प्रेषितहरूका कार्य १८:१-२८
१८ त्यसपछि पावल एथेन्स छोडेर कोरिन्थ गए।
२ त्यहाँ तिनले अक्विला+ नाम गरेका एक जना यहुदीलाई भेटे। उनी पोन्टसका रैथाने थिए अनि सम्राट् क्लौडियसले सबै यहुदीलाई रोम छाड्ने हुकुम दिएकोले उनी र उनकी पत्नी प्रिस्किला भर्खरै मात्र इटालीबाट आएका थिए। त्यसैले पावल उनीहरूकहाँ गए
३ र एउटै पेसा भएकोले उनीहरूको घरमा बसेर सँगै काम गरे+ किनकि तिनीहरूको पेसा पाल सिलाउने थियो।
४ तिनले हरेक विश्रामदिनमा*+ सभाघरमा+ भाषण दिन्थे* अनि यहुदी र ग्रीकहरूलाई मनाउँथे।
५ सिलास+ र तिमोथि+ म्यासिडोनियाबाट आएपछि पावल वचन प्रचार गर्नमा व्यस्त भए अनि येसु नै ख्रिष्ट हुनुहुन्छ भन्ने प्रमाण दिन यहुदीहरूलाई साक्षी दिन थाले।+
६ तर उनीहरूले विरोध गर्न र दुर्वचन बोल्न नछोडेपछि तिनले आफ्नो लुगा टकटक्याएर*+ उनीहरूलाई भने: “तपाईँहरूको रगत तपाईँहरूकै थाप्लोमा परोस्।+ म निर्दोष छु।+ अबउसो म अन्यजातिका मानिसहरूकहाँ जानेछु।”+
७ त्यसैले तिनी त्यहाँबाट* टाइटस जस्तस नाम गरेको मानिसको घरमा गए। उनी परमेश्वरका उपासक थिए र उनको घर सभाघरसँगै जोडिएको थियो।
८ सभाघरका पदाधिकारी क्रिस्पसले+ अनि उनको घरमा भएकाहरू सबैले प्रभुमा विश्वास गरे। सुसमाचार सुन्ने कोरिन्थीहरूमध्ये धेरै जनाले प्रभुमा विश्वास गर्न थाले अनि बप्तिस्मा गरे।
९ साथै राती दर्शनमा* प्रभुले पावललाई यसो भन्नुभयो: “नडराऊ। चुपचाप नबस बरु बोलिरह;
१० म तिमीसित छु+ र कसैले तिमीलाई आक्रमण गरेर हानि पुऱ्याउन सक्नेछैन किनकि यस सहरमा यस्ता मानिस धेरै छन्, जसले ममाथि विश्वास गर्न बाँकी नै छ।”
११ त्यसैले उनीहरूलाई परमेश्वरको वचन सिकाउँदै तिनी एक वर्ष छ महिना त्यहीँ बसे।
१२ गल्लियो नाम गरेका मानिस अखैयाका प्रान्तीय राज्यपाल* हुँदा यहुदीहरू एक मत भई पावलविरुद्ध खडा भए अनि तिनलाई न्यायासनसामु लगे
१३ र यसो भने: “यसले मानिसहरूलाई उक्साएर कानुनको उल्लङ्घन हुनेगरि परमेश्वरको उपासना गर्न लगाउँदै छ।”
१४ तर पावलले केही भन्न आफ्नो मुख खोल्नै लाग्दा गल्लियोले यहुदीहरूलाई भने: “हे यहुदीहरू हो, यदि यिनले वास्तवमै केही गलत काम वा कुनै गम्भीर अपराध गरेका भए धैर्य गरेर तिमीहरूको कुरा सुन्ने कारण मसित हुने थियो।
१५ तर यदि कुनै शब्द, नाम वा तिमीहरूको आफ्नै कानुनको विषयमा+ विवाद उठेको हो भने तिमीहरू आफै यसको छानबिन गर। म यस्ता कुराहरूको न्यायाधीश बन्न चाहन्नँ।”
१६ यति भनेर तिनले उनीहरूलाई न्यायासनसामुबाट धपाए।
१७ त्यसैले उनीहरू सबैले सभाघरका पदाधिकारी सोस्थेनेसलाई+ पक्रे र न्यायासनसामु पिट्न थाले। तर गल्लियोले त्यसको वास्तै गरेनन्।
१८ अझै केही दिन त्यहाँ बसेपछि पावल भाइहरूसित बिदा भए अनि समुद्री यात्रा गरेर प्रिस्किला र अक्विलाको साथमा सिरियातिर लागे। अनि सिनक्रिया+ पुगेर तिनले आफ्नो कपाल ठुटो पारे किनकि तिनले भाकल गरेका थिए।
१९ तब तिनीहरू एफिसस पुगे अनि प्रिस्किला र अक्विलालाई त्यहीँ छोडेर तिनी सभाघरभित्र पसे र यहुदीहरूसित तर्क गर्न थाले।+
२० यहुदीहरूले अझै केही समय त्यहीँ बस्न अनुरोध गरे तापनि तिनले मानेनन्
२१ र तिनीहरूसित बिदा हुँदै यसो भने: “यहोवा* परमेश्वरको इच्छा भए म फेरि तपाईँहरूकहाँ आउनेछु।” त्यसपछि एफिससबाट जहाज चढेर
२२ तिनी सिजरिया पुगे। अनि यरुसलेम उक्लेर मण्डलीलाई अभिवादन गरेपछि तिनी एन्टिओक झरे।+
२३ त्यहाँ केही समय बिताइसकेपछि त्यो ठाउँ छोडेर तिनी सबै चेलालाई सुदृढ पार्दै+ गलातिया र फ्रिजियाका+ विभिन्न ठाउँहरूमा गए।
२४ तब अपोल्लस+ नाम गरेका एक जना यहुदी एफिसस आइपुगे। तिनी अलेक्जेन्ड्रियाका रैथाने थिए र बोल्नमा सिपालु हुनुका साथै धर्मशास्त्रमा पोख्त थिए।
२५ तिनले यहोवा* परमेश्वरको मार्गको विषयमा निर्देशन* पाएका थिए र तिनी पवित्र शक्तिले भरिएर जोसिलो भई येसुको विषयमा सही कुरा बोल्ने र सिकाउने गर्थे तर तिनलाई युहन्नाले सिकाउने गरेको बप्तिस्माको विषयमा मात्र थाह थियो।
२६ यी मानिस साहसी भई सभाघरमा बोल्न थाले। जब प्रिस्किला र अक्विलाले+ तिनको कुरा सुने, तब उनीहरूले तिनलाई आफूकहाँ लगे र परमेश्वरको मार्गबारे अझ सही तरिकामा तिनलाई व्याख्या गरिदिए।
२७ साथै तिनले अखैया जाने मन गरेकोले तिनलाई न्यानो स्वागत गर्नू भनेर भाइहरूले त्यहाँका चेलाहरूलाई पत्र लेखे। त्यसैले त्यहाँ पुगेपछि तिनले परमेश्वरको असीम अनुग्रहले गर्दा विश्वास गरेकाहरूलाई धेरै मदत गरे
२८ किनकि यहुदीहरू गलत हुन् भनी तिनले जोसिलो भई खुलेआम प्रमाण दिए अनि येसु नै ख्रिष्ट हुनुहुन्छ+ भनेर धर्मशास्त्रबाट देखाए।
फुटनोटहरू
^ हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्।
^ वा “तर्क गर्थे।”
^ लुगा टकटक्याउनुले आफू जिम्मेवारीबाट मुक्त भएको सङ्केत गर्छ।
^ अर्थात्, सभाघरबाट।
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।
^ अतिरिक्त लेख क५ हेर्नुहोस्।
^ वा “मौखिक निर्देशन।”