकारी सरकारहरू आत्मिक जीवनका खास शत्रुहरू हुन्‌ भनेर प्रदर्शित गरियो। उसको पादरीवर्गको पतित स्थिति पनि उदाङ्‌ग पारियो। उसको आध्यात्मिक स्थितिको सर्वत्र अन्धकार सबैले देख्न सक्नेगरी जाहेर भयो। मसीहीजगत साँच्चै नै शैतानको रीतिथितिको सबैभन्दा दोषी भाग हो।

४१. तुरही फुकने क्रम एकछिनका लागि रोकिंदा यूहन्‍नाले के देख्छन्‌ र सुन्छन्‌?

४१ अब अझ के प्रकट हुनु बाँकी छ? हामीले यो प्रश्‍नको जवाफ पाउनुअघि, तुरही फुकने क्रम थोरै समयका लागि रोकिन्छ। यसपछि के देखिन्छ, यूहन्‍नाले वर्णन गर्छन्‌: “अनि मैले हेरें, र एउटा ठूलो गरुड स्वर्गको बीचमा उडेर यसो भन्दै ठूलो सोरले कराएको सुनें, ‘अब फुक्‌न बाँकी रहेका तीनवटा दूतका अरू आवाजको कारणले, पृथ्वीमा हुनेहरूलाई धिक्कार! धिक्कार! धिक्कार!’ ”—प्रकाश ८:१३.

४२. उडिरहेको गरुडले के लाई चित्रित गरेको हुन सक्छ र त्यसले के सन्देश दिन्छ?

४२ टाढा टाढाका मानिसहरूले पनि देख्न सकून्‌ भनेर गरुड माथिमाथि आकाशमा उड्‌छ। त्यसको दृष्टि अत्यन्त तीब्र हुन्छ र त्यसले आफ्नो अगाडि धेरै टाढासम्म देख्न सक्छ। (अय्यूब ३९:२९) परमेश्‍वरको सिंहासनको वरिपरि उभिने चारवटा जीवित जीवात अर्थात्‌ करुब मध्ये एउटालाई चाहिं उड्‌ने गरुडले चित्रित गरेको थियो। (प्रकाश ४:६, ७) अब यही करुबले हो कि परमेश्‍वरको अर्को कुनै दूरदर्शी विश्‍वासी सेवकले हो, यसो भन्दै एउटा प्रभावकारी सन्देश चर्को स्वरमा घोषित गर्न थाल्छ: “हाय, हाय, हाय!” पृथ्वीका बासिन्दाहरूले यो सम्झिराखून्‌ कि तुरहीका बाँकी तीनवटा आवाजहरू यी तीन अभिशापहरूसित सम्बन्धित्‌ छन्‌।

[फुटनोटहरू]

a यसको ठीक विपरीत, ठूलो भीडले चाहिं यहोवाको अप्रसन्‍नताको पोल्ने ताप अनुभव गर्ने छैनन्‌ भनेर प्रकाश ७:१६-मा देखिन्छ।

b येशूको दाहिने हातका सात ताराहरूले मसीही मण्डलीका अभिषिक्‍त निरीक्षकहरूलाई चित्रित गर्छन्‌। तर आज संसारभरिका लगभग १,००,००० मण्डलीहरूमा भएका धेरैजसो प्राचीनहरू ठूलो भीडका हुन्‌। (प्रकाश १:१६; ७:९) अब यिनीहरूबारे के भन्‍ने? यिनीहरू पनि अभिषिक्‍त विश्‍वासी र बुद्धिमान दासद्वारा पवित्र आत्माबाटै नियुक्‍त गरिएका हुन्‌। यसकारण यिनीहरू पनि येशूको दाहिने हातकै नियन्त्रणमा छन्‌ भन्‍नु मिल्छ। साथै, यिनीहरू येशूका उप-गोठालाहरू पनि हुन्‌। (यशैया ६१:५, ६; प्रेरित २०:२८) सुयोग्य अभिषिक्‍त भाइहरू उपलब्ध नहुँदा यिनीहरूले सेवा गर्दै ती “सात ताराहरू”लाई सहयोग पुऱ्‍याउँछन्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ १३९-मा भएको पेटी]

मसीहीजगतका पानी ऐरेलु साबित हुन्छन्‌

मसीहीजगतका विश्‍वासहरू तथा मनोवृत्तिहरू तर बाइबलले वास्तवमा के भन्छ

परमेश्‍वरको व्यक्‍तिगत नाउँको केही महत्त्व छैन: “एक मात्र परमेश्‍वरका परमेश्‍वरको नाउँ पवित्र गरिउन्‌ भनेर येशूले प्रार्थाना गर्नु भयो। पत्रुसले

लागि कुनै खास नाउँ प्रयोग गर्नु मसीही गिर्जाको विश्‍वव्यापी भने: “जसले परप्रभुको नाउँ लिन्छ, त्यसले उद्धार पाउनेछ।”

विश्‍वासका लागि सम्पूर्णतः हानिकारक हुन्छ।” (रिभाइज्ड (प्रेरित २:२१; योएल २:३२; मत्ती ६:९; प्रस्थान ६:३; प्रकाश

स्टेन्डर्ड वर्सन्‌-को भूमिका) ४:११; १५:३; १९:६)

परमेश्‍वर त्रीएक हुनुहुन्छ: “पिता परमेश्‍वर हो, पुत्र परमेश्‍वर हो, र पवित्र बाइबल भन्छ कि यहोवा येशूभन्दा महान हुनुहुन्छ र उहाँ ख्रीष्टको

आत्मा परमेश्‍वर हो। तरैपनि तिनीहरू तीन जना परमेश्‍वर परमेश्‍वर र सिर हुनुहुन्छ। (यूहन्‍ना १४:२८; २०:१७;

होइनन्‌, एउटै हुन्‌।” (द क्याथोलिक एनसायक्लोपेड्या, १९१२ १ कोरिन्थी ११:३) पवित्र आत्मा परमेश्‍वरको सक्रिय शक्‍ति

संस्करण) हो। (मत्ती ३:११; लूका १:४१; प्रेरित २:४)

मानिसको प्राण अमर छ: “मानिस मर्दा उसको प्राण र शरीर मानिस नै प्राणी हो। मृत्यु पश्‍चात्‌ प्राणले सोच्न अथवा कुनै कुरा

अलग्गिन्छ। उसको शरीर . . . कुहुन्छ . . . तर मानव प्राण चाहिं महसुस गर्न सक्‍तैन। त्यो माटैमा फर्कन्छ, जहाँबाट त्यसलाई

मर्दैन।” (व्हट्‌ ह्‍यापेन्स आफ्टर डेथ भन्‍ने रोमन क्याथोलिक लिइएको थियो। (उत्पत्ति २:७; ३:१९; भजन १४६:३, ४;

प्रकाशन।) उपदेशक ३:१९, २०; ९:५, १०; इजकिएल १८:४, २०)

मृत्युपश्‍चात्‌ दुष्टहरूलाई नरकमा सजाय दिइन्छ: “परम्परागत मसीही पापको ज्याला मृत्यु हो, सन्ताप भोग्दै जिउँदो रहनु होइन। (रोमी

विश्‍वासअनुसार नरक भन्‍ने ठाउँ अनन्तकालीन पीडा र दुःख भोग्ने ६:२३) मरेका मानिसहरूको पुनरुत्थान नहोउञ्जेलसम्म

स्थान हो।” (द वर्ल्ड बुक एनसायक्लोपेड्या, १९८७-को तिनीहरू नरकमै (हेडिस, शिओल) अचेत रहन्छन्‌। (भजन

संस्करण।) ८९:४८; यूहन्‍ना ५:२८, २९; ११:२४, २५; प्रकाश २०:

१३, १४)

“प्रभु येशूकी आमा मरियमलाई मध्यस्थीनीको पद दिइन्छ।” (न्यु परमेश्‍वर र मानिसबीच एक मात्र मध्यस्थ येशू हुनुहुन्छ। (यूहन्‍ना

क्याथोलिक एनसायक्लोपेड्या, १९६७-को संस्करण।) १४:६; १ तिमोथी २:५; हिब्रू ९:१५; १२:२४)

बच्चाहरूलाई बप्तिस्मा दिनु पर्छ: “सुरुदेखि नै गिर्जाले बच्चाहरूलाई बप्तिस्मा तिनीहरूका लागि मात्र हो जसलाई येशूका आज्ञाहरू मान्‍न

बप्तिस्मा दिने पवित्र धार्मिक चलन मान्दै आएको छ। यो चलन सिकाइएको छ र येशूको अनुयायी बनाइएको छ। बप्तिस्मा

न्यायोचित मात्र होइन तर मुक्‍तिका लागि अत्यावश्‍यक छ भनी लिने योग्यको हुनका लागि एउटा व्यक्‍तिले पहिले परमेश्‍वरको

सिकाइएको थियो।” (न्यु क्याथोलिक एनसायक्लोपेड्या, वचन बुझेर विश्‍वास प्रदर्शित गर्नु पर्छ।” (मत्ती २८:१९, २०;

१९६७-को संस्करण) लूका ३:२१-२३; प्रेरित ८:३५, ३६)

धेरै जसो गिर्जाहरू दुई भागमा विभाजित छन्‌, पादरीवर्ग र जनसाधारण। प्रथम शताब्दीका जम्मै मसीहीहरू सेवकहरू थिए। तिनीहरू सबैले

र पादरीवर्गले जनसाधारणको सेवा गर्ने गर्छ। पादरीवर्गले गरेको सुसमाचार प्रचार गर्ने काममा भाग लिन्थे। (प्रेरित २:

सेवाको वापत तिनीहरूलाई अक्सर तलव दिइन्छ। तिनीहरूलाई १७, १८; रोमी १०:१०-१३; १६:१) मसीहीले तलब थापेर

जनसाधारणभन्दा उच्च स्थानमा राखिन्छ। तिनीहरूलाई सम्बोधन होइन, “सित्तैमा” दिनु पर्छ। (मत्ती १०:७, ८) येशूले धार्मिक

गर्दा “रेभरेन्ड,” “पिता” अथवा “महामहिम” भन्‍ने पदहरू प्रयोग पदहरूको प्रयोगको कडा विरोध गर्नु भयो। (मत्ती ६:२; २३:

गरिन्छ।” २-१२; १ पत्रुस ५:१-३)

मूर्तिहरू, धार्मिक प्रतिमाहरू र क्रूसहरू उपासनाका लागि प्रयोग गरिन्छ: मसीहीहरू हरप्रकारको मूर्तिपूजा र तथाकथित सापेक्षिक

“ख्रीष्ट, ईश्‍वरकी कन्या माता र अरु अन्य सन्तहरूका . . . उपासनाबाट टाढा बस्नु पर्छ। (प्रस्थान २०:४, ५;

प्रतिमाहरूलाई . . . गिर्जाहरूमा राख्नु र तिनीहरूलाई आवश्‍यक १ कोरिन्थी १०:१४; १ यूहन्‍ना ५:२१) तिनीहरूले

श्रद्धा र सम्मान दिने गर्नु पर्छ।” (डेक्लरेशन अफ द काउन्सिल परमेश्‍वरलाई दृष्टिले होइन, आत्मा र सच्चाइसाथ उपासन

अफ ट्रेन्ट [१५४५-६३]) गर्छन्‌। (यूहन्‍ना ४:२३, २४; २ कोरिन्थी ५:७)

गिर्जाका सदस्यहरूलाई सिकाइन्छ कि परमेश्‍वरका उद्देश्‍यहरू येशूले मानिसजातिको एक मात्र आशा, कुनै राजनैतिक व्यवस्था

राजनीतिद्वारा पूरा हुनेछन्‌। मृत कार्डिनल स्पेलम्यानले यसो होइन, परमेश्‍वरको राज्य हो भनेर प्रचार गर्नु भयो। (मत्ती

भने: “शान्ति तर्फ लैजाने एक मात्र मार्ग . . . प्रजातन्त्रको ४:२३; ६:९, १०) उहाँले राजनीतिमा भाग लिन अस्वीकार

राजमार्ग हो।” धर्मले विश्‍व-राजनीतिमा (विद्रोहहरूमा समेत) गर्नु भयो। (यूहन्‍ना ६:१४, १५) उहाँको राज्य यस संसारको

भाग लिएको कुरा समाचारहरूमा सुनिन्छ। साथै, संयुक्‍त कुनै भाग थिएन; अतः, उहाँका अनुयायीहरूलाई पनि यस

राष्ट्र संघ नै “शान्ति र मेलमिलाप”-को एक संसारको भाग हुनु थिएन। (यूहन्‍ना १८:३६; १७:१६)

मात्र आशा हो भनी धर्महरूले उक्‍त संघलाई याकूबले संसारसित मित्रता नबढाउनु भनेर चेताउनी दिए।

समर्थन गर्छन्‌। (याकूब ४:४)

[पृष्ठ १३२-मा भएको चित्र]

सातवटा छापहरू खोल्ने समयदेखि सातवटा तुरही फुक्ने क्रम सुरु हुन्छ

[पृष्ठ १४०-मा भएको चित्र]

“विश्‍वका नेताहरूलाई चुनौती” (१९२२)

यस “पृथ्वी”-मा यहोवाले पठाउनु हुने विपत्ति जनसाधारणलाई जाहेर गराउनमा यस प्रस्तावना मदतकारी साबित भयो।

[पृष्ठ १४०-मा भएको चित्र]

“सबै मसीहीहरूलाई चुनौती” (१९२३)

यस प्रस्तावनाद्वारा “समुद्रको तेस्रो” भागको विरुद्धमा यहोवाको न्यायिक फैसला घोषित गरियो।

[पृष्ठ १४१-मा भएको चित्र]

“एक्लिज्यास्टिक्स इन्डिक्टेड” (१९२४)

मसीहीजगतको पादरीवर्गको “तारा” खसेको सूचना मानिसहरूलाई यो पर्चाको विस्तृत विवरणद्वारा दिन सम्भव भयो।

[पृष्ठ १४१-मा भएको चित्र]

“आशाको सन्देश” (१९२५)

मसीहीजगतका ज्योतिका स्रोतहरू यथार्थमा अन्धकारका स्रोतहरू हुन्‌ भनेर पर्दाफास गर्न यो स्पष्टवादी प्रस्तावना प्रयोग गरियो।