सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

“तिमीसित जे छ, त्यसलाई पक्रिराख”

“तिमीसित जे छ, त्यसलाई पक्रिराख”

अध्याय १२

“तिमीसित जे छ, त्यसलाई पक्रिराख”

फिलाडेल्फिया

१. येशूको छैटौं सन्देश कुन शहरको मण्डलीका लागि थियो र त्यस शहरको नाउँको अर्थ के हो?

 भ्रातृस्नेह—कति प्रिय गुण हो यो! निस्सन्देह यसै गुणलाई ध्यानमा राखेर येशूले आफ्नो छैटौं सन्देश प्रस्तुत गर्नुहुन्छ। यो सन्देश फिलाडेल्फियाको मण्डलीका लागि हो र फिलाडेल्फियाको अर्थ पनि “भ्रातृस्नेह” हो। पत्रुसले ६० वर्षअघि तीन तीन पटक येशूका लागि आफ्नो न्यानो स्नेह येशूकै सामु व्यक्‍त गरेका थिए। र त्यो घटनालाई यी उमेर ढल्किसकेका यूहन्‍नाले अझ पनि झलझली सम्झन्छन्‌। (यूहन्‍ना २१:१५-१७) तर के फिलाडेल्फियाका मसीहीहरूले पनि भ्रातृस्नेह देखाइरहेका छन्‌ र? देखाइरहेका छन्‌ जस्तो छ!

२. फिलाडेल्फिया कस्तो शहर थियो, त्यहाँको मण्डली कस्तो थियो र त्यस मण्डलीको दूतलाई येशू के भन्‍नुहुन्छ?

सार्डिसदेखि करीब ३० माइल दक्षिणपूर्व (आधुनिक तुर्की शहर अलासेहिरकै इलाकामा) स्थित फिलाडेल्फिया, यूहन्‍नाको समयमा एउटा निकै नै समृद्धशाली शहर थियो। तर त्योभन्दा पनि बढी आकर्षक कुरा त्यहाँको समृद्ध मसीही मण्डली हो। सम्भवतः सार्डिसको बाटो हुँदै फिलाडेल्फियामा आउने सेवकलाई त्यहाँका मसीहीहरूले कति आनन्दसाथ स्वागत गरे होलान्‌! यी सेवकले तिनीहरूको हौसला बढाउने उपदेश लिएर आएका थिए। तर उपदेशको सुरुमै उपदेश पठाउने कीर्तिमान व्यक्‍तिको अधिकारतिर ध्यान आकृष्ट गरिन्छ। येशू यसो भन्‍नुहुन्छ: “फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेख। यी कुरा त्यसले भन्दछ, जो पवित्र छ, जो सत्य छ, जससँग दाऊदको साँचो छ, जसले खोल्छ, तर कसैले थुन्‍नेछैनँ, र जसले थुन्‍नेछ, तर कसैले खोल्नेछैन।”—प्रकाश ३:७.

३. येशूलाई “पवित्र” भन्‍नु किन उचित हो र उहाँ “सत्य हुनुहुन्छ” भनेर कसरी भन्‍न सकिन्छ?

येशू पृथ्वीमा मानिस हुनुहुँदा उहाँलाई पत्रुसले यसो भनेको यूहन्‍नाले सुनेका थिए: “ ‘अनन्त जीवनका कुरा ता तपाईंसँग छन्‌, औ तपाईं परमेश्‍वरका पवित्र जन हुनुहुन्छ भनी हामीले विश्‍वास गरेका र जानेका छौं।’ ” (यूहन्‍ना ६:६८, ६९) यहोवा परमेश्‍वर नै सारा पवित्रताको मूल स्रोत हुनु भएकोले उहाँको एक मात्र पुत्र पनि “पवित्र” हुनुपर्छ। (प्रकाश ४:८) येशू “सत्य” पनि हुनुहुन्छ। यहाँ प्रयोग गरिएको युनानी शब्द (एलेथिनोस्‌) ले सच्चाइको बोध गराउँछ। यसर्थ येशू स्वर्गबाट ओर्लनु भएको साँचो ज्योति र साँचो रोटी पनि हुनुहुन्छ। (यूहन्‍ना १:९; ६:३२) उहाँ नै साँचो दाखको बोट हुनुहुन्छ। (यूहन्‍ना १५:१) येशू सत्य हुनुको अर्थ उहाँ विश्‍वासयोग्य हुनुहुन्छ। उहाँ सधैं सत्य बोल्नु हुन्छ। (यूहन्‍ना ८:१४, १७, २६ हेर्नुहोस्‌) परमेश्‍वरका यी पुत्र वास्तवमा राजा र न्यायाधीश हुने योग्यको हुनुहुन्छ।—प्रकाश १९:११, १६.

“दाऊदको साँचो”

४, ५. “दाऊदको साँचो” कुन वाचासित सम्बन्धित थियो?

येशूसित “दाऊदको साँचो” छ। त्यसलाई प्रयोग गर्दै उहाँले ‘खोल्नु भएपछि कसैले बन्द गर्न सक्‍तैन र उहाँले बन्द गर्नु भएपछि कसैले खोल्न सक्‍तैन।’ “दाऊदको साँचो” भनेको के हो?

इस्राएलका राजा दाऊदसित यहोवाले एउटा अनन्तकालीन राज्यको वाचा बाँध्नु भएको थियो। (भजनसंग्रह ८९:१-४, ३४-३७) दाऊदको घरानाले यरूशलेमस्थित यहोवाको सिंहासनबाट सा.यु.पू. १०७० देखि सा.यु.पू. ६०७ सम्म राज्य गरे। तर त्यो राज्य दुष्ट भएर गएकोले परमेश्‍वरको न्यायिक दण्ड त्यसमाथि आइपऱ्‍यो। यहोवाले इजकिएल २१:२७ मा उल्लिखित यो भविष्यवाणी पूरा गर्न थाल्नु भयो: “ ‘उजाड, उजाड! म त्यसलाई [पार्थिव यरूशलेम] उजाड पार्नेछु। जसको त्यसमाथि अधिकार छ, औ जसलाईनै म यो [दाऊदको घरानाको राजदण्ड] सुम्पिनेछु, ऊ नआइपुगुञ्जेल त्यसको नाउँ निशानै रहनेछैन।’ ”

६, ७. “अधिकार” हुने व्यक्‍ति कहिले र कसरी देखा पर्नु हुने थियो?

“अधिकार” हुने ती व्यक्‍ति कहिले र कहाँ देखा पर्नु हुने थियो? उहाँलाई दाऊदको राज्यको राजदण्ड कसरी दिइने थियो?

करीब ६०० वर्षपछि राजा दाऊदको परिवारकी एउटी यहूदी कन्या मरियम पवित्र आत्माद्वारा गर्भवती भइन्‌। अब तिनले एउटा पुत्र जन्माउने छिन्‌ र उनको नाउँ येशू राख्नु पर्छ भनेर मरियमलाई खबर गर्न परमेश्‍वरले गब्रिएल स्वर्गदूत पठाउनु भयो। गब्रिएलले यसो पनि भने: “उहाँ महान हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, औ परमप्रभु परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ। उहाँले याकूबको घरानामाथि सदा सर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त हुनेछैन।”—लूका १:३१-३३.

८. येशूले आफूलाई दाऊदको राज्यमाथि अधिकार गर्ने योग्यको कसरी साबित गर्नु भयो?

सा.यु. २९ मा येशूले यर्दन नदीमा बप्तिस्मा लिनु हुँदा उहाँलाई पवित्र आत्माद्वारा अभिषेक गरियो। यसपछि उहाँलाई दाऊदको घरानाको राजा हुन नियुक्‍त गरियो। उहाँले परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न अनुकरणीय जोश देखाउनु भयो। यस्तैगरी प्रचार गर्ने जिम्मेवारी उहाँले आफ्ना अनुयायीहरूलाई सुम्पनु भयो। (मत्ती ४:२३; १०:७, ११) येशूलाई काठमा झुन्ड्याएर मार्दा पनि उहाँले नम्र भाव व्यक्‍त गर्नुभयो। यसप्रकार दाऊदको राज्यको उत्तराधिकारी हुन उहाँले आफूलाई पूर्णतया योग्य साबित गर्नुभयो। यहोवाले येशूलाई एउटा अमर आत्मिक व्यक्‍तिको रूपमा पुनःजीवित पार्नु भएर स्वर्गमा आफ्नै दाहिने हातमा बस्ने सम्मान प्रदान गर्नु भयो। त्यहाँ येशूलाई दाऊदको राज्यको सम्पूर्ण अधिकार प्रदान गरियो। केही समयपछि उहाँले “शत्रुहरूका बीचमा . . . राज्य” गर्ने अख्तियार पनि प्रयोग गर्नु हुने थियो।—भजनसंग्रह ११०:१, २; फिलिप्पी २:८, ९; हिब्रू १०:१३, १४.

९. खोल्दा र बन्द गर्दा येशूले दाऊदको साँचो कसरी प्रयोग गर्नुहुन्छ?

तर दाऊदको साँचो चाहिं येशूले स्वर्गमा दाऊदको राज्यको सम्पूर्ण अधिकार पाउनु भएदेखि नै प्रयोग गर्न थाल्नु भयो। परमेश्‍वरको राज्यसम्बन्धी मौका र विशेषाधिकारहरूको ढोका उहाँले खोल्नु भयो। येशूद्वारा यहोवाले अब पृथ्वीमा रहेका अभिषिक्‍त मसीहीहरूलाई “अन्धकारको शक्‍तिदेखि” मुक्‍त गराएर “प्रेमी पुत्रको राज्यभित्र” ल्याउन सुरु गर्नु भयो। (कलस्सी १:१३, १४) अविश्‍वासी साबित हुनेहरूका लागि चाहिं यस्ता विशेषाधिकारहरूको ढोका बन्द गरी दिन पनि त्यो साँचोको प्रयोग गरियो। (२ तिमोथी २:१२, १३) दाऊदको राज्यको यो अनन्तकालीन उत्तराधिकारीलाई स्वयं यहोवाले नै आड दिनुहुन्छ। त्यसैकारण यस उत्तराधिकारीलाई आफ्ना कर्तव्यहरू पूरा गर्नदेखि कसैले पनि रोक्न सक्‍तैन।—मत्ती २८:१८-२० तुलना गर्नुहोस्‌।

१०. येशूले फिलाडेल्फियाको मण्डलीलाई के प्रोत्साहन दिनुहुन्छ?

१० यस्तो आधिकारिक स्त्रोतबाट आउने येशूका शब्दहरूबाट फिलाडेल्फियाका मसीहीहरूले धेरै नै सान्त्वना पाए होलान्‌। उहाँले यसो भन्दै तिनीहरूको सराहना गर्नुहुन्छ: “मलाई तिम्रा कामहरू थाह छहेर, मैले तिम्रो सामने ढोका खुला राखिदिएको छु, जो कसैले थुन्‍नसक्‍तैन।) तिमीसँग थोरै शक्‍ति छ। औ मेरो वचन पालन गरेका छौ, र मेरो नाउँ इन्कार गरेका छैनौं।” ( प्रकाश ३:८) फिलाडेल्फिया मण्डली सक्रिय रहेको छ र त्यसका लागि अब एउटा ढोका खुलेको छ। अवश्‍यपनि यो सेवकाईसम्बन्धी सेवा गर्ने मौकाको ढोका हो। (१ कोरिन्थी १६:९; २ कोरिन्थी २:१२ तुलना गर्नुहोस्‌।) यसकारण प्रचार गर्ने मौकाको पूर्ण सदुपयोग गर्न येशूले मण्डलीलाई प्रोत्साहन दिनुहुन्छ। तिनीहरूले धैर्य धारण गरेका छन्‌। परमेश्‍वरको आत्माको मदतद्वारा यहोवाको सेवामा अझ “कामहरू” गर्ने यथेष्ट शक्‍ति तिनीहरूले प्रदर्शित गरेका छन्‌। (२ कोरिन्थी १२:१०; जकरिया ४:६) तिनीहरूले येशूका आज्ञाहरू पालन गरेका छन्‌। ख्रीष्टलाई तिनीहरूले नता आफ्नो बोली न कामद्वारा नै इन्कार गरेका छन्‌।

तिनीहरूले “तिम्रा खुट्टाको सामने ढोगी” दिनेछन्‌

११. येशूले मसीहीहरूलाई के आशिष दिने प्रतिज्ञा गर्नुहुन्छ र त्यो प्रतिज्ञा कसरी पूरा भयो?

११ अतः यसको राम्रो परिणामबारे येशूले यो प्रतिज्ञा गर्नुहुन्छ: “हेर, ती यहूदी हौं भन्‍ने, तर तिनीहरू त्यसो नभई झूटा बोल्नेहरूलाई म शैतानको सभा दिनेछु। हेर, म तिनीहरूलाई तिमीकहाँ आएर तिम्रा खुट्टाका सामने ढोगी दिने, र मैले तिमीलाई प्रेम गर्दछु भन्‍ने थाह पाउने तुल्याउनेछु।” ( प्रकाश ३:९) स्मर्नामा जस्तैझैं सम्भवतः यस मण्डलीले पनि स्थानीय यहूदीहरूबाट बाधाविघ्न अनुभव गरेको थियो होला। ती यहूदीहरूलाई येशूले “शैतानको सभाघर” भनेर सम्बोधन गर्नुहुन्छ। तथापि येशूबारे मसीहीहरूले प्रचार गरेको कुरा सत्य हो भनेर कम से कम केही यहूदीहरूले चाहिं स्वीकार्नै लागेका छन्‌। तिनीहरूले सायद १ कोरिन्थी १४:२४, २५ मा पावलले वर्णन गरेकै अर्थमा ‘ढोगी दिनेछन्‌’, अर्थात्‌ तिनीहरूले पश्‍चाताप गर्नेछन्‌। येशूले आफ्ना अनुयायीहरूका लागि आफ्नो प्राण समेत अर्पण गरेर प्रदर्शित गर्नु भएको ठूलो प्रेमको मूल्याङ्‌कन गर्दै तिनीहरू मसीही बन्‍नेछन्‌।—यूहन्‍ना १५:१२, १३.

१२. फिलाडेल्फियास्थित यहूदी सभाघरका केही सदस्यहरूले स्थानीय मसीही समाज समक्ष “ढोगिदिने छन्‌” भन्‍ने कुरा सुनेर त्यो सभाघरका यहूदीहरू किन तीन छक परे होलान्‌?

१२ फिलाडेल्फियाका यहूदी सभाका केही सदस्यहरूले स्थानीय मसीही समाजको सामने “ढोग्नेछन्‌” भन्‍ने कुरा थाह पाएर त्यहाँको यहूदी सभाका सदस्यहरू तीन छक परे होलान्‌। किनभने फिलाडेल्फियाको मण्डलीमा थुप्रै गैरयहूदीहरू छन्‌। यसकारण यिनीहरूले पो यहूदी सभाका सदस्यहरूलाई ढोग्नु पर्ने हो भनेर ती यहूदीहरूले प्रतीक्षा गरेको हुनुपर्छ। तर किन? किनभने यशैयाले यसो भनेर भविष्यवाणी गरेका थिए: “[गैरयहूदी] राजाहरू तेरा [इस्राएलका मानिसहरू] धर्म-बाबु र रानीहरू तेरा धर्म-आमा हुनेछन्‌। तिनीहरू भुइँमा पस्त्रिएर तँलाई दण्डवत गर्नेछन्‌।” (यशैया ४९:२३; ४५:१४; ६०:१४) यसबाहेक जकरियाले पनि ईश्‍वरीय प्रेरणाद्वारा यसप्रकार लेखेका थिए: “ती दिनहरूमा सबै जातिका विभिन्‍न भाषा बोल्नेहरूमध्ये दश जना मानिसले एउटा यहूदीको लुगा समातेर यसो भन्‍नेछन्‌, ‘हामी तपाईंसितै जानेछौं, किनभने हामीले सुनेका छौं कि परमेश्‍वर तपाईंसित हुनुहुन्छ।’ ” (जकरिया ८:२३) हो, यहूदीहरूले गैरयहूदीहरूलाई ढोग्ने होइन तर गैरयहूदीहरूले यहूदीहरूको सामने ढोग्नु पर्ने थियो!

१३. प्राचीन इस्राएलबारे गरिएका भविष्यवाणीहरूको पूर्ति कुन चाहिं यहूदीहरूले अनुभव गर्ने थिए?

१३ ती अगमवाणीहरूमा परमेश्‍वरले रोज्नु भएको राष्ट्रलाई सम्बोधन गरिएको थियो। ती अगमवाणीहरू भनिएको बेलामा शारीरिक इस्राएली जाति परमेश्‍वरले रोज्नु भएको राष्ट्र थियो। तर यहूदी राष्ट्रले मसीहलाई इन्कार गरेपछि चाहिं यहोवाले पनि तिनीहरूलाई तिरस्कार गर्नु भयो। (मत्ती १५:३-९; २१:४२, ४३; लूका १२:३२; यूहन्‍ना १:१०, ११) तिनीहरूको ठाउँमा परमेश्‍वरले पेन्तीकोसको दिन सा.यु. ३३ मा आफ्नो साँचो इस्राएल अर्थात्‌ मसीही मण्डलीलाई रोज्नु भयो। यसका सदस्यहरू आत्मिक यहूदीहरू हुन्‌। हृदय खतना गरिएकाहरू तिनीहरू नै हुन्‌। (प्रेरित २:१-४, ४१, ४२; रोमी २:२८, २९; गलाती ६:१६) अब भने येशूलाई मसीह स्वीकार्दै उहाँमाथि विश्‍वास राखेमा मात्र शारीरिक यहूदीहरू यहोवाको सामने पुनःग्रहणयोग्य हुने थिए। (मत्ती २३:३७-३९) र सोही काम फिलाडेल्फियाका केही व्यक्‍तिहरूले गर्नै लागेका थिए। a

१४. आधुनिक समयहरूमा यशैया ४९:२३ र जकरिया ८:२३ को भविष्यवाणी विशेषतः कसरी पूरा भएको छ?

१४ आधुनिक समयहरूमा यशैया ४९:२३ र जकरिया ८:२३ जस्ता भविष्यवाणीहरू सार्थक रीतिले पूरा भएका छन्‌। यूहन्‍नावर्गले गरेको प्रचारद्वारा राज्य सेवकाईको खुला ढोकाभित्र ठूलो सङ्‌खयामा मानिसहरूले प्रवेश पाएका छन्‌। b यीमध्येका धेरैजसो त मसीहीजगतबाट निक्लेर आएका हुन्‌ जसका धर्महरूले आत्मिक इस्राएल हुने झूटो दाबा गर्छन्‌। (रोमी ९:६ तुलना गर्नुहोस्‌।) त्यस ढोकाबाट प्रवेश गर्ने मानिसहरूको ठूलो भीडले येशूको बलिदानको रगतमा विश्‍वास गर्दै आ-आफ्नो वस्त्र धोएर सेतो पार्छन्‌। (प्रकाश ७:९, १०, १४) यिनीहरूले ख्रीष्टको राजकीय शासनको अधीनमा बसेर पृथ्वीमा आशिष पाउने आशा राखेका छन्‌। यिनीहरूले येशूका अभिषिक्‍त भाइहरूलाई आत्मिक तवरमा ‘ढोगी दिन्छन्‌’ किनभने ‘परमेश्‍वर उनीहरूसित नै हुनुहुन्छ’ भनेर यिनले सुनेका छन्‌। यिनीहरूले ती अभिषिक्‍त जनहरूको सेवा गर्छन्‌ र ती अभिषिक्‍त जनहरूसितै एउटा विश्‍वव्यापी भ्रातृत्वमा एकताबद्ध हुन्छन्‌।—मत्ती २५:३४-४०; १ पत्रुस ५:९.

‘परीक्षाको समय’

१५. (क) येशूले फिलाडेल्फियाका मसीहीहरूलाई के प्रतिज्ञा गर्नु भयो र तिनीहरूलाई के गर्ने प्रोत्साहन दिइयो? (ख) ती मसीहीहरूले कुन चाहिं “मुकुट” पाउने आशा राखेका थिए?

१५ येशू अब यसो भन्‍नुहुन्छ: “किनभने तिमीले मेरा धैर्यको वचन पालन गरेका हुनाले पनि तिमीलाई परीक्षाको समयबाट जोगाउनेछु। त्यो समय, जो यस पृथ्वीमाथि बस्नेलाई परीक्षा गर्नालाई सारा संसारमा आउनेभएको छ। म चाँडै आउँछु। तिमीसँग भएकोलाई राखिछोड, र तिम्रो मुकुट कसैले लिन नपाओस्‌।” ( प्रकाश ३:१०, ११) यूहन्‍नाका समकालीन मसीहीहरू प्रभुको दिनसम्मै (जसको सुरु १९१४ मा हुनेथियो) नबाँचे तापनि येशूको आगमनमाथि विश्‍वास राखेको हुँदा तिनीहरूले निरन्तर प्रचार गर्ने शक्‍ति पाइनै रहने थिए। (प्रकाश १:१०; २ तिमोथी ४:२) स्वर्गमा तिनीहरूले “मुकुट” अथवा अनन्त जीवनको पुरस्कार पाउने थिए। (याकूब १:१२; प्रकाश ११:१८) मृत्युसम्मै विश्‍वासी भएको खण्डमा त्यो पुरस्कार तिनीहरूबाट कसैले पनि खोस्न सक्‍तैन थिए।—प्रकाश २:१०.

१६, १७. (क) “सारा संसारमा आउने परीक्षा” को समय के हो? (ख) “परीक्षा” को घडीको सुरुमा अभिषिक्‍त जनहरू कुन अवस्थामा थिए?

१६ तर “परीक्षाको समय” भनेको के हो? एसियाका ती मसीहीहरूले निस्सन्देह रोमी साम्राज्यबाट फेरि एक पटक भीषण सतावटको सामना गर्नु परेको थियो। c तथापि, खास ‘परीक्षाको समय’ त अन्ततः प्रभुको दिनमा भएको छानबिन र न्यायको घडीमा आयो। खासगरी १९१८ देखि उप्रान्त। को परमेश्‍वरको स्थापित राज्यको पक्षमा छ र को शैतानको संसारको पक्षमा, सो थाह लाउनु नै उक्‍त जाँचको उद्देश्‍य थियो। त्यो जाँच तुलनात्मक रीतिले थोरै समय अर्थात्‌ “एक घण्टा” का लागि मात्र हुने थियो। तर त्यो हाल समाप्त भएको छैन र समाप्त नहोउन्जेल हामी “परीक्षाको समय” मा छौं भनेर कहिल्यै बिर्सनु हुँदैन।—लूका २१:३४-३६.

१७ फिलाडेल्फियाको त्यो दह्रो मण्डलीले जस्तै यूहन्‍नावर्गका अभिषिक्‍त मसीहीहरूले पनि १९१८ मा आधुनिक “शैतानको सभा” बाट विरोधको सामना गरे। आत्मिक यहूदी हुने दाबा गर्ने मसीहीजगतका धर्मगुरुहरूले साँचो मसीहीहरूलाई दबाउन बडो चलाकीसाथ शासकहरूलाई उक्साए। तरैपनि ती साँचो मसीहीहरूले ‘येशूको धैर्यको वचन पालन’ गर्ने ठूलो प्रयास गरे; यसकारण आत्मिक सहायता अर्थात्‌ “थोरै” तर ठोस “शक्‍ति” साथ तिनीहरू बाँचे र तिनीहरूको सामने खुलेको ढोकामा प्रवेश गर्न तिनीहरू उत्साहित भए। तर कसरी?

“एउटा खुला ढोका”

१८. येशूले १९१९ मा के नियुक्‍ति गर्नु भयो र नियुक्‍त हुनेहरू हिजकियाहको विश्‍वासी सेवक एल्याकीम जस्तै कसरी हुन गए?

१८ येशूले १९१९ मा आफ्नो प्रतिज्ञा पूरा गर्नु भयो र साँचो अभिषिक्‍त मसीहीहरूको सानो गठलाई आफ्नो “विश्‍वासी र बुद्धिमान दास” को रूपमा स्वीकार्नु भयो। (मत्ती २४:४५-४७) यिनीहरूले राजा हिजकियाहको d समयको विश्‍वासी सेवक एल्याकीमको जस्तै विशेषाधिकार पाए। यहोवाले एल्याकीमबारे यसो भन्‍नु भयो: “दाऊदको घरानाको साँचो म त्यसको हातमा दिनेछु, त्यसले खोल्नेछ, र कसैले बन्द गर्नेछैन र त्यसले बन्द गर्नेछ र कसैले खोल्नेछैन।” दाऊदको शाही सन्तान, हिजकियाहका लागि एल्याकीमले ठूल-ठूला जिम्मेवारीहरू उठाएका थिए। त्यस्तैगरी आज पनि “दाऊदको घरानाको साँचो” अभिषिक्‍त यूहन्‍नावर्गको हातमा दिइएको छ, अर्थात्‌ उनलाई नै मसीही राज्यको पार्थिव कामकाज सुम्पिएको छ। यो खास जिम्मेवारी बहन गर्ने शक्‍ति यहोवाले आफ्ना सेवकहरूलाई दिनु भएको छ। उहाँले तिनीहरूको थौरै शक्‍तिलाई विशाल विश्‍वव्यापी साक्षी दिने प्रचण्ड सामर्थ्यमा परिणत गराइ दिनु भएको छ।—यशैया २२:२०, २२; ४०:२९.

१९. येशूले १९१९ मा दिनु भएका जिम्मेवारीहरूलाई यूहन्‍नावर्गले कसरी उपयोग गरे र यसको परिणाम के भयो?

१९ येशूको उदाहरण अनुकरण गर्दै शेष अभिषिक्‍त जनहरूले १९१९ देखि राज्यको सुसमाचार घोषणा गर्ने एउटा जोडदार अभियान सुरु गरे। (मत्ती ४:१७; रोमी १०:१८) परिणामस्वरूप, शैतानको आधुनिक सभा अर्थात्‌ मसीहीजगतका केही सदस्यहरू शेष अभिषिक्‍त जनहरूकहाँ आए, पश्‍चाताप गरे र यस दासवर्गको अख्तियारलाई मान्यता दिंदै ‘ढोगी दिए।’ तिनीहरू पनि यूहन्‍नावर्गका अलिक पुराना जनहरूसित मिलेर यहोवाको सेवा गर्न अग्रसर भए। येशूका अभिषिक्‍त भाइहरूको पूरा सङ्‌खया नपुगुन्जेलसम्म यो क्रम कायम रह्‍यो। तर त्यसपछि चाहिं “सबैजातिबाट . . . एउटा ठूलो” भीड पनि अभिषिक्‍त दासको सामने “ढोग्न” आएका छन्‌। (प्रकाश ७:३, ४, ९) आज, उक्‍त दास र यो ठूलो भीड यहोवाका साक्षीहरूको एउटै बगाल भएर सेवा गर्छन्‌।

२०. यहोवाका साक्षीहरू आज विशेषगरी विश्‍वासमा बलियो र परमेश्‍वरको सेवामा सक्रिय हुनु किन अत्यावश्‍यक छ?

२० फिलाडेल्फियाका मसीहीहरू जस्तै साँचो भ्रातृस्नेहको बन्धनमा एकताबद्ध भएका यहोवाका साक्षीहरूले आफ्नो प्रचार कार्यको महत्त्व राम्ररी बुझेका छन्‌। चाँडै नै महासङ्‌कष्टमा शैतानको दुष्ट संसारको खेल खतम हुनेछ। त्यतिखेरसम्म हामी प्रत्येक विश्‍वासमा बलियो र परमेश्‍वरको सेवामा सक्रिय हुनुपर्छ। यसप्रकार यहोवाको जीवनको पुस्तकबाट हाम्रो नाउँ मेटिनेछैन। (प्रकाश ७:१४) येशूले फिलाडेल्फियाको मण्डलीमा पठाउनु भएको सल्लाहलाई हामीले गम्भीरतापूर्वक ध्यान दिनुपर्छ। यसले हामीलाई आफ्नो सेवासम्बन्धी विशेषाधिकारलाई पक्री राख्न र अनन्त जीवनको पुरस्कार हासिल गर्न मदत दिनेछ।

विजेताहरूले पाउने आशिष

२१. आज अभिषिक्‍त मसीहीहरूले ‘येशूको धैर्यको वचन’ कसरी पालन गरेका छन्‌ र तिनीहरू केको प्रतीक्षामा छन्‌?

२१ यूहन्‍नावर्गले आज ‘येशूको धैर्यको वचन पालन’ गरेका छन्‌। अर्थात्‌ तिनीहरूले उहाँको उदाहरण अनुसरण गर्दै धैर्य धारण गरेका छन्‌। (हिब्रू १२:२, ३; १ पत्रुस २:२१) यसप्रकार तिनीहरू येशूले फिलाडेल्फियाको मण्डलीलाई अब भन्‍नु हुने यी कुराहरूबाट निकै नै प्रोत्साहित भएका छन्‌: “जसले जित्छ, त्यसलाई म मेरा परमेश्‍वरका मन्दिरका खामा तुल्याउनेछु। र त्यो त्यसबाट फेरि बाहिर निस्कनेछैन।” ( प्रकाश ३:१२क)

२२. (क) येशूको परमेश्‍वरको मन्दिर के हो? (ख) विजयी हुने अभिषिक्‍त मसीहीहरू यस मन्दिरका खामाहरू जस्तै कसरी हुनेछन्‌?

२२ यहोवाको मन्दिरको एउटा खामा हुन पाउनु कति ठूलो विशेषाधिकार हो! प्राचीन यरूशलेमको पार्थिव मन्दिर यहोवाको उपासनाको केन्द्र थियो। त्यस मन्दिरको “अति पवित्रस्थानमा” यहोवाको उपस्थितिलाई बोध गर्ने चमत्कारपूर्ण ज्योति चम्कन्थ्यो। सोही ज्योतिको सामने प्रधान-पूजारीले वर्षको एक पटक बलि चढाइएका जनावरहरूको रगत चढाउने गर्थे। (हिब्रू ९:१-७) तर येशूको बप्तिस्मा हुँदा एउटा अर्कै मन्दिर स्थापित भयो। त्यो थियो यहोवाको उपासना गर्ने महान आत्मिक मन्दिररूपी प्रबन्ध। यो मन्दिरको अति पवित्रस्थान स्वर्गमा छ। त्यहाँ येशू “परमेश्‍वरको सामने” ठीक समयमा हाजिर हुनु भयो। (हिब्रू ९:२४) त्यस मन्दिरको प्रधान-पूजारी स्वयं येशू हुनुहुन्छ र पापहरूलाई पूर्णतः ढाक्ने एक मात्र बलिदान हो सिद्ध मानिस येशूको बगेको रगत। (हिब्रू ७:२६, २७; ९:२५-२८; १०:१-५, १२-१४) पृथ्वीमा रहेका अभिषिक्‍त मसीहीहरू विश्‍वासी रहुन्जेल तिनीहरूले उपरोक्‍त मन्दिरको पार्थिव चोकमा उप-पूजारीहरू भएर सेवा गर्न पाउँछन्‌। (१ पत्रुस २:९) तर विजेता भइसकेपछि चाहिं तिनीहरू पनि त्यो स्वर्गीय अति पवित्रस्थानभित्र प्रवेश गर्छन्‌। उपासना गर्ने त्यो मन्दिररूपी प्रबन्धका बलिया खामाहरूजस्तै तिनीहरू सुदृढ समर्थकहरू बन्छन्‌। (हिब्रू १०:१९; प्रकाश २०:६) तिनीहरूलाई त्यहाँबाट “फेरि बाहिर निस्कने” खतरा हुने छैन।

२३. (क) यसपछि विजयी हुने अभिषिक्‍त मसीहीहरूलाई येशूले के प्रतिज्ञा गर्नुहुन्छ? (ख) यहोवाको नाउँ र नयाँ यरूशलेमको नाउँ विजेताहरूमाथि लेख्दा परिणाम के हुनेछ?

२३ येशू फेरि यसो भन्‍नुहुन्छ: “म त्यसमाथि मेरा परमेश्‍वरको नाउँ र मेरा परमेश्‍वरबाट स्वर्गदेखि तल आउने नयाँ यरूशलेम र मेरो आफ्नै नयाँ नाउँ लेखिदिनेछु।” ( प्रकाश ३:१२ख) हो, यी विजेताहरूले आफूमाथि यहोवा अर्थात्‌ तिनीहरूको र येशूको परमेश्‍वरको नाउँ लेखेका हुन्छन्‌। यसबाट स्पष्ट हुन्छ, यहोवा र येशू दुई बेग्लाबेग्लै व्यक्‍ति हुनुहुन्छ र उहाँहरू त्रिएक परमेश्‍वर वा त्रिएकको कुनै भाग हुनुहुन्‍न। (यूहन्‍ना १४:२८; २०:१७) यी अभिषिक्‍त जनहरू यहोवाका जनहरू हुन्‌ भनेर सारा सृष्टिले बुझ्नु पर्छ। उनीहरू उहाँकै साक्षीहरू हुन्‌। स्वर्गबाट तल ओर्लने शहर अर्थात्‌ नयाँ यरूशलेमको नाउँ पनि तिनीहरूमाथि लेखिएको हुन्छ। उक्‍त शहर स्वर्गबाट ओर्लनुको अर्थ त्यसले सबै विश्‍वासी मानिसहरूमाथि आफ्नो परोपकारी शासन चलाउनेछ। (प्रकाश २१:९-१४) यसप्रकार यी अभिषिक्‍त विजेताहरू त्यो राज्य अर्थात्‌ स्वर्गीय यरूशलेमका नागरिकहरू हुन्‌ भनेर सबै पार्थिव मसीही भेडाहरूले थाहा पाउनेछन्‌।—भजनसंग्रह ८७:५, ६; मत्ती २५:३३, ३४; फिलिप्पी ३:२०; हिब्रू १२:२२.

२४. येशूको नयाँ नाउँबाट के बोध हुन्छ र विश्‍वासी अभिषिक्‍त मसीहीहरूमाथि त्यो नाउँ कसरी लेखिन्छ?

२४ अन्ततः अभिषिक्‍त विजेताहरूमा येशूको नाउँ पनि लेखिएको हुनेछ। यसबाट येशूको नयाँ ओहदा र यहोवाले उहाँलाई प्रदान गर्नु भएका विशेषाधिकारहरू बोध हुन्छ। (फिलिप्पी २:९-११; प्रकाश १९:१२) त्यो नाउँ अरू कसैले पनि थाहा नपाउनुको अर्थ ती कुराहरू अरू कसैले अनुभव गर्न सक्‍तैनन्‌ नता ती विशेषाधिकारहरू अरू कसैलाई प्रदान गरिन्छ। तथापि येशूले आफ्नो नाउँ उहाँका विश्‍वासी भाइहरूमाथि लेख्नुहुँदा स्वर्गीय संसारमा उनीहरू र उहाँबीच एउटा घनिष्ठ सम्बन्ध स्थापित हुन्छ र उनीहरूले उहाँका विशेषाधिकारहरूमा भाग समेत लिन पाउँछन्‌। (लूका २२:२९, ३०) नभन्दै यी अभिषिक्‍त जनहरूलाई येशूले आफ्नो सन्देशको अन्तमा यो आग्रह गर्नुहुन्छ: “जसको कान छ, त्यसले सुनोस्‌, आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।”—प्रकाश ३:१३.

२५. येशूले फिलाडेल्फियाको मण्डलीलाई दिनु भएको सल्लाहको आधारभूत सिद्धान्तलाई आज प्रत्येक मसीहीले कसरी व्यवहारमा ल्याउन सक्छन्‌?

२५ फिलाडेल्फियाका विश्‍वासी मसीहीहरू त्यो सन्देशबाट कति प्रोत्साहित भएको हुनुपर्छ! साथै आज प्रभुको दिनमा यूहन्‍नावर्गले पनि त्यसबाट ठूलो शिक्षा लिन सक्छन्‌। तर त्यसमा उल्लिखित सिद्धान्तहरू चाहिं आज प्रत्येक मसीहीका लागि महत्त्वपूर्ण छन्‌, चाहे उनी अभिषिक्‍त होऊन्‌ वा अरू भेडाका। (यूहन्‍ना १०:१६) फिलाडेल्फियाका ती मसीहीहरूले जस्तै हामी प्रत्येकले पनि राज्यसम्बन्धी फल फलाउन छाड्‌नु हुन्‍न। हामी सबैसित केही न केही शक्‍ति त भइ हाल्छ। हामी सबैले नै यहोवाको सेवामा केही न केही अवश्‍य गर्न सक्छौं। आउनुहोस्‌, हामी यस शक्‍तिको प्रयोग गरौं! बढी राजकीय विशेषाधिकारहरूका लागि खोलिने हरेक ढोकामा पस्ने प्रयास गरौं। यसप्रकारको ढोका खोलिदिनुहोस्‌ भनेर हामी यहोवासित प्रार्थना पनि गर्न सक्छौं। (कलस्सी ४:२, ३) हामीले येशूको धैर्यको अनुकरण गऱ्‍यौं र उहाँको नाउँअनुसारको जीवन बितायौं भने परमेश्‍वरको पवित्र आत्माले मण्डलीहरूलाई भन्‍ने कुरा ध्यान लगाएर सुन्‍ने हाम्रो पनि कान छ भनी हामी प्रमाण दिनेछौं।

[फुटनोटहरू]

a पावलको समयमा कोरिन्थको यहूदी सभाका शासक सोस्थेनिज एक जना मसीही भाइ भए।—प्रेरित १८:१७; १ कोरिन्थी १:१.

b प्रचार कार्यमा सक्दोभर भाग लिएर मौकाको फायदा उठाउनु अत्यावश्‍क छ भनेर यूहन्‍नावर्गद्वारा प्रकाशित द वाचटावर पत्रिकाले जोड दिंदै आएको छ; उदाहरणका लागि, जनवरी १, २००४ अंकको प्रहरीधरहरा-मा “सबैले यहोवाको महिमाको वर्णन गरून्‌” र “तिनीहरूको सोर सारा पृथ्वीमा पुग्यो” भन्‍ने लेख हेर्नुहोस्‌। जून १, २००४ अंकको प्रहरीधरहरा-मा “परमेश्‍वरलाई महिमा दिनेहरू धन्यका हुन्‌” भन्‍ने लेखमा चाहिं “खुला ढोका” बाट प्रवेश गर्दै पूर्ण समय सेवकाई सुरु गर्ने विषयमाथि जोड दिइएको थियो। अतः सन्‌ २००५ को सेवा वर्षको दौडान एउटा महिनामा अग्रगामीहरूको सङ्‌खया बढेर १०,९३,५५२ पुगेको थियो।

c म्याकलिन्टक एन्ड स्ट्राँस साक्लोपेडिया (खण्ड १०, पृष्ठ ५१९) यसप्रकार रिपोर्ट गर्छ: “गैरमसीही पूजारीहरूले जनताबीच हुलदङ्‌गा मच्चाउँदै सम्राटहरूलाई मसीही धर्ममाथि कडा नजर राख्न बाध्य पारे। मसीही धर्मको ठूलो बिस्तार देखेर ती पूजारीहरू भयभीत थिए। अतः मानिसमा देवताहरूप्रति घृणा उत्पन्‍न गर्ने यो नयाँ धर्मशिक्षालाई क्रमशः दबाइदिने कानुन बनाउन ट्राजनलाई (९८-११७ सा.यु.) उक्साइयो। बाइथिन्याको [उत्तरतिर पर्ने एसियाको रोमी प्रान्तको सीमानामा] धर्मपाल, कान्छो प्लाइनीको प्रान्तमा मसीही धर्मको तीब्र बिस्तार र सोही प्रान्तका गैरमसीही पूजारीहरूको डाहले गर्दा त्यहाँ अनेक प्रशासनीक खैलाबैला मच्चिएको थियो।”

d हिजकियाहको अर्थ हो “यहोवाले बल दिनुहुन्छ।” न्यु वर्ल्ड ट्रान्सलेशन रेफ्रेन्स बाइबल मा २ राजा १६:२० को पादटिप्पणी हेर्नुहोस्‌.

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ ६३-मा भएको पेटी]

ढोग्ने मदत धेरैलाई दिने

स्वर्गीय राज्यमा अधिकार पाउने १,४४,००० अभिषिक्‍त जनहरूमध्येका शेष जनहरू अर्थात्‌ यूहन्‍नावर्गका ९,००० सदस्यहरूले चाहिं आफ्नो पार्थिव गतिविधि पूरा गर्न अझ बाँकी नै छ। अर्कोतिर ठूलो भीडको संख्या पनि ६६,००,००० भन्दा बढी पुगी सकेको छ। (प्रकाश ७:४, ९) यो ठूलो वृद्धिको कारण के हो? यसमा यहोवाका साक्षीहरूद्वारा सञ्चालित पाठशालाहरूको ठूलो योगदान छ। यी पाठशालाहरू मसीहीजगतले सञ्चालन गर्ने धार्मिक पाठशालाहरूभन्दा धेरै नै भिन्‍न छन्‌। मसीहीजगतका धार्मिक पाठशालाहरूमा बाइबललाई होच्याउने सांसारिक दर्शनहरू सिकाइन्छन्‌ तर यहोवाका साक्षीहरूद्वारा आयोजित पाठशालाहरूले परमेश्‍वरको वचनमा गहिरो विश्‍वास बढाउने मदत दिन्छन्‌। परमेश्‍वरको वचनअनुरुप शुद्ध तथा नैतिक जीवनशैली बिताउन र समर्पित सेवा चढाउन सिकाइन्छ। सन्‌ १९४३ देखि विश्‍वभरि यहोवाका साक्षीहरूको प्रत्येक मण्डलीले आफ्नो राज्य सभा गृहमा ईश्‍वरतान्त्रिक सेवकाई पाठशाला सञ्चालन गर्दै आएको छ। बाइबलसम्बन्धी एउटै पाठ्यक्रम पछ्याउने यस पाठशालामा लाखौं व्यक्‍तिहरू उपस्थित हुन्छन्‌।

यहोवाका साक्षीहरूले १९५९ देखि मण्डलीका प्राचीनहरू र सहायक सेवकहरूलाई प्रशिक्षण दिने राज्य सेवकाई पाठशालाहरू पनि सञ्चालन गर्दै आएका छन्‌। सन्‌ १९७७ देखि त अग्रगामी सेवकाई पाठशालाहरू द्वारा सयौं-हजारौं भाइ-बहिनीहरूलाई प्रशिक्षण दिन सम्भव भएको छ। यिनीहरूले फिलाडेल्फीहरूको जस्तै जोशका साथ यहोवाको पूर्ण समय सेवक भएर प्रचार कार्यमा भाग लिन्छन्‌। त्यसपछि १९८७ मा चाहिं विश्‍वभरि खास काजमा पठाइने पुरुष साक्षीहरूलाई प्रशिक्षण दिने मिनिस्टेरियल ट्रेनिङ्‌ग स्कूल-को आरम्भ गरियो।

यहोवाका साक्षीहरूद्वारा सञ्चालित पाठशालाहरूमध्ये वाचटावर बाइबल स्कूल अफ गिलियद सबैभन्दा प्रमुख भएको छ। न्यु योर्क प्रान्तमा स्थित यो मिसनरी स्कूलले १९४३ देखि प्रत्येक साल विद्यार्थीहरूको दुई-दुई टोलीलाई प्रशिक्षण दिंदै आएको छ। यहोवाका ७,००० भन्दा बढी सेवकहरूलाई विदेशमा गएर प्रचार गर्ने प्रशिक्षण यसै पाठशालामा दिइएको हो। यस पाठशालाबाट प्रशिक्षणप्राप्त विद्यार्थीहरूले सयभन्दा धेरै देशहरूमा काम गरी सकेका छन्‌ र तीमध्येका धेरैजसो देशहरूमा त राज्यसम्बन्धी गतिविधिको सुरु नै यिनै प्रशिक्षण प्राप्त विद्यार्थीहरूले गरे। आज करीब ६० वर्षपछि पनि केही पुराना मिसनरीहरू सेवामा लागी नै रहेका छन्‌। नयाँ नयाँ मिसनरीहरूसित मिलेर तिनीहरूले यहोवाको संगठनको विश्‍वव्यापी वृद्धिमा भाग लिन्छन्‌। यो वृद्धि साँच्चै नै एउटा अद्‌भुत वृद्धि हो!

[पृष्ठ ६४-मा भएको पेटी]

पदासिन राजा येशूले १९१९ मा मसीही सेवाको ढोका खोल्नु भयो। समर्पित मसीहीहरूको बढ्‌दो संख्याले उक्‍त मौकाको फायदा उठाएका छन्‌।

प्रचार कार्य प्रचार कार्यमा

गरिएका भाग लिने पूर्ण समय

वर्ष देशहरू मसीहीहरू सेवकहरू

१९१८ १४ ३,८६८ ५९१

१९२८ ३२ २३,९८८ १,८८३

१९३८ ५२ ४७,१४३ ४,११२

१९४८ ९६ २,३०,५३२ ८,९९४

१९५८ १७५ ७,१७,०८८ २३,७७२

१९६८ २०० ११,५५,८२६ ६३,८७१

१९७८ २०५ २०,८६,६९८ १,१५,३८९

१९८८ २१२ ३४,३०,९२६ ४,५५,५६१

१९९८ २३३ ५५,४४,०५९ ६,९८,७८१

२००५ २३५ ६३,९०,०२२ ८,४३,२३४

* माथिलिखित संख्याहरू मासिक औसतनहरू हुन्‌।

[पृष्ठ ६५-मा भएको पेटी]

यहोवाका साक्षीहरूले यथासक्य सेवा गर्छन्‌। उदाहरणका लागि तिनीहरूले प्रचार र शिक्षा दिने काममा बिताएको समय र तिनीहरूले मानिसहरूका घरहरूमा सञ्चालित गरेका निःशुल्क बाइबल अध्ययनहरूलाई विचार गर्नुहोस्‌।

प्रचार कार्यमा

बिताएका घण्टाहरू बाइबल अध्ययनहरू

वर्ष (कुल संख्या) (मासिक औसतन)

१९१८ १९,११६ रेकर्ड छैन

१९२८ २८,६६,१६४ रेकर्ड छैन

१९३८ १,०५,७२,०८६ रेकर्ड छैन

१९४८ ४,९८,३२,२०५ १,३०,२८१

१९५८ ११,०३,९०,९४४ ५,०८,३२०

१९६८ २०,८६,६६,७६२ ९,७७,५०३

१९७८ ३०,७२,७२,२६२ १२,५७,०८४

१९८८ ७८,५५,२१,६९७ ३२,३७,१६०

१९९८ १,१८,६६,६६,७०८ ४३,०२,८५२

२००५ १,२७,८२,३५,५०४ ६०,६१,५३४

[पृष्ठ ५९-मा भएको चित्र]

प्रथम शताब्दीको रोमी साँचो