मलाकि २:१-१७

  • पुजारीहरू मानिसहरूलाई सिकाउनदेखि चुक्छन्‌ (१-९)

    • पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ ()

  • अन्यायपूर्ण तरिकाले सम्बन्धविच्छेद गर्नेहरू दोषी (१०-१७)

    • ‘“म सम्बन्धविच्छेदलाई घृणा गर्छु,” यहोवा भन्‍नुहुन्छ’ (१६)

 “अब हे पुजारीहरू हो, यो आज्ञा तिमीहरूको लागि हो।+ २  यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गरेनौ र मेरो नामको महिमा गर्नमा मन लगाएनौ भने,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ, “म तिमीहरूमाथि सराप पठाउनेछु+ अनि तिमीहरूले पाएका आशिष्‌हरूलाई सरापमा परिणत गरिदिनेछु।+ हो, मैले आशिष्‌लाई सरापमा परिणत गरिदिएको छु किनकि तिमीहरूले मेरा आज्ञाहरूमा मन लगाएनौ।” ३  “हेर! तिमीहरूले छरेको बिउलाई म तिमीहरूकै कारण नाश गरिदिनेछु।*+ अनि म तिमीहरूको अनुहारमा गोबर फ्याँकिदिनेछु, हो, तिमीहरूले चाडको बेला बलि चढाएका जनावरहरूको गोबर। अनि तिमीहरूलाई त्यससँगसँगै उठाएर लगिनेछ।* ४  त्यसपछि लेविसित मैले गरेको करार कायम रहिरहोस्‌ भनेर मैले नै तिमीहरूलाई यो आज्ञा दिएको हुँ भनी तिमीहरूले थाह पाउनेछौ,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ। ५  “मैले तिनीसित गरेको करारले गर्दा तिनले जीवन र शान्ति पाए। तिनले मेरो डर मानून्‌* भनेर मैले तिनलाई यो आशिष्‌ दिएँ। तिनले मेरो डर माने र मेरो नामको आदर गरे। ६  तिनको मुखमा सत्यको व्यवस्था* थियो+ र तिनको ओठमा कुनै छल पाइएन। तिनी मसित शान्तिमा रहे र मसित इमानदार भई हिँडे+ अनि तिनले थुप्रैलाई गलत बाटोबाट फर्काए। ७  पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ अनि मानिसहरूले तिनको मुखबाट व्यवस्थाका कुराहरू* सिक्नुपर्छ+ किनकि तिनी सेनाहरूका यहोवाका सन्देशवाहक हुन्‌। ८  “तर तिमीहरू आफै भने सही मार्गबाट तर्किएका छौ। तिमीहरूले गर्दा धेरै जना व्यवस्था पालन गर्नबाट चुकेका छन्‌।*+ लेविसित मैले गरेको करारलाई तिमीहरूले तोडेका छौ,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ। ९  “त्यसकारण म तिमीहरूलाई सबै मानिसको नजरमा नीच र तुच्छ तुल्याइदिनेछु किनकि तिमीहरू मेरो मार्गबाट तर्कियौ अनि व्यवस्था लागू गर्दा पक्षपात गऱ्‍यौ।”+ १०  “हामी सबैका बुबा एउटै हुनुहुन्‍न र?+ हामीलाई बनाउनुहुने परमेश्‍वर एउटै हुनुहुन्‍न र? त्यसोभए हामी किन एकअर्कालाई छल गरेर+ हाम्रा पुर्खाहरूले गरेको करार तोडिरहेका छौँ? ११  यहुदाले छल गरेको छ अनि इस्राएल र यरुसलेममा एउटा घिनलाग्दो काम गरिएको छ; यहुदाले यहोवा परमेश्‍वरको अपमान गरेको छ, जसले पवित्र कुरालाई* प्रेम गर्नुहुन्छ।+ अनि उसले पराई देवताको छोरीलाई आफ्नी दुलही बनाएर ल्याएको छ।+ १२  त्यसो गर्नेजति सबैलाई यहोवा परमेश्‍वरले याकुबको पालबाट निकालिदिनुहुनेछ, चाहे त्यो जोसुकै होस्‌। उसले सेनाहरूका यहोवाको लागि भेटी चढाउने गरेकै भए पनि ऊ निकालिनेछ।”+ १३  “अनि तिमीहरूले गरेको अर्को एउटा कामले गर्दा पनि यहोवाको वेदी आँसु, रोदन र सुस्केराले भरिएको छ; यही कारणले गर्दा उहाँले तिमीहरूको भेटीलाई वास्ता गर्न छोड्‌नुभएको छ र तिमीहरूले चढाएको कुनै पनि कुरा उहाँ ग्रहण गर्नुहुन्‍न।+ १४  अनि तिमीहरू भन्छौ, ‘हामीले त्यस्तो के गऱ्‍यौँ र?’ तिमीहरूले बैँसमा बिहे गरेको आफ्नी पत्नीलाई विश्‍वासघात गऱ्‍यौ र यहोवा परमेश्‍वर यसको साक्षी हुनुहुन्छ। तिमीहरूले आफ्नी सहयोगी, आफ्नी पत्नीलाई धोका दियौ, जससित तिमीहरूले करार गरेका थियौ।*+ १५  तर केहीले भने त्यसो गरेनन्‌ किनकि तिनीहरूमा अझै परमेश्‍वरको पवित्र शक्‍ति थियो। अनि तिनीहरू केको पर्खाइमा थिए? तिनीहरू परमेश्‍वरको सन्तानको पर्खाइमा थिए। त्यसैले तिमीहरू आफ्नो मनलाई बरालिन नदेओ र आफूले बैँसमा बिहे गरेको पत्नीलाई धोका नदेओ। १६  किनकि म सम्बन्धविच्छेदलाई घृणा गर्छु,”*+ इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ, “अनि हिंसा गर्नेलाई* पनि घृणा गर्छु,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ। “आफ्नो मनलाई बरालिन नदेओ अनि तिमीहरूले धोका नदेओ।+ १७  “तिमीहरूले बोलेको सुनेर यहोवा परमेश्‍वर वाक्कै हुनुभएको छ।+ तर तिमीहरू भन्छौ, ‘हामीले कसरी उहाँलाई वाक्कै पाऱ्‍यौँ र?’ तिमीहरूले यसो भन्यौ, ‘दुष्ट काम गर्ने सबै जना यहोवा परमेश्‍वरको दृष्टिमा असल छन्‌ अनि तिनीहरूलाई देखेर उहाँ खुसी हुनुहुन्छ।’+ अनि यसो पनि भन्यौ, ‘न्यायका परमेश्‍वर खोइ कहाँ छन्‌?’”

फुटनोटहरू

शा., “हप्काउनेछु।”
अर्थात्‌, बलि चढाएका जनावरहरूको गोबर थुपारिने ठाउँमा लगिनेछ।
वा “आदर गरून्‌, श्रद्धा गरून्‌।”
वा “निर्देशन।”
वा “निर्देशनहरू।”
वा सम्भवतः “तिमीहरूले दिएको निर्देशनले गर्दा धेरै जना चुकेका छन्‌।”
वा सम्भवतः “पवित्र स्थानलाई।”
वा “जो कानुनअनुसार तिम्री पत्नी हुन्‌।”
शा., “उहाँ सम्बन्धविच्छेदलाई घृणा गर्नुहुन्छ।”
वा “हिंसाले आफ्नो वस्त्र ढाक्नेलाई।”