सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

त्यो पहिलेको प्रेमलाई पुनः जागृत गराउ!

त्यो पहिलेको प्रेमलाई पुनः जागृत गराउ!

अध्याय ७

त्यो पहिलेको प्रेमलाई पुनः जागृत गराउ!

एफिसस

१. येशूको प्रथम सन्देशमा कुन मण्डलीलाई सम्बोधन गरिएको छ र उहाँले प्राचीनहरूको ध्यानाकर्षण कुन कुरातिर गर्नुहुन्छ?

 येशूको प्रथम सन्देश एफिससको मण्डलीका लागि हो। त्यतिखेर एफिसस पत्मोस टापुनिर एसिया माइनरको एउटा सम्पन्‍न बन्दरगाह थियो। येशूले यूहन्‍नालाई यो आदेश दिनु हुन्छ: “एफिससमा भएको मण्डलीका दूतलाई लेख। यी कुरा सातवटा तारा आफ्नो दाहिने हातमा लिने, र सातवटा सामदानका बीचमा हिंड़नेले भन्दछ।” ( प्रकाश २:१) अरू छ वटा सन्देशहरूमाझैं येशूले यहाँ आफ्नो अख्तियारतर्फ ध्यान आकर्षित गराउनु हुन्छ। सबै प्राचीनहरू उहाँकै संरक्षणमा छन्‌ र सबै मण्डलीहरूको जाँच पनि उहाँ नै गर्नुहुन्छ भनेर येशूले एफिससको मण्डलीका प्राचीनहरूलाई फेरि सम्झाउनु हुन्छ। उहाँले यो प्रेमपूर्ण अगुवाइ हाम्रो समयसम्मै गर्दै आउनु भएको छ। उहाँले सबै प्राचीनहरूको हेरविचार गर्नुहुन्छ र मण्डलीसित सम्बन्धित सबैलाई गोठालाले जस्तै डोऱ्‍याउनु हुन्छ। ज्योति अझ राम्ररी चम्कन सकोस्‌ भनेर उहाँले समय समयमा मण्डलीय प्रबन्धहरूमा पनि छाँटकाँट गर्नुहुन्छ। हो, परमेश्‍वरको बगालको प्रमुख गोठाला येशू नै हुनुहुन्छ।—मत्ती ११:२८-३०; १ पत्रुस ५:२-४.

२. (क) येशूले कुन कुन असल कुराका लागि एफिससको मण्डलीको सराहना गर्नु भयो? (ख) प्रेरित पावलले दिएको कुन चाहिं सल्लाहलाई एफिसीका प्राचीनहरूले प्रयोगमा ल्याएको जस्तो देखिन्छ?

येशूले दुइटा बाहेक पाँचैवटा सन्देशहरूलाई आत्मीयतापूर्ण सराहनासाथ सुरु गर्ने शैली यहाँबाट आरम्भ गर्नुहुन्छ। एफिसीहरूका लागि उहाँको सन्देश यसप्रकार छ: “तिम्रो काम, तिम्रो परिश्रम, र धीरज, र तिमीले खराब मानिसहरूलाई सहनसक्‍तैनौ भन्‍ने र प्रेरित हुँ भनेर हिंड़ने तर ती होइनन्‌, त्यस्तालाई परीक्षा गरेर झूटा साबित गऱ्‍यौ भन्‍ने, मलाई थाह छ। औ तिमीमा धैर्य छ, र मेरो नाउँको खातिर सहनसक्यौ, र थकित भएनौ भन्‍ने मलाई थाह छ।” ( प्रकाश २:२, ३) “मण्डलीलाई स्वाहा पार्ने डरलाग्दा ब्वाँसाहरू”बारे धेरै वर्षअघि प्रेरित पावलले एफिससका प्राचीनहरूलाई सतर्क गराएका थिए। पावलले ती प्राचीनहरूलाई “होशियार हुन” र उनको अथक उदाहरण अनुसरण गर्न भनेका थिए। (प्रेरित २०:२९, ३१) यो सल्लाह तिनीहरूले निश्‍चय नै प्रयोगमा ल्याएको हुनुपर्छ किनभने अब येशूले तिनीहरूको परिश्रम, धैर्य र अथक लगनशीलताको सराहना गर्नु हुँदैछ।

३. (क) हाम्रो समयमा “झूटा अगमवक्‍ताहरू” ले विश्‍वासी जनहरूलाई कसरी भ्रममा पार्न खोजेका छन्‌? (ख) पत्रुसले धर्मत्यागीहरूबारे के चेताउनी दिए?

प्रभुको दिनमा पनि “झूटा प्रेरितहरू” देखा परेका छन्‌। तिनीहरूले “चेलाहरूलाई आफ्ना पछिपछि लैजानालाई” “बराल्ने कुरा” बोलेका छन्‌। (२ कोरिन्थी ११:१३; प्रेरित २०:३०; प्रकाश १:१०) आपस्तमा नमिल्ने पाखण्डी धर्म सम्प्रदायहरूमा पनि तिनीहरू सबै राम्रै कुरा देख्छन्‌। परमेश्‍वरको कुनै सङ्‌गठन छैन भनी तिनीहरू जिद्दी गर्छन्‌। येशूले १९१४मा राज्याधिकार पाउनु भएको तथ्यलाई तिनीहरू इन्कार गर्छन्‌। दोस्रो पत्रुस ३:३, ४मा उल्लिखित यस भविष्यवाणीलाई तिनीहरूले पूरा गर्छन्‌: “पछि-पछिका दिनहरूमा गिल्ला गर्दै, तिनीहरूका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्‌, ‘उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनभने पिता-पुर्खाहरू मरेका दिनदेखि नै सृष्टिको सुरुदेखि जस्तैगरी सबै कुरा चलिआएका छन्‌।’ ”

४. (क) गिल्ला गर्नेहरूले अहङ्‌कार र विद्रोहको भाव कसरी प्रकट गर्छन्‌? (ख) झूटा विरोधीहरूको विरुद्धमा के कदम चाल्दै आजका मसीहीहरूले आफूलाई पुरातन एफिसीहरू जस्तै साबित गर्छन्‌?

यसरी ठट्टा गर्नेहरूले आफ्नो विश्‍वासको आम घोषणा गर्न पटक्कै रुचाउँदैनन्‌। (रोमी १०:१०) आफ्ना पुराना सङ्‌गीहरूबारे झूटा अफवाहहरू फैलाउन तिनीहरूले मसीहीजगतको पादरीवर्ग तथा विभिन्‍न पत्रिका र टीभी स्टेशनहरूको समेत मदत लिएका छन्‌। तर यसप्रकारका ठगाहहरूको बोली र आचरणमा रत्तिभर सच्चाइ छैन भन्‍ने कुरा विश्‍वासी जनहरूले चाँडै नै बुझिहाल्छन्‌। एफिसीहरूले जस्तै आज मसीहीहरूले पनि “खराब मानिसहरूलाई सहन” सक्‍तैनन्‌। यस्ताहरूलाई तिनीहरूले आफ्नो मण्डलीबाट बहिष्कार गरिदिन्छन्‌। a

५. (क) येशूको भनाइअनुसार एफिसीहरूको कमजोरी के थियो? (ख) एफिसीहरूले कुन कुन कुरालाई सम्झेर राख्नु पर्ने थियो?

तथापि, अब पाँचवटा मण्डलीहरूमा गर्नु भए झैं, यहाँ पनि येशूले एउटा गम्भीर समस्या औंलाउनु हुन्छ। उहाँले एफिसीहरूलाई यसो भन्‍नुहुन्छ: “तर तिम्रो विरुद्धमा मसँग यो कुरो छ, कि तिमीले तिम्रो पहिला प्रेम छोड़िदिएका छौ।” ( प्रकाश २:४) तिनीहरू यस मामिलामा चुक्नु हुँदैन थियो। किनकि करीब ३५ वर्षअघि पावलले तिनीहरूलाई ‘परमेश्‍वरको महा प्रेम’ बारे लेखेका थिए। साथै “प्रिय बालकहरूझैं परमेश्‍वरका देखासिकी गर्नेहरू होओ औ जसरी ख्रीष्टले पनि तिमीहरूसित प्रेम गर्नुभयो, त्यसरी नै तिमीहरू पनि प्रेममा चल” भन्दै पावलले तिनीहरूलाई आग्रह गरेका थिए। (एफिसी २:४; ५:१, २) यसको अलावा, तिनीहरूको हृदयमा येशूका यी शब्दहरू पनि नमेटिनेगरी लेखिएको हुनु पर्ने थियो: “परमप्रभु हाम्रा परमेश्‍वर, एउटै परमप्रभु हुनुहुन्छ, औ तैंले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्‍तिले प्रेम गर।” (मर्कूस १२:२९-३१) तर यसप्रकारको पहिलो प्रेमलाई एफिसीहरूले बिर्सिसकेका थिए।

६. (क) मण्डलीमा हामी पुराना हौं वा नयाँ, कुन खतरा र प्रवृत्तिहरूबाट जोगिनु पर्छ? (ख) परमेश्‍वरका लागि हाम्रो प्रेमले हामीलाई के गर्न उक्साउनु पर्छ?

मण्डलीमा हामी पुराना हौं वा नयाँ, यहोवाका लागि आफ्नो पहिलो प्रेमलाई कहिल्यै सेलाउन दिनु हुँदैन। तर त्यो कसरी सेलाउँछ? आफ्नो व्यवसायमा अत्यन्तै ग्रस्त भयौं अथवा थुप्रै पैसा कमाउने इच्छा तथा सुखविलासको उपभोगलाई नै जीवनमा प्राथमिकता दिन थाल्यौं भने हाम्रो मनोवृत्ति आध्यात्मिक हुनुको सट्टा शारीरिक हुँदै जान सक्छ। (रोमी ८:५-८; १ तिमोथी ४:८; ६:९, १०) यहोवालाई प्रेम गर्छौं भने हामीले त्यस्तो प्रवृत्तिलाई सुधारी हाल्नु पर्छ। ‘स्वर्गमा धन थुपार्नका लागि’ हामीले ‘परमेश्‍वरको राज्य र उहाँको धार्मिकतालाई’ खोजिरहनु पर्छ।—मत्ती ६:१९-२१, ३१-३३.

७. (क) यहोवाको सेवा गर्न हामीलाई कुन कुराले उत्प्रेरित पार्नु पर्छ? (ख) प्रेमबारे यूहन्‍नाले के भने?

हृदयमा यहोवाका लागि गहिरो प्रेम राखेर हामी उहाँको सेवा गर्न अघि बढौं। यहोवा र ख्रीष्टले हाम्रा लागि गरिदिनु भएका सबै कुराहरूको हार्दिक मूल्याङ्‌कन गरौं। यसै सन्दर्भमा यूहन्‍ना स्वयंले पनि यसप्रकार लेखे: “प्रेम यसैमा छ, हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनालाई उहाँका पुत्रलाई पठाउनु भयो।” यूहन्‍नाले अझ हामीलाई यसो पनि भन्छन्‌: “परमेश्‍वर प्रेम हो, र जो प्रेममा रहन्छ त्यो परमेश्‍वरमा रहन्छ, र परमेश्‍वर त्यसमा रहनु हुन्छ।” हामीले यहोवा, प्रभु येशू ख्रीष्ट र परमेश्‍वरको जीवित वचनप्रति आफ्नो प्रेमलाई कहिल्यै धमिलो हुन नदिऊँ! यो प्रेम हामीले परमेश्‍वरको जोशिलो सेवा गरेर व्यक्‍त गर्न सक्छौं। साथै “परमेश्‍वरलाई जसले प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गरोस्‌” भन्‍ने आज्ञा हामीले मान्‍नु पर्छ।—१ यूहन्‍ना ४:१०, १६, २१; हिब्रू ४:१२; १ पत्रुस ४:८; कलस्सी ३:१०-१४; एफिसी ४:१५ पनि हेर्नुहोस्‌।

“पहिलेका कामहरू गर”

८. येशूको भनाइअनुसार एफिसीहरूले के गर्नु परेको थियो?

आफ्नो विशेषाधिकार नगुमाउन ती एफिसीहरूले आफ्नो पहिलो प्रेमलाई पुनःजागृत गराउनु परेको थियो। “यसकारण” येशू तिनीहरूलाई यसो भन्‍नु हुन्छ: “कहाँबाट तिमी पतित भएका हौ, सो सम्झ, र पश्‍चाताप गर, अनि पहिलेका . . .कामहरू, NW] गर, नत्रता म तिमीकहाँ आएर, तिमीले पश्‍चाताप गरेनौ भने, तिम्रो सामदान त्यसको ठाउँबाट हटाउनेछु।” ( प्रकाश २:५) एफिसी मण्डलीकाहरूले उक्‍त कुराप्रति कस्तो प्रतिक्रिय व्यक्‍त गरे? हामीलाई थाहा छैन। तापनि हामी आशा गर्छौं, तिनीहरू पश्‍चातापी भएर यहोवाका लागि आफ्नो प्रेम पुनःजागृत गर्न सफल भए होलान्‌। तर यसो नगरेमा चाहिं तिनीहरूको बत्ती निभाइएर तिनीहरूको सामदान हटाइने थियो। सच्चाइको ज्योति चम्काउने विशेषाधिकार तिनीहरूले गुमाउने थिए।

९. (क) येशूले एफिसीहरूलाई कुन प्रोत्साहनजनक कुरा भन्‍नु भयो? (ख) येशूले एफिसीहरूलाई दिनु भएको सल्लाह यूहन्‍नापछिका मण्डलीहरूले कसरी पालन गर्न छाडे?

तथापि, एफिसीहरूलाई येशूले यो उत्साहवर्धक कुरा भन्‍नु हुन्छ: “तर तिमीमा यो कुरो ता छ, कि तिमीले निकोलाइटनहरूका कामलाई घृणा गर्छौ, जो म पनि गर्दछु।” ( प्रकाश २:६) प्रभु येशू ख्रीष्टले जस्तै तिनीहरूले पनि कम से कम धार्मिक पाखण्ड तथा सम्प्रदायहरूको घृणा चाहिं गर्दथे। तर जसै समय बित्दै गयो, थुप्रै मण्डलीहरूले येशूको यस कुरालाई ध्यान दिन छाडे। यहोवा, सच्चाइ र एकअर्काप्रति प्रेमको अभावले गर्दा तिनीहरू आध्यात्मिक अन्धकारमा भौंतारिन थाले। तिनीहरू झगडाग्रस्त थुप्रै सम्प्रदायहरूमा टुक्रिए। यहोवालाई प्रेम नगर्ने “मसीही” भनौंदा लेखनदासहरूले परमेश्‍वरको नाउँ समेत बाइबलका युनानी शास्त्रबाट हटाइ दिए। प्रेमको यही अभावले गर्दा नरकको अग्नि, पर्गेटरी र त्रिएक जस्ता बेबिलोनी र युनानी धर्मशिक्षाहरूलाई मसीही धर्मको नाउँमा सिकाइन थालियो। परमेश्‍वर र सच्चाइका लागि रत्ती प्रेम नभएको हुनाकारण यी मसीही भनौंदाहरूले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न छाडे। यहाँ पृथ्वीमा आफ्नै राज्य स्थापित गर्ने स्वार्थी पादरीवर्गले मसीही भनौंदाहरूमाथि प्रभुत्व जमाउन थाले।—१ कोरिन्थी ४:८-सित तुलना गर्नुहोस्‌।

१०. मसीहीजगतको धार्मिक स्थिति १९१८ मा कस्तो थियो?

१० सन्‌ १९१८ मा परमेश्‍वरको घरानाको न्याय हुन सुरु हुँदा, मसीहीजगतको साम्प्रदायिक पादरीवर्गले प्रथम विश्‍वयुद्धलाई खुलेआम समर्थन दिइरहेका थिए। ती पादरीवर्गले दुवै पक्षका क्याथोलिक र प्रोटेस्टेन्टहरूलाई एकअर्काको हत्या गर्न उक्साइरहेका थिए। (१ पत्रुस ४:१७) एफिसी मण्डलीकाहरूले निकोलाइटनको सम्प्रदाय र कामलाई घृणा गरेका थिए। तर मसीहीजगत चाहिं धेरै वर्षदेखि विरोधाभासपूर्ण ईश्‍वरनिन्दक शिक्षाहरूले लादिएको थियो। त्यसका पादरीवर्गले पनि संसारकै पक्ष लिए जबकि येशूले चाहिं उहाँका चेलाहरूलाई यस संसारको सहभागी नहुनू भन्‍नु भएको थियो। (यूहन्‍ना १५:१७-१९) बाइबलको मुख्य विषय अर्थात्‌ परमेश्‍वरको राज्यबारे मसीहीजगतका मण्डलीहरू अन्जान थिए। शास्त्रको सच्चाइलाई चम्काउने बत्ती तिनीहरू हुन सकेनन्‌ र नता यहोवाको आत्मिक मन्दिरको कुनै भाग बन्‍न सके। तिनीहरूका प्रमुख सदस्यहरू तारा जस्तो हुनुको सट्टा “अधर्मको मानिस”-का सदस्यहरू साबित भए।—२ थिस्सलोनिकी २:३; मलाकी ३:१-३.

११. (क) सन्‌ १९१८ मा विश्‍वको कुन चाहिं मसीही समूहले एफिसीहरूलाई येशूले दिनु भएको सल्लाह प्रयोगमा ल्याए? (ख) यूहन्‍ना वर्गकाहरूले १९१९ देखि उप्रान्त के गरे?

११ परन्तु यूहन्‍नावर्गका जनहरूले चाहिं प्रथम विश्‍वयुद्धका उथलपुथलग्रस्त दिनहरूलाई सफलतापूर्वक पार गर्न सके। यहोवा र सच्चाइका लागि उनीहरूको प्रेम झन्‌ बलियो भयो। यहोवालाई अझ जोडतोडका साथ सेवा गर्न उनीहरू उत्प्रेरित भए। सन्‌ १९१६-मा वाचटावर सोसाइटीका प्रथम सभापति, चार्ल्स टेज रसलको मृत्यु भएपछि उनलाई आफ्नो नेता मान्दै एउटा बेग्लै सम्प्रदाय खडा गर्न खोज्ने मानिसहरूको उनीहरूले घोर विरोध गरे। सतावट र कठिनाइहरूद्वारा अनुशासित यस मसीही समूहले निस्सन्देह आफ्नो मालिकको “स्याबासी” सुन्‍न पाए। उनीहरूलाई मालिकले उहाँको आनन्दमा समाविष्ट हुन निम्त्याउनु भयो। (मत्ती २५:२१, २३) येशूले राज्य शक्‍तिसहितको आफ्नो अदृश्‍य उपस्थितिलाई सङ्‌केत गर्न दिनु भएको चिन्हको पूर्ति उनीहरूले विश्‍वघटनाहरू र आफ्नै अनुभवद्वारा महसुस गर्न सके। सन्‌ १९१९देखि उप्रान्त उनीहरू येशूको यो अझ ठूलो भविष्यवाणीमा भाग लिन अग्रसर भए: “औ राज्यको यो सुसमाचार सारा संसारमा सब जातिहरूलाई साक्षीको निम्ति प्रचार गरिनेछ, त्यसपछि अन्त हुनेछ।” (मत्ती ६:९, १०; २४:३-१४) यहोवाका लागि तिनीहरूको प्रेम कथङ्‌कदाचित्‌ कम भएको थियो भने पनि यसपछि चाहिं त्यो प्रेम बल्दो ज्वाला सरह तेज भयो।

१२. (क) सन्‌ १९२२ को एउटा ऐतिहासिक सम्मेलनमा के आह्वान गरियो? (ख) साँचो मसीहीहरूले १९३१ मा के नाउँ अपनाए र कुन कुराबारे तिनीहरूले पश्‍चाताप पनि गरे?

१२ यस्ता करीब १८,००० मसीहीहरू संयुक्‍त राष्ट्र अमेरिकाको सिडर प्वाँइन्ट, ओहायोमा आयोजित सेप्टेम्बर ५-१३, १९२२को ऐतिहासिक सम्मेलनमा भेला भए। त्यस सम्मेलनमा यो आह्वान गरियो: “हे परमप्रधानका सपुतहरू हो, आफ्नो काममा लाग . . . संसारलाई भनी देऊ, यहोवा नै परमेश्‍वर हुनुहुन्छ र येशू ख्रीष्ट राजाहरूको राजा र प्रभुहरूको प्रभु हुनुहुन्छ। राजा र राज्यको विज्ञापन गर, विज्ञापन गर, विज्ञापन गर।” यहोवाको अनमोल नाउँलाई अझ बढी महत्त्व दिइयो। यी मसीहीहरू १९३१मा आयोजित सम्मेलनका लागि फेरि कलम्बस, ओहायो, यु. एस. ए. मा भेला भए। यहाँ उनीहरूले रमाइ रमाइ यशैयाको अगमवाणीमा परमेश्‍वरबाट सङ्‌केतित “यहोवाका साक्षीहरू” भन्‍ने नाउँ अपनाए। (यशैया ४३:१०, १२) संगठनको विशेष पत्रिकाको नाउँ पनि मार्च १, १९३९को अङ्‌कदेखि बदलिएर द वाचटावर अनाउन्सिङ्‌ग जेहोवाज किङ्‌गडम (यहोवाको राज्यको घोषणा गर्ने वाचटावर) राखियो। यसप्रकार हाम्रो सृष्टिकर्ता र उहाँको शाही सरकारलाई विशेष सम्मान दिइयो। यहोवाका साक्षीहरूले यहोवाका लागि आफ्नो प्रेमलाई पुनःजागृत पारेका छन्‌। बितेको समयमा तिनीहरूले यहोवाको सुप्रसिद्ध नाउँ र राज्यलाई श्रद्धा र मान गर्नमा यदाकदा चुके तापनि त्यसका लागि तिनीहरूले पश्‍चाताप गरेका छन्‌।—भजनसंग्रह १०६:६, ४७, ४८.

“जसले जित्छ”

१३. (क) एफिसीहरूले ‘जितेमा’ के इनाम पाउने थिए? (ख) एफिससका मसीहीहरूले कसरी ‘जित्ने’ थिए?

१३ अन्ततः हाम्रो विश्‍वासिलोपनाको इनाम परमेश्‍वरको आत्माले नै येशूद्वारा बताउने गर्छ र सोही कुरामाथि येशूले आखिरमा उहाँका अन्य सन्देशहरूमाझैं, हाम्रो ध्यानाकर्षण गर्नुहुन्छ। एफिसीहरूलाई उहाँ भन्‍नुहुन्छ: “जसको कान छ, त्यसले सुनोस्‌, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ। जसले जित्छ, त्यसलाई परमेश्‍वरको . . .प्रमोदवनमा] भएको जीवनको रूखको फल म खान दिनेछु।” ( प्रकाश २:७, NW) जसजसको सुन्‍ने कान थियो, तिनीहरू यस अत्यावश्‍यक सन्देशबमोजिम हिंड्‌न उत्सुक हुने थिए। यो सन्देश येशूको व्यक्‍तिगत विचार नभएर स्वयं सर्वसत्ताधारी प्रभु यहोवाबाट उहाँको पवित्र आत्मा अथवा सक्रिय शक्‍तिद्वारा प्रस्तुत सन्देश हो भनी तिनीहरूले बुझेका हुने थिए। तर तिनीहरूले ‘जित्ने’ कसरी? येशूको पाइलामा टेकेर। मृत्युसम्मै आफ्नो निष्ठा कायम राख्नु भएको हुँदा येशूले यसो भन्‍न सक्नु भयो: “ढाडस गर, मैले संसारलाई जितेको छु।”यूहन्‍ना ८:२८; १६:३३; १ यूहन्‍ना ५:४ पनि हेर्नुहोस्‌।

१४. येशूले चर्चा गर्नु भएको “परमेश्‍वरको . . . [प्रमोदवन, NW]” के हुनुपर्छ?

१४ तर ती एफिसीहरू जस्ता अभिषिक्‍त मसीहीहरूको त पार्थिव प्रमोदवनमा बाँच्ने आशा छैन। अतः तिनीहरूले “परमेश्‍वरको . . . [प्रमोदवनमा, NW] भएको जीवनको रूखको फल” कसरी खान सक्छन्‌ र? प्रथमतः, यो प्रमोदवन पृथ्वीमा पुनःस्थापित प्रमोदवन हुनै सक्‍तैन। किनकि एफिसीको मण्डली लगायत १,४४,००० अभिषिक्‍त मसीहीहरू थुमा, ख्रीष्ट येशूसित स्वर्गीय सियोन पर्वतमा आत्मिक पुत्रहरू भएर शासन गर्नका लागि पृथ्वीबाट किनिएका हुन्‌। (एफिसी १:५-१२; प्रकाश १४:१, ४) यसकारण ती विजेताहरूले उत्तराधिकारको रूपमा पाउने स्वर्गीय उद्यानरूपी लोकलाई नै यहाँ सङ्‌केत गरिएको हुनपर्छ। त्यहाँ “परमेश्‍वरको . . . प्रमोदवनमा” अर्थात्‌ स्वयं यहोवाको उपस्थितिमा अमरत्व प्रदत्त यी विजेताहरू सधैंभरि बाँच्नेछन्‌। तिनीहरूले जीवनको रूखको फल खानु उपरोक्‍त कुराकै एउटा प्रतीक हो।

१५. विजेता हुन येशूले दिनु भएको प्रोत्साहन आज ठूलो भीडका लागि एउटा खास चासोको विषय किन हो?

१५ तर १,४४,००० अभिषिक्‍त जनहरूका वफादार पार्थिव समर्थकहरूबारे के भन्‍न सकिन्छ? यी सङ्‌गी साक्षीहरूको एउटा ठूलो भीड पनि विजयी भइरहेका छन्‌। तर तिनीहरूले चाहिं पार्थिव प्रमोदवनमा प्रवेश गर्ने आशा राखेका छन्‌। त्यहाँ तिनीहरू “जीवनको नदी” बाट पिउनेछन्‌ र नदीको वारि र पारि रोपेका “जीवनका रूखहरू”ले तिनीहरूलाई निको पार्नेछ। (प्रकाश ७:४, ९, १७; २२:१, २) तपाईं पनि यसै समूहको एक जना हुनुहुन्छ भने यहोवाका लागि आफ्नो न्यानो प्रेम प्रकट गर्न सक्नुहुन्छ। विश्‍वासको यो जाँचमा विजयी हुन सक्नुहुन्छ। तपाईंले पनि पार्थिव प्रमोदवनको आनन्द उठाउन सक्नुहुनेछ।—१ यूहन्‍ना २:१३, १४.

[फुटनोट]

a झूटा प्रेरितहरू देखा पर्ने विषयमा ऐतिहासिक विवरण यहोवाका साक्षीहरूद्वारा प्रकाशित रीजनिङ्‌ग फ्रम द स्क्रिप्चर्स, पृष्ठ ३७-४४ हेर्नुहोस्‌।

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ३६-मा भएको पेटी]

यहोवा र उहाँका पुत्रको प्रेमपूर्ण जयजयकार

यहोवाका साक्षीहरूद्वारा १९०५ मा प्रकाशित गीति पुस्तकमा यहोवा परमेश्‍वरको स्तुतिगानहरूभन्दा येशूको प्रशंसामा गाइने भजनहरू दुई गुणा बढी थियो। पछि फेरि १९२८ मा प्रकाशित गीति पुस्तकमा चाहिं यहोवाका जति वटा प्रशंसागानहरू छन्‌ करीब त्यतिवटै स्तुतिगानहरू येशूका लागि पनि पाइन्छ। तर १९८४ मा प्रकाशित सबैभन्दा नयाँ गीति पुस्तकमा चाहिं येशूभन्दा यहोवा चार गुणा बढी भजनहरूद्वारा प्रशंसित हुनुहुन्छ। आखिर स्वयं येशूले पनि यसो भन्‍नु भएको थियो: “पिता मभन्दा महान हुनुहुन्छ।” (यूहन्‍ना १४:२८) येशूको गहिरो प्रेम, उहाँले चढाउनु भएको बलिदानको मोल र उहाँलाई परमेश्‍वरले प्रधान पूजारी र राजा नियुक्‍त गर्नु भएकोमा हार्दिक मूल्याङ्‌कन व्यक्‍त गर्दै हामीले यहोवाको प्रेमलाई प्रथम स्थान दिनुपर्छ।

[पृष्ठ ३४-मा भएको पेटी]

येशूको परामर्श पद्धति

( प्रकाशको पुस्तकबाट उद्धरित अध्याय तथा पदहरू )

सल्लाह दिने परिचयात्मक स्पष्टसित औंलाइएको सुधार र/वा परिणामरूपी

मण्डलीलाई अख्तियार प्रशंसा समस्या प्रोत्साहन आशिषहरू

एफिसस २:१ २:२, ३ २:४ २:५, ६ २:७

स्मर्ना २:८ २:९ — २:१० २:११

पर्गामम २:१२ २:१३ २:१४, १५ २:१६ २:१७

थिआटायरा २:१८ २:१९ २:२०, २१ २:२४, २५ २:२६-२८

सार्डिस ३:१ — ३:१, २ ३:३, ४ ३:५

फिलाडेल्फिया ३:७ ३:८ — ३:८-११ ३:१२

लाओडिसिया ३:१४ — ३:१५-१७ ३:१८-२० ३:२१