मलाकि ३:१-१८

  • साँचो प्रभु मन्दिरलाई शुद्ध गर्न आउँछन्‌ (१-५)

    • करारका दूत ()

  • यहोवाकहाँ फर्कन प्रोत्साहन (६-१२)

    • यहोवा कहिल्यै परिवर्तन हुनुहुन्‍न ()

    • “मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु” ()

    • ‘सबै दशांश भण्डारमा ल्याओ र यहोवाले आशिष्‌ बर्साउनुहुन्छ’ (१०)

  • धर्मी र दुष्ट मानिस (१३-१८)

    • परमेश्‍वरको सामुन्‍ने सम्झनाको एउटा पुस्तक लेखियो (१६)

    • धर्मी र दुष्ट मानिसबीचको भिन्‍नता (१८)

 “हेर! म मेरो दूतलाई पठाउँदै छु अनि तिनले मेरो अघिअघि बाटो तयार पार्नेछन्‌।+ अनि साँचो प्रभु, जसलाई तिमीहरूले खोजिरहेका छौ, तिनी अचानक मन्दिरमा आउनेछन्‌+ र करारका दूत पनि आउनेछन्‌, जसको तिमीहरूले खुसीसाथ प्रतीक्षा गरिरहेका छौ। हेर! तिनी पक्कै आउनेछन्‌,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ। २  “तर तिनी आउने दिनमा को टिक्न सक्छ अनि तिनी देखा पर्दा को उभिन सक्छ? किनकि तिनी धातु खार्ने आगोजस्तै र धोबीको साबुनजस्तै+ हुनेछन्‌। ३  चाँदी खार्ने र शुद्ध पार्ने मानिसले जस्तै तिनले लेविका सन्तानलाई शुद्ध पार्नेछन्‌;+ तिनले तिनीहरूलाई सुन र चाँदीलाई जस्तै खार्नेछन्‌ र तिनीहरू यहोवाको लागि यस्ता मानिसहरू बन्‍नेछन्‌, जसले साँचो मनले भेटी चढाउँछन्‌। ४  अनि पहिलेपहिले जस्तै, प्राचीन समयमा जस्तै यहुदा र यरुसलेमको भेटी देखेर यहोवा परमेश्‍वर प्रसन्‍न हुनुहुनेछ।+ ५  “न्याय गर्न म तिमीहरूको नजिक आउनेछु र तान्त्रिकहरू,+ व्यभिचार* गर्नेहरू, झूटो शपथ खानेहरू+ अनि ज्यालादारी कामदार, विधवा र अनाथलाई* ठग्नेहरू+ अनि विदेशीलाई मदत गर्न इन्कार गर्नेहरूविरुद्ध*+ म चाँडै सजाय सुनाउनेछु। यिनीहरूले मेरो डर पटक्कै मानेका छैनन्‌,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ। ६  “किनकि म यहोवा हुँ, म कहिल्यै परिवर्तन हुन्‍नँ।+ अनि तिमीहरू याकुबका सन्तान हौ, त्यसैले तिमीहरूको अस्तित्व अहिलेसम्म मेटिएको छैन। ७  तिमीहरूका पुर्खाहरूको समयदेखि तिमीहरूले मेरा नीतिनियम तोड्‌दै आएका छौ, ती पालन गरेका छैनौ।+ मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ। तर तिमीहरू भन्छौ: “हामी कसरी तपाईँकहाँ फर्कने?” ८  “के मानिसले परमेश्‍वरलाई लुट्‌न सक्छ? तर तिमीहरूले मलाई लुटिरहेका छौ।” अनि तिमीहरू भन्छौ: “हामीले तपाईँलाई कसरी लुट्यौँ र? “दशांश* र अनुदान नदिएर। ९  तिमीहरू श्रापित नै हौ* किनकि तिमीहरू मलाई लुट्‌दै छौ, हो, पूरै राष्ट्रले मलाई लुट्‌दै छ। १०  सबै दशांश भण्डारमा ल्याओ+ र मेरो घरमा भोजन होस्‌।+ मलाई जाँचेर हेर,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ, “म आकाशका पानीका बाँधहरू खोलेर+ तिमीहरूलाई कुनै कुराको कमी नै नहुनेगरि आशिष्‌ बर्साउँछु कि बर्साउँदिनँ, हेर।”+ ११  “सखाप पार्नेहरूलाई* म तिमीहरूको खातिर हप्काउनेछु अनि तिनीहरूले तिमीहरूको जमिनको उब्जनी खतम पार्नेछैनन्‌ र तिमीहरूका अङ्‌गुरका बोटहरू रित्तो हुनेछैनन्‌,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ। १२  “सबै राष्ट्रले तिमीहरूलाई आनन्दित भन्‍नेछन्‌+ किनकि तिमीहरूको देश खुसीको कारण बन्‍नेछ,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ। १३  यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, “तिमीहरूले मविरुद्ध कडा शब्दहरू बोलेका छौ।” तर तिमीहरू भन्छौ: “हामीले तपाईँविरुद्ध के कुरा गरेका छौँ र?”+ १४  “तिमीहरू भन्छौ, ‘परमेश्‍वरको सेवा गरेर केही फाइदा छैन।+ सेनाहरूका यहोवाको आज्ञा पालन गरेर अनि उहाँ समक्ष आफ्नो पापको लागि दुःखी भएर हामीलाई के फाइदा भएको छ र? १५  बरु हामी त अहङ्‌कारी मानिसहरू आनन्दित भएको देख्छौँ। अनि दुष्ट काम गर्नेहरू सफल भएका छन्‌।+ तिनीहरू परमेश्‍वरको परीक्षा गर्ने आँट गर्छन्‌ र सजाय नपाई उम्कन्छन्‌।’” १६  तब यहोवा परमेश्‍वरको भय मान्‍नेहरूले आपसमा कुरा गरे, प्रत्येकले आफ्नो साथीसित कुरा गरे अनि यहोवा परमेश्‍वरले तिनीहरूको कुरा ध्यान दिएर सुनिरहनुभयो। यहोवा परमेश्‍वरको भय मान्‍नेहरू र उहाँको नामबारे सोच्नेहरूका* लागि+ उहाँको सामुन्‍ने सम्झनाको एउटा पुस्तक लेखियो।+ १७  सेनाहरूका यहोवा भन्‍नुहुन्छ, “अनि त्यस दिन म तिनीहरूलाई आफ्नो विशेष* सम्पत्ति बनाउनेछु+ र तिनीहरू मेरा हुनेछन्‌।+ अनि जसरी बुबाले आफ्नो आज्ञाकारी छोरामाथि टिठाउँछ, त्यसरी नै म तिनीहरूमाथि टिठाउनेछु।+ १८  अनि तिमीहरूले फेरि धर्मी र दुष्ट मानिसबीच, परमेश्‍वरको सेवा गर्ने र नगर्ने मानिसबीचको भिन्‍नता देख्नेछौ।”+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “बुबा गुमाएको बच्चा।”
वा “विदेशीहरूको अधिकार हनन गर्नेहरूविरुद्ध।”
वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्‌।
वा सम्भवत: “तिमीहरू मलाई सराप्दै छौ।”
यसले किरा-फट्ट्याङ्‌ग्राको महामारीलाई जनाएको हुन सक्छ।
वा सम्भवत: “उहाँको नामलाई अनमोल ठान्‍नेहरूका।”
वा “अनमोल।”