सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

त्यो देदीप्यमान शहर

त्यो देदीप्यमान शहर

अध्याय ४३

त्यो देदीप्यमान शहर

दर्शन १६—प्रकाश २१:९–२२:५

विषय: नयाँ यरूशलेमको एउटा विवरण

पूर्ति समयावधि: महा सङ्‌कष्ट र शैतानलाई अगाध खाँदमा हालेपछि

१, २. (क) स्वर्गदूतले यूहन्‍नालाई नयाँ यरूशलेम हेर्न कहाँ लैजान्छन्‌ र यहाँ हामी के खास भिन्‍नता देख्छौं? (ख) यो नै प्रकाशको पुस्तकको महान चरमोत्कर्ष किन हो?

 एक जना स्वर्गदूतले यूहन्‍नालाई महान बेबिलोन देखाउन उजाडस्थानमा लगेका थिए। अब स्वर्गदूतहरूको सोही समूहबाट एक जना अर्कोले यूहन्‍नालाई अल्गो पवर्तमा लैजान्छन्‌। यहाँबाट यूहन्‍नाले एकदमै बेग्लै दृश्‍य देख्छन्‌! यहाँ बेबिलोनी वेश्‍या जस्तो कुनै अशुद्ध र अनैतिक शहर छैन। यहाँ नयाँ यरूशलेम छ। शुद्ध, आध्यात्मिक र पवित्र। त्यो स्वर्गबाटै ओर्लिरहेछ।—प्रकाश १७:१, ५.

यसरी महिमाले ओतप्रोत पार्थिव यरूशलेम पनि थिएन। यूहन्‍ना हामीलाई भन्छन्‌: “अनि सात कचौरा भएका ती सात दूतहरूमध्ये पछिल्ला सात विपत्तिले भरिएका चाहिं आएर मसँग यसो भनेर कुरा गरे, ‘यता आऊ, म तिमीलाई ती दुलही, अर्थात्‌ थुमाकी पत्नी देखाइदिनेछु।’ औ तिनले मलाई आत्मामा बोकेर एउटा ठूलो र अल्गो पवर्तमा लगे, र परमेश्‍वरको तर्फबाट स्वर्गदेखि झरिरहेको पवित्र शहर यरूशलेम मलाई देखाइदिए। त्यसमा परमेश्‍वरको महिमा थियो।” (प्रकाश २१:९-११क) यो अल्गो पर्वतको टाकुराबाट यूहन्‍नाले ती सुन्दर शहरको सारा सौन्दर्य नियालेर हेर्छन्‌। पाप र मृत्युमा मानवजातिको पतन भएदेखि नै विश्‍वासी मानिसहरूले यस शहरको आगमनको प्रतीक्षा गर्दै आएका छन्‌। अब बल्ल त्यो आइपुगेको छ! (रोमी ८:१९; १ कोरिन्थी १५:२२, २३; हिब्रू ११:३९, ४०) यो त्यो तेजस्वी आत्मिक शहर हो जसका १,४४,००० भक्‍त र निष्ठावान सदस्यहरू छन्‌। देदीप्यमान पवित्रतासाथ यसले साक्षात यहोवाकै महिमालाई प्रतिबिम्बित गर्छ। यही हो प्रकाशको महान चरमोत्मकर्ष!

३. नयाँ यरूशलेमको सौन्दर्यको वर्णन यूहन्‍नाले कसरी गर्छन्‌?

नयाँ यरूशलेमको सौन्दर्य अति नै मनमोहक छ! “त्यसको चमक साह्रै बहुमूल्य पत्थरको जस्तो थियो, बिल्लौर जतिकै सङलो, एउटा स्फटिकजस्तै थियो। बाह्र ढोका भएको त्यसको एउटा ठूलो र अल्गो पर्खाल थियो, र ढोकाहरूमा बाह्र दूतहरू थिए। ती ढोकाहरूमा इस्राएलीहरूका बाह्रै कुलका नाउँहरू लेखिएका थिए। पूर्वतिर तीन ढोका। उत्तरतिर तीन ढोका, दक्षिणतिर तीन ढोका, र पश्‍चिमतिर तीन ढोका थिए। शहरको पर्खालका बाह्रवटा जगहरू थिए, तीमाथि थुमाका बाह्र प्रेरितहरूका बाह्रै नाउँ लेखिएका थिए।” (प्रकाश २१:११ख-१४) यहाँ यूहन्‍नाले सर्वप्रथम जाज्वल्यमान ज्योतिकै वर्णन गर्नु अति नै उपयुक्‍त छ! नयाँ दुलही जस्तै उज्यालो रूप भएको यस यरूशलेमलाई ख्रीष्टकी पत्नी हुन खुबै सुहाएको छ। ऊ चमचम चम्किरहेछ। र किन नचम्किने? आखिर उसको सृष्टिकर्ता “ज्योतिको पिता” हुनुहुन्छ।—याकूब १:१७.

४. नयाँ यरूशलेम इस्राएलको शाब्दिक राष्ट्र होइन भनेर कुन कुराबाट बोध हुन्छ?

त्यसका १२ ढोकाहरूमा इस्राएलका १२ कुलहरूको नाउँ खोपिएका छन्‌। अतः यो प्रतीकात्मक शहर “इस्राएलीहरूको हरेक कुलबाट” छाप लगाएर लिएका १,४४,००० सदस्यहरूले बनेको छ। (प्रकाश ७:४-८) यसैअनुरूप, त्यसका जगहरूमा पनि थुमाका १२ प्रेरितहरूको नाउँ लेखिएको छ। हो, नयाँ यरूशलेम याकूबका १२ पुत्रहरूबाट बनेको शारीरिक इस्राएली राष्ट्र होइन। नयाँ यरूशलेम “प्रेरितहरू र अगमवक्‍ताहरूमा” आधारित आत्मिक इस्राएल हो।—एफिसी २:२०.

५. नयाँ यरूशलेमको “ठूलो र अल्गो पर्खाल” र त्यसका प्रत्येक प्रवेशद्वारहरूमा खटाइएका स्वर्गदूतहरूबाट के बोध गराइन्छ?

यो प्रतीकात्मक शहरको एउटा ठूलो पर्खाल छ। प्राचीन समयहरूमा दुश्‍मनहरूबाट सुरक्षित रहन शहरवरिपरि पर्खालहरू बनाइन्थ्यो। नयाँ यरूशलेमको “ठूलो र अल्गो पर्खाल”ले पनि उसको आध्यात्मिक सुरक्षा बोध गराउँछ। त्यहाँ धार्मिकताको कुनै पनि शत्रु अथवा कुनै पनि अशुद्ध तथा बेइमान व्यक्‍तिले प्रवेश पाउने छैन। (प्रकाश २१:२७) तर प्रवेश पाउनेहरूका लागि चाहिं यस सुन्दर शहरमा प्रवेश पाउनु प्रमोदवनभित्र प्रवेश पाउनु सरह हुनेछ। (प्रकाश २:७) प्रथम प्रमोदवनबाट आदम निष्कासित भएपछि त्यहाँ अशुद्ध मानिसहरू पस्न नपाऊन्‌ भनेर प्रमोदवनको सामु करूबहरू खटाइएका थिए। (उत्पत्ति ३:२४) यस्तैगरी, पवित्र शहर यरूशलेमको आध्यात्मिक सुरक्षाका लागि पनि त्यसको प्रत्येक ढोकामा स्वर्गदूतहरू खटाइएका छन्‌। वास्तवमा, अन्तिम दिनहरूसम्मै स्वर्गदूतहरूले अभिषिक्‍त मसीहीहरूको मण्डलीको रेखदेख गर्दै आएका छन्‌। किनकि यो मण्डली नै बेबिलोनी प्रदूषणबाट मुक्‍त नयाँ यरूशलेम बन्‍नेछ।—मत्ती १३:४१.

शहरको नाप लिएको

६. (क) यूहन्‍नाको वर्णनअनुसार शहरको नाप कसरी लिइन्छ र यसरी नाप लिनुको अर्थ के हो? (ख) “मानिस अर्थात्‌ दूतको नाप” अनुसार नाप लिनुको अर्थ सम्भवतः कुन कुराले बुझाउन सक्छ? (फुटनोट हेर्नुहोस्‌।)

यूहन्‍नाले आफ्नो वृत्तान्त कायम राख्दै यसो भन्छन्‌: “शहर, त्यसका ढोकाहरू र पर्खाल नाप्नालाई मसँग बोल्नेसँग एउटा सुनको टाँगो थियो। त्यो शहर चौकुने वर्गाकारको रहेछ। त्यसको चौडाइ, लमाइ जत्तिकै रहेछ। तिनले त्यस टाँगोले नाप्दा साढे सात सय कोशको रहेछ, लमाइ, चौडाइ र उँचाइ बराबर रहेछ। अनि तिनले त्यसको पर्खाल नापे, मानिस, अर्थात्‌ दूतको नापबमोजिम एक सय चवालिस हातको रहेछ।” (प्रकाश २१:१५-१७) मन्दिरको नाप लिइँदा मन्दिरसम्बन्धी यहोवाका उद्देश्‍यहरूको पूर्ति निश्‍चित भएको थियो। (प्रकाश ११:१) अब फेरि स्वर्गदूतले नयाँ यरूशलेमलाई नाप्दा पनि यो देदीप्यमान शहरसम्बन्धी यहोवाका उद्देश्‍यहरू अपरिवर्तनीय छन्‌ भन्‍ने कुरा प्रदर्शित हुन्छ। a

७. शहरका नापहरूको विशेषता के हो?

यो कस्तो अचम्मको शहर हो! चारैतिरबाट यो एउटा घनाकार छ। यसको परिमिति हो १२,००० फर्लङ्‌ग (करीब १,३८० माइल)। यसको वरिपरि १४४ हात अथवा २१० फीट अल्गो पर्खाल छ। यस्तो नाप भएको कुनै शहर हुन सक्‍तैन। हुँदो हो त त्यो वर्तमान इस्राएलभन्दा १४ गुणा ठूलो र कमसेकम ३५० माइल अल्गो अर्थात्‌ आकाश छुनेसम्मको हुने थियो! तर प्रकाशको पुस्तक चिह्नहरूमा प्रस्तुत गरिएको थियो। अतः यी नापहरूबाट हामी स्वर्गीय नयाँ यरूशलेमबारे के सिक्न सक्छौं?

८. (क) शहरको १४४ हात अल्गो पर्खाल, (ख) १२,००० फर्लङ्‌ग नाप र (ग) शहरको घनाकार-बाट के बोध हुन्छ?

यो शहर परमेश्‍वरका १,४४,००० आत्मिक धर्म-पुत्रहरूले बनेको छ भनी त्यो १४४-हात अल्गो पर्खालले हामीलाई सम्झना गराउँछ। लम्बाइ, चौडाइ र उँचाइ बराबर हुने यस शहरको १२,००० फर्लङ्‌ग नापमा देखा पर्ने १२ अङ्‌कलाई बाइबलका भविष्यवाणीहरूमा सङ्‌गठनात्मक मामिलाहरूको प्रतीकको रूपमा चलाइन्छ। अतः नयाँ यरूशलेम अत्युत्तम रीतिले रचिएको एउटा सङ्‌गठनात्मक प्रबन्ध हो जसद्वारा परमेश्‍वरको सनातनको उद्देश्‍य पूरा हुनेछ। नयाँ यरूशलेम र राजा येशू ख्रीष्ट मिलेर यहोवाको राजकीय सङ्‌गठन बन्दछ। अब शहरको आकारलाई ध्यान दिनुहोस्‌। त्यो पूर्णतः घनाकार हो। सुलेमानको मन्दिरमा यहोवाको उपस्थिति जनाउने प्रतीकात्मक चिह्न भएको अति पवित्र स्थान पनि पूर्णतः घनाकार थियो। (१ राजा ६:१९, २०) यसैकारण, यहोवाको महिमाले प्रदीप्त नयाँ यरूशलेम पनि पूर्ण र ठूलो घनाकारको रूपमै देखा पर्नु अति नै उपयुक्‍त छ! त्यसका चारैतिरका नापहरू पूर्णतः सन्तुलित छन्‌। त्यस शहरमा कुनै पनि असमानता अथवा त्रुटि छैन।—प्रकाश २१:२२.

बहुमूल्य निर्माण सामग्रीहरू

९. यूहन्‍ना शहर निर्माण सामग्रीहरूको वर्णन कसरी गर्छन्‌?

यूहन्‍ना आफ्नो वर्णनलाई जारी राख्दै यसो भन्छन्‌: “त्यो पर्खाल स्फटिकको बनेको थियो, र शहरचाहिं कञ्चन ऐनाजस्तै निखुर सुनको थियो। पर्खालका जगहरू अनेक किसिमका बहुमूल्य पत्थरहरूले सिंगारिएका थिए। पहिलो जग स्फटिकको, दोस्रो नीरको, तेस्रो लालको, चौथो पन्‍नाको, पाँचौं गोमेदको, छैटौं सारडियस मणिको, सातौं पीतमणिको, आठौं पिरोजाको, नवौं पुष्पराजको, दशौं लहसुनेको, एघारौं धूम्रकान्तको, बाह्रौं मर्तिस मणिको थियो। ती बाह्र ढोकाचाहिं बाह्र मोतीका थिए। प्रत्येक ढोका एक एक मोतीको थियो। त्यस शहरको सडक छर्लङ्‌गै देखिने ऐनाजस्तो निखुर सुनको थियो।”—प्रकाश २१:१८-२१.

१०. स्फटिक, सुन र “अनेक किसिमका बहुमूल्य पत्थरहरू”-बाट शहर बनेको थियो भन्‍नाले के बोध हुन्छ?

१० शहरको बनौट साँच्चै नै देदीप्यमान छ। माटो र ढुङ्‌गाजस्ता साधारण तथा पार्थिव निर्माण सामग्रीहरूको सट्टा हामी यहाँ स्फटिक, शुद्ध सुन र “अनेक किसिमका बहुमूल्य पत्थरहरू” बारे पढ्‌छौं। यिनीहरू ईश्‍वरीय निर्माण सामग्रीका सुहाउँदा प्रतीकहरू हुन्‌! योभन्दा बढी भव्य अरू केही हुनै सक्‍तैन! प्राचीन वाचाको सन्दूक पनि शुद्ध सुनले मोहोरिएको थियो। यसबाहेक, बाइबलमा सुनलाई अक्सर असल र बहुमूल्य कुराहरूको प्रतीकको रूपमा प्रयोग गरिन्छ। (प्रस्थान २५:११; हितोपदेश २५:११; यशैया ६०:६, १७) तर नयाँ यरूशलेमको सम्पूर्ण भाग तथा त्यसका सडकहरू समेत “छर्लङ्‌गै देखिने ऐनाजस्तो निखुर सुनको थियो।” यसमा कल्पनै गर्न नसकिने किसिमको सुन्दरता र अन्तर्निहित मोल झलकिन्छ।

११. नयाँ यरूशलेममा समावेश हुनेहरू आध्यात्मिक शुद्धताको सर्वश्रेष्ठताले चमचम चम्कनेछन्‌ भनी कुन कुराबाट निश्‍चित हुन्छ?

११ कुनै पनि मानव परिष्कारकले यतिको शुद्ध सुन प्रस्तुत गर्न सक्‍तैन। तर यहोवा भने सर्वमहान परिष्कारक हुनुहुन्छ। उहाँ “चाँदी खार्ने र सफा गर्ने” व्यक्‍ति भएर बस्नुहुन्छ। उहाँले आत्मिक इस्राएलका सबै विश्‍वासी सदस्यहरूलाई “सुन र चाँदीझैं” खार्नु हुन्छ। तिनीहरूलाई हरप्रकारको मलिनताबाट शुद्ध तुल्याउनु हुन्छ। यसरी यथार्थमा सफा र शुद्ध पारिएका व्यक्‍तिहरू मात्र अन्ततः नयाँ यरूशलेमको भाग बन्‍न सक्नेछन्‌। यहोवाले यस शहरको निर्माण आत्मिक शुद्धताको परम-श्रेष्ठतासाथ चमचम चम्कने जीवित निर्माण सामग्रीहरूबाट गर्नु हुन्छ।—मलाकी ३:३, ४.

१२. (क) शहरका जगहरू १२ बहुमूल्य पत्थरहरूले सुसज्जित हुनु र (ख) शहरका मूलढोकाहरू मोतिहरू हुनुको महत्त्व के हो?

१२ शहरका जगहरू पनि सुन्दर छन्‌। तिनीहरू १२ बहुमूल्य पत्थरहरूले सुसज्जित छन्‌। यसले हामीलाई प्राचीन यहूदी प्रधान पूजारीको सम्झना गराउँछ। उनले पनि खास उत्सवहरूमा यहाँ चर्चित बहुमूल्य पत्थहरूजस्तै १२ अनमोल पत्थरहरू जडेको एपोद लाउने गर्थे। (प्रस्थान २८:१५-२१) यो कुनै संयोगको कुरा हुन सक्‍तैन! बरु नयाँ यरूशलेमले पनि पूजारी काम गर्नेछ भन्‍ने कुरा यसबाट बोध हुन्छ। किनकि प्रधान पूजारी, येशू ख्रीष्ट स्वयं नयाँ यरूशलेमको “बत्ती” हुनुहुन्छ। (प्रकाश २०:६; २१:२३; हिब्रू ८:१) साथै, येशूले प्रधान पूजारीको हैसियतमा गर्नु हुने सेवाहरूको लाभ पनि मानिसजातिलाई नयाँ यरूशलेमद्वारा नै उपलब्ध गराइने छन्‌। (प्रकाश २२:१, २) शहरको प्रत्येक १२ ढोका एउटा अत्यन्त सुन्दर मोती हो। यसले पनि हामीलाई येशूको त्यस उखानको सम्झना गराउँछ जहाँ परमेश्‍वरको राज्यलाई उहाँले एउटा अति नै बहुमूल्य मोतीसित तुलना गर्नु भएको थियो। यी ढोकाहरूबाट प्रवेश गर्ने सबैले नै आध्यात्मिक मूल्यहरूको साँचो मूल्याङ्‌कन गरेका हुनेछन्‌।—मत्ती १३:४५, ४६; अय्यूब २८:१२, १७, १८-तुलना गर्नुहोस्‌.

ज्योतिको शहर

१३. यूहन्‍ना अब नयाँ यरूशलेमबारे अझ के भन्छन्‌ र यस शहरलाई किन साँच्चैको मन्दिरको खाँचो पर्दैन?

१३ सुलेमानको समयमा शहरको सबैभन्दा उच्च स्थान तथा उत्तरी भेकको मोराया पर्वतमा निर्मित मन्दिर नै यरूशलेमको विशेषता थियो। तर अब नयाँ यरूशलेमको विशेषता नि? यूहन्‍ना भन्छन्‌: “मैले त्यहाँ भित्र मन्दिर देखिनँ, किनकि त्यहाँको मन्दिर परमेश्‍वर सर्वशक्‍तिमान, र थुमानै हुनुहुन्थ्यो। त्यस शहरलाई उज्यालो गराउनालाई नता सूर्यको, न चन्द्रमाको दरकार थियो, किनभने परमेश्‍वरको महिमाले त्यसलाई उज्यालो गराउँदोरहेछ। त्यहाँको बत्तीचाहिं थुमा आफै हो।” (प्रकाश २१:२२, २३) वास्तवमा यहाँ साँच्चैको मन्दिर बनाउने खाँचो नै छैन। प्राचीन यहूदी मन्दिर त एउटा नमूना मात्र थियो। त्यस नमूनाको वास्तविकता, अर्थात्‌ त्यो महान आत्मिक मन्दिर, यहोवाले सा.यु. २९-मा येशूलाई प्रधान पूजारी अभिषेक गर्नु भएदेखि नै स्थापित भएको छ। (मत्ती ३:१६, १७; हिब्रू ९:११, १२, २३, २४) साथै, मन्दिर भन्‍नेबित्तिकै मानिसहरूको तर्फबाट यहोवालाई बलिदानहरू चढाउने पूजारी वर्गको पनि आवश्‍यकता देखिन्छ। यसैकारण त नयाँ यरूशलेमको सहभागी हुने सबै नै पूजारीहरू हुन्‌। (प्रकाश २०:६) र त्यो महान बलिदान अर्थात्‌ येशूको सिद्ध मानव जीवन एक पटक सदाका लागि चढाइ सकिएको छ। (हिब्रू ९:२७, २८) यसबाहेक, त्यस शहरका सबै नै बासिन्दाहरूले यहोवासित व्यक्‍तिगत रूपमा सम्पर्क राख्न सक्छन्‌।

१४. (क) नयाँ यरूशलेममाथि सूर्य र चन्द्रमा चम्कनु किन आवश्‍यक छैन? (ख) यशैयाले यहोवाको विश्‍वव्यापी सङ्‌गठनबारे के अग्रिमवाणी गरेका थिए र यसमा नयाँ यरूशलेम पनि कसरी सम्मिलित छ?

१४ सीनै पर्वतमा मोशाको सामनेबाट यहोवाको महिमा जाँदा मोशाको अनुहार जोडसित चम्कन थालेको थियो। यहाँसम्म कि उनले सँगी इस्राएलीहरूको सामु आफ्नो मुख छोप्नु पऱ्‍यो। (प्रस्थान ३४:४-७, २९, ३०, ३३) तर अब साक्षात यहोवाकै महिमाले सधैं प्रकाशमान हुने शहर अझ कति जोडसित चम्कनेछ, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? यस्तो शहरमा रात हुने छैन। त्यसलाई सूर्य अथवा चन्द्रमाको खाँचो पर्ने छैन। त्यसबाट सदा सर्वदा ज्योतिको किरण फैलिरहनेछ। (१ तिमोथी ६:१६-तुलना गर्नुहोस्‌।) यस्तैप्रकारको ज्योतिर्मय प्रभामा नयाँ यरूशलेम ओतप्रोत छ। वास्तवमा यहोवाको विश्‍वव्यापी सङ्‌गठन अर्थात्‌ उहाँकी “स्त्री” र “माथिको यरूशलेम”-को राजधानी उक्‍त दुलही र तिनको दुलहा राजा हुनेछन्‌। यसै सम्बन्धमा यशैयाले यो भविष्यवाणी गरेका थिए: “परमप्रभुको महिमा तँमाथि उदाएको छ। दिनमा सूर्यले फेरि कहिल्यै तँलाई ज्योति दिनु पर्नेछैन, औ प्रकाशको निम्ति राती चन्द्रमाले तँलाई ज्योति दिनु पर्नेछैन। तर परमप्रभु तेरो निम्ति सदाको ज्योति, परमेश्‍वर तेरो निम्ति महिमा हुनुहुनेछ। तेरो सूर्य फेरि कहिल्यै डुब्नेछैन, औ न तेरो चन्द्रमा अस्ताउनेछ, किनकि परमप्रभु तेरो निम्ति सदाको ज्योति हुनुहुनेछ, र तेरो विलाप गर्ने दिनको अन्त्य हुनेछ।”—यशैया ६०:१, १९, २०; गलाती ४:२६.

जाति जातिहरूका लागि ज्योति

१५. नयाँ यरूशलेमसम्बन्धी प्रकाशको पुस्तकका शब्दहरू यशैयाको अगमवाणीसित किन मिल्दाजुल्दा छन्‌?

१५ सोही भविष्यवाणीमा यो पनि अग्रिमवाणी गरिएको थियो: “जातिजातिहरू तेरो ज्योतिमा र राजाहरू तेरो उदयको प्रकाशमा आउनेछन्‌।” (यशैया ६०:३) यी शब्दहरू नयाँ यरूशलेममा पनि लागू हुनेछ भनी प्रकाशको पुस्तकले देखाउँछ: “औ त्यहाँकै उज्यालोमा जाति जातिहरू घुमफिर गर्नेछन्‌, र पृथ्वीमा राजाहरूले आफ्ना ऐश्‍वर्य त्यसमा ल्याउँछन्‌। औ त्यसका ढोकाहरू कुनै किसिमले दिउँसो बन्द हुनेछैन (किनभने त्यहाँ रात हुँदै हुनेछैन)। तिनीहरूले जाति जातिहरूका ऐश्‍वर्य र आदर त्यसभित्र ल्याउनेछन्‌।”—प्रकाश २१:२४-२६.

१६. नयाँ यरूशलेमको ज्योतिमा हिंड्‌ने “जाति जातिहरू” को हुन्‌?

१६ नयाँ यरूशलेमको ज्योतिमा हिंड्‌ने यी “जाति जातिहरू” को हुन्‌? यिनीहरू ती मानिसहरू हुन्‌ जो एकताका यस दुष्ट संसारका जातिहरूकै एउटा भाग थिए। तर यिनीहरू त्यो महिमावान स्वर्गीय शहरद्वारा प्रकाशित ज्योतिमा आएका छन्‌। यिनीहरूमध्ये प्रथमतः ठूलो भीडकाहरू छन्‌ जो ‘सबै कुल, मानिस, र भाषा भाषाहरूबाट’ निस्किसकेका छन्‌ र जसले यूहन्‍ना वर्गसित मिलेर दिनरात परमेश्‍वरको उपासना गर्छन्‌। (प्रकाश ७:९, १५) तर नयाँ यरूशलेम स्वर्गबाट ओर्लेपछि तथा येशूले पनि मरेकाहरूलाई बिउँताउन मृत्यु र पातालका साँचोहरू प्रयोग गरी सक्नु भएपछि, यस ठूलो भीडसित अझ अरू लाखौं लाख जनहरू सामेल हुनेछन्‌। यी लाखौं लाख जनहरू पनि मूलतः त्यही “जाति जातिहरू” बाट नै आएका हुन्छन्‌। तर अब तिनीहरूले पनि यहोवा र उहाँको पुत्र अर्थात्‌ नयाँ यरूशलेमको थुमारूपी पतिसित प्रेम गर्न थाल्छन्‌।—प्रकाश १:१८.

१७. नयाँ यरूशलेममा “जाति जातिहरूका ऐश्‍वर्य र आदर” लिएर आउने “पृथ्वीका राजाहरू” को हुन्‌?

१७ तथापि ती “राजाहरू” को हुन्‌ जसले त्यहाँ “आफ्नो ऐश्‍वर्य” ल्याउँछन्‌? तिनीहरू सामूहिक तवरमा पृथ्वीका साँच्चैका राजाहरू होइनन्‌। किनभने तिनीहरू त आरमागेडोनमा परमेश्‍वरको राज्यको विरोध गर्दा गर्दै नष्ट हुन्छन्‌। (प्रकाश १६:१४, १६; १९:१७, १८) तेसो भए यी राजाहरू ठूलो भीडमा सम्मिलित हुने जातिजातिहरूका गण्यमान्य जनहरू हुन्‌ कि? अथवा यिनीहरू पुनरुत्थान भएर आएका राजाहरू पो हुन्‌ कि जसले परमेश्‍वरको राज्यको अधीनमा बस्न स्वीकार गरेका छन्‌? (मत्ती १२:४२) होइन। किनभने यस्ता राजाहरूको महिमा सांसारिक थियो। त्यो महिमा कहिले हो कहिले लोप भइ सक्यो। अतः नयाँ यरूशलेमको प्रकाशमा हिंड्‌ने यी “राजाहरू” ती १,४४,००० जनहरू हुनुपर्छ जो थुमा ख्रीष्टसित राज्य गर्न “हरेक कुल, भाषा, मानिस र जाति“बाट किनिएका छन्‌। (प्रकाश ५:९, १०; २२:५) तिनीहरूले शहरको प्रभा बढाउन आफ्नो ईश्‍वरप्रदत महिमा आफूसित लिएर आउँछन्‌।

१८. (क) नयाँ यरूशलेममा कसकसले प्रवेश पाउने छैनन्‌? (ख) त्यस शहरमा कसले मात्र प्रवेश पाउनेछ?

१८ यूहन्‍ना अझ यसो भन्छन्‌: “तर थुमाको जीवनको पुस्तकमा लेखिएका बाहेक कुनै अशुद्ध कुरा, घृणित काम गर्ने र झूट बोल्ने कुनै किसिमले पनि त्यसभित्र पस्नेछैन।” (प्रकाश २१:२७) शैतानको रीतिथितिले दूषित कुनै पनि कुरा नयाँ यरूशलेमको भाग हुन सक्‍तैन। त्यहाँका ढोकाहरू सधैं खुला रहे तापनि “घृणित काम गर्ने र झूट बोल्ने” कुनै पनि व्यक्‍तिलाई प्रवेश गर्न दिइने छैन। त्यस शहरमा धर्मत्यागी तथा महान बेबिलोनका सदस्यहरू पटक्कै हुने छैनन्‌। र त्यस शहरलाई अपवित्र तुल्याउन खोज्ने अथवा त्यसका भावी सदस्यहरूलाई पृथ्वीमा छँदा बिगार्न चाहने व्यक्‍तिका प्रयासहरू निष्फल तुल्याइनेछ। (मत्ती १३:४१-४३) जसजसको नाउँ “थुमाको जीवनको पुस्तक”-मा लेखिएको हुन्छ, अन्ततः तिनीहरूले मात्र नयाँ यरूशलेममा प्रवेश पाउँनेछन्‌। bप्रकाश १३:८; दानियल १२:३.

जीवनको नदी

१९. (क) मानिसजातिले नयाँ यरूशलेमद्वारा आशिष पाउने कुराको वर्णन यूहन्‍ना कसरी गर्छन्‌? (ख) “जीवनको नदी” कहिलेदेखि बग्न थाल्छ र यो हामी कसरी भन्‍न सक्छौं?

१९ देदीप्यमान नयाँ यरूशलेमले मानिसजातिका लागि पृथ्वीमा महान आशिषहरू उपलब्ध गराउनेछ। यस सम्बन्धमा यूहन्‍नाले अब यो जानकारी पाउँछन्‌: “तब तिनले मलाई परमेश्‍वर र थुमाको सिंहासनबाट निस्किरहेको त्यस शहरको सडकको बीचमा बिल्लौरजस्तो चहकिलो जीवनको नदी देखाए।” (प्रकाश २२:१, २क) यो “नदी” कहिलेदेखि बग्न थाल्छ? “परमेश्‍वर र थुमाको सिंहासनबाट” निस्केको हुनाले यो नदी निश्‍चय १९१४-मा प्रभुको दिन सुरु भएदेखि मात्र बग्न थालेको हुनु पर्छ। यसै बेलामा सातौं तुरहीको फुकाइद्वारा घोषित घटना र साथै यो उद्‌घोषणा पनि हुनु परेको थियो: “अब हाम्रो परमेश्‍वरको मुक्‍ति, शक्‍ति, राज्य र उहाँको ख्रीष्टको अख्तियार आएको छ।” (प्रकाश ११:१५; १२:१०) अन्तको समयको दौडान आत्मा र दुलहीले असल मनसाय भएकाहरूलाई जीवनको पानी सित्तैमा लिन निमन्त्रणा दिंदै आइरहेका छन्‌। यो नदीको पानी यस रीतिरिवाजको अन्तसम्मै र त्यसपछि नयाँ संसारसम्म पनि पाइनेछ जब नयाँ यरूशलेम ‘परमेश्‍वरका तर्फबाट स्वर्गबाट तलतिर झर्नेछ।’—प्रकाश २१:२.

२०. जीवनको पानी केही मात्रामा उपलब्ध भइसकेको छ भनी कुन कुराबाट सङ्‌केत हुन्छ?

२० मानिसजातिका लागि जीवनदायी पानी उपलब्ध गराइएको यो प्रथम पटक होइन। येशू पृथ्वीमा हुनुहुँदा उहाँले अनन्त जीवन दिने पानीको चर्चा गर्नु भएको थियो। (यूहन्‍ना ४:१०-१४; ७:३७, ३८) यसबाहेक, यूहन्‍नाले अब फेरि यो प्रेमपूर्ण निम्तो सुन्‍नै लागेका छन्‌: “औ आत्मा र दुलही भन्‍नुहुन्छ, ‘आउनुहोस्‌।’ औ जसले सुन्छ, त्यसले ‘आउनुहोस्‌’ भनोस्‌। जो तिर्खाउँछ, त्यो आओस्‌, जसले मन गर्छ, त्यसले जीवनको पानी सित्तैंमा लेओस्‌।” (प्रकाश २२:१७) यो निम्तोको आज पनि घोषणा भइरहेछ अथवा जीवनको पानी केही मात्रामा आज पनि उपलब्ध छ। तर नयाँ संसारमा चाँहि यो पानी परमेश्‍वरको सिंहासनबाट नयाँ यरूशलेम हुँदै एउटा नदीको रूपमा बग्नेछ।

२१. “जीवनको नदी” के को प्रतीक हो र यसलाई बुझ्न हामीलाई इजकिएलको दर्शनको नदीले के मदत दिन्छ?

२१ यो “जीवनको नदी” वास्तवमा हो के? पानी जीवनका लागि अत्यावश्‍यक वस्तु हो। भोजनबिना मान्छे केही हप्तासम्मै बाँच्न सक्छ। तर पानी बिना ऊ करीब एक हप्ता भित्रै मरी हाल्छ। पानीले सफा गर्ने काम पनि गर्छ। सुस्वास्थ्यका लागि त्यो अत्यावश्‍यक छ। अतः जीवनको पानी पनि मानिसजातिको जीवन र स्वास्थ्यका लागि कुनै अत्यावश्‍यक वस्तुको प्रतीक हुनुपर्छ। “जीवनको नदी”को दर्शन इजकिएल अगमवक्‍ताले पनि पाएका थिए। उनको दर्शनमा त्यो नदी मन्दिरबाट निस्केर तल मृतसागरतिर बगेको थियो। त्यसपछि ठूलो चमत्कार हुन्छ! त्यो निर्जीव र रासायनिक पदार्थले संतृप्त पानीभित्र अचानक थुप्रै जीउँदा माछाहरू चहलपहल गर्न थाल्छन्‌! (इजकिएल ४७:१-१२) यो दर्शनरूपी नदीले निर्जीव अवस्थामा भएको कुरालाई पुनः सजिव तुल्याउँछ। अवश्‍य, जीवनको नदीले पनि येशू ख्रीष्टद्वारा “मृत” मानिसजातिलाई फेरि सिद्ध मानव जीवन प्रदान गर्ने परमेश्‍वरको प्रबन्धलाई चित्रित गर्छ। यो नदी “बिल्लौरजस्तो चहकिलो” छ। यसले परमेश्‍वरका प्रबन्धहरूको शुद्धता र पवित्रतालाई बोध गराउँछ। यो मसीहीजगतका दूषित र मृत्युदायी “पानीहरू” जस्तो छैन।—प्रकाश ८:१०, ११.

२२. (क) नदीको मूल कहाँ हो र यस्तो हुन किन उचित हो? (ख) जीवनको नदीमा कुन कुन कुरा विथोलित छ र यस प्रतीकात्मक नदीमा के के सम्मिलित हुन्छ?

२२ यो नदी “परमेश्‍वर र थुमाको सिंहासनबाट” निस्कन्छ। यस्तो हुनु उचित हो किनभने यहोवाका जीवनदायी प्रबन्धहरूको आधार छुडौतीको बलिदान हो। यो बलिदान यसकारणले उपलब्ध गराइयो किनभने “परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनुभयो, उहाँमाथि विश्‍वास गर्ने प्रत्येक नाश नहोस्‌, तर त्यसले अनन्त जीवन पाओस्‌।” (यूहन्‍ना ३:१६) जीवनको पानीमा परमेश्‍वरको वचन पनि समावेश छ जसलाई बाइबलमा पानी भनिन्छ। (एफिसी ५:२६) तथापि, जीवनको नदीमा सच्चाइ मात्र सम्मिलित छैन। त्यसमा आज्ञाकारी मानवजातिलाई पाप र मृत्युबाट मुक्‍त गराएर अनन्त जीवन प्रदान गर्ने येशूको बलिदानमा आधारित यहोवाका अन्य सबै प्रबन्धहरू समाविष्ट छन्‌।—यूहन्‍ना १:२९; १ यूहन्‍ना २:१, २.

२३. (क) जीवनको नदी नयाँ यरूशलेमको सडकको बीचबाट बग्नु किन उचित हो? (ख) जीवनको पानी प्रशस्त मात्रामा बग्न थालेपछि अब्राहामसित गरिएको कुन ईश्‍वरीय भविष्यवाणी पूरा हुनेछ?

२३ सहस्र वर्षीय राज्यको दौडान, प्रधान पूजारी येशू र उहाँका १,४४,००० उप-पूजारीहरूद्वारा छुडौतीको बलिदानका लाभहरू सम्पूर्ण रीतिले उपलब्ध गराइनेछन्‌। यसैकारण जीवनको नदी नयाँ यरूशलेमको चौडा सडक बीचबाट बग्छ भन्‍नु उचित छ। नयाँ यरूशलेम आत्मिक इस्राएलले बनेको छ। यिनीहरू नै येशूसँग मिलेर अब्राहामको साँचो सन्तान बन्छन्‌। (गलाती ३:१६, २९) यसकारण, जीवनको पानी प्रशस्त मात्रामा त्यस प्रतीकात्मक शहरको बीच सडकबाट बग्न थालेपछि “पृथ्वीका सबै जातिहरू”ले अब्राहामको सन्तानद्वारा आफूलाई आशिष दिने मौका पाउनेछन्‌। यहोवाले अब्राहामसित गर्नु भएको प्रतिज्ञा पूर्णतः पूरा हुनेछ।—उत्पत्ति २२:१७, १८.

जीवनका रूखहरू

२४. यूहन्‍ना अब जीवनको नदीको दुवैपट्टि के देख्छन्‌ र तिनीहरूले के लाई चित्रित गर्छन्‌?

२४ इजकिएलको दर्शनमा नदी एउटा भल भयो। त्यसको दुवै किनारमा अगमवक्‍ताले हर किसिमका फलदायी वृक्षहरू उम्रिरहेको देखे। (इजकिएल ४७:१२) तर यहाँ यूहन्‍नाले के देख्छन्‌? “त्यस नदीको वारि र पारि प्रत्येक महिना बाह्रै किसिमको फल फलाउने जीवनको रूख थियो। त्यस रूखका पातहरूचाहिं जाति जातिका मानिसहरूलाई निको पार्नाको निम्ति थिए।” (प्रकाश २२:२) यी “जीवनको रूख”ले पनि आज्ञाकारी मानिसजातिलाई अनन्त जीवन प्रदान गर्ने यहोवाको प्रबन्धलाई नै चित्रित गरेको हुनुपर्छ।

२५. यहोवाले आज्ञाकारी मानवहरूका लागि विश्‍वव्यापी प्रमोदवनमा प्रशस्ततासाथ के प्रबन्ध मिलाउनु हुनेछ?

२५ आज्ञाकारी मानिसहरूका लागि यहोवाले साँच्चै नै कति प्रशस्त प्रबन्धहरू मिलाउनु भएको छ! ती मानिसहरूले त्यो स्फूर्तिदायक पानी पिउने मात्र होइनन्‌। तिनीहरूले ती रूखहरूबाट बाह्रै महीना अटूट रीतिले फल्ने अनेक प्रकारका पोषणदायी फलहरू टिप्न पनि सक्छन्‌। कठै, अदनको प्रमोदवनमा उपलब्ध यस्ता “हेर्नमा राम्रा” प्रबन्धहरूसित हाम्रा प्रथम माता-पिता सन्तुष्ट रहेको भए कति असल हुने थियो! (उत्पत्ति २:९) तर अब एउटा विश्‍वव्यापी प्रमोदवन यहाँ छ। यहोवाले ती प्रतीकात्मक रूखहरूका पातहरू पनि “जाति जातिका मानिसहरूलाई निको पार्न” प्रयोग गर्नुहुन्छ। c ती पातहरू आज उपचारको रूपमा प्रयोग हुने सबै औषधि वा जडीबुटी भन्दा सर्वोत्तम छन्‌। ती प्रतीकात्मक पातहरूको आरामदायी उपचारद्वारा विश्‍वासी मानिसहरूलाई आध्यात्मिक तथा शारीरिक सिद्धता प्राप्त हुनेछ।

२६. जीवनका रूखहरू को हुन सक्छन्‌ र किन?

२६ नदीबाट प्रशस्त पानी पाउने ती रूखहरू थुमाकी पत्नीका १,४४,००० सदस्यहरू हुन सक्छ। परमेश्‍वरले येशू ख्रीष्टद्वारा मिलाउनु भएका जीवनदायी प्रबन्धहरूबाट तिनीहरूले पनि पृथ्वीमा छँदा पिउने गर्छन्‌ र ख्रीष्टका यी आत्मा अभिषिक्‍त भाइहरूलाई भविष्यसूचक ढंगमा “धर्मको वृक्ष” भनिनु चाखलाग्दो छ। (यशैया ६१:१-३; प्रकाश २१:६) तिनीहरूले यहोवाको प्रशंसामा निकै आत्मिक फल फलाइ सकेका छन्‌। (मत्ती २१:४३) हजार वर्षीय राज्यमा पनि तिनीहरूले “जाति जातिका मानिसहरूलाई” पाप र मृत्युबाट “निको पार्न” छुडौतीको बलिदानका लाभहरू उपलब्ध गराउनमा भाग लिनेछन्‌।—१ यूहन्‍ना १:७-तुलना गर्नुहोस्‌.

फेरि रात हुनेछैन

२७. नयाँ यरूशलेममा प्रवेश पाउन सुयोग्य ठहरिएका व्यक्‍तिहरूले अझ के आशिषहरू पनि पाउनेछन्‌ र त्यहाँ फेरि कुनै “श्रापित कुरा” हुनेछैन किन भन्‍न सकिन्छ?

२७ नयाँ यरूशलेममा प्रवेश! यो भन्दा महान विशेषाधिकार अरू हुनै सक्‍तैन। सोच्नुहोस्‌। जुन व्यक्‍तिहरू एकताका नम्र र असिद्ध मानिसहरू थिए, तिनीहरू नै अहिले येशूको पछिपछि यस्तो महिमायुक्‍त प्रबन्धको सहभागी हुन स्वर्गमा प्रवेश गरिरहेका छन्‌! (यूहन्‍ना १४:२) यिनीहरूले उपभोग गर्न पाउने आशिषहरूको केही झलक दिंदै यूहन्‍ना यसो भन्छन्‌: “त्यहाँ फेरि श्रापित कुरा हुनेछैन। परमेश्‍वरको र थुमाको सिंहासन त्यसभित्र हुनेछ, र उहाँका दासहरू उहाँको सेवा गर्नेछन्‌। औ तिनीहरूले उहाँको मुहार देख्नेछन्‌, उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ।” (प्रकाश २२:३, ४) इस्राएलका पूजारीहरू भ्रष्ट भएपछि तिनीहरूलाई यहोवाको श्राप लाग्यो। (मलाकी २:२) यरूशलेमको अविश्‍वासी “घर”लाई येशूले परित्यक्‍त घोषित गर्नु भयो। (मत्ती २३:३७-३९) तर नयाँ यरूशलेममा चाहिं “फेरि श्रापित कुरा” हुनेछैन। (जकरिया १४:११ तुलना गर्नुहोस्‌।) त्यहाँका सबै बासिन्दाहरू पृथ्वीमै छँदा कठिनाइहरूको आगोमा जाँचिएका हुनेछन्‌। तिनीहरू विजयी भइसकेका हुनेछन्‌। तिनीहरूले ‘अविनाशीपन र अमरत्व’ प्राप्त गरिसकेका हुनेछन्‌। तिनीहरूले कहिल्यै बाटो बिराउने छैनन्‌ भनी यहोवा निश्‍चित हुनुहुनेछ। जस्तो गरी उहाँ येशूबारे पनि निश्‍चित हुनु हुन्थ्यो। (१ कोरिन्थी १५:५३, ५७) यसबाहेक, “परमेश्‍वर र थुमाको सिंहासन” पनि त्यहाँ भएकोले त्यो शहर सदाका लागि सुरक्षित रहनेछ।

२८. नयाँ यरूशलेमका सदस्यहरूको निधारमा परमेश्‍वरको नाउँ किन लेखिएको हुन्छ र तिनीहरूको सामु के रोमाञ्चक प्रत्याशा छ?

२८ त्यो स्वर्गीय शहरका जम्मै भावी सदस्यहरू स्वयं यूहन्‍नाझैं परमेश्‍वरका “दास” हुन्‌। यसैकारण त तिनीहरूको निधारमा सबैले देख्ने गरी तिनीहरूको मालिक, परमेश्‍वरको नाउँ लेखिएको छ। (प्रकाश १:१; ३:१२) नयाँ यरूशलेमको भाग भएर उहाँलाई पवित्र सेवा चढाउने मौकालाई तिनीहरूले एउटा अनमोल सौभाग्य ठान्‍नेछन्‌। यस्ता भावी शासकहरूसित येशूले उहाँ पृथ्वीमा हुनु हुँदा यो रोमाञ्चकारी प्रतिज्ञा गर्नु भएको थियो: “धन्य हृदयमा शुद्ध हुनेहरू, किनभने तिनीहरूले परमेश्‍वरलाई देख्नेछन्‌।” (मत्ती ५:८) यहोवालाई साक्षात हेर्न र उहाँको उपासना गर्न पाउँन यी दासहरू कति हर्षित हुनेछन्‌!

२९. यूहन्‍ना किन स्वर्गीय नयाँ यरूशलेममा “फेरि रात हुनेछैन” भन्छन्‌?

२९ यूहन्‍ना अझ यसो भन्छन्‌: “औ त्यहाँ फेरि रात हुनेछैन, र तिनीहरूलाई नता बत्तीको उज्यालोको, न सूर्यको उज्यालोको खाँचो हुनेछ।” (प्रकाश २२:५क) पृथ्वीका सबै शहरहरूजस्तै प्राचीन यरूशलेम पनि दिउँसो सूर्यमा, राती चाँदनीमा र अन्य कृत्रिम ज्योतिमा भर पर्नु पर्थ्यो। तर स्वर्गीय यरूशलेममा चाहिं यस्तो कुनै पनि ज्योति आवश्‍यक हुनेछैन। स्वयं यहोवाले त्यस शहरलाई प्रकाशमान तुल्याइदिनु हुनेछ। अब “राती” भन्‍ने शब्द चाहिं प्रतीकात्मक तवरमा पनि प्रयोग हुन सकिन्छ। त्यसले विपत्ति अथवा यहोवाबाट अलग्गिने प्रक्रियालाई सङ्‌केत गर्न सकिन्छ। (मीका ३:६; यूहन्‍ना ९:४; रोमी १३:११, १२) तर यसप्रकारको रात सर्वशक्‍तिमान परमेश्‍वरको महिमायुक्‍त र ज्योतिर्मय उपस्थितिमा कहिल्यै हुनै सक्‍तैन।

३०. यूहन्‍नाले यो महान दर्शन कसरी अन्त गर्छन्‌ र प्रकाशको पुस्तकले हामीलाई कुन कुराको आश्‍वासन दिन्छ?

३० यूहन्‍नाले परमेश्‍वरका दासहरूबारे यी शब्दहरू भन्दै यो भव्य दर्शनलाई टुङ्‌ग्‌याउँछन्‌: “र तिनीहरूले सदा सर्वदा राज्य गर्नेछन्‌।” (प्रकाश २२:५ख) साँच्चै नै, हजार वर्षको अन्तमा छुडौतीको बलिदानका लाभहरू पूर्णरीतिले उपलब्ध गराइ सकेको हुनेछ। सिद्ध पारिएको मानव परिवारलाई येशूले आफ्नो पिताको सामु प्रस्तुत गर्नु हुनेछ। (१ कोरिन्थी १५:२५-२८) तत्पश्‍चात्‌ यहोवाले येशू र १,४४,००० जनहरूलाई अरू कुन काम सुम्पनु हुनेछ, हामी जान्दैनौं। तर यहोवालाई पवित्र सेवा चढाउने विशेषाधिकार चाहिं तिनीहरूले सदा सर्वदै पाउनेछन्‌ भनी प्रकाशको पुस्तकले हामीलाई निश्‍चिन्त तुल्याउँछ।

प्रकाशको आनन्दमय चरमोत्कर्ष

३१. (क) नयाँ यरूशलेमको दर्शन कुन कुराको चरमोत्मकर्ष हो? (ख) नयाँ यरूशलेमले अरू विश्‍वासी मानिसहरूका लागि के गरी दिनेछ?

३१ नयाँ यरूशलेम अर्थात्‌ थुमाकी पत्नीसम्बन्धी यो दर्शनको पूर्ति नै त्यो आनन्दमय चरमोत्कर्ष हो जसलाई प्रकाशको पुस्तकले सङ्‌केत गर्दै आएको छ। र यसो गर्नु उपयुक्‍त पनि छ। यस पुस्तकमा सम्बोधित यूहन्‍नाका सबै प्रथम शताब्दीका सँगी मसीहीहरूले प्रथमतः यही शहरमा प्रवेश पाउने आशा राखेका थिए। यसै शहरमा तिनीहरू येशू ख्रीष्टसित अमर आत्मिक सह-शासक बन्‍ने प्रतीक्षामा थिए। यही आशा आज पनि पृथ्वीमा बाँकी रहेका अभिषिक्‍त मसीहीहरूले राखेका छन्‌। यसप्रकार, जसै सम्पूर्ण दुलहीवर्ग थुमासित एकत्रित हुन्छन्‌, प्रकाशको पुस्तक पनि आफ्नो महान चरमोत्कर्षतर्फ अघि बढ्‌छ। यसपछि, नयाँ यरूशलेमद्वारा येशूको छुडौतीको बलिदानका लाभहरू मानिसजातिलाई उपलब्ध गराइन्छ। परिणामस्वरूप, अन्ततः सबै विश्‍वासी जनहरूले अनन्त जीवन पाउनेछन्‌। यसप्रकार हाम्रो सार्वभौम प्रभु यहोवाको महिमाका लागि एउटा अनन्तकालीन धार्मिक नयाँ पृथ्वी सृजने काममा दुलही अर्थात्‌ नयाँ यरूशलेमले वफादार सहायकको रूपमा आफ्नो दुलहा राजालाई मदत दिनेछिन्‌।—मत्ती २०:२८; यूहन्‍ना १०:१०, १६; रोमी १६:२७.

३२, ३३. प्रकाशको पुस्तकबाट हामीले के सिकेका छौं र हाम्रो हार्दिक प्रतिक्रिया के हुनुपर्छ?

३२ यसर्थ प्रकाशको पुस्तकको अन्तमा आइपुग्दा हामी कति हर्षित हुन्छौं! शैतान र त्यसको सन्तानका प्रयासहरू पूरै विफल भएको हामीले देख्यौं! तर यहोवाका धार्मिक न्यायहरू सम्पूर्ण रीतिले कार्यान्वयन भएको छ। महान बेबिलोन र त्यसपछि शैतानको संसारको सुध्रनै नसक्ने सबै भ्रष्ट तत्त्वहरू सदाका लागि लोप हुनै पर्छ। शैतान स्वयं र त्यसका प्रेतहरू अगाध खाँदमा बन्द तथा नष्ट हुनेछन्‌। पुनरुत्थान र न्याय हुँदै जाँदा नयाँ यरूशलेमले स्वर्गबाट ख्रीष्टसित राज्य गर्नेछ। अन्ततः सिद्ध तुल्याइएको मानिसजातिले प्रमोदवनरूपी पृथ्वीमा अनन्त जीवन उपभोग गर्ने छन्‌। प्रकाशको पुस्तकमा यी जम्मै कुराहरूको कस्तो ज्वलन्त विवरण दिएको हामी पाउँछौं! यसले गर्दा ‘पृथ्वीमा रहने हरेक जाति, कुल, भाषा र मानिसहरूलाई घोषणा गर्ने अनन्त सुसमाचार’ सुनाउन आज हामी पनि कति उत्साहित हुन्छौं! (प्रकाश १४:६, ७) यो महान कार्यमा के तपाईंले पनि यथाशक्य गर्नु हुँदैछ?

३३ आउनुहोस्‌, हृदयभरि कृतज्ञताको भावसाथ हामी अब प्रकाशको पुस्तकका अन्तिम शब्दहरूतर्फ ध्यान दिऊँ।

[फुटनोटहरू]

a “मानिस अर्थात्‌ दूतको नापबमोजिम” नापिएको कुराबाट के बोध हुन सक्छ भने त्यस शहर १,४४,०००-जनहरूले बनेको छ जो मूलतः मानिसहरू थिए तर पछि चाहिं स्वर्गदूतहरूबीच बस्ने आत्मिक व्यक्‍तिहरू हुन्छन्‌।

b यहाँ विचार गर्नु पर्ने कुरा के हो भने “थुमाको जीवनको पुस्तकमा” मात्र आत्मिक इस्राएलका १,४४,०००-जनहरूका नाउँहरू छन्‌। यसकारण उक्‍त पुस्तक पृथ्वीमा जीवन पाउनेहरू समेतको नाउँ हुने “जीवनको पुस्तक”भन्दा बेग्लै हो।—प्रकाश २०:१२.

c यहाँ ध्यान दिनु पर्ने कुरा के छ भने “जाति जातिहरू” भन्‍ने अभिव्यक्‍ति अक्सर गैर आत्मिक इस्राएलीहरूका निम्ति प्रयोग गरिन्छ। (प्रकाश ७:९; १५:४; २०:३; २१:२४, २६) यसकारण यहाँ यस अभिव्यक्‍तिले हजार वर्षको दौडान मानिसजातिलाई भिन्‍नभिन्‍न राष्ट्रहरूमा सङ्‌गठित गराउने काम चलिरहनेछ भनी सङ्‌केत गरेको होइन।

[अध्ययनका लागि प्रश्‍नहरू]