सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

त्यो कुख्यात वेश्‍याको इन्साफ

त्यो कुख्यात वेश्‍याको इन्साफ

अध्याय ३३

त्यो कुख्यात वेश्‍याको इन्साफ

दर्शन ११—प्रकाश १७:१-१८.

विषय: महान बेबिलोन चहकिलो रातो रंगको जानवरमाथि सवार छ जसले अन्ततः उसैमाथि आक्रमण गरेर उसलाई खत्तम पार्नेछ

पूर्ति समयावधि: १९१९-देखि महा-सङ्‌कष्टसम्म

१. सात स्वर्गदूतहरूमध्ये एक जनाले यूहन्‍नालाई के प्रकट गर्छन्‌?

 यहोवाको धार्मिक क्रोधका सात कचौराहरू सम्पूर्णतः पोखिनै पर्छ! आरमागेडोनको अन्तिम युद्धतर्फ लैजाने घटनाहरू बित्दै जाँदा महान बेबिलोनमाथि आइ पर्ने विपत्तिहरूलाई चित्रित गर्न छैटौं स्वर्गदूतले आफ्नो कचौरा प्राचीन बेबिलोन भएको स्थलमा खन्याइ दिए। (प्रकाश १६:१, १२, १६) सम्भवतः यिनै स्वर्गदूतले यहोवाको न्यायकार्यान्वयन किन र कसरी हुन्छ, सो प्रकट गर्नेछन्‌। यूहन्‍नाले अब जे देख्छन्‌ र सुन्छन्‌, तीबाट उनी छक्क परेर स्तब्ध हुन्छन्‌: “ती सात कचौरा लिने सात दूतहरूमध्ये एउटाले यसो भनेर मसँग कुरा गरे, ‘यता आऊ, म तिमीलाई धेरै पानीहरूमाथि बस्ने त्यस महा-वेश्‍यामाथि भएको इन्साफ देखाउनेछु। जससँग पृथ्वीका राजाहरूले व्यभिचार गरे, र पृथ्वीमा रहनेहरू त्यसको व्यभिचारको मद्यले मात्तिएका थिए।’ ”—प्रकाश १७:१, २.

२. त्यो “महा वेश्‍या” (क) प्राचीन रोम होइन (ख) ठूलो व्यापार होइन तर (ग) एउटा धार्मिक समूह हो भनेर कुन कुराले प्रमाणित गर्छ?

“त्यस महा-वेश्‍या!” यति अपमानजनक उपाधि किन? ऊ को हो? कसैकसैले यस प्रतीकात्मक वेश्‍यालाई प्राचीन रोम भनी ठानेका छन्‌। तर रोम एउटा राजनैतिक शक्‍ति थियो। साथै, यस वेश्‍याले पृथ्वीका राजाहरूसित व्यभिचार गर्छे। स्वभाविकतः ती राजाहरूमा रोमका राजाहरू पनि सम्मिलित छन्‌। साथै, यस वेश्‍याको विनाशपछि “पृथ्वीका राजाहरूले” ऊ खतम भएकोमा विलाप गर्नेछन्‌। अतः ऊ कुनै राजनैतिक शक्‍ति हुनै सक्‍तैन। (प्रकाश १८:९, १०) यसबाहेक उसको लागि संसारका व्यापारीहरू पनि विलौना गर्दछन्‌। यसैकारण उसले व्यापारिक संसारलाई पनि चित्रित गरेको हुन सक्‍तैन। (प्रकाश १८:१५, १६) तथापि, उसको ‘जादूगरीले सारा जाति ठगिएका’ थिए भन्‍ने कुरा हामी पढ्‌छौं। (प्रकाश १८:२३) अतः स्पष्टतः त्यो महा वेश्‍या एउटा विश्‍वव्यापी धार्मिक समूह हुनुपर्छ।

३. (क) त्यो महा वेश्‍या किन रोमन क्याथोलिक चर्च अथवा सम्पूर्ण मसीहीजगत मात्र हुन सक्‍तैन? (ख) मसीहीजगतका सम्प्रदायहरू लगायत धेरै जसो पूर्वीय धर्महरूमा कुन बेबिलोनी धर्मसिद्धान्तहरू पाइन्छन्‌? (ग) मसीहीजगतका धेरै धर्मशिक्षाहरू, रीतिथितिहरू र चलनहरूको सुरुआतबारे रोमन क्याथोलिक कार्डिनल जॅन हेन्री न्युम्यानले के स्वीकारे? (फुटनोट हेर्नुहोस्‌।)

कुन धार्मिक समूह? कसैकसैले भने झैं के ऊ रोमन क्याथोलिक चर्च हो? अथवा के ऊ पूरै मसीहीजगत हो? होइन। जातिजातिलाई ठग्न सक्नका लागि ऊ उक्‍त समूहहरूभन्दा अझ धेरै नै विशाल हुनुपर्छ। वास्तवमा ऊ झूटो धर्मको विश्‍व साम्राज्य हो। तर उसको सुरुआत बेबिलोनका धार्मिक रहस्यमय शिक्षाहरूबीच भएको थियो। नभन्दै बेबिलोनी शिक्षा र रीतिथितिहरू आज विश्‍वभरिका धर्महरूमा छ्यासछ्यासती देख्न सकिन्छ। उदाहरणका लागि, मसीहीजगतका सम्प्रदायहरू लगायत प्रायः सबै नै पूर्वीय धर्महरूमा मानवप्राणको अमरत्व, सन्ताप भोग्ने नरक र देवताहरूको त्रि-एकतामा विश्‍वास गरिन्छ। बेबिलोनको प्राचीन शहरमा करीब ४,००० वर्षअघि जन्मेको झूटो धर्म आज त्यो आधुनिक राक्षस हुन गएको छ जसलाई स्वभाविकतः महान बेबिलोन भनिन्छ। a तथापि, उसलाई “महा वेश्‍या” भन्‍ने घृणास्पद उपाधि किन दिइएको?

४. (क) प्राचीन इस्राएलले कुन कुन ढङ्‌गमा आत्मिक व्यभिचार गऱ्‍यो? (ख) महान बेबिलोनले कुन विशेष ढङ्‌गमा व्यभिचार गरेको छ?

नबुकदनेसरको पालोमा बेबिलोन (अथवा बाबेल जसको अर्थ हो “गोलमाल”) आफ्नो शक्‍तिको शिखरमा पुगेको थियो। त्यो धर्म र राजनीति दुवै मिलेको एउटा राष्ट्र थियो। त्यहाँ हजारभन्दा थुप्रै मन्दिर र देवस्थलहरू थिए। त्यसका पूजारीहरू अति नै शक्‍तिशाली थिए। तर बेबिलोन एउटा विश्‍व-शक्‍तिको रूपमा नरहेको धेरै समय भइसक्यो। तापनि महान बेबिलोनको धर्म चाहिं आज यथावत छ। ऊ प्राचीन बेबिलोनले झैं अझ पनि राजनैतिक गतिविधिमा हात हाल्ने र त्यसलाई आफ्नो वशमा ल्याउने प्रयास गरिरहन्छ। तर के परमेश्‍वरलाई धर्म यसरी राजनीतिमा मुछिएको मन पर्छ र? इस्राएली जाति झूटो धर्मसित मुछिंदा तथा यहोवामाथि भरोसा राख्नुको सट्टा उसले अन्यजातिहरूसित सन्धि गर्दा उसमाथि वेश्‍यावृत्तिको आरोप लगाइएको थियो। (यर्मिया ३:६, ८, ९; इजकिएल १६:२८-३०) यस्तैप्रकार महान बेबिलोनले पनि व्यभिचार गर्छ। उसले पृथ्वीका शासनारूढ राजाहरूमाथि अख्तियार चलाउन तथा प्रभुत्व जमाउन आफूलाई जे ठीक लाग्छ सोही गर्दै आएको छ।—१ तिमोथी ४:१.

५. (क) धार्मिक पादरीहरू आज कुन लोकप्रियताको आनन्द उठाउँछन्‌? (ख) सांसारिक ख्यातिको अभिलाषा येशू ख्रीष्टका शब्दहरूको किन ठीक विपरीत छ?

उच्च सरकारी ओहदा पाउनका लागि आज धर्मगुरुहरूले अक्सर अभियानहरू चलाउने गर्छन्‌। कुनै कुनै देशहरूमा त तिनीहरूले शासन चलाउनमा समेत भाग लिन्छन्‌। मन्त्रीमण्डलको सदस्य बन्छन्‌। सन्‌ १९८८-मा दुइटा सुप्रसिद्ध प्रोटेस्टेन्ट पादरीहरूले संयुक्‍त राज्य अमेरिकाको राष्ट्रपतिको लागि चुनाव लडे। महान बेबिलोनका अगुवाहरू लोकप्रसिद्ध हुन साह्रै रुचाउँछन्‌; गण्यमान्य राजनैतिक नेताहरूसित तिनीहरूले मेलजोल राखेका फोटोहरू पनि अक्सर अखबारहरूमा छापिन्छ। तर यसको ठीक विपरीत येशूले चाहिं राजनैतिक गतिविधिहरूमा भाग लिन पटक्कै चाहनु भएन। उहाँले आफ्ना अनुयायीहरूबारे पनि यसो भन्‍नु भयो: “जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन्‌।”—यूहन्‍ना ६:१५; १७:१६; मत्ती ४:८-१०; साथै, याकूब ४:४-पनि हेर्नुहोस्‌.

आधुनिक ‘वेश्‍यावृत्ति’

६, ७. (क) जर्मनीमा हिट्‌लरको नाजी पार्टी कसरी सत्तामा आयो? (ख) संसारमा आधिपत्य जमाउने हिट्‌लरको अभियानलाई भेटिकन र नाजी जर्मनीबीच गरिएको सन्धिले कसरी मदद दियो?

राजनीतिमा भाग लिएर त्यस महा वेश्‍याले मानिसजातिलाई यति कष्ट दिएको छ कि बयान गरेर साध्य छैन। उदाहरणका लागि, जर्मनीमा हिट्‌लरलाई सत्तामा ल्याउने केही तथ्यहरू विचार गर्नु होस्‌। ती यति घीनलाग्दा छन्‌ कि आफ्नो वश चलेमा तिनलाई केहीले इतिहासका पुस्तकहरूबाट मेटाइनै दिने थिए। जर्मन संसदमा नाजी पार्टीको में १९२४-मा ३२ जना सदस्य थिए। तर ती घट्‌दै गएर में १९२८-सम्म त १२ जना सदस्य मात्र रह्‍यो। तथापि, १९३०-मा सारा संसार महामन्दीको चपेटमा पऱ्‍यो; यसको फायदा नाजीहरूले उठाइ हाले। जुलाई १९३२-को जर्मन चुनावमा ६०८ सीटहरूमध्ये २३० सीट तिनीहरूले जित्न सके। यसको थोरै समयपश्‍चात्‌ पोपद्वारा नियुक्‍त नाइट, भूतपूर्व चान्सलर फ्रान्ज फॅन पापेन नाजीहरूलाई मदत दिन अघि बढे। इतिहासकारहरूअनुसार, फॅन पापेन एउटा नयाँ पवित्र रोमन साम्राज्यको परिकल्पना गर्थे। उनी छोटो अवधिसम्म चान्सलर रहँदा पूरै असफल भएका थिए। त्यसकारण उनी अब नाजीहरूद्वारा शक्‍ति हासिल गर्ने आशामा थिए। जनवरी १९३३-सम्म उनले ठूल-ठूलो उद्योगपतिहरूलाई हिटलरको सहयोग गर्न राजी तुल्याए। उनकै अनेक चालद्वारा जनवरी ३०, १९३३-मा हिटलर जर्मनीको चान्सलर हुन पुगे। फॅन पापेन आफै चाहिं उप-चान्सलर नियुक्‍त भए। उनलाई हिटलरले जर्मनीका क्याथोलिकहरूको समर्थन जित्ने काममा प्रयोग गरे। सत्तामा आएको दुई महिना पछि नै हिटलरले संसद भङ्‌ग गरे। विरोधी दलका हजारौं नेताहरूलाई यातना शिविरहरूमा पठाइ दिए। त्यसपछि सुरु भयो यहूदीहरूलाई दबाउने खुलेआम अभियान।

नाजीवादको बढ्‌दो शक्‍तिमा भेटिकनको चासो जुलाई २०, १९३३-मा प्रदर्शित भयो। कार्डिनल पचेलीले (जो पछि पोप पायस १२-औं भए) रोममा भेटिकन र नाजी जर्मनीबीच एउटा सन्धि गरे। सो सन्धिमा फॅन पापेन हिटलरको प्रतिनिधि थिए। उनलाई पचेलीले ग्रेन्ड क्रस अफ द अर्डर अफ पायस भन्‍ने पोपको ठूलो तक्माले आभूषित गरे। b यसबारे टिबर किव्सले आफ्नो सेटन इन टप ह्‍याट भन्‍ने पुस्तकमा यसो भन्छन्‌: “त्यो सन्धि हिटलरका लागि एउटा ठूलो विजय थियो। बाहिरी संसारबाट तिनले पाएको यो प्रथम समर्थन थियो। र त्यो पनि सबैभन्दा उच्च स्रोतबाट।” सन्धिअनुसार भेटिकनले जर्मनीको क्याथोलिक सेन्टर पार्टीलाई समर्थन गर्न छाडनु परेको थियो। यसबाट जर्मनीमा हिटलरको दलको “एकाधिपत्य” हुने थियो। c सन्धिको १४ औं दफामा यसो पनि भनिएको थियो: “आर्कबिशप, बिशप र त्यस्ता अन्य ओहदामा कसैलाई खटाउनअघि जर्मन राष्ट्रमण्डलबाट नियुक्‍त राज्यपालको स्वीकृति लिनु पर्छ। उनले पनि सामान्य राजनैतिक छानबिन गरेर कुनै आपत्तिजनक कारण नदेखिएमा आफ्नो अनुमति दिनेछन्‌।” संसारमाथि आधिपत्य जमाउने हिटलरको अभियानमा भेटिकनको समर्थन १९३३-को अन्तसम्म (यस साललाई पोप पायस ११-औं ले “पवित्र वर्ष” घोषित गरे) एउटा प्रमुख कारण हुन गएको थियो।

८, ९. (क) नाजी अत्याचारहरूप्रति भेटिकनका साथै क्याथोलिक चर्चले कस्तो प्रतिक्रिया व्यक्‍त गरे? (ख) दोस्रो विश्‍वयुद्धको सुरुआतमा जर्मनीका क्याथोलिक बिशपहरूले के वक्‍तव्य दिए? (ग) धर्म र राजनीतिबीचको सम्बन्धको परिणाम के भएको छ?

हुन त एकाध पादरी र ननहरूले हिटलरको क्रूरताको विरोध गरे र यसका लागि दुःख समेत भोगे। तर आमतवरमा भेटिकन, क्याथोलिक गिर्जा र तिनीहरूका पादरीहरूले यो नाजी अत्याचारलाई आफ्नो सक्रिय समर्थन अथवा मौन स्वीकृति दिए। तिनीहरूको विचारमा विश्‍वको बढ्‌दो साम्यवादलाई नाजीवादले नै रोक्न सक्थ्यो। अतः भेटिकनमा गजक्क बसेका पोप पायस बाह्रौंले यहूदीहरू, यहोवाका साक्षीहरू र अरूहरूसित गरिएको क्रूरतालाई सरासर चलिरहन दिए। तर पोप पौल दोस्रोले चाहिं मे १९८७-मा आफ्नो जर्मन भ्रमणको दौडान नाजीवादको विरोध गर्ने एक जना इमान्दार पादरीको बडो प्रशंसा गरे। कति हास्यास्पद! किनकि हिटलरको त्यो त्रासपूर्ण शासनकालभरि जर्मनीका बाँकी हजारौं हजार पादरीहरू सबै कहाँ थिए? यसको जवाफ जर्मनीका क्याथोलिक बिशपहरूले सेप्टेम्बर १९३९-मा दोस्रो विश्‍वयुद्ध सुरु हुनासाथै जम्मै चर्चहरूलाई पठाएको एउटा औपचारिक पत्रमा पाउन सकिन्छ। सो पत्रको केही भाग यसप्रकार छ: “यस निर्णायक घडीमा हाम्रो नेताप्रति आफ्नो कर्त्तव्य आज्ञाकारितापूर्वक पूरा गर्न हामी सबै क्याथोलिक सिपाहीहरूसित आग्रह गर्दछौं। उनीहरू आफ्नो सारा व्यक्‍तित्वलाई नै अर्पण गर्न तयार होउन्‌। ईश्‍वरले यस युद्धलाई महान सफलता प्रदान गरून्‌ भनी उत्साहपूर्वक प्रार्थना गर्न हामी सबै विश्‍वासी जनहरूसित अनुरोध गर्छौं।”

यसप्रकारको क्याथोलिक कूटनीति, धर्मले बितेको ४,००० वर्षदेखि गर्दै आएको वेश्‍वावृत्तिको एउटा उदाहरण थियो। यसरी नै उसले आफ्नै शक्‍ति र फायदाका लागि राजनीतिलाई फुस्लाउँदै आएको छ। धर्म र राजनीतिको यस्तो सम्बन्धले युद्ध, सतावट र मानव सङ्‌कष्टलाई विस्तृत रूपमा बढावा दिएको छ। तर अब भने त्यो महा वेश्‍याको यहोवाले चाँडै नै नाश गर्नु हुनेछ। मानिसजातिका लागि यो कति आनन्दको खबर हुनेछ। त्यो न्याय चाँडै नै कार्यान्वयन होस्‌!

धेरै पानीहरूमा बसेको

१०. महान बेबिलोन आफ्नो सुरक्षाका लागि भर गर्ने “धेरै पानीहरू” के हुन्‌ र तिनीहरूलाई आज के भइरहेछ?

१० प्राचीन बेबिलोन धेरै पानीहरूमा अर्थात्‌ यूफ्रेटिस र अनेकौं कुलोहरूमाथि बसालिएको थियो। यी पानीहरूले उसलाई सुरक्षित राख्थ्यो। यी पानीहरू उसको धन कमाउने एउटा व्यापारिक स्रोत थियो। तर अचानक एकै रातमा ती पानीहरू जम्मै सुकी हाले। (यर्मिया ५०:३८; ५१:९, १२, १३) यस्तैप्रकार, महान बेबिलोन पनि आफूलाई सुरक्षित र धनसम्पन्‍न राख्न “धेरै पानीहरू”माथि भर गर्छ। यी प्रतीकात्मक पानीहरू भनेको “मानिसहरू, भीडहरू, जातिहरू र भाषाहरू” हुन्‌। अर्थात्‌ ती करोडौं मानिसहरू हुन्‌ जसमाथि उसले प्रभुत्व जमाएको छ र जसबाट उसले भौतिक मदत लिएको छ। तर यी पानीहरू पनि अब सुक्‍तैछन्‌। तिनीहरूले मदत दिन छाडदैछन्‌।—प्रकाश १७:१५; तुलना गर्नुहोस्‌ भजन १८:४; यशैया ८:७.

११. (क) प्राचीन बेबिलोनले कसरी ‘पृथ्वीमा रहनेहरूलाई बेहोश’ पारेको छ? (ख) महान बेबिलोनले कसरी ‘सारा पृथ्वीलाई’ ‘बेहोश’ पारेको छ?

११ यसबाहेक, प्राचीन बेबिलोनको तुलना “परमप्रभुको हातमा सारा पृथ्वीलाई मताउने सुनको कचौरा” सित गरिएको थियो। (यर्मिया ५१:७) प्राचीन बेबिलोनले छेउछाउका जातिहरूलाई यहोवाको क्रोधका अभिव्यक्‍तिहरू जबरजस्ती पिउन लगाउँथ्यो। उसले तिनीहरूमाथि सैनिक विजय हासिल गरेर तिनीहरूलाई मात्तिएका मानिसहरू जतिकै कमजोर तुल्याई दिन्थ्यो। ऊ यस मामिलामा यहोवाले प्रयोग गर्नु हुने एउटा माध्यम थियो। यस्तैप्रकार महान बेबिलोनले पनि अनेक विजय हासिल गरेको छ। यहाँसम्म कि उसले आफूलाई एउटा विश्‍व-साम्राज्य बनाएको छ। तर ऊ परमेश्‍वरले प्रयोग गर्नु हुने माध्यम चाहिं अवश्‍य होइन। बरु उसले त “पृथ्वीका राजाहरू”सित व्यभिचार गर्दै तिनीहरूकै सेवा गरेको छ। उसले आफ्ना झूटा शिक्षाहरू र क्रूर रीतिथितिहरूको प्रयोगद्वारा “पृथ्वीका बासिन्दाहरूलाई” मात्तिएका मानिसहरू झैं कमजोर र दाससरह तुल्याइदिएको छ। यसले गर्दा तिनीहरू सजिलैसित आफ्ना पार्थिव शासकहरूको वशमा परेका छन्‌।

१२. (क) दोस्रो विश्‍वयुद्धको दौडान महान बेबिलोनको एउटा भाग जापानमा भएको ठूलो रक्‍तपातका लागि कसरी जिम्मेवार भयो? (ख) जापानमा महान बेबिलोनलाई समर्थन गर्ने “पानीहरू” कसरी सुक्यो र यसको परिणाम के भएको छ?

१२ यसको एउटा ज्वलन्त उदाहरण शिन्टो धर्ममान्‍ने जापानमा देख्न सकिन्छ। त्यहाँका सम्राट अर्थात्‌ सर्वोच्च शिन्टो देवताका लागि आफ्नो प्राण अर्पण गर्न जापानी सिपाहीले आफ्नो सर्वमहान सौभाग्य सम्झन्थ्यो। दोस्रो विश्‍व-युद्धको दौडान करीब १५,००,००० जापानी सिपाहीहरू लडाइँमा मरे; मानिसको सामु हार मान्‍नु तिनीहरूको विचारमा अपमानजनक थियो। तर आखिर जापान पराजित भयो। आफूलाई देवता ठान्‍ने दाबी परित्याग गर्न सम्राट हिरोहिटो बाध्य भए। महान बेबिलोनको शिन्टो धर्म मान्‍ने भागलाई टेवा दिने “पानी” निकै नै कम भयो। तर अफसोस, त्यस बेलासम्म शिन्टो धर्मको अनुमतिद्वारा प्रशान्त युद्धको रङ्‌गमञ्चमा बाल्टिनको बाल्टिन रगत बगी सकेको थियो! तर यसरी शिन्टो धर्मको प्रभाव कमजोर भएपछि हालसालै २,००,००० भन्दा बढी जापानीहरूले सार्वभौम सर्वसत्ताधारी प्रभु यहोवाका समर्पित र बप्तिस्मा प्राप्त सेवकहरू हुने मौका पाए। यिनीहरूमध्ये धेरै जना पहिले शिन्टो धर्मावलम्बीहरू थिए।

वेश्‍या जानवरमाथि सवार हुन्छे

१३. स्वर्गदूतले आत्मामा यूहन्‍नालाई उजाडस्थानमा लैजाँदा उनले त्यहाँ के छक्कपर्दो दृश्‍य देख्छन्‌?

१३ त्यो महा वेश्‍या र उसको भविष्यबारे अग्रिमवाणी अझ के भन्छ? यूहन्‍नाको विवरणअनुसार अब एउटा अझ सनसनीपूर्ण दृश्‍य सामने आउँछ: “अनि तिनले [स्वर्गदूतले] मलाई आत्मामा बोकेर एउटा वनभित्र लगे। औ मैले सातवटा शिर र दशवटा सीङ भएको ईश्‍वर-निन्दाका नाउँहरूले भरिपूर भएको चहकिलो रातो रङ्‌गको जानवरमाथि बसेकी एउटी स्त्रीलाई देखें।”—प्रकाश १७:३.

१४. यूहन्‍नालाई उजाडस्थानमा लैजानु किन उपयुक्‍त छ?

१४ यूहन्‍ना उजाडस्थानमा किन लगिन्छन्‌? केही समयअघि प्राचीन बेबिलोनको विरुद्धमा गरिएको उद्‌घोषणालाई “समुद्र-किनारको उजाड-भूमिको विषयमा” गरिएको उद्‌घोषणा भनेर वर्णन गरिएको थियो। (यशैया २१:१, ९) यो उद्‌घोषणा एउटा चेताउनी थियो। वरिपरि आफूलाई सुरक्षित राख्ने पानी हुँदाहुँदै पनि अन्ततः प्राचीन बेबिलोन बन्जर उजाडस्थान बन्‍ने थियो। यसैअनुरूप, महान बेबिलोन पनि अन्तमा नीर्जिव र उजाड हुनेछ। अतः उसको भविष्य हेर्न यूहन्‍नालाई दर्शनद्वारा उजाडस्थानमा लैजानु उपयुक्‍त छ। (प्रकाश १८:१९, २२, २३) तथापि, त्यहाँका कुराहरू देखेर यूहन्‍ना छक्क पर्छन्‌। महा वेश्‍या एक्लो छैन! ऊ एउटा डरलाग्दो जङ्‌गली जनावरमाथि सवार छे!

१५. प्रकाश १३:१ र प्रकाश १७:३-को जङ्‌गली जनावरबीचका भिन्‍नताहरू के हुन्‌?

१५ यस जङ्‌गली जनावरको सात शिर र दश सीङ छ। के यो कतै त्यही जनावर त होइन जसलाई यूहन्‍नाले केही समयअघि देखेका थिए? किनकि त्यस जानवरको पनि सात शिर र दश सीङ छ। (प्रकाश १३:१) तर होइन, यी दुई बीच भिन्‍नताहरू पनि छन्‌। यो जङ्‌गली जनावर चहकिलो रातो रङ्‌गको छ। अघिल्लो जानवरले राजमुकुट पहिरेको थियो। तर यस जानवरको शिरमा राजमुकुट छैन। पहिलेको जानवरका सात शिरहरूमा मात्र ईश्‍वर-निन्दाका नाउँहरू थिए। यो जानवर भने “ईश्‍वर-निन्दाका नाउँहरूले भरिपूर” छ। तापनि यो नयाँ जानवर र पहिलेको जानवरबीच केही न केही सम्बन्ध हुनै पर्छ; यी दुई बीचका समानताहरू यति स्पष्ट छन्‌ कि ती संयोग मात्र हुन सक्‍तैनन्‌।

१६. चहकिलो रातो रङ्‌गको जानवर वास्तवमा हो के र त्यसको उद्देश्‍यबारे के भनिएको छ?

१६ अतः यो नयाँ चहकिलो रातो रङ्‌गको जानवर के हो? यो ठीक पनि प्रथम जानवरको मूर्ति हुनुपर्छ जसलाई बनाउने आदेश थुमाको जस्तै दुई सीङ भएको एङ्‌गलो अमेरिकी जानवरले दिएको थियो। मूर्ति बनी सकेपछि दुई सीङ भएको जानवरलाई त्यस मूर्तिमा सास हाल्ने अनुमति प्रदान गरियो। (प्रकाश १३:१४, १५) यूहन्‍नाले अब सजीव र सास फेरिरहेको मूर्ति देख्छन्‌। यस मूर्तिले राष्ट्र संघलाई चित्रित गर्छ। यसलाई त्यो दुई सीङ भएको जनावरले १९२०-मा जीवन प्रदान गरेको थियो। यो संघ “सबै मानिसहरूलाई न्याय प्रदान गर्ने र युद्धको खतरालाई सधैंका लागि मेटाइ दिने मञ्च हुनेछ” भनी संयुक्‍त राज्य अमेरिकाका राष्ट्रपति श्री विल्सनले कल्पना गरेका थिए। दोस्रो विश्‍व-युद्धपश्‍चात्‌ यसलाई फेरि संयुक्‍त राष्ट्र संघको रूपमा “अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम” राख्ने उद्देश्‍यले पुनः जीवित पारिएको थियो।

१७. (क) चहकिलो रातो रङ्‌गको जनावर ईश्‍वरनिन्दाका नाउँहरूले किन भरपूर छ? (ख) रातो रङ्‌गको जानवरमाथि को सवार छ? (ग) राष्ट्र संघ र त्यसको उत्तराधिकारीसित कसरी बेबिलोनी धर्महरूले सुरुदेखि नै सम्बन्ध जोडेका छन्‌?

१७ यो लाक्षणिक जङ्‌गली जनावर किन ईश्‍वर-निन्दाका नाउँहरूले भरपूर छ? किनभने मानिसहरूले यो अन्तर्जातीय मूर्तिलाई परमेश्‍वरको राज्यलाई दिनु पर्ने सम्मान दिएका छन्‌। जुन कुरा परमेश्‍वरको राज्यद्वारा मात्र हुन सक्छ, सो कुरा तिनीहरू यस मूर्तिद्वारा हुनेछ भन्छन्‌। (दानियल २:४४; मत्ती १२:१८, २१) तर यूहन्‍नाको दर्शनको सबैभन्दा अचम्मको कुरा के छ भने यो चहकिलो रातो रङ्‌गको जानवरमाथि महान बेबिलोन स्वयं सवार छ। भविष्यवाणीलाई सत्य साबित गर्दै बेबिलोनी धर्म, विशेषगरी मसीहीजगतले राष्ट्र संघ तथा त्यसको उत्तराधिकारीसित सम्बन्ध जोडेको छ। नेशनल काउन्सिल अफ द चर्चेज अफ क्राइस्ट इन अमेरिका भन्‍ने सङ्‌गठनले डिसेम्बर १८, १९१८-मै एउटा प्रस्तावना पारित गरेको थियो। सो प्रस्तावनाको केही भाग यसप्रकार थियो: “यो संघ कुनै साधारण राजनैतिक प्रयोग होइन। यो त परमेश्‍वरको राज्यको राजनैतिक अभिव्यक्‍ति हो। . . . यसप्रति चर्चले शुभेच्छा प्रकट गर्छ। यो शुभेच्छा बिना राष्ट्र संघ टिक्नै सक्‍तैन। . . . राष्ट्र संघ येशूको सुसुमाचारमै आधारित छ। येशूको सुसमाचारजस्तै यस संघको उद्देश्‍य पनि ‘पृथ्वीमा शान्ति र मानिसहरूको कल्याण हो।’ ”

१८. मसीहीजगतका पादरीहरूले राष्ट्र संघका लागि कसरी आफ्नो समर्थन जनाए?

१८ जनवरी २, १९१९-मा सान फ्रान्सिस्को क्रोनिकल-को मुखपृष्ठमा यो शीर्षक छापिएको थियो: “विल्सनको राष्ट्र संघलाई स्वीकृति दिनु होस्‌ भनी पोप अनुरोध गर्छन्‌।” मुख्य सम्प्रदायहरूका १४,४५० पादरीहरूले हस्ताक्षर गरेको दरखास्त अक्टोबर १६, १९१९-को दिन संयुक्‍त राज्यको संसदमा प्रस्तुत गरियो। उक्‍त दरखास्तद्वारा “राष्ट्र संघलाई समाविष्ट गर्दै पेरिसको शान्ति सन्धिलाई अनुमोदन दिने” अनुरोध संसदसित गरियो। तथापि संयुक्‍त राज्य अमेरिकाको संसदले सो सन्धिलाई अनुमोदन दिन सकेन। तापनि मसीहीजगतका पादरीहरूले चाहिं राष्ट्र संघको पक्षमा अभियान चलाइ नै राखे। अन्ततः संघको उद्‌घाटन कसरी गरियो? नोभेम्बर १५, १९२०-का दिन स्वीजरलैण्डबाट पठाइएको समाचार-पत्रमा यसो भनिएको थियो: “आज बिहान ११ बजे, जेनेवाका सबै चर्चहरूमा घण्टी बजाएर राष्ट्र संघको प्रथम बैठकको घोषणा गरियो।”

१९. चहकिलो रातो रङ्‌गको जानवर देखापर्दा यूहन्‍नावर्गले के कदम चाले?

१९ मसीही राज्यको आगमनलाई उत्सुकतासाथ स्वीकार गर्ने पृथ्वीको एक मात्र समूह यूहन्‍नावर्ग थियो। के यस वर्गले पनि मसीहीजगतसित मिलेर त्यो चहकिलो रातो जनावरको अभिनन्दन गऱ्‍यो? पटक्कै गरेन। बरु आइतवार, सेप्टेम्बर ७, १९१९-को दिन, सिडर प्वाँइन्ट ओहायोमा आयोजित यहोवाका जनहरूको सम्मेलनमा “शोकाकुल मानवजातिका लागि आशा” भन्‍ने भाषण प्रस्तुत गरियो। त्यसको भोलिपल्ट, सेन्डस्की स्टार जर्नल-ले उक्‍त भाषणबारे रिपोर्ट दिएको थियो। यस रिपोर्टअनुसार जे. एफ. रदरफर्डले करीब ७,०००-मानिसहरूलाई सम्बोधन गर्दै भनेका थिए कि “प्रभुको क्रोध यस संघमाथि निश्‍चय नै पोखिनेछ . . . किनभने परमेश्‍वरका प्रतिनिधि हुने दाबी गर्ने दुवै क्याथोलिक र प्रोटेस्टेन्ट पादरीहरूले उहाँको योजनालाई त्यागेर राष्ट्र संघलाई अनुमोदन दिएका छन्‌। तिनीहरूले यस संघलाई नै पृथ्वीमा ख्रीष्टको राज्यको राजनैतिक अभिव्यक्‍तिको रूपमा स्वीकारेका छन्‌।”

२०. पादरीहरूले राष्ट्र संघलाई “परमेश्‍वरको राज्यको राजनैतिक अभिव्यक्‍ति”को रूपमा स्वागत गर्नु किन ईश्‍वर-निन्दा गर्नु सरह थियो?

२० नभन्दै राष्ट्र संघ नराम्रोगरी विफल भयो। ती पादरीहरूले बुझ्नु थियो कि यस्ता मानवनिर्मित संगठनहरू परमेश्‍वरको राज्यको पार्थिव भाग हुनै सक्‍तैन। यस्तो दाबी गर्नु कस्तो ईश्‍वर निन्दा थियो! यस्तो दाबीले स्वयं परमेश्‍वरलाई त्यो संघ जस्तो ठूलो भद्रगोलको सहभागी बनाउन खोज्यो। जबकि परमेश्‍वरको सबै “काम सिद्ध छ।” शान्ति स्थापित गर्ने तथा स्वर्गमा झैं पृथ्वीमा पनि आफ्नो इच्छा पूरा गर्ने ईश्‍वरीय माध्यम यी झगडालु र प्रायः नास्तिक राजनीतिज्ञहरूको मिश्रण हुन सक्‍तैन। ईश्‍वरीय माध्यम त यहोवाको स्वर्गीय राज्य हो जसलाई ख्रीष्टको हातमा सुम्पिएको छ।—व्यवस्था ३२:४; मत्ती ६:१०.

२१. महा वेश्‍याले संघको उत्तराधिकारी संयुक्‍त राष्ट्र संघलाई पनि समर्थन र प्रशंसा गर्छ भनेर कसरी प्रदर्शित हुन्छ?

२१ तर पछि संघको ठाउँमा आउने संयुक्‍त राष्ट्र संघ नि? यसमाथि पनि सुरुदेखि नै महा वेश्‍या सवार छे। संघ र वेश्‍या स्पष्टतः सम्बन्धित छन्‌। त्यसको भविष्यलाई पनि महा वेश्‍याले नै डोऱ्‍याउने प्रयास गर्दै छे। उदाहरणका लागि, १९६५-को जून महिनामा त्यसको २०-औं वार्षिकोत्सवका लागि रोमन क्याथोलिक चर्च र इस्टर्न अर्थोडक्स चर्चका साथै प्रोटेस्टेन्ट, यहूदी, हिन्दू, बौद्ध र इस्लाम धर्म मान्‍ने करीब २ करोड मानिसहरूका प्रतिनिधिहरू सानफ्रेन्सिस्कोमा भेला भएर संयुक्‍त राष्ट्र संघका लागि समर्थन र प्रशंसा व्यक्‍त गरे। अक्टोबर १९६५-मा पोप पौल छैटौंले पनि संयुक्‍त राष्ट्र संघको भ्रमण गर्दा त्यसलाई “सबै अन्तर्राष्ट्रिय मानव सङ्‌गठनहरू भन्दा महान”-घोषित गरे। उनले यसो पनि भने: “पृथ्वीका मानिसहरूले संयुक्‍त राष्ट्रलाई नै एकता र शान्तिको एक मात्र आशा मानेका छन्‌।” यस्तैप्रकार अक्टोबर १९७९-मा पोप जॅन पौल दोस्रोले संयुक्‍त राष्ट्र संघलाई सम्बोधन गर्दै यो विचार व्यक्‍त गरे: “संयुक्‍त राष्ट्र सधैं नै शान्ति र न्यायको सर्वश्रेष्ठ मञ्च रहिरहनेछ भनी म आशा गर्दछु।” यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने पोपले आफ्नो भाषणमा येशू ख्रीष्ट अथवा परमेश्‍वरको राज्यलाई खासै महत्त्व दिएनन्‌। द न्यु योर्क टाइम्स-को रिपोर्टअनुसार सेप्टेम्बर १९८७-मा संयुक्‍त राज्य अमेरिकाको आफ्नो भ्रमणको दौडान “जॅन पौलले धेरै बेरसम्म ‘नयाँ विश्‍वव्यापी एकता’ कायम गर्नमा संयुक्‍त राष्ट्र संघको भूमिकाबारे चर्चा गरे।”

एउटा नाउँ, एउटा रहस्य

२२. (क) महा वेश्‍याले कस्तो जानवरमाथि सवार हुन रुचाएकी छे? (ख) प्रतीकात्मक वेश्‍या महान बेबिलोनको वर्णन यूहन्‍नाले कसरी गर्छन्‌?

२२ त्यो महा वेश्‍या सवार भएको जनावर कति खतरनाक छ, सो प्रेरित यूहन्‍नाले अब चाँडै थाह पाउनेछन्‌। तर पहिले उनको ध्यान स्वयं महान बेबिलोन तर्फ खिंचिन्छ। ऊ गरगहनाले झकमक्क छे। तर कस्तो घृणास्पद! “त्यो स्त्रीले बैजनी र चहकिलो रातो लुगा पहिरेकी, औ सुन, रत्न र मोतीहरूले सिङारिएकी, औ घृणित कुरा, अर्थात्‌ त्यसको व्यभिचारका अशुद्ध कुराहरू भरिएको एउटा सुनको कचौरा हातमा लिएकी थिई। औ त्यसको निधारमा एउटा यस्तो नाउँ लेखिएको थियो, ‘रहस्य, पृथ्वीका वेश्‍याहरू र घृणित कुराहरूकी आमा, महान बेबिलोन!’ अनि मैले त्यस स्त्रीलाई पवित्र जनहरूको रगत र येशूका शहीदहरूका रगत पिएर मात्तिएकी देखें।’ ”—प्रकाश १७:४-६क.

२३. महान बेबिलोनको पूरा नाउँ र त्यसको महत्त्व के हो?

२३ प्राचीन रोमको चलनअनुसार, यो वेश्‍याको नाउँ उसको निधारमा लेखिएको छ। d त्यो नाउँ निकै लामो छ: “महान बेबिलोन, पृथ्वीका वेश्‍याहरू र घृणित कुराहरूकी आमा।” त्यो नाउँ एउटा “रहस्य” हो। त्यसको गुप्त अर्थ छ। तर परमेश्‍वरको समयमा त्यो रहस्य खुल्नेछ। वास्तवमा यहोवाका सेवकहरूलाई त्यो वर्णनात्मक नाउँको पूरा महत्त्व बुझ्ने सहायता दिन स्वर्गदूतले यूहन्‍नालाई यथेष्ट जानकारी दिन्छन्‌। महान बेबिलोन सम्पूर्ण झूटो धर्म हो भनी हामीले बुझेका छौं। ऊ “वेश्‍याहरूकी आमा” हो। किनभने मसीही धर्मका विभिन्‍न सम्प्रदायहरू लगायत संसारका जम्मै झूटा धर्महरू उसकी छोरीहरू जस्तै हुन्‌। तिनीहरू जम्मैले उसैको आत्मिक वेश्‍यावृत्ति अनुसरण गर्छन्‌। ऊ “घृणित कुराहरूकी” आमा पनि हो। किनकि मूर्तिपूजा, प्रेतवाद, जोखाना हेर्ने चलन, ज्योतिष विद्या, हस्तरेखा शास्त्र, मानव बलिदान, मन्दिरमा गरिने वेश्‍यावृत्ति, झूटा देवताहरूको सम्मानमा मतवालापन र यस्ता अन्य घृणित रीतिथितिहरूलाई उसैले जन्म दिएको छ।

२४. महान बेबिलोनले “बैजनी र चहकिलो रातो रङ्‌ग”-को लुगा र “सुन, रत्न र मोती” पहिरनु किन उचित छ?

२४ महान बेबिलोनले “बैजनी र चहकिलो रातो” रङ्‌गको कपडा पहिरेको छ। यी दुवै शाही रङ्‌ग हुन्‌। ऊ “सुन, रत्न र मोतीहरूले” पनि सिङ्‌गारिएको छ। कति उपयुक्‍त! यस संसारका धर्महरूले थुपारेका भव्य भवनहरू, मूर्तिहरू, नक्साहरू, अन्यप्रकारका धार्मिक सरसामान र हिसाब गरी नसक्ने जग्गाजमीन र पैसाबारे एकछिन गौर गर्नुहोस्‌! चाहे ती भेटिकनको होस्‌, वा संयुक्‍त राज्य अमेरिकामा केन्द्रित धर्मप्रचारकहरूको टिभी साम्राज्यको होस्‌ अथवा पूर्वीय देशहरूका सुन्दर सुन्दर गोम्बा र मन्दिरहरूकै किन नहोस्‌। हो, अचाक्ली धेरै नै धन-सम्पत्ति महान बेबिलोनले थुपारेको छ तथा कहिले काहिं गुमाएको पनि छ।

२५. (क) “व्यभिचारका अशुद्ध कुराहरूले भरिएको कचौरा” कुन कुराको प्रतीक हो? (ख) प्रतीकात्मक वेश्‍या कुन अर्थमा मात्तिएकी छे?

२५ अब हेर्नुहोस्‌, त्यस वेश्‍याको हातमा के छ। त्यो देखेर यूहन्‍ना निश्‍चय पनि दङ्‌ग परे होलान्‌। उसले आफ्नो “व्यभिचारका अशुद्ध कुराहरू भरिएको एउटा सुनको कचौरा हातमा लिएकी” छे! यसै कचौरामा उसको “व्यभिचारको मद्य” छ जसबाट उसले सारा जातिहरूलाई पिउन लगाएकी छे। (प्रकाश १४:८; १७:४) त्यो कचौरा बाहिरबाट हेर्दा त शानदार छ। तर भित्रपट्टि चाहिं त्यो अशुद्ध र घृणित कुराहरूले भरिएको छ। (मत्ती २३:२५, २६ तुलना गर्नुहोस्‌।) त्यसमा ती जम्मै फोहोर रीतिथितिहरू र झूटहरू छन्‌ जसको प्रयोग गर्दै यस महा वेश्‍याले जातिजातिहरूलाई भडकाएर आफ्नो वशमा पारेकी छे। योभन्दा अझ घीनलाग्दो कुरा चाहिं त्यो वेश्‍या स्वयं परमेश्‍वरका सेवकहरूको रगतले मात्तिएकी छे! केही समयपछि हामी पढ्‌नेछौं कि उसैमा “अगमवक्‍ताहरू, पवित्र जनहरू र पृथ्वीमा मारिएका सबैका रगत पाइएको” छ। (प्रकाश १८:२४) कति ठूलो रक्‍त दोष!

२६. महान बेबिलोन रक्‍तदोषी छ भन्‍ने प्रमाण के हो?

२६ बितेका शताब्दीहरूभरि झूटो धर्मको विश्‍व-साम्राज्यले रगतको सागर बगाएको छ। उदाहरणका लागि, मध्यकालीन जापानमा, क्योटोका मन्दिरहरू युद्धका गढहरूमा परिणत भए। योद्धा भिक्षुहरूले “बुद्धको पवित्र नाउँ जप्दै” आपसमा युद्ध गरे। सडकहरूमा रगतको खोला बग्यो। बीसौं शताब्दीमा पनि मसीहीजगतका पादरीहरू युद्ध गर्न आ-आफ्नो देशका सेनाहरूसित अघि बढे। तिनीहरूले एकअर्काको हत्या गरे। कमसेकम १० करोड मानिसहरूले आफ्नो ज्यान गुमाए। अक्टोबर १९८७-मा संयुक्‍त राज्य अमेरिकाका भूतपूर्व राष्ट्रपति निक्सनले यसो भनेका थिए: “इतिहासभरि सबैभन्दा बढी रक्‍तपात यो २०-औं शताब्दीमै भएको छ। यस शताब्दीका युद्धहरूमा जति जना मानिसहरू मारिए त्यति त यो शताब्दी सुरु हुनुभन्दा पहिले भएका जम्मै युद्धहरूमा पनि मारिएनन्‌।” यसमा संसारका धर्महरूले जुन भूमिका निभाएका छन्‌, त्यसका लागि परमेश्‍वरले तिनीहरूलाई दोषी ठान्‍नु हुन्छ; “निर्दोष रगत बगाउने हात”-लाई यहोवा घृणा गर्नुहुन्छ। (हितोपदेश ६:१६, १७) योभन्दाअघि यूहन्‍नाले वेदीबाट यसो भन्‍ने एउटा पुकार सुनेका थिए: “हे प्रभु, हे पवित्र र सत्य, अझै कतिसम्म तपाईंले पृथ्वीमा रहनेहरूलाई इन्साफ गरेर हाम्रो रगतको बदला दिनुहुन्‍न?” (प्रकाश ६:१०) यस प्रश्‍नको उत्तर दिने बेला आएपछि पृथ्वीका वेश्‍याहरू र घृणित कुराहरूकी आमा महान बेबिलोन विशेष ढङ्‌गमा विथोलित हुनेछ।

[फुटनोटहरू]

a धर्मत्यागी मसीहीजगतका थुप्रै शिक्षा, क्रियाकलाप र रीतिथितिहरूको गैरमसीही सुरुआतबारे १९-औं शताब्दीको रोमन क्याथोलिक कार्डिनल जॅन हेन्री न्युम्यानले आफ्नो एसे अन द डिवेलपमेन्ट अफ क्रिश्‍चियन डक्‌ट्रिन-मा यसप्रकार लेखे: “रूखहरूका हाँगाहरूले समय समयमा सिंगारिएका र सन्तहरूलाई समर्पित मन्दिरहरू; धूप, दियो र मैनबत्ती; बिरामीबाट निको हुँदा पूरा गर्नु पर्ने भाकलहरू; पवित्र जल; आश्रमहरू; धार्मिक दिवस र ऋतुहरू; तिथिपात्रोहरू, जुलुसहरू, खेतीपातीको निम्ति दिइने आशिष्‌; पूजारीहरूले लाउने विशेष वस्त्र, मुण्डन, विवाहको औंठी, पूर्वतिर फर्कने चलन, मूर्तिहरू, पछिगएर सम्भवतः धार्मिक जपन र काइरी एलाइसन [“प्रभु, कृपा गर्नुहोस्‌”] भन्‍ने भजन जम्मैको सुरुआत गैरमसीही हो र ती जम्मैलाई चर्चले अपनाएर पवित्र तुल्याएको छ।”

तर यसप्रकारको मूर्तिपूजालाई पवित्र तुल्याउनुको सट्टा “तिनीहरूका बीचबाट निस्केर आओ, र तिमीहरू अलग होओ। . . . अशुद्ध कुरा नछोओ” भनेर “सर्वशक्‍तिमान” यहोवाले मसीहीहरूसित आग्रह गर्नु भएको छ।—२ कोरिन्थी ६:१४-१८.

b विलियम एल. शिररको द राइज एण्ड फल अफ द थर्ड राइख्‌ भन्‍ने ऐतिहासिक पुस्तकले भन्छ कि “हिटलरलाई सत्तामा ल्याउन फॅन पापेन जतिको जिम्मेवार थियो, त्यति त सारा जर्मनीमा अरू कोही थिएन।” जनवरी १९३३-मा भूतपूर्व जर्मन चान्सलर फॅन स्लाइडरले फॅन पापेनबारे यसो भने: “ऊ जस्तो गद्दारको सामु यहूदा इस्केरियोती पनि एउटा सन्त देखिन्छ।”

c मे १४, १९२९-को दिन मन्द्रागोन कलेजलाई सम्बोधन गर्दै पोप पायस एघारौंले यहाँसम्म भने कि मानिसहरूको प्राणको भलाइका लागि आवश्‍यक परेमा उनी स्वयं शैतानसित पनि सम्झौता गर्न तयार छन्‌।

d रोमन लेखक सेनेकाले एउटी पतित पुजारिन्‌लाई सम्बोधन गरेका शब्दहरू तुलना गर्नुहोस्‌ जसको उद्धरण स्वेटले यसप्रकार गरेका छन्‌: “ए युवती, तिमी बदनाम घरमा उभिएकी थियौ। . . . तिम्रो नाउँ तिम्रो निधारमै झुन्डिएको थियो; तिमीले आफ्नो अपमानको बापत पैसा थाप्यौ।” (कन्ट्रोव. १, २)

[अध्ययनका लागि प्रश्‍नहरू]

[पृष्ठ २३७-मा भएको पेटी]

चर्चिलले ‘वेश्‍यावृत्ति’ पर्दाफास गर्छ

आफ्नो पुस्तक द गेदरङ्‌ग स्टर्म (१९४८), मा उल्लिखित विन्स्टन चर्चिलको रिपोर्टअनुसार हिटलरले “अस्ट्रियन राजनीतिका विशिष्ट मानिसहरूलाई या त खतम पार्न अथवा आफ्नो पक्षमा लिन” फ्रान्ज फॅन पापेनलाई भिएनामा जर्मन मन्त्री बनाएर पठाएका थिए। भिएनामा स्थित संयुक्‍त राज्य अमेरिकाको मन्त्रीले फॅन पापेनबारे भनेको कुरा चर्चिलले यसप्रकार उद्धृत गरे: “पापेनले मलाई साफसाफ र व्यंग्यात्मक ढंगमा भने कि एउटा असल क्याथोलिक हुने जुन प्रतिष्ठा उनको छ, त्यसलाई उनले कार्डिनल इनिट्‌जरजस्ता अस्ट्रियन क्याथोलिकहरूमाथि प्रभाव पार्ने काममा प्रयोग गर्ने छन्‌।”

अस्ट्रियाको पराजयपश्‍चात्‌ तथा हिटलरका कुख्यात सेनाहरू भिएनाभित्र प्रवेश गरी सकेपछि, कार्डिनल इनिट्‌जरले अस्ट्रियाका जम्मै चर्चहरूमा जर्मनीको स्वस्तिका झण्डा फहराउन, घण्टाहरू बजाउन र एडोल्फ हिटलरको जन्मदिनको सम्मानमा उनका लागि प्रार्थना गर्ने आदेश दिए।

[पृष्ठ २३८-मा भएको पेटी/चित्र]

उपरोक्‍त शीर्षकमनि डिसेम्बर ७, १९४१को द न्यु योर्क टाइम्स-को प्रथम संस्करणमा यो लेख छापिएको थियो। सोही दिन नाजी जर्मनीको मित्रराष्ट्र जापानले संयुक्‍त राज्य अमेरीकाको नौसेनामाथि पर्ल हार्बरमा आक्रमण गऱ्‍यो

[पृष्ठ २४४-मा भएको पेटी]

“ईश्‍वर-निन्दाका नाउँहरू”

दुई सीङ भएको जनावरले राष्ट्र संघलाई प्रथम विश्‍व-युद्ध पश्‍चात्‌ समर्थन गरेपछि त्यसका थुप्रै धार्मिक मित्रहरूले पनि तुरुन्तै यस कदमलाई धार्मिक सराहना दिन खोजे। परिणामस्वरूप, यो नयाँ शान्ति संगठन “ईश्‍वर-निन्दाका नाउँहरूले” भरपूर भयो।

“मसीही धर्मले राष्ट्र संघलाई शुभेच्छा तथा बल प्रदान गर्न सक्छ र यसले गर्दा उक्‍त सन्धि कागतको टुक्राबाट परमेश्‍वरको राज्यको माध्यममा परिणत हुनेछ।”—द क्रिश्‍चयन सेन्चुरी, संयुक्‍त राज्य अमेरिका, जून १९, १९१९, १५ पृष्ठ।

“विश्‍वव्यापी शान्ति कायम गर्ने परमेश्‍वरको राज्यलाई अन्तर्राष्ट्रिय सम्बन्धमा परिणत गर्ने माध्यम राष्ट्र संघ हो। . . . यो त्यही चीज हो जसका लागि मसीहीहरूले ‘तपाईंको राज्य आओस्‌’ भन्दै प्राथर्ना गर्छन्‌।”—द क्रिश्‍चियन सेन्चुरी, संयुक्‍त राज्य अमेरिका, सेप्टेम्बर २५, १९१९, पृष्ठ ७.

“राष्ट्र संघलाई बल दिने तत्त्व नै ख्रीष्टको रगत हो।”—डा. फ्रेन्क क्रेन, प्रोटेस्टेन्ट पादरी, संयुक्‍त राज्य अमेरिका।

“द [न्याश्‍नल] काउन्सिल अफ [कँग्रिगेश्‍नल चर्चहरूले] [राष्ट्र संघको] वाचालाई त्यो एक मात्र राजनैतिक माध्यम मान्छन्‌ जसबाट येशू ख्रीष्टको आत्मा जातिजातिहरूको मामिलामा व्यावहारिक र विस्तृत रूपमा प्रयोग हुन सक्नेछ।”— दी कँग्रिगेश्‍नलिस्ट एण्ड एडभान्स, संयुक्‍त राज्य अमेरिका, नभेम्बर ६, १९१९, पृष्ठ ६४२.

“यस सम्मेलनले सबै मेथोडिस्टहरूलाई पिता परमेश्‍वर र परमेश्‍वरका पार्थिव सन्तानले व्यक्‍त गरेका [राष्ट्र संघका] भावनाहरूलाई व्यक्‍त गर्ने तथा आदर्शहरूलाई मान्‍ने आह्वान गर्छ।”—द वेस्लियन मेथोडिस्ट चर्च, ब्रिटेन.

“हामीले यस सम्झौताका आकाङ्‌क्षाहरू, सम्भावनाहरू र प्रस्तावनाहरूलाई विचार गर्दा तिनमा हामी येशू ख्रीष्टका शिक्षाहरूको मूल सार देख्तछौं। अर्थात्‌ परमेश्‍वरको राज्य र उहाँको धार्मिकता। . . . उक्‍त सम्झौता योभन्दा केही कम छैन।”—डिसेम्बर ३, १९२२, जेनेवामा आर्कबिशप अफ केन्टरबेरीले राष्ट्र संघको उद्‌घाटन समारोहमा दिएको भाषण।

“कुनै पनि मानवीय मिसनरी सोसाइटीसित हुने पवित्र आत्मा यस देशको राष्ट्र संघ समितिमा पनि छ। किनभने जातिजातिहरूमा शान्तिको राजकुमारको हैसियतमा शासन चलाउनु हुने ख्रीष्टको सबैभन्दा प्रभावकारी माध्यम वर्तमानमा यो राष्ट्र संघ हो।”—डा. गार्वी, कँग्रिगेश्‍नलिस्ट पादरी, ब्रिटेन।

[पृष्ठ २३६-मा भएको नक्सा]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

संसारभरि विश्‍वास गरिएका झूटा धर्मशिक्षाहरू बेबिलोन मै सुरु भएका थिए

बेबिलोन

देवताहरूको त्रि-एकता

मानव प्राण मृत्युपश्‍चात्‌ पनि जिउँदै हुन्छ

प्रेतवाद—“मृतकहरू”सित राख्ने सम्पर्क

उपासनामा मूर्तिहरूको प्रयोग

प्रेतहरूलाई शान्त पार्ने मन्त्रहरू

शक्‍तिशाली पूजारीहरूवर्गद्वारा शासन

[पृष्ठ २३९-मा भएको चित्र]

प्राचीन बेबिलोन धेरै पानीहरूमा बसेको थियो

[पृष्ठ २३९-मा भएको चित्र]

आज पनि महा वेश्‍या “धेरै पानीहरूमा” बसेकी छे

[पृष्ठ २४१-मा भएको चित्र]

महान बेबिलोन खतरनाक जङ्‌गली जानवरमाथि सवार छे

[पृष्ठ २४२-मा भएको चित्र]

त्यो धार्मिक वेश्‍याले पृथ्वीका राजाहरूसित व्यभिचार गरेकी छे

[पृष्ठ २४५-मा भएको चित्र]

त्यो आइमाई “पवित्र जनहरूको रगतले मात्तिएकी” छे